मनका कुरा

एउटा अपजस

समयमै स्थायी हुन पाएको भए शायद यो सेवालाई मैले छोड्ने थिइनँ होला । तर चारपल्टसम्म शिक्षा आयोग दिँदा पनि आई.एड. गरेको कार्यरत शिक्षक पटकपटक अनुत्तीर्णगराइएँ । तर कृषि विकास बैंकको परीक्षा उत्तीर्ण गरे । विरत्तिएर होइन, रोजगारीको बाध्यताले मैले स्कूल छोड्न पुगें ।

एउटा शिक्षकले आफ्नो सेवाकालमा कति विद्यार्थीलाई तार्छ अथवा उसले क–कसलाई के कस्तो प्रभाव पारेको हुन्छ भन्ने कुरा को हिसाब कसैले पनि राखेको हुँदैन । तर समय बित्दै गएपछि विस्तारै ती कुरा हरूको उपलब्धि थाह हुँदै जाँदोरहेछ । आज म जब आफ्नो शिक्षक जीवनको स्मरण गर्छु– मलाई गर्व लाग्छ । भर्खरै एसएलसी दिएर स्वयंसेवकका रूपमा आफैंले केही महिनाअघिसम्म पढेका कक्षाकोठाहरूमा चक–डस्टर लिएर घुम्दै गर्दा आफैंलाई असजिलो र अप्ठ्यारो नलाग्ने त कुरै थिएन तैपनि विस्तारै बानी लाग्दै गएपछि मनमा एककिसिमको आत्मसम्मान को अनुभूति पनि हुन थालिसकेको थियो ।
आफैंले पढेको शनिश्चरे मावि(झपा) को विद्यालयमा म स्वयंसेवक शिक्षक थिएँ दुई वर्ष । त्यसपछि को सात वर्ष लियन पदमा रहेँ । कामको बोझ् ज्यादा र आर्थिक सुविधा कम हुँदा कहिलेकाहीँ विरक्त लाग्थ्यो । त्यसो त त्यसवेला शिक्षक जागिरबाट कोही पनि सन्तुष्ट थिएनन् । यो कुरा २०३७ सालतिर को थियो । निजामती कर्मचारीसरहको सुविधाको माग गरी पटकपटक ठूला ठूला शिक्षक आन्दोलनहरू भए । स्थायी शिक्षकहरूको सुविधा बढाउन हामी लियनहरू पनि खुब कुद्यौँ । जब कि; सुविधा बढेपछि पदका मालिक फर्केर आउँथे र आफूले बिदा लिनुपथ्र्यो । तैपनि सो पदमा मैले सात वर्ष काम गरें । ‘इन्द्रसेन सन्सारी’ सरको म लियन थिएँ । मैले २०४३ सालमा स्कूल छोडेर हिँड्दा पनि उहाँ हाजिर हुनुभएको थिएन ।

भूगोल, इतिहास, नेपाली आदि विषयहरू पढाउँथेँ । विद्यार्थीलाई पिट्थँे पनि तर उनीहरू मसँग कहिल्यै डराउँदैनथे । म छुच्चो थिएँ । परीक्षामा चिट चोर्न दिन्नथेँ, तैपनि उनीहरूको साथी जस्तो हुन्थँे । दिनदिनैका गतिविधिले कसलाई के प्रभाव पर्छ, कसलाई के ? शिक्षकले त्यो कुरा थाहै पाउँदैन । समय बितिसकेपछि कालान्तरमा ती प्रभावहरू थाह हुँदैजान्छन् जब विद्यार्थीहरू पनि अभिभावक हुँदै जान्छन् ।

