प्रतिक्रिया र सुझाव
विविधतायुक्त अंक
शिक्षक को माघ (२०६७) अङ्कले समेटेका विषयवस्तु सन्तुलित, विविधतायुक्त; चेतनामूलक, विश्लेषणात्मक एवं गहन पाएँ । त्यसकारण यसलाई नमुनायोग्य अङ्क भन्न मन लागेको छ । शिक्षक को यति प्रमापक त हुनु नै पर्छ । भविष्यमा यहीस्तर का अङ्क निकाल्ने अठोट शिक्षक मासिकको टिमलेगरोस् । पत्रिका महङ्गो पनि हुँदै गएको सन्दर्भमा थप स्तरीयताको अपेक्षा गर्नु अन्यथा न ठहर्ला ।
शिक्षाको जुनसुकै पक्षले पनि सधैँ नयाँ र प्रवर्तनात्मक ज्ञान, सीप र व्यवहारको माग गरिरहन्छ । यो मानिस जस्तो चेतनशील पक्षसँग (मसिन, भौतिक ढाँचा वा अन्यसँग होइन) जोडिएकाले यसमा जडसूत्रतालाई कुनै स्थान रहँदैन । त्यसै कारण यो जहिले पनि गतिशील र सृजनात्मक हुनुपर्छ । शिक्षासँग सम्बन्धित प्रत्येक लक्षित समूह र त्यसमा संलग्न सदस्यहरूमा विविधता हुन्छ । त्यसलाई सम्बोधन गर्ने चुनौतीको दबाब शिक्षक मासिकलाई छ नै । नयाँपन भएन भने यसप्रति शिक्षाकर्मीहरूको चासो रहँदैन । यद्यपि त्यो उनीहरूको क्षमता, ज्ञान वा सीपभन्दा बाहिरको कुरा नै किन नहोस् । शिक्षा क्षेत्रमा ‘लकिरका फकिर’को कुनै स्थान छैन । तिनले न विद्यार्थी, न शिक्षक, न समुदाय, न विद्यालयको उन्नति गर्न सक्छन् । परम्परावृत्त भन्दा बाहिर निस्केर गरिएको प्रयासबाट नै शिक्षक मासिकको विकास सम्भव छ । यो कुरा शिक्षक मासिक पत्रिकाका व्यवस्थापकहरूले समयमै बुझे कल्याण होला; नत्र दानपत्रबाट स्रोत सुकेको भोलिपल्ट देखि बन्द हुने अवस्था आउन सक्छ; त्यस्तो नहोओस् ।
प्रकाशसिंह अधिकारी
सामुदायिक विकास सिर्जनात्मक मञ्च, काठमाडौं
(सदासयतापूर्ण टिप्पणी र सुझावको निम्ति अधिकारी जीलाई हार्दिक धन्यवाद । पत्रिकाको मूल्यले त्यही अनुरुपको स्तर वहन गर्नु पर्ने कथनप्रति हामी सोह्रैआना सहमत छौं । ‘शिक्षक महँगो हुँदै गएको’ र ‘दानपात्रबाट स्रोत सुकेको भोलिपल्ट देखि बन्द नहोओस्’ भन्ने सम्बन्धमा केही कुरा स्पष्ट पार्नु सान्दर्भिक नै होला ।
क) हामीले शिक्षक को लागत न्यूनतम राख्ने, बिक्री मूल्य वाग्राहक शुल्कलाई आम्दानीको मुख्य स्रोत बनाउने र प्रकाशनको दिगोपन तथा सम्पादकीय स्वतन्त्रता सुनिश्चित गरिराख्न व्यावसायिक विज्ञापन माथिको निर्भरता न्यून राख्ने नीति अख्तियार गर्ने प्रयास गरेका छौं । अहिलेको मूल्य यही नीतिअनुरुप निर्धारण गरिएको हो । तर अहिले पनि एकप्रति शिक्षक को उत्पादन लागत अङ्कित मूल्यभन्दा झण्डै रु.२५ बढी छ । अङ्कित मूल्यको औसत ६० प्रतिशत रकम मात्र हामीसम्म आइपुग्ने गर्छ ।
ख) शिक्षक प्रकाशनको थालनी अवश्य पनि दाता (तत्कालीन सेभ द चिल्ड्रेन–नर्वे) को लगानीबाट भएको हो; तर देशको शैक्षिक जगतको खाँचोलाई ध्यानमा राखी यसलाई आत्मनिर्भर र स्वचालित तुल्याउने प्रतिबद्धता प्रारम्भकालकै हो । करिब तीन वर्षको अनुभवले यस किसिमको प्रकाशनको उपयोगिता र माग पर्याप्त रहेको जनाउ दिएको छ । त्यसैले आम शिक्षक वर्ग, अधिकारी जी जस्ता शुभचिन्तक र शिक्षाप्रेमीहरूको सद्भाव र सहयोग प्राप्त भइरहने र भोलिका दिनमा शिक्षक आत्मनिर्भर सँगै अझ् बढी खँदिलो भएर जाने कुरा मा हामी विश्वस्त छौं ।
