टीपीडी कक्षामा पुगे त राम्रो !

कक्षामा पढाउँदा आइपरेका समस्याको सीधै समाधान खोज्न मद्दत गर्ने भएकाले शिक्षकको पेशागत विकास (टीपीडी) कार्यक्रमलाई शिक्षकले आफ्ना निम्ति उपयोगी भएको ठानेका छन् । तथापि टीपीडीलाई प्रभावकारी बनाउन यसको व्यवस्थापकीय पाटोमा धेरै सुधार गर्नु पर्ने देखिन्छ । 

  • तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव उमाविका प्रावि शिक्षक ध्रुव पौडेललाई गणित पढाउँदा आफूले विद्यार्थीलाई सजिलोसँग भिन्नको अवधारणा सिकाउन नसकेको महसुस हुन्थ्यो । तलको हर र माथिको अंश भनेर चिनाउनुमै भिन्न शिक्षण सीमित हुन्थ्यो । शिक्षक पौडेलकै शब्दमा यो उनको ‘घोकन्ते सिकाइ’को नतिजा थियो । २–६ वैशाख २०६८ मा शिक्षकको पेशागत विकास (टीपीडी) नाम दिइएको तालिमबाट भने उनले भिन्न सिकाउने उपयोगी तरिका सिके । उनी भन्छन्, “कागजको टुक्रालाई पट्याएर भिन्न रुपहरू सजिलोसँग देखाउन सकिने रहेछ । अब म विद्यार्थीलाई यसरी नै सिकाउँछु ।” टीपीडीले पौडेललाई साना नानीहरूलाई सिन्काको प्रयोगबाट जोडको अवधारणा पढाउने विधि पनि सिकाएको छ ।
  • गोरखा, घैरुङस्थित हिमालय माविका शिक्षक सीताराम ढकाललाई नेपाली व्याकरणमा ‘पदवर्ग’ को शिक्षण गर्दा एउटै शब्द किन कहिले ‘नाम’ र कहिले ‘विशेषण’का रूपमा प्रयोग हुन्छ भन्ने अन्योलले सताइरहन्थ्यो । तर, शैक्षिक तालिम केन्द्र, गोरखाले ५–९ वैशाखमा आयोजना गरेको नेपाली विषयको टीपीडी कार्यक्रमले उनको त्यो समस्या हल गरिदियो ।
  • तनहुँ, सतीस्वाँरास्थित जनसहयोगी माविका गणित शिक्षक राजु ढकाललाई ‘ऐकिक नियम’ पनि चित्रको प्रयोग गरेर सिकाउन सकिन्छ भन्ने थाहा थिएन । तनहुँमा १२–१६ वैशाखमा सञ्चालित टीपीडीमा बसेपछि उनले ऐकिक नियम पनि चित्रको सहयोगले पढाउन सकिने रहेछ भन्ने चाल पाए । राजु भन्छन्, “तालिमपछि गणितका अन्य पाठ पढाउँदा पनि चित्र र अरू शैक्षिक सामग्रीको प्रयोग गर्ने जाँगर बढेको छ ।”

लामो अवधिको शिक्षक तालिमको सट्टा एक वर्षअघि लागू गरिएको शिक्षकको पेशागत विकास (टीपीडी) नामक नयाँ कार्यक्रमले शिक्षकहरूको शिक्षण कार्य सुधार्न केही न केही योगदान गरेको देखिन्छ । टीपीडीमा भाग लिएका अधिकांश शिक्षकले आफूले कक्षा शिक्षण गर्दा भोगेका समस्या समाधान गर्न टीपीडी सहयोगी भएको प्रतिक्रिया दिने गरेका छन् ।

