प्रतिक्रिया र सुझाव
अनुकरणीय शिक्षण कला
‘नानीहरूका लागि मौरीको रानो जस्तै’ (शिक्षक, चैत २०६७) आवरण शीर्षकमा छापिएको शिक्षक राम कुमार तामाङको शिक्षण कला सम्बन्धी लेख पढ्न पाउँदा नयाँ उत्साह र उमङ्ग छायो । साँच्चै त्यसरी नै शिक्षण गर्दा विद्यार्थीमा सिक्ने प्रवृत्तिको विकास मा निखार आउने थियो । विद्यार्थीहरूमा सृजनशीलताको विकास हुनेथियो । जसरी उहाँले प्रयोगात्मक विधिद्वारा विद्यार्थीहरूलाई सिकाउने गर्नु भएको छ, त्यो सबै शिक्षणकर्मी साथीहरूका लागि अनुकरणीय र लाभप्रद हुनसक्छ ।
बुद्धिलाल तामाङ
गोरखा–३, हरमटारी, गोरखा
विद्यार्थीका लागि मोबाइल !
मोबाइल एक उपयोगी र सञ्चारको भरपर्दो साधन हो । यसले हराम्रो दैनिक जीवनलाई सहज र सजिलो बनाइदिएको छ । तर अध्ययनरत किशोर–किशोरीका लागि कति ठीक कति बेठीक एकपटक विचार गर्नै पर्छ । शिक्षक को चैत अङ्क (२०६७) मा उल्लेख गरिए अनुसार पनि मोबाइलबाट विद्यार्थीहरूले अहिलेसम्म लाभ लिएको न्यून छ । हाम्रा किशोरकिशोरीलाई यसले सकारात्मक भन्दा नकारात्मक असर बढी पारेको छ ।
जिल्ला बालकल्याण समिति, पाल्पाको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा यहाँ ६ वटा जबरजस्ती करणीका घटना घटे । ती घटनामा १४/१८ वर्षका किशोर संलग्न थिए । उजुरी नपरेका यस्ता घटनाहरू योभन्दा धेरै हुनसक्छन् । यसको मुख्य कारण मोबाइल नै हो भन्न किन सकिन्छ भने कानुनी प्रक्रियामा आएका पीडक (किशोर)हरूले मोबाइल र भिडियोमा अश्लील ‘क्लिप्स’ हेरेपछि त्यस्तो कृत्य गरेको बयान दिएका छन् ।
१२ वर्ष देखि १९ वर्ष समूहका किशोरकिशोरीहरूलाई लक्षित एउटा तालिममा २५ जना सहभागी थिए । तीमध्ये उक्त कार्यक्रममा १३ देखि १८ वर्ष समूहका ८ जना किशोरीहरू थिए । राति १० बजेपछि उनीहरूमध्ये अधिकांशले मोबाइलमा ३० मिनेट देखि एक घण्टासम्म कुरा गरे । यति लामो वार्तालाप उनका अभिभावकहरूसँग वा आफन्तसँग भएको पक्कै होइन । त्यो पनि रातको दश बजेपछि । दिनहुँ जसो हुने यस खालका फोन वार्तालापका आधारमा उनीहरूको नियमित अध्ययनलाई कति प्रभाव परेको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
केही दशकअघिसम्म कम उमेरमा नै जबर्जस्ती विवाह गरिदिने प्रचलन थियो । त्यो प्रचलन अहिले न्यून भएको छ । अहिले आएर अपरिपक्व प्रेम सम्बन्धका कारण बाबुआमाको चाहना र अनुमति बेगर नै बालविवाहका घटना घट्न थालेका छन् । यहाँका एक किशोर १२ वर्षीय बालिकासँग प्रेम सम्बन्धगाँस्न पुगे । भिन्न जात र संस्कृतिमा हुर्की बढेका उनीहरूले दुई महिनाअघि भागेर विवाह गरे । बालिकाका अभिभावकले बालविवाहको मुद्दा दायर गरे पछि किशोर कारागारमा सजाय भोगिरहेका छन् । यो मामिलामा पनि उनीहरूलाई मोबाइलले साथ दियो ।
त्यसो त विद्यार्थीकै कारणले मात्र उनीहरूको अध्ययनलाई असर पार्ने होइन । शिक्षण क्रियाकलाप भइरहेको बखत चाहे शिक्षक होस् वा विद्यार्थी; जोसुकैको फोनले सिकाइलाई असर गर्छ । यसर्थ कक्षाकोठामा शिक्षक होस् वा विद्यार्थी कसैले पनि मोबाइल लैजानु उचित होइन । आचारसंहिता र नियम सबैका लागि हुनुपर्छ ।
असवीर सारु मगर
समाज उत्थान सहयोग केन्द्र पाल्पा
menoco.palpa@gmail.com
सदुपयोग गर्न सके रराम्रो !
