गतिविधि

हुँदै नभएका स्कूलको नाममा लाखौं निकासा प्रकरण
पर्सा जिशिकाका २०० फाइल अख्तियारमा

शिक्षक को अघिल्लो (कात्तिक, २०६७) अङ्कमा भौतिक अस्तित्व हुँदै नभएका विद्यालयका नाममा लाखौं रकम निकासा भएको समाचार छापिएपछि अदुअआले पर्सा जिशिकाका २०० वटा फाइल नियन्त्रणमा लिई छानबिन थालेको छ ।
‘हुँदै नभएको विद्यालयको नाममा लाखौं निकासा’ भन्ने रिपोर्ट छापिएपछि त्यस्ता स्कूलका नाममा लाखौं रकम झवाम पार्नेहरू कारबाही हुने डरले चलबलाउन थालेका छन् । त्यस्ता नामधारी स्कूलका केही सञ्चालकहरू नयाँ ‘साइन बोर्ड’ राखेर स्कूलको अस्तित्व देखाउने कोशिशमा लागेका छन् भने केहीले स्कूलका निम्ति जग्गा किन्ने सुरसार कसेका छन् ।

१४ कात्तिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव समिर सिलवालको नेतृत्वमा आएको टोलीले जिल्ला शिक्षा कार्यालय पर्साका कागजात नियन्त्रणमा लिएको छ । जिशिका पर्साको टिप्पणी रजिस्टर, स्वीकृत आदेश, लेखा प्रतिवेदन, विद्यालय भवन निर्माणको सिफारिस, ब्याङ्क स्टेटमेन्ट, पेस्की फस्र्योट, लेखा श्रेस्ता, सक्कल माइन्युट, ब्लक मरम्मतको श्रेस्ता, २०६६ देखि २०६७ सम्म भएका राहत र पीसीएफ दरबन्दी वितरण, निकासा र खर्च सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झले बताए । कर्मचारीहरूका अनुसार अख्तियारले जिशिका पर्साबाट २०० वटा फाइल लगेको छ ।

अख्तियारको टोलीले जिशिअ केदार तिवारीलाई फोन गरेर भेट्न खोज्दा उनी सम्पर्कमा आएनन् । प्रजिअ झले अख्तियारले छानबिन थालेकाले आफूले हुँदै नभएका स्कूलका नाममा रकम निकासा गरी भ्रष्टाचार गर्नेहरूबारे कारबाही अघि नबढाएको जानकारी दिए ।

शिक्षक मा समाचार प्रकाशित भएपछि जैनवग्रल्र्स स्कूलका अध्यक्ष इमामुदिन उल हुसैनले कारबाहीबाट जोगिन आफू प्रिन्सिपल रहेको मुस्लिम इङ्गलिस स्कूलमा नयाँ बोर्ड झुन्ड्याएका छन् । सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णको निर्वाचन क्षेत्र विकास कोषबाट हुसैनको विद्यालयलाई फर्निचरको लागि भनेर रु.१ लाख २५ हजार अनुदान गएको पनि खुल्न आएको छ ।

नगरदाहा गाविसको रामजानकी प्राविको नाममा रु.३ लाख १९ हजार ५३२ निकासा भएको समाचार पढ्दा नगरदाहाका बासिन्दा आश्चर्यचकित भएका छन् । स्थानीय रामाधार यादवले अस्तित्वमै नभएको विद्यालयको नाममा त्यत्रो रकम हिनामिना गरिएकाले व्यवस्थापन समितिका अध्यक्ष प्रेम यादवको विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने बताएका छन् ।
पर्साको अलौँ गाविस ५ मा सञ्चालन अनुमति पाएको सल्फिया दारुल हदिसका अध्यक्ष अफजल हुसैन अन्सारीले समाचार प्रकाशित भएपछि मदरसाको नाममा जग्गा किन्ने तयारी गरेको बुझएिको छ । नक्कली स्कूलका नाममा सरकारी कोषबाट रकम निकासा गरी अनियमितता गरिएकोले अख्तियारले पर्साका सबै सरकारी स्कूलका ब्याङ्क खाता रोक्का गरेको छ ।

