प्रेरक गुरु मिहिनेती चेलो
त्रिभुवन विश्वविद्यालयको सेवामा करिब चार दशक बिताएका प्रा. डा.श्रीधरप्रसाद लोहनी अङ्ग्रेजी साहित्यका कहलिएका प्राध्यापक हुन् । त्रिवि प्रवेश गर्नु अघि २०१९ देखि २०२२ सालसम्म लोहनीले ‘पार्ट टाइम’ शिक्षकका काठमाडौं, डिल्लीबजारस्थित विजयस्मारक माविमा पढाएका थिए । त्यसवेला उनी एम.एस्सी. गर्दैथिए ।
विजय स्मारकमा तीन वर्ष बिताउँदा कति विद्यार्थीलाई पढाइयो भन्न उनलाई हेक्का छैन । तथापि केही विद्यार्थीको पढ्ने शैली र क्रियाकलाप लाई भने उनी आजसम्म सम्झन्छन् । प्रा.डा. पुष्कर बज्राचार्य तिनै विद्यार्थीमध्येका एक हुन्, जसलाई श्रीधर सरले कक्षा ९ र १० मा विज्ञान तथा गणित पढाएका थिए । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका प्राध्यापक बज्राचार्य यतिखेर राष्ट्रिय योजना आयोगमा सदस्य छन् ।
पाँच वर्षको छँदा बज्राचार्य काठमाडौं भगवतीबारीको शान्तिनिकुञ्ज स्कूलमा सोझै कक्षा दुईमा भर्ना गरिएका थिए । १० वर्षको उमेरमा उनले त्यहाँबाट कक्षा आठ उत्तीर्ण गरे र कक्षा नौ पढ्न विजय स्मारक आए । श्रीधर सरको मूल्याङ्कनमा पुष्कर शुरु मा मध्यम श्रेणीका छात्र थिए तर पछि उनले मिहिनेत र लगनशीलताले आफूलाई तिखार्दै लगे । “सानो उमेर भए पनि उसको व्यवहार चाहिँ परिपक्व हुन्थ्यो । आफ्नो पढाइप्रति निरन्तर लगाव राख्थ्यो । यहीगुणले गर्दा पुष्कर आजसम्म सफल भएको हो”, लोहनी भन्छन् ।
पुष्करको हँसिलो अनुहार र अनुशासित आचरण पनि श्रीधर सरले उनलाई सम्झ्रिहने अर्को आधार हो । उनी भन्छन्, “ऊ आफू त झ्गडागर्थेन नै, अरूले गरिहाले भने पनि सम्झइ–बुझइ गथ्र्यो । साथीहरूका माझ् पनि उत्तिकै प्रिय थियो । स्कूलका अरू शिक्षकले पनि पुष्करको प्रशंसा गरिरहन्थे र भन्नेगर्थे, “यो केटो धेरै विश्वासिलो छ, भविष्यमा ठूलो मान्छे हुन्छ ।”
पुष्करमा शिक्षकले दिएको समस्यालाई नआत्तिकन समाधान गर्न सक्ने खुबी थियो । एक दिन लोहनीले कक्षा १० मा अङ्क गणितको एउटा समस्या हल गर्न लगाएका थिए । समस्या अलि ‘कठिन’ नै थियो र धेरैजसो विद्यार्थीले त्यसको हल गर्न सकेनन् । पुष्करले भने त्यो हिसाब ट्याक्कै मिलाए । लोहनी भन्छन्, “विज्ञानको तुलनामा गणितमा पुष्करको रराम्रो दक्खल थियो । अरू विद्यार्थीले हल गर्न नसकेको कुरा उसले चाहिँ सजिलै गथ्र्यो ।” २०२२ सालमा पुष्करले ५९ प्रतिशत अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरे । जुन उनको कक्षाको सर्वाधिक अङ्क थियो । त्यति वेला उनी १३ वर्षमा मात्रै टेकेका थिए ।
यता पुष्कर बज्राचार्य पनि श्रीधर लोहनीलाई आदर्श शिक्षकका रूपमा चित्रण गर्छन् । उनको भनाइमा श्रीधर सर एकदमै मिहिनेती थिए र उनमा विद्यार्थीलाई रराम्रोसँग बुझाउन सक्ने क्षमता थियो । उनी भन्छन्, “उहाँले सतही ढङ्गले सिकाएको मलाई कहिल्यै थाहा भएन । कुनै विषयवस्तु पढाउँदा त्यसको व्याख्या मात्रै गर्नु हुन्थेन । बरु त्यसकोगहिराइसम्म पुगेर सिकाउनु हुन्थ्यो ।” उनी विद्यार्थीहरूलाई नबुझेका कुरा सोध्न सधैँ प्रेरित गरिरहन्थे ।
