बहुकक्षा र बहुस्तर शिक्षण एउटा राम्रो सुरुवात
हरेक विद्यार्थीका वेग्लावेग्लै कालोपाटी । कक्षाका भित्ता र सिलिङमा झुण्ड्याइएका छन्, शैक्षिक सामग्री । कक्षामै टिभी र डेक । कक्षा १ र २ का विद्यार्थीलाई मिसाएर बनाइएको एउटै कक्षा । पढ्नका लागि पाठ्यपुस्तक छैनन् । तैपनि विद्यार्थीहरू सिकाइप्रति स्वेच्छाले तल्लीन छन् भने सिकाउने शिक्षक पनि उस्तै तल्लीन । चार वटा छुट्टाछुट्टै समूहमा बाँडिएर बस्न मिल्ने चारवटा गोलाकार टेबुल । कुनै समूहमा शिक्षक धेरैबेर बसेर सिकाउँछन् त कुनैमा विद्यार्थी आफैँ स्वतन्त्र तरिकाले सिकिरहेका छन् । कक्षामा सल्याङमल्याङ आवाज गुञ्जिएको छ । तर यसबाट कसैले पनि ’डिस्टर्ब’को महसुस गरेका छैनन् ।
२० माघको मध्यान्हमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित विष्णु आध्यात्मिक संस्कृत प्रावि पुग्दा त्यहाँ देखि एको एक झलक हो यो । बाह्रबिसे बजारबाट लगभग पाँच किमि धुलेबाटो उकालो लागेपछि पुगिने सो स्कूलमा देखि एको यो शिक्षणको मुख्य आधार हो, यहाँको बहुकक्षा र बहुस्तर शिक्षण पद्धति । विद्यार्थीसित खेल्दै र सिकाउँदा प्रअ ठाकुर पौडेल भन्छन्, “यसले त हामीलाई नचिताएको तरिकाले कायापलट गरिदिएको छ । यो त साँचो अर्थमा विद्यार्थीकेन्द्रित शिक्षण विधि रहेछ ।” खासमा भारतको आन्ध्रप्रदेशस्थित ऋषिभ्याली स्कूलबाट सिकेर बहुकक्षा तथा बहुस्तर शिक्षण पद्धतिलाई विष्णु आध्यात्मिकमा प्रयोग गरिएको रहेछ । यस विधिबाट कम विद्यार्थी भएका स्कूलमा बहुकक्षा शिक्षण पद्धतिमार्फत थोरै सङ्ख्याका शिक्षकले उपलब्धिमूलक शिक्षण गर्न सक्छन् । यसको मुख्य विशेषता नै यही हो ।
थोरै विद्यार्थी हुने हाम्रा हिमाली र उच्च पहाडी भेकमा पनि यो पद्धति उचित हने देखेर शिक्षा विभागका तत्कालीन महानिर्देशक जनार्दन नेपालसहितको टोलीले आन्ध्रप्रदेश पुगेर यो पद्धतिको सिको गर्ने प्रयास गरेका रहेछन् । त्यसक्रममा शिक्षा विभागका कर्मचारी र केही स्कूलका शिक्षकलाई समेत लिएर ऋषिभ्यालीमा लगेर तालिम दिलाइयो । त्यताबाट फर्केपछि शैक्षिक सामग्री बनाइयो र २०६६ देखि यस स्कूलको कक्षा एकमा यही पद्धति अनुरुप पठनपाठन शुरु भयो । यस वर्ष यसलाई कक्षा दुईसम्म विस्तार गरिएको छ, जहाँ कक्षा १ र दुईका विद्यार्थी सँगै बसेर सिक्छन् । कक्षा १ देखि ५ सम्म करीब ५० जना विद्यार्थी र निजी स्रोतबाट समेत गरी ५ जना शिक्षक भएको यस स्कूलमा बालविकास केन्द्र पनि छ, जहाँ १४ जना केटाकेटी छन् ।

बहु कक्षाको एक झलक
एक एकछिन कक्षाकोठाको अवलोकनगरौं । शिक्षक प्रतिनिधि स्कूलमा पुग्दा भर्खर नेपाली कक्षा सकिन लागेको रहेछ । केहीबेरपछि गणितको पालो आयो । त्यस दिनगुणन सिकाउनेपालो रहेछ । गणितको प्रारम्भिक सिकाइमा ‘दुई एकान दुई, दुई दुना चार’ भनेर दुनोट घोकाउने पुरातन शिक्षण शैली यहाँ थिएन । बरु बिल्कुलै भिन्न र रचनात्मक थियो । प्रअ ठाकुर पौडेलले बाँसका सिन्काको मुठा फुकाए र दुई वटालाई झ्किेर एउटा छुट्टै भाग बनाए र विद्यार्थीलाई सोधे, “यसमा कतिवटा सिन्का छ ?”