कक्षामा मोबाइल सम्बन्धी विशेष सामग्री (शिक्षक, चैत २०६७) पढ्न पाउँदा निकै रमाइलो अनुभव हुनुका साथै यदाकदा प्रविधिको दुरुपयोग भएको देख्दा मनमा खिन्नता छायो । मोबाइललाई सही एवं उचित ढङ्गले प्रयोगमा ल्याउन सके यस प्रविधिले थुप्रै फाइदा गर्न सक्छ । तर प्रविधिकोगलत प्रयोगले गर्दा समय र श्रम त खेर जान्छ नै हराम्रो भविष्य अन्धकारतिर धकेलिने सम्भावना पनि उत्तिकै रहन्छ ।
यस अङ्कमा समाविष्ट ‘मोबाइल लर्निङ’ सम्बन्धी सामग्री धेरै उपयोगी लाग्यो । मोबाइल फोन सिक्ने र सिकाउनेका लागि साँच्चिकै सहयोगी हुने देखिन्छ । तसर्थ शिक्षकले विद्यार्थीलाई ‘खबरदार मोबाइल नल्याऊ’ भन्नुको साटो यसको बेफाइदाबारे सचेतना फैलाई सही ढङ्गले प्रयोग गर्न सिकाइदिए रराम्रो हुनेथियो ।
करण सिंह सुतार ‘विवश’
हसनपुर–५, धनगढी, कैलाली
फैसला कार्यान्वयन होस्
सर्वोच्च अदालतले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरूको बारेमा गरेको फैसला आजसम्म कार्यान्वयन भएको छैन । यदि प्रजातन्त्र र अदालतप्रति सम्मान प्रकट गर्ने , यसको गरिमालाई बुझने सरकार हो भने अस्थायी शिक्षकका सम्बन्धमा अदालतले गरेको फैसला तुरुन्त कार्यान्वयन गरी देश र जनताप्रति कानुनी राज्यको आभास दिलाइयोस्, नत्र भने जसले जे गरे पनि हुने दण्डहीनताको अवस्था सरकार आफैंबाट पैदा गरिएको मानिनेछ । फेरि मानिसले आन्दोलन गर्नु पर्ने अवस्था ननिम्त्याइयोस् !
दीपकप्रसाद पराजुली
इन्द्रावती मावि, ज्याम्दी–१, काभ्रे
राहतलाई मर्का !
