जमाना ‘मोबाइल लर्निङ’को

‘मोबाइल लर्निङ’को महत्वपूर्ण विशेषता भनेको यो जहाँसुकैबाट र जहिले पनि प्राप्त गर्न सकिन्छ । यसमा भएका पाठहरू एकअर्कालाई उपलब्ध गराउन सकिन्छ । तत्काल प्रतिक्रिया प्राप्त हुन्छ । किताब र नोटकपीको भारी वोक्ने झन्झटबाट मुक्त पार्छ । तिनीहरूको ठाउँ सानो मेमोरी चिप्सले लिन्छ ।

पढ्नु/पढाउनु भन्नेवित्तिकै विद्यालयका कक्षा र विद्यार्थी तथा शिक्षकहरूको तस्बिर हराम्रो दिमागमा आउँछन् । तर सूचना–प्रविधिको विकास ले अब पढ्ने/पढाउने कुरा कक्षाकोठामा मात्र सीमित रहेन । शिक्षकले दिएको ज्ञान मात्र आधिकारिक र विश्वसनीय हुन्छ भन्ने मान्यता पनि दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ ।

सञ्चारप्रविधिको विकास सँगै सिक्ने/सिकाउने प्रक्रियामा पनि व्यापक परिवर्तन आएको छ । त्यही सञ्चारप्रविधिको प्रयोग गरी सिकाइलाई अझ् व्यापक बनाउन ‘इ—लर्निङ’को अवधारणा अघि आएको धेरै भएको छैन । ल्यापटप या डेक्सटप कम्प्युटर जत्तिकै उपयोगी नभए पनि मोबाइल सेटलाई सिक्ने/सिकाउने कार्यमा प्रयोग गर्न सकिने सम्भावना बढ्दै गएको छ ।

सन् २००२ मा प्रकाशित दि फ्युचर अफ लर्निङः फ्रम इ–लर्निङ टु एम–लर्निङ का लेखक डी किगनले पर्सनल डिजिटल असिस्टेण्ट (पीडीए), हाते कम्प्युटर, स्मार्टफोन तथा मोबाइल फोनको माध्यमबाट शिक्षा लिने–दिने तथा तालिमको प्रबन्धलाई मोबाइल (एम) लर्निङको संज्ञा दिएका छन् । पीडीएमा हिसाबकिताब राख्न ‘क्यालकुलेटर’, टिपोट राख्न ‘मेमो प्याड’, सम्पन्न गर्नु पर्ने कामको जानकारीका लागि ‘टु डु लिस्ट’, ठेगाना तथा फोननम्बर राख्न ‘एड्रेस बुक’, इमेल सुविधा, टचस्क्रिन तथा व्याक लाइटजस्ता विशेषताका अतिरिक्त फोटो खिच्न डिजिटल क्यामेराको समेत सुविधा हुन्छ । फोन त भई नै हाल्ने भयो ।
‘मोबाइल लर्निङ’को अवधारणाभित्र एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग लैजान मिल्ने हाते कम्प्युटर (पामटप), एमपी थ्री, एम्पी फोर प्लेयर, नोटबुक, पीडीए, स्मार्टफोन तथा मोबाइल फोन जस्ता इलेक्ट्रोनिक उपकरणहरू पर्दछन् । यसका अतिरिक्त अन्य आवश्यक कुरा हरूमा वायरलेस, इन्फ्रारेड, ब्ल्यूटुथ, जिएसएम तथा सीडीएमए, इन्टरनेट, वेबसाइट तथा स्थानीय सर्भरहरू हुन् । त्यसमध्ये पनि वायरलेस सबैभन्दा महत्वपूर्ण कुरा हो ।

तेस्रो पुस्ताका मोबाइल फोनमा ‘अफिस प्रोग्राम’ राखिएको हुन्छ, जसबाट ‘स्प्रेडसिट’ तथा ‘वर्ड’को काम गर्न सकिन्छ । यसमा क्यामरा पनि राखिएको हुन्छ । जसले फोटो खिच्नका साथै अडिओ तथा भिडिओहरू पनि रेकर्ड सकिन्छ । त्यस्तै इन्टरनेट तथा ब्ल्यूटुथको सहयोगबाट डाटा तथा रिपोर्टहरू एकअर्काबीच आदानप्रदान गर्न सकिन्छ । यसमा पीडीएफ फायलहरू राख्न र आवश्यक सामग्रीहरू प्रिन्ट गर्न मिल्ने सुविधा पनि पाइन्छ । यसमा रहेको रेडियोबाट सङ्गीत र समाचार त पाइहालिन्छ ।
मोबाइल उपकरणमा राखिएका व्याकरण, शब्दभण्डार, वाक्यपद्धति, सामान्य ज्ञान, खेल, कोठेपद, शब्दार्थहरूबाट भाषा तथा ज्ञानको विकास गर्न सकिन्छ ।