जवाफ आयो, ‘दुई वटा छ सर ।’
‘मुठा कतिवटा छ नि ?’
‘एउटा’
‘फेरि एक पटक सिन्कागन त नानी !’
‘दुई वटा छ सर ।’
‘हो । दुईलाई एकलेगुणा गर्दा दुई हुन्छ ।’
अब दुई दुना चार सिकाउनेपालो आयो । शिक्षकले मुठाबाट अरू दुई वटा सिन्का झ्किेर अर्को ठाउँमा राखे । अनि दुई वटै मुठातिर इसारा गर्दै सोधे, “मुठामा कति कति वटा छ ?”
‘दुई–दुई वटा छ सर !’
‘कति ठाउँमा छ ?’
‘दुई ठाउँमा छ । दुई वटा सिन्का दुई ठाउँमा छ ।’
‘सबैलाई एक पटक पूरैगनिदेउ त ।’
विद्यार्थीले हातले सिन्का सार्दै चार पुरयाउँछन् र भन्छन्, ‘चार सर !’
अर्थात् दुईले दुईलाई गुणा गर्दा चार हुँदोरहेछ । विद्यार्थीले यही बुझछन् ।
यही तरिकाबाट प्रअ पौडेलले ‘दुई पन्चे दश’ सम्म सिकाए । त्यसभन्दा माथि उनले बीससम्म विद्यार्थीलाई आफैँ मुठा बनाउन सिकाए । रोशन अधिकारी नामका विद्यार्थीले शिक्षकले सिकाएको विधिलाई अनुसरण गर्दै दुई दशन् बीससम्म पुर्याए । अनि ‘मैले त जाने नि !’ भन्दै सहपाठी उमेश खड्कालाई आफूले जानेकोगुणन सिकाउन अग्रसर भए ।
उता प्रअ पौडेल चाहिँ अर्कोगोलाकार टेबुलतिर हानिए, जहाँ उनी कक्षा एकका एक जना विद्यार्थीलाई दुई अङ्कको अवधारणा सिकाउन थाले । त्यसका लागि पौडेलले उही बाँसको सिन्काहरू ल्याएर विद्यार्थीलाई १० वटाको एउटा मुठा बनाउन लगाए । त्यो एक मुठा भुईंमा राख्न लगाएर उनले सोधे, ”कति मुठा भयो ?” विद्यार्थीले जवाफ दिए, ‘एक ।’ शिक्षकले उनलाई एक लेख्न लगाए । अनि सोधे, अब भुईंमा कतिवटा सिन्का बाँकी छ त ? विद्यार्थीले भने, “एउटा पनि छैन ।” अनि शिक्षकले अघि लेखेको एकको पछि शून्य लेख्न लगाए । विद्यार्थीले पनि त्यसै गरे । तिनै विद्यार्थीलाई फेरि अर्को १० वटा सिन्कालाई गिलासमा हालेर राख्न लगाइयो । अनिगिलासबाट एउटा सिन्का झ्किेर पहिलो मुठासँगै राख्न ल गाएपछि शिक्षकले प्रस्ट पारिदिए, एक मुठामा १० वटा सिन्का छ । यसमा एक थप्दा ११ भयो । एवम् रीतले विद्यार्थी आफैँले सिन्कागन्दै र लेख्दै १९ सम्म पुर्याए । त्यसमा अर्को एउटा सिन्का थपेपछि १० सिन्काको अर्को मुठा बन्यो । अब सिन्काका दुई मुठा भए र विद्यार्थीले पनि मुठा गनेर २ लेखे ।गिलासमा बाँकी सिन्का थिएन । विद्यार्थीले दुईको पछाडि शून्य लेखे ।
त्यसपछि शिक्षक अर्कै विद्यार्थीसँग ’डिल’ गर्न थाल्छन् । उनी हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमा सिकाइरहेका छन् । आफ्नो पिरियडभर उनी एक मिनेट पनि बेफुर्सदी देखि एनन् । अर्की शिक्षक सुमित्रा त्यही कोठामा उस्तै व्यस्त देखिन्छिन् । फुर्सद विद्यार्थीलाई पनि छैन । कक्षाका करीब २० जना विद्यार्थीमध्ये एक जना पनि फुर्सदिलो बसेको छैन, बस्न इच्छुक पनि छैन । सिक्नका निम्ति शिक्षकसँग झुम्मिएका देखिन्छन् । केही चाहिँ आफ्नै सहपाठीसँग सिकिरहेका देखिन्छन् । कक्षामा भएको उक्त गतिविधिले यो कक्षा कसरी चल्ने गर्दोरहेछ भन्ने कुरा लाई रराम्रोसित इङ्गित गरेको छ ।
