शिक्षा र अध्यात्म : खाँचो ‘फ्यूजन’को
हाम्रा विद्यार्थीले गणित, विज्ञान, अङ्ग्रेजी जस्ता हरेक विषय पढ्नैपर्छ । हाम्रा विद्यार्थी पनि आज ठूला डाक्टर, इञ्जिनियर, कम्प्युटरका विज्ञ भएका छन् । यही हो ‘आर्ट अफ लिभिङ’ । समस्यालाई कसरी समाधान गर्ने , मस्तिष्कलाई कसरी चुस्त राख्ने, सम्बन्धलाई कसरी सुस्थापित गर्ने , सकारात्मकताको विकास कसरी गर्ने ? जस्ता कुरा हरू चाहिँ ‘आर्ट अफ लाइफ’मा पर्छन् ।
तपाईंको परिचय ?
म दाङमा जन्मिएको हुँ । प्रारम्भिक शिक्षा भारतको दिल्लीमा गुरुकुलबाट पूरा गरें । त्यहाँ आठ वर्ष बिताएर म नेपाल फर्किएँ । त्यतिवेला १६ वर्षको उमेर नपुगेसम्म एसएलसी परीक्षा दिन पाइँदैनथ्यो । तर, मैले त्यही उमेरमा शास्त्री (स्नातक) तहमा भर्ना हुन आवेदन दिएँ । प्रवेश परीक्षामा सफल भई म त्रिभुवन विश्वविद्यालय अन्तर्गतको संस्कृत अध्ययन संस्थान, दाङमा भर्ना भएँ । पछि काठमाडौंको वाल्मीकि क्याम्पसबाट न्यायदर्शनमा स्नातकोत्तर (आचार्य) प्रथम श्रेणीमा उत्तीर्ण गरें ।
दाङमै नपढेर दिल्ली पुग्नुपर्ने बाध्यता चाहिँ के थियो ?
मेरो परिवारगोरक्षनाथ संस्कार र परम्परामा हुर्किएको हुँदा बुबा–आमामा कम्तीमा एउटा छोराले चाहिँ संस्कृत पढे हुन्थ्यो भन्ने चाहना थियो । त्यसैले म दिल्ली गएको हुँ ।
संस्कृत पढ्दैमा तपाईंलाई राजनीति, जागिर, व्यापार वा अन्य पेशामा लाग्न कुनै रोकावट हुनेथिएन । तैपनि शैक्षिक क्षेत्र नै किन रोज्नुभयो ?
वास्तवमा संस्कृत पढ्न पाएकोमा मलाई ठूलोगर्व छ । संस्कृतकै माध्यमबाट जीवनमा केही फरक काम गर्नु पर्छ भन्ने दृढता पनि थियो । काठमाडौं आएपछि मातृभूमि सेवक संघ भन्ने संस्थासँग मेरो सम्पर्क भयो । त्यो संस्थासँग आबद्ध भएर मैले एक वर्षसम्म स्वयंसेवा गरें । त्यतिवेला हरेक साँझ् हामी काठमाडौंका बालबालिकाहरूलाई ‘बाल संस्कार’ कार्यक्रम सञ्चालनगथ्र्यौं । त्यसबाट मलाई बच्चाहरूसँग रमाउन र खेल्न सक्छु भन्ने कुरा को अनुभूति भयो । त्यसले पनि मलाई शैक्षिक क्षेत्रमै काम गर्न अभिप्रेरित गरयो र २०४२ सालमा हिन्दू विद्यापीठ स्थापना गरें । त्यतिवेला मेरो उमेर २१ वर्ष मात्रै थियो ।
तपाईंको प्राथमिकता शिक्षा हो कि अध्यात्म ?
पहिलो कुरा त म शिक्षा र अध्यात्मलाई छट्याउनै चाहन्न । हिन्दू विद्यापीठ नेपाल स्थापना गरेर यहाँसम्म ल्याएको आधारमा म आफूलाई बढी शिक्षासेवी ठान्छु । अध्यात्मिक चिन्तन भनेको एउटा ठूलो चिन्तन हो । त्यही चिन्तनलाई शिक्षाको क्षेत्रमा लगाएको छु । अहिले चाहिँ म अध्यात्म शिक्षाको प्रचारप्रसारमा बढी संलग्न छु । तसर्थ; मेरो कामलाई शिक्षा र अध्यात्मको ‘फ्यूजन’ भन्दा हुन्छ ।
हाम्रा सरकारी स्कूलको शिक्षालाई कसरी हेर्नुहुन्छ ?
