सोचाइ बदलौं शिक्षक तयार पारौं
हाम्रा स्कूलमा सीपमूलक शिक्षा जरुरी छ कि छैन ? यस्तो शिक्षा जरुरी छ भने त्यसलाई विद्यालयमा भिœयाउन कसले के गर्नु पर्ला ? यसपटक यस्तै केही जिज्ञासाको जवाफ खोज्न शिक्षक मासिकले जमर्को गरेको छ । २२ चैत २०६७ मा एलाइन्स फर सोसियल डाइलग (एएसडी) को सहयोगमा शिक्षक ले सीपमूलक विषयका विज्ञ, सरकारी तथा निजी स्कूलका शिक्षक र सरोकारवालासँग गरेको बृहत् विचारको निचोड थियो– “स्कूल तहमा सीपमूलक विषयको पठनपाठन अत्यावश्यक छ, त्यसनिम्ति बजार र अभिभावकको माग अनुसारको पाठ्यक्रम निर्माण, त्यसलाई सही ढङ्गले कक्षाकोठामा पुर्याउन दक्ष शिक्षकको तयारी अनि स्कूलमा सीपमूलक विषय सिकाउन भौतिक–शैक्षिक पूर्वाधारमा सरकार र अरू सरोकारवालाले तत्कालै ध्यान पुर्याउनुपर्छ ।” उक्त विचारमा विज्ञ तथा सरोकारवालाले व्यक्त गरेका केही प्रतिनिधि विचार ः
डा. टङ्कनाथ शर्मा, शिक्षाविद्
व्यावसायिक शिक्षाको पाठ्यक्रम प्रारुपको अवधारणा सन् २००३ मै आएको हो । तर यसको कार्यान्वयनमा शिक्षा मन्त्रालयले चासो दिएको छैन । तीन वर्षअघि पनि हामीले व्यावसायिक शिक्षा नीति बनाएर मन्त्रालयमा बुझयौं, त्यसमा पनि एकशब्द टिप्पणी आएको छैन । यो हदैसम्मको अनुत्तरदायी प्रवृत्ति हो ।
विगतको व्यावसायिक शिक्षालाई मूल्याङ्कन गर्दा भविष्यमा पनि प्रशस्तै चुनौती आइपर्ने सम्भावना देखिन्छ । विद्यालयस्तर मा यसलाई कसरी प्रवेश गराउने ? के सिकाउने ? पाठ्यक्रम कसरी बनाउने आदि आदि । एकपटक आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयलाई पनि शिक्षा मन्त्रालयले विद्यालयमा समेट्न खोज्यो भन्ने आरोप सीटीईभीटीले लगायो । मन्त्रालयले त्यसलाई नका¥यो । यस बारेमा मन्त्रालयले सीटीईभीटीलाई न रराम्रोसँग बुझाउन सक्यो, न त सीटीईभीटीले नै बुझयो । तर त्यसमा विवाद गर्नु को तुक थिएन किनभने स्कूलले विद्यार्थीलाई प्राविधिक सीपका आधारभूत ज्ञान दिने अनि सीटीईभीटीले प्राविधिक सीप सिकाउने हो ।
पहिले व्यावसायिक शिक्षामा ‘हार्ड स्किल’ लाई बढी जोड दिइयो, जसअन्तर्गत विशुद्ध प्राविधिक सीप भए पुग्छ भन्ने मान्यता रह्यो । त्यसमा सैद्धान्तिक ज्ञान, भाषा आदिलाई बेवास्ता गरियो । तर, आजको परिवेश त्यस्तो छैन । वास्तवमा विषयगत र आधारभूत ज्ञान नभइकन कुनै पनि व्यक्तिले कार्यक्षेत्रमा दक्षता हासिल गर्न सक्दैन । शिक्षा सीधै कामसँग जोडिएको हुन्छ । सीपमूलक शिक्षाबाट रराम्रो आर्जन गर्न सकिन्छ भन्ने मान सिकताको विकास भएमा नयाँ सम्भावनाहरू सिर्जना हुँदै जान्छन् । माध्यमिक तहमा समेट्न सकिने केही विषयहरू छन्, जसका लागि त्यति ठूलो खर्च लाग्दैन र शिक्षकलाई लामो तालिम पनि दिइरहनु पर्दैन । जस्तो कृषि तथा खाद्य, अडियो/भिडियो, सूचनाप्रविधि, पर्यटन, बजार व्यवस्थापनका प्रारम्भिक सीप आदि । यी विषय तुलनात्मक रूपमा अलि बिकाउ छन् । यी विषयमा छात्रछात्रालाई अभिमुखीकरण सजिलो पनि हुन्छ ।
