जिज्ञासा र जवाफ

विविधा भयो

माध्यमिक शिक्षा पाठ्यक्रम प्रथम संस्करण–२०६४ भाग–१ (पृष्ठ ५१) र सामाजिक अध्ययन शिक्षण ‘क्षमतामा आधारित’ तेस्रो मोडुल (परिमार्जित संस्करण) प्रशिक्षार्थी स्रोत सामग्री, २०६५ मा उल्लेख भएका एकाइगत अङ्कभार फरक देखिन्छन् । यस्तो अवस्थामा कुन सामग्रीलाई आधार मान्ने ? जस्तै;
विष्णु श्रेष्ठ
साधारण उमावि, मैदी–४, धादिङ

पाठ्यक्रम र प्रशिक्षार्थी स्रोत सामग्रीको पाठ्यभार र अङ्कभार फरक परेको पाइएमा पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित पाठ्यक्रमलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ ।
खुबीराम अधिकारी , प्राविधिक अधिकृत
शैक्षिक जनशक्ति विकास केन्द्र

अस्थायीलाई पनि मौका दिइयोस्

माध्यमिक तहको अस्थायी सेवामा २० वर्षभन्दा बढी देखि कार्यरत शिक्षक एसएलसी परीक्षाको केन्द्राध्यक्ष हुनसक्छन् कि सक्दैनन् ?
विजयकान्त झ
जनमुखी उमावि, बसेरी, उदयपुर

एसएलसी सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा माध्यमिक तहका स्थायी शिक्षकलाई केन्द्राध्यक्ष तोक्नुपर्ने व्यवस्था भएकाले अस्थायी शिक्षकलाई केन्द्राध्यक्ष तोक्न मिल्दैन ।
डिल्लीराम लुईंटेल
उपनि यन्त्रक, परीक्षा नियन्त्रण कार्यालय

जिशिकाले बदर गर्छ

विद्यालय व्यवस्थापन समितिले योग्यता नै नपुगेको शिक्षकलाई प्रअ बनाएको खण्डमा योग्यता पुगेको शिक्षकले जिल्ला शिक्षा कार्यालयमा प्रअको पद दाबी गरे मा जिशिकाले त्यस्तो प्रअको नियुक्ति बदर गर्न सक्छ कि सक्दैन ?
हुकुमा कुमारी केसी
गणेश निमावि, धौलाबाङ दुबिडाँडा, रोल्पा

शिक्षा नियमावलीले तोके विपरित विद्यालय व्यवस्थापन समितिबाट प्रअको नियुक्ति भएमा त्यस्तो नियुक्तिलाई जिल्ला शिक्षा कार्यालयले बदर गर्न सक्छ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग

मेरोगणना कसरी ?

म कैलाश निमावि, दोवा, म्याग्दीमा २०३१ पुस देखि निम्नमाध्यमिक तहको स्थायी शिक्षक थिएँ । २०३२ भदौमा सरकारले राजनीतिक अभियोग लगाएर मलाई दुई वर्ष जेल हाल्यो । त्यसपछि पुनः प्रतिस्पर्धाबाट उत्तीर्ण भई महादेव मावि, हुम्लामा २०३६ पुस देखि २०४० चैतसम्म निम्नमाध्यमिक स्थायी शिक्षकको रूपमा सेवा गरें । २०४० चैतमा मुक्तिधाम मावि, म्याग्दीमा माध्यमिक तहको शिक्षक भई २०४८ साउन देखि हालसम्म सोही तहको स्थायी शिक्षकमा कार्यरत छु । मेरो सेवा अवधि कुन मिति देखि गणना होला ? राजनीतिक अभियोगमा जेल बस्नुपरेको अवधि पेन्सनका लागिगणना हुन्छ कि हुँदैन ?
तप्तबहादुर थापा
मुक्तिधाम उमावि, राखु, म्याग्दी

शिक्षा नियमावली, २०५९ को नियम १३८(२) मा शैक्षिक नोकरीको लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको अवस्थामा बाहेक अन्य अवस्थामा टुटेको अवधि कटाएर सेवा अवधिगणना गरिने प्रावधान छ । अतः तपाईंको २०३१ पुस देखि २०३२ भदौसम्मको सेवालाई पुनः २०३६ देखि को स्थायी सेवामागणना गराउन सक्नुहुन्छ । २०४० चैत देखि निम्नमाध्यमिक स्थायी पद लियनमा राखी माध्यमिक तहमा अस्थायी नियुक्ति लिनुभएको हो भने सो अवधिको पनि सेवा अवधिगणना हुनेछ । तर, राजनीतिक अभियोगमा जेल परेको अवधिको भनेगणना हुँदैन ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना

कुन विषयमा आवेदन दिने ?

