कक्षामा विविधताः अवसर र चुनौती
नमुना मच्छिन्द्रमा ५७ जिल्लाका विद्यार्थी छन् । ती ५७ जिल्लाले तराई, पहाड, हिमाल सबै भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्छन् । विद्यार्थीलाई त्यो विद्यालयमा कुन–कुन जिल्लाको प्रतिनिधित्व छैन खोज्न लगाउने हो भने सबै जिल्लाको बारेमा जानकारी पाउन सकिन्छ ।
ललितपुर, सिन्चाहिटीस्थित मेरीगोल्ड स्कूलका कक्षाहरूमा पाँच वर्षअघिसम्म महर्जन र शाक्य समुदायका विद्यार्थीहरूको बाहुल्य थियो । स्थानीय नेवार समुदाय बाहेक अन्य जात वा समुदाय र बाहिरी जिल्लाका विद्यार्थी त्यहाँ औंलामागन्न सकिने थिए । तर अहिले विद्यालयको संरचना पूरै बदलिएको छ, अन्य जात र जिल्लाका विद्यार्थीको सङ्ख्या स्थानीयकै हाराहारीमा पुगिसकेको छ ।
ललितपुरकै नमुना मच्छिन्द्र, प्रभात र श्रमजित किशोर माविमा पनि कुनै वेला रैथानेहरूकै बोलवाला थियो । त्यहाँ बाहिरका जिल्लाका मानिसहरू सिला झै खोज्नुपथ्र्यो । तर आज यी तीनैवटा विद्यालयमा ललितपुर जिल्लाका विद्यार्थी चाहिँ सिला झै खोज्नुपर्छ । नमुना मच्छिन्द्र माविमा ५७ जिल्ला र भारतका समेत विद्यार्थी भेटिन्छन् । त्यस्तै प्रभात माविमा ५२ जिल्ला र भारतका अनि श्रमजित किशोर माविमा ५० जिल्ला र भारतका विद्यार्थीहरू पढिरहेका छन् । त्यस्तै; नमुना मच्छिन्द्रमा २३ जातका, प्रभात माविमा १८ जातका र श्रमजित किशोरमा २२ जातका विद्यार्थीहरूको उपस्थिति पाइन्छ । मधेशका जातलाई समेत समेटेर हेर्ने हो भने यो सङ्ख्या ३४ सम्म पुग्छ ।
भाषागत हिसाबले नमुना माविमा १२ मातृभाषी विद्यार्थी छन् भने, प्रभात माविमा १७ तथा श्रमजित किशोर माविमा १५ मातृभाषाका विद्यार्थी छन् । नेपालमा ९० भन्दा बढी भाषा बोलिन्छन् ।
यी विद्यालयमा पाँचवटै प्रमुख धर्म (हिन्दू, बौद्ध, इसाई, इस्लाम र किराँत) मान्ने विद्यार्थी रहेका छन् । लैङ्गिक दृष्टिकोणले नमुनामा ५० प्रतिशत, प्रभातमा ४८ प्रतिशत र श्रमजितमा ४४ प्रतिशत छात्रा छन् । एउटै कक्षामा फरक क्षमता भएका ९मषाभचभलतथि बदभि० र अपाङ्गता भएका विद्यार्थीहरू पनि भेटिन्छन् । यथार्थमा यी विद्यालयका विद्यार्थीले झण्डै सिङ्गो नेपाललाई प्रतिनिधित्व गरेको भान हुन्छ ।
विविधताको स्वरुप— वर्ण, धर्म, लिङ्ग, भाषा, जाति र पेशामा मात्रै पनि सीमित हुँदैन । हरेक व्यक्ति भिन्न ढङ्गले सोच्छ, आफ्नै पाराले कुनै कुरा लाई बुझछ वा हेर्छ । एउटै भाषा वा जात–समुदायभित्र पनि विविधता रहेकै हुन्छ । पेशा, रुचि, आर्थिक अवस्था र जीविकाको स्रोतले पनि मानिसलाई अलग स्वभाव र चरित्रको बनाइदिन्छ । अर्थात्, कक्षाकोठा भन्ने बित्तिकै त्यो स्वतः विविधतायुक्त हुन्छ । र, भिन्न जात, भाषा, धर्म, वर्ण, रुचि वा पृष्ठभूमिका बालबालिकालाई साझ पाठ पढाउने कार्य स्वाभाविकरूपमै चुनौतीपूर्ण हुन्छ । तर विद्यालयको एउटै दायित्व त्यस्ता सामाजिक तथा भाषिक विविधताहरूको व्यवस्थापन गर्नु नै हो ।
