भूषण गुरुः ‘भाषिक चेतनाका जग’
‘भूषण गुरु’को मूल्याङ्कनमा प्रकाश वस्ती ‘प्रत्युत्पन्न मति भएको व्यक्ति’ थिए । यसको अर्थ चाहिँ ? “तुरुन्तातुरुन्तै जवाफ दिन सक्ने खुबी भएको ” गुरुले अर्थ लगाए । वस्तीको त्यो क्षमताबाट ‘भूषण गुरु’ निकै प्रभावित रहेछन् । भन्छन्, “मैले सोधेको कुरा को जवाफ प्रकाशले जति मजासँग अरू विद्यार्थीले दिन सक्थेनन् ।”
वाराणसी संस्कृत विश्वविद्यालयबाट २०२१ सालमा ‘नव्य व्याकरण’मा सर्वोत्कृष्ट अङ्क ल्याएर आचार्य सकेका बाग्लुङका विष्णुप्रसाद पौडेललाई त्यहाँका उपकुलपति सुरतनारायण त्रिपाठीले पी.एचडीको छात्रवृत्ति ‘अफर’ गरे । त्यत्तिकैमा उनलाई काठमाडौंबाट ‘महेन्द्र विद्याभूषण’ पदक लिनका लागि बोलावट भयो । पदक लिएपछि पी.एचडीका लागि भारत फर्कन लागेका पौडेललाई तत्कालीन राजा महेन्द्रले यतै बसेर सेवा गर्ने सुझाव दिए । उनले नाइँ भन्न सकेनन् ।
पौडेलले त्यही साल काठमाडौं, लैनचौरको शान्तिविद्या गृह मा पढाउन शुरु गरे । मीनपचासको बिदामा चितवनतिर घुम्न गए । एक बिहान नारायणीको किनारमा बसेर भागवत पढिरहेका वेला स्थानीय समाज सेवी मुक्तिलाल चुके र लाल कुमार श्रेष्ठले नारायणगढमा कलेज खोल्ने प्रस्ताव राख्दै त्यसमा सघाइदिन पौडेललाई आग्रह गरे । सबैको पहलमा २०२२ सालमा नारायणगढमा ‘वीरेन्द्र इन्टरमिडियट कलेज’को स्थापना भयो । अनि पौडेलले वीरेन्द्र क्याम्पस र चितवन माविमा एकैसाथ पढाउन थाले । २०२८ सालमा ‘नयाँ शिक्षा’ लागू भएपछि उनले एक ठाउँ छाड्नुपर्ने भयो र चितवन मावि छाडे ।
महेन्द्र विद्याभूषण पदक पाएकाले उनलाई चितवनमा सबैले ‘भूषण गुरु’ भनेर सम्बोधन गर्न थाले । आज पनि उनी वास्तविक नामभन्दा ‘भूषण गुरु’बाटै बढी चिनिन्छन् । चितवन माविमा ६ वर्ष बिताएका उनलाई आफूले पढाएका विद्यार्थीको त्यतिविघ्न हेक्का त छैन । तर, एकजना छात्र र तिनको स्वाभावलाई भने ‘भूषण गुरु’ले आज पनि बिर्सन सकेका छैनन् । उनले त्यसरी सम्झ्रिहने विद्यार्थी हुन्, प्रकाश वस्ती, जो यतिखेर सर्वोच्च अदालतका न्यायाधीश छन् । ३२ वर्षसम्म वकालत, न्यायिक अन्वेषण, कानुनी साहित्यको सेवा गरेर उनी दुई वर्षअघि न्यायाधीशको ओहोदामा पुगेका हुन् ।
विष्णुप्रसाद पौडेलले वस्तीलाई कक्षा १० मा नेपाली र संस्कृत विषय पढाएका थिए । उनी वस्तीलाई मेहनती र अनुशासित छात्रका रूपमा सम्झन्छन् । पौडेलको मूल्याङ्कनमा वस्ती ‘प्रत्युत्पन्न मति भएका व्यक्ति’ थिए । यसको अर्थ चाहिँ ? “तुरुन्तातुरुन्तै जवाफ दिन सक्ने खुबी भएको ” गुरुले अर्थ लगाए । वस्तीको त्यो क्षमताबाट पौडेल निकै प्रभावित रहेछन् । भन्छन्, “मैले सोधेको कुरा को जवाफ प्रकाशले जति मजासँग अरू विद्यार्थीले दिन सक्थेनन् ।” हुन पनि प्रकाश वस्तीले एसएलसी परीक्षामा नेपालीमा ८२ अङ्क ल्याएका थिए । जुन उनको समूहमै सर्वाधिक थियो । सोधेको प्रश्नको जवाफ फ्याट्ट दिइहाल्ने खुबी भए तापनि ‘भूषण गुरु’को नजरमा चाहिँ वस्ती सामान्यतया अल्पभाषी स्वभावका थिए । वस्तीमा आजसम्म पनि त्यही स्वभाव रहेको उनको मूल्याङ्कन छ ।
