जिज्ञासा र जवाफ

मेरो बढुवा होला ?

म कार्य सम्पादन मूल्याङ्कनबाट २०६२ सालमा प्राथमिक द्वितीय श्रेणीमा बढुवा भएको शिक्षक हुँ । मेरो शैक्षिक योग्यता आई.एड. हो । द्वितीय श्रेणीमा १२ वर्ष सेवा पूरा गरे पछि मैले स्वतः प्रथम श्रेणीमा बढुवा पाउँछु कि पाउँदिनँ ?
विमलप्रसाद देवकोटा
जनज्योति मावि, लालबन्दी, सर्लाही

शिक्षक सेवा आयोग, नियमावलीमा यस्तो बढुवा २०६८ चैत मसान्तभित्र गरिसक्नुपर्ने प्रावधान छ । तपाईं द्वितीय श्रेणीमा बढुवा भएको १२ वर्ष पुग्दा २०७४ साल लाग्छ । त्यसैले अहिलेको प्रावधान रहेसम्म तपाईंले स्वतः बढुवा पाउनु हुने छैन ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग

भविष्यको चिन्ता

बाल विकास सहयोगी कार्यकर्ताको मासिक तलब रु.१,८०० मात्रै छ । हराम्रो तलब कहिले बढ्छ ? यो कार्यक्रम कहिलेसम्म चल्ने हो ?
विमलागजुरेल
कल्याणीदेवी उमावि, जिलिङ, नुवाकोट
यमा आचार्य
पालुथान बाल विकास केन्द्र, हंसपुर–६, प्युठान
पूजा जोशी
बाल विकास कार्यकर्ता, महेन्द्रनगर, कञ्चनपुर

बाल विकास सहयोगी कार्यकर्ताको तलब कम भएको कुरा मा हामी गम्भीर छौं । तलब वृद्धि गर्नका लागि हामीले अर्थ मन्त्रालयमा प्रस्ताव पनि पठाएका छौं । अर्थबाट सहमति आएको छैन । साथै, बाल विकास केन्द्रको कार्यक्रम निरन्तर चलिनैरहने छ ।
देविना प्रधानाङ्ग, उपनि र्देशक, शिक्षा विभाग    

इन्चार्ज भत्ता छैन

पहिले–पहिले प्रावि इन्चार्जलाई मासिक रु.२०० दिने व्यवस्था थियो र पछि आएर यो कटौती भयो । हाल विद्यालयमा जाने पीसीएफ अनुदानमा प्रशासनिक खर्च अन्तर्गत इन्चार्ज भत्ता दिन थालिएको सुनिन्छ । के यो साँचो हो ?
कोषराज निरौला
सरस्वती उमावि, खानीभञ्ज्याङ, ओखलढुङ्गा

प्राथमिक इन्चार्ज भत्ता दिने व्यवस्था छैन । शिक्षा विभागले तलबी र गैर तलबी पीसीएफ अनुदान विद्यालयलाई पठाउने गरेको छ । तलबी पीसीएफ शिक्षकको लागि दिइएको अनुदान हो भने गैर तलबी पीसीएफतर्फको रकम विद्यार्थीको छात्रवृत्ति र पाठ्यपुस्तकमा मात्रै खर्च गर्न पाइन्छ ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग

संकेत नम्बर सच्याउन मिल्ला ?