यसअघि सञ्चालित छोटो अवधिका शिक्षक तालिम मात्र होइन, १० महिने तालिमको सीप समेत कक्षाकोठामा पुग्न नसकेपछि शैक्षिक जनशक्ति विकास केन्द्रले टीपीडीको अवधारणा कार्यान्वयन गर्न थालेको हो । यसमा मूलतः शिक्षकले कक्षाकोठामा पढाउँदा भोगेका समस्या सङ्कलन गरेर तिनको सीधै समाधान गर्न सिकाइन्छ । शिक्षाका अधिकारी हरू यो कार्यक्रमलाई ‘मागमा आधारित शिक्षक तालिम’को रूपमा व्याख्या गर्छन् । विगतमा सञ्चालित शिक्षक तालिमहरू केन्द्रमा बनाइएको ‘मोड्युल’मा आधारित हुने गर्दथे ।

टीपीडी तालिम कक्षामा प्रशिक्षार्थी (शिक्षक) तथा रोष्टर प्रशिक्षकबीच प्रत्यक्ष अन्तरक्रिया र विषयवस्तुबारे सामूहिक छलफल समेत हुने भएकाले शिक्षकहरूमा आपसी सिकाइ अनुभव समेत आदानप्रदान हुन पाउँछ । गोरखा, बक्राङस्थित महेन्द्रशक्ति माविका नेपाली शिक्षक प्रकाश अर्याल भन्छन्, “विगतमा प्रशिक्षकले केन्द्रमा बनाएर ल्याएको नोट हाम्रा अगाडि पढ्थे । कक्षाकोठामा हामीले भोगेका समस्यामा खासै छलफल हुँदैनथ्यो । अहिले कक्षाकोठामा परेका समस्या माथि छलफल गर्न पाइएको छ । त्यसैले यो तालिम तुलनात्मक रूपमा रराम्रो र उपलब्धिमूलक छ ।”

सरकारी तथ्याङ्क अनुसार, स्वीकृत दरबन्दीमा कार्यरत शिक्षकहरूमध्ये ९८.२ प्रतिशतले १० महिने सेवाकालीन तालिम पाइसकेका छन् । टीपीडी कार्यक्रम तिनै शिक्षकमा लक्षित छ । शिक्षणका क्रममा आइपर्ने समस्यालाई स्थलगतरूपमै समाधान गर्ने र पेशागत दक्षता बढाउन शिक्षकहरूलाई निरन्तर उत्प्रेरित गरिरहने यसको उद्देश्य देखिन्छ । टीपीडीको तालिम प्याकेज १० दिनको छ । जसमध्ये पाँच दिन प्रत्यक्ष (‘फेस टु फेस’) छलफल र बाँकी पाँच दिन शिक्षकले स्वाध्यायनमा बिताउनुपर्छ । प्रत्येक शिक्षकले पाँच वर्षभित्र तीन पटक टीपीडी लिने अवसर पाउने छन् । शैक्षिक तालिम केन्द्र र अगुवा स्रोतकेन्द्रमा माध्यमिक तह तथा स्रोतकेन्द्रहरूमा आधारभूत तहका शिक्षकलाई टीपीडी तालिम दिने गरिएको छ । अघिल्लो वर्ष देशभरिका ३० हजार शिक्षकलाई टीपीडी कार्यक्रममा सहभागीगराइएको सरकारी आँकडा भेटिन्छ । यस वर्ष करिब ९२ हजार शिक्षक यसमा सहभागी हुने अनुमान शैक्षिक जनशक्ति विकास केन्द्रले गरेको छ ।