यता न्यायाधीश वस्ती पनि ‘भूषण गुरु’लाई ‘आदर्श शिक्षक’का रूपमा चित्रण गर्छन् । उनको स्मरणमा विद्यार्थीलाई माया गरेर सिकाउन सक्ने क्षमता थियो ‘भूषण गुरु’सँग । उनीबाटै भाषा, व्याकरण र साहित्यको महत्वबारे बुझने अवसर पाएको बताउँछन्, न्यायाधीश वस्ती । भन्छन्, “भाषा शुद्धसँग लेख्नुपर्छ भन्ने ज्ञान मैले उहाँबाटै पाएको हुँ । ती कुरा मेरानिम्ति आज पनि उत्तिकै प्रेरणादायी छन् ।” ‘कुनै पनि शब्द तथा वाक्य शुद्ध र सरल भएमा मात्र त्यसले सबैले बुझने र सरल अर्थ दिन्छ’ न्यायाधीश वस्तीले ‘भूषण गुरु’बाट सिकेको ज्ञानको मुख्य सार नै यही हो । कानुन व्यवसायी क्लबको कानुन पत्रिका को सम्पादनमा १८ वर्ष बिताउँदा गुरुबाट पाएको भाषिक ज्ञानले आफूलाई निकै सहयोग गरेको उनको अनुभव छ । “अहिले फैसला तयारीका क्रममा पनि त्यही ज्ञानलाई अनुसरण गर्दैछु । वास्तवमा उहाँले ममा दिगोरूपमै भाषिक चेतनाको जग बसाइदिनुभएछ । अहिले म यही तथ्यलाई मनन गर्दैछु”, वस्तीले गुरुप्रति आदरभाव दर्साए ।
‘भूषण गुरु’ रमाइला उक्ति र चुट्किलाहरू सुनाएर विद्यार्थीहरूलाई दङ्ग बनाइदिन्थे । आफ्नो शिक्षणबाट विद्यार्थी सन्तुष्ट भए/नभएको निकै ख्यालगर्थे । पाठ्यपुस्तकमा मात्रै सीमित न गरी विद्यार्थीलाई बाहिरी ज्ञानका विषयवस्तु सिकाउनु उनको अर्को विशेषता थियो । न्यायाधीश वस्ती सम्झन्छन्, “ गुरुले हामीलाई लक्ष्मीप्रसाद देवकोटाको ‘ गरीब’ कविता पढाउँदा कविता मात्रै पढाउनु भएन, देवकोटाको जीवनशैली र सङ्घर्षका कथा पनि सुनाउनुभएको थियो । त्यो कुरा सुनेपछि हामीलाई सफल मान्छे बन्न सङ्घर्ष गर्नै पर्छ भन्ने उत्साह पैदा गर्द थ्यो ।”

वस्तीले २०२५ सालमा एसएलसी परीक्षा दिनुअघि ‘भूषण गुरु’ले दिएको हौसलालाई आज पनि सम्झ्रिहेका छन् । उतिवेला प्रथम श्रेणीमा एसएलसी परीक्षा पास गर्नु लाई ठूलो सफलता मानिन्थ्यो । चितवन माविबाट त्यसअघि कसैले पनि एसएलसीमा प्रथम श्रेणी ल्याएका थिएनन् । त्यत्तिकैमा एक दिन गुरुले कक्षामा प्रथम श्रेणीमा पास गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गरे छन् । त्यही प्रेरणा पाएर वस्तीले झन् बढी मेहनत गरे । त्यति गर्दा पनि वस्ती प्रथम श्रेणीबाट अझै तीन अङ्क पर रहे । उनी भन्छन्, “तैपनि कक्षामा सर्वाधिक अङ्क मेरै आयो । गुरुको प्रेरणा नपाएको भए शायद त्यति अङ्क पनि आउँदैनथ्यो कि !”
एसएलसी सकेपछि वस्ती काठमाडौंतिर लागे र चितवनसँग उनको सम्पर्क निकै पातलिन थाल्यो । त्यसयता यी दुई गुरु–चेलाबीच एक–दुई पटक मात्रै भेटघाट भएको छ । ६३ वर्षे उमेर हद सम्बन्धी कानुनी प्रावधानका आधारमा त्रिभुवन विश्वविद्यालयले ‘भूषण गुरु’लाई २०५७ सालमा सेवाबाट अवकाश दिने निर्णय गरयो । तर, उनको जन्ममितिको विषयमा विवाद उत्पन्न भयो । उमेरको हद नै ननाघी आफूलाई अवकाश दिइएको भन्दै ‘भूषण गुरु’ले त्रिविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने निधो गरेर काठमाडौं आए । अनि आफ्नै वकिल चेलालाई बहस गरिदिन अनुरोध गरे । वस्ती भन्छन्, “मैले त गुरुलाई मुद्दा हारिन्छ, नलडौं भनेको थिएँ । तैपनि उहाँले मान्नुभएन । पछि मुद्दा हारियो । जे होस्, बहस गरेर गुरुको सन्तोष चाहिँ पूरा गरिदिएँ ।”
आफ्नो छात्र न्यायाधीश भएको देख्न पाउँदा साह्रै हर्ष लागेको छ, ७८ वर्षीय ‘भूषण गुरु’लाई । भन्छन्, “प्रकाश न्यायाधीश भएको खबर टीभीबाट थाहा पाएको थिएँ । आफूले पढाएको व्यक्ति सर्वोच्चको न्यायाधीश भएको सुन्दा साह्रै खुशी लाग्यो ।” कसैको लोभलालचमा नपरी निष्पक्ष भएर सत्यको पक्षमा फैसलागरुन्, यही छ ‘भूषण गुरु’को न्यायमूर्ति चेलोलाई शुभकामना !