विविधता विद्यालयका निम्ति चुनौती र अवसर दुवै हो । अवसरको सदुपयोग गर्न सके चुनौती स्वतः न्यून हुन्छन् र विद्यार्थीको सिकाइ अधिकतम हुन्छ । कसरी त ? सिकाइ आफैंमा एउटा सामाजिक प्रक्रिया हो । समाज सँग को अन्तरक्रियाबाट नै हामीले धेरै कुरा सिक्छौं । भिन्न पृष्ठभूमिका बालबालिकाले स्कूल आउँदा लिएर आउने थरीथरीका अनुभवहरूलाई कक्षाभित्र सही किसिमले घुलन गर्न सकियो भने हरेक बालबालिकाले पर्याप्त कुरा सिक्न पाउँछन् ।
कक्षाकोठामा भएको विविधतालाई सही ढङ्गबाट पहिचान र सहजीकरण गर्न सकिएन भने चाहिँ त्यसले विद्यार्थी तथा शिक्षक दुवैलाई निराश पनि बनाउन सक्छ । विद्यार्थीहरूबीच जातीय, भाषिक या अरू कुनै भिन्नताकै कारण पनि झ्गडासमेत हुन सक्छ । तर यस्तो परिस्थितिलाई सजिलैसँग रोक्न पनि सकिन्छ । कक्षामा शिक्षकले विद्यार्थीका मातृभाषाका एक वा दुई शब्द मात्रै पनि बोलिदिँदा पनि उनीहरूको आत्मसम्मान र सन्तुष्टि बढ्छ । विद्यार्थीले घरमा बोल्ने भाषा र विद्यालयको भाषाबीचमा सादृश्यता कायम राख्न नसक्दा सिकाइमै अप्ठ्यारो पर्न सक्छ ।
जसरी प्रकृतिमा जैविक विविधता जरुरी मानिन्छ, समाज मा सामाजिक विविधता पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले यो विविधतालाई अवसरको रूपमा उपयोग गर्नु पर्छ । विद्यालयमा यस्तो अवसर प्रशस्त मात्रामा हुन्छ ।
कक्षा ६ को सामाजिक शिक्षामा हिन्दू, बौद्ध, मुस्लिम तथा इसाई धर्मका बारेमा सिकाउनु पर्छ । त्यस्तै उनीहरूले मान्ने चाडहरू दशैँ, तिहार, बुद्धपूर्णिमा, क्रिसमस, छठपर्व, ल्होसार आदिका बारेमा पनि पाठहरू राखिएका छन् । यस्ता विषयमा शिक्षकले व्याख्यान दिनुभन्दा विद्यार्थीलाई नै उनीहरूले मान्ने धर्म र उनीहरूका चाडपर्वबारे छलफल गरी निचोड निकाल्न ल गाउँदा बढी प्रभावकारी हुन्छ । विद्यार्थीबाट सम्भव नभए अभिभावकलाई पनि यस्तो कामका लागि अनुरोध गर्न सकिन्छ ।
नेपालका जिल्लाहरूबारे पढाउँदा कक्षाका विद्यार्थीहरू कुन कुन जिल्लाबाट आएका छन्; ती जिल्लाहरूमा उनीहरूलाई आफ्नो नाम टाँस्न लगाउने, सबै विद्यार्थीहरूले आफ्नो नाम टाँसी सकेपछि अब कुन कुन जिल्लाका विद्यार्थीहरू छैनन् खोजी गर्न लगाउने, कति जिल्लाका विद्यार्थीहरू छन्गन्न लगाउने, अनि ती जिल्लाका सदरमुकामहरू कुन–कुन हुन् ? प्रमुख बाली तथा नगदेबालीहरू के–के हुन् ? ती जिल्लाहरूलाई कुन–कुन सडकले जोड्छ ? ती सडकका नाम के–के हुन् ? ती जिल्ला पहाड, तराई तथा हिमाल कुन भौगोलिक क्षेत्रमा पर्छन् ? यस्ता प्रश्नमा छलफल गरी भन्न र लेख्न लगाउने हो भने विद्यार्थीले आफैं यी काम गर्न सक्छन् ।