थप कुरा ; शिक्षक को प्रकाशनलाई सामाजिक–उद्यम (सोसल–इन्टरप्राइज) का रूपमा विकास गर्न खोजिएको छ । आर्थिक–मौद्रिक मुनाफा कमाउने यसको लक्ष्य छैन । सामाजिक–शैक्षिक क्षेत्रलाई पुर्याउन सकेको लाभ नै यो उद्यमको ‘मुनाफा’ हुनेछ । यसको विकास र विस्तारमा टेवा पुर्याउन वा सहभागी हुन इच्छुक सबैका निम्ति शिक्षक को ढोका सधैँ खुला राख्ने नीति रहेको छ । – सम्पादक)
अक्षर सिकाउने रराम्रो लेख
रमेशहरि शर्मा ढकालद्वारा लिखित ‘अक्षर भनेका रेखा हुन्’ (शिक्षक माघ, २०६७) लेखद्वारा मैले धेरै नबुझेका कुरा हरू बुझने मौका पाएँ । म जस्तै अरू धेरै पाठकलाई पनि नेपाली अक्षरको संरचना र प्रयोग बारेमा यथार्थ ज्ञान प्राप्त भयो होला । यसै गरी अङ्ग्रेजी अक्षरहरूको संरचना र प्रयोगका बारेमा पनि पढ्न पाएमा आभारी हुनेथिएँ ।
ध्रुवप्रसाद ढकाल
फुजेल–५, गोरखा
तालमेल नमिलेको प्रश्नोत्तर
शिक्षक मङ्सिर २०६७ को सामान्य ज्ञान–२६ मा सोधिएको ‘खसी, कुखुरा र बँदेलको शुद्ध मासुमध्ये कुनमा बढी कोलेस्टोर पाइन्छ ?’ भन्ने प्रश्न र २०६७ माघ अङ्कमा प्रकाशित त्यसको उत्तरमा तालमेल देखिँदैन । त्यस्तै प्रश्न नं. २ को सबैभन्दा भित्री कोरको मोटाइ कक्षा १० को पाठ्यपुस्तक (२०४८–५८ विज्ञान) मा २१०० कि.मी. उल्लिखित छ । यहाँ २००० कि.मी. दिइएको छ । यसबारे प्रस्ट्याइदिनुहुन्थ्यो कि ?
सुशीला खतिवडा
शीतला मावि, खाल्ले, खोटाङ
(ती प्रश्नहरूको सही जवाफ निम्न अनुसार हो–
प्रश्न नं. २ कक्षा ५ को ‘मेरो विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा’ पुस्तकमा आधारित हो । उक्त किताबको पृष्ठ ७० मा पृथ्वीको बाह्य कोरको मोटाइ २००० कि.मी. उल्लेख छ ।
त्यस्तै; कक्षा ७ को हराम्रो विज्ञान को पृष्ठ १२३ मा पृथ्वीको बाहिरी कोरको मोटाइ २१०० कि.मी. हुन्छ भनिएको छ । यसरी पाठ्यक्रम विकास केन्द्रले जारी गरेका पाठ्यपुस्तकमा नै पृथ्वीको कोरको मोटाइ सम्बन्धी तथ्य भिन्न रहेकोले हराम्रो प्रश्नोत्तरमा तालमेल मिल्न नसकेको हो ।
प्रश्न नं. ४ः को सही जवाफ हो– छाला सहितको कुखुराको मासुमा ।
उक्त प्रश्नको विस्तृत जवाफ यस्तो हुन्छ– १००ग्राम छाला भएको कुखुराको मासुमा १०० मिलिग्राम, खसीको मासुमा ६० मि.ग्रा. र बँदेलको मासुमा ९० मि.ग्रा. कोलेस्टोर हुन्छ । तर सबैभन्दा बढी कोलेस्टोर चाहिँ नेपालीहरूको रुचिकर व्यञ्जन भिœयाँस (भुटन) मा हुन्छ । त्यस अनुसार, हरेक १००ग्राम खसीकोगिदीमा २००० मिग्रा, मिर्गौलामा ३७० मिग्रा, कलेजोमा ३०० मिग्रा, अण्डाको पहेँलो भागमा ११२० मिग्रा, समग्र अण्डामा ४०० मिग्रा र घ्यूमा ३०० मिग्रा कोलेस्टोर हुन्छ ।
– वृद्धत्वविज्ञान, २०६७
हराम्रो असावधानी औंल्याइदिनुभएको मा धन्यवाद । – सं.)