नागरिक लगानी कोषको बीमा प्रमाणपत्रमा मेरो सङ्केत नम्बर भूलबसगलत लेखिन गएछ । यसलाई सच्याउन के गर्नु पर्ला ?
पतिराम घर्ती मगर
ने.रा. प्रावि, सहारे–९, सुर्खेत

तत्काललाई तपाईंको चौमासिक तलबको फाँटवारी पठाउँदा कैफियतका रूपमागलत नम्बर परेको व्यहोरा उल्लेख गरिदिनुहोला । तपाईं काठमाडौं आएका बेला नागरिक लगानी कोषको कार्यालयमा आएर यथार्थ नम्बरसहितको नयाँ प्रमाणपत्र बनाउन सक्नुहुनेछ ।
लीला लोहनी
अधिकृत, नागरिक लगानी कोष

सबै तहका लागि आवेदन दिन पाइन्छ

खुला विज्ञापनमा एउटै उम्मेदवारले प्रावि, निमावि र मावि तीनवटै तहका लागि आवेदन दिन पाउँछ कि पाउँदैन ? साथै, आरक्षणतर्फ आवेदन दिनेले खुलामा पनि दिन पाउँछ कि पाउँदैन ? अबको विज्ञापन केन्द्रीय, क्षेत्रीय वा जिल्ला कुन स्तर मा खुल्ला ?
मोहन पौडेल
सरस्वती उमावि, डाँडाखर्क, खोटाङ

खुला विज्ञापनमा तीनवटै तहमा आवेदन दिन पाइन्छ । माथिल्लो तहको अनुमतिपत्र प्राप्त व्यक्तिले तल्ला तहमा पनि आवेदन दिन पाउँछन् । आरक्षणको मापदण्डभित्र पर्ने वर्गले खुला र आरक्षण दुवैमा आवेदन दिन सक्छन् । विज्ञापन आयोगबाटै खुल्छ । तर, आवेदन चाहिँ जिल्लास्तर मा मागिनेछ ।
मेघबहादुर केसी
उपसचिव, शिक्षक सेवा आयोग

प्रमाणित कसरी गर्ने ?

शिक्षक सेवा आयोग नियमावलीमा खुला विज्ञापनको अपाङ्गतातर्फको आरक्षित पदमा प्रतिस्पर्धा गर्न ‘स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित भएको आधारमा’ भनिएको छ । म एक अपाङ्गता भएको शिक्षक हुँ । मैले पहिले नै प्रमुख जिल्ला अधिकारी बाट प्रमाणपत्र लिइसकेको छु । अब मैले फेरि समाज कल्याण परिषद्को प्रमाणपत्र बनाइरहनु पर्छ कि पर्दैन ?
देवदूत शर्मा
चत्रेपिपल प्रावि, पानञ्जे, काभ्रे

नियमावलीमै स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित गर्नु पर्ने उल्लेख भएकाले सोही अनुसार गर्नु पर्नेछ । प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित गरेर पुग्दैन ।
पदमप्रसाद खरेल
उपसचिव, शिक्षक सेवा आयोग

खासै फरक पर्दैन

अस्थायी अध्यापन अनुमतिपत्र लिएको कुनै उम्मेदवार शिक्षक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक परीक्षामा सफल भएमा नियुक्तिका लागि फेरि स्थायी अनुमतिपत्र आवश्यक पर्छ कि पर्दैन ?
शोभा बस्याल
केरवानी उमावि, देवदह–१, रुपन्देही

अस्थायी अध्यापन अनुमतिपत्र भएका व्यक्तिको हकमा पनि स्थायी सरह आवेदन दिन र नियुक्ति प्रक्रियासम्म खासै फरक पर्दैन । तर, अनुमतिपत्र लिएको दुई वर्षभित्र तोकिएको शैक्षिक योग्यता वा तालिम पूरा गर्नु पर्नेछ ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग

तालिम कहाँ पाइन्छ ?

अनुभवका आधारमा निम्नमाध्यमिक तहको अनुमतिपत्र प्राप्त शिक्षकका लागि दशमहिने तालिम दिने के–कस्तो व्यवस्था छ ? यस्तो तालिम कहाँ लिन पाइन्छ ? तालिम नलिएमा अनुमतिपत्रको मान्यता स्वतः समाप्त हुन्छ वा हुँदैन ?
विजयराज महतो, पारिजात अङ्ग्रेजी स्कूल, किसाननगर–७, महोत्तरी

त्रिवि अन्तर्गतका शिक्षाशास्त्र पठनपाठन हुने क्याम्पसहरूबाट निम्नमाध्यमिक तहको शिक्षक तयारी कोर्स(तालिम) लिन सकिने व्यवस्था छ ।
शिव कुमार सापकोटा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

दुर्गम भत्ता पाउने कि नपाउने ?