मैले बुझे अनुसार सरकारको वार्षिक बजेटको सबैभन्दा बढी लगानी (१७ प्रतिशत) शिक्षा क्षेत्रमा छ । तर, त्यसको तुलनामा उपलब्धि चाहिँ कमजोर देखिन्छ । शिक्षामा चरम राजनीतिक हस्तक्षेप हुनु एउटा ठूलो समस्या भएको छ । अर्कोतिर कतिपय शिक्षकहरू पनि राजनीतिक दलका झ्ण्डा बोकेर हिँड्दैछन् । यसको नकारात्मक असर स्कूलको शिक्षामा परेको छ । खास गरी सीपमूलक ज्ञान र शिक्षाको पाटो एकदमै कमजोर छ ।
बरु; शिक्षा नै नपाए पनि हाम्रा पुर्खामा धेरै व्यावहारिक ज्ञान र सामाजिक संस्कार, मूल्य–मान्यता त थियो । हरेक जातिका आ–आफ्नै पुख्र्यौली पेशा र सीपहरू थिए । तर, अहिलेको शिक्षाले न कुनै सीप दिन सकेको छ, न त संस्कार नै ।
कुनै सरकारी स्कूलमा ‘असल’ वा ‘महान्’ भन्न मिल्ने शिक्षक भेट्नुभएको छ ?
मैले प्रत्यक्ष रूपमा भेट्ने–चिन्ने अवसर त पाइनँ, तर स्व. बद्रीविक्रम थापाबाट सुनेको कुरा हो, नेपालगञ्जमा मङ्गलप्रसाद भन्ने एक जना शिक्षक थिए । त्यतिवेलाका बडाहाकिम बद्रीविक्रमजी आफ्नो कार्यालयको काम सकेर मङ्गलप्रसादकहाँ भलाकुसारी गर्न पुग्थे रे !
जीर्ण अवस्थामा रहेको मङ्गलप्रसादजी संलग्न हाईस्कूल मर्मतसम्भार गर्नु पर्ने अवस्था थियो । त्यसका लागि काठ अपुग थियो । तत्कालीन राजा महेन्द्र नेपालगञ्जमा गएका वेला मङ्गलप्रसादले यो प्रसङ्ग उनलाई सुनाएछन् । महेन्द्रले तुरुन्त वनका कर्मचारीलाई बोलाएर ‘आवश्यक काठ उपलब्धगराइदिनु’ भनेर आदेश दिएछन् । वनका कर्मचारीले बरामद भएका चोरीका काठको चाङ देखाएर ‘यो सबै लैजानुस्’ भनेर मङ्गलप्रसादलाई भनेछन् । मङ्गलप्रसादले ‘चोरीका काठबाट स्कूल बनाएर म मेरा विद्यार्थीलाई चोरीको उपयोगिता दर्साउन चाहन्न’ भनेर त्यो काठ लिन इन्कार गरे छन् । राजाको हुकुम भइसकेकाले वनका हाकिमलाई झन् आपत परयो । अनि उनले न्यायिक प्रक्रिया पुर्याएर काठ उपलब्ध गराए छन् र स्कूलको भवन बन्यो ।
वास्तवमा त्यतिवेला देशमा थुप्रै मङ्गलप्रसादहरू थिए, जसले देशको शिक्षा र संस्कारमा अतुलनीय योगदान पुर्याए ।
नेपालको सन्दर्भमा सरकारी स्कूलको स्तर मा सुधार न गरी मुलुकको समग्र शैक्षिक उन्नतिको अपेक्षा गर्न सकिँदैन । त्यसनिम्ति तपाईंका के सुझाव छन् ?
