मेरा वाक्य–वाक्यमा गुरुवाणी

मैले अहिलेसम्म गरिरहेको पत्रकारिताको वाक्य वाक्यमा सुबोल गुरुले दिएको अर्ति, बुद्धि गाँसिएका छन् जस्तो लाग्छ मलाई । गुरु बरट्रान्ड सुबोलले सिकाएका कुरा कै आधारमा म अहिले मेरा पाठक र विद्यार्थीहरूसँग सम्वाद गर्दैछु ।

समाज मा परिवर्तन ल्याउन जनचेतना चाहिन्छ । त्यस्तो चेतना फैलाउन शिक्षा र सञ्चारमाध्यमहरूको ठूलो भूमिका हुन्छ । आफू पत्रकार भएकाले होला, मलाई चेतना जगाउन र फैल्याउनका लागि शिक्षाभन्दा सञ्चार शक्तिशाली छ जस्तो लाग्थ्यो । तर हिजोआज पत्रकारितामार्फत समाज लाई सजग बनाउन तुरुन्तातुरुन्तै सूचना प्रवाह गर्न सके पनि , त्यसले पाठक अथवा श्रोता वा दर्शकहरूमा साँच्चिकै ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा मा शङ्का लाग्न थालेको छ । बरु सञ्चारमाध्यमले त नागरिकहरूलाई झन् सङ्कुचित, नकारात्मक र आशाहीन पो बनाउने हुन् कि भन्ने लाग्न थालेको छ ।

सञ्चारका उपभोक्ता प्रायः प्रौढ मानिसहरू हुन्, जो आफ्नो बानीव्यहोरा बदल्न निकै अन्कनाउँछन् । मानिसको बानीव्यहोरामा परिवर्तन ल्याउन ‘ठीक’ वा ‘बेठीक’ के हो भन्ने कुरा को चेतना नै पहिलो आवश्यकता हुन्छ । चेतनाले मात्र पुग्दैन तर पहिलो पूर्वाधार भने चेतना नै हो । शिक्षाको माध्यमबाट समाज मा परिवर्तन ल्याउन १५—२० वर्ष लाग्ला तर भविष्यको सचेत नागरिक निर्माण गर्न सञ्चारमाध्यमले भन्दा यसले धेरै प्रभावकारी भूमिका खेलेको हुन्छ । साँच्चिकै दीर्घकालीन समाज सुधारको लागि शिक्षा नै बढी प्रभावकारी हुन्छ भन्ने मेरो निष्कर्षको आधार आफ्नै अनुभव पनि हो ।

एउटा व्यक्तिको शिक्षामा एउटा विद्यालय, एउटा शिक्षक अनि बाबुआमाको ठूलो भूमिका रहेको हुन्छ । मलाई प्राथमिक देखि हाईस्कूल, कलेज र युनिभर्सिटीसम्म धेरै शिक्षकहरूले पढाए । तर अहिले ५६ वर्षको उमेरमा आएर हेर्दा एउटा गुरुले मेरो पूरै विचार प्रणाली, समाज लाई हेर्ने र सोच्ने तरिका नै निर्माण गरिदिए जस्तो लाग्छ ।

हामी ६ कक्षामागोदावरीको सेन्ट जेभियर्स स्कूलमा पढ्थ्यौं, म १२ वर्षको थिएँ । बेल्जियमका पादरी बरट्रान्ड सुबोल हामीलाई ‘ज्ञानी कसरी बन्ने’ नामको पुस्तकको आधारमा ‘मोरल साइन्स’ भन्ने विषय पढाउनु हुन्थ्यो । फादर सुबोलले हामीलाई ‘ज्ञानी हुनुपर्छ’ भनेर सीधा कहिल्यै भन्नु भएन, बरु आफ्नै सरल र मिलनसार व्यक्तित्वलाई नै उदाहरण बनाएर ज्ञानी हुन नै सिकाउनु भयो । उहाँले त्यसवेला हराम्रो कमलो मनमा गहिरो प्रभाव पर्ने गरी सिकाएको कुरा अहिलेसम्म म सम्झन्छुः ‘आफूभन्दा कमजोरलाई मद्दत गर्नू, सबैसँग हाँसीखुसी व्यवहार गर्नू, कहिल्यै नरिसाउनू, सधैँ सकारात्मक विचार राख्नू, प्रकृति र वातावरणको रक्षा गर्नू, आफ्नो सुन्दर देशलाई समृद्ध बनाउन लाग्नू तर अरू माथि टेकेर र थिचेर अथवा वातावरणलाई बिगारेर हैन ।’

