जिज्ञासा र जवाफ
वैकल्पिकको पालो कहिले ?
सरकार र शिक्षक युनियनबीच भएको सहमतिको बुँदा नम्बर चारमा २०६१/६२ को आन्तरिक प्रतिस्पर्धामा स्थायी हुन नसकी वैकल्पिक सूचीमा रहेका शिक्षकलाई कानुनमा व्यवस्था गरेर स्थायी नियुक्तिको व्यवस्था मिलाउने भनिएको छ । यो सङ्ख्या ११ सय जति रहेको अनुमान छ । यो सहमति भएको पनि एक वर्ष नाघिसक्यो । यो व्यवस्था कहिले देखि लागू होला ?
बलरामप्रसाद थारू
नेपाल राष्ट्रिय निमावि, विरुवागुठी, पर्सा
बलिरामप्रसाद दास
जनता उमावि, पकडिया, बढनिहार, पर्सा
शिक्षा नियमावली, २०५९ को संशोधन प्रस्तावमै उक्त व्यवस्थालाई थप्ने प्रयास गरिएको हो । तर, नियमावलीमा त्यसरी थप्न नमिल्ने देखि यो । हामी शिक्षा ऐनको संशोधन प्रस्तावमा उक्त व्यवस्थालाई राख्ने प्रयासमा छौं ।
जनार्दन नेपाल
सहसचिव, शिक्षा मन्त्रालय
घरपायक मिल्ला ?
म प्राथमिक तहको स्थायी शिक्षक हुँ । मेरो घर विर्ता देउराली–३, काभ्रेमा पर्छ । घरबाट स्कूल पुग्न एक दिन पैदल हिँड्नुपर्छ । मैले २०४८ साल देखि त्यहाँ सेवा गरिरहेको छु । हाल मेरो स्वास्थ्यमा समस्या परेकाले घरपायक सरुवा हुन खोज्दैछु । निकट भविष्यमै मेरो घरपायक स्कूलमा प्राथमिक दरबन्दी पनि रिक्त हुँदैछ । तर प्रायः स्कूलमा दरबन्दी रिक्त हुँदा सरुवा गर्ने भन्दा अस्थायी नियुक्तिलाई प्राथमिकता दिने गरिएको पाइन्छ । जिशिका र स्कूलले सहमति नदिई मेरो सरुवाको सम्भावना छैन । त्यसरी रिक्त हुने दरबन्दीमा मैले सरुवा पाउँछु कि पाउँदिनँ ? त्यसका लागि के गर्नु पर्ला ?
रामसिं घिसिङ
बालुवा मावि, बालुवापाटी, काभ्रे
दरबन्दी रिक्त भएको अवस्थामा अस्थायी शिक्षक नियुक्त गर्ने वा अर्को स्कूलको शिक्षकलाई सरुवा गरेर पदस्थापन गर्ने भन्ने निर्णय गर्ने अधिकार व्यवस्थापन समितिलाई छ । त्यसो हुँदा तपाईंले आफ्नो सरुवाको लागि घरपायक स्कूलको व्यवस्थापन समितिसँग सल्लाह गर्नु स् । त्यसमा जिशिकाले सहजीकरण गरिदिन सक्छ ।
रामशरण सापकोटा
जिशिअ, काभ्रे
मैले नियुक्ति पाउँला ?
म १५ मङ्सिर २०६४ देखि युवक निमावि, धधवार बर्दियामा प्राथमिक तहकी स्थायी शिक्षक अमिरा झको स्थानमा ‘सट्टा शिक्षक’को रूपमा कार्यरत छु । शिक्षक झ मान सिक रोगी भएपछि मलाई सट्टा शिक्षक राखिएको हो । उहाँले पूरै तलब पाउनुहुन्छ । त्यसको केही अंश मलाई दिने गरिएको छ । झको अवकाशपछि मैले उहाँको स्थानमा स्थायी शिक्षकको हैसियतमा काम गर्न पाउँछु कि पाउँदिनँ ? शारीरिक अस्वस्थताका कारण चार वर्षसम्म स्कूलमा अनुपस्थित हुने शिक्षकको हकमा शिक्षा ऐन/नियमावलीमा कस्तो व्यवस्था छ ?
मान बहादुर खरेल
युवक निमावि, धधवार, बर्दिया
शारीरिक अस्वस्थताको कारणले कुनै शिक्षक पढाउन असमर्थ छ भनी मेडिकल बोर्डले सिफारिस गरे मा त्यस्तो शिक्षकलाई पाँच वर्षसम्म सेवा अवधि थप्दा पेन्सन पाउने अवस्था पुग्ने रहेछ भने बाँकी अवधि थप गरी अवकाश दिन सकिने व्यवस्था शिक्षा नियमावलीमा छ । तर, त्यसरी अवकाश पाएपछि रिक्त हुने पदमा तपाईंले सीधै प्रवेश पाउनुहुने छैन । छनोट परीक्षामा सफल हुने उम्मेदवारले मात्रै अवसर पाउनेछ ।
पदमसिंह विष्ट
शाखा अधिकृत, शिक्षा विभाग
पीसीएफ के हो ?