भूषण यादव/वीरगञ्ज

अनसन बस्नेले तलव पाउने

पाँच दिन लामो अनसनपछि जिल्ला शिक्षा कार्यालय, सप्तरीले अघिल्लो वर्ष राहत र पीसीएफ अनुदानमा नियुक्त भएका शिक्षकको तलब/भत्ता दिने भएको छ । लामो समय देखि तलब नपाएपछि विभिन्न स्कूलका पाँच जना शिक्षक १४–१८ कात्तिकमा जिशिकामा अनसन बसेका थिए ।

१८ कात्तिक बसेको सर्वदलीय बैठकले ६ मङ्सिर २०६७ सम्ममा उनीहरूको अहिलेसम्मको तलब निकासा गर्ने निर्णय गरेको जिशिकाले जनाएको छ । अनसन बस्नेहरूमा राष्ट्रिय प्रावि, बनौलीका सनिता यादव, मावि बोरियाका बरुण कुमार यादव, मावि बथनाहाका रामदेव यादव, मावि पोखरियाका शिवनारायण चौधरी र मावि रामपुर जमुवाका विक्रम चौधरी थिए ।
गत साल केदार तिवारी सप्तरीको जिशिअ हुँदा विभिन्न स्कूलमा राहत र पीसीएफ अनुदानमा लगभग १०० जना शिक्षक नियुक्त गरिएका थिए । शिक्षकको नियुक्तिलगत्तै तिवारी सप्तरीबाट सरुवा भए । अहिले उनी पर्साका जिशिअ छन् । जिल्ला शिक्षा समितिबाट स्वीकृत नभई कोटा बाँडिएको भन्दै शिक्षा कार्यालयले अनसनकारी शिक्षकहरूको तलब रोकेको थियो ।

तलब रोक्ने जिशिकाको निहुँमा कुनै दम नभएको बताउँदै जनता निमावि, भेडियाका प्रअ अरुण कुमार सिंह भन्छन्, “शिक्षा कार्यालयले दिएको कोटाको सिफारिस पत्र हामीसँग सुरक्षित छ । त्यसैले तलब रोक्न मिल्दैन ।” शिक्षक नियुक्तिपछि शिक्षा कार्यालयबाटै प्रति शिक्षक रु.२० हजार मागिएको समेत सिंहले बताए । नियुक्तिपछि शिक्षकसँग पैसा असुल्ने नियतका कारण जिशिकालेगत साल शिक्षा समितिको स्वीकृति नलिई अनुदान कोटा बाँडेको आशङ्का सबैले गरेका छन् । नेपाल शिक्षक युनियन, सप्तरीका अध्यक्ष भवेन्द्र यादव प्रक्रियागलत भएको भए पहिल्यै नियुक्ति बदर गर्नु पर्ने जिकिर गर्छन् । उनको कथन छ, “तत्कालै नियुक्त भएर तलब माग गरेको भए केही त्रुटि हुन सक्थ्यो । तर, ११ महिनासम्म काम गरिसकेपछि त्यसलाई अवैधानिक भन्नुगलत नियत हो ।”
श्रवण कुमार देव/राजविराज

युनियनलाई रु.२ करोड

चार वर्ष देखि शिक्षकहरूको क्षमता विकास का निम्ति नेपाल शिक्षक युनियनलाई अनुदान दिँदै आएको डेनिस टिचर्स युनियन (डीएलफ) ले सन् २०११ देखि २०१४ सम्मका लागि युनियनलाई थप रु.२ करोड अनुदान दिने भएको छ । युनियनका कार्यवाहक अध्यक्ष दिलबहादुर जोशी र डेनिस टिचर्स युनियनका विदेश सचिव टोर एसमोसनबीच यस सम्बन्धी सम्झौतामा असोजको दोस्रो साता काठमाडौंमा हस्ताक्षर भएको छ ।

