सफलता एसएलसीसम्मै

प्रगतिपथमा सरस्वती मावि

अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु पर्ने परिस्थितिको दबाब र अभिभावकको उत्कट इच्छालाई गोरखा, आहालेको सरस्वती उमाविले २०६० सालमा स्वीकार गरयो । त्यहाँका शिक्षकले योजना नै बनाए– पहिलो वर्ष कक्षा १–३ र कक्षा ६ मा अङ्ग्रेजी माध्यम शुरु गर्ने र पाँच वर्षभित्र पूरै कक्षा अङ्ग्रेजीमा लैजाने । त्यतिबेलासम्म गोरखामा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने अर्को सामुदायिक विद्यालय थिएन । प्रअ कपिलबाबु अर्याल ती दिनहरू सम्झ्ँदै भन्छन्, “यो आफैंमा एउटा महत्वाकाङ्क्षी योजना थियो, जसलाई फत्ते गर्नु त्यति सजिलो थिएन ।” वर्षौं देखि नेपाली माध्यममा अभ्यस्त बनेका शिक्षकलाई अङ्ग्रेजीमा पढाउन तयार गराउनु पर्ने चुनौती थियो । त्यतिबेला सरकारी पाठ्यपुस्तक अङ्ग्रेजीमा छापिएकै थिएनन् । निजी प्रकाशनले बजारमा ल्याएकै पाठ्यपुस्तक प्रयोग गर्नु पथ्र्यो ।

सम्भाव्य चुनौतीहरू सामना गर्न तयार भएरै त्यस्तो निर्णय गरिएका कारण सरस्वती मावि पछाडि फर्किएन । यसनिम्ति विद्यालयले अत्यन्त कठोर निर्णय समेत गरयो– अङ्ग्रेजीमा पढाउन नसक्ने शिक्षकले विद्यालय छोड्नुपर्ने वा (सरुवा मागेर अन्यत्रै जानुपर्ने) शिक्षकलाई निर्णय पालना गर्ने वाचा नै गराए र उक्त निर्णय गरिएको थियो । निमाविका एक जना शिक्षक सरुवा भएर गए पनि । प्रअ अर्याल भन्छन्, “त्यसको सफलता/असफलताको जस शिक्षकलाई जान्थ्यो । त्यसैले शिक्षकलाई मान सिक रूपमा तयार पार्नका निम्ति हामीले त्यस्तो निर्णय गरेका थियौं ।” त्यतिबेला सरस्वतीमा माध्यमिक तहका चारसहित १४ जना शिक्षक थिए ।

अङ्ग्रेजी माध्यमको थालनीसँगै शिक्षकहरूसँग बढी मिहिनेत गर्नु को विकल्प थिएन । त्यसैले उनीहरू पूर्व तयारी गरेर मात्रै कक्षाकोठामा जान थाले । प्रअ अर्यालका अनुसार, पहिलो वर्ष शिक्षकलाई स्कूलमै ‘क्लास रुम ल्याङ्वेज’ सम्बन्धी तीनदिने तालिम दिइयो । त्यसले शिक्षकको आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग गरयो । अङ्ग्रेजी माध्यम अपनाएको तीन वर्षपछि विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दै जान थाल्यो । त्यसपछि अभिभावकसँग शुल्क लिएर निजी स्रोतका शिक्षक राख्न थालियो । अङ्ग्रेजी माध्यममा पढाउन योग्य भए/नभएको मूल्याङ्कन गरेर मात्रै शिक्षक छनोट गर्न थालियो । अन्ततः पूर्वयोजना अनुरुप पाँचौं वर्षमा अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म विस्तार गर्न सरस्वती उमावि सफल भयो । अङ्ग्रेजी माध्यम लागू भएपछि को पहिलो एसएलसीमा शतप्रतिशत विद्यार्थी पास भए । उक्त साल (२०६५) एसएलसी परीक्षामा सम्मिलित ६४ परीक्षार्थीमध्ये तीन विशिष्ट र ६० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । त्यस्तै २०६६ को एसएलसीमा सहभागी ७५ मध्ये ५ विशिष्ट र ६९ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको देखिन्छ । अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि अङ्ग्रेजी विषयमा फेल हुने क्रम त रोकियो नै, सो विषयको औसत प्राप्ताङ्क पनि बढ्न थालेको छ । २०६६ मा अङ्ग्रेजी विषयको औसत प्राप्ताङ्क ६३ थियो ।