विगत ६ वर्ष देखि राहत शिक्षक कोटामा नियुक्त भएर काम गर्दै आइरहेका अरू स्थायी शिक्षक जस्तै देशमा लाखौं कर्णधार विद्यार्थीहरूलाई शिक्षा दिएर मुलुकलाई साक्षर बनाउँदै आइरहेका राहत शिक्षकहरूको बारेमा हाल संशोधन भएको शिक्षा नियमावलीमा कुनै पनि सुविधाको कुरा नसमेटेर शिक्षा नियमावली संशोधन गर्ने शिक्षाविद्ले पुनः एकपटक महाभारतको धृतराष्ट्रको भूमिका निर्वाह गरेको देखिन्छ । साथै विगत कैयौं वर्ष देखि कार्यरत अस्थायी शिक्षकहरूलाई वि.सं. २०६० सम्ममा खुला प्रतिस्पर्धाद्वारा स्थायी हुनुपर्ने जस्ता लक्ष्मणरेखा तानेर एउटा फाँसीको सजाय पाएका कैदीको अन्तिम इच्छा के हो ? भनेर सोधे जस्तै नियमावली संशोधन गरेर शिक्षकहरूलाई पठन–पाठनप्रतिको मान सिकतालाई खल्बलाउने काम गरेको छ ।
रवीन्द्र कुमार दास
जनता मावि, देवपुरा, धनुषा
चनाखो हुनु जरुरी
हाम्रा गाउँठाउँका शैक्षिक गतिविधि (सकारात्मक र नकारात्मक दुवै) मिहिनेत साथ खोजतलास गरेर पाठकसामु राखेकोमा शिक्षक लाई धन्यवाद । तर यस्ता कार्य वा घटनाबारे रिपोर्टिङ गर्दा विशेष चनाखो भएर सत्यतथ्यमा आधारित सामग्रीहरू मात्र प्रकाशित गरियोस् । जिल्लागत शैक्षिक तथ्याङ्क दिन सके अझ् रराम्रो हुनेथियो । शैक्षिक क्रियाकलाप सम्बन्धी विदेशमा भइरहेका गतिविधि वा शिक्षा क्षेत्रमा अनुभवी विदेशी विद्वान्हरूको विचार , लेख–रचनाको क्रमले निरन्तरता पाइरहोस् । अन्य स्थायी स्तम्भ पनि उपयोगी नै छन् । शिक्षा इतरका पाठकहरूको लागि पनि यो उत्तिकै दिमागी खुराक बनोस् भन्ने कामनाका साथ ।
चेतराज मिश्र
कालिका निमावि, दिपिल, बझङ
उपदेश हैन अनुभव
शिक्षक सन्देशमूलक जन्म देखि कै हो । शिक्षकहरूप्रति चौतर्फी आक्रमण भइरहेको अवस्थामा उपदेशात्मक कुरा हरूले मात्र परिवर्तन ल्याउन सक्ने कमै आशा गर्न सकिन्छ । शिक्षण पेशालाई पेशाको रूपमा स्थापित गर्न शिक्षकको दक्षता बढाउने किसिमका शिक्षण विधि, प्रविधिको जानकारी र त्यसको प्रयोग गर्ने उपयुक्त तरिकाहरूलाई पत्रिकामा बढी स्थान दिनु आवश्यक देखिन्छ । सैद्धान्तिक रूपमा शिक्षण विधिको बारेमा प्रायः सबै शिक्षकहरू ‘गोपीकृष्ण कहो’ भन्न जान्दछौं तर कक्षाकोठामा प्रवेश गराउन भने सकेका छैनौं । त्यसैले सरल उपायहरूको देशीय एवं अन्तरदेशीय अनुभव र सफलताका कुरा हरूले शिक्षक मा स्थान पाउन सके शिक्षक समुदायलाई अवश्य प्रोत्साहन मिल्नेथियो ।
ऋषि भ्याली पाठशालामा सिकेको सीप प्रयोगमा ल्याई उदाहरण बन्नु भएको मा ठाकुरप्रसाद पौडेल (शिक्षक, फागुन २०६७) लाई सलाम । पेशाप्रति निष्ठावान् शिक्षक विदेशमा तालिम प्राप्त गरी गाउँघरमा सुवासित हुनुगौरवको कुरा हो । विदेशमा सीप सिकेर अहिलेसम्म समाचार बनेको कमै सुनिएको थियो । शिक्षक मासिकले शिक्षण सीप सम्बन्धमा नेपालका मन्त्रालय, विभाग, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय संघसंस्थाहरूले स्वदेश–विदेशमा के–कस्ता तालिम सञ्चालन गर्छन् र हामी जस्ता शिक्षकहरूको पहुँच त्यहाँ कसरी पुग्न सक्छ भन्ने जानकारी उपलब्ध गराउनेतर्फ विशेष पहल गरिदेओस् भन्ने आग्रह गर्छु ।