स्मरणीय कैयौं कुरा छन् शिक्षक जीवनका । तैपनि साहित्यिक गतिविधिमा बिताएको मेरो समय सबैभन्दा बढी मूल्यवान भएको छ । मेरो साहित्यिक गतिविधिसँग जोडिन आएका धेरै विद्यार्थी भाइहरू आज देशका चर्चित र प्रतिष्ठित साहित्यकार भएका छन् । मलाई पनि स्थापित गराउन उनीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । उसवेलाका फुच्चे विद्यार्थी भाइहरू जब उच्च अध्ययनको सिलसिलामा राजधानी गए; उनीहरूले मेरा साहित्यिक कृतिहरूको प्रकाशन र प्रसारणमा साह्रै ठूलो काम गरे । यसमा दुबसु क्षेत्री, केवल भण्डारी, भीष्म उप्रेती, टङ्क उप्रेती, कृष्ण भण्डारी लगायतका धेरै भाइहरूको गुन सम्झन्छु । उनीहरूको प्रत्यक्ष भावनात्मक तथा आर्थिक सहयोग नपाएको भए आजको म हुन अझ् धेरै समय लाग्थ्यो वा सम्भव नै थिएन पनि । म उनीहरूप्रति कृतज्ञ छु र खुसी पनि किन छु भने जुनवेला म शिक्षक थिएँ विद्यालयले मलाई खासै पैसा दिँदैनथ्यो, तर त्यसको व्याजको स्याज पनि असुल भएको छ आज उसवेलाका विद्यार्थी भाइहरूको मद्दतले ।

एउटा शिक्षकले आर्थिक आकर्षण मात्र हेर्ने होइन रहेछ । उसले त भविष्यसँग खेलिरहेको हुँदोरहेछ । त्यो भविष्य समाज र राष्ट्रको पनि हो– आफ्नै पनि । मेरो प्रतिभालाई प्रसारण गराउने काममा कुनै समयका विद्यार्थी भाइहरूकै सहयोग छ । हुन त उनीहरू मेरा मात्र विद्यार्थी थिएनन् । त्यसवेलाका शनिश्चरे माविका २४ जना शिक्षकका उनीहरू विद्यार्थी थिए । अरू शिक्षकहरूले के–के पाए थाह छैन तर मैले भने आशा न गरेको फल पाएँ ।

एउटा शिक्षकले आफ्नो पेशालाई केवल आर्थिक विषयसँग मात्र जोड्ने कि आदर्शसँग पनि जोड्ने ? शिक्षालाई व्यापार मात्र सोच्ने कि समाज को क्यानभास पनि सोच्ने जहाँ चित्र बन्छ ।

मेरो सात वर्षको शिक्षक जीवन अत्यन्तगौरवान्वित छ । त्यसवेला समयमै म स्थायी हुन पाएको भए शायद यो सेवालाई म छोड्ने थिइनँ होला । तर चारपल्टसम्म शिक्षा आयोग दिँदा पनि म आई.एड. गरेको कार्यरत शिक्षक पटकपटक अनुत्तीर्णगराइएँ । संयोगले कृषि विकास बैंकको परीक्षा उत्तीर्ण गरेको दुई महिनापछि को शिक्षा आयोगको रिजल्टमा म पास भएको थिएँ । तर बैंकमा नियुक्ति पाइसकेको मैले फर्केर जाने विचार गरिनँ । शिक्षक पेशासँग विरक्त भएर म बैंकतिर लागेको थिइनँ, रोजगारीको खोजी गर्दै जाँदा म यहाँ आइपुगेको थिएँ ।