यहाँको कक्षाकोठा साधारण स्कूलको भन्दा भिन्न छ । प्लाष्टर गरिएको भुईंमा काठको फलेक र त्यस माथि कार्पेट बिछ्याइएको छ ताकि बच्चालाई चिसो नलागोस् । कालोपाटीको सिरानमा प्रत्येक विद्यार्थीको नाम लेखिएको छ । शिक्षकलाई छुट्टै एउटा ह्वाइट बोर्ड राखिएको छ । हरेक विद्यार्थीको छुट्टै बक्स छ जहाँ उसले आफूले प्रयोग गरेका सामग्री राख्छन् । कक्षामा जे–जति सामग्री छन्, तिनमा विद्यार्थीको सहज पहुँच छ र आफूलाई मन लागेको वेला त्यसको उपयोग गर्न पाउँछन् ।
विद्यार्थीकेन्द्रित शिक्षण
ऋषिभ्याली स्कूलमा तालिम लिएर आएको टोलीले कक्षा १ को पाठ्यक्रममा आधारित रहेर ’माइलस्टोन’ बनाउने काम गरयो । एक माइलस्टोनमा ’यति देखि यतिसम्म’ सिकाउने । सो अनुरुप विभिन्न क्रियाकलाप का अवधारणा तयार भए । पहिलो , परिचयात्मक । केटाकेटीलाई कविताबाट शब्द पहिचान गर्न लगाइँदोरहेछ । त्यसमा उनीहरू पोख्त भइसकेपछि चित्रबाट शब्दको परिचय दिइन्छ । त्यसपछि , तिनै शब्दहरूलाई अभ्यास गरेर चिन्न लगाइन्छ ।
दोस्रो चरण हो, अभ्यास ात्मक क्रियाकलाप । यसमा शिक्षकले सहयोगी बनेर विद्यार्थीलाई अभ्यास गराउँछन् । यति गरिसक्दा शिक्षकले विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्न सक्छन् । उदाहरणका लागि कक्षा एकको नेपालीमा प्रारम्भिक एकाइमा भकुण्डो, बस र घर शब्द चिनाउने लक्ष्य राखिएको छ । बालबालिकालाई तिनै वस्तुका शब्दपत्तिहरू मिलाएर राख्न अह्राइन्छ । विद्यार्थीले शब्दपत्ति मिलाउन नसके शिक्षकले पुनः अभ्यास गराउँछन् । यही मेसोमा शिक्षकले विद्यार्थीको सिकाइ क्रियाकलाप को अवलोकन गर्न समेत भ्याउँछन् ।
एउटै कक्षाका सबै विद्यार्थीको सिकाइस्तर समान नहुन सक्छ । यही मान्यतालाई आधार मानेर कक्षाका विद्यार्थीलाई चार समूहमा बाँडिएको छ । पहिलो , पूरा शिक्षक सहयोग समूह, दोस्रो आंशिक शिक्षक समूह, तेस्रो साथी समूह र चौथो आत्मनिर्भर समूह । प्रअ पौडेल अथ्र्याउँछन्, “एउटा माइलस्टोन को सिकाइ पुरा गरेर नयाँ माइलस्टोनमा प्रवेश गर्दा विद्यार्थीलाई सिकाइ अवधारणा देखि क्रियाकलाप गराउँदासम्म शिक्षकले नै धेरै सहयोग गर्नु पर्छ । त्यसैले पहिलो समूहलाई पूरा शिक्षक सहयोग समूह भनिन्छ ।” केही आफूले जानिसकेको तर केही क्रियाकलाप गर्न अझै शिक्षकको सहयोग आवश्यक पर्ने भएकाले दोस्रोलाई आंशिक शिक्षक समूह भनिएको हो । तेस्रो थरीका विद्यार्थीलाई शिक्षकको होइन, साथीको खाँचो पर्दोरहेछ ।
