जिज्ञासा र जवाफ
सबै विषय पास न गरी कक्षा ९ मा जान पाइँदैन
संशोधित शिक्षा नियमावलीको नियम ४१(१ क) मा उल्लेख भए अनुसार विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट्सवाइज पास सिस्टम) मा ‘जति वटा विषयमा विद्यार्थी उत्तीर्ण हुन्छ, त्यति वटा विषयको मात्र प्रमाणपत्र दिइनेछ’ भनी लेखिएको रहेछ । यो व्यवस्था अवलम्बन गर्दा ४, ५ वा ६ विषय मात्र पास गरेको र बाँकी विषयमा फेल भएको विद्यार्थीलाई माथिल्लो कक्षामा भर्ना लिन मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने सबै विषयमा पास हुने र नहुने विद्यार्थीबीच के अन्तर भयो त ?
विदुर अधिकारी
हरिसिद्धि मावि, कालिञ्चोक, काभ्रे
मिलन वली
नेरा मावि, डाँडाखाली–२, सुर्खेत
यो प्रावधान कक्षा आठको लागि राखिएको हो । यसको मतलब केही विषयमा अनुत्तीर्ण भए पनि कक्षा नौमा चढाउनुपर्छ भन्ने होइन । अनुत्तीर्ण भएका विषयमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्छ । सबै विषय उत्तीर्ण नभइकन माथिल्लो कक्षामा भर्ना हुन मिल्दैन । खासमा कक्षा आठपछि विद्यार्थीले कुनै व्यावसायिक तालिम लिन समेत अवसर पाओस् भन्ने अभिप्रायले ‘सब्जेक्ट्सवाइज पास सिस्टम’को अवधारणा ल्याइएको हो ।
महाश्रम शर्मा
सहसचिव, शिक्षा मन्त्रालय
पुरानो भत्ता पाउँला ?
म श्री चोक मावि, रामपुरटार, तनहुँमा कार्यरत शिक्षक माधवप्रसाद अधिकारी (स्रोतव्यक्ति)को लियन पदमा सट्टा शिक्षकको रूपमा मिति २०६५/११/१५ मा नियुक्त भएकी थिएँ । आव २०६६/६७ को बजेट वक्तव्य अनुसार वृद्धि भएको तलब र भत्ताबापतको रकम राहत र सट्टा शिक्षकले पनि पाउने भन्ने सुनेकी थिएँ । मैले २०६७ साउन देखि बढेको तलब/भत्ता पाए पनि २०६६ साउन देखि २०६७ असारसम्मको वृद्धि भएको तलब/भत्ता भने पाउन सकिनँ । हाल मैले राजिनामा दिइसकेकी छुु । अब मैले छुटेको रकम पाउँछु कि पाउँदिनँ ?
सरस्वती लौडारी
चोक–३, तनहुँ
आव २०६६/६७ को नियमित तलब बुझेको भर्पाइ र बढेको तलब/भत्ता लिन नपाएको मनासिव कारणसहित जिशिका, तनहुँमा सम्पर्क राख्नुहुन अनुरोध छ । तपाईंको काजगात हेरेपछि सो विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सकिनेछ ।
गुरुप्रसाद पौडेल
उपसचिव, जिल्ला शिक्षा कार्यालय, तनहुँ
एम.एड. को मान्यता पाइन्छ ?
सक्षमतामा आधारित माध्यमिक तहको दशमहिने तालिम पूरा गरेका शिक्षकले शिक्षा नियमावलीको नियम ९६ अनुसारको शिक्षक छनोट समितिमा रहेर काम गर्न मिल्छ कि मिल्दैन ? सो तालिम पूरा गरी र कुनै विषयमा एम.ए. उत्तीर्ण गरेकालाई एम.एड. सरहको मान्यता दिइन्छ कि दिईंदैन ? यदि दिईंदैन भने एम.एड. सरह मान्यता पाउन के गर्नु पर्ला ?