सुबोल गुरुले यी मूल्यमान्यताहरूलाई धर्मको दृष्टिले कहिल्यै हेर्नुभएन । आफैँ धर्म गुरु भए पनि क्राइस्टले भनेको हुनाले यी कुरा हरू हामीले मान्नुपर्छ भन्नुभएन । उहाँले येशुको नाम कहिल्यै लिनुभएन हराम्रो अगाडि । उहाँले हामीलाई जे सिकाउनु भयो त्यो सबै आधारभूत मानव तामा आधारित थियो । उहाँले धर्मबाट भन्दा अध्यात्मबाट संसार हेर्न सिकाउनु भयो ।

म फादर सुबोलको कोठानिरको चौरमा उहाँको मौरीपालन हेर्न जान्थें, उहाँले बनाएको सानो वायोग्यासको उपकरण एकदमै घत लाग्थ्योः गोबरबाट नीलो र धुवाँ नआउने आगो निकालेको देखेर । फादर सुबोलसँग हामी लेले, नारायणथान, किट्नी, फूल्चोकीको पदयात्रागथ्र्यौं । नेपालमा औपचारिकरूपले भित्रिनुभन्दा धेरै पहिले नै उहाँले हामीलाई सुधारिएको चुलो, लघु जलविद्युत्, मकै पिँध्ने मात्रै होइन कि बिजुली पनि निकाल्न सक्ने घट्ट जस्ता कुरा देखाइसक्नुभएको थियो । उहाँ हामीलाई जङ्गलको बाटो हिँडेका वेला जडीबुटीको बारेमा बताउनुहुुन्थ्यो । वनको इको–सिष्टममा हरेक जीवाणुको आफ्नो भूमिका हुन्छ र यसले वातावरणीय सन्तुलन ल्याउँछ भन्ने कुरा मैले १२—१३ वर्षकै उमेरमा जानेको थिएँ । तर यो ज्ञान मैले कक्षामा बसेर किताबहरू पढेर हैन, गुरुसँग भावरको लेकको वनजङ्गल घुमेर सिकेको थिएँ ।

फूल्चोकीको ३,१०० मिटरको उचाइबाट सुबोल गुरु उत्तरतिर लहरै विराजमान हिमालहरूको परिचय दिनुहुन्थ्यो । हराम्रो देशका पहाडहरू हामीलाई नै चिनाइदिनुहुन्थ्यो । त्यो उमेरमै मलाई धौलागिरि, अन्नपूर्ण, हिमालचुली,गणेश, लाङटाङ, दोर्जेलाक्पा,गौरीशङ्कर, नुम्बुरको आकार; ती शिखरहरूको उचाइ र त्यहाँ बग्ने खोलानालाहरू कण्ठ थिए । नेपालको भूगोल मैले किताबबाट पछि मात्रै सिकेँ, त्योभन्दा धेरै पहिले गुरुको आँखाबाट देखेँ र जानेँ ।

जीव–विज्ञान, भूगर्भ–विज्ञान, समाज शास्त्र, उपयुक्त प्रविधि र ‘इकोलोजी’प्रतिको मेरो रुचि र ज्ञान ती पहाडहरूको पदयात्रा र सुबोल गुरुले वायोग्यास बालेर खुवाएको चियाबाटै आएको हो । विज्ञान मात्रै होइन, समाज मा बस्न, गुन लगाउन, एउटा नमुना नागरिक बन्न के–के गर्नु पर्छ भन्ने कुरा उहाँले अर्ति दिएर, प्रवचन गरेर अथवा घोकाएर नभई आफ्नै व्यवहारबाटै सिकाउनु भयो । बाँच र बाँच्न देऊ, आफ्नो स्वतन्त्रताले अरूको स्वतन्त्रतालाई असर नपारौँ भन्ने भावना तथा स्वाभिमान , देशप्रेम, नेपाली हुँ भन्नेगर्व र आफ्नै देश चिन्ने प्रेरणा एउटा परदेशी गुरुले कलिलै उमेरमा ममा जागृतगराइदिनुभएको रहेछ ।

