मनका कुरा
पसलका कारिन्दा र हामी शिक्षक
हैसियत उस्तै–उस्तै
विना जगको घर र विना दर्शनको शिक्षक उस्तै हुन् । लोकसेवामा असफल भएकाहरू; विदेश यात्राका विज्ञापनमा कतै उचाइका अभावले, कतै मोटाइका अभावले, कतै स–सानागाँठागुँठी जन्मिएका कारणले त कतै भाषाका अभावले हुत्तिएर शिक्षक बन्न विवश विचरा शिक्षकलाई के थाहा— ‘सुकरातको निर्भीक समर्पण ? प्लेटो र अरस्तु कहाँका हुन् ? नोम्स चोम्स्की के गर्दैछन् ?’
कलानिधि दाहाल
जीवन जिउनाका अनन्त आस्थाभित्र चेतनाका बत्ती धपक्क बाल्ने मनसायका साथ राजधानी काठमाडौं छिरेको म । विविध उतारचढावका साथ अध्ययनको समाप्तिसँगै पेशागत आडमा अडेसिने निर्णायक स्थल थियो— शिक्षा । त्यसमा पनि फराक सीमाको उच्चस्तरीय शिक्षा मेरो लक्ष्यको बिन्दु थिएन । माध्यमिक शिक्षाकै चहलपहलमा रमाउने इच्छाका साथ हेलिएको जीवन–नौका विभिन्न घुम्ती र मोडहरू घुम्दै र मोडिँदै आज पनि त्यही विगतको प्रतिबद्धताको तरङ्गमा निर्विवाद सदावहार तैरिँदैछ ।
शिक्षा आफैंमा मानव मात्रको अनिवार्य आवश्यकता हो । लिने र दिनेको दोहोरो खुलापनमा शिक्षाको वास्तविक नदी बहेको हुन्छ । तर शिक्षाका नाममा सम्पन्नताको खेती गर्ने रहरका छाउराहरूको बिगबिगीले शिक्षा लिने र दिनेकै बीच महाभारत युद्धहरू चलिरहेछन्— नेपालको सन्दर्भमा ।
चेतना फराकिनाको सुदूर आस्थामा शिक्षकको सार्थकता सन्निकट हुन्छ । तर जहाँ शिक्षक नै मस्तिष्कभरि सङ्कीर्णताका जीवाणुहरू हुर्काएर शिक्षालयको चौघेरामा प्रवेश गर्छ, त्यहाँको शिक्षा शिक्षा नभएर हुल्लडबाजकोगफ हुनपुग्छ । वर्तमान मा नेपालको शिक्षा यसै धारबाट धर्मराएको छ । जग नै चर्मराएका चेतनाका चौघेराभित्र न चाणक्यका कूटनीतिक ठेलीहरू हुन्छन्, न त बुद्धको त्याग र समर्पण । त्यहाँ प्रमिथसका दरबारभित्र सुटुक्क पसेर झल्मलाएका अग्नि—अगुल्टाहरू— चोरीको अपराध शिरमा एक्लै सजाएर संसार उज्यालो पार्ने सुन्दर सपनाहरू हुँदैनन् ।
चेतनाका बिस्कुन सुकाउनुपर्ने कुर्सीमा आसीन शैक्षिक शासकहरू सत्तामादको दलदले हिलो उवाउँछन् । तिनलाई थाहा छ— ‘म कसरी नेता बन्न सक्छु’ अथवा ‘म कसरी यस सुन्दर शिक्षालयलाई आफन्त भर्तीको कुरुप टुँडिखेल बनाउन सक्छु ।’
तिनलाई यो पनि थाहा छ— ‘म कसरीगगनचुम्बी गृह निर्माणका शिखर उक्लन सक्छु ।’ यिनलाई अझ् राम्ररी थाहा छ— ‘यस आफन्त आलयका कोठाचोटामा आफैंले भर्ती गरेका र त्यसैवेला वचनबद्ध भएका विषमलिङ्गीसँग कति वेला विलासिताका खेलहरू खेल्नुपर्छ ।’ कुरा तीता हुन् तर कटुसत्य । तीतो सेवन नपचेसम्म त्यस क्षेत्रको लक्ष्यप्राप्ति सम्भव छैन ।
