दिगो विकासका लागि शिक्षा
युनेस्को लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले दिगो विकास सम्बन्धी शिक्षाका कार्यक्रमको निर्माण र तिनको कार्यान्वयनमा शिक्षक वर्गलाई केन्द्रस्थलमा राखिनुपर्ने मान्यता अघि सारेका छन् । अर्थात् ‘प्राथमिकताहरूको प्राथमिकता शिक्षकहरूको शिक्षा हो’ भन्ने दृष्टिलाई विश्वले नै स्वीकार्न थालेको छ ।
मानिस बुद्ध हुन् । अरू प्राणीको भन्दा मानिसको मस्तिष्कमागिदीको मात्रा अधिक हुन्छ । बुद्धि धेरै हुन्छ । त्यही बुद्धि खेलाएर मानिस आफूभन्दा ठूलो जीव हात्ती माथि चढेर सयर गर्छ । ह्वेलको सिकार गर्छ । बाघ–भालुलाई खोरमा थुन्छ ।गोमन सर्पलाई नचाउँछ । त्यसको विष दोहन गरेर औषधि बनाउँछ । आफैं पनि चरा जस्तै आकाशमा उड्छ । माछा जस्तै गहिरो समुद्रमा पौडी खेल्छ । हुँदाहुँदा चन्द्रमाको धरातलमा पाइला टेकेर पनि आइसक्यो । यो सबै बुद्धिकै खेल हो । त्यही बुद्धिलाई ज्योतिर्मय बनाउन सफल सिद्धार्थ गौतमलाई हामी बुद्ध भन्दछौं । बुद्ध मान्दछौं । मानिसको त्यही बुद्धि विकास मा शिक्षाको भूमिका उजागर हुन्छ ।
आजको विश्वमा दिगो विकास तथा शान्ति र स्थायित्वका विषयमा चर्चा गर्दा शिक्षाको भूमिकालाई बिर्सन मिल्दैन । बरु शिक्षालाई अपरिहार्य साधनको रूपमा स्वीकार्नुपर्ने हुन्छ । सन् १९९२ को पृथ्वी शिखर सम्मेलन (अर्थ समिट) ले एक्काइसौं शताब्दीका लागि तय गरेको मार्गचित्र (एजेण्डा–२१) ले स्पष्टै भनेको “सबै उमेर समूहका व्यक्तिलाई वातावरण र विकास विषयको शिक्षा सुलभ गर्नु पर्छ ।” त्यो दस्तावेजले स्कूले बालबालिकाहरूलाई स्थानीय एवं क्षेत्रीय अध्ययनहरूमा सहभागी गराउन विशेष आह्वान पनि गरेको छ । त्यस आह्वानमा विशेष गरेर स्वास्थ्यसँग सम्बन्धित वातावरणीय कुरा हरू, जस्तै सफा एवं सुरक्षित पिउने पानी, वरपरको सरसफाई, शुद्ध एवं उपयोगी भोजन र खानपिनका विषयमा छात्रछात्रालाई बढी सजग बनाउने कुरा लाई जोड दिइएको छ । त्यसका अतिरिक्त प्राकृतिक सम्पदाको उपभोग वा उपयोग गर्दा वातावरणसँगै आर्थिक, सामाजिक क्षेत्रमा पर्ने असरप्रति सजग हुनुपर्ने कुरा औंल्याएको छ ।
अबको विकास लाई ‘दिगो विकास ’को दिशामा डोर्याएर भोलिको भविष्यलाई सुरक्षित राख्नका लागि शिक्षा क्षेत्रलाई परिचालन गर्नु पर्छ भन्ने विश्व मान्यता स्थापित हुँदै गइरहेको छ । यस परिप्रेक्ष्यमा युनेस्को (UNESCO) लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले दिगो विकास सम्बन्धी शिक्षाका कार्यक्रमको निर्माण र तिनको कार्यान्वयनमा शिक्षक वर्गलाई केन्द्रस्थलमा राखिनुपर्ने मान्यता अघि सारेका छन् । अर्थात् ‘प्राथमिकताहरूको प्राथमिकता शिक्षकहरूको शिक्षा हो’ भन्ने दृष्टिलाई विश्वले नै आत्मसात् गर्न थालेको छ । शिक्षकहरूको काँधमा दिगो विकास सम्बन्धी शिक्षाको बोझ् थप्नुभन्दा पहिले शिक्षकहरूको बल र मनोबललाई सबल गर्नु पर्ने खाँचोलाई पनि उत्तिकै महत्व दिइएको छ । यही परिप्रेक्ष्यमा ‘दिगो विकास का लागि शिक्षा’ भन्नाले के बुझने भन्ने कुरा हरू प्रस्ट्याउन पनि आवश्यक हुन्छ ।
