हाम्रा पाँच कमजोरी
कहिलेकाहीँ मलाई लाग्ने गर्छ, हामीले ‘अधिकार’ लाई बढी महत्व दिइरहँदा विचरो अर्को पाटो ‘दायित्व’ प्रति कतै अन्याय पो गरिरहेका त छैनौं ? कतै हामीले पेशाप्रतिको दायित्वबोधलाई पनि समान्तर रूपमा लैजान नसकेकाले नै अधिकार प्राप्तिका लागि गरिएका हाम्रा आन्दोलनहरू पटक–पटकका ‘ललीपप’रूपी सम्झौतामै टुङ्गिन बाध्य भएका त होइनन् ?
“सरकारले शिक्षकको पेशागत दक्षता विकास र सेवाको सुनिश्चितताको लागि केही गरेको छैन ।”
“सरकारले शिक्षकहरूलाई दोस्रो दर्जाको सरकारी कर्मचारीको रूपमा मात्र लिएको छ ।”
“सरकार शिक्षकहरूलाई केही दिन चाहँदैन, काम मात्र लगाउन चाहन्छ ।”
“अधिकार प्राप्तिको लागि घेराउ, आन्दोलन, बन्द, हड्ताल, जुलुस, धर्ना ।”
माथिका हरफ हामी सरकारी स्रोतबाट तलब खाने शिक्षकहरूले वर्षौं देखि उठाउँदै आएका प्रतिनिधि आवाज हुन् । पेशागत हक–अधिकारको पाटोबाट हेर्ने हो भने यो सूची अझै लामो हुनसक्छ । तर अधिकारको कुरा गरिरहँदा हामी शिक्षकले सधैं बिर्सने गरेको वा सम्झ्न नचाहेको अर्को त्यत्तिकै महत्वपूर्ण पाटो पनि छ, त्यो हो— पेशागत दायित्व । कहिलेकाहीँ मलाई लाग्ने गर्छ, हामीले ‘अधिकार’ लाई बढी महत्व दिइरहँदा विचरो अर्को पाटो ‘दायित्व’ प्रति कतै अन्याय पो गरिरहेका त छैनौं ? कतै हामीले पेशाप्रतिको दायित्वबोधलाई पनि समान्तर रूपमा लैजान नसकेकाले नै अधिकार प्राप्तिका लागि गरिएका हाम्रा आन्दोलनहरू पटक–पटकका ‘ललीपप’रूपी सम्झौतामै टुङ्गिन बाध्य भएका त होइनन् ? एकपटक हामीले आफैंतिर फर्केर पो हेर्ने हो कि ?
कमजोरी–१ः राजनीतिप्रतिको लगाव
राजनीतिक आस्था नागरिकको मौलिक अधिकार हो । समाज को चेतनशील वर्गको रूपमा रहेको शिक्षक वर्ग यसबाट अलग रहन सक्ने वा रहने कुरै आउँदैन । त्यसैले कुनै राजनीतिक पार्टीप्रति झुकाव राख्नु पनि अस्वाभाविक हुँदैन । हरेक राजनीतिक परिवर्तनसँगै नेपाली समाज को रुपान्तरणमा शिक्षक वर्गको महत्वपूर्ण भूमिका रहने गरेको छ । तर हामी शिक्षकको राजनीतिप्रतिको आस्था र संलग्नता त्यत्तिमा मात्र सीमित रहेको छैन । हामीले आफ्नो पेशागत दायित्वलाई समेत बिर्सेर आफूले आस्था राखेका राजनीतिक पार्टीका भ्रातृसङ्गठनका रूपमा शिक्षक सङ्गठनहरू निर्माण गरेका छौं । हामी आफ्नो पेशागत एजेण्डाका आधारमा न कहिल्यै एकीकृत हुन सक्यौं न त विभाजित नै । मातृपार्टीको एकीकरण वा विभाजनसँगै हाम्रा पेशागत संघ/सङ्गठनहरू पनि एकीकृत वा विभाजित हुने गरेका छन् । हामी कोही ‘हँसिया–हथौडा’ त कोही ‘चार–तारा’ बोकेर सडकमा उत्रिन्छौं । चुनावको वेला ‘गोलाकार भित्रको हँसिया–हथौडा’ वा ‘रूख’ वा ‘सूर्य’ वा यस्तै अरू चिन्ह अङ्कित झ्ण्डा बोकेर अग्रपङ्क्तिमा हिँड्ने पनि हामी शिक्षकहरू नै हुने गरेका छौं । यथार्थमा हामी शिक्षक भएर राजनीति कम गरिराखेका छौं, राजनीति गर्नका लागि शिक्षकको ‘जागिर’ बढी खाइरहेका छौं । हामी आफ्ना पेशागत हक–अधिकारको लागि कहिल्यै पनि एकठाउँमा उभिन सकेनौं, त्यसैले हाम्रा आवाजहरू पनि टाढासम्म सुनिन लायक रहेनन् । राजनीतिक नेतृत्वको अगाडि पर्नासाथ नतमस्तक हुने गर्छौं किनकि ‘जयनेपाल’, ‘लालसलाम’ वा अन्य कुनै रूपमा रहेको हराम्रो अन्तरङ्ग ‘नाता’ ले हामीलाई गलाइहाल्छ ।
