हेराइ र बुझाइ

घमण्डको तबेला

एकजना बुद्धिचालका नामी खेलाडीको प्रसिद्धि टाढा–टाढासम्म फैलिएको थियो । उनका प्रशंसकहरूले त उनलाई ‘बुद्धिचाल सम्राट’ नै भन्न थालेका थिए । खेलाडी महोदय पनि त्यो पदवी पाएर खुसी थिए ।

एकसाँझ्, बुद्धिचाल सम्राटका गाउँमा एकजना बटुवा आइपुगे । उनी घोडा बिरामी भएको र रात पनि परेकाले बासको खोजीमा थिए । मानिसहरूले उनलाई गाउँको प्रतिष्ठाकेन्द्रका रूपमा रहेको बुद्धिचाल सम्राटको घर देखाइदिए ।

बेलुकाको खाना खाइसकेपछि ती पाहुनाले ‘बुद्धिचाल सम्राट’ सित एक–दुई हात बुद्धिचाल खेल्ने इच्छा व्यक्त गरे । तर ‘बुद्धिचाल सम्राट’ ले कुनै बाजी राखेमा मात्रै खेल्ने बताए । बटुवाले आफूसँग एउटा बिरामी घोडा बाहेक अरू केही नभएको बताए ।

खेलाडीले घोडा हेरे, उनलाई घोडा मन परयो । केही उपचार गर्दा ठीक भइहाल्ला भनेर घोडाको बाजीमा खेल्न उनी तयार भए । खेल शुरु भएको पाँच सात चालमै बटुवा हारे । भोलिपल्ट बिहान बिरामी घोडा ‘बुद्धिचाल सम्राट’ लाई सुम्पेर उनी आफ्नो बाटो लागे । यता ती बुद्धिचालका महारथी भने उपचारपछि स्वस्थ भएको त्यही घोडा चढेर गाउँ घुम्न थाले ।

केही दिनपछि ती बटुवा फेरि गाउँमा आइपुगे । यसपटक पनि उनले ‘बुद्धिचाल सम्राट’ सित एक हात खेल खेल्ने इच्छा व्यक्त गरे । ‘बुद्धिचाल सम्राट’ ले फेरि बाजीको कुरा गरे । बटुवाले यसपटक आफूसित पैसा भएकाले हारेमा एक सय वटा चाँदीका सिक्का दिने र जितेमा आफ्नो घोडा फिर्ता लिने शर्त राखे । ‘बुद्धिचाल सम्राट’ बटुवासित खेल्न सहर्ष राजी भए ।

तर यसपटक ४–५ चाल चल्ने बित्तिकै बुद्धिचाल सम्राटको नरराम्रो हार भयो । अनि उनलाई गाउँलेहरूले ‘अघिल्लो पटक किन हारेको त ?’ भन्ने प्रश्न गरे । बटुवा एकैछिन चुप लागे र बोल्न थाले, ‘पहाडभन्दा पर अर्को पहाड र आकाशभन्दा बाहिर अर्को आकाश हुन्छ, त्यसैले घमण्ड कसैले गर्नु हुँदैन । अघिल्लो पटक हिँड्दाहिँड्दै मेरो घोडा बिरामी भयो । म त्यसलाई लिएर न यात्रा गर्न सक्थेँ न त त्यसको उपचार गरेर बस्न सक्थेँ । मैले त तपाईंहरूका ‘बुद्धिचाल सम्राट’ को घमण्डको तबेलामा केही दिन घोडा बाँध्न र यसको हेरचाह गराउनको लागि मात्रै त्यस्तो चाल चलेको थिएँ ।

commercial commercial commercial commercial