अहिले यो विद्यालयमा लगभग ९०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजीमा विद्यार्थीको जग बसाउन नर्सरी देखि नै कक्षा सञ्चालन गरिएको छ । नेपाली बाहेक सबै कक्षा अङ्ग्रेजी माध्यममै चल्छन् । अन्य विद्यालयमा नेपाली माध्यममा पढेर यहाँ आएका विद्यार्थीका निम्ति अङ्ग्रेजीको अतिरिक्त कक्षा चलाउने गरिएको छ । प्रअ अर्याल भन्छन्, “पहिलो त्रैमासिकमा अङ्ग्रेजी भाषामा कमजोर देखि एका विद्यार्थीका लागि दुई महिना अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । यसका लागि अभिभावकले छुट्टै शुल्क चाहिँ बुझाउनुपर्छ ।” अङ्ग्रेजीमा अझ् बढी व्यावहारिक अभ्यास गराउनका निम्ति कक्षा १–८ मा हेडवे इङ्गलिश राखिएको छ, जुन अतिरिक्त विषय हो । यता नेपालीको जग कमजोर हुन नदिनका निम्ति कक्षा १–५ मा नेपाली साथी नामको अतिरिक्त पुस्तक पढाइन थालेको छ ।

सरस्वतीको पठनपाठन सुध्रिएपछि निजी स्कूल छाडेर यहाँ आउने क्रम बढ्दो छ । यसै वर्ष मात्रै ११० जना विद्यार्थी बाहिरबाट आएका छन् । यही वर्ष निजी स्कूल छोडेर यहाँ आएका कक्षा ९ का छात्र प्रवेश लामिछाने भन्छन्, “यो स्कूलको धेरै चर्चा सुनेको थिएँ, साँच्चिकै रराम्रो रहेछ । शिक्षकहरू पनि निजीको भन्दा यहीँका राम्रो लाग्यो ।”

शिक्षकहरूको परिश्रम र लगावका कारण केही वर्षको अन्तरालमै यो विद्यालयले महत्वपूर्ण फड्को मार्न सफल भएको देखिन्छ । अर्याल भन्छन्, “शिक्षकको ‘टीमवर्क’ नभइदिएको भए हामी सफल हुन सक्थेनौं । शिक्षकको मिहिनेतमा अभिभावक, व्यवस्थापन समिति र शिक्षा कार्यालयबाट पनि हामीले रराम्रो सहयोग पाएका छौं ।” सरस्वतीमा रहेका २५ शिक्षकमध्ये ११ जना स्नातकोत्तर उत्तीर्ण छन् भने नौ जना स्नातक ।

निर्मलको १६ वर्षे अभ्यास

तनहुँको ब्यास नपा–१ स्थित निर्मल उमावि अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गर्ने यो जिल्लाको पहिलो सामुदायिक विद्यालय हो । यो विद्यालयले २०५२ सालमै अङ्ग्रेजी माध्यम अपनाइसकेको थियो । निर्मलले अङ्ग्रेजी माध्यम अपनाउनुको पृष्ठभूमि चाहिँ सरस्वती उमावि ( गोरखा)को भन्दा भिन्न छ ।