रमेश अवस्थी
रामेछाप
शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकाले माध्यमिक र स्नातक उत्तीर्ण गरेका व्यक्तिले अन्य तहको शिक्षक छनोटका लागि ‘शिक्षक छनोट समिति’मा सदस्य बन्न पाउने प्रस्ट व्यवस्था नियमावलीमा छ । अतः छनोट समितिमा बस्ने व्यक्ति तालिमप्राप्त मात्रै भएर पुग्दैन, शिक्षाशास्त्र नै पढेको हुनुपर्छ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
माध्यमिक तहको दसमहिने तालिम लिई एम.ए. उत्तीर्ण गर्दैमा एम.एड. सरहको मान्यता दिन मिल्दैन । एम.एड. सरहको मान्यता दिने गरी एकवर्षे शिक्षक तयारी कोर्स बनाउनका लागि त्रिवि, शिक्षाशास्त्र सङ्कायसँग छलफल चलिरहेको छ ।
खगेन्द्रप्रसाद नेपाल
शाखा अधिकृत, शैक्षिक जनशक्ति विकास केन्द्र
बी.एड. पढ्न पाइएला ?
मैले उमाशि परिषद्द्वारागत वर्ष सञ्चालित कक्षा १२ को विशेष परीक्षा उत्तीर्ण गरेको छु । तर, यसको लब्धाङ्कपत्र हालसम्म पनि पाइएको छैन । साथै मैले अब बी.एड. तहमा भर्ना पाउँछु कि पाउँदिनँ ?
कविराम बिसी
बुद्ध निमावि, सिलपानी–८, अर्घाखाँची
लब्धाङ्कपत्र त हामीले पठाइसकेका छौं । यदि तपाईंले ट्रान्सक्रिप्ट पाउनुभएको छैन भने उमाशि परिषद्मा आवेदन दिएर लिन सक्नुहुन्छ ।
नारायणप्रसाद कोइराला
प्रवक्ता, उमाशि परिषद्
विशेष शिक्षामार्पmत कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिलाई त्रिवि, शिक्षाशास्त्र सङ्कायले बी.एड.मा भर्ना लिन सक्दैन ।
प्रा.डा. प्रकाशमान श्रेष्ठ
डीन, शिक्षाशास्त्र सङ्काय, त्रिवि
बिरामी बिदाको रकम पाइन्छ
अस्थायी दरबन्दीमा काम गरेको अवधिको सञ्चित बिरामी बिदाको रकम उपलब्ध हुन्छ कि हुँदैन ? यदि नहुने भए उक्त बिरामी बिदा अहिले समय अनुकूल मिलाएर उपभोग गर्न पाइन्छ कि पाइँदैन ?
सवित्री डोटेल
महामाया निमावि, जिलिङ–८, नुवाकोट
शिक्षा नियमावली अनुसार, शिक्षकले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । सेवाबाट अवकाश पाएपछि अस्थायी शिक्षकले पनि सञ्चित बिदाको रकम पाउँछन् । शिक्षक किताबखानाबाट सञ्चित बिदाको रकम निकासा दिने व्यवस्था गरिएको छ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
तलब समायोजनमा होस्
२०६२ साल साउन १ देखि हालसम्म सामुदायिक विद्यालयका शिक्षकहरूको तलबमान मा प्रा.शि. द्वितीय श्रेणी र नि.मा.शि. तृतीय श्रेणीका शिक्षकहरू, त्यस्तै, प्रा.शि. प्रथम श्रेणी, नि.मा.शि. द्वितीय र मा.शि. तृतीय श्रेणीका शिक्षकहरूको समान स्तर कायम भई तलबमान समेत समान रहे जस्तै नि.मा.शि. प्रथम श्रेणी र मा.शि. द्वितीय श्रेणीको पनि समान स्तर कायम भई तलब तथा अन्य सुविधा समेत बराबर हुनुपर्ने होइन र ? यस सम्बन्धमा २०६३ साल पुस महिनामा शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयसम्म निमाशि प्रथम श्रेणीमा कार्यरत मसहित १३ जना शिक्षकको संयुक्त निवेदनको आधारमा फाइल अगाडि बढेको अवस्थामा हालसम्म कुनै जानकारी आएको छैन । के हराम्रो तलब मा.शि. द्वितीय श्रेणीसँग बराबर गरिँदैन ?