अवधारणागत कुरा शिक्षकबाट जानिसकेको तर त्यसलाई क्रियाकलाप गर्दा जानेको वा माथिल्लो कक्षा (कक्षा दुई)को साथीसँग उसले सहजै ती कुरा सिक्न सक्दोरहेछ । पौडेलको दुईवर्षे अनुभवले भन्छ, “हामीले सिकाउन नसकेका कुरा पनि साथीबाट सहजै सिक्दा रहेछन् ।” त्यसैले हामी शिक्षकहरूले साथीसँग सिक्न विद्यार्थीलाई पर्याप्त वातावरण र उत्प्रेरणा दिनुपर्ने रहेछ । आत्मनिर्भर समूह त्यसलाई भनिँदोरहेछ जब विद्यार्थीहरू शिक्षक र साथीहरूको सहयोग विना नै आफ्नो सिकाइ क्रियाकलाप लाई अगाडि बढाउन सक्छन् । यस पद्धतिमा विद्यार्थीहरूले अवधारणा बुझेपछि आफैं स्वतन्त्र रूपमा सिक्न र नयाँनयाँ क्रियाकलाप गर्न अग्रसर हुन्छन् । यस विधिको अर्को सबल पाटो के पनि हो भने ‘मैले कति सिकेँ, साथीले कति सिक्यो र अब कति सिक्न बाँकी छ ?’ भन्ने कुरा को मूल्याङ्कन विद्यार्थी आपैंmले पनि गरिरहेको हुन्छ ।
शतप्रतिशत जानेपछि मात्र उत्तीर्ण
माइलस्टोन बनाएर यसै अनुरुपका क्रियाकलाप हरू कक्षामागराइने भएकाले यहाँ पाठ्यपुस्तकको प्रयोग नै हुँदैन । बहुकक्षा र बहुस्तर पद्धति प्रयोगको दुई वर्षमा शिक्षकहरूले पाठ्यपुस्तकको आवश्यकता नै अनुभव गरेका रहेनछन् । किनभने पाठ्यपुस्तकमा हुने भन्दा धेरै कुरा व्यावहारिक तरिकाले उनीहरूले सिक्न पाएका रहेछन् । शिक्षक पौडेलको अनुभवमा पाठ्यपुस्तक शिक्षण गर्ने पुरानो विधि भन्दा यो हजारौंगुणा व्यावहारिक र बच्चामुखी छ ।
अब परीक्षाको कुरा गरौं । यस विधि अन्तर्गत सिकाइ हुँदा विद्यार्थीले हरेक स्टेपमा स्वमूल्याङ्कन गर्न सक्ने रहेछ । त्यस्ता टुल्सहरू विकसित गरिएका रहेछन् । सरकारले यताका वर्षमा लागू गरेको निरन्तर मूल्याङ्कन विधिको सही प्रयोग यस विधिले गर्ने ढुक्क साथ पौडेल दाबी गर्छन् । भन्छन्, यसमा विद्यार्थीले पाठगत सिकाइ गरयो कि गरे न भनेर हेरिन्छ । उपलब्धि के छ भनेर हेरिन्छ । साधारणतया हरेक तीन महिनामा परीक्षा हुन्छ, तर यस विधिमा हरेक माइलस्टोन पूरा गर्दा नै एक प्रकारको परीक्षा भइसकेको हुँदोरहेछ । तीन महिनामा निश्चित माइलस्टोन पूरा गरे पछि त्यसलाई जाँचिदोरहेछ । एवं रीतले अन्तिम जाँच पनि हुँदोरहेछ । तर साधारण स्कूलमा जस्तो सबै विद्यार्थीको एकै साथ होइन । जसले जहिले सक्छ, उसको उही वेला जाँच हुन्छ । प्रश्न पनि व्यक्तिगत नै हुन्छ र जाँच पनि व्यक्तिगत नै हुन्छ । ढिलो सिक्ने विद्यार्थीको उसले अन्तिम माइलस्टोन पूरा गरे पछि जाँच हुन्छ । तर एउटा समयसीमा भन्दा बाहिर चाहिँ हामी जान दिँदैनौं, पौडेलले प्रस्ट पारे, तोकिएको शैक्षिक अवधिमा सकिन्छ ।