दिगो विकास का लागि परिकल्पना गरिएको शिक्षाले वातावरण शिक्षालाई आधार मानेर त्यसलाई आर्थिक एवं सामाजिक क्षेत्रसँग समायोजन गर्नु पर्नेमा जोड दिन्छ । यो स्वयंमा वातावरण शिक्षा मात्र भने होइन । यसलाई स्पष्ट पार्न अङ्ग्रेजी वर्ण ‘इ (E)’ बाट शुरु हुने तीन शब्दहरू १. इन्भाइरोनमेन्ट (Environment) अर्थात् वातावरण, २. इकोनोमी (Economy) अर्थात् अर्थ व्यवस्था र ३. इक्विटी (Equity) अर्थात् समान तालाई आधार बनाएर तीन ‘इ’ (3E) को सिद्धान्त अगाडि सारिएको छ । यी तीन ‘इ’ आपसमा कसरी एक–अर्कामा आवद्ध रहन्छन् र तिनको आपसी समायोजन कसरी हुन्छ भन्ने पक्षमा ‘दिगो विकास शिक्षा’ (Sustainable Devlopment Education) केन्द्रित रहन्छ । वातावरण, आर्थिक व्यवस्था र सामाजिक समान तालाई पृथक् दृष्टिले होइन समष्टिगत रूपमा बुझनु र बुझाउनु पर्ने यो शिक्षाको मर्म हो । पठनपाठनको सिलसिलामा ज्ञान र सीप मात्र होइन सामाजिक मूल्य र मान्यतालाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । स्थानीय, क्षेत्रीय वा विश्वव्यापी– जुनसुकै स्तर मा विचार गर्दा पनि उपर्युक्त तीन ‘इ’ को सिद्धान्तलाई बिर्सन वा छोड्न मिल्दैन ।
दिगो विकास को मूल सिद्धान्तलाई विद्यार्थी सामु पस्कँदा; ‘प्राकृतिक सम्पदा खपत गर्दा प्रकृतिले दिन सक्नेभन्दा बढी खपत गर्नु वा दोहन गर्नु हुँदैन’ भन्ने कुरामा जोड दिइनुपर्छ । एउटा कुखुरीले जति अण्डा दिन सक्छ त्योभन्दा बढी लोभ गरेर कुखुरीकै पेट चिर्नपट्टि लाग्नुहुँदैन । बरु कुखुरीलाई आवश्यक खुराक र सुविधा निरन्तर उपलब्ध गराउनु पर्दछ । यस्तै कथा र व्यथा दिगो विकास को अवधारणामा पनि लागू हुन्छ ।
आजभोलिको प्रचलित 'Think globally, act locally' अनुरुप सोच्दा विश्वलाई ध्यानमा राख्ने र गर्दा आफ्नै परिवेशलाई मध्यनजरमा राख्ने बानी बसाल्नुपर्दछ ।
शिक्षाको लक्ष्य सक्षम समाज निर्माण गर्नु हो । समय र परिस्थितिलाई काबुमा राखेर अगाडि बढ्न सक्ने जमात खडा गर्नु शिक्षाको कर्तव्य हो । नेपालले सन् १९३४ तिर भित्रयाएको अङ्गे्रजी ढाँचाको शिक्षा आजसम्म पनि कायम छ । भारतमा अङ्ग्रेजको सेवक बनाउन लागू गरिएको शिक्षाले नेपालमा पनि त्योभन्दा खासै भिन्न प्रतिफल दिएको छैन । आफ्नो परिवार, आफ्नो परिवेश, आफ्नो समाज , आफ्नो देश र विश्वलाई सेवा गर्ने जनशक्ति उत्पादन गर्न हराम्रो शिक्षा