आजको नेपाली (नेपालको) शिक्षक आफैंमा संस्कारपीडित छ, परिवारपीडित छ, अझ् प्रत्यक्षमा परिवेशपीडित छ । ‘कक्षा प्रवेशको घण्टी नबजोस्’— शिक्षकको साँचो सोच मन देखि नै यही छ । कारण यहाँ प्रशस्त छन् । ऊ आफ्नै सुसेधन्दाका सोचमागफिएको छ । अझ् नारी शिक्षकहरू आफ्नै पहिचान र शृङ्गारका बारेमा मगनमस्त छन् । मानौं उनीहरूको शृङ्गारपटारको आलय नै विद्यालय हो । तयारी केही छैन । कसैसँग भए पनि थोरै समयको छ । कसैको हिम्मत छैन शिक्षकलाई समय सङ्केत गर्ने । कारण यहाँ पनि स्पष्ट छ— सङ्केतक आफैं समाप्त छन्— उस्तै रोगबाट ।
विना जगको घर र विना दर्शनको शिक्षक उस्तै हुन् । लोकसेवामा असफल भएकाहरू; विदेश यात्राका विज्ञापनमा कतै उचाइका अभावले, कतै मोटाइका अभावले, कतै स–सानागाँठागुँठी जन्मिएका कारणले त कतै भाषाका अभावले हुत्तिएर शिक्षक बन्न विवश विचरा शिक्षकलाई के थाहा— ‘सुकरातको निर्भीक समर्पण ?’ उसलाई के थाहा— ‘प्लेटो र अरस्तु कहाँका हुन् ?, नोम्स चोम्स्की के गर्दैछन् ?’ उसलाई त यतिसम्म पनि थाहा छैन— ‘म कस्तो जीवन जिउनाका लागि अगाडि बढ्दैछु ?’ आफैं निर्णायक नभएको शिक्षकले कक्षाकोठामा उभिउञ्जेल विद्यार्थीको भय, त्रास अनि आफ्नै हावापानीको मोहले कुण्ठित मनोविज्ञान बोकेर सुनिनु, मोटाउनु, यदाकदा आत्महत्या पनि गर्नु बाहेक के नै गर्न सक्छ र ?
तर अपवाद यहाँ पनि जीवित छ । यही अपवादभित्र पर्ने सानो तर असल शिक्षकको समूहकै कारणले आर्यघाटको डिलमा पुगिसकेको शिक्षा पनि जल्नबाट बचेको छ । चेतनाको चौडा मनोविज्ञान बोकेर शिक्षा क्षेत्रमा होमिएका त्यस्ता शिक्षकहरू न शासकीय सत्तामोहमा छन् न त कक्षा प्रवेश समयको आलटालमा । न उनीहरूका कक्षा नै पट्याइँ लाग्दा हुन्छन् न उनीहरूले पुरानो नोटको भाषामा समयगुजार्नुपर्छ, न त विद्यार्थीका हल्लामा मनोविज्ञान खुम्चाउनुपर्दछ । निर्धक्क कक्षामा प्रवेश गरेका यस्ता शिक्षकले चौतर्फी रूपमा विद्यार्थीका आँखामा आँखा जुधाएर मनोलोकबाटै विश्व भ्रमण गरिसकेपछि स्वाट्ट विषयमा आउँदा विद्यार्थी झल्यास्स हुन्छ । ऊभित्रका सम्पूर्ण ‘कन्टेनर’ मान सिकतालाई चेतनात्मक उज्यालो समुन्द्रले पखालिदिइसकेपछि जस्तासुकै अप्ठेरा विषयका पहाड पनि उसका मस्तिष्कमा फूलबारी बनेर उभिन्छन् र संस्कारका फूल बनेर सधैंभरि फक्रन्छन्, कहिल्यै नओइलाउने गरी ।