कमजोरी–२ः अध्ययनशीलतामा कमी
विद्यार्थीलाई निरन्तर ज्ञान बाँड्नुपर्ने हामी शिक्षकहरूको ज्ञानको दायरा हामीले बीसौं वर्षअगाडि हासिल गरेको शैक्षिक उपाधिभन्दा बढी बढ्न सकेको छैन । हामी उही बीसौं वर्ष ‘वासी’ ज्ञान नै बाँडिरहन्छौं । हामी कक्षामा जाँदा हरेक विद्यार्थीसँग उपलव्ध हुने पाठ्यपुस्तकका पाठहरू भट्याउँछौं र विद्यार्थीलाई त्यही घोक्न ल गाउँछौं । पाठ्यपुस्तकलाई एउटा सन्दर्भ–सामग्री अर्थात् ‘साधन’को रूपमा होइन पूरै ‘साध्य’का रूपमा मात्र पढाउने गर्छाैं । त्यसैले त हामी समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा आकाशै खस्न लागेको जस्तो गरी कोकोहोलो मच्याउँछौं । राष्ट्रिय –अन्तर्राष्ट्रिय रूपमा भइरहेका परिवर्तन सँग सँगै आफूलाई समयानुकूल रुपान्तरण गरेर प्रतिस्पर्धी बनाउन प्रयत्न गर्नु त परै जाओस् हामी हराम्रो विद्यालयमै सहजै उपलव्ध हुने पाठ्यक्रम, शिक्षक निर्देशिका, विषय विस्तृतीकरण लगायत अन्य सन्दर्भ–सामग्रीहरू समेत प्रयोग गर्न ध्यान दिँदैनौं । हुनसक्छ, यस वर्ष पनि कक्षा ६ को परिवर्तित पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक समयमै विद्यालयमा पुग्ने छैन, अनि हामी शिक्षकहरू त्यसैलाई निहुँ बनाएर पठन–पाठन ठप्प भएको खबर दिन महिनौंपछि सम्म पनि कुनै सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई गुहारिरहेका हुनेछौं । हरेक दश वर्षमा पाठ्यक्रम परिवर्तन र पाँच वर्षमा पाठ्यपुस्तक परिमार्जन हुनुपर्छ भन्ने मान्यता बारे हामीलाई थाहा छ, तर हामी आफूलाई चाहिँ बीसौं वर्षसम्म पनि अद्यावधिक हुनुपर्ने खाँचो देख्दैनौं ।
हामी तालिमहरूमा सहभागी हुन तँछाडमछाड नै गर्ने गर्छौं, तर केही नयाँ कुरा सिकेर त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने लालसाका कारण होइन । हामीलाई तालिममा जानको लागि मुख्यतः तीन वटा कुरा ले आकर्षित गर्ने गरेका छैनन्– पहिलो , तालिमबापत प्राप्त हुने निश्चित रकम, दोस्रो, तालिम लिन जाँदा केही दिन वा महिना भए पनि पढाउनु पर्ने झन्झ्टबाट मुक्ति र तेस्रो, तालिमबाट प्राप्त हुने प्रमाणपत्रको बढुवा प्रयोजनको लागि हुनसक्ने उपयोग ।
कमजोरी–३ः जागिरे मनोवृत्ति