गणेशप्रसाद शर्मा
शिक्षक (नि.मा.शि. प्रथम श्रेणी)
नवयुग माध्यमिक विद्यालय, जैशिदेवल, काठमाडौं
एसएसआरपीले आधारभूत र माध्यमिक तहमा चार किसिमका पेशागत चरणको परिकल्पना गरेको छ– प्रारम्भिक, अनुभवी, दक्ष र विशेषज्ञ । एसएसआरपीले कानुनी रुप पाइसकेपछि यिनै चार चरणमा शिक्षकको पेशागत विकास गरिनेछ र त्यही अनुरुप शिक्षकको तलबमान निर्धारण हुनेछ । त्यसैले हाललाई नि.मा.शि. प्रथम र मा.शि. द्वितीय श्रेणीबीच तलब समायोजनको कुनै प्रक्रिया अघि बढाइएको छैन ।
डिल्लीराम रिमाल
निर्देशक, शिक्षा विभाग
अनुमति चाहिँदैन
कुनै स्कूलमा निजी स्रोतको शिक्षक नियुक्ति गर्नका लागि जिल्ला शिक्षा कार्यालयको अनुमति चाहिन्छ कि चाहिँदैन ?
मनोज खतिवडा
बराहपोखरी–२, खोटाङ
निजी स्रोतका शिक्षक नियुक्तिका लागि जिल्ला शिक्षा कार्यालयको अनुमति चाहिँदैन । विद्यालय व्यवस्थापन समितिले विज्ञापन र प्रतिस्पर्धा गराए र नियुक्त गर्न सक्छन् ।
पदमसिंह विष्ट
शाखा अधिकृत, शिक्षा विभाग
माध्यमिकमै पाइन्छ
एसएसआरपीको संरचना अनुसार माध्यमिक तहको शिक्षक हुनका लागि स्नातकोत्तर र आधारभूत तहको लागि प्रमाणपत्र तह उत्तीर्ण हुने व्यवस्था छ । त्यसो भए स्नातक तह उत्तीर्ण गरी माध्यमिक तहको अनुमतिपत्र पाएका व्यक्तिले कुन तहमा आवेदन दिन पाउँछन् त ?
हेमचन्द्र अधिकारी
भारती उमावि, हात्तीखर्क–६, धनकुटा
एसएसआरपी अनुरुप आधारभूत र माध्यमिक तहको संरचनाले कानुनी रुप पाइनसकेको हुँदा आउँदो खुला प्रतियोगितामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहकै लागि विज्ञापन हुनेछ । जस अनुसार, बी.एड. उत्तीर्ण गरी माध्यमिक तहको अनुमतिपत्र पाएका व्यक्तिले माध्यमिक तहमै आवेदन दिन सक्नेछन् ।
उदयराज सोती
अध्यक्ष , शिक्षक सेवा आयोग
फिर्ता हुनुपर्छ
प्राथमिक तहमा स्थायी नियुक्ति पाई माध्यमिक तहको अस्थायी दरबन्दीमा कार्यरत शिक्षक प्राथमिक द्वितीय श्रेणीमा बढुवा भएपछि आफ्नो पूर्ववत् प्राथमिक दरबन्दीमा फिर्ता हुनुपर्छ कि पर्दैन ?
रमेश मगर
जालपा निमावि, ¥याङथर्पु, भोजपुर
शिक्षा मन्त्रालयले २०५८ साल देखि तल्लो तहको स्थायी पद लियनमा राखेर अस्थायी बढुवा गर्न पाउने व्यवस्था खारेज गरिसकेको छ । त्यसैले प्राथमिक तृतीय श्रेणीको पद लियनमा राखेर माध्यमिक तृतीय श्रेणीको अस्थायी पदमा कार्यरत शिक्षक पनि पूर्ववत् स्थायी पदमै फर्कनुपर्छ ।
कमलप्रसाद कर्माचार्य
उपसचिव, शिक्षा मन्त्रालय