अभिभावकहरू ढुक्क छन्— बच्चाहरू विद्यालय पठाउँदैमा । ठान्छन्— ‘यति भएपछि हराम्रो सबै कर्तव्य पूरा भयो, दायित्वमुक्त भयौं ।’ अझ् कतिपय अभिभावक त बच्चा विद्यालय पठाएपछि मुक्ति वेला र स्वर्गीय विलासिताको महफिल सम्झन्छन् । उनीहरूलाई के थाहा— कुन शिक्षकले कसरी पढाउँछ ? अझ् कतिपय अभिभावकले त आफ्ना बच्चाबच्ची पढ्ने विद्यालयको नाम पनि भुलिसकेका हुन्छन् भने त्यस भित्रको पठनपाठन अवस्थाबारे त कुरै छाडौं । घरबाट केटाकेटी पठाएपछि का अभिभावकलाई यति पनि सम्झना हुँदैन— आफ्ना कलिला मुटुका टुक्राहरू कतै अन्यत्रै गएर कुलतमा त लागिरहेका छैनन्? यसमा पनि अपवाद जिउँदैछ । अपवादका अभिभावकले गरेको सही मार्गदर्शनको प्रतिफलको सानो हिस्सा नै अहिलेको यस अवस्थालाई धान्नसम्म सकेको छ ।
यता विद्यार्थीहरू पहिलो पाठशाला घरबाटै भयमुक्त छन् । भयमुक्त विद्यार्थी अनुशासनरहित हुन्छ नै । वातावरणको बाहिरी प्रभाव, रङ्गीन सिनेमा हुँदै अश्लील साहित्य अध्ययनका माध्यमले कलिला बालमस्तिष्कहरू यसै पनि प्रेरित, प्रभावित र उत्तेजित हुन्छन्, भएकै छन् । ‘विद्यालय पुग्नुपर्छ’ को सानो भय चेतना मान सिकतामा रहेकै कारणले विद्यालय पुग्छन् । कोठामा पस्छन् । शारीरिकरूपले बस्छन् पनि तर उनीहरूको मन अन्य दुनियाँमै हुन्छ । तिनका अचेत मान सिकताका तमाम तरङ्ग पूरा गर्ने स्वर्णिमस्थल बनेका छन् विद्यालयका कोठाहरू । त्यसका प्रत्यक्ष साक्षी दर्शक बनेका छन्— कमजोर मान सिकताका उनान्सय प्रतिशत जागिरे शिक्षकहरू । विद्यार्थीका व्यक्तिगत मनोविज्ञानको विश्लेषण गरेर हेर्ने, तदनुकूल तिनलाई व्यवस्थापन गरेर पढाउने अन्तरचेतनाको विकास शिक्षक स्वयंसँग छैन । उल्टै जागिर बचाउनका लागि उनीहरूकै चाकरी गरेर अनि विद्यालय प्रमुखको चाप्लुसीका हात मोलेर ङिच्च दाँत देखाउँदै अर्थोपार्जनमा मस्त छन्— शिक्षकहरू । यतिसम्म त मैले आफ्नै आँखाका सामु देखेको छु जहाँ यस्ता शिक्षकहरू पढाइरहेका छन् त्यस कक्षाका विद्यार्थीहरू कण्डम तानातान गरेर समयसँग खेलबाड गरिरहेछन् । अब सोचौं ती शिक्षकको अर्थ के र त्यस किसिमको शिक्षणको महत्व कति ? हाम्रा उच्च तहका; जसले यी निकायलाई दण्डित/पुरस्कृत गर्ने अधिकार बोकेका छन्, तिनीहरू आफैं शैक्षिक माफियाका खेलमा तस्करीतन्त्र चलाइरहेका छन् । अनि हेर्ने कल्ले, सोच्ने कल्ले ?