जनार्दन नेपाल, सहसचिव, शिक्षा मन्त्रालय
व्यावसायिक विषयको पठनपाठनका लागि सरकारले केही गरे न भनिहाल्न मिल्दैन । सीप शिक्षा दिने उद्देश्य सरकारको पहिले देखि नै छ । भलै उद्देश्य पूरा गर्न सकिएन होला । हराम्रो सीपमूलक शिक्षा एकोहोरो छ, हामीले पढाउने र विद्यार्थीले पढ्ने पद्धति छ । सिक्ने र सिकाउने पद्धति लागू गर्न सकिएको छैन । मूल्याङ्कन पद्धति पनि कमजोर, पुरातन र घोकन्ते शैलीमा आधारित छ । हराम्रो पद्धति ‘लर्निङ्ग टु नो’ अर्थात् ‘जान्नका लागि सिक्ने’ भयो, न कि ‘ गर्नका लागि सिक्ने’ ।
अब विद्यालय क्षेत्र सुधार योजनाले व्यावसायिक र सीपमूलक शिक्षाको प्रवद्र्धनमा जोड दिएको छ । कक्षा ६–८ को लागि ‘पेशा, व्यवसाय र प्रविधि’ को पाठ्यक्रम हामीले तयार गरिसकेका छौं । यसलाई पहिलो चरणमा १०० वटा स्कूलमा परीक्षण गर्ने योजना छ । कक्षा १–५ सम्म जीवनोपयोगी शिक्षाका विषयवस्तुलाई जोड दिन खोजिएको छ । स्थानीय विषय र पाठ्यक्रमलाई पनि हामीले खुला गरेका छौं । माध्यमिक तहमा ३०० पूर्णाङ्कसम्मको ऐच्छिक विषयलाई समेट्नुपर्छ भन्ने हराम्रो सोचाइ छ । स्कूलका शिक्षकहरूसँगै सहकार्य गरेर यसको पाठ्यक्रम निर्माण गर्ने तयारी हुँदैछ ।
शिवशङ्कर घिमिरे, पाठ्यक्रम निर्देशक, सीटीईभीटी
सार्वजनिक स्कूलमा व्यावसायिक शिक्षा अत्यन्तै फितलो भइसकेको छ । विद्यार्थीले कुनै निश्चित तह पार गरे पछि ‘यो यो कुरा सिक्न सक्छन्’ भन्ने हेतुले हाम्रा पाठ्यक्रम निर्माण भएका छैनन् । विद्यालय तहको पाठ्यक्रममा सीपमूलक उद्देश्य नै राखिएको छैन । त्यसले गर्दा हराम्रो स्कूले शिक्षाबाट छात्रछात्राले कुनै सीप जान्ने अपेक्षा गर्न सकिँदैन ।
विद्यार्थीलाई आधारभूत तहमै कडा परिश्रम पर्ने सीप पनि सिकाइनुहुँदैन । साना नानीहरूलाई आलु रोप्न सिकाउने नाममा बारी खन्न लगाउनुहुँदैन । सानो उमेरका बालबालिकालाई प्राविधिक तथा व्यावसायिक ज्ञानतर्फ अभिमुखीकरण मात्रै गरिनुपर्छ । बीचमै विद्यालय छाड्नेलाई व्यावसायिक शिक्षा दिएर सीपको दायरामा ल्याउनुपर्छ । उनीहरूलाई नै मध्यनजर राखेर सीपमूलक शिक्षाको व्यवस्था गरिनुपर्छ । जबसम्म हामीले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर दक्षता र सीप बढाउने खालका पाठ्यक्रम निर्माण गर्दैनौं, तबसम्म अहिलेको बेरोजगारको बेथिति कायमै रहनेछ ।
