अवकाश प्राप्त शिक्षकका काम
अवकाशपछि समय कसरी कटाउने ? दिन कसरी बिताउने ? काम न काजको पो होइन्छ कि ! बिहान देखि बेलुकीसम्म दौडधुप गर्नु परेको आफ्नो बानीलाई कसरी खुम्च्याउन सकिएला ? साथीभाइ, इष्टमित्र, घरपरिवार सबैको बोझ् पो भइन्छ कि ! दुई, तीन वा चार दशकको व्यस्त जीवनपछि एकाएक दायित्वविहीन हुँदा मनमा यस्ता आशङ्का पैदा हुनु स्वाभाविक हुन्छ । पदमा बहाल रहँदा विद्यालयको सम्पूर्ण व्यवस्थापन मिलाउनुपर्ने, सहयोगी साथीहरूलाई यथोचित जिम्मेवारीमा राख्नुपर्ने, सबै पक्षसँग समन्वय गर्दै सहकार्यका हातहरू फैलाएर संस्थाको विकास मा निरन्तर प्रयत्नरत रहनु भनेको निश्चय पनि एक चुनौतीपूर्ण कार्य थियो । तर अवकाशपछि आफ्नो मात्र भूमिका निर्धारण गरी आफूलाई व्यवस्थित गर्नु पर्दा धेरै हल्का भएको अनुभव हुँदोरहेछ ।
शिक्षण पेशा समाज को माया, ममता र सहयोगमा स्थापित हुने पेशा भएकाले आफू पदमा रहँदा आर्जन गरेको सामाजिक मर्यादा, आदर र सम्मान बाट पाइने आनन्द, सन्तुष्टि र सन्तोष संसारको कुनै पनि बजारमा खरिद गर्न नपाइने खालको हुन्छ । अवकाशप्राप्त शिक्षकसँग सम्पत्ति कम हुन्छ, तर उसले यस्तो बहुमूल्य प्रतिष्ठा, इज्जत र सद्भाव आर्जन गरेको हुन्छ; जसको मूल्य नै हुँदैन ।
आफू पदमा रहँदा डर, धाक र धम्की देखाएर थर्काएको भरमा प्राप्त सम्मान पदमुक्त भएका दिन चकनाचुर हुने तर इमान दारीपूर्वक काम गर्ने शिक्षकको भने समाज मा प्रभाव र लोकप्रियता ज्यूँका त्यूँ रहन्छ । तसर्थ कार्यरत शिक्षकहरू समाज मा आफ्नो प्रभाव छाड्न लागिपर्नु रराम्रो हुन्छ । हामीले शिक्षण पेशालाई निजामती जागिरसँग तुलना गर्नु नै हुँदैन । हराम्रो पेशा कति महत्वपूर्ण र गहन रहेछ भन्ने कुरा अवकाशपछि रराम्रोसँग अनुभव गर्न सकिन्छ । विद्यार्थीका बीचमा हाईहाई हुने, शिक्षकहरूको माझ्मा लोकप्रिय बन्ने अनि अभिभावकहरूको अगुवाई गर्ने मौका यो संसारमा शिक्षक बाहेक शायद नै अरू कसैलाई जुर्ला ! त्यसैले शिक्षक साथीहरू ! आफ्नो पेशाप्रतिगर्व गरौं र सम्मानित हुनेतर्फ लागौं । शुभ–काममा बियाँलो नगरौं !
