जिज्ञासा र जवाफ
प्रस्ट भइएन
हामी २०५२ सालको परीक्षामा सफल भई २९ चैत २०६० मा स्थायी नियुक्ति पाएका प्राथमिक शिक्षक हौं । हामी जस्ता हाल कार्यरत शिक्षकले पेन्सन वा उपदान पाउँछन् कि पाउँदैनन् ?
रवीन्द्रप्रसाद जोशी
जनता जनार्दन मावि, भल्मा, डोटी
हीरालाल जोशी
कालिका प्रावि, भारतोली बगलेख, डोटी
शिक्षा नियमावलीमा उल्लेख भएबमोजिमको सूचना राजपत्रमा प्रकाशित हुनुभन्दा अघि नियुक्त हुने शिक्षकले विद्यमान व्यवस्था बमोजिम नै पेन्सन वा उपदान पाउनेछन् ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
अस्थायीलाई अप्ठेरो त पर्दैन ?
अस्थायी दरबन्दीमा नियुक्त शिक्षकलाई ६ महिनाका दरले म्याद थप्दै जानुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ । तर, हाल म्याद थपेको पाइँदैन । यसरी व्यवस्थापन समितिले समयमा म्याद नथपिदिँदा अस्थायी शिक्षकलाई पछि कुनै अप्ठेरो त पर्दैन ?
पदमबहादुर कठायत
नारायण निमावि, तिलनेपाटा– १, दैलेख
अस्थायी शिक्षकको हकमा विद्यालय व्यवस्थापन समितिले ६–६ महिनामा म्याद थपी त्यसको सूचना जिशिकालाई दिनुपर्छ । समितिले यो नियमको पालना गर्नैपर्छ । तर, त्यसो न गर्दा पनि शिक्षकको भविष्यमा तात्विक असर चाहिँ नपर्ला । किनकि शिक्षकको हाजिर र उसले बुझेको तलबको प्रमाण सुरक्षित नै हुन्छ । तथापि शिक्षकले पनि आफ्नो म्याद थप्नका निम्ति प्रयास गरिहनुपर्छ ।
खिमबहादुर भुजेल, शाखा अधिकृत, शिक्षा विभाग
राहतको भविष्य के ?
दुई वर्ष देखि ज्ञानोदय निमावि, सिर्यौलीमा राहत(प्रा.शि.) कोटामा पढाइरहेको छु । सन् २०१५ पछि दातृ निकायले सहयोग बन्द गर्ने सुनिन्छ । त्यो अवस्थामा राहत शिक्षकहरू सेवाबाट बाहिरिनुपर्ने त हैन ?
लोकबहादुरगरौंजा मगर
ज्ञानोदय निमावि, सिर्यौली– ४, सिन्धुली
स्कूलहरूमा शिक्षकको खाँचो पूर्ति गर्नका लागि नेपाल सरकार र विश्व ब्याङ्कद्वारा राहत शिक्षक अनुदानको व्यवस्था गरिएको हो । यो अनुदानले कहिलेसम्म निरन्तरता पाउँछ भन्ने निश्चित छैन । अनुदान रोकिइहालेमा पनि सरकारले स्कूलको पठनपाठन जारी राख्न केही न केही व्यवस्था त गरिहाल्छ नि !
जनार्दन नेपाल, सहसचिव, शिक्षा मन्त्रालय
तालिम भत्ता खै ?
म २०४८ सालमा स्थायी नियुक्ति पाई २०६५ सालमा नि. मा. द्वितीय श्रेणीमा बढुवा भएको तालिमप्राप्त शिक्षक हुँ । मैले बढुवा हुनुअघि खाईपाई आएको तालिम भत्ता (दुईग्रेड) हालसम्म पाएको छैन । किन ?
रामप्रसाद देवकोटा
मित्रता उमावि, आँबुखैरेनी, तनहुँ
बढुवा भएपछि माथिल्लो (बढुवा भएको पदको) तलब स्केल शुरु हुने र त्यसरी तलब/भत्ता पाउँदा तल्लो पदको खाईपाई आएको तलब (ग्रेडसहित) भन्दा कम भएग्रेड समायोजन गर्ने गरिन्छ । बढुवा हुनुभन्दा पहिले खाईपाई आएकोग्रेड बढुवा भएको पदमा दिइँदैन ।
हरिगौतम, उपनि र्देशक, शिक्षा विभाग
केही फरक पर्दैन ?
आई.एड. र बी.एड.को प्रमाणपत्रमा ठेगाना फरक हुँदा केही समस्या पर्छ कि पर्दैन ? अनि; शिक्षक सेवा आयोगले शिक्षण लाइसेन्सको परीक्षा अब कहिले लिन्छ ?
डी.पी. शर्मा, बुटवल, रुपन्देही
ठेगाना फरक पर्दैमा केही कठिनाई हुँदैन । आयोगले आउँदो कात्तिकभित्र शिक्षण लाइसेन्सको लागि आवेदन माग्ने र फागुनसम्ममा परीक्षा लिने गरी कार्यक्रम तय गरेको छ ।
बैकुण्ठप्रसाद काफ्ले
उपसचिव, शिक्षक सेवा आयोग, भक्तपुर
के–के सुविधा पाइन्छ ?
म २०३७ साल देखि सोलुखुम्बुको केदार उमाविमा काम गर्दै आएको छु । स्कूलले २०४५ सालमा स्थायी नियुक्ति दिए पनि हालसम्म कर्मचारीले पाउनुपर्ने सेवा/सुविधा पाएको छैन । स्वस्थ अवस्थाका कारण म अब सेवाबाट अवकाश लिने तयारीमा छु । मेरो सञ्चय कोष पनि कट्टा हुँदै आएको छ । अब मैले सेवाबाट अवकाश लिँदा के–के सुविधा पाउँछु ?
गङ्गालाल ढुङ्गेल, केदार उमावि, बेतघारी– २, सोलुखुम्बु
सरकारी स्तर बाट विद्यालय कर्मचारीलाई स्थायी गरिने व्यवस्था नभएकाले तपाईंले सरकारबाट कुनै सुविधा पाउनुहुने छैन । तपाईंको जिज्ञासाबाट तपाईंलाई स्कूलले नै निजीस्रोतमा रहने गरी स्थायी गरेको देखिन्छ । सञ्चय कोषको रकम पनि त्यसैबाट कट्टा गरिएको हुनुपर्छ । अतः तपाईंले अवकाश लिँदा विद्यालयले आफ्नो स्रोतबाट दिने सुविधा पाउन सक्नुहुनेछ ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग, भक्तपुर
सरुवा हुन पाइन
म प्राथमिक तहको स्थायी शिक्षक हुँ । मैले एम.एड. गरेको छु । नुवाकोटकै निरञ्जना उमाविका एकजना प्राथमिक शिक्षकसँग पारस्परिक सरुवा राजीखुशीका साथ गर्न खोजेको छु । निरञ्जना उमाविको व्यवस्थापन पक्षले यसमा सहमति पनि जनाएको छ । तर, म कार्यरत रहेको वरदेवी प्राविको व्यवस्थापन समितिले भने निम्नमाध्यमिक तह सञ्चालनमा बाधा पुग्ने भन्दै मेरो सरुवाको सहमति दिन मानेको छैन । मैले आफ्नो योग्यता अनुसार १०+२