मैले शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्वास्थ्य तथा शारीरिक विषय लिई कक्षा १२ उत्तीर्ण गरेको छु । शिक्षक सेवा आयोगबाट हुने विज्ञापनमा मैले निम्नमाध्यमिक तहका लागि कुन–कुन विषयमा आवेदन दिन पाउँछु ?
मीरा यादव
जनता निमावि, सम्सी प्रवाहा, महोत्तरी

तपाईंले स्वास्थ्य तथा शारीरिकका अतिरिक्त सामाजिक शिक्षाको लागि पनि आवेदन दिन पाउनुहुन्छ । किनकि जुनसुकै विषयमा प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिले निम्नमाध्यमिक तहको सामाजिक शिक्षामा समेत आवेदन दिन सक्छन् ।  
पदमप्रसाद खरेल
उपसचिव, शिक्षक सेवा आयोग

योग्यता बढाउनुपर्ला ?

शैक्षिक योग्यता आई.एल. रहेको र १० महिने तालिम पूरा गरेको शिक्षकले विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अनुसार आधारभूत तहका लागि थप योग्यता बढाउनुपर्छ कि पर्दैन ?
हरिबहादुर देवकोटा
सिद्ध प्रावि, कमलामाई, सिन्धुली

एसएसआरपीमा आधारभूत तहको योग्यता उच्चमावि वा सो सरह उत्तीर्ण गरी शिक्षक तालिम लिएको हुनुपर्ने प्रावधान छ । त्यसैले आई.एल. उत्तीर्ण र १० महिने तालिमप्राप्त शिक्षकले आधारभूत तहको लागि योग्यता बढाउनुपर्दैन ।
खगेन्द्र नेपाल
शाखा अधिकृत
शैक्षिक जनशक्ति विकास केन्द्र

आवेदन दिन पाइएला ?

म प्राथमिक तहको स्थायी शिक्षक हुँ । मैले आई.ए. उत्तीर्ण गरी दशमहिने तालिम प्राप्त गरेको छु । शिक्षण सेवाको लागि शिक्षाशास्त्र विषय अनिवार्य भएको सुनिन्छ । अब मैले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र र खुला प्रतियोगितात्मक परीक्षामा आवेदन दिन पाउँछु कि पाउँदिनँ ?
शनिराम यादव
शङ्कर निमावि, खरदरिया, दाङ

शिक्षाशास्त्र पढेका र तोकिएको तालिम लिएका व्यक्तिले अध्यापन अनुमतिपत्रका लागि आवेदन दिन पाउँछन् । तर, तपाईंले कुन तहको तालिम लिएको हो भन्ने कुरा जिज्ञासामा खुल्दैन । तपाईंले निम्नमाध्यमिक तहको १० महिने तालिम लिनुभएको अवस्थामा मात्रै अध्यापन अनुमतिपत्रका लागि आवेदन भर्न सक्नुहुन्छ । अनुमतिपत्र लिएपछि खुला प्रतियोगितात्मक परीक्षामा आवेदन दिन पाइन्छ ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग

अर्को जिल्लाबाट पाइएला ?

कुनै जिल्लामा एउटा तहमा स्थायी नियुक्ति पाई अध्यापनरत शिक्षक (उमेर ४० नाघिसकेको) ले अर्को जिल्लाबाट समान वा माथिल्लो तहको खुला विज्ञापनमा आवेदन दिन पाउँछ कि पाउँदैन ? यदि आवेदन दिएर नयाँ जिल्लाको लागि स्थायी शिक्षकमा छनोट हुँदा पहिलेको सेवा अवधिगणना हुन्छ कि हुँदैन ?
महेश्वर राय
गौरीशङ्कर उमावि, निजगढ, बारा

लीलाप्रसाद शर्मा पौडेल
भीम मावि, राजदाङ्ग, म्याग्दी

४० वर्ष नाघेको स्थायी शिक्षकले आफू कार्यरत भन्दा अर्को जिल्लाबाट आफू कार्यरत तहभन्दा माथिल्लो तहमा आवेदन दिन पाइन्छ, समान तहमा चाहिँ पाइँदैन । त्यसरी माथिल्लो तहमा छनोट भएको खण्डमा पुरानो सेवा अवधि पनि जोडिन्छ ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग

हराम्रो योग्यता पुग्ला ?  