शिक्षा, पवित्र र उदार मानव मनको बत्ती हो । चेतनाका एक–एक झल्किाको संयोजनमा यसको निर्माण सम्भव छ । असल शिक्षक त्यो ब्रह्म हो जसले तेस्रो नेत्र र छैटौं इन्द्रियका ढोका खोलेर विश्लेषणका विशाल फाँट हेर्न सक्ने क्षमता राख्छ र भिन्न वातावरण, भिन्न भूगोल, भिन्न वंश–परम्परा, भिन्न भाषा, भिन्न रीतिरिवाज, चालचलन, संस्कार, संस्कृतिबाट आएका बालबालिकाको व्यक्तित्व विकास मा सन्तुलनको मियो बन्दै यात्राको अगुवाई गर्न सक्छ । यहाँ कृत्रिम नियमका बन्धनले काम गर्दैनन् । कसैबाट लादिएका अनुशासनले मनकोगतिलाई असल बाटोमा डो¥याउन सक्दैन । एउटा पङ्क्तिलाई पन्ध्र पटकसम्मको सुगारटाइको जङ्गली मान सिकतामा जागिर खाएका शिक्षकले चौतर्फी चेतनाको मर्करी बलिसकेको २१औं शताब्दी डोर्याउँछ भन्ने सपनामै शिक्षाकोगतिलाई छाडिदिनु– हात्तीलाई भुसुनाले बोक्छ भन्नु जस्तै मूर्खता हो । तर जे नहुनुपर्ने त्यही भइरहेको छ ।
विद्यार्थीको अवस्थालाई तपाईं कुन कुन र कति तहमा बाँडेर अध्ययनको ‘अ’ शुरु गर्नु हुन्छ ? भन्ने प्रश्न कुनै शिक्षकलाई गरयो भने ऊ टोलाउँछ । उसलाई थाहा नै छैन— विद्यार्थीलाई कसरी स्तरीकरण गर्ने ? कहाँबाट गर्ने ? मात्र शिरमागगल्स ढल्काएर महङ्गा आभूषणमा रित्तो चेतना छोपेरगैंडा जस्ता शरीर शिक्षकहरू कक्षामा प्रवेश गरेका छन् । मुन्द्रे र पङ्स अनि ड्रग्सले रित्तिसकेका विद्यार्थीसँग हात मिलाउँदै समयको सङ्केत अगाडि नै बाहिरिएका छन् । शिक्षा, यसरी पङ्स, ड्रग्स र मुन्द्रे हुँदैछ भने शिक्षकहरू बाक्ला छालाका मोटागैंडाहरू ।
अङ्ग्रेजी, विज्ञान र गणितका कतिपय शिक्षकका लागि त नगदको खेती नै छ यो क्षेत्र । उनीहरू आफूलाई बडो उच्च व्यक्तित्वका रूपमा प्रस्तुत गर्द छन् । आलटालमै कक्षा समय बिताउनु उनीहरूको व्यक्तित्वको पहिचान हो । तिनै विद्यार्थीलाई गृह अध्ययन (ट्युसन) मा निम्त्याउन सक्नु उनीहरूको साहसिक कार्ययोजना हो । चौबीसै प्रहरजसो विद्यार्थीलाई त्यसमै वा तिनै विषयमा चक्कराएर मजदुरले डोकामा ईट्टा हालेझै झेलामा नोटका बिटाको खात लगाउन सक्नु यिनीहरूको बहादुरी हो । नपत्याए हेर्नोस् एसएलसी नतिजा प्रकाशनमा सबभन्दा बढी अनुत्तीर्ण विद्यार्थी सङ्ख्या क्रमशः गणित, अङ्ग्रेजी र विज्ञानमै स्पष्टतः देखि इरहेको छ ।
विराट विश्वकै विद्यार्थीलाई एकैठाउँमा राखेर हामी तीन क्षेत्रमा वर्गीकृत/विभाजित गर्न सक्छौं— पहिलो , दोस्रो र तेस्रो । यस विभाजनभित्रै दण्ड व्यवस्था, पुरस्कार व्यवस्था, सिकाइ/बुझइका तरिका, कक्षा नियन्त्रणका सबै पक्षहरू समाहित भएका हुन्छन् । कुनै विद्यार्थी– उद्देश्यतिर मन, वचन र कर्मले समर्पित छ वा छैन, छ भने ठीकै छ, छैन भने उसलाई कसरी त्यस बिन्दुमा ल्याउने र भइसकेपछि विषयवस्तुलाई उनीहरूका संस्कारसम्म नै कसरी पुरयाउने भन्ने कुरा को समाधान पनि यसै वर्गीकरणको गम्भीरताभित्र सहज उपलब्ध हुन्छ ।