कम छैनन् झ्मेला
टीपीडीले शिक्षकको जाँगर जगाउन सहयोग पुर्याए पनि यो कार्यक्रम समस्यामुक्त भने छैन । टीपीडी शुरु भएको एक वर्ष बितिसक्दा पनि शिक्षकलाई यसबारे रराम्रोसँग बुझाउन सकिएको छैन । टीपीडीका लागि शिक्षकले भरेका माग फारमका केही प्रतिहरू हेर्दा पनि त्यस्तो कमजोरी झल्किन्छ । शिक्षण सिकाइका समस्यालाई मागका रूपमा उल्लेख गर्नु पर्ने भए पनि कतिपय शिक्षकले सन्दर्भ बाहिरका विषयवस्तुलाई समस्याको रूपमा उल्लेख गर्ने गरेका छन् । खैरेनी उमाविकी शिक्षक रमिला तिवारीले उदेनढुङ्गा स्रोतकेन्द्रमा पठाएको माग फारममा ‘विद्यार्थी नियमित नआएको, कापी–कलम नल्याएको, कक्षामा खाननेपानी सुविधा नभएको ’ जस्ता कुरा उल्लेख गरे की छन् । उनको फारममा शिक्षण सम्बन्धी समस्या एउटै पनि परेको थिएन । यो समस्या अरू स्रोतकेन्द्रमा पनि देखिन्छ । तनहुँ, सत्रसयस्थित मित्रता उमावि स्रोतकेन्द्रका स्रोतव्यक्ति रामचन्द्र अधिकारी भन्छन्, “शिक्षकका मागलाई शुरु मा स्कूलमै पहिचान गरेर मात्रै स्रोतकेन्द्रमा पठाउन सबै प्रअलाई भनिएको हो । तर, त्यसमा प्रअले पनि त्यति चासो दिएका छैनन् ।”


नधानिने ‘निर्वाह खर्च’

इन्द्रदेवी निमावि, छिम्केश्वरी, तनहुँकी शिक्षक विमला रानालाई उनको ‘तालिम हब’ सत्रसय स्रोतकेन्द्रसम्मको आउजाउ खर्च मात्रै रु.१६० लाग्छ । तर, टीपीडी कार्यक्रममा आएबापत उनले दैनिक रु.१५० मात्रै पाउँछिन् । त्यसमा पनि खाजा खर्च रु.३० कटाउँदा १२० रुपैयाँ मात्रै हातमा पर्छ । अर्थात् विमलाले पाएको तालिम भत्ताले उनकोगाडीभाडा तिर्नु पनि पुग्दैन ।

माध्यमिक तहका शिक्षकले दैनिक रु.२०० निर्वाह खर्च पाउँछन् । माध्यमिक तहको तालिम सदरमुकाममा मात्रै हुने भएकाले यो तहका शिक्षकलाई अझ् बढी समस्या छ । यसैबाट उनीहरूले यातायात खर्चसँगै बस्ने र खाने व्यवस्था मिलाउनुपर्छ । टीपीडी तालिमका लागि बिकट सिर्दीबास देखि गोरखा सदरमुकाम आएकी बुद्ध आवासीय माविकी शिक्षक पार्वता देवकोटा भन्छिन्, “यहाँ होटलमा बस्नुपरेको छ । खाना खर्च आफैंले धान्नुपर्छ । तालिम केन्द्रले दिएको रु.२०० ले के पुग्नु ! यो त साह्रै कम भयो ।” शैक्षिक तालिम केन्द्र, गोरखाका संयोजक भरतकाजी अर्याल शिक्षकको गुनासोलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा पुर्याइए पनि ‘ माथिबाटै सुनुवाई नभएको ’ बताउँछन् ।

प्रशिक्षार्थी शिक्षक मात्र होइन, रोष्टर प्रशिक्षकहरू पनि प्रशिक्षण दिएबापत आफूले पाउने पारिश्रमिकप्रति सन्तुष्ट छैनन् । आधारभूत तहका रोष्टर प्रशिक्षकले टीपीडीको प्रति सेसन (डेढ घण्टा) रु.१५० पाउँछन्, त्यसमा १५ प्रतिशत कर कट्टी गरिन्छ । तनहुँ, कमलाबारी स्रोतकेन्द्रका नेपाली विषयका प्रशिक्षक विश्वदर्शन पण्डित भन्छन्, “अर्को वर्षसम्म पारिश्रमिक बढाइएन भने निरन्तरता दिन हामीलाई पनि गाह्रो पर्नेछ ।”