आज हराम्रो आफ्नै कारणले नानाभाँतीका आरोपहरू व्यहोर्नु परिरहेको छ । चोक, चौतारी, सभा–सम्मेलन, हाटबजार चारैतिर शिक्षकप्रति आलोचनात्मक स्वरहरूगुञ्जिरहेका छन् । शिक्षकहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सकेनन् । दायित्व बुझेनन् । दलका पुच्छर बने । खेताला शिक्षक भए । आफैँ चिट चोर्ने र चोराउने भए । नक्कली प्रमाणपत्रधारी, कामचोर, नाफाखोर, दलाल, व्यापारी आदि विशेषणहरू हराम्रो अगाडि जोडिने गरेका छन् । यति मात्र नभई लाभका पछि दौडने, यो भएन र त्यो भएन भनी गनगन मात्र गर्ने , हनेपाहा, लाठीधारी, आफूलाई आफैँले जान्ने–बुझने ठान्ने, रिसाहा, ठग, नपढ्ने नपढाउने, जँड्याहा, जुवाडे जस्ता फुँदाहरू पनि ‘शिक्षक’ शब्दका अगाडि जोडिने गरेका छन् । तर यस्ता निकम्माहरूको सङ्ख्या हराम्रो पेशामा धेरै छैन । तैपनि , निकम्माहरुले प्रदर्शन गरेको बहुरङ्गी चर्तिकलाका कारण समुच्च शिक्षण पेशा नै बदनाम भएको छ । शिक्षकका पेशागत संस्थाहरूले पनि यस्ता पाखण्डीहरूलाई दिएको सदस्यता खारेज गर्न अबेर न गरौँ ।
अवकाशप्राप्त शिक्षक साथीहरू पनि आ–आफ्नो गाउँ, बस्ती र टोल–छिमेकमा शिक्षण पेशालाई नै कलङ्कित पार्ने नालायकहरुलाई नाङ्गेझर पार्ने अभियानमा लागौँ । हामीले आजीवन पसिना बगाएको पेशालाई बदनाम हुनबाट जोगाऔँ । यस्तो परोपकारी र पुण्य कार्य गर्न अग्रसर बनौँ । अब हामीले कसैको डर मान्नुपर्ने अवस्था रहेन । कसैको विरोध गर्दा अथवा यस्ता भ्रष्टहरूलाई खुइल्याउँदा घरपायकको जागिरगुम्छ कि, दुर्गममा सरुवा भइन्छ कि, घटुवा होइन्छ कि भन्ने भय पनि त अब हामीसँग रहेन ! अतः निर्भीकसाथ यस्ता सामाजिक कार्यमा जुट्न ढिलाइ न गरौँ ।
हाम्रा विद्यालयहरू आन्तरिक द्वन्द्वबाट ग्रसित छन् । द्वन्द्व, झैँ–झ्गडा, रिसइवी, मतमतान्तर र कलह प्रगतिका बाधक हुन् । द्वन्द्वग्रस्त विद्यालयले कदापि उन्नति गर्न सक्दैन । हामी अवकाशप्राप्त शिक्षकहरूरूले आ–आफ्ना वा पायक पर्ने विद्यालयमा देखापरेका यस्ता र अन्य किसिमका द्वन्द्वहरू न्यूनीकरण गर्न प्रयत्न गरौँ । विद्यालयमा देखापरेका द्वन्द्वहरू घटाई पठनपाठन कार्यलाई गति दिन सकियो भने यसबाट आत्मसन्तोष प्राप्त हुन्छ । आत्मसन्तोष स्वस्थ र दीर्घ जीवनको सहयोगी हो ।
बारम्बार विज्ञापन गर्दा पनि दलीय भागबण्डा नमिलेर कैयन् विद्यालयहरूमा शिक्षक नियुक्ति प्रक्रिया सफल हुन नसकिरहेको अवस्था छ । अधिकांश विद्यालयहरूमा राजनीतिक किचोलाकै कारण विद्यालय व्यवस्थापन समितिगठन हुन नसकिरहेको हुन्छ भने कैयन् विद्यालयहरूरूमा शिक्षा ऐन विपरित राजनीतिक भागबण्डाकै आधारमा खेताला अभिभावकबाट व्यवस्थापन समिति बनेका छन् । कतिपय विद्यालयहरूमा मनपरीढङ्गले आफ्नालाई प्रधानाध्यापक बनाइएबाट द्वन्द्व चर्केको छ । शिक्षक नियुक्तिमा पनि यस्तै नौटङ्की प्रदर्शन गरिएको छ । राजनीतिक हस्तक्षेपकै कारण आज विद्यालयहरूमागतिला शिक्षकको अभाव खट्किएको छ । राजनीतिक दलहरू विद्यालय सपार्न भन्दा पनि आफ्नो स्वार्थसिद्धिका लागि बिगार्न कम्मर कसेर लागिपरेका छन् । यी र यस्ता बग्रेल्ती समस्याहरूप्रति हामी फुर्सदिला अवकाशप्राप्त शिक्षकहरूले ध्यान दिन सके पक्कै पनि समस्याहरू घट्ने थिए भन्ने लाग्दछ ।
कृष्णप्रसाद ढकाल
पूर्व प्रअ तथा निवर्तमान अध्यक्ष , नेपाल शिक्षक युनियन