‘मोबाइल लर्निङ’को मुख्य मान्यता प्रविधिको सहयोग र ताररहित सञ्जालको अन्तरक्रियाबाट विद्यार्थीहरूको सिकाइलाई सहज र सम्भव तुल्याउन सकिन्छ भन्ने हो ।

मोबाइल उपकरणको मद्दतले विद्यार्थी र शिक्षकले वेबपेज हेर्न सक्छन् । अडियो सुन्न सक्छन् । भिडियो ट्युटोरियल हेर्न सक्छन् । साथीसँग पाठबारे छलफल गर्न सक्छन् । अभ्यास र प्रयोगका लागि विज्ञसँग परामर्श लिन सक्छन् । व्यक्तिले सुनेर, देखेर वा गरेर सिक्ने हो । मोबाइलमा सुन्नका लागि अडियो सुविधा हुन्छ, हेर्नका लागि भिडियो हुन्छ र गर्नका लागि अवसर उपलब्ध हुन्छ ।

तारा,ग्रह र तिनकोगतिबारे सिकाउन सामान्यतया त्यति सजिलो हुँदैन । त्यस्तै परमाणुहरूको संरचना पनि सिकाउन दुरुह मानिन्छ । तर ‘मोबाइल लर्निङ’मा एनिमेशनको सहयोगबाट बनेका पाठहरू उपयोग गर्न सकिन्छ । त्यस्ता सामग्रीले विषयवस्तुको धारणालाई छर्लङ्ग पारिदिन्छन् । अर्को कुरा विद्यालय वा कलेजले राखेका सर्भरहरूबाट इन्ट्रानेट को माध्यमबाट आवश्यक पाठहरू डाउनलोड गर्न विद्यालय/कलेजले दिएका परियोजना कार्य, प्रतिवेदनहरू बुझाउन विद्यालय वा कलेजमा आफैं उपस्थित भइरहनु पर्दैन; इमेलबाट वा ब्ल्युटुथबाट वा फायल सेयरमा राखेर पठाइदिन सकिन्छ ।

‘मोबाइल लर्निङ’को अर्को तरिका भनेको ‘सिमुलेसन’ हो । कम्प्युटरका सफ्टवेयरहरू कसरी सञ्चालन गर्ने भन्ने बारेमा यस्ता ‘सिमुलेसन’ निर्माण गरिएका छन् । यस्ता सिमुलेसन– पाठहरू हेरेर कम्प्युटरका सफ्टवेयरलाई क्रमबद्ध रूपमा सञ्चालन गर्न सकिन्छ ।

सामान्यतया, हामी सडक छाडेर कैयन् दिन हिँडेपछि मात्र पुगिने मुगुको मानिसलाई ट्राफिक नियमबारे सिकाउन किन आवश्यक छ र भनेर सोच्छौं । तर मुगुको मानिसले हवाईजहाज चढ्न पायो भने एक घण्टा भित्रै नेपालगञ्जको व्यस्त सडकमा आइपुग्छ । उसलाई भिडियोको सहयोगले नेपालगञ्जको सडकबारे मात्र होइन संसारकै जुनसुकै शहरमागाडी तथा मानिसहरूकोगति कस्तो हुन्छ र त्यहाँ पुग्दा आफूले के गर्नु पर्छ भन्ने ज्ञान दिन सकिन्छ । त्यस्तै विभिन्न जातजातिका सामाजिक तथा सांस्कृतिक रहनसहन पनि देखाउन सकिन्छ ।

‘मोबाइल लर्निङ’को अर्को महत्वपूर्ण विशेषता भनेको यो जहाँसुकैबाट र जहिले पनि प्राप्त गर्न सकिन्छ । यसमा भएका पाठहरू एकअर्कालाई उपलब्ध गराउन सकिन्छ । तत्काल प्रतिक्रिया प्राप्त हुन्छ । किताब र नोटकपीहरूको भारी वोक्ने झन्झटबाट मुक्त पार्छ । किताब र नोटबुकहरूको ठाउँ सानो मेमोरी चिप्सले लिन्छ; जसले सिकाइ प्रक्रियालाई रोचक र प्रभावकारी तुल्याउँछ ।

