प्रधानाध्यापकः संसारकै उत्तम पद !
प्रअको पद रोमाञ्चकारी हुन्छ । यो हुनुको कारण हो, प्रअले चाहेमा विद्यालय तथा समाज मा थुप्रै परिवर्तन ल्याउन सक्छ । जुन अन्य पेशामा सम्भव छैन । प्रअको व्यक्तित्वले गर्दा कैयौँ अभिभावकहरू आफ्ना बालबच्चालाई टाढा–टाढाबाट त्यस्ता विद्यालयमा भर्ना गराउन ल्याउँछन् ।
प्रधानाध्यापक आफैँमा सम्मानित र मर्यादित पद हो । यो संसारकै उत्तम जिम्मेवारीमध्ये एक हो । समाज परिवर्तन गर्न चाहनेका लागि प्रधानाध्यापक भन्दा उत्तम मौका अन्यत्र मिल्दैन । त्यसैले प्रअहरूले आफ्नो भूमिकाका प्रति सधैँगर्व गर्नु पर्छ । प्रअका निम्ति प्रत्येक नयाँ दिन नयाँ जिम्मेवारी र चुनौतीहरूले भरिएका हुन्छन् । त्यसैले एउटा प्रअले आफूलाई सधैँ फरक भूमिका, जिम्मेवारी र कामका लागि हरदम तयार राख्नुपर्दछ । हरेक हप्ता कैयौँ जिम्मेवारी एकसाथ पूरा गर्नु पर्छ । विद्यार्थीको व्यवहारमा परिवर्तन, शिक्षकको पेशागत विकास , शिक्षण सिकाइ क्रियाकलाप को मूल्याङ्कन लगायतका कुरा हरूमा प्रअ सधैँ सहभागी हुनुपर्छ । केटाकेटीहरूमा अन्तरनिहित सृजनशीलता र मौलिकता उजागर गर्नको लागि उचित वातावरण तयार गर्ने तथा प्रतिभावान् विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने र पुरस्कृत गर्ने काममा पनि प्रअ नै सक्रिय हुनुपर्छ । यस्ता थुप्रै काम, जिम्मेवारी र अवसर हुन्छन् जसले प्रअलाई सृजनशील रगतिशील बनाउन मद्दत पुरयाउँछन् ।
प्रअले गर्नै पर्ने निम्न कामहरूबाट उसले आफूलाई अलग राख्न पाउँदैनः
शिक्षकको छनोट
प्रअका थुप्रै महत्वपूर्ण कामहरूमध्ये शिक्षक छनोट एउटा हो । राम्रा शिक्षक चिन्नु र छनौट गर्नु कम्ति चुनौतीपूर्ण छैन । त्यसैले प्रअले योग्य शिक्षक छनौट गर्न विशेष ध्यान पुर्याउनै पर्छ । तिनीहरूलाई विद्यालयमा टिकाइराख्न सकियो भने नै विद्यालयलाई सजिलै प्रभावकारी र स्तरीय बनाउन सकिन्छ भन्ने कुरा प्रअले हेक्का राख्नैपर्छ । विद्यालयको सफलताका पछाडि शिक्षकको ज्यादै महत्वपूर्ण हात रहेको हुन्छ । त्यसैले शिक्षक छनोट गर्न प्रअ स्वयम् संलग्न हुनुपर्छ । कार्यरत शिक्षकहरूलाई समेत छनोट प्रक्रियामा संलग्न गराउनु पर्छ । यसो गर्दा सामूहिक जिम्मेवारीको भावनाको विकास हुन्छ । उनीहरूको राय सुझावले राम्रा शिक्षक छनोटमा सहयोग पनि पुग्छ ।
शिक्षक छनोटको काम कठिन र व्यस्ततापूर्ण हुन्छ । कक्षा अवलोकन देखि अन्तर्वार्तामा समेत प्रअ आफैं सामेल हुनुपर्छ । शिक्षक छनोटका वेला प्रअको अनुपस्थितिले विद्यालयमा नकारात्मक सन्देश जान्छ । छनोटको क्षण विद्यालय तथा आवेदक दुवैका लागि प्रभावकारी र उपयोगी हुनुपर्छ । आवेदकलाई विद्यालयका बारेमा जतिसक्दो बढी बुझने अवसर उपलब्ध गराउनु पर्छ । छनोटमा नपरेका आवेदकका लागि समेत यो प्रक्रिया उपयोगी बन्न सक्नुपर्छ । असफल आवेदकले सिक्नु र सुधार गर्नु पर्ने कुरा बारे थाहा पाउनुपर्छ, ताकि अर्को प्रयासमा उनीहरू सफल हुने सम्भावना बढोस् ।
