स्कूलमा नसिके कहाँ सिक्ने ?
पढ्नु किन ? विद्वान् बन्न ? कि गरिखाने हुन ?
गरिखानै मात्र त पढिराख्नुपर्दैन । पुस्तौँ पुस्ता देखि नपढी पनि पुर्खाले गरिखाएकै थिए । त्यसैले उखानै बन्यो, ‘पढी–लेखी के काम, हलो जोती खायो माम !” तर चार–पाँच दशकयता यो उखान पत्याउने नेपालीको सङ्ख्या तीव्रदरमा घट्न थाल्यो । आजका मान्छेमा छोराछोरीलाई नपढाई हुँदैन भन्ने चेत साह्रै गहिरो गरी पसिसकेको छ । आफैँ पसिना चुहाएर स्कूलको स्थापना गर्ने देखि छोराछोरीलाई महँगा–महँगा स्कूलमा पढाउनसम्मका लागि नेपालीहरूले साह्रै धेरै दुः ख गरेका छन्, गरिरहेका छन् । हामीमध्ये बहुसङ्ख्यक त्यस्तै गर्ने वर्गमा पर्छौं ।
हामी किन पढाउँछौँ त ? विद्वान् बनाउन कि गरिखाने बनाउन ?
एकैछिन विचार गर्दा स्पष्ट हुन्छ, हामी आफ्ना सन्तानमा विद्या, बुद्धि र सीप भर्नका लागि पढाउँछौं । सङ्क्षेपमा, हामी उनीहरूलाई बुद्धिमान बनाउन पढाउँछौँ ।
बुद्धिमान भनेको ठाउँ र परिस्थिति अनुसार काम गर्न जान्ने; अगाडि भएका मान्छेहरू चिनेर बोल्न जान्ने, इतिहास हेरेर भविष्यको अनुमान गर्न सक्ने, नयाँ–नयाँ कुरा सिक्न तत्पर र सीपलाई सम्मान गर्ने व्यक्ति हो । तर के हराम्रो शिक्षा प्रणालीले मानिसलाई बुद्धिमान बनाउन सकेको छ त ? के शिक्षाले हामीलाई सुखी बनाउन सकेको छ त ?
हामीकहाँ बर्सेनि शैक्षिक बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ र बर्सेनि लाखौँ नेपालीहरूले घरपरिवार छाडेर, अदक्ष (सीप नभएको ) मजदुरका रूपमा परदेशमा गएर कम पैसा पाइने, अप्ठ्यारा र खतरनाक काम गर्नु परिरहेको छ । अनौठो कुरा त, त्यसरी मजदुरका रूपमा विदेश जानेहरूमध्ये धेरैले स्कूल तहको पढाइ सकेका छन् ।
अधिकांश नेपालीहरू व्यावसायिक सीप र दक्षतामा त पछाडि परेका छन् नै, उनीहरूले स्कूलमा सिक्न सकिने सामान्य जीवनोपयोगी सीपहरू पनि सिक्न पाएका छैनन् । हराम्रो देशको हालको सबभन्दा ठूलो कमाइ विदेशबाट भइरहेको छ तर स्वदेशमा आएका विदेशीसित वा विदेशमा गएका बेला त्यहाँ गर्ने व्यवहार र शिष्टाचारको कखरा पनि हामीलाई सिकाइँदैन । अङ्ग्रेजीमा बोल्ने र बुझने सीप, बाटो काट्ने तरिका, ठीकसित खाना खाने तरिका आदि हामीले केही पनि जान्न पाएका हुँदैनौँ । पिच्च–पिच्च थुक्नु अथवा सबैका अगाडि नाक कोट्याउनु रराम्रो बानी हैन भनेर समेत कसैले सतर्कगराइदिएको हुँदैन । विदेश जाने नेपालीहरू एयरपोर्ट देखि नै अल्मलिएका, व्यवहार गर्न नजानेका वा नजानिकन जान्ने पल्टेका अनेक घटना दिनहुँ भेटिन्छन् । हामीले स्कूलमा नै संसारभरका साझ र सामान्य शिष्टाचारका कुरा सिकाउने हो भने न त हाम्रा मान्छेले बाहिर गएर लाटो जस्तो बन्नु पर्छ न त पाहुनाहरूका सामु असभ्य व्यवहार नै हुन्छ ।