शिक्षा विभागको पत्र संख्या १६/०६७/०८ र च.नं. ७४ को शिक्षकको दुर्गम भत्ता सम्बन्धी परिपत्रमा ‘ख’ बर्गको दुर्गम भत्ता पाउने सूचीमा बाग्लुङका बोडाँग, निसी, हुकाम, रन्मामैकोट र टकवाँछी गाविस उल्लेख छ । यीमध्ये हुकाम, रन्मामैकोट र टकवाँछी (हालको टकसेरा) अहिले रुकुममा पर्छन् । यो त्रुटिका कारण हामीले दुर्गम भत्ता पाउन सकेका छैनौं । अब हामीले भत्ता पाउने किन नपाउने ?
खिमबहादुर बुढा
महेन्द्र उमावि, टकसेरा, रुकुम

दुर्गम क्षेत्रको वर्गीकरणका क्रममा हामीले गाविसका पुरानो तथा अद्यावधिक नभएको सूचीलाई आधार बनाएकोले यस्तो त्रुटि भएको हो । यसलाई सच्याउने प्रक्रिया अघि बढाइएको छ । यो प्रक्रिया पुरा भएपछि यी गाविसका शिक्षकका लागि दुर्गम भत्ताको व्यवस्था हुन्छ ।
कमलप्रसाद कर्माचार्य
उपसचिव, शिक्षा मन्त्रालय

निमाविकै भत्ता पाउनुहुन्छ

म प्राथमिक तहको स्थायी शिक्षक हुँ । मेरो स्कूलमा अहिले निम्नमाध्यमिक तह सञ्चालित छ र म त्यसको प्रअ छु । स्कूलले पीसीएफ अनुदान र प्रशासनिक खर्च निम्नमाध्यमिक तहकै पाउँदै आएको छ । तर, प्रअ भत्ता चाहिँ प्राथमिकको मात्रै आउने गरेको छ । मैले निम्नमाध्यमिक तहकै प्रअ भत्ता पाउनुपर्ने होइन र ?
तारासिंह जोशी
उदयदेव निमावि,
धन्चुली, बसन्तपुर, बैतडी

विद्यालयले जुन तहका लागि अनुमति पाएको हो, प्रअ भत्ता पनि सोही तह अनुसार दिइन्छ । त्यसैले तपाईंले पनि निम्नमाध्यमिक तहकै प्रअ भत्ता पाउनुपर्ने देखिन्छ ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग

सिटरोल नम्बर अनिवार्य

शिक्षक किताबखानाबाट उपलब्ध हुने सिटरोल नम्बर विना नै बीमा परिचयपत्र बनाउन सकिन्छ कि सकिँदैन ? नागरिक लगानी कोषको शाखा विराटनगरमा छ कि छैन ? बीमा कोषको सञ्चित रकमको ‘स्टेटमेन्ट’ कहाँबाट कसरी हेर्न सकिन्छ ?
शान्तबहादुर थापा
ज्ञानज्योति प्रावि, वारङ्गी–१, मोरङ

बीमा परिचयपत्रका लागि सिटरोल नम्बर अनिवार्य छ । नागरिक लगानी कोषले हालसम्म आफ्नो शाखा विस्तार गरिसकेको छैन । बीमा कोषको सञ्चित रकमको जानकारी काठमाडौंस्थित कार्यालयबाटै थाहा पाउन सकिन्छ ।
लीला लोहनी
अधिकृत, नागरिक लगानी कोष

commercial commercial commercial commercial