प्रअ रमेशचन्द्र हड्खलेको कथन अनुसार नजिकैका निजी स्कूलले शुल्क छुटको आश्वासन दिएर आफ्ना ‘अब्बल’ विद्यार्थी तान्न थालेपछि निर्मल उमाविले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय गरेको हो । त्यतिबेला निर्मलमा कक्षा ६ देखि १० सम्म मात्र पढाइ हुन्थ्यो, प्राथमिक तह थिएन । अङ्ग्रेजीमा सरकारी पाठ्यपुस्तक नभएका कारण निर्मलले पनि निजी प्रकाशनका पाठ्यपुस्तकबाटै काम चलाएको थियो ।

शुरु को वर्ष कक्षा ६ मा भर्ना भएका १५० विद्यार्थीमध्ये अङ्ग्रेजी भाषा परीक्षणका आधारमा ३० विद्यार्थीलाई अङ्ग्रेजी र बाँकीलाई नेपाली माध्यमको कक्षामा राखिएको थियो । त्यो समूह अङ्ग्रेजी माध्यमबाटै क्रमशः कक्षा १० सम्म पुग्यो र २०५७ को एसएलसी परीक्षामा सामेल २८ मध्ये २२ जना प्रथम श्रेणीमा उत्तीर्ण भए । त्यही वर्ष नेकपा माओवादीले जबरजस्ती निजी स्कूल बन्दगराइदिएपछि निर्मल उमाविले कक्षा १–५ पनि शुरु गरयो । प्रअ हड्खले भन्छन्, “बन्द भएका बोर्डिङका १० जना शिक्षकलाई पनि हाम्रै स्कूलमा निजी स्रोतमा राखियो । त्यसपछि कक्षा १–१० नै अङ्ग्रेजी माध्यम बन्यो ।”

अहिले निर्मल उमाविमा बालबालिकालाई प्रारम्भिक बाल विकास पछि नर्सरी, नर्सरी–ए, केजीहुँदै कक्षा एकमा चढाउने गरिएको छ । कक्षा पाँचसम्म पूरै अङ्ग्रेजी र कक्षा ६–१० मा नेपाली तथा अङ्ग्रेजी माध्यमका अलग–अलग ‘सेक्सन’ छन् । यो विद्यालयबाट अघिल्लो वर्ष एसएलसीमा सम्मिलित १०३ विद्यार्थीमध्ये चार विशिष्ट र ६७ जना प्रथम श्रेणीसहित १०२ जना उत्तीर्ण भएका थिए ।

निर्मल उमाविमा माध्यमिक तहमा १० तथा निमावि र प्राविमा ८–८ जना शिक्षकको दरबन्दी छ । निजी स्रोतमा १३ शिक्षक राखिएका छन् । निजी स्रोतका शिक्षकलाई पनि दरबन्दी सरहकै तलब दिइएको छ । साथै, अस्थायी र निजी स्रोतका शिक्षकलाई विद्यालय स्रोतबाट व्यहोर्ने गरी तलबको १० प्रतिशत रकम सञ्चय कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । विद्यार्थीबाट अधिकतम मासिक रु.३५० सम्म शुल्क उठाइन्छ । आउँदो वर्ष कक्षा ६ देखि क्रमिक रूपमा नेपाली माध्यमलाई विस्थापित गर्दै लैजाने योजना निर्मल उमाविले बनाएको छ ।

पश्चिममै अगाडि सत्यवती

२०५७ सालयताका एसएलसी नतिजामा दमौलीको सत्यवती उमावि तनहुँकै उत्कृष्ट विद्यालयका रूपमा दरिँदै आएको थियो । २०६२ सालको अभिभावक भेलाले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने निर्णय गरे पछि त्यसै वर्ष देखि कक्षा १ देखि ६ सम्म अङ्ग्रेजी माध्यममा कक्षा चलाउन थालियो ।