उक्त बजेटबाट युनियनले आउँदो तीन वर्षसम्म युनियनका पदाधिकारी तथा सदस्यको निम्ति नेतृत्व विकास सम्बन्धी तालिम तथा त्यसका प्रशिक्षकहरूलाई पुनर्ताजगी, युनियनद्वारा प्रकाशित पुस्तिकाहरूको परिमार्जन र प्रकाशन तथा विभिन्न तहमा सम्वाद र छलफल कार्यक्रमहरू गर्ने छ । साथै, युनियनका महिला सदस्यहरूलाई शिक्षक सेवा आयोगको परीक्षाको तयारी सम्बन्धी प्रशिक्षण पनि सोही बजेटबाट सञ्चालन गरिनेछ ।

डीएलएफले विगतमा दिएको अनुदानबाट नेपाल शिक्षक युनियनका पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व क्षमताको विकास अपेक्षाअनुरुप नभएको कुरा उक्त परियोजनाको प्रभाव सम्बन्धमा भर्खरै गरिएको एक अध्ययनले देखाएको छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. सरस्वती भारतीले संयुक्त रूपमा गरेको ‘टिचर युनियन अफ नेपाल क्यापसिटी विल्डिङ फर सोसिअल डाइलग’ नामको उक्त अध्ययनले युनियनले आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्न अझै धेरै काम गर्न बाँकी रहेको औंल्याएको छ । यसअघि युनियनलाई डीएलएफले सन् १ जुन २००७ देखि ३१ मे २०१० सम्मका निम्ति ‘ज्वाइन्ट प्रोजेक्ट फर दि क्यापसिटी विल्डिङ अफ टिचर युनियन अफ नेपाल’ नामको तीनवर्षे परियोजनाका निम्ति रु.७४ लाख अनुदान दिएको थियो । उक्त परियोजनाका बाँकी कार्यक्रम डिसेम्बरसम्म सम्पन्न गर्न डीएलएफले युनियनलाई असोजमै पुनः रु.३० लाख ९८ हजारको बजेट थपिदिएको छ ।

बैठकमा विवाद

नेपाल शिक्षक युनियनको कात्तिक १४–१६ गतेसम्म बसेको राष्ट्रिय समितिको बैठक नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीचको विवादका कारण विना निष्कर्ष टुङ्गिएको छ ।

युनियनको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष दिलबहादुर जोशीलाई नियुक्त गरी वरिष्ठ उपाध्यक्षमा युनियनका केन्द्रीय सदस्य भरत शाहलाई चयन गरिनुपर्ने सङ्गठनको प्रस्ताव संघले नमानेपछि बैठक तीन दिनसम्म त्यसमै अल्झ्एिको थियो । संघले विधान अनुसार युनियनको पूर्ण अध्यक्ष चयन राष्ट्रिय महाधिवेशनले मात्र गर्न सक्ने भएकाले राष्ट्रिय समितिको बैठकले उक्त निर्णय गर्न नमिल्ने अडान लिएको थियो । सङ्गठनले चाहिँ युनियनको चारवर्षे कार्यकालका लागि अध्यक्ष मा सङ्गठनको पालो भएकाले सङ्गठनको प्रस्ताव संघले मान्नुपर्ने धारणा राखेको थियो ।

युनियनका महासचिव चुन्नीशरण यादवले दिएको जानकारी अनुसार उक्त विवाद सुल्झउन युनियनमा आवद्ध संस्थाका महासचिवहरूसमेत उपस्थित हुने गरी १३ मङ्सिर २०६७ मा युनियन सचिवालयको बैठक बोलाइएको छ । सङ्गठनको तर्फबाट युनियनको केन्द्रीय सदस्य बनेका शिक्षकहरू सानोभाइ कार्की र टङ्क केसीले सङ्गठन परित्याग गरेका कारण रिक्त हुन आएको स्थानमा चेतप्रसाद दवाडी र दामोदर पौडेललाई मनोनीत गर्न राखिएको प्रस्ताव पनि पारित भएको छैन ।