पुस्ता राई
कमला मदन आश्रित स्मृति उमावि, तोपगाछी, झपा
मलाई सहयोग चाहियो
म उदयश्री बहुमुखी क्याम्पस, कटारीमा कक्षा ११ मा अध्ययनरत छु । एसएलसी सकेपछि सङ्गीत पढ्ने सपना थियो । मेरो क्याम्पस तथा वरपर कहीँ पनि सङ्गीत शिक्षालय छैनन् । अरू स्थानमा गएर सङ्गीत पढ्ने मेरो आर्थिक क्षमताले भ्याउँदैन । म अहिले रुचि विपरित विषय लिएर पढ्न बाध्य भएको छु । तपाईंहरूको सहयोग पाए सङ्गीत पढेर म नेपाली साङ्गीतिक फाँटलाई अझ् फराकिलो पार्न चाहन्छु । मलाई जुनसुकै स्थानमा भए पनि सङ्गीत पढ्ने व्यवस्था मिलाइदिनुस् । म जस्तोसुकै कठिनाई भोग्न पनि तयार छु ।
मेघराज राई
उदयश्री बहुमुखी क्याम्पस
कटारी, उदयपुर
जनसङ्ख्या तथा वातावरण विषय ओझाेलमा
विद्यालयस्तर मा जनसङ्ख्या तथा वातावरण विषय अनिवार्य गरिएको १०औं वर्ष बितिसक्दा पनि यसको छुट्टै शिक्षक दरबन्दीको कार्य व्यवस्था हुनसकेको छैन । शिक्षा ऐन नियमावलीहरूमा शिक्षण कार्य गर्न सम्बन्धित विषयमा तालिम प्राप्त शिक्षक हुनुपर्छ भनिएको छ । जनसङ्ख्या र वातावरण विषय पढाउने शिक्षकको बारेमा सधैँ बेवास्ता गर्ने गरिएको छ ।
व्यक्ति, जीवन, समाज र राष्ट्र माथि प्रत्यक्ष असर गर्ने समस्या न्यूनीकरण गर्न समावेश गरिएको यो विषयका शिक्षकको व्यवस्था नहुनु देशका भावी पिँढीहरूलाई “खाने भए खाउ, नखाने भए पनि खाउ” जस्तै भएको छ । राजनीतिशास्त्र, नेपाली, इतिहास, गणित, अङ्ग्रेजी विषयका शिक्षकहरू कहिल्यै पनि स्वास्थ्य, जनसङ्ख्या तथा वातावरणका कुशल शिक्षक हुनै सक्दैनन् ।
यो विषयका शिक्षक उपलब्ध नै नभएर चाहिँ यस्तो भएको होइन । त्यो त नीतिनियमको अभावका कारण भएको हो । बर्सेनि उमावि र त्रिविले मात्र हजारौं शिक्षक उत्पादन गर्दैछ तर तिनीहरूको स्थान अरूले नै ओगटेको छ । उमाविहरूमा स्वास्थ्य र जनसङ्ख्या विषय ऐच्छिक छ । त्यहाँ पनि अन्य शिक्षककै प्रभुत्व छ । जसतर्फ उमावि, शि.प. मौन छ । यस्तै हो भने यो विषयसँग सम्बन्धित सरोकार पक्ष सचेत हुनु जरुरी छ ।
महेशप्रसाद अवस्थी
उदय उमावि, बंक, कञ्चनपुर
गजल
वर्षौं भयो यात्रुहरूलाई पारितिर तारिरा’को
हार नमानी कलिला ती नानीबाबु खारिरा’को
लोकतन्त्र आए पनि शिक्षकले केही पा’को छैन
जुनीभरी अस्थायी राखी सहमतिमा टारिरा’को
पूर्वाद्र्धको जग सबको हामीले नै बनाउने हो
नेपाल हराम्रो फूलबारीमा रंगी फूल सारिरा’को
समाज लाई डो¥याउँदै उज्यालोमा लम्काउने
पूर्वाग्रह राखी सधैं झन् झन् पछि पारिरा’को
कसले होला बुझनेगुण मरिमेटी कस्सिएको
कुरीति र कुबाटोलाई आउनै नदिई बारिरा’को
डिल्लीराम भण्डारी
शिवालय उमावि, बलामगुठी, स्याङ्जा