मूलरुपमा त शैक्षिक नीतिमै सुधार हुनुपर्छ । पाठ्यक्रममा सुधार गरेर त्यसलाई जीवनोपयोगी बनाइनुपर्छ । साथै राजनीतिक तहबाट शिक्षामा हस्तक्षेप न गर्ने सार्वजनिक प्रतिबद्धता आउनुपरयो । एउटा स्कूले बच्चालाई आफ्नो दलमा जबरजस्ती आबद्ध गराउने अहिलेको संस्कार बन्द हुनुपर्छ । बाल मनोविज्ञानको दृष्टिले हेर्दा यो शोषण नै हो । अर्को कुरा स्कूलको दायित्व समुदायले नै लिनुपर्छ ।
शिक्षकका लागि कस्तो तालिमको महत्व देख्नुहुन्छ ?
अहिले हामीकहाँ शिक्षक तालिमका मोडेलले शिक्षण विधि, बालमनोविज्ञान, परीक्षा पद्धति, शिक्षण योजनाको तयारीलाई धेरै हदसम्म सघाएको देखिन्छ । तर, आत्म चेतनाको विकास , नैतिक जागरण, उत्प्रेरणाको पाटो चाहिँ कमजोर छ । वास्तवमा हराम्रो देश अध्यात्म विद्याको आधारभूमि हो । समग्र मानव मूल्य/मान्यताको विकास गर्ने थलो हो । तर, हामीले मूल्य/मान्यताको विकास गर्ने तालिम पद्धतिलाई चाहिँ अवलम्बन गर्न सकेका छैनौं । त्यस्तो तालिम भइदिए त्यसले शिक्षकमा आत्मविकास , सकारात्मकतावाद, सिर्जनशीलता तथा अध्यात्मिक जीवनशैलीतर्फ अभिप्रेरित गर्छ ।
तपाईंको विद्यालयका शिक्षकले तालिमका अवसर कत्तिको पाउने गरेका छन् ?
हाम्रा शिक्षकका लागि नियमित रूपमा कार्यशाला र तालिमको अवसर दिने गरिएको छ । त्यस्तो कार्यशालामा विषयगत कुरा मात्रै नभएर अध्यात्मिक र दार्शनिक चिन्तनका कुरा हरू गरिन्छन् । हामीले हाम्रा तालिमलाई सीप, चेतना र संस्कारको विकास मा केन्द्रित गरेका छौं ।
अभिभावकले अरू निजी स्कूलको तुलनामा हिन्दू विद्यापीठलाई कुन अर्थमा भिन्न मान्ने ?
पछिल्लो समयमा युवाहरूमा नकारात्मक प्रवृत्ति बढेको देखिन्छ । यसको समाधान हो– संस्कारयुक्त र चरित्रप्रधान शिक्षा । हिन्दू विद्यापीठ नेपालले त्यस्तै शिक्षा दिने प्रयास गरिरहेको छ । शैक्षिक गुणस्तर को सवालमा अन्य स्कूलले पनि उल्लेख्य प्रगति हासिल गरेका छन् । तथापि शिक्षाले हरेक मानिसमा सामाजिक संस्कार र चरित्रको विकास गराउनैपर्छ ।
के हिन्दू विद्यापीठका विद्यार्थीहरू अन्यत्रका भन्दा बढी अध्यात्मिक हुन्छन् ?
हराम्रो प्रयास चाहिँ त्यही हो । चरित्रवान र अध्यात्मिक शिक्षा धेरै चुनौतीपूर्ण रहे पनि हामी धेरै हदसम्म यसमा सफल भएका छौं ।
तर अहिले त भौतिक र प्राविधिक शिक्षाको युग होइन र ?
त्यो पनि हो । त्यसैले त हिन्दू विद्यापीठले आफ्नो शिक्षणमा ‘आर्ट अफ लिभिङ’ र ‘आर्ट अफ लाइफ’ दुवै पक्षलाई केन्द्रित गरेको छ । हाम्रा विद्यार्थीले गणित, विज्ञान, अङ्ग्रेजी जस्ता हरेक विषय पढ्नैपर्छ । हाम्रा विद्यार्थी पनि आज ठूला डाक्टर, इञ्जिनियर, कम्प्युटरका विज्ञ भएका छन् । यही हो ‘आर्ट अफ लिभिङ’ । समस्यालाई कसरी समाधान गर्ने , मस्तिष्कलाई कसरी चुस्त राख्ने, सम्बन्धलाई कसरी सुस्थापित गर्ने , सकारात्मकताको विकास कसरी गर्ने ? जस्ता कुरा हरू चाहिँ ‘आर्ट अफ लाइफ’मा पर्छन् ।