युनियनले अहिलेसम्म आबद्ध नभएका शिक्षकका विभिन्न पेशागत संस्थाहरूलाई युनियनमा आवद्ध हुन लिखित पत्राचार गरेको छ । महासचिव यादवका अनुसार, मधेशी शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक युनियन, अखिल नेपाल शिक्षक संघ, विद्यालय कर्मचारी युनियन र संस्थागत विद्यालय शिक्षक युनियनलाई युनियनमा आवद्ध हुन औपचारिक रूपमा आग्रह गरिएको छ । उनले भने, “ती संस्थाले युनियनमा आवद्ध हुने रुचि देखाएका छन् । प्रक्रिया पूरा गरेर उनीहरूलाई युनियनको छाताभित्र समेटिनेछ ।”

युनियनमा अहिले नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक मञ्च र नेपाल राष्ट्रिय शिक्षक परिषद् मात्र आवद्ध छन् ।

दुई रुपैयाँ अभियान

नेपाल शिक्षक युनियनको महिला विभागले ‘दुई रुपियाँ दाम, सिर्जनात्मक काम’ भन्ने नारासहित अवसरबाट बञ्चित बालबालिका तथा महिलाको उत्थान गर्ने लक्ष्यले रकम सङ्कलन अभियान शुरु गरेको छ । प्रारम्भिक रूपमा एक वर्ष सञ्चालन हुने उक्त अभियानमा युनियनका सदस्य तथा पदाधिकारी, आवद्ध संस्थाका सदस्य, शिक्षक तथा विद्यालय कर्मचारी, छात्रछात्रा तथा अभिभावकहरू सहभागी हुने युनियनकी उपाध्यक्ष एवं महिला विभाग प्रमुख पूर्णा जोशीले जानकारी दिइन् । उनको कथन छ, “हामीले युनियनका पदाधिकारी तथा सदस्यको सक्रियतामा मौलिक अभियान सञ्चालन गर्न लागेका हौं । यो अभियानबाट सङ्कलित रकम वञ्चित बालबालिका तथा महिलाको हितमा खर्च हुन्छ ।”

फेरि मारिए शिक्षक

सशस्त्र समूहका कार्यकर्ताले बारा, बिसुनपूर्वास्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक सुरेशप्रसाद पटेल (३८) लाई १३ कात्तिकमागोली हानी मारेका छन् ।

बाराका प्रहरी उपरीक्षक मनोज पोखरेलका अनुसार, सिम्रौनगढ बजारबाट महेन्द्र आदर्श च्युटाहा–९ स्थित घर फर्कंदै गर्दा हतियारधारीले शिक्षक पटेललाई अपहरण गरी बतराको जमुनियाखोलामा पुर्याएरगोली हानेका थिए । ढाड र पेटमा पाँचगोली लागेका पटेलको घटनास्थलमै मृत्यु भएको थियो । पटेलका पत्नी र दुई छोरा छन् । पटेल गाउँकै सुजित कुमार कोइरीको मोटरसाइकलमा पछाडि बसेर घर फर्कंदै थिए । कोइरीलाई भने हातखुट्टा बाँधेर छाडिएको थियो । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गरिएको छैन । अखिल तराई मुक्तिमोर्चा (प्रतीक समूह) का बारा क्षेत्र नम्बर एक इञ्चार्ज जीके सिंहले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी सो हत्या आफूले गरेको दाबी गरेका छन् । शिक्षक पटेलले आफ्नो सङ्गठनविरुद्ध सुराकी गरेकाले हत्या गरिएको सिंहको आरोप छ । पटेलको हत्याबारे छानबिन गर्न मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, हेटौंैडाले नारायणी अञ्चल प्रहरी प्रमुख (एसएसपी)गोपालप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समितिगठन गरेको छ ।
शान्ति प्रक्रिया शुरु भएपछि बारामा पटेलसहित पाँच शिक्षकको हत्या भइसकेको छ । यसअघि २१ भदौ २०६७ मा कलैयास्थित दुर्गा उमाविका शिक्षक सुवास पाण्डेको हत्या भएको थियो । पटेल हत्याको विरोधमा १६ कात्तिकमा नारायणी र १७ कात्तिकमा मुलुकभरका सामुदायिक स्कूलको पठनपाठन बन्द गरिएको थियो । चन्दाको माग गर्दै आपराधिक समूहबाट धम्कीपूर्ण फोन र एसएमएस आउन थालेपछि बाराका शिक्षकहरू आतङ्कित बनेका छन् । शिक्षकका मोबाइलमा ‘पैसा नही देगा तो उडा दुङ्गा’, ‘कलका सुरज तु नही देख पाएगा’, ‘कल तुम्हारा मौत निश्चित है’ जस्ता एसएमएस आउने गरेका छन् । त्रासका कारण शिक्षकहरूले नचिनेको नम्बरबाट आएको फोन उठाउन छाडेका छन् । एक शिक्षकले भने, “नेपाली सिमकार्डबाटै त्यस्ता एसएमएस आउँछन् । त्यसको जानकारी प्रहरीलाई दिए पनि कसैको पहिचान खुल्न सकेको छैन ।” व्यवस्थापन समितिको चयन, शिक्षक अनुदान जस्ता विषयमा विवाद हुँदा आपसी वैमनस्यता बढ्ने र शिक्षकहरू त्यसको निशाना बन्ने गरेका छन् ।
भूषण यादव/वीरगञ्ज