टीपीडी तालिमका लागि छनोट गरिएका प्रशिक्षार्थी शिक्षकको विषयगत सन्तुलन मिलाउन नसक्दा पनि समस्या देखि एको छ । जस्तो कि; सत्रसय स्रोतकेन्द्रमा ७–११ वैशाखमा नेपाली र अङ्ग्रेजी विषयको संयुक्त टीपीडी कार्यक्रम सञ्चालन भएको थियो । सहभागी शिक्षकलाई सरिता पौडेलले अङ्ग्रेजी र भवदत्त शर्माले नेपाली विषयको पालैपालो प्रशिक्षण दिए । तर, तालिममा सहभागी २५ शिक्षकमध्ये यी दुवै विषय पढाउने शिक्षकको सङ्ख्या आधा पनि थिएन । तालिमको अन्तिम दिन प्रशिक्षक शर्माले ‘संयुक्त वर्ण’ बारे सिकाइरहँदा अङ्ग्रेजी शिक्षकका निम्ति अरुचिकर भएको देखि न्थ्यो । तनहुँ, बरादीस्थित मस्र्याङ्दी विद्या मन्दिर निमाविका अङ्ग्रेजी शिक्षक सीताराम वाग्ले यसलाई ‘नुन हालिएको खीर जस्तो’ भन्छन् ।


पीसीएफ र निजी शिक्षक बञ्चित

तनहुँको सत्रसय स्रोतकेन्द्रअन्तर्गत ३८ विद्यालयमा आधारभूत तहका २३ जना निजी स्रोतका शिक्षकहरू कार्यरत छन् । तीमध्ये मस्र्याङ्दी निमाविका सन्दीप वाग्लेले मात्रै यस वर्ष टीपीडी तालिम लिन पाए । तर, उनी पनि सीधै छानिएका भने थिएनन् । स्रोतव्यक्ति रामचन्द्र अधिकारी का अनुसार शुरु मा छनोट गरिएका दरबन्दीका शिक्षक अनुपस्थित भएपछि उनको ठाउँमा वाग्लेलाई राखिएको थियो । जिल्लाका बाँकी १६ वटा स्रोतकेन्द्रमा पनि पीसीएफ र निजी स्रोतका अधिकांश शिक्षकहरू टीपीडीबाट बञ्चित छन् । स्थायी दरबन्दी देखि निजी स्रोतसम्मका कार्यरत शिक्षकका लागि टीपीडी तालिम दिने सरकारी नीति छ ।

शिक्षा कार्यालयका अधिकृतहरूका भनाइमा टीपीडीका लागि प्राप्त कोटाबाट दरबन्दी र राहत अनुदानका शिक्षकलाई मात्रै सीमित गर्नु परेकाले पीसीएफ र निजी स्रोतका शिक्षकलाई समेट्न नसकिएको हो । जिशिका, तनहुँबाट तालिमका लागि ‘फोकल पर्सन’ तोकिएका विनि विश्वराज आचार्य भन्छन्, “टीपीडीका लागि सीमित कोटा आएकाले निजी स्रोतका शिक्षकलाई समेट्न सकिएन ।” शैक्षिक जनशक्ति विकास केन्द्रले यस वर्ष तनहुँका लागि आधारभूततर्फ १ हजार ६८७ र माध्यमिकतर्फ २३२ शिक्षकको टीपीडी कोटा पठाएको थियो । आउँदो वर्ष कोटा बढेको खण्डमा मात्रै पीसीएफ र निजी स्रोतका शिक्षकलाई समेट्न सकिने जानकारी विनि आचार्यले दिए ।