हामीमध्ये अधिकांशले शिक्षणलाई कहिल्यै पनि पेशा ९एचयााभककष्यल० को रूपमा लिएनौं; यसलाई सधैं जागिर ९इअअगउबतष्यल० नै ठान्यौं । शिक्षणलाई तलब र अन्य सुविधासँग मात्र तुलना गर्ने गर्यौ, त्यसमा सेवाभाव मिसाउनै चाहेनौं । शिक्षणलाई व्यावसायिक रूपमा लियौं, पेशागत मर्यादालाई उच्च राख्ने प्रयास हामीबाट कहिल्यै पनि भएन । ‘सरकारी काम, कहिले जाला घाम’ उखान हामी शिक्षकको लागि नै बनेको पो हो कि ? बन्द, हड्ताल र अन्य राजनीतिक गतिविधिका कारणले पूरा शैक्षिक सत्र भरी पढाइ हुन नसकेको कुरा हामी सगौरव भन्ने गर्छौं र आफू ‘पानी माथिको ओभानो’ बन्न खोज्छौं । तर विविध कारणले पढाइमा बाधा पुगेको क्षतिपूर्तिस्वरुप अतिरिक्त दिन वा समय कक्षा लिएर विद्यार्थीको पठन–पाठनलाई पूर्णता दिनेतर्फ हामीले कहिल्यै पनि सोचेनौं । हिउँदे, बर्खे र स्थानीय बिदा गरी वर्षमा ५० दिन विद्यालय बन्द गर्ने प्रावधानलाई हामीले हराम्रो नैसर्गिक अधिकारको रूपमा लिने गरेका छौं । बन्द–हड्तालका कारण पठनपाठन हुन नसकेका दिनगिन्ती गरेर सो बराबर हाम्रा विद्यालय खुल्ने गरी के बिदाहरूलाई कटौती गर्ने तर्फ हामीले कहिल्यै सोच्यौं त ? हामीलाई नयाँवर्ष, कृष्णाष्टमी, रामनवमी, शिवरात्रि आदि बिदा र पर्वहरू शनिबार परेकोमा बडो थकथकी लाग्छ । हामीले शुक्रबारको दिन चारबजेसम्म पढाएर भए पनि विद्यार्थीको छुटेको पढाइलाई पूर्णता दिनेतर्फ कहिल्यै पनि सोचेनौं । मानौं, शुक्रबार एकबजे विद्यालय बिदा गर्नु हराम्रो नागरिकसिद्ध अधिकार हो, त्यसलाई हामीले एकइन्च पनि तल– माथि हुन दिनुहुँदैन ।
कमजोरी–४ः माथिल्लो कक्षा–प्रेम
हामीलाई सकेसम्म माथिल्लो तहका कक्षाहरूमा पढाउन मन लाग्छ । साना कक्षामा पढाउनु पर्दा हामीलाई हीनताबोध हुने गर्छ । हुन त यसमा सरकारको नीति पनि अलिकति जिम्मेवार छ । माथिल्लो कक्षामा पढाउनको लागि शैक्षिक योग्यता लगायत तलब र अन्य सुविधा पनि बढी नै हुने व्यवस्थाले गर्दा माथिल्लो शैक्षिक योग्यता र पढाउने क्षमता हुने शिक्षकहरू माथिल्लो कक्षामा नै पढाउन लालायित हुनु स्वाभाविक पनि हो । तर सरकारको त्रुटिपूर्ण नीति सुधार्नेतिर हामीले कहिल्यै ध्यान दिएनौं; बरु त्यसैको पछि आँखा चिम्लेर दौडिइरहेका छौं । तल्ला तहमा पढाउने शिक्षकको पनि शैक्षिक योग्यता र सेवा–सुविधा माथिल्ला तहसरह हुनुपर्छ भनेर हामीले कहिल्यै आवाज उठाएका छैनौं । बरु सकेसम्म माथिल्लै तहको ‘जागिर’को लागि मरिमेट्ने गरेका छौं । ‘शिक्षक’ मासिकले २०६७ फागुन अंकमा “प्राथमिक शिक्षक (स्नातक)” शीर्षकमा सम्पादकीय लेखेर सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण गराउने प्रयास गरयो, जुन आवाज हामी शिक्षक र हाम्रा पेशागत सङ्गठनहरूले उठाउनुपर्ने थियो । पूर्वप्राथमिक र प्राथमिक तहमा पढाउने शिक्षक सबैभन्दा योग्य र विशेष तालिमप्राप्त हुनुपर्ने अन्तर्राष्ट्रिय रूपमा नै स्थापित मान्यतामा हामी अनभिज्ञ र असहमत भने छैनौं नै ।