पेशागत विकास
शिक्षकको पेशागत विकास मा सहभागी हुन पाउनु प्रअका लागि व्यक्तिगतस्तर मा पनि गौरवको कुरा हो । जुनसुकै तह वा पदको शिक्षक भए पनि उनीहरूको विकास र प्रगतिमा सहयोग पुर्याउनु विद्यालय, शिक्षक र प्रअ सबैका लागि लाभदायक हुन्छ । कतिपय शिक्षकलाई आफ्नो पेशागत आवश्यकताबारे जानकारी नै हुँदैन । उनीहरू आफूले जे जानेको छ त्यो नै पर्याप्त भन्ने भ्रममा हुन्छन् । त्यसैले शिक्षकका पेशागत आवश्यकताका बारेमा उनीहरूलाई बोध गराउनु पनि प्रअको जिम्मेवारीभित्रै पर्छ । प्रअले शिक्षकको पेशागत विकास का लागि निरन्तर सहयोग पुर्याउनुपर्छ ।
कतिपय शिक्षकमा आत्मविश्वासको कमी हुन्छ अनि कतिपयमा चाहिँ सिक्ने जाँगर र उत्साह नै नहुन सक्छ । त्यस्ता शिक्षकलाई नयाँ कुरा सिक्न र समस्या समाधानमा लाग्न प्रोत्साहित गर्नु पर्छ । सिक्न–सुधारिन तत्काल तयार नहुने शिक्षकलाई प्रेरित र उत्साहित गर्न प्रअ निरन्तर रूपमा प्रयासरत रहनु पर्छ ।
पदीय अवस्थाले गर्दा कहिलेकाहीँ शिक्षक तथा प्रअबीच दूरी बढ्न सक्छ । तर खुला एवं सौहार्दपूर्ण वातावरणमा गरिने अन्तरक्रियाले यस्तो दूरी कम गर्न मद्दत पुर्याउँछ । एकले अर्कोलाई सम्मान गर्ने संस्कारको विकास गर्ने हो भने यस्तो दूरी पैदा नै हुन पाउँदैन । विद्यालयमा थुप्रै प्रतिभावान व्यक्तिहरू पनि हुन्छन् । तिनीहरूको क्षमता र क्षेत्रको पहिचान गर्न, कदर गर्न र वृत्ति–विकास का लागि सहयोग गर्न पनि प्रअ हरदम तत्पर रहनु पर्छ ।
कक्षा अवलोकन
प्रधानाध्यापक विद्यालयको पहिलो सुपरीवेक्षक हो । त्यसैले सुपरीवेक्षण उसको एउटा महत्वपूर्ण काम हो । उसले कक्षाहरूमा के भइरहेको छ भनेर थाहा पाउनै पर्छ । विद्यालयको पठनपाठनको अवस्थाको जानकारी कक्षा अवलोकनबाट मात्र पाउन सकिन्छ । अवलोकनलाई श्रेणी मापन विधिबाट ‘रेटिङ’ गर्नु पर्छ । कक्षा अवलोकन गर्दा पूर्व जानकारी न गराई गर्नु बेस हुन्छ । यसो गर्दा कक्षाको वास्तविक अवस्थाको जानकारी पाउन सकिन्छ । अर्को कुरा , पूर्व जानकारीगराउँदा शिक्षकहरू माथि तयारीको अनावश्यक बोझ् समेत थपिन पुग्छ ।
विषयवस्तुका बारेमा शिक्षकसँग बौद्धिक छलफल गर्न प्रअ सधैँ अग्रसर हुुनुपर्छ । कक्षा अवलोकनपछि शिक्षकका सकारात्मक पक्ष र राम्रा कुरा हरूको दिल खोलेर प्रशंसा गर्न कहिल्यै बिर्सनुहुँदैन ।
कक्षा अवलोकनबाट विद्यार्थीहरूको सिकाइ अवस्थाको अलावा विद्यालय व्यवस्थापनका लागि आवश्यक सूचना, तत्कालीन तथा दीर्घकालीन मुद्दा र शिक्षकका कमी–कमजोरी समेतथाहा पाउन सकिन्छ । त्यसबाट शिक्षकको पेशागत विकास का लागि तालिम कार्यक्रम सञ्चालन गर्न र विद्यालयले आफ्ना कामहरूको प्राथमिकता क्रम निर्धारण गर्न सहयोग पुग्छ ।
