शरदको सन्देश
सबै ऋतुका आ–आफ्ना विशेषता हुन्छन् । कविशिरोमणि लेखनाथ पौड्यालले तिनै कुरा को वर्णन र विश्लेषण गरेर एउटा सिङ्गै काव्यकृति ‘ऋतुविचार ’ लेखे । आफूमा परेको ऋतुविशेषको प्रभावलाई अरू धेरै कविहरूले विभिन्न किसिमले शब्द दिएका छन् । राष्ट्रकवि माधव घिमिरे शरद ऋतुमा खुलेको मौसम र हिमालको प्रेरक विशालताको वर्णन यसरी गर्छन्–
भाइ शरद् सुन्दर याम लाग्यो
उघ्य्रो झरी झल्मल घाम लाग्यो
हिमालको दर्शन बल्ल पाएँ
विशालको दर्शन–तुल्य पाएँ ।
यो नेपालभरमै सर्वश्रेष्ठ मौसम हो । फूल फुल्ने याम, खेतबारीमा अन्न हुने वेला, फलफूलको हर्जा नहुने समय—यो सहकालको समय पनि हो । हिमालमा हिउँ परिनसकेको, पहाडमा स्याँठ चलिनसकेको, मधेशकोगर्मी घट्ने क्रममा रहेको, क्षितिजमा तुवाँलो जमिनसकेको—यो सुन्दर वेला हो । शायद यही प्रेरणाले राष्ट्रकवि थप्छन्,
पाई शरद सुन्दर धूप खिल्छ
र फूलको सुन्दर रुप खिल्छ
के बुझन डुल्छे प्रकृति प्रमत्त
अहो जगत् जीवन एकछत्त ।
शायद यसैले हाम्रा मुख्य चाडबाडहरू पनि यसवेला नै पर्छन् । शरद लाग्नासाथ पितृहरूलाई श्रद्धासुमन अर्पेर हामी चाडबाडमा लाग्छौँ । टीका लगाउने चलन भए पनि नभए पनि —सबै नेपालीमा कुनै न कुनै किसिमले दशैँको वेला रमाइलो गर्ने चलन बसिसकेको छ । इस्लाम पर्व इद उल फित्र यसै मौसममा पर्छ । तिहारसँग सँगै आउने नेपाल सम्वतको न्हु दः या (नयाँ वर्ष), लगत्तै पछि को सूर्य आराधना (छठ) र बाली उठाउने क्रममा जोडिएका प्रकृतिपूजकहरूका धान्यपूर्णिमा लगायतका विभिन्न चाडबाड आउँदैछन्
चाडबाडहरू रमाइलो गर्नलाई हुन्, रमाउनलाई हुन्, विद्वेष र कलह मेटाउनलाई हुन् । टाढाकालाई नजिक ल्याउने सबभन्दा रराम्रो मौका पनि चाडबाडहरू नै हुन् । शरद ऋतुमा तुवाँलो खुलेका पहाडका तरेली देखेर राष्ट्रकविले पाएको प्रेरणा पनि त्यही हो–
नजिक आए अब दूर डाँडा
रहेन कोही पनि हेर टाढा
म देख्छु भाइ सबलाई आफ्ना
र देख्छु भाइ ! कुन दिव्य स्वप्ना ।
मौसम चक्र अनवरत घुमिरहन्छ । त्यसै भएर त नयाँ नयाँ ऋतुहरू आइरहन्छन् । देशकाल फेरिँदैछ, ‘नयाँ नेपाल’ को लहर चलेको छ तर चाडबाडहरू उसरी नै आउँछन् । चाडबाडहरू राजनीति र नाराबाट मुक्त हुन्छन् । एउटा उदाहरण, केही वर्षयता ‘पुरुषको सुस्वास्थ्य र दीर्घायुका लागि महिलालाई ब्रत बस्न लगाउने तीज अप्रगतिशील र पितृसत्ताको पक्षपाती चाड हो’ भन्ने स्वरहरू चर्किएका छन् । तर ती स्वरलाई उछिनेर पहिलेभन्दा धेरै ठूलो सङ्ख्या र समुदायका महिलाहरू तीज मनाइरहेका छन् । छठ पहिले मैथिल समुदायमा मात्र सीमित चाड थियो, अहिले त्यसमा पहाडे समुदायको सहभागिता उल्लेख्य रूपमा बढेको छ । यस्तो सबै चाडपर्वमा हुन्छ । क्रिसमस नमनाए पनि त्यसवेलाको पर्वको मान सिकताले धेरैलाई छुन्छ । भ्यालेन्टाइन डे त एक किसिमले धर्मनिरपेक्ष पर्व नै भइसकेको छ ।
आफ्नो संस्कृति र परम्परामा सबैलाई गर्व हुन्छ । आफूप्रतिगर्व गर्ने ले अर्कालाई घृणा गर्दैन—बरु सम्मान गर्छ । तर ‘गर्व ’ र ‘घमण्ड’का बीचमा एउटा झ्निो रेखा चाहिँ अवश्य हुन्छ । घमण्डले अर्कालाई होच्याउँछ । सभ्य समाज का पक्षपातीहरू त्यो झ्निो रेखा नाघिएला भनेर सदैव सचेत रहनु आवश्यक हुन्छ । शरद ऋतुको खुलेको मौसमको स्वच्छता, फुलेका बोटहरूको कान्ति, फलेका वृक्ष र बालाहरूको झुकेको विनयशीलता र घरघरमा आएका चाडपर्वले हामीलाई दिने सन्देश पनि यही हो । कवि भन्छन्ः
यै धर्तीमा बज्दछ जो मृदङ्ग
नाचूँ कि नाचूँ सरी अङ्ग अङ्ग
नाच्छन् सबै, गाउँदछन् सबै रे
वर्षैभरि उत्सव उत्सवै रे !
लाग्छ शरदको सन्देश यही हो । यो उत्सवको याममा समस्त शिक्षक र शिक्षकहरूमार्फत विद्यार्थी र अभिभावकहरूलाई हार्दिक शुभकामना ! अन्त्यमा राष्ट्रकविकै भाकाः
यो धर्ती नाँच्ने अनिगाउने हो
यो पिर्ती मान्छेसित लाउने हो ।