पहिलो तहमा ती विद्यार्थीहरू पर्दछन्, जसको वंशबीज नै अनुकूल छ, पारिवारिक परिवेश अनुकूल छ, साथीसङ्गाती र बाहिरी पारिवेशिक वातावरण अनुकूल छ । यस्ता विद्यार्थीहरू आफैं अनुशासित र लक्ष्यप्रतिको एकोन्मुखतामा निरन्तर आफैंमा निर्मित भएका हुन्छन् । यिनका लागि शिक्षक मात्र सङ्केतक बने पुग्छ— मार्गदर्शनको । यस तहका विद्यार्थीलाई कुनै पनि दण्डसण्डको आवश्यकता पर्दैन ।
दोस्रो तहमा त्यस्ता विद्यार्थीहरूको विशाल समूह देखापर्दछ जसमा अध्ययनका लागि आवश्यक सम्पूर्ण चेतनाका तहहरू छन् तर बाबुआमाको, अभिभावकको, घरपरिवारको शिक्षकको भयबाट मुक्त छन् । कमजोर विचार बिन्दुकै वेलामा भयमुक्त हुनु, विध्वंशोन्मुख मान सिकताको उपज हो । यसबाट हरेक क्षेत्रमा जन्मिएका अनास्थाको सिकार ऊ त हुन्छ नै, ऊ मात्र नभएर त्यस बाटोतिर समाज को एउटा ठूलो जत्था नै समाहित हुनपुग्दछ । यस्तालाई भय उत्पन्न गराउने कुनै पनि मापदण्ड शिक्षकले सचेत रूपमा त्यस सीमासम्म अपनाउनुपर्दछ जुन सीमामा पुग्दा उसलाई भय उत्पन्न भई सही बाटोतिर आउने आधार तयार हुन्छ । यहाँनेर मेरो विचार र प्रयोगमा चाहिँ शारीरिक दण्ड व्यवस्था नै उचित हुन्छ, अनिवार्य हुन्छ । मान सिक दण्ड व्यवस्था यिनीहरूका लागि उपयुक्त हुन सक्दैन । कारण, उनीहरू त्यसखालका भय र बेइज्जती पचाउन अभ्यस्त भइसकेका हुन्छन् ।
तेस्रो तहमा त्यस्ता विद्यार्थीको जमात देखापर्दछ जसको विद्याप्रतिको मनोग्रन्थी जन्मजात नै निर्मित भएको हुँदैन । त्यस्ता विद्यार्थीलाई पिट्नु, कुखुरा बनाउनु, हप्काउनु, कक्षाबाट निकाल्नु, सम्झउनु जस्ता कुनै पनि दण्डको आवश्यकता छैन । यस्ता खालका विद्यार्थीलाई पढ्नै पर्छ भनी सम्झउनुको साटो उसको रुचिको पेशातिर अभिभावकलाई समेत बुझएर पठाइदिनुपर्छ; जसले गर्दा समयमै ऊ आफ्नो क्षमतामा विश्वस्त हुनसकोस् । दण्ड व्यवस्थाले यस तहका विद्यार्थीमा कुनै पनि सकारात्मक अर्थ राख्दैन बरु नकारात्मक प्रभाव चाहिँ प्रशस्त जन्मन सक्छन् । मार्गदर्शकको अधिकारको खोज चाहिँ यिनीहरूमा पनि सुरक्षित भएकाले सम्पूर्ण उसका अन्य क्षेत्रका सीप एवं सबलतालाई हेरी त्यस्तै दिशानिर्देश गरिदिनु असल शिक्षकको दायित्व हो ।