उपयोगी खुराक
२०६७ मङ्सिर अङ्कमा छापिएको ‘भूगोलको खोज खबर’ लेखमा प्रा. भीमप्रसाद सुवेदीले भूगोल विषय जान्न चाहने सर्वसाधारणको लागि अत्यन्तै उपयोगी हुने खुराक दिनुभएको मा धन्यवाद । त्यस्तै नियमित स्तम्भको रूपमा आउने डा. तीर्थबहादुर श्रेष्ठका लेखहरू पनि जीवजन्तु र प्रकृति बुझन चाहनेका लागि सधैँ सूचनाप्रद रहँदै आएका छन् ।
घनश्याम निरौला
शारदा प्रावि, लप्सीबोटे, नयाँबजार–४, इलाम
प्राविलाई स्नातकोत्तर शिक्षक
शिक्षक मासिकको मङ्सिर अङ्क ढिलै भए पनि हात परयो । ज्यादै खुसी लाग्यो पढ्न पाएकोमा, हामी जस्ता दुर्गम जिल्लामा अध्यापन गर्ने शिक्षकको हातमा पनि समयमै पुगेको मान्नुपर्छ । सबै लेखहरू प्रायः राम्रा र स्तरीय लाग्यो । विशेष गरी रामजी दाहालको ‘पढेका अज्ञानीहरूको भीड’ शीर्षकको लेखले साह्रै मन छोयो ।
शिक्षाको गुणस्तर मा वृद्धि गरी शिक्षा क्षेत्रमा भएको लगानीलाई सार्थक तुल्याउन प्रावि शिक्षक स्नातक होइन स्नातकोत्तर हुनुपर्ने सुझाव दिन चाहन्छु । जबसम्म प्रावि तहको जग बलियो हुँदैन तबसम्म माथिल्लो तहमा आशातीत ज्ञान हासिल सम्भव छैन । त्यसको लागि प्रावि तहमा योग्य; स्नातकोत्तर गरेको र बाल मनोविज्ञान सम्बन्धी थप तालिम लिएको शिक्षक नियुक्त गरिनु र तलब स्केल पनि सबैभन्दा बढी दिने व्यवस्था मिलाउनुपर्छ । माथिल्ला तहहरूमा पनि स्नातक वा स्नातकोत्तर भन्दा कम योग्यताको शिक्षक भर्ना गरिनुहुँदैन । शिक्षककोग्रेड निर्धारण गर्दा तालिम र कार्यान्वयन पक्षको निरन्तर मूल्याङ्कन गरी बढुवाको साथै घटुवाको पनि व्यवस्था गर्न र कडाइका साथ कार्यान्वयन गराउन सकेमा स्कूलमा पढेका अज्ञानीहरूको भीड कम गर्न सकिन्थ्यो कि !
चन्द्र खनाल
त्रिभुवन मावि, पाराकाट्ने, डिरवला, बझङ
अङ्ग्रेजीले निरन्तरता पाओस्
म शिक्षक मासिकको नियमित पाठक हुँ । २०६७ कात्तिक अङ्कसम्म निरन्तर रूपमा छापिएको भ्लनष्किज ऋबिककचययm ले आगामी अङ्क देखि पुनः निरन्तरता पाएको खण्डमा अङ्ग्रेजी शिक्षण गर्ने भावी शिक्षक र कार्यरत शिक्षकहरूले शैक्षिक सामग्रीको रूपमा सहजै यो स्तम्भबाट अङ्ग्रेजी सम्बन्धी र अङ्गे्रजी शिक्षण सम्बन्धी ज्ञान पाई शिक्षक मासिकप्रति कृतज्ञ हुनेथियौं । विशेषतः दुर्गम भेगका पाठक शिक्षकहरू, जसले सहजै अन्य शैक्षिक सामग्री पाउन सक्दैनन्, उनीहरूका लागि त्यो स्तम्भ बढी उपयोगीसिद्ध भएको थियो ।
नेत्रबहादुर ऐर
कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली
(प्रयास गर्ने छौंंं । – सं.)