बालानन्द पौडेल
पूर्व शिक्षा सचिव (हालः सामान्य प्रशासन)
हराम्रो शैक्षिक पद्धतिले सधैं परीक्षामुखी मूल्याङ्कन पद्धतिलाई जोड दिएको छ । विद्यार्थीले प्राप्त गरेको उच्चतम अङ्कलाई मापनको आधार बनाइएको छ । तर, विद्यार्थीले सिकेको सीपको व्यावहारिक उपयोग भयो वा भएन भनी हेर्ने गरिएको छैन । व्यावहारिक ज्ञान र सिकाइमा चाहिँ हामी पछाडि छौं । जस्तो, मैले स्कूल तह पार गर्दा मानिसहरूसँग कसरी बोल्ने, कसरी व्यवहार गर्ने ? भन्ने कुरा सिक्न पाइनँ । स्कूलमा कहिल्यै त्यसरी बोल्ने सीप सिकाइएन, बोल्नै लगाइएन । विद्यार्थीको दृष्टिकोणबाट हेर्दा मैले त्यो सिक्न पाउनुपथ्र्यो ।
एसएसआरपीको तर्जुमा गर्दा हामीले सीपमूलक शिक्षालाई अधिकतम जोड दिन खोजेका थियौं । र पनि ; कार्यान्वयनका लागि उचित ‘मोडेल’ बनाउन कठिन भयो । सीपमुखी शिक्षाको विकास का लागि प्रारम्भमा यसको प्रारुप तय गर्नु पर्छ, किनभने त्यसले धेरै कुरा लाई मार्गदर्शन गर्छ । उदाहरणका निम्ति, कुन तहमा कस्तो सीप दिने, साधारणबाट व्यावसायिक शिक्षामा कसरी प्रवेश गराउने ?
अहिले व्यावसायिक शिक्षाको कुरा आपूर्तिको सन्दर्भमा आएको छ । मागको सन्दर्भमा यसलाई हेरिएको छैन । विद्यार्थी तथा अभिभावकको चाहना के छ भन्ने पाटोलाई मनन न गरी व्यावसायिक शिक्षालाई सही ढङ्गले अघि बढाउन सकिँदैन । किनभने मागमा आधारित व्यावसायिक शिक्षा अहिलेको आवश्यकता हो ।
मेरो विचार मा व्यावसायिक तथा प्राविधिक शिक्षाको लागि शिक्षकको तयारी सबैभन्दा महत्वपूर्ण पाटो हो । शिक्षाका जे जति नीति, कार्यक्रम, उद्देश्य तथा पाठ्यक्रम तय गरिन्छ; त्यसलाई कार्यान्वयन गर्ने सबैभन्दा प्रमुख संयन्त्र शिक्षक नै हो, त्यसैले शिक्षक तयारी विना व्यावसायिक विषयको पठनपाठनको लक्ष्य साकार हुनसक्दैन ।
डा. अग्निप्रसाद काफ्ले, शिक्षाविद्
सय वटा स्कूलमा व्यावसायिक शिक्षा परीक्षण गर्न विषय शिक्षक र स्रोत/साधनको पर्याप्तता छैन । जनशक्ति नभइकन विद्यालय तहको प्राविधिक शिक्षण सफल हुँदैन । बरु, स्कूलको सङ्ख्या ५० मा झरौं, त्यसलाई चाहिँ प्रभावकारी रूपमा सञ्चालनगरौं । थोरैगरौं, जति सकिन्छ त्यतिगरौं, सफल हुने गरीगरौं ।