उतिवेला विज्ञान शिक्षणका लागि अहिलेको जस्तो प्रयोगशाला र उपकरण हुँदैनथे । तैपनि लोहनी सरले सम्भव भएसम्मका सामग्री आफैँले बनाएर देखाएका मीठा सम्झना छन् पुष्करसित । गणित पढाउँदा पनि उनी पहिले अभ्यास का चरणहरू सरसर्ती बताइदिन्थे र विद्यार्थीलाई नै अभ्यास गर्न प्रेरितगर्थे । उनी नियमित रूपमा विद्यार्थीको ‘होमवर्क चेक’गर्थे। “कपीमा नपुगेका कुरा हरू थप्न सुझाव दिनुहुन्थ्यो । त्यसबाट अझ् बढी अभ्यास गर्न हामीलाई प्रोत्साहन मिल्थ्यो”, पुष्कर सम्झन्छन् ।
विद्यार्थीलाई मित्रवत् र मायालु व्यवहार गर्नु लाई उनको अर्को विशेषता ठान्छन्, बज्राचार्य । लोहनीले विद्यार्थीहरूलाई पिटेको त केगालीसम्म गरेको पनि उनले थाहा पाएनन् । “खास गरी श्रीधर सरको चिन्तनशील शैली, विद्यार्थी केन्द्रित शिक्षण विधि र मित्रवत् व्यवहारबाट म निकै प्रभावित थिएँ । उहाँको योगुणलाई मैले आफूले विश्वविद्यालयमा पढाउँदा पनि अनुसरणको प्रयास गरें”, पुष्कर भन्छन् ।
त्यसो त यी दुई गुरु–चेलाबीचको साइनो स्कूलमा मात्रै सीमित रहेन । त्रिचन्द्र क्याम्पसमा बी.कम. दोस्रो वर्षमा पनि श्रीधर सर पुष्करका शिक्षक रहे । अनिवार्य अङ्ग्रेजीतर्फ लोहनी सरले ‘मुन एण्ड सिक्स पेन्स’ नामको उपन्यास पढाएको टड्कारो सम्झना छ, पुष्कर बज्राचार्यलाई ।

२०३० सालमा बज्राचार्यले एम.कम. मा त्रिवि ‘फ्याकल्टी टप’ गरे । त्यसको भोलिपल्टै प्रा. रामप्रसाद राजवाहकले बज्राचार्यको घरैमा पुगेर त्रिविमा पढाउन आग्रह गरे । उनले त्यो आग्रहलाई स्वीकार गरेर कीर्तिपुरमा गएर पढाउन शुरु गरे । त्यसपछि त लोहनी सरसँग उनको भेट नियमितजसो हुन थाल्यो । फरक यत्ति हो कि लोहनी अङ्ग्रेजी केन्द्रीय विभागसँग आबद्ध थिए भने बज्राचार्य चाहिँ व्यवस्थापन विभागमा । यी दुई गुरुचेलाको सँगै काम गर्ने अवसर पनि जुरेको थियो, पोखरा विश्वविद्यालयको ‘विश्वविद्यालय सभा’मा । करीब छ वर्षसम्म दुवैजना विश्वविद्यालयको आर्थिक, प्रशासनिक र प्राज्ञिक निर्णय गर्ने अङ्ग विश्वविद्यालय सभाका सदस्य रहे । लोहनी भन्छन्, “खास गरी तथ्याङ्क र व्यवस्थापनको विषयमा छलफल गर्नु पर्दा पुष्करको खोजी भइहाल्थ्यो । पोखरा विश्वविद्यालयका प्राज्ञिक कार्यक्रमहरू स्थापित गर्ने सवालमा उसको पनि ठूलो योगदान छ ।”
भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका बज्राचार्य ३६ वर्षको उमेरमै प्राध्यापक भइसकेका थिए । उनी २०६६ मा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भए । त्यसयता भने यी दुई गुरुचेलाबीच भेटघाट भएको छैन । आफ्नो स्कूले चेलो राज्यको विकास नीति तर्जुमा गर्ने उच्च निकायमा पुगेकोमा ६७ वर्षीय लोहनी निकै प्रफुल्ल देखिन्छन् । “वास्तवमा योग्य व्यक्ति योग्य ठाउँमा पुगेको छ । व्यवस्थापनको क्षेत्रमा पुष्कर एउटा विज्ञ व्यक्ति हो”, लोहनीले चेलोको तारिफ गरे ।