मार्करको प्रयोग
शिक्षक को साउन अङ्क (२०६७) निकै ढिलो पढ्न पाएँ । ‘ लेख्ने पाटीः कालोभन्दा सेतो जाती’ शीर्षकको रिपोर्ट उपयुक्त लाग्यो । विद्यालयहरूमा मार्करको प्रयोगपछि शिक्षक–विद्यार्थीहरू चकको प्रयोगबाट पुग्ने असरबाट मुक्त हुने कुरा मा दुईमत छैन । ‘खतरामुक्त नयाँ मार्कर’ प्रयोगको लागि ‘डष्ट फ्रि क्लास रुम’ नेपाल (डीएफसी)ले अभियान चलाएको रहेछ । उक्त मार्कर प्रयोग गर्दा अझ् उपयुक्त हुन्थ्यो होला । बजारमा नपाइने उक्त मार्कर प्रयोग गर्न डीएफसी संस्थासँग सम्पर्क गर्न आवश्यक छ तर सम्पर्क ठेगाना उल्लेख भएन । त्यसकारण शिक्षकले डीएफसीको विज्ञापन वा ठेगानासम्म प्रकाशित गरिदिनसकेमा बेस हुनेथियो ।
चक्रपाणिगौतम
बालकन्या उमावि, कोटबारा, सल्यान
रहर
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासकोगतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई रराम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरा लाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
साभारः ‘अक्षर’ मासिक, (१५ कात्तिक–१५ मङ्सिर, २०६७)
विद्यार्थीलाई खोई ?
शिक्षक मासिकले शिक्षकहरूका मात्रै कुरा हरू समेट्ने र हामी विद्यार्थीहरूका बारेमा मौन बस्ने नीति लिएको देखिन्छ । तर त्यसो न गरियोस् । आगामी अङ्कहरूमा हामी विद्यार्थीहरूलाई पनि काम लाग्ने सामग्रीहरू (जस्तैः वैज्ञानिकका जानकारी, विद्यार्थीहरूका विचार , नमुना विद्यालयका सामग्री आदि) प्रकाशन गरियोस् ।
अनिल चापागाई,गणेश शर्मा
कक्षा ११, विद्यामन्दिर उमावि
बा.न.पा.–४, बागलुङ
नयाँ स्तम्भ थपियोस्
कक्षा ६ देखि १० सम्मकै विज्ञान विषयका किताबहरूमा धेरै त्रुटिहरू छन् । कक्षागत आधारमा तहगत ज्ञान दिने सामग्रीहरू पनि क्रम मिलाएर राखिएको छैन । जस्तै– कक्षा बढ्दै जाँदा पाठ्य विषय जटिल हुँदै जानुपर्ने हो । तर किताबमा त्यस्तो गरिएको छैन । तसर्थ शिक्षक ले ‘गलत र त्रुटि’ स्तम्भ राखी पाठ्यसामग्रीमा भएका त्रुटि देखाइदिने कामगरोस् ।
उद्धव इटनी
भुवनेश्वरी मावि, चैनपुर–१, धादिङ
दुई उपाय
शिक्षक सेवा आयोगले हाल अध्यापन गर्नको लागि ‘अध्यापन अनुमतिपत्र’ अनिवार्य गरेको छ । तर विज्ञान विषय अध्यापन गर्ने शिक्षकहरूमध्ये देशभरी करिब २५ प्रतिशतसँग मात्रै अध्यापन अनुमति पत्र छ, जसको अर्थ नियम पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन भएको छ भन्ने लाग्दछ । यस्तो अप्ठ्यारोलाई सुल्झउन दुईवटा उपाय अपनाउन सकिन्छ— पहिलो ; विज्ञान सङ्काय पढेकालाई पनि अध्यापन अनुमति पत्रको लागि आवदेन दिन पाउने व्यवस्था गर्ने वा दोस्रो; विज्ञान विषय शिक्षकका लागि अध्यापन अनुमतिपत्रको प्रावधान हटाउने ।
डोल्मा थापा (गौतम)
सहारे–४, आँपटाकुरा , सुर्खेत
बढुवा किन भएन ?