शिक्षा एवं चेतनालाई जागिरे मनोग्रन्थीभन्दा माथि लगेर प्राविधिक, मनोवैज्ञानिक, दार्शनिक, व्यावहारिक ऊर्जा विकास को विशाल मैदानका छेउकुनासम्म निर्भयका साथ भ्रमण गर्न सक्ने सङ्कल्पका व्यक्ति मात्र सही शिक्षक हुनसक्छन् । तर नेपालमा यस किसिमको परिस्थितिको सिर्जना त कुरै छाडौं सङ्केतसम्म पनि देखापरेको छैन । इष्र्या होइन यथार्थ हो, अझ् माथिका महाविद्यालय, विश्वविद्यालयका शिक्षकहरू जो स्वघोषित प्राज्ञ छन्, शिक्षामा देखापरेका विकृतिप्रतिको जिम्मेवारी उनीहरूको बढी छ । एउटा सीटीईभीटी नामक संस्थाले लिँदै गरेको परीक्षा अवलोकन गरेको थिएँ । ती विद्यार्थीहरू जुनसुकै परीक्षा केन्द्रमा किन नहुन् विना पुस्तक अक्षर पनि चलाउँदैनन् । पुस्तक फर्काएपछि उत्तर पनि भेट्टाउँदैनन् । उनीहरूको झेलामा किताब कपीको बदला शायद चेन, छुरी र खुकुरी हुनसक्छन् । हेर्ने हिम्मत कसैको छैन । सम्बन्धित प्रमुखलाई यी कुरा अवगतगराउँदा उनको सोझे उत्तर थियो, “मार्छन् यिनीहरूले, यिनलाई चलाउनुहुँदैन ।” ती शिक्षकलाई राज्यव्यवस्थाले गरेको लगानी र उनले चलाएको संस्थाबाट राज्यले पाउने उपलब्धिको जोडघटाउ गरयो भने लगानी पहाड बनेर खडा हुन्छ । प्राप्ति चाहिँ उल्टो दिशाको पहाड बनेर । जबसम्म शैक्षिक संस्थाहरू यस्तो कायरताका सिकार भइरहन्छन्, त्यस वेलासम्म कपडा पसलका कारिन्दा भन्दा माथिको हैसियत नेपालका शिक्षकको थिएन, छैन र हुने पनि छैन ।
सिद्धिगणेश मावि, काठमाडौँ
मेरो मनोलोक र गुरु
डा. नरेन्द्र चापागाईंको प्रेरणाले ममा साहित्यिक भोक जगायो, चिन्तनमा केन्द्रित बन्ने बानी विकास गरयो, विचार लाई च्याप्प समाएर हीरा कुँद्ने कलाको सद्बीउ छ¥यो ।
हरिप्रसाद बराल
असल गुरुका विषयमा भारतका पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको कथन छ, “एउटा असल शिक्षकले विद्यार्थीमा पढ्ने भावना अर्थात् पढाइमा रुचि कसरी जगाउने त्यो जान्नुपर्छ, उत्तरदायित्वबारे जानकारी दिन सक्नुपर्छ र अध्ययनका क्षेत्रमा ऊ आफंैले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अघि बढ्ने क्षमता हुनुपर्छ । विद्यार्थीको मस्तिष्कमा कुसंस्कारका रूपमा फस्टाएको खराबीलाई पखाल्न सक्ने ओजपूर्ण व्यक्तित्व शिक्षकमा हुनुपर्छ ।”
मलाई गौरव छ– मेरा दुईजना गुरुप्रति । उहाँहरूको मिहिनेतले गर्दा आज मेरा लागि समालोचना र निबन्धको फाँट प्यारो भयो, कविता दैनिक रूपमा लेख्न सक्ने भएँ । ती व्यक्तित्व हुन्– भाषाशास्त्री बालकृष्ण पोखरेल र स्व. डा. नरेन्द्र चापागाईं । बालकृष्ण गुरुको प्रेरणाले गर्दा नेपाली भाषा, साहित्य, संस्कृति आदि क्षेत्रमा कसरी चिन्तन गर्न सकिन्छ, त्यो प्रवृत्तिको विकास ममा बढ्दै गयो । गुरुले मेरो धरातलको सही जानकारी दिनुभयो । जुन वेला म गुरुका मुखबाट फुत्फुती हाम्फालेका शब्दहरूका सामु हुन्छु, त्यो वेला म कति होचो रहेछु, कति पुड्को रहेछु, म ज्ञानको अहङ्कारले कति मात्तिएको रहेछु, ती सारा कुरा को आत्मबोध हुन्छ । त्यसैले मैले भन्नुपर्छ, बालकृष्ण पोखरेलजस्ता गुरु हामीलाई चाहिन्छ ।
