हेराइ र बुझाइ
छुरीको धार र बिँड
रामकृष्ण परमहंस (सन् १८३६–१८८६) का चेला विवेकानन्द (सन् १८६३–१९०२) गुरुपत्नी शारदा (शारदमणि मुखोपाध्याय) लाई पनि उत्तिकै मान्थे । सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्व धार्मिक संसद् (पार्लियामेन्ट अफ द वल्र्डस् रिलिजन्स)मा आफ्नो सहभागिताको कुरा चलेपछि उनले गुरुमाको अनुमति लिन चाहे । शारदाको आश्रममा गएर विवेकानन्दले शिकागो भेलामा जाने अनुमति मागे ।
विवेकानन्दको कुरा सुनिसकेपछि शारदाले भान्सामा गएर छुरी ल्याउन भनिन् । विवेकानन्दले छुरी ल्याएर गुरुमालाई दिए । गुरुमाले हातमा छुरी लिएर मुस्कुरा उँदै विवेकानन्दलाई भनिन्, “ल ! तिमी उत्तीर्ण भयौ । जाऊ, सफल भएर आऊ !”
विवेकानन्द छक्क परे र सोधे, “माँ ! यो कस्तो परीक्षा थियो र म उत्तीर्ण भएँ ?” गुरुमाले भनिन्, “तिमीले छुरी कसरी मेरो हातमा दिन्छौ भनेर मैले हेर्न खोजेकी थिएँ । तिमीले छुरीको धार आफूले समातेर मलाई बिँड समाउन दियौँ । म यसमै सन्तुष्ट भएँ । यदि तिमीले बिँड आफूले समातेर धार समाउन मलाई दिएको भए सम्भवतः म तिमीलाई त्यो भेलामा जाने अनुमति दिने थिइनँ ।”
यसै पनि विवेकानन्द विद्वान् र विवेकशील त छँदैथिए । गुरुमाको यस भनाइमा अन्तरनिहित भाव उनले बुझहिाले । साथै त्यस दिन उनले सहकार्य, सद्भाव र शिष्टाचारको थप पाठ पनि सिके ।