हराम्रो अहिलेको शिक्षाले न त जीवन र जगतका जटिल यथार्थहरूलाई केलाउने र रहस्य खोल्ने विद्वान् जन्माउन सकेको छ न त हातमागतिलो सीप हालिदिन । परम्परागत सीप, शैली र काम सिकाउन त परै जाओस्, भैपरिआउँदा काम चलाउने वा ज्यान जोगाउने आधारभूत जीवनोपयोगी सीपहरू पनि सकाउन सकेको छैन । हामी नेपालीहरूलाई प्राथमिक उपचार जस्तो जीवनोपयोगी सीप स्कूलमा सिकाइँदैन । रगत बगेको बग्यै हुँदा पानीमा थाप्ने (जसले रगतथामिन दिँदैन) वा पोलेको घाउलाई आगोमा सेकाउने (जसबाट पीडा र सङ्क्रमणको खतरा बढ्छ) जस्ता चलनगलत हुन् भनेर स्कूलमा नसिकाए कहाँ सिकाउने ? लडेर पिठ्युँमा चोट लागेको बिरामीलाई घाउले भन्दा अस्पताल लैजाने क्रममा बढी दखल पर्दोरहेछ भन्ने कुरा अध्ययनहरूबाट प्रमाणित कुरा हो । नेपाल जस्तो भीर–पहरामा काम न गरीरूख नचढीगुजारा नै नहुने देशमा चोटपटक लागेको बिरामीलाई कसरी उचाल्ने भन्ने कुरा सिकाउनु पर्ने हो, यी कुरा स्कूलमा सिक्न नपाए कहाँ सिक्ने ?
हराम्रो स्कूल शिक्षाले पढ्नुको अर्थ समाज भन्दा फरक हुनु हो भन्ने मात्रै सिकाइरहेको छ । विद्यार्थीहरूलाई पढाइ सँग सँगै काम र श्रमप्रति सम्मान गर्न नसिकाइएकै कारण युवाहरू बाबुआमाले गरेको काम, खास गरी श्रम गर्नु पर्ने वा सीप चाहिने काम गर्न चाहँदैनन् । पढेका मानिसको पिठ्युँ खेतबारीमा निहुरिँदैन भन्ने कुरा हराम्रो मनमस्तिष्कमा घोकाएको पाठ स्कूलमा जत्तिकै जब्बर भएर बस्ने गरेको छ ।
अब हामीलाई यतिले पुग्दैन । जीवन किताबमा पढेको पाठ र चोरेर दिएको जाँचका भरमा चल्दैन । कक्षा चढ्नका लागि सरले माया गरेर थपिदिएको नम्बर काम लाग्ला तर जीवनका उकाली–ओरालीहरूमा हिँड्ने, दौडिने र लड्दा पनि जुरुक्क उठ्न सक्ने क्षमता हामीलाई पाठ्यक्रम बाहिरबाट प्राप्त हुनुपर्छ ।
स्कूलहरूमा जीवनोपयोगी सीपहरू सिकाउने अभियानलाई बलियो बनाउन सकेमा हामीले समाज लाई नै बलियो बनाइरहेका हुन्छौँ । तर जीवनोपयोगी सीपहरूलाई हराम्रो सरकारले दिनुपर्ने महत्व दिनसकेको छैन । यसको अर्थ, यी सीपहरू हराम्रो पाठ्यक्रममा व्यवस्थितरूपले समावेश भएका छैनन् । यस्तोमा शिक्षकहरूले चाहे पनि यी कुरा सिकाउन उहाँहरूसित आफ्नो ज्ञान र विवेकभन्दा अर्को साधन र उपाय छैन । तर सबभन्दा ठूलो स्रोत ज्ञान र विवेक नै हो । शिक्षकहरूले त्यसका भरमा जीवनोपयोगी सीपहरू सिकाउन थाल्ने हो भने त्यस्तो विद्यार्थीको व्यक्तित्वमा तत्कालै सकारात्मक प्रभाव पर्न थाल्छ ।