मैले कृति पढेर, त्यसकोगहिराइमा डुबेर, अग्रजहरूको सम्मान गर्दै आफूभित्र सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउने कुरा मा डा. नरेन्द्र चापागाईंबाट प्रेरणा पाएँ । उहाँको प्रेरणाले ममा साहित्यिक भोक जगायो, चिन्तनमा केन्द्रित बन्ने परिपाटीको विकास गरयो, विचार लाई च्याप्प समाएर हीरा कुँद्ने कलाको सद्बीउ ममा छ¥यो । त्यसकारण पनि म भन्छु यी दुई गुरुको सङ्गतले उनीहरूको चेलो बन्न पाएको सौभाग्यले म अहिले एउटा लेखक भएको छु । परम्परागत रूपमा चल्दै आएका अँध्याराहरू चिर्दै इतिहासको मैदानमा आएको छु, मलाई कतै पनि निराशाको कालो बादलले थिच्दैन, कुविचार ले मिच्दैन किनभने मैले उनीहरूको आशीर्वाद पाएको छु । अध्ययन र अनुसन्धानका क्षेत्रमा रुचि जगाइदिने, पढ्नु सबैभन्दा रराम्रो काम हो भनेर मनमा बीजारोपण गरिदिने, संसारमा सभ्य व्यवहारका माध्यमले अरूको मन जित्न सक्ने कलाको विकास गराइदिने, आफूभित्रका अहम्बोध हरेक परिस्थितिमा तर्काउन सक्ने क्षमताको विकास जुन गुरुहरूलेगराइदिन्छन्, त्यस्ता गुरुको खोजीमा म लागें र मैले यी दुई गुरुलाई पाएँ ।
जुन शिक्षकले पढाउँदा दिमागमा पर्याप्त नयाँ कुरा हरूको बाढी आउँछ; अरूलाई सकारात्मक प्रभाव पारेर उसको मन जित्न सकिन्छ, आफ्नो चरित्रलाई दिनप्रतिदिन गुणात्मक रूपमा परिमार्जन गर्ने आधार तयार हुन्छ, सामाजिक दक्षतामा वृद्धि हुन्छ, मनलाई आफ्नो अधीनमा लिन सजिलो हुन्छ, नेतृत्व गर्न, अभिभावकको भूमिका निर्वाह गर्न, शान्ति र एकताका निम्ति आफ्नो व्यक्तित्वलाई गतिशील बनाउन ऊर्जा प्राप्त हुन्छ, विवेकको बत्ती बल्छ, बुद्धिमा प्रशिक्षण, दिलको प्रशोधन, मनको अनुशासन कायम गर्ने क्षमताको विकास हुन्छ– त्यो नै मेरो विचार मा योग्य शिक्षक हो ।
झ्र्किने, रन्किने, घडीको काँटामा समय हेरेको हे¥यै गर्ने , अध्ययनमा अल्छी, कुविचार ले भरिएको अल्पज्ञ, आवेगमा हराउने र केवल लक्ष्मीका भक्तलाई मैले गुरु हुने मौका दिएको छैन, मेरो कल्पनाको राज्यमा । एउटा गुरुले आफूलाई एउटै विचार को दास बनाएर अरू विचार लाई माइलो, साइँलोमा झर्छ भने, अध्यात्मवादी भएर भौतिकवादलाई लात्तीले हान्छ भने वा भौतिकवादी भएर अध्यात्मवादीलाई टुप्पी समाएर घिसार्छ भने त्यस्ता गुरुलाई मैले मेरो मनोलोककोगेटबाट भित्र पस्न दिएको छैन र दिन्नँ पनि । ‘म त्यो ठाउँमा थिएँ भने केगर्थें ?’ यो प्रश्नको उत्तरलाई सकारात्मक रूपमा लिन नसक्ने मान्छेले चाहे जति पढोस्, जति गुनोस्, जति नाटकगरोस्, उसलाई म गुरु बनाएर मेरा निजत्वमा राख्न सक्दिनँ ।
गौतम बुद्ध मेमोरियल सेकेण्डरी स्कूल
विराटनगर–१९, रानी, मोरङ