एसएलसी उत्तीर्ण, अनुमतिपत्र लिएको र दशमहिने तालिमप्राप्त व्यक्तिले शिक्षक सेवा आयोगबाट हुने खुला विज्ञापनमा प्राथमिक तहको लागि आवेदन दिन पाइन्छ कि पाइँदैन ?
सुरेन्द्र पाण्डे
पर्सा देवाङ–४, महोत्तरी
बिन्दु कुमारी कुशवाहा
नेपाल रेडक्रस प्रावि, मुड्ली, पर्सा

हालै संशोधित शिक्षक सेवा आयोग नियमावलीमा अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको हकमा बाहेक २०६८ वैशाख देखि प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्ति मात्रै प्राथमिक तहको उम्मेदवार हुनसक्ने व्यवस्था गरेको छ । अतः २०६७ चैत मसान्तभित्र विज्ञापन भएमा मात्रै तपाईंहरू जस्ता व्यक्तिले आवेदन दिन पाउनुहुनेछ ।
पदमप्रसाद खरेल
उपसचिव, शिक्षक सेवा आयोग

नयाँ श्रेणीमाग्रेड पाइन्छ ?

ग्रेड वृद्धि रोकिएपछि बढुवा भएको शिक्षकको नयाँ श्रेणीमाग्रेड उपलब्ध हुन्छ कि हुँदैन ?
मेघराज जोशी
बाइसी विचवा–४, कञ्चनपुर

माथिल्लो तलबमान को कुनै श्रेणीमा बढुवा पाउने शिक्षकले सो तलबमान कै शुरु तलब पाउँछ । तर, साविकको श्रेणीभन्दा बढुवा भएको श्रेणीको तलबमान बराबर वा कम भएमा अन्तिम तलबमान नपुग्दासम्मग्रेड रकम थपिने हुन्छ । (हे. शिक्षा नियमावली, २०५९– नियम १०२)
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

योग्यता नपुगे के हुन्छ ?

हालै संशोधित शिक्षा नियमावलीमा प्राथमिक तहको लागि आई.एड., निम्नमाध्यमिक तहका लागि बी.एड. र माध्यमिक तहका लागि एम.एड. गरेको स्थायी शिक्षक प्रअ हुने प्रावधान राखिएको छ । तर, कुनै विद्यालयमा तोकिएको योग्यता भएका शिक्षक छैनन् भने त्यहाँ कस्तो व्यक्ति प्रअ रहन्छन् ? साथै, राहत र पीसीएफ अनुदानबाट शिक्षक राखिएका विद्यालयमा कस्ता शिक्षकलाई प्रअ बनाउने हो ?
पदमबहादुर कठायत
नारायण निमावि, तिलनेपाटा, दैलेख

तोकिएको योग्यताका शिक्षक उपलब्ध नहुँदासम्म तह र श्रेणीगत रूपमा वरिष्ठतम शिक्षकलाई ‘निमित्त प्रअ’को जिम्मेवारी दिन सकिन्छ । राहत र पीसीएफ अनुदानबाट शिक्षक राखिएका विद्यालयको हकमा यही प्रावधान लागू हुन्छ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग

राहतलाई किन पक्षपात ?

दरबन्दीमा कार्यरत शिक्षकले स्थानीय भत्ता पाउँदै आएका छन् । राहत शिक्षकलाई चाहिँ यो सुविधाबाट किन बञ्चित गरिएको हो ?
नरेन्द्रदेव जोशी
करनसिंह कुँवर
पिपलचौरी मावि, दार्चुला

दुर्गम क्षेत्र तोकिएका क्षेत्रमा दरबन्दीमा कार्यरत शिक्षकलाई मात्रै स्थानीय भत्ता दिने सरकारी नीति रहेका कारण राहत शिक्षकलाई यसमा समेट्न नसकिएको हो ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग

अनुरोधः यस स्तम्भमा शिक्षक मित्रहरूले ज्ञान–विज्ञान सम्बन्धी र कक्षाकोठामा सामना गर्नु परेका समस्यालाई प्राथमिकता दिनुहोला भन्ने हराम्रो अपेक्षा छ । एकपटक प्रकाशित भइसकेका जवाफसँग मिल्ने किसिमका जिज्ञासा आएमा दोहोरयाएर त्यसको जवाफ खोज्न हामी असमर्थ हुनेछौं । साथै, कतिपय जिज्ञासाको जवाफ लेख/समाचार आदिमा आइसकेको भए त्यसैलाई आधार मानिदिनुहोला । – सम्पादक

commercial commercial commercial commercial