प्राथमिक शिक्षक (स्नातक)
एउटा व्यक्ति वा नागरिकको व्यक्तित्व र चरित्र निर्माणको जग प्राथमिक तह भएको ले प्रावि शिक्षकको योग्यता स्नातक तोकिनु पर्छ । कम पढेका व्यक्तिहरूलाई कम तलबमा प्राथमिक कक्षा सञ्चालन गर्न दिनु भनेको मुलुककै शैक्षिक जग कमजोर बनाउनु हो ।
सबैले जानेको कुरा हो, संसार परिवर्तनशील छ, यहाँ एकैनास रहने कुरै केही छैन । केही कुरा लामो समयमा मात्र फेरिन्छन्, केही चाहिँ हामीले हेर्दाहेर्दै फेरिएका छन् । शिक्षाको मान्यता, परिभाषा र व्यवस्था पनि हाम्रा आँखै अगाडि फेरिएका कुरा हरूमध्येको एउटा हो ।
पहिले पहिले प्राथमिक कक्षामा पढाउनु लाई ‘अक्षर चिनाउनु’ भनिन्थ्यो । तर हिजोआज प्राथमिक कक्षालाई मानिसको व्यक्तित्व विकास का लागि सबभन्दा महत्वपूर्ण थलो मानिन्छ । पहिले जुन उमेरमा अक्षर चिनाउन बल गरिन्थ्यो अहिले त्यो उमेरका नानीहरूलाई खेल्ने,गीतगाउने, काठका टुक्रा मिलाउने र रङ भर्ने जस्ता ‘खेलाँचीका काम’ मा अल्मल्याएको देखिन्छ । पहिले ‘सिँगाने भुरा’ लाई पढाउन सिँगान पुछ्न मात्र जान्ने व्यक्ति भए पनि हुन्थ्यो, अहिले प्राथमिक र पूर्वप्राथमिक कक्षामा पढाउने शिक्षक सबैभन्दा योग्य र विशेष तालिम प्राप्त हुनुपर्ने मान्यता स्थापित हुँदै गएको छ ।
हुन पनि प्राथमिक कक्षाहरूमा किताब पढाएर मात्रै पुग्दैन, सिकाउनै पर्छ । अनि पढाउनभन्दा सिकाउन स्वाभाविकरूपमै गाह्रो हुन्छ; किनभने सिकाउनलाई आफूले पनि जानेको हुनुपर्छ । एउटा कथा ‘पढाउन’ कक्षामा गएर अप्ठ्यारा शब्दको अर्थ बताइदिँदै पुस्तकमा भएको कथा वाचन गरिदिए पुग्छ । तर कथा र त्यसले बोकेको भाव बुझाउन त्यति मात्र गरेर पुग्दैन; शिक्षकले बालबालिकाको उमेर, पृष्ठभूमि र रुचि अनुसारका कथा छनोट गर्न अथवा पाठ्यपुस्तकमा दिइएका कथालाई बालबालिकाको जीवन र परिवेशसित जोडेर जीवन्त ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ । कतिपय अवस्थामा त कथावाचकले कथाको मागअनुरुप अभिनय समेत गर्नु पर्ने हुनसक्छ; अनि मात्र बालबालिकामा कथाप्रति वास्तविक रुचि जाग्न थाल्छ ।
कलिला नानीहरूको शिक्षक हुन उनीहरूको मनको संवेदनशीलता र शरीरका सीमाहरूका बारेमा समेत जान्नुपर्छ । आफूले सिकाउने विषयवस्तुको रराम्रो ज्ञान, बालमनोविज्ञानका बारेमा सामान्य जानकारी र बालबालिकाप्रति यथोचित सम्मान भाव भएको व्यक्ति मात्र असल प्राथमिक शिक्षक हुनसक्छ । त्यसभन्दा पनि ठूलो कुरा हो— बालबालिकाका सम्भावनाहरूलाई देख्ने र तिनलाई गोडमेल गर्ने सीप र क्षमता । यी सबैगुण एउटै व्यक्तिमा पाउन अवश्य पनि गाह्रो हुन्छ । त्यसै