प्रअले हरेक शिक्षकलाई शुरु मै सुपरीवेक्षणको महत्व र आवश्यकताको बोध गराउन सक्नुपर्छ; ताकि हरेक शिक्षक आफ्नो कक्षा अवलोकन गरिदिन अनुरोधगरुन् । शिक्षककै अनुरोधमा भएको अवलोकनबाट प्राप्त सुझावले पठनपाठनमा सुधार ल्याउन सहयोग मिल्छ । किनकि सिक्नका लागि तयार भएर नै शिक्षकले यस्तो अनुरोध गरेको हुन्छ ।
विद्यार्थीलाई प्रोत्साहन
कक्षामा विद्यार्थीले गरेका प्रयास र प्रगतिलाई प्रअले नजिकबाट नियाल्नुपर्छ । यसो गर्दा एकातिर आफ्ना विद्यार्थीले गरेको प्रगतिबाट आफूलाई सन्तुष्टि प्राप्त हुन्छ भने अर्कातिर आफ्नो कामको कदर भएको मा विद्यार्थीहरू थप उत्साहित बन्न पुग्छन् । यस्ता कार्यले विद्यार्थीलाई मात्र नभई सम्बन्धित शिक्षकलाई समेत प्रसन्न तुल्याउँछ । शिक्षकको व्यवहारले विद्यार्थीलाई प्रेरित गर्छ भने विद्यार्थीको प्रगतिले शिक्षकहरूलाई प्रसन्नता दिने गर्छ । स्कूल व्यवस्थापनको अवलोकन र कदरले त शिक्षक र विद्यार्थी दुवैलाई हौसला प्रदान गर्छ ।
विद्यार्थीहरूको रुचि तथा अभिवृत्ति
विद्यार्थीहरूको सिकाइप्रतिको रुचि तथा अभिवृत्तिबारे थाहा पाउनु प्रअका लागि जरुरी हुन्छ । यसनिम्ति प्रअले विद्यार्थीसँग को सम्बन्ध र सम्पर्कलाई जीवन्त तुल्याई राख्नुपर्छ । उनीहरूको विषयगत रुचि र अभिवृत्तिका बारेमा कुरा गर्नु पर्छ । कुनै शिक्षकले कक्षामा गरेका उत्कृष्ट कामसहित विद्यार्थीहरूलाई आफूसमक्ष पठाएको मौकालाई प्रअले कहिल्यै उम्कन दिनुहुन्न । किनभने उनीहरूसँग कुरा कानी गर्न त्योभन्दा उत्तम अवसर अर्को हुँदैन । विद्यार्थीहरू प्रअसमक्ष आफ्ना उपलब्धि पेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित हुन्छन् र आफ्नो कामको कदर भएको ठान्छन् ।
विद्यार्थीहरूले गरेका उत्कृष्ट कार्यहरूलाई सार्वजनिक स्थानमा प्रदर्शन गरेर वा तल्लो कक्षाका विद्यार्थीहरूलाई अवलोकन गर्ने व्यवस्था मिलाएर पनि हौसला प्रदान गर्न सकिन्छ । यसले उनीहरूको आत्मसम्मान र आत्मविश्वास दुवै बढाउँछ ।
अन्तरनिहित प्रतिभाको प्रस्फुटन
विद्यालयको काम विद्यार्थीको सम्पूर्ण पक्षको विकास गराउनु हो । यसनिम्ति किताबी ज्ञान मात्र पर्याप्त हुँदैन । उनीहरूलाई हाजिरीजवाफ, खेलकुद, नाटक,गीत, नृत्य तथा चित्रकला जस्ता विभिन्न अतिरिक्त क्रियाकलाप हरूमा पनि सहभागी गराउनु पर्छ । हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । विद्यालयको काम उनीहरूमा दबेर वा सुषुप्त भएर बसेको प्रतिभाको प्रस्फुटन गराउनु हो । यसमा प्रअको अहम् भूमिका हुन्छ । स्कूलको समग्र वातावरण तदनुकूल बनाउने काम मुख्य रूपमा प्रअकै हो ।