नमुना मच्छिन्द्रमा ५७ जिल्लाका विद्यार्थीहरू छन् । ती ५७ जिल्लाले तराई, पहाड, हिमाल सबै भौगोलिक क्षेत्रको प्रतिनिधित्व गरेका छन् । विद्यार्थीलाई त्यो विद्यालयमा कुन–कुन जिल्लाको प्रतिनिधित्व छैन खोज्न लगाउने हो भने सबै जिल्लाको बारेमा जानकारी पाउन सकिन्छ । त्यस्तै प्रभात माविका विद्यार्थीहरूले २३ जिल्लाको नाम खोजे पुग्छ भने श्रमजित किशोर माविले २५ जिल्लाका नामहरू खोज्नुपर्ने हुन्छ । कक्षामा गरिने यस्ता क्रियाकलाप हरूले घोकाएर सिकाए भन्दा रराम्रो परिणाम दिन्छ ।
हराम्रो समाज अझै पनि जातीय विभेदलेग्रस्त छ । अझै पनि कतिपय विद्यालयहरूमा कथित तल्लो जातका विद्यार्थीहरूसँग माथिल्लो जातका विद्यार्थी नबस्ने गरेको पाइन्छ । तर, सानै देखि सबै विद्यार्थीलाई सबैसँग घुलमिल गराउने र समूहमा सँगै बसेर काम गर्न लगाउने हो भने छुवाछूतको कुसंस्कारलाई हटाउन मद्दत पुग्छ । सामाजिक विवधताले विद्यार्थीहरूलाई भिन्न भिन्न खालका दृष्टिकोण दिन्छ । हरेक व्यक्तिले फरक फरक विचार , मान्यता वा धारणा राख्दा तिनीहरूबीच तुलना गर्ने अवसर समेत प्राप्त हुन्छ । यसबाट व्यक्तिको सोचाइको दायरालाई अझ् फराकिलो पार्न सहयोग पुग्छ ।
बालबालिकालाई समूहमा बस्ने, छलफल गर्ने तथा प्रस्तुत गर्ने गर्दा उनीहरूमा धक नमानी अरूका अगाडि बोल्ने, तर्क गर्ने , सुन्ने जस्ता सामाजिक सीपहरूको पनि विकास हुन्छ । उनीहरूले धैर्य, सहिष्णुता र ममताको पाठ पनि सिक्न पाउँछन् । यसले उनीहरूमा भिन्नतालाई आदर गर्ने तथा स्वीकार गर्ने बानीको विकास गराउँछ, जुन समाज का लागि अति जरुरी कुरा हो ।
हरेक बालबालिकाहरू भिन्न हुन्छन् भन्ने कुरा शिक्षकले कहिल्यै बिर्सनुहुँदैन । बरु विद्यालयको सिकाइले यस्ता भिन्नतालाई सम्बोधन गर्न सक्नुपर्छ । प्रत्येक विद्यार्थीको सिकाइ तरिका फरक हुन्छ । परम्परागत शिक्षण सिकाइ क्रियाकलाप ले विद्यार्थीको सिकाइ भिन्नतालाई सम्बोधन गर्न सक्दैन ।
भनिन्छ, ६५ प्रतिशत मानिस देखेर वा हेरेर सिक्छन् । ३० प्रतिशत मानिस सुनेर सिक्छन् भने ५ प्रतिशत मानिसहरू आफैंले गरेर सिक्छन् । शिक्षकले कक्षामा गर्ने प्रवचनबाट ‘सुनेर सिक्ने’ ३० प्रतिशत विद्यार्थीलाई मात्र सहयोग पुगिरहेको हुन्छ । बाँकी ७० प्रतिशत विद्यार्थीले केही पनि सिकिरहेका हुँदैनन् । त्यस्तो अवस्थामा शिक्षण विधि तथा सिकाइ क्रियाकलाप मा विविधता ल्याएर मात्र यो समस्याको समाधान गर्न वा सबैजनालाई सिकाउन सकिन्छ ।