शिक्षक जीवनका कैयौं जसहरूसँगै एउटा अपजस पनि थाहा पाएँ धेरैपछि । २०५० सालमा म काँकडभिट्टा साना किसान विकास आयोजनामा कार्यरत थिएँ । एक दिन दिउँसो खाजा खान एउटा सानो छाप्रे पसलमा पुगेको वेला त्यहाँ उपस्थित धेरैले नमस्कार गरे । म बैंकको कर्मचारी भएकाले ऋणी कृषकहरूले नमस्ते गरिरहन्थे । सबैको नमस्ते फर्काएर म पनि उनीहरूकै बीचमा बसेँ । एक जना युवक मसँग ज्यादै परिचित जस्तो बोल्न लागे । अनुहार हेरें चिने जस्तो थियो तर ठम्याउन सकिनँ । निकै बेरका यताउताका कुरा कानीपछि उनले सोधे—
— ‘सरले मलाई बिर्सनुभो जस्तो छ । हुन त निकै वर्ष पनि त भो ।’
मैले लाज पचाउँदै उनलाई चिन्न नसकेको कुरा भनें । उनले भने– ‘तपाईंले सबैलाई चिनेर पनि के साध्य र ! सधैँ कैयौं मानिसहरूसँग परिचय भइरहन्छ । तर म चाहिँ तपाईंको विद्यार्थी थिएँ निकै वर्षअघि ।’
२०४३ सालमा मैले विद्यालय छोडेको । त्योभन्दा अघिको विद्यार्थी भने पछि यसै पनि एक दशकअघिको कुरा थियो । मैले जिज्ञासा राखें । उनले भने–
— ‘म सरको विद्यार्थी थिएँ । कालिस्थान हो मेरो घर । म खरेल हुँ । अब सम्झ्नोस् ।’
तैपनि मैले ठम्याउन सकिनँ । उनले थपे–
— ‘तर मैले पढाइ पूरा गरिनँ, त्यो पनि तपाईंकै कारणले ।’  
यो सुनेर मनमा कता–कता नमीठो लाग्यो । मेरो कारणले उसको पढाइ कसरी पूरा भएन होला ? म त एउटा साधारण शिक्षक थिएँ, म प्रशासक पनि थिइनँ । फेरि म त्यति साह्रो छुच्चो पनि थिइनँ कि कसैलाई त्यति हदसम्म दुः ख दिऊँ ! उसको कुरा अनौठो लागेर हाँस्दै सोधें—
— ‘मैले के गरें र भाइको पढाइ पूरा भएन त ?’
उसले हाँस्दै भन्यो—     
— ‘तर आज म सरलाई धन्यवाद दिन्छु । तपाईंले कक्षा आठको परीक्षाको मेरो उत्तरपुस्तिकामा चिटेड लेखेर सही न गरी दिएको भए यहाँभन्दा पाँच हजार कि.मी. टाढा बम्बै पुगेर म यो मेकानिक्स बन्न सक्ने थिइनँ, न यो काँकडभिट्टामा आज यत्तिकोग्यारेज नै खोल्न सक्ने थिएँ । त्यसवेलाका मेरा साथीहरू कलेज पढेर पनि आज बेरोजगार छन् । तर म त दिनको तीनचार हजार रुपैयाँ सजिलै कमाउन सक्छु ।’
उनको कुरा ले म चिसो भएँ । मनमा कत्ति नमीठो लाग्यो । यस्तो सुल्टोसुल्टो मात्र सुन्ने बानी परेको मलाई यो उल्टो प्रशंसाले लज्जित बनायो । वरिपरि बसेका मानिसहरू पनि अलमल्ल परे ।
मैले सोधे— ‘परीक्षामा चिट चोर्नु रराम्रो कुरा थियो त ? एउटा शिक्षकले त्यो त गर्छ गर्छ नि ।’
उसले भन्यो— ‘यो कुरा आज त मैले पनि बुझेको छु नि, तर त्यसवेला तपाईंप्रति म ज्यादै रिसाएको थिएँ । तपाईंलाई बाटो पनि ढुकेँ । पछि सोचेँ एउटा कापीमा सही गरे पछि अरू विषयको परीक्षा दिनुको के अर्थ भनी मैले परीक्षा दिइनँ र फेरि कहिल्यै स्कूलगइनँ ।’

मन दुः खी भयो । मेरो कारणले एउटा विद्यार्थीको जीवनमा कस्तो असर परेछ । ऊ के हुनुपर्ने मान्छे के भएछ । मेरो एउटा सहीले उसको तमाम जीवनको बाटै मोडिएछ । तर म पनि त के गर्न सक्थेँ र ? शायद उसले मलाई पटक–पटक हेप्यो होला, टेरेन होला । मलाई असह्य भएपछि सही गरिदिएँ होला । जेहोस्; एउटा शिक्षकको हातमा रहेको चक बालकको भविष्यको रेखा खिच्ने साधन पनि हो रहेछ ।

आज पनि जब म उसलाई सम्झन्छु, भित्र कता–कता नमीठो लाग्छ । तर त्यो कर्म मैले आफ्नो कर्तव्य पूरा गर्नु पर्दा गरे थेँ ।
भन्न मन लाग्छ– शिक्षक हुनु भनेको कुनै कार्यालयको खरिदार, सुब्बा वा अधिकृत हुनु जस्तो होइन । ठूलो नैतिक, सामाजिक र भावी जिम्मेवारी हुन्छ । भविष्यसँग धेरै जवाफदेही हुन्छ । आजको एउटा असल वा खराब कामको भयानक परिणति हुन्छ । तर म सन्तुष्ट छु, मैले खराब भन्दा असलै काम बढी गरें होला, किनभने त्यो एउटा बाहेक अरू अपजस पाएको छुइनँ ।
कृष्ण धरावासी
झापा

commercial commercial commercial commercial