मैले पीसीएफ अनुदानबाट निम्नमाध्यमिक तहको तृतीय श्रेणीमा नियुक्ति पाएको छु । पीसीएफ पनि राहत कोटा जस्तै हो भन्ने सुनिन्छ । अर्थात् राहत र पीसीएफ कोटा भनेको उस्तै हो कि फरक हो ? पीसीएफमा श्रेणी अनुसार तलब स्केल हुन्छ कि हुँदैन ?
हेमन्त माझी
कालिका निमावि, रतनपुर, उदयपुर
पीसीएफ र राहत फरक किसिमका अनुदान हुन् । राहतमा दरबन्दीका शिक्षक सरहको तलब दिइन्छ । पीसीएफ भनेको चाहिँ ‘प्रति विद्यार्थी अनुदान’ हो । विद्यार्थीको सङ्ख्या हेरेर जिशिकामार्पmत स्कूलमा पीसीएफ अनुदान पठाइन्छ । आफूले पाएको पीसीएफ अनुदानबाट तलब दिने गरी स्कूलले शिक्षक नियुक्त गर्छन् ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग
विद्यार्थी घटे के हुन्छ ?
देशमा प्रस्तावित स्कूलहरू थुप्रै छन् । त्यस्ता स्कूलमा सरकारले राहत दरबन्दी र पीसीएफ कोटा वितरण गर्दै आएको छ । यदि दरबन्दी अनुसार स्कूलमा (प्राथमिक तहमा) विद्यार्थी सङ्ख्या पुगेन भने त्यस्तो दरबन्दीलाई सरकारले अनुसार अन्यत्र कतै सरुवा गर्छ कि, दरबन्दी सदाको लागि कटाउँछ ?
ताराबहादुर बस्नेत
नवदुर्गा प्रावि, छायाँक्षेत्र–३, सल्यान
राहत र पीसीएफ आपैंmमा दरबन्दी होइन, यो अनुदान हो । विद्यार्थी सङ्ख्या बढी भएर शिक्षक दरबन्दी कम भएका वा नभएका स्कूलमा शिक्षक सेवा पुर्याउन यस्तो अनुदान दिइएको हो । भविष्यमा विद्यार्थी सङ्ख्या घटेमा वा शिक्षक सङ्ख्या नपुगेका स्कूलमा दरबन्दी मिलानका क्रममा त्यस्तो अनुदान कटौती हुन पनि सक्छ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग
महङ्गीभत्ता पाइएन
सरकार र शिक्षक युनियनबीच भएको सहमतिमा राहत शिक्षकलाई दरबन्दीका शिक्षक सरह सेवा–सुविधा दिने भनिए पनि हामी राहतकोटामा कार्यरत शिक्षकलेगत सालको महङ्गी भत्ता अहिलेसम्म पनि पूरा पाएका छैनौं । हामीलाई बाँकी भत्ता दिइन्छ कि ‘जति आयो खाऊ, चुप लागेर पढाऊ’ भन्न खोजिएको हो ? साथै हामीजस्ता राहत शिक्षकलाई स्कूलले नियुक्ति दिनुको सट्टा जिशिकाले नियुक्ति दिन मिल्दैन ?
रामचन्द्र अधिकारी
जलकन्या निमावि, बैरेनी–६, धादिङ
टीकाबल्लभ पराजुली
लालीगुराँस प्रावि, किमालुङ–२, भोजपुर
स्वीकृत दरबन्दी र राहत शिक्षकले पाउने तलब र महङ्गीभत्तामा कुनै विभेद छैन । राहत शिक्षकलाई पनि रु. १,२०० का दरले महङ्गीभत्ता पठाइएको हो । कुन जिल्लाका कुन स्कूलसम्म भत्ता नपुगेको हो भन्ने बारेमा प्रस्ट भएन । यदि अपुग भएकै रहेछ भने अर्थ मन्त्रालयसँग माग गरेर निकासा पठाउनेछौं । कानुनतः अस्थायी शिक्षक नियुक्तिको अधिकार विद्यालय व्यवस्थापन समितिलाई नै भएकाले राहतको नियुक्ति पनि सम्बन्धित स्कूलबाटै हुन्छ । त्यसमा जिशिकाले नियुक्ति समर्थन मात्रै दिने हो ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग
रकम निकासा भइसक्यो
मैले ९ वर्ष देखि विद्यालय कर्मचारी (पियन)को रूपमा एकदम न्यून पारिश्रमिक (रु.५०० देखि १,००० सम्म) पाउने गरी सेवागर्र्दै आएको छु । २०६६ कात्तिक ११ मा शिक्षक–सरकार सहमति अनुसार कर्मचारी व्यवस्थापनका लागि आर्थिक वर्ष २०६६/६७ मा प्रावि तहको लागि रु.२२,००० पठाइएको जानकारी शिक्षा विभागका उपसचिव कृष्णप्रसाद ढुङ्गानाले गराउनु भएको छ । (शिक्षक मासिक, २०६७ भदौ) तर सो रकम हालसम्म विद्यालय खातामा जम्मा भएको छैन । त्यो रकम कुन शीर्षकमा कहिलेसम्म खातामा निकासा भई आउने र पारिश्रमिक पाउने हो ?