भएर नै विशेष शिक्षा र तालिमको माध्यमबाट त्यस्तागुण भएका मानिस (शिक्षक) तयार पार्ने गरिन्छ । तर पहिले देखि नै शैक्षिक स्तर कमजोर वा न्यून भएका व्यक्तिहरूलाई तालिम–प्रशिक्षण दिएर पनि सुयोग्य–शिक्षक बनाउन कठिन हुन्छ । विगत पाँच दशकको हाम्रै अनुभवले पनि यो कुरा लाई प्रमाणित गरिसकेको छ । यसर्थ, प्राथमिक शिक्षाको सन्दर्भमा अब गरिनुपर्ने कार्य भनेको, शिक्षकको न्यूनतम योग्यता एसएलसी वा आई.ए.को सट्टा स्नातक तोक्नु हो । सम्भव भएसम्म शिक्षाशास्त्रका स्नातकलाई प्राथमिकता दिइनुपर्छ । तर विशिष्ट शैक्षिक उपलब्धि हासिल गरेर शिक्षण पेशा अपनाउन चाहने अन्य विषयका स्नातकहरूलाई पनि बाहेक गरिनुहुँदैन । बाल–शिक्षण तालिमलाई अनिवार्य शर्त बनाउनुपर्छ । यस्तो तालिमप्राप्त स्नातक उत्तीर्ण शिक्षकले माध्यमिक तहमा पनि पढाउन सक्छ; तर बाल–शिक्षण तालिम नलिएकालाई चाहिँ प्रावि तहमा पढाउनु दिइनुहुँदैन ।
शिक्षाशास्त्र वा अरू कुनै विषयमा स्नातक गरेर प्राथमिक शिक्षणको तालिम गरेका व्यक्तिले एसएलसी उत्तीर्णको तुलनामा निश्चय नै धेरै कुरा जानेका हुन्छन् । उनीहरूले किताब मात्रै धेरै पढेका हुँदैनन्; शैक्षिक सङ्गत, चिन्तन, अनुभव र ‘एक्सपोजर’ पनि फराकिलो भइसकेको हुन्छ । अहिलेको समयमा स्नातक भएकाहरू निश्चय नै सूचनाप्रविधिको उपयोग गर्दै अङ्ग्रेजी आदि भाषामा उपलब्ध ज्ञानको भण्डारको विवेकपूर्ण प्रयोग गर्न पनि जान्ने भएका हुन्छन् ।
प्राथमिक कक्षामा पढाउने शिक्षकको योग्यता स्नातक तोकिनु किन पनि जरुरी र सान्दर्भिक छ भने प्राथमिक तह भनेको एउटा व्यक्ति वा नागरिकको व्यक्तित्व र चरित्र निर्माणको जग हो । कम पढेका व्यक्तिहरूलाई कम तलबमा प्राथमिक कक्षा सञ्चालन गर्न दिनु भनेको मुलुककै शैक्षिक जग कमजोर बनाउनु हो । यदि हामी आफ्नो घरको जग बनाउने काम नजान्ने मिस्त्रीका हातमा छाड्दैनौँ भने देशको जग हाल्ने काम पनि सुशिक्षित र सुयोग्य हातहरूमा नै सुम्पनुपर्छ ।
प्राथमिक तहमा स्नातक उत्तीर्ण शिक्षक नियुक्त गर्दा राज्य माथिको आर्थिक बोझ् अवश्य पनि केही बढ्न सक्छ, तर त्यो चिन्ता गरिनुपर्ने विषय होइन, किनभने त्यो लगानीबाट मुलुकलाई प्राप्त हुने प्रतिफल अतुलनीय अथवा अत्यधिक हुनेछ । यसबाट “नपढे पनि मास्टरी गर्न पाइहालिन्छ नि !” भन्ने आत्मघाती मान सिकताको अन्त्य त हुनेछ नै “अब त प्राविको शिक्षक हुन पनि स्नातक त हुनैपर्छ” भन्ने सन्देशले युवाहरूलाई सिकाइतिर लाग्न पनि अभिप्रेरित गर्ने छ । यसबाट शिक्षण पेशालाई आकर्षकसँगै सम्मानित र मर्यादित बनाउन पनि पर्याप्त मद्दत मिल्नेछ ।