साधारण शिक्षामा व्यावसायिक शिक्षालाई पनि समेट्नुपर्छ र व्यावसायिक शिक्षा हासिल गरेका व्यक्ति साधारण शिक्षामा पनि प्रवेश गर्न सक्ने व्यवस्था गरिनुपर्छ । एसएलसी परीक्षा दिएको व्यक्तिलाई उसको व्यावसायिक सीपको मूल्याङ्कन गरेर व्यावसायिक विषयको पनि प्रमाणपत्र दिन सकियोस् । अझ् एसएलसीको परीक्षासँगै प्राविधिक विषयको परीक्षा लिएर दुई वटा प्रमाणपत्र दिनु उचित हुन्छ । यसो गर्दा व्यावसायिक सीप बेचेर मानिसलेगतिलो आम्दानी गर्छ, अनि अभिभावकले पनि उसलाई पत्याउँछन् । अभिभावकले पत्याएपछि उसको शिक्षा पनि रोजगारको दृष्टिले ‘वैध’ हुन्छ । अभिभावकले सन्तानको पढाइलाई त्यतिबेला पत्याउँछन्, जब उसबाट केही कमाई देखि न थाल्छ । प्राविधिक शिक्षाका लागि धेरै किसिमका प्रारुपहरू तयार भए । तर, ती कार्यान्वयनमा आउन सकेनन् । कम्तीमा व्यक्तिको सीप जाँचेर प्रमाणपत्र दिन सकियो भने त्यो निकै उपलब्धिमूलक हन्छ ।
विष्णु पनेरु, प्रअ, कंकाली मावि, काठमाडौं
स्कूल तहमा व्यावसायिक शिक्षा दिने सरकारी प्रतिबद्धता काजगमै सीमित छ । म हराम्रो स्कूलमा कक्षा ९ र १० व्यावसायिक विषयको रूपमा कम्प्युटर विषयको कक्षा चलाउने अनुमति माग्न जिशिका जाँदा शिक्षक नमाग्ने शर्तमा अनुमति दिइयो ।
सामुदायिक स्कूलमा पढ्ने अधिकांश विद्यार्थी विपन्न परिवारका हुन्छन् । पढाइ सकिँदा उनीहरूले हातमा केही सीप पनि पाएको खण्डमा थोरबहुत कमाइ गर्ने थिए । तर, हराम्रो शिक्षा पद्धति त्यस किसिमको छैन । हराम्रो शिक्षाले घोकन्ते ज्ञान दियो, सीप दिन सकेन । त्यसैले स्कूल सकिँदा विद्यार्थीले ‘ गरी खाने सीप’ हासिल गर्ने शिक्षा पद्धति अपनाउन ढिलाइ गर्नु हुँदैन । अहिलेको युगको माग नै व्यावसायिक शिक्षा हो ।
विजय सम्बाहाम्फे, महासचिव, प्याब्सन
आवश्यकताको पहिचान गरेर सीपमूलक विषयलाई हामीले अवलम्बन गर्न निजी विद्यालय सक्षम र तयार छन् । तर, शिक्षा मन्त्रालयले निजी विद्यालयलाई पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेर लैजान सक्नुपर्छ ।
पूर्णा जोशी,
उपाध्यक्ष, नेपाल शिक्षक युनियन
शिक्षा र व्यवसाय दुई अलग–अलग धारमा देखि ए । पढ्नेले पढ्नुपर्ने र व्यवसायीले व्यवसाय नै गर्नु पर्ने । पढ्नेले जागिर नै खानुपर्ने र व्यवसाय गर्न नहुने परिपाटी रह्यो । शिक्षा र व्यवसायलाई हामीले जोड्न सकेनौं । विद्यालय तहको पाठ्यक्रममा केही हदसम्म व्यावसायिक शिक्षाका पाठ्यक्रमलाई समेट्ने प्रयास गरिएको छ । तर विषय शिक्षकको अभाव र सीप भएका मानिसलाई स्रोत शिक्षकका रूपमा उपयोग गर्न नसक्दा समस्या पैदा भएको छ । मैले कक्षा १० मा कृषि विषय रोजेकी थिएँ । तर, एसएलसी पास गरिसक्दा पनि मैले लसुन र प्याजको बेर्नामा फरक छुट्याउन सकिनँ । विद्यालय तह सकिँदासम्म विद्यार्थीले केही न केही सीप जानेकै हुनुपर्छ । त्यसकारण व्यावसायिक र प्राविधिक शिक्षालाई अब साधारण शिक्षाकै एउटा अङ्गको रूपमा समेट्नुपर्छ ।