साधारण परीक्षा र यसमा अर्को पनि मौलिक भिन्नता छ । त्यो हो, साधारण परीक्षामा ३५ आए पास होइन्छ । अर्थात् त्यहाँ ३५ प्रतिशत जाने पास होइन्छ । तर यहाँ १०० नआई अर्थात् सबै कुरा नजानी कोही पनि पास हुन्न । वर्षभरिमा सबै माइलस्टोन पूरा न गरी कसैको पनि अन्तिम परीक्षा हुन्न । त्यो माइलस्टोन पूरा हुनु भनेको सबै कुरा जान्नु हो । शिक्षक पौडेल भन्छन्, त्यसैले मल्टिग्रेडका हाम्रा विद्यार्थी सबै उत्तिकै सक्षम भएपछि मात्र माथिल्लो कक्षामा चढ्छन् । शिक्षाको मुख्य लक्ष्यलाई यो विधिले मात्र शायद हासिल गराउन सक्छ ।
त्यसो त शिक्षा विभागले अरू १२ जिल्लाका २७ सार्वजनिक स्कूलमा यही अवधारणामा आधारित भएर पठनपाठन प्रक्रिया शुरु गरेको छ । शिक्षा विभागकी यस कार्यक्रम हेर्ने शैक्षिक सामग्री व्यवस्थापन शाखाकी उपनि र्देशक राज्यलक्ष्मी नकर्मी भन्छिन्, तर सबभन्दा रराम्रोसित चलेको स्कूल चाहिँ यही हो । प्रअ पौडल अरू स्कूलका निम्ति प्रशिक्षक समेत बनिरहेका छन् । यताका दिनमा आएर यस स्कूलको बहुकक्षा शिक्षण हेर्न शिक्षाविद्, शिक्षाकर्मीहरू बारम्बार आउने गरेका छन् । सबैको ध्यान यही बहुकक्षामा गएकाले बाँकी पुरानै तरिकाले चलेका कक्षा ओझाेलमा पर्ने र त्यहाँका विद्यार्थीहरूले अपेक्षित शिक्षा नपाउने खतरा पनि नभएको होइन । विद्यार्थीलाई परिचालित गर्न र सिकाउने रराम्रो दक्षता भएका पौडेलले उनका सहकर्मी शिक्षक समुदायलाई कसरी परिचालित गरेर नयाँ अवधारणालाई स्कूलमा सफल र दिगो बनाउन सक्छन्, त्यसका लागि चाहिँ केही समय पर्खनै पर्ने हुन्छ । यदि उनको नेतृत्वको टिमले यसलाई सफल तुल्याउन सक्यो भने उक्त स्कूल र त्यसका शिक्षकहरू देशभरका बाँकी स्कूलका लागि लागि नमुना सिद्ध हुनसक्छन् ।
त्यसै गरी आफूले शुरु गरेको नयाँ अवधारणालाई नमूनाको रूपमा शुरु गरिएको ठाउँमा आर्थिक साधनस्रोतको समेत कुनै पनि कुरा को अभाव हुन नदिई सफल बनाउन पूर्ण रुपेण सहयोग गर्ने दायित्व शिक्षा विभागको हो । विगतका कतिपय कार्यक्रममा झैँ नयाँ कार्यक्रम शुरु गर्ने तर पर्याप्त तयारी र आर्थिक सहयोग न गर्ने अपरिपक्व र अदूरदर्शी परिपाटी त्यागेर यस कार्यक्रमलाई पूरा सहयोग गरेर सफल बनाउनतिर लाग्नु बुद्धिमानी हुनेछ । किनभने विष्णु प्रावि र यस्तै नमुनाका रूपमा शुरु भएका अरू स्कूलहरूको सफलताले नै यस अवधारणालाई बाँकी नेपालमा विस्तार गर्ने आधार तयार पार्ने हो ।

.jpg)