प्रअ टङ्कनाथ पराजुलीका अनुसार, नेपाली माध्यममै सिकाउँदै र सिक्दै आएका शिक्षक/विद्यार्थीलाई एक्कासी अङ्ग्रेजीमा लैजाँदा दुवैले असजिलो महसुस गरेका थिए । अङ्ग्रेजी समूहमा गएका कतिपय विद्यार्थी त फेरि नेपालीमै फर्किए पनि । तर शिक्षकहरूले हार मानेनन् । सत्यवतीले २०६६ सालमा पहिलो पटक अङ्ग्रेजी माध्यमका परीक्षार्थीलाई एसएलसी परीक्षामा सम्मिलितगरायो । अङ्ग्रेजीका ४० सहित १४५ जनाले परीक्षा दिएकोमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । १९ मध्ये १४ जना अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थी थिए ।गत वर्ष शिक्षा मन्त्रालयबाट सत्यवतीले पश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कार प्राप्त गरेको थियो ।

यो उमाविमा अहिले प्रारम्भिक बाल विकास बाट पूर्व प्राथमिकका दुई तह हुँदै कक्षा एकमा लैजाने संरचना छ । कक्षा दुईसम्म सबै विद्यार्थीहरू अङ्ग्रेजी माध्यममा पढ्दैछन् भने कक्षा ३–१० मा अङ्ग्रेजी र नेपाली दुवैमा पढाइ हुन्छ । अझ् कक्षा आठ, नौ र दशका एक–एक वटा सेक्सनमा त मिश्रित ढाँचाका कक्षा पनि सञ्चालित छन्, जहाँ अङ्ग्रेजी, गणित र विज्ञान अङ्ग्रेजीमा र बाँकी विषय नेपाली माध्यममा पढाइ हुन्छ । यो विद्यालयमा अहिले १८०० विद्यार्थी पढिरहेका छन् । यो सङ्ख्या ६ वर्ष पहिलेको तुलनामा ५०० ले बढी हो ।

शिक्षकहरूलाई शिक्षणको दक्षता अभिवृद्धि गर्नका लागि हरेक वर्ष विद्यालयमै तालिम दिने गरेको पाइन्छ । गएको २०–२१ जेठ २०६८ मा सत्यवती उमाविलेगण्डकी बोर्डिङ स्कूल, पोखरा तथा अङ्ग्रेजी भाषा शिक्षक समाज (नेल्टा)सँग आबद्ध शिक्षकहरूमार्पmत अङ्ग्रेजी भाषा सम्बन्धी तालिम कक्षा चलाएको थियो । नयाँ शिक्षक नियुक्त गर्नु पर्दा लिखित मौखिक परीक्षा अङ्ग्रेजीमै लिने गरिएको छ ।

सत्यवतीमा ५४ जना शिक्षक छन् । तीमध्ये २६ जना निजी स्रोतमा राखिएका छन् । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन विद्यार्थीसँग शुल्क उठाउने गरिएको छ । अङ्ग्रेजी माध्यम संयोजक अनिल श्रेष्ठका अनुसार, अङ्ग्रेजी माध्यमका विद्यार्थीले नर्सरीमा वार्षिक रु.२ हजार र कक्षा १० मा सरदर रु.४ हजार तिर्नुपर्छ । “शुल्क निर्धारण अभिभावक भेलाले नै गरेको हो”, श्रेष्ठ भन्छन् ।

सत्यवतीको पठनपाठन रराम्रो भएकै कारण निजी स्कूलका विद्यार्थीको समेत यहाँ ओइरो लाग्ने गरेको छ । यसपालि कक्षा ९ मा मात्रै ९१ बाहिरी विद्यार्थी आएकामा ८५ जना अङ्ग्रेजी माध्यममा भर्ना भए । प्रअ पराजुली भन्छन्, “पहिले बोर्डिङले निःशुल्क पढाइदिने भन्दै हाम्रा विद्यार्थीलाई फकाएर लैजान्थे । अहिले बोर्डिङका उत्कृष्ट विद्यार्थी खुरुखुरु हामीकहाँ आउन थालेका छन्, फकाउनै पर्दैन ।”

commercial commercial commercial commercial