तनहुँका प्रायः सबैजसो स्रोतकेन्द्रमा नेपाली र अङ्ग्रेजीको संयुक्त टीपीडी मोड्युल बनाइएको छ । थर्पु स्रोतकेन्द्रमा अङ्ग्रेजी, नेपाली र सामाजिक समूहका विषयको एउटै मोड्युल बनाइएको छ । जिशिका, तनहुँका उपसचिव युवराज बगाले भन्छन्, “केन्द्रबाटै आधारभूत तहका लागि तीन वटा मात्रै मोड्युल बनाउने गरी कार्यक्रम आयो । त्यसैले सबै विषयलाई तीन वटा मोड्युलमा समेटिनुको विकल्प थिएन ।” माध्यमिक तहमा चाहिँ विषयगत रूपमा टीपीडी सञ्चालन हुने भएकाले यो समस्या देखिँदैन । आधारभूतमा पनि कक्षा १–५ मा विषयगत शिक्षक हुँदैनन्, एक शिक्षकले दुई/तीन वटा विषयसम्म पढाउनु पर्छ । विषय मिल्ने शिक्षकहरूको समूह र तदनुरुपकै मोड्युल बनाएर टीपीडी कक्षा सञ्चालन गर्दा यो समस्या कम हुने चाहिँ देखिन्छ ।

कक्षा एक देखि आठसम्म पढाउने शिक्षकलाई आधारभूत तहको टीपीडी तालिममा सहभागीगराइने गरेको छ तर यो समूहमा पर्ने सबै शिक्षक उस्तै क्षमता भएका हुँदैनन् । कोही कक्षा १–३ सम्म पढाउने हुन्छन् त कोही १–५ वा कोही ६–८ लाई पढाउने हुन्छन् । ती सबै खाले शिक्षकलाई एउटै कक्षामा राखेर तालिम दिँदा सिकाइको स्तर समान नभएको शिक्षकहरू बताउँछन् । त्यस्तो तालिममा माथिल्लो तहमा पढाउने शिक्षकको तुलनामा तल्लो कक्षाका शिक्षकहरू निष्क्रिय देखिन्छन् । उदेनढुङ्गा स्रोतकेन्द्रमा ७ वैशाखमा सञ्चालित अङ्ग्रेजीको टीपीडी कक्षामा उपस्थित १७ शिक्षकमध्ये चार जना मात्रै प्रशिक्षकसँग निरन्तर सवाल–जवाफ गरिरहेका थिए भने अरू चाहिँ मौन देखिन्थे । त्यसैले शिक्षकको योग्यता, तह र उसले पढाउने विषयका आधारमा तालिम सञ्चालन गर्नु पर्ने माग शिक्षकको छ ।

टीपीडीको तालिम हब अर्थात् स्रोतकेन्द्रहरूमा शिक्षण तथा स्रोत सामग्रीको पनि अभाव रहेको पाइन्छ । तालिम केन्द्रमा केही हदसम्म शिक्षण सामग्रीहरू रहे पनि स्रोतकेन्द्रहरू त्यस्ता सामग्रीको यथेष्ट पहुँचभन्दा बाहिरै छन् । यसले स्रोतकेन्द्रमा सञ्चालित तालिम कक्षा प्रयोगात्मक/प्रदर्शनात्मक हुनुको साटो छलफल मुखी बन्ने गरेका छन् ।

स्वाध्यायन प्रशिक्षणः कुरै बुझएिन
टीपीडी कार्यक्रमअन्तर्गत पाँच दिनको ‘फेस टु फेस’ तालिम पूरा भएपछि शिक्षकले अर्को पाँच दिनको स्वाध्यायन खण्ड (दोस्रो भाग) पूरा गर्नु पर्ने हुन्छ । त्यसमध्ये तीनदिने शिक्षण कार्यभार बराबरको क्रेडिट पाउने गरी २०–३० दिनको स्वाध्यायन र बाँकी दुई दिन शैक्षिक परामर्श खण्ड तोकिएको छ ।

