मकै फल्योः विश्वास जाग्यो
झपाका १५ वर्षीय किशोर आसेर उराव यसपटकको शिक्षक का हिरो हुन् । उनले नवौँ कक्षामा पढ्दापढ्दै उन्नत ढङ्गले मकै खेती गरेर सबैलाई छक्क पारेका छन् । तर, यो कृषिप्रधान भनिने मुलुकमा मकै खेती गरेकाले मात्र उनलाई हामीले हिरो मानेका होइनौँ । हाम्रा दृष्टिमा उनले मकैको मात्र होइन, विश्वासको समेत खेती गरेका छन् ।
आसेर मात्र हिरो होइनन् । उनलाई माटोमा विश्वास जगाइदिने उनको स्कूल पनि हिरो हो, उनका शिक्षकहरू पनि हिरो हुन् । यी हिरोहरू नै मुलुकलाई आभूषित र सम्पन्न बनाउने हिरा हुन् । हराम्रो यस पटकको मुख्य आलेखमा नाम आएका वा नआएका मुलुकभरका यस्ता हिराहरू अमूल्य छन् किनभने यिनीहरूले सरकारले व्यवस्था गरेको स्थानीय पाठ्यक्रमलाई आफ्नै बुतामा थोरै भए पनि सिर्जनशील ढङ्गले लागू गरेर सार्थक तुल्याएका छन् ।
स्थानीय पाठ्यक्रम मूलतः स्थानीय सम्भावना र आवश्यकतालाई हेरेर तयार गरिएको स्थानीय ज्ञान र सीप समेटिएको व्यावहारिक शिक्षा हो । आजको समाज मा आत्मनिर्भरताका लागि ज्ञान र सीपको ठूलो महत्व छ । स्थानीय पाठ्यक्रमको विकास रराम्रोसित गरिएको छ, विश्वासपूर्वक पढाइएको छ र सम्भव भएसम्म प्रयोगात्मक कक्षा सञ्चालन गरेर किशोर–किशोरीलाई आवश्यक सीपहरू सिकाइएको छ भने त्यसले विद्यार्थीमा विश्वास जगाउन सक्छ । काममा विश्वास भएपछि ऊ मिहिनेत गर्न थाल्छ र उत्पादनशील हुन्छ । अन्ततः ऊ आत्मनिर्भर, सम्पन्न र प्रतिष्ठित हुन्छ । स्वाभिमान यहीँबाट जन्मिन्छ । आफ्नो माटो, आफ्नो सीप र आफ्नो पौरखलाई उत्पादनशील बनाउने शिक्षा र सीप पाएका भए अहिले यति धेरै नेपाली सामान्य तलबमा कठोर श्रम गर्न विदेश जाने थिएनन् ।
नेपाल असीमित सम्भावनाहरू भएको देश हो । हराम्रो हावापानीको विविधता, हाम्रा हिमालहरूको उचाइ, हामीकहाँ पाइने जीवजन्तु र वनस्पतिहरूको सङ्ख्या, हराम्रो सांस्कृतिक विशिष्टता, हराम्रो मुस्कान, हराम्रो वीरता, हाम्रा मैदान र फाँटहरूको व्यापकताले संसारमा नेपालले नाम कमाएको छ । हामीसित अपार स्रोत र सम्पत्तिहरू छन् । तर त्यति हुँदाहुँदै पनि हामी ‘“छैन र केही हुँदैन’ भन्ने मान सिकताबाट किनग्रसित छौँ ?
यसको मुख्य कारण हो, हामीले आफ्ना स्रोत र सम्पत्तिहरूप्रति विश्वास गर्न जानेका छैनौँ । आफूलाई अलिअलि विश्वास भए पनि हामीले यस बारेमा आफ्नै बालबालिकामा विश्वास जगाउन सकेका छैनौँ । फलतः नेपालको युवापुस्ता पर टल्किएको बालुवालाई पानी भन्ठानेर दगुरिरहेको मृग जस्तो भएको छ, जसलाई नजिकै केही पाइन्छ भन्ने विश्वास छैन । विश्वास नै नभएपछि कसैले श्रम र सीप खर्च गर्दैन । स्रोतको सदुपयोग नहुनु भनेको व्यक्तिको, समाज को र अन्ततः मुलुकको क्षति हो ।
मुलुकले यस्ता धेरै क्षति बेहोरेको छ र यस्तै यस्तै कारणहरूले गर्दा अहिले हराम्रो समाज विश्वासको सङ्कटमा छ । व्यक्तिले व्यक्तिलाई , संस्थाहरूलाई , संस्थापनाहरूलाई र नियम कानुनहरूलाई ढुक्क भएर विश्वास गर्न नसकेको कुरा हामी सबैले अनुभव गरिरहेका छौँ । ‘“यहाँ के हुन्छ र ?’ हराम्रो सबभन्दा चल्तीको थेगो भएको छ । अविश्वास र अनास्थाको फेशन चर्केको छ । अर्थ न बर्थको विद्रोही चेतले हराम्रो रचनात्मकता र उत्पादकत्वलाई ध्वस्त बनाएको छ । हामी मुखले त देश देश भन्छौँ, तर देशप्रतिको अविश्वासको चरम सीमा मान्छेका महत्वाकाङ्क्षाहरूमा प्रतिबिम्वित भएको छ । विदेश जान, त्यो पनि सकेसम्म उतैको हुन चाहनेहरूको हूल प्रतिदिन बढिरहेको छ ।
अमेरिका जान डीभी चिट्ठाको फर्म भर्न, अष्ट्रेलिया र क्यानडामा पीआर खोज्न लाखौँ खर्चिनेहरूमध्ये अधिकांशलाई उताको झलििमिली र पैसाले तानेको छ । तर, सामान्य ज्यालामा केही समयका लागि आफ्नो श्रम बेच्न विदेश जान चाहनेहरू उहाँ धेरै पाइन्छ भन्ने कुरा मा विश्वास भएर मात्र जान लागेका होइनन् । उनीहरू त आफ्नो देशमा भविष्य नदेखेर जान खोजेका हुन् । काम गर्ने मानिस होइन, मलामी समेत नपाइने स्थिति भइसकेको छ, गाउँमा ।
तर, सम्भवतः आसेर उराव विदेश जाँदैनन् । उनले माटोलाई विश्वास गर्न सिकेका छन् । आफ्नो माटोमा जरागाडेको बिरुवा लरतरो हुरीले हल्लिँदैन । आसेर उराव जस्ता आँखामा सपना र पाखुरामा बल भएका लाखौँ नवयुवालाई रोजगारी दिने क्षमता यस मुलुकमा छैन । उनीहरूलाई अर्ध–शिक्षित बेरोजगार बन्न नदिने एउटा उपाय स्थानीय पाठ्यक्रमको निष्ठापूर्ण निर्माण र त्यसको पठनपाठन पनि हुन सक्छ ।
हामी विश्वास जगाउन सक्ने ठाउँमा छौँ । कसैले राम्रा कुरा खोजेर र तिनका बारेमा लेखेर विश्वास जगाउन सक्छौँ, कसैले राम्रा कुरा पढेर र पढाएर । तर सक्ने ठाउँमा हुँदाहुँदै पनि हामी आफ्नो माटोप्रति र आफ्नो देशप्रति विश्वास जगाउन प्रयास गरिरहेका छैनौँ भने हामीले विचार गर्नै पर्छ कतै हामी अन्जानमै मानिसलाई अविश्वासहरूको खाडलमा जाकेर दासताको बजारमा धपाउने दलालहरूलाई त सघाइरहेका छैनौँ ?