एकथरी सिद्धान्तकार तथा शिक्षकहरू ‘शिक्षण भनेको ज्ञानको सम्प्रेषण गर्नु हो’ भन्ने मान्दछन् । यो मान्यतालाई स्वीकार गर्ने हो भने विद्यार्थीले प्रशस्त पाठ्यसामग्रीहरू पाउनुपर्दछ र ती सामग्रीमा श्रव्य तथा श्रव्य–दृश्यको अधिकतम प्रयोग गरिएको हुनुपर्छ ।

अर्काथरी सिद्धान्तकार तथा शिक्षकहरू भन्छन्– शिक्षा अब विद्यालयले मात्र दिन सक्दैन । विद्यालयबाट मात्र ‘सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्न सम्भव छैन । यसका लागि खुल्ला शिक्षा आवश्यक छ । खास गरी विद्यार्थीहरूले आफ्नो समय  अनुसार सिक्न पाउनुपर्ने अवधारणा पाउलो फ्रेरे र इलिचको रहेको छ । ‘मोबाइल लर्निङ’ले दूर शिक्षाको माध्यमबाट शिक्षण सिकाइ गर्न झनै सम्भव बनाएको छ ।

‘मोबाइल लर्निङ’लाई औपचारिक शिक्षा तथा अनौपचारिक शिक्षा दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ । यो सिकाइ पद्धतिमा हरेक विद्यार्थीले आफूले सिक्न चाहेको ठाउँ तथा बखतमा सिक्न पाउँछन् । इ–लर्निङ र मोबाइल लर्निङबीच एउटा भिन्नता छ; त्यो हो लचकता । ‘इ–लर्निङ’मा भन्दा ‘मोबाइल लर्निङ’मा बढी लचकता हुन्छ । विद्यार्थीले ‘एम–लर्निङ’ को प्रयोग विद्यालयको हातामा, चउरमा, क्यान्टिनमा, छतमा, घर फर्कंदागाडीमै वा घरमा पनि गर्न सक्छन् ।

तर यो सुविधा कमजोरीहरूबाट पूर्ण रूपमा मुक्त भने छैन । यसको स्क्रिनको आकार सानो हुने हुँदा पढ्नलाई कठिनाइ हुनसक्छ । यस्ता साधनहरूमा खबर वा सन्देशहरू टाइप गर्न पनि कठिन हुन्छ । साना खालका किबोर्डको प्रयोगबाट यो समस्या हल गर्न भने सकिन्छ । इन्टरनेटकोगति ढिलो भएमा डकुमेन्टहरू पठाउन कठिन पर्छ । मोबाइल उपकरणको प्रयोग गर्न सक्षम नभएमा यसबाट सोचेजति फाइदा लिन सकिँदैन । सामान्यतया यस्ता साधनहरू अन्य उपकरणभन्दा महँगा पनि हुन्छन् । सुरक्षा यसको अर्को महत्वपूर्ण चासो हो ।

‘मोबाइल लर्निङ’ को सिकाइ व्यवस्थापन प्रणाली तथा आवश्यक पाठ्यवस्तुको निर्माण अझै पनि प्रारम्भिक चरणमा छ । राम्रा पाठ्यसामग्री पाउन अझै पनि कठिन छ । कतिपय यस्ता पाठ्यसामग्री माथि कसको स्वामित्व हुने भन्ने बारेमा मतभेद हुने गरेको छ । सिकाइ सामग्रीहरू ‘ओपन सोर्स’ हुनुपर्छ र व्यावसायिक हक लाग्नुपर्छ भन्ने कुरा मा मतभेद कायमै छ ।

तर पनि ; हराम्रो जस्तो भौगोलिक अवस्था; टेलिफोन लाइन विस्तारका कठिनाई तथा पर्याप्त र भरपर्दो विद्युत् उपलब्ध नभएको ठाउँमा पर्याप्त मात्रामा ऊर्जा आवश्यक पर्ने डेक्सटप तथा टेलिफोन लाइन आवश्यक पर्ने एडिएसएल सेवाभन्दा मोबाइल फोन सबैभन्दा भरपर्दो साधन बन्न सक्छ । तुलनात्मक रूपमा धेरै कम ऊर्जा लाग्ने, एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग ओसारपसार गर्न सकिने  र सहजै इन्टरनेट सेवा उपयोग गर्न सकिने मोबाइल उपकरणहरू प्रयोग गरी ‘मोबाइल लर्निङ’को माध्यमबाट स्तरीय शिक्षा प्रदान गर्न सम्भव देखिन्छ । तर, त्यसनिम्ति मोबाइललाई उपयोग गर्न सकिने गरी ‘डिजिटल कन्टेन्ट’को विकास गर्न जरुरी छ ।

commercial commercial commercial commercial