पृथ्वीले कति मानिस पाल्न सक्ला ?
संयुक्त राष्ट्रसंघले अहिलेको विश्व जनसङ्ख्या वृद्धिदर (१.५ प्रतिशत) सन् २०२० सम्ममा १ प्रतिशतमा र सन् २०५० मा ०.५ प्रतिशतमा झर्ने अनुमान गरेको छ । यस अनुसार ८९ वर्षपछि अर्थात् सन् २१०० मा विश्व जनसङ्ख्या १० अर्बको हाराहारीमा स्थिर होला भन्ने ठानिएको छ । तर विश्व जनसङ्ख्याको भविष्य ढुङ्गामै कुँदिएको भने छैन ।
जनसङ्ख्याको आकार अनुमान गर्ने कुरा कति संवेदनशील छ भने, विश्वका महिलाले राष्ट्रसंघले गरेको अनुमान भन्दा औसतमा आधा (०.५) बच्चा मात्रै बढी जन्माइदिए भने सन् २१०० मा विश्व जनसङ्ख्या १६ अर्बको नजिक पुग्छ । अनि, विश्वका महिलाहरूले एउटा होइन, आधा बच्चा मात्रै कम जन्माए भने सन् २१०० मा विश्व जनसङ्ख्या ६.२ अर्बमा सीमित हुनेछ । यो भनेको १० वर्षअघि (सन् २००१) को विश्व जनसङ्ख्या हो ।
खानेकुरा
सन् २००९–२०१० मा विश्वले २ अर्ब २६ करोड टन खाद्यान्न उत्पादन गरयो । एउटा मानिसलाई वर्षभरिका निम्ति औसत २०० केजी (०.२ टन) अन्न चाहिन्छ । प्रतिव्यक्ति खपत ०.२ टनले कुल उत्पादन २.२६ अर्ब टनलाई भाग गर्दा विश्वको अहिलेको अन्न उत्पादन ११ अर्ब जनसङ्ख्या पाल्न पर्याप्त देखिन्छ ।
तर, आज बाँचिरहेका करिब ७ अर्बमध्ये झण्डै १ अर्ब मानिसले पेटभरी खान पाइरहेका छैनन् । ती भोकमरीबाट पीडित छन् । किन त ? किनभने पृथ्वीमा उत्पादित अन्नको करिब एकतिहाई अंश मासु, दूध र अण्डा आदिका निम्ति पालिने पशुको दानामा खर्च हुन्छ । कुल उत्पादनको षष्ठांश (करिब १७ प्रतिशत) भन्दा बढी अन्न बीउविजन र जैविक इन्धन (इथानोल आदि) लगायतका औद्योगिक प्रयोगमा खपत हुन्छ । यसरी विश्वमा उत्पादित अन्नमध्ये आधा मात्र मानिसको प्रत्यक्ष भोजनका निम्ति उपलब्ध हुने गरेको छ ।
नेपालको स्थिति पनि विश्वको भन्दा खासै भिन्न छैन । नेपालमा हाल वार्षिक ८५ लाख टनको हाराहारीमा अन्न उत्पादन हुने गरेको छ । नेपालको जनसङ्ख्या ३ करोड पुगेको मान्दा पनि हरेक नेपालीको भागमा २८३ केजी अन्न पर्न आउँछ । एउटा मानिसलाई वर्षभरिको निम्ति २०० केजी अन्न पर्याप्त हुन्छ भन्ने विश्वव्यापी मान्यता अनुसार हिसाब गर्ने हो भने नेपालको अहिलेको उत्पादन ४ करोड २५ लाख जनसङ्ख्या पाल्न पर्याप्त देखिन्छ ।
तर, हिसाबले देखाए जस्तो वास्तविकता कहाँ हुन्थ्यो र ! नेपाल अहिले पनि भोकमरीबाट पीडित देशमैगनिन्छ । झण्डै आधा जनसङ्ख्या आधा पेट मात्रै खाएर कुपोषणको सिकार भएर बाँचिरहेको छ । धनी मुलुकमा जस्तो हामीकहाँ अन्नको ठूलो अंश मासुका लागि पालिने पशु तथा औद्योगिक प्रयोजनमा खपत त हुँदैन तर चरा, मुसा, घुन, पुतली, ढुसी र घरेलु जाँड, रक्सी आदिका कारण लगभग त्यति नै अन्न बर्बाद हुने गरेको चाहिँ छ ।
माथिको आँकडा र तथ्यलाई अनेक कोणबाट व्याख्या/विश्लेषण गरी धेरै किसिमका निष्कर्ष निकाल्न सकिन्छ । त्यसमध्ये एउटा निष्कर्ष हुनसक्छ, “पृथ्वी आफ्ना जति पनि सन्तानलाई पाल्न सक्षम छ तर तिनले अन्न नै खाइदिनुपर्छ ।”
(९ मे, २०११ को न्यूयोर्क टाइम्स मा प्रकाशित प्रा. जोएल ई. कोहेनको लेखमा आधारित)
राजेन्द्र दाहाल