सन्दर्भ सामग्री खोज्दै बझङका प्रअ

“हामीलाई पढ्ने सामग्री केही भएन । पाठ्यक्रम र शिक्षक निर्देशिका पनि पाइएको छैन । केही पाइन्छ कि भनेर आको” भन्दै नवज्योति प्रावि ब्याडी गाउँ, भामचौरका तन्नेरी शिक्षक कर्णबहादुर बोहराले १४ कात्तिकको दिउँसो जिल्ला शिक्षा कार्यालयको ढोका चियाउँदा शिक्षा अधिकारी लोकनाथ पौडेल औधी खुसी भए । “म बझङ आएको एक वर्षमा यसरी पढ्ने सामग्री खोज्न आउने तपाईं पहिलो शिक्षक हुनुभएको छ” भन्दै जिशिअ पौडेलले उनलाई प्राथमिक तहको शिक्षक निर्देशिका एक सेट उपलब्धगराइदिए । बोहरालाई अभिप्रेरित गर्ने ध्येयले पौडेलले थपे, “यो किताब पढ्नका लागि मात्र होइन, केही रराम्रो गर्नका लागि औजार हो ।”

बोहरा सन्दर्भ सामग्री खोज्न सदरमुकाम आएको तेस्रो दिन शिक्षा कार्यालयले यसै विषयमा केन्द्रित गरेर जिल्लाभरका प्रअहरूको बैठक राख्यो । सो बैठकमा बोल्दै जय पृथ्वीबहादुर सिंहले स्थापना गरेको सत्यवादी उमाविका अङ्ग्रेजी शिक्षक लक्ष्मण उपाध्यायले भने, “शिक्षक हुनु भनेको सधैँ नयाँ–नयाँ कुरा सिकिरहनु हो । हामीले नयाँ कुरा सिके मात्र विद्यार्थीलाई नवीन ज्ञान तथा सीप सिकाउन सकिन्छ । विषयगत तथा शिक्षण सीप सम्बन्धी मात्र होइन, हामीलाई नै उत्प्रेरित गर्ने पुस्तकहरू पनि पढ्नुपर्छ । तर हामी शिक्षकहरूमा पढ्ने सामग्री र बानी दुवै कम छन् ।”

जिल्लाकै पुराना शिक्षक एवं शान्ति उमाविका प्रअ रामबहादुर थापाले शिक्षक इमान दार भएर आफ्नो उत्तरदायित्व वहन गरेका खण्डमा बझङको शैक्षिक स्थितिमा उल्लेखनीय सुधार आउने विश्वास ब्यक्त गरे । उपस्थित प्रअमध्ये कैयन्का गुरु समेत रहेका थापाको कथन थियो, “हामी शिक्षक हौं भन्ने कुरा हामीले हरबखत सम्झ्रिहनुपर्छ । हामीलाई आफ्नो दायित्व निर्वाह गर्न प्रेरित गर्ने काम यसैले गर्द छ ।”