स्वाध्यायन अभ्यास अन्तर्गत शिक्षण सुधार योजना (टीआईपी) अनिवार्य हुन्छ भने ‘प्रोजेक्ट कार्य’, कार्यमूलक अनुसन्धान र अवस्था अध्ययनमध्ये कुनै दुई वटा पूरा गर्नु पर्ने हुन्छ । यीमध्ये टीआईपीको प्रक्रियाबारे प्रशिक्षार्थी शिक्षकलाई बुझाउने प्रयास स्रोतव्यक्ति र प्रशिक्षकहरूबाट भए पनि ‘प्रोजेक्ट कार्य’, कार्यमूलक अनुसन्धान र अवस्था अध्ययनको तयारीबारे कसैमा पनि स्पष्टता छैन । तनहुँ, कमलाबारी स्रोतकेन्द्रमा यस्तो समस्या प्रशस्त पाइयो । प्रशिक्षकले तीन वटै अभ्यास को बारेमा सङ्क्षिप्त परिचय मात्रै दिए । ती अभ्यास को तयारी, कार्यविधि, त्यसको उद्देश्य, त्यसबाट शिक्षकलाई हुने फाइदाको विषयमा प्रशिक्षकले नै स्पष्ट रूपमा बुझाउन नसकेको अनुभव हुन्थ्यो । उक्त खण्डको अभिमुखीकरणका लागि डेढ घण्टाको कक्षा हुनुपर्ने भए पनि कमलाबारीमा आधा घण्टामै सिध्याइएको थियो । अमरज्योति मावि, घाँसीकुवाकी शिक्षक विजय कुमारी सोतीले तीन वटै अभ्यास को खाकाबारे आफू स्पष्ट नभएको प्रतिक्रिया जनाइन् । सत्रसय स्रोतकेन्द्रमा चाहिँ प्रोजेक्ट कार्यको खाकाको सामान्य परिचयसम्म दिइएको थियो । तर, कार्यमूलक अनुसन्धान र अवस्था अध्ययनको अभिमुखीकरण कमलाबारी स्रोतकेन्द्रको भन्दा फरक थिएन ।

टीपीडीको तेस्रो भाग ‘शैक्षिक परामर्श’ खण्डको अवधि दुई दिन तोकिएको छ । यो चरणमा प्रशिक्षकले तालिममा भाग लिएका शिक्षकको विद्यालयमा पुगेर सम्बन्धित शिक्षकले पहिलो पाँचदिने तालिममा सिकेको कुरा र प्रोजेक्ट कार्यको समीक्षा गर्नु पर्ने हुन्छ । तर यो पनि प्रायः औपचारिकतामै सीमित भएको पाइन्छ । शैक्षिक परामर्शका लागि दुई दिन छुट्याइए पनि प्रायः रोष्टर प्रशिक्षकहरू एक दिन मात्रै प्रशिक्षार्थीको विद्यालयमा पुग्ने गरेको भेटिन्छ । थर्पु स्रोतकेन्द्रका स्रोतव्यक्ति हुतमणि अधिकारी भन्छन्, “गत वर्ष रराम्रोसँग ‘फलोअप’ गर्न सकिएन । प्रशिक्षकले आफ्नो स्कूलमा पनि पढाउनु पर्ने भएकाले समय मिलाउनै गाह्रो पर्छ ।”

खाँचो लगावको
सरकारले शिक्षकका लागि विभिन्न कालखण्डमा विभिन्न नाममा सेवाकालीन तालिम दिँदै आएको छ । २०२८ सालयता मात्रै शिक्षक तालिममा १५ करोड डलर (करिब रु.११ अर्ब) खर्च भएको शैक्षिक जनशक्ति विकास केन्द्रको आँकडाले देखाउँछ । यद्यपि तालिममा सिकेको ज्ञानलाई शिक्षकले अपेक्षित मात्रामा कक्षाकोठासम्म पुर्याउन सकेको भने पाइँदैन ।

ध्ययन/अनुसन्धानहरूले पनि तालिमले दिएका शिक्षण सीपको ५० प्रतिशत अंश मात्रै कक्षामा पुगेको देखाउने गरेका छन् । टीपीडी कार्यक्रममा पनि विगतकै नियति दोहोरिन नदिनु तालिम प्रदायकको प्रमुख कार्यभार हो । तर त्यसनिम्ति टीपीडीको व्यवस्थापकीय पाटोमा मात्रै सुधार गरेर पुग्दैन, शिक्षकले पनि आफ्ना कमजोरी र प्रवृत्ति सुधार गर्न अग्रसर हुनुपर्ने देखिन्छ ।