हामीले सकेसम्म माध्यमिक वा उच्च माध्यमिक तहमा पढाउन पाउनु वा सक्नुलाई ठूलोगर्व को रूपमा लिने गरेका छौं । माध्यमिक वा उच्च माध्यमिक तहका कक्षाहरूमा; अझ् विशेष गरी गणित, विज्ञान वा अङ्गे्रजी विषय अध्यापन गर्ने शिक्षकहरू आफूलाई उच्चकोटिको रूपमा लिने गर्छौं । त्यो तहका विद्यार्थीलाई ट्युशन पढाउन वा परीक्षाका उत्तरपुस्तिका परीक्षण गर्न पाउँदा आफूलाई अति नैगौरवान्वित महसुस गर्ने गर्छौं । जबकि माध्यमिक तहमा २×२ ‘म्याट्रिक्स’को ‘डिटरमिन्यान्ट’ निकाल्न सिकाउनभन्दा कक्षा एकमा २× र २=४ सिकाउन धेरै गाह्रो हुन्छ भन्ने कुरा कहिल्यै सोच्दैनौं । हामी ‘शार्दूलविक्रीडित छन्द’ सिकाउनु लाई ठूलो विद्वत्ता ठान्छौं तर तिनै विद्यार्थीलाई ‘मोटो श’ सिकाउने शिक्षकलाई हेयको दृष्टिले हेर्छौं । अर्थात् हामी घरको भुईंतलामा भन्दा बुइगलको बार्दलीमा बस्न रुचाउँछौं र घरको जग बलियो बनाउनभन्दा बार्दलीमा रङरोगन गर्ने कार्यलाई उच्च प्राथमिकता दिने गर्छौं ।
कमजोरी–५ः ‘बोर्डिङ’ मोह
सरकारी विद्यालयका शिक्षकहरू पढाउँदैनन् त्यसैले त्यहाँको पठनपाठनको स्तर खस्केको हो भन्ने आरोप सर्वत्र लाग्ने गरेको छ । तर हामी सरकारी दरबन्दीका शिक्षकहरू स्वयं चाहिँ आफ्नो विद्यालयमा पठनपाठनको स्तर सुधार्न पहल गर्नु त परै जाओस्, आफ्ना छोराछोरीलाई सकेसम्म नाम चलेका र महँगा निजी ‘बोर्डिङ’ स्कूलमा भर्ना गर्नरूचाउँछौं । अर्थात् आफूले सरकारी विद्यालयमा ‘जागिर’ खाएर जोगाएको पैसा ‘बोर्डिङ’ स्कूलमा लगानी गरेरगर्व गर्ने गर्छौं । हुन त हाम्रा नेता, मन्त्री, सरकारी कर्मचारीलगायत सबैलाई ‘बोर्डिङ’मोहले नराम्ररीगाँजेको छ । अधिकांश निजी ‘बोर्डिङ’ स्कूलहरूमा कस्तो ‘सुगारटाइ’ शैलीमा पढाइ हुन्छ भन्ने सम्बन्धमा कोही पनि बुझन तयार छैनन् । देशका कैयौं विद्यालयका प्रधानाध्यापकहरू, व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरू शिक्षाको गुणस्तर सुधार्नको लागि मरिमेटेर लागिपरेका छन् भन्ने कुरा खोजीनिती गर्न र त्यस्ता विद्यालयलाई प्रोत्साहित गर्न कोही चाहँदैनन् । तर यस्तो स्थिति सिर्जना गराउनमा हामी शिक्षकहरू पनि कम जिम्मेवार देखिँदैनौं । अरूले हामीप्रति विश्वास न गर्नु स्वाभाविक छ, किनकि हामी स्वयम् नै आफूलाई विश्वास गर्न सकिरहेका छैनौं । आफैंले विश्वास न गरेका हामीहरूलाई अरूले विश्वास न गर्दा र हामीलाई नपढाएको आरोप लागिरहँदा पनि हामीचाहिँ आफूलाई सुधार गर्न पटक्कै तयार छैनौं ।
तसर्थ;
हामी माथि लाग्ने गरेका विभिन्न आरोपहरूको पछाडि यी र यस्तै अरू पनि कमजोरीहरू छन् कि भनेर आफैंतिर पनि फर्केर हेर्ने हो कि ? यसतर्फ सामुदायिक विद्यालयमा कार्यरत हामी सबै शिक्षकहरूले गम्भीर भएर चिन्तन–मनन गर्ने हो भने पक्कै पनि समग्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्नमा थोरै भए पनि मद्दत पुग्न सक्नेथियो कि ? नयाँ वर्षको शुरु सँगै हामीले पनि आफूलाई थोरै भए पनि परिवर्तित गर्न कोशिश गर्ने हो कि ?
बाल कुमार जमरकट्टेल
नवयुग मावि, जैसीदेवल, काठमाडौं