डा. अश्लेषा सुब्बा शर्मा, विज्ञ
जागिरे मान सिकताले व्यावसायिक शिक्षालाई ओझाेलमा पार्दै लगेको छ । जागिर खाए मात्रै पढेलेखेको देखि ने सोचाइ छ । सानोतिनो व्यवसायलाई हेप्ने प्रवृत्ति छ । स्वरोजगार पनि जागिर नै हो भन्ने धारणाको विकास गराउन सकिएन । व्यावसायिक शिक्षा पनि अरू साधारण शिक्षा जत्तिकै महत्वपूर्ण छ भन्ने कुरा दर्साउनका लागि विद्यार्थीहरूलाई विद्यालय तह देखि नै यसबारे अभिमुखीकरण गराउनु जरुरी छ । जबसम्म विद्यार्थी र तिनका अभिभावकमा यसबारे सचेतना आउँदैन, तबसम्म व्यावसायिक शिक्षाको जतिसुकै नीति बनाए पनि त्यसको केही अर्थ रहँदैन ।
मधु राई, प्रिन्सिपल, सरिता इन्द्र पूर्व प्रावि, विराटनगर
मैले भारतको जलपाइगुढी जिल्लाको एउटा स्कूलमा पढेकी हुँ । त्यहाँ कक्षा सात देखि नै सीपमूलक विषय राखिएको थियो । हामीलाई बगानमा लगेर चियापत्ती टिप्न लगाइन्थ्यो । साताको तीन दिन व्यावसायिक शिक्षा अन्तर्गत स्कूललाई चाहिने खाम, चक, मैनबत्ती बनाउन सिकाइन्थ्यो । हामीले बनाएका तिनै सामान लाई स्कूलमा प्रयोग गरिन्थ्यो । कतिपय सामान पसलले पनि किन्थे । त्यहाँ स्कूल तह पार गरिसक्दा नै हातमा कुनै न कुनै सीप बसिसकेको हुन्थ्यो । हामी स्कूलमा सातामा एक दिन सिर्जनात्मक कक्षा चलाउँछौं । विद्यार्थीलाई प्लाष्टिकका बोतलबाट खुत्रुके,गिलास लगायतका सामग्री बनाउन सिकाउँछौं । वास्तवमा सीपमूलक शिक्षाको परिचयात्मक खण्ड प्राथमिक तह देखि नै शुरु गर्नु पर्दोरहेछ, मेरो अनुभवले यही भन्छ । स्थानीय स्तर बाटै पनि स–साना सीपमूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । त्यसैले खाली सरकारको मुख मात्रै नताकौं, आफूले सक्ने काम आफ्नै स्कूलबाट थालौं ।
बाल कुमार जमरकट्टेल
शिक्षक, नवयुग मावि, काठमाडौं
कक्षा ६ को परिमार्जित पाठ्यक्रममा पूर्व व्यावसायिक शिक्षालाई विस्थापित गर्ने गरी अहिले ‘पेशा, व्यवसाय र प्रविधि’ भन्ने नयाँ विषय राखिएको छ । व्यवसायतर्फ तरकारी खेती, फलफूल खेती, खाद्यवस्तु निर्माण, पशुपक्षी स्याहार, शिल्पकला लगायतका विषयवस्तुमध्ये पाँचवटा पाठ छान्नुपर्ने देखिन्छ । तर, मेरो विद्यालयले यीमध्ये के रोज्ने ? मैले त कुनै विषयवस्तु नै भेटिनँ । किनकि यी विषयवस्तु शहरी स्कूलमा पढाउन सम्भव छैन । यसका लागि शहरमा स्रोत साधन नै भेट्न गाह्रो पर्छ । त्यसमा प्रविधितर्फ एटीएम, फ्याक्स, फोटोकपी, मल्टिमिडिया आदि समावेश गरिएको छ ।ग्रामीण भेगका विद्यालयमा यी विषयवस्तुको व्यावहारिक शिक्षण सम्भव छैन । खाली प्रविधिको सैद्धान्तिक ज्ञान मात्रै दिलाउन सकिन्छ । सबैतिर यी विषय पढाउने शिक्षककै अभाव छ । यसलाई १०० वटा विद्यालयमा परीक्षण गर्ने भनिएको छ । तर, हामीसँग १० जना पनि दक्ष शिक्षक छैनन् होला । जनशक्ति तयार न गरी नयाँ विषय पढाउन खोज्नु व्यावहारिक लाग्दैन ।