विद्यालयमा गरिने यस्ता अतिरिक्त क्रियाकलाप वा सह–क्रियाकलाप बाट विद्यार्थी र विद्यालय परिवारबीच दीर्घकालीन र न्यानो सम्बन्ध विकास गर्न मद्दत पुग्छ । शिक्षक छनोट गर्दा पनि आवेदकले के कस्ता अतिरिक्त क्रियाकलाप हरू सञ्चालन गर्न सक्छन् भनी सोधिनु जरुरी हुन्छ । विद्यालयमा गरिने यस्ता क्रियाकलाप को व्यवस्था मिलाउने प्रमुख जिम्मेवारी पनि प्रअकै हुन्छ ।
पथ–प्रदर्शन
कतिपय अवस्थामा विद्यार्थीहरूगलत बाटोमा लागेर दिशाहीन बन्न पुग्छन् । अनुशासन उल्लङ्घन गर्छन् । त्यस्तो प्रवृत्तिका पछाडि थुप्रै सामाजिक तथा पारिवारिक कारणहरू हुन्छन् । दिग्भ्रमित भएका वा अल्मलिएका विद्यार्थीहरूलाई सही बाटोमा हिँड्न सहयोग पुर्याउनु पनि प्रअको दायित्व हुन्छ । तिनलाई सच्याउने क्रममा सम्झउने/बुझाउने देखि विद्यालयबाट थोरै समय निलम्बन गर्ने जस्ता कुरा समेत पर्दछन् । निलम्बनको अवधिमै विद्यार्थी र तिनका अभिभावकसँग उनीहरूका विचार तथा भावनाहरूको कदर गर्दै गल्ती–कमजोरीहरू बारे छलफल गरिनुपर्छ । उनीहरूलाई व्यवहारमा सुधार गरेर देखाउन प्रोत्साहित गर्नु पर्छ । यस्ता काममा प्रअ संलग्न हुनु जरुरी हुन्छ । यसले विद्यालयको हरेक कुरा मा प्रअको निगरानी छ भन्ने कुरा को सन्देश प्रवाह हुन्छ ।
दिग्भ्रमित वा भड्किएका विद्यार्थीहरू माथि एक–दुई हप्तासम्म प्रत्यक्ष निगरानी गर्नु पर्छ । उनीहरूको व्यवहारमा के–कस्ता सुधार आएका छन् त्यसबारेमा शिक्षकहरूबाट पनि जानकारी हासिल गर्नु पर्छ । विद्यार्थीका समस्याका कारणहरू पछि पनि खुल्न सक्छन् । उनीहरूका समस्या समाधान गर्न विद्यालयले के सहयोग गर्न सक्छ सो बारेमा उनीहरूसँग कुरा कानी गर्नु पर्छ । उनीहरूलाई समाधानका विकल्प प्रस्तुत गरिदिनुपर्छ ताकि उनीहरूलाई निर्णय गर्न सजिलो होस् । विद्यालयले समस्याको निराकरण गर्न विभिन्न रणनीति तय गर्नु पर्छ । यस्तो रणनीतिमा ठूला कक्षाका विद्यार्थीहरूलाई समेत सामेल गराउन सकिन्छ ।
विद्यालय र समुदायबीच सम्बन्ध
विद्यार्थीहरूको सफलतामा अभिभावकको महत्वपूर्ण हात रहेको हुन्छ । त्यसैले विद्यालय र समुदायबीचको सम्बन्धगाढा र उपलब्धिपूर्ण बनाउन विद्यालय र विद्यार्थीका विभिन्न क्रियाकलाप हरूमा अभिभावकलाई समेत सामेल गर्नु पर्छ । यसमा पनि प्रअले नै अग्रसरता लिनुपर्छ । विद्यालयले जति बढी अभिभावकहरूसँग भेटघाट गर्छ; विद्यालयका लागि त्यति नै सकारात्मक र लाभदायक परिस्थिति निर्माण हुन्छ ।
विद्यार्थीहरूको भर्नाको समयमा होस् वा अन्य कुनै वेला अभिभावक विद्यालयको निर्णयप्रति असन्तुष्ट हुन सक्छन् । उनीहरूले विद्यालयको निर्णयलाई चुनौती पनि दिन सक्छन् । यो प्रअको लागि निकै ठूलो चुनौती हो । असन्तुष्ट अभिभावकहरूलाई विद्यालयका निर्णयहरूका बारेमा सन्तुष्ट पारी पठाउने दायित्व प्रअकै हुन्छ ।