स्कूलपछि म त्रि–चन्द्र कलेजमा ‘जियोलोजी’ र ‘वायोलोजी’ पढ्न गएँ । विज्ञानमा खुबै रुचि थियो । मास्टर्स गर्न नेपाल बाहिर गएँ । एमएस्सीको थेसिस गर्दा चिसो ठाउँमा कसरी वायोग्यास निकाल्ने भनेर अनुसन्धान गरें । युरोपका मेरा अर्का गुरुले धेरै प्रशंसा गरेका थिए मेरो वायोग्यासको नयाँ खालको डिजाइन बारे । मलाई पनि ‘ए म त ठूलै वैज्ञानिक पो भएछु क्यारे’ जस्तो लाग्थ्यो र आफ्नो नयाँ यन्त्रले नेपालका हिमाली भेगमागोबरग्यास फैलाउन मद्दत गर्छ भन्ठान्थेँ ।

स्कूल छाडेको १० वर्षपछि सन् १९८० मा सुबोल गुरुसँग भृकुटीमण्डपमा वायोग्यासको प्रदर्शनीमा भेट भयो । मलाई त खुसी लाग्ने नै भयो, गुरु पनि मलाई देखेर खुसी हुनुभयो । मैले मेरो नयाँ वायोग्यास उपकरणको बारेमा घमण्ड गरेर बताएँ । गुरुले मलाई स्याबासी दिनुहोला र मेरो ज्ञान एवं सीपको तारिफ गर्नु होला भन्ठानेको थिएँ । तर उहाँले सोध्नुभयो, “कति पर्छ यो वायोग्यास बनाउन ?” मैले ‘करिब १० हजार डलर पर्ला’ भनेँ । र, उहाँले त्यसवेला भनेको वाक्यले मलाई छानाबाट खसेजस्तै भयो । “कुन्द, दैवले यस्तो सरल र सस्तो किसिमले बनाइदिएकै कुरा लाई तिमीले किन यतिको महँगो र जटिल बनाएको ?”
त्यसवेला मलाई लाग्यो कि मैले गुरुबाट केही पनि सिकेको रहेनछु । वायोग्यासलाई नेपाली गाउँघरमा दाउराको विकल्प बनाउने हो र धेरै प्राङ्गारिक मल तयार गर्ने हो भने सबैभन्दा मुख्य कुरा यो प्रविधि सस्तो हुनुपर्ने थियो । मैले बनाएको डिजाइन त युरोपको लागि पनि महँगो थियो । गुरुबाट मैले अझै सिक्दै थिएँ, नेपाल जस्तो मुलुकमा विज्ञान र प्रविधिको प्रयोग र व्यावहारिकताका बारेमा धेरै ध्यान दिनुपर्छ । “सानो सुन्दर हो” भन्ने कुरा बुझेँ ।

पछि वैज्ञानिक हुन छाडेर म पत्रकारितातिर लागेँ । कस्तो खालको पत्रकारिता गर्दा देश, समाज र वातावरण संरक्षणलाई मद्दत गर्छ भन्ने बारेमा डेटलाइन अर्थः जर्नलिजम एज इफ द प्लानेट म्याटर्ड नामक किताब पनि प्रकाशितगरँे । त्यस किताबमा र मैले अहिलेसम्म गरिरहेको पत्रकारिताको वाक्य वाक्यमा सुबोल गुरुले दिएको अर्ति, बुद्धि गाँसिएका छन् जस्तो लाग्छ मलाई । गुरु बरट्रान्ड सुबोलले सिकाएका कुरा कै आधारमा म अहिले मेरा पाठक र विद्यार्थीहरूसँग सम्वाद गर्दैछु ।

commercial commercial commercial commercial