जेपी श्रीवात्सव
विज्ञान शिक्षक, प्रभात उमावि, ललितपुर
सीप सिकाउनका लागि किशोर अवस्था पार गर्नु पर्छ भन्ने छैन । सानै उमेर देखि नै त्यसको प्रारम्भिक ज्ञान दिन सकिन्छ । विद्यालय शिक्षाको आधारभूत तहमा सीपमूलक ज्ञानलाई राखिनुपर्छ । छोटो अवधिको तालिमले पनि मानिसलाई केही न केही सीप सिकाउन मद्दत गर्द छ । तथापि अहिले व्यावसायिक शिक्षा मात्र होइन आचरण निर्माणमा पनि जोड दिनुपर्ने भएको छ ।
प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्
हामीले मानिसलाई प्राविधिक बनाउन खोजेको हो कि प्रविधि उन्मुख ? मेरो विचार मा हामीले प्रविधि उन्मुख बनाउन चाहेका छौं । सञ्चारमा कुन कुन प्रविधि आएका छन् भनेर जानकारी दिइयो भने ऊ प्राविधिक हुन्छ । किनकि उसले अब के गर्नु पर्ने रहेछ भनेर सोच्न थाल्छ । दोस्रो कुरा व्यावसायिक बनाउने हो कि व्यवसाय उन्मुख ? व्यावसायिक बनाउने हो भने तालिम नै चाहिन्छ । त्यो काम स्कूलबाट सम्भव हुँदैन । स्कूलले व्यवसाय उन्मुख चाहिँ गराउन सक्छ । तर, त्यसका निम्ति शिक्षकले सोच्ने तरिका बदल्नुपर्छ । विद्यार्थीमै प्रयोग गराए र पनि धेरै नयाँ अनुभव बटुल्न सकिन्छ । यति भयो भने शिक्षक व्यवसाय उन्मुख बन्न सक्छ । त्यसो भए सीपमूलक शिक्षालाई कहाँबाट लैजाने भन्ने प्रश्न महत्वपूर्ण छ । पाठ्यक्रमबाट लैजाने धेरै प्रयास गर्यौ, त्यसमा असफल भइयो । ‘प्रोजेक्ट वर्क’ एउटा रराम्रो विकल्प हुनसक्छ ।
पढाउने सीप अर्को पाटो हो । हाम्रा शिक्षकमा आफूले भनेको कुरा मात्रै ठीक हो भन्ने भावना छ । यो भावना त्यागौं र विद्यार्थीलाई पनि केही प्रयोगात्मक अभ्यास गराए र हेरौं । यसो गर्दा नतिजामा सुधार हुन्छ । ठूलो संरचनामार्पmत सीपमूलक शिक्षा दिने अभ्यास पनि हामीले गर्यौ । यो पाटोमा सीटीईभीटीले धेरै अभ्यास गरयो; टेक्निकल स्कूल, टे«ड स्कूल आदि आदि । यी सबै असफल अभ्यास हुन् । किनकि ती कार्यक्रम परियोजना आधारित रहे । परियोजना सकियो, कार्यक्रम सेलायो । व्यावसायिक तालिम दिने सन्दर्भमा स्कूलमा नभएर छुट्टै तालिम केन्द्र बनाएर दिँदा सस्तो र सजिलो पर्न सक्छ । तीन महिनाको तालिम दिइयो भने विद्यार्थीले गरेर खान सक्छ । बरु त्यतातिर सोचौं । १०–१२ वर्ष लगाएर सीप सिकाउने दुर्बुद्धि चाहिँ झ्किौं ।
प्रस्तुतिः प्रमोद आयाम