समय–समयमा शिक्षक–अभिभावकबीच विद्यार्थीको शैक्षिक प्रगतिका बारेमा छलफल गर्नु पर्छ । विद्यार्थीहरूले गृह कार्य गरे न गरेको, उसमा अन्तरनिहित प्रतिभा फक्राउने लगायतका प्रगतिका सम्भावनाहरू बारेमा पनि विचार आदान–प्रदान गरिनुपर्छ । यसले अभिभावकलाई उनीहरूका बालबच्चालाई सघाउन सजिलो पारिदिन्छ । विद्यालयमा कहिलेकाहीँ अनपेक्षित घटना घट्न सक्छन् । त्यसले विद्यालयप्रति अभिभावकहरूको विश्वास क्षय हुनसक्छ । यस्तो अवस्थामा; अभिभावकको विश्वास पुनः प्राप्त गर्न विद्यालयले अभिभावकसमक्ष माफी माग्नुपर्छ ।
विद्यार्थीहरूको भर्नाको समयमा होस् वा अन्य कुनै वेला अभिभावक विद्यालयको निर्णयप्रति असन्तुष्ट हुन सक्छन् । उनीहरूले विद्यालयको निर्णयलाई चुनौती पनि दिन सक्छन् । यो प्रअको लागि निकै ठूलो चुनौती हो । असन्तुष्ट अभिभावकहरूलाई विद्यालयका निर्णयहरूका बारेमा सन्तुष्ट पारी पठाउने दायित्व प्रअकै हुन्छ ।
सफलतामा उत्सव मनाऔं
हरेक विद्यार्थीसँग कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । उनीहरूको त्यो प्रतिभा पहिचान गर्न समय लाग्न सक्छ । त्यसनिम्ति हरेक विद्यार्थीले गरेका राम्रा प्रस्तुतिहरूलाई प्रअले हेर्ने र पुरस्कृत गर्ने गर्नु पर्छ । विद्यार्थीहरूको सफलताका पछाडि शिक्षकको मेहनत र योग्यता रहेको हुन्छ । तर विद्यार्थीको सफलताले प्रअ, शिक्षक र विद्यालयका अन्य कर्मचारीहरूको समेत प्रतिष्ठा वृद्धि गर्छ । विद्यालयले प्राप्त गरेको सफलतामा उत्सव मनाउने र प्रगतिको नयाँ उचाइ हासिल गर्ने तिर प्रअले विद्यालयको टिमलाई हौस्याई रहनु पर्छ ।सबै प्रअहरू विद्यालयमा केही न केही परिवर्तन गर्न चाहन्छन् । तर त्यसनिम्ति उनीहरूसँग विद्यालयले हासिल गर्न सक्ने, यथार्थपरक लक्ष्य र सुसङ्गत दूरदृष्टि (भिजन) चाहिन्छ । विद्यालयले राखेको लक्ष्य हासिल गर्न सकिने खालका छन् भन्ने कुरा मा प्रअसँगै विद्यालयका शिक्षक तथा कर्मचारीहरू पनि विश्वस्त हुनुपर्छ ।
प्रअ विद्यालयका कामप्रति सधैँ प्रतिबद्ध हुनुपर्छ र उसले सधैँ अनुकरणीय व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । प्रअको पद रोमाञ्चकारी पनि हुन्छ । यो हुनुको कारण हो, प्रअले चाहेमा विद्यालय तथा समाज मा थुप्रै परिवर्तन ल्याउन सक्छ । जुन अन्य पेशामा सम्भव छैन । प्रअको व्यक्तित्वले गर्दा कैयौँ अभिभावकहरू आफ्ना बालबच्चालाई टाढा–टाढाबाट त्यस्ता विद्यालयमा भर्ना गराउन ल्याउँछन् । यो नै प्रअको लागि सबैभन्दा सुखद् अनुभूतिको क्षण हो ।
स्रोतः www.teachingexpertise.com
अनुवादः गुरु मैनाली