म २०४२/६/१० मा अस्थायी नियुक्ति लिई २०४५/४/१ देखि स्थायी भई हालसम्म कार्यरत प्राथमिक तह तृतीय श्रेणीको शिक्षक हुँ । मैले २०४९ सालमा प्रमाणपत्र तह उत्तीर्ण गरी १० महिने प्रा.शि. तालिम प्राप्त गरिसकेको छु । म सरहका धेरै शिक्षकको बढुवा भइसक्यो । तर मेरो चाहिँ आजसम्म बढुवा किन नभएको ? बढुवा प्रक्रिया साह्रै अपारदर्शी र पक्षपातपूर्ण लाग्यो । निरन्तर सेवा गर्ने शिक्षकको बढुवा नहुँदा पढाउने रुचि घट्ने र धैर्यको बाँध टुट्न सक्छ । सम्बन्धित निकायलाई यसतर्फ ध्यान दिन अनुरोध छ ।
चन्द्रबहादुर रेग्मी
जीवनज्योति उमावि, दशरथपुर, सुर्खेत
पारिश्रमिक पाइन्छ ?
शिक्षक पत्रिकामा लेख तथा साहित्यिक रचना प्रकाशन भएबापत पारिश्रमिक पाइन्छ भन्ने सुनेको छु । के यो साँचो हो ? पाइने भए कहाँबाट कसरी प्राप्त गर्न सकिएला ?
दलबहादुर गुरुङ
दोभान उमावि, पाल्पा
(चिठी, प्रतिक्रिया, सुझाव तथा प्रश्नोत्तर स्तम्भमा प्रकाशित सामग्री, साभार गरिएका; पुरस्कार राखिएका प्रतिस्पर्धाअन्तर्गतका लेख–कविता आदि बाहेक शिक्षक मा छापिएका सबै सामग्री (समाचार, लेख, तस्बिर आदि) ले पारिश्रमिक पाउँछन् । त्यसनिम्ति लेखाशाखामा सम्पर्क राख्नुपर्छ । –सं)
उहाँ सर!
उहाँ सरकोग्रहदशा नै रराम्रो
उहाँ सरको ‘शक्ति’ र ‘प्रभाव’ नै ठूलो
उहाँ सरको नाम नै डरलाग्दो
त्यही भएर त
वर्षमा ६ महिना खुल्ने विद्यालयमा
उहाँ सर एक महिना पनि झुल्किनु हुन्न
गर्मीमा शीतल बस्नुहुन्छ
जाडोमा घाम ताप्नुहुन्छ
विद्यालय आए पनि उहाँ सरले पढाउनै पर्दैन
तर के गर्नु !
जति नआए पनि उहाँ सरकै बिदै सकिँदैन
प्र.अ., जि.शि.अ., प्र.जि.अ. सबै
उहाँ सरको नाता नपर्ने कोही छैन
उहाँ बहुमुखी प्रतिभा
सरकारी पार्टीको उहाँ सक्रिय कार्यकर्ता
विद्रोही पार्टीको उहाँ खुँखार सदस्य
त्यसैले त
बढुवा हुने उहाँ सर नै
सम्मान पाउने उहाँ सर नै
अभिनन्दन थाप्ने उहाँ सर नै
किताब कहिल्यै नपल्टाए पनि
कक्षा कहिल्यै नपसे पनि
यो राष्ट्रको भविष्य निर्माता
‘ गुरुबह्मा गुरुविष्णु...’
उहाँ माथि नै साराको भर
साह्रैगतिलो उहाँ सर !
इन्द्र कुमार श्रेष्ठ
सरस्वती उमावि, खानीभन्ज्याङ, ओखलढुङ्गा
गजल
झुर भयो परीक्षा चिट चोर्न पाइएन
अर्काको कापीबाट सार्न पाइएन
दुइटा चिटगोजीबाट सरले फेला पारे
‘द काउ’ को ‘एस्से’ पनि गर्न पाइएन
छामछुम गरे चिट लगे ‘कोइसन’ फेला पारे
ठूलाबा हेडसर भए पनि टार्न पाइएन
अङ्ग्रेजी र गणितमा दुइटागोला लाग्यो
मारे पनि ‘क्लास टिचर’ले मर्न पाइएन
सिकाउने ‘मनोज दाइ’ नै कारबाहीमा परे
अङ्गेजीमा ँष्िि ष्ल तजभ दबिलपक भर्न पाइएन
मनोज भण्डारी, कक्षा–१०
परमान न्द संस्कृत गुरुकुलम् उमावि, देवघाट–२, तनहुँ