सत्यवादी उच्च माविका प्राचार्य लालबहादुर खड्काको विचार थियो, “म शिक्षक हुँ भन्ने कुरा हामीले हृदय देखि नै आत्मसात् गर्न सक्यौं भने मात्र हामी असल शिक्षक बन्न सक्छौं ।” असल शिक्षक बन्न शिक्षक पत्रिका उपयोगी हुने चर्चा गर्दा उनले यस्ता अरू प्रकाशनहरू पनि खोजी–खोजी पढ्न शिक्षकलाई सल्लाह दिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्लाध्यक्ष वीरेन्द्र खड्काको भनाइको सार थियो, “शिक्षक झन्झ्टमुक्त नभएसम्म उसले रराम्रोसित सेवा दिन सक्दैन र स्कूलमा चाहे जस्तो सुधार हुन सक्दैन ।” उनले शिक्षकलाई झन्झ्टमुक्त बनाउन सरकार, समुदाय, राजनीतिक दल र मिडिया सबैले आ–आफ्नो क्षेत्रबाट प्रयासको थालनी गर्न अनुरोध गरे । त्यसै गरी नेपाल शिक्षक संघका जिल्लाध्यक्ष विष्णुभक्त जोशीको कथन थियो, “स्कूल सुधार गर्ने मुख्य जिम्मेवारी प्रअको भएकाले हामी नमुनाको रूपमा प्रस्तुत हुन सके मात्र शिक्षक साथीहरूलाई उत्प्रेरित गर्न सकिन्छ । त्यसको लागि हामीले सबैभन्दा पहिले आफूभित्र भएको निराशा र कुण्ठा त्यागेर हामी रराम्रो गर्न सक्छौं भन्ने सोच बनाउनु अत्यावश्यक छ ।”

अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सचिव जन्मजय जोशीको कथन थियो, “हामी शिक्षकहरूलाई सुध्रन र सुधार्न शिक्षक पत्रिका उपयोगी छ । हामीले यसको नियमित अध्ययन गर्ने र आफूलाई चित्त बुझेका कुरा मा व्यवहारमै रुपान्तरण ल्याउन आवश्यक छ ।”

बैठकमा प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले शिक्षकको प्रभावकारी भूमिका विना शैक्षिक गुणस्तर अभिवृद्धि गर्न असम्भव रहेको चर्चा गर्दै केटाकेटीको भविष्य सुन्दर पार्न इमान दारीसाथ लाग्न प्रअहरूलाई अनुरोध गरे । उनले भने, “पठनपाठनमा उपयोगी सामग्रीहरूमा शिक्षकको पहुँच पुगेर मात्र हुँदैन, शिक्षकले पढेर, मनन् गरेर त्यो ज्ञान तथा सीप विद्यार्थीसम्म पनि पुर्याउनुपर्छ ।”

जिल्ला शिक्षा अधिकारी लोकनाथ पौडेलले शिक्षकहरूमा पढ्ने बानीको विकास गराउन र नयाँ ज्ञान तथा सीपमा अद्यावधिक तुल्याउन शिक्षक लगायतका उपयोगी पत्रिकाको नियमित अध्ययनले ठूलो टेवा पुरयाउने विश्वास ब्यक्त गर्दै आफ्नो कार्यशैलीमा समयानुकूल परिवर्तन ल्याउन शिक्षकहरूलाई अनुरोध गरे । विगतमा जिशिकाले शिक्षक निर्देशिका समयमै वितरण न गरेकोमा माफी माग्दै उनले अब देखि त्यस्तो गल्ती नहुने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा शिक्षा कार्यालयको तर्फबाट शिक्षक निर्देशिका तथा अन्य स्रोत सामग्रीहरू वितरण गरिएको थियो ।

जिल्लाभरका प्रअहरूको सोही बैठकले आफू र आफ्ना सहकर्मी शिक्षकहरूको लागि सन्दर्भ सामग्रीको रूपमा शिक्षक मासिकले महत्वपूर्ण योगदान गर्न सक्ने ठहर गरी यसको वार्षिकग्राहक बन्ने निर्णय पनि गरेको छ । ७
सुदर्शन, बझाङमा

commercial commercial commercial commercial