धनबहादुर खड्का
प्रावि लेकहातीखाल, छिन्चु–१, सुर्खेत
आव २०६६/६७ कै कार्यक्रममा निश्चित प्रक्रिया पुगेका विद्यालयहरूले पाउने गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा क्रमशः रु.२२,०००, २७,००० र ३१,००० पठाइएको र चालु आव देखि रु.४२,००० (प्रावि), ५२,००० (निमावि) र ६५,००० (मावि)का दरले ७५ वटै जिशिकामा रकम निकासा भइसकेको छ । जिशिकाबाट रकम निकासा लिनका लागि आफ्नो विद्यालयलाई अनुरोध गर्नु होला ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग
राहतको बढुवा हुन्छ र ?
अस्थायी शिक्षकले पनि बढुवा भएर माथिल्लो श्रेणीको तलब बुझेको सुनिन आएको छ, यदि हो भने राहत शिक्षकको हकमा त्यो लागू हुन्छ कि हुँदैन ?
तेजकिरण शर्मा
त्रि.ज. मावि, लक्ष्मीपुर पोखरा, सल्यान
अस्थायी शिक्षकको बढुवा गर्नै मिल्दैन । कहीँ कसैलाई त्यसरी बढुवा गरेर बढी तलब दिइएको छ भने त्यो कानुन विपरित हो । साथै, राहत शिक्षकको पनि त्यसरी बढुवा हुन सक्दैन ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग
एक तह बढुवा पाइएला ?
म २०४० सालमा प्राथमिक तृतीय श्रेणीमा स्थायी नियुक्ति पाएँ । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी २०४३ सालमा उच्च प्रावि तहमा पुनः स्थायी नियुक्ति पाएँ । साथै, क्षे.शि.नि., धनकुटाले २०५३/०७/१९ मा प्रमाणपत्र तह उत्तीर्ण गरेका उच्च प्रावि तहका शिक्षकलाई प्रा.शि. द्वितीय श्रेणीमा पदस्थापन गर्ने निर्णय गरे पछि म सोही पदमा कार्यरत छु । अब म र मजस्ता अन्य साथीले अवकाश पाउँदा एक तह बढुवा पाउँछौं कि पाउँदैनौं ?
गोविन्द दाहाल
पञ्चरत्न मावि, चारपाने–७, झपा
प्राथमिक तृतीयबाट उच्च प्रावि (द्वितीय श्रेणी सरह) बढुवा भइसकेको हुँदा तपाईं र तपाईं जस्तै अन्य शिक्षकको एक तह बढुवा पाउनुहुने छैन ।
मधुसुदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
अनुरोधः यस स्तम्भमा शिक्षक मित्रहरूले जान्न चाहेका ज्ञानविज्ञान सम्बन्धी कुरा , स्कूलमा सामना गर्नु परेका शैक्षिक र प्रशासनिक समस्या, चुनौती वा जटिलताको आधिकारिक जवाफ पहिल्याएर प्रकाशित गरिनेछ । – सम्पादक
ध्यानाकर्षण
- ‘राहत शिक्षकको भविष्य’ सम्बन्धी जिज्ञासाको जवाफ शिक्षक को अङ्क ३१ (कात्तिक, २०६७) मा प्रकाशित छ ।
- पेन्सन सम्बन्धी जिज्ञासाको जवाफका लागि शिक्षक को अङ्क २८ (साउन, २०६७) र अङ्क ३१ (कात्तिक, २०६७) हेर्नुहोला ।
- तलबमान सम्बन्धी जिज्ञासा शान्त पार्न शिक्षक को अङ्क ३० (असोज, २०६७) र अङ्क ३२ (मङ्सिर, २०६७) हेर्नुहोला ।
- यस स्तम्भमा जिज्ञासा राख्ने शिक्षक तथा अन्य पाठकहरूले आफ्नो जिज्ञासा छरितो र स्पष्टसँग पठाउनुहोला । साथमा आफ्नो पूरा परिचय र पूरा ठेगाना समेत उल्लेख गर्नु होला । परिचय नखुलेका जिज्ञासाको जवाफ खोज्न हामी असमर्थ हुनेछौं । अघिल्ला अङ्कहरूमा समेटिएका जवाफसँग मिल्ने जिज्ञासा दोहो¥याइने छैन; जवाफ छापिएका अङ्कहरू खोजेर हेर्नुहोला ।
शिक्षक का सबै अङ्कहरू हराम्रो वेवसाइट धधध।तभबअजभच।यचन।लउ मा उपलब्ध छन् ।– सं)