तालिका र कार्यक्रममै अन्तर

शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको तालिका अनुसार टीपीडी कार्यक्रम चलेको पाइँदैन । कार्यक्रमको तालिकामा साउनभित्र प्रअलाई अभिमुखीकरण गरी भदौ महिनाभित्र शिक्षकको माग फारम सङ्कलन गर्ने र असोज महिनाभित्र त्यसलाई प्रमाणीकरण गरेर मङ्सिरसम्ममा तालिमको मोड्युल बनाइसक्ने र पुस देखि तालिम शुरु गर्ने उल्लेख छ । तर, कार्यक्रम चाहिँ त्यसरी चलेको पाइँदैन ।

तनहुँमा माघ देखि प्रअको अभिमुखीकरण र शिक्षकका माग सङ्कलन शुरु गरिएको थियो । मोड्युल तयार गरेर कार्यक्रम शुरु गर्दा चैतको तेस्रो साता पुग्यो । कार्यक्रम नै ढिला शुरु भएकाले हतारहतारमै तालिमको मोड्युल बनाउनु परेको गुनासो प्रशिक्षकहरूको छ । थर्पु स्रोतकेन्द्रकी प्रशिक्षक सरिता पौडेल भन्छिन्, “फागुन २० बाट मात्रै मोड्युल तयारीमा लागियो । बीचमा एसएलसी परीक्षा पनि परेकाले पर्याप्त समय दिन सकिएन । हतार–हतार गरेर चैत २० सम्ममा मोड्युल बनाइयो ।” जिशिका, तनहुँका उपसचिव युवराज बगाले भने केन्द्रबाट बजेट र कार्यक्रम आउनै ढिलाइ भएकाले तालिकालाई पछ्याउन नसकिएको बताउँछन् । उनी भन्छन्, “केन्द्रबाट पुसमा मात्रै बजेट/कार्यक्रम आयो । बजेट ढिलो आएका कारण समयमै टीपीडी कार्यक्रम शुरु गर्न सकिएन ।”


स्रोतव्यक्ति र रोष्टर प्रशिक्षकहरूका अनुसार कतिपय शिक्षकहरू आफ्नो कमजोरी प्रकट होला भन्ने डरले कक्षा–शिक्षणका वास्तविक समस्यालाई टीपीडीको माग फारममा उल्लेख नै गर्न चाहँदैनन् । उनीहरूको त्यस्तो प्रवृत्ति तालिम कक्षामा समेत दोहोरिने गर्छ । प्राथमिक तहका शिक्षकमा यस्तो कमजोरी बढी रहेको प्रशिक्षकहरूको अनुभव छ ।

टीपीडीको माग फारम पनि प्रायले हतारहतारमा मनमा लागेका समस्यालाई उल्लेख गरेर भर्ने गरेको पाइन्छ । कक्षामा पढाउँदा परेको खास समस्यालाई नोट गरेर राख्ने र त्यसैलाई माग फारममा उल्लेख गर्ने अभ्यास शिक्षकले थाल्नुपर्ने देखिन्छ । तालिम कक्षामा पनि शिक्षक जति सक्रिय रहन्छ, उसले त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्ने हो । त्यसतर्फ शिक्षकले आफ्नो रुचि र चासो उत्तिकै बढाउनुपर्ने आवश्यकता छ । तालिममा सिकेका शिक्षण सीपलाई कक्षाकोठामा पनि लागू गर्ने सवालमा सबैभन्दा बढी जिम्मेवार शिक्षक हो र त्यसमा ऊ गम्भीर नबन्दासम्म उसलाई कसैले पनि सघाउन र सुधार्न सक्दैन ।

commercial commercial commercial commercial