प्रणाली सफल हुनसकेको छैन । हाम्रा परीक्षा प्रणालीले कतिपय विद्यार्थीलाई ‘फेल भयो’ भन्ने मनोदशाको सिकार बनाइदिएर भविष्यको उज्यालोतिर जाने ढोका नै बन्द गरिदिने गरेको छ । यस्तो मनोदशा दिगो विकास का लागि दिइने शिक्षाका निम्ति पनि बाधक बन्न जान्छ । मुस्ताङ र डोल्पाका विद्यार्थी नेपालको राष्ट्रिय फूल गुराँस भन्न नसकेर फेल हुन्छन् । दाङका विद्यार्थी राष्ट्रिय चरा डाँफेको चित्र कोर्न नसकेर फेल हुन्छन् । यो राष्ट्रकै क्षति हो र दिगो विकास को निम्ति घातक पनि । तसर्थ दिगो विकास का लागि दिइने शिक्षामा स्थानीय परिवेशलाई पहिलो ‘इ’ (Environment) भित्र मनन गर्नु / गराउनु पर्दछ । दोस्रो ‘इ’ (Economy) मार्फत आर्थिक विकासलाई जोड दिने गरिन्छ । हाम्रो जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्ति आदि सबैको आर्थिक पक्षलाई उजागर गर्न सक्नुपर्छ ।
उपयुक्त भौतिक विकास का पूर्वाधार सञ्चालन गरेर स्थानीय, क्षेत्रीय, राष्ट्रिय विकास लाई परिपोषण गर्ने खालको शिक्षाको परिकल्पना गरिनुपर्दछ । स्थानीय स्रोत र साधन सम्बन्धी कुरा लाई विद्यालयहरूले आफ्नो पाठ्यक्रमभित्र पार्न सक्नुपर्छ । स्थानीय पाठ्यक्रम निर्माण गराउने दिशामा नेपाल सरकारले चालेको कदम सराहनीय छ । उचित शिक्षा प्राप्त भएमा लेकमा यार्सा गुम्बा सङ्कलन गर्ने केटाकेटी हिउँ पहिरोमा पर्दैनन् । आफ्नै कमाइले आफ्नो वर्षभरिको परिवार खर्च पनि टार्दछ । यसै गरी खेती किसानी र भू–उपयोगमा विशेष ज्ञान दिलाउन सक्यौं र त्यसबाट आय आर्जनमा उन्नति ल्याउने बाटो देखाउन सकियो भने विद्यालय शिक्षा युवा पलायनको कारण बन्दैन । राष्ट्र पलायनको कारण पनि बन्दैन ।
तेस्रो ‘इ’ Equity अर्थात् समान ताको सिद्धान्त हेर्दा संवेदनशील देखिन्छ तर वास्तवमा वर्तमान नेपालले परिकल्पना गरेको मूल लक्ष्य नै यही हो । सबै जाति, सबै धर्म, सबै वर्ग वा लिङ्गका मानिसलाई समान अवसर र समान पहुँचको व्यवस्था मिलाउने नेपालको सरकारी प्रतिबद्धता २०६० सालमा ‘नेपालका लागि दिगो विकास को एजेण्डा’ नामक राष्ट्रिय योजना आयोग र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको प्रकाशनमार्फत सार्वजनिक पनि भएको छ । यसमा नेपाल गरिबी न्यूनीकरण रणनीति पत्र, सहस्राब्दी विकास लक्ष्यहरू तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू प्रतिबिम्बित गरिएको छ । यस्ता प्रतिबद्धताहरूलाई जनस्तर मा साकार तुल्याउन निश्छल व्यवहार, निश्चल कार्यक्रम र निस्वार्थ कार्यान्वयनको भने ठूलै खाँचो छ । यसप्रति जागरुक समाज खडा गर्न दिगो विकास का लागि प्रतिपादन गरिने शिक्षाले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।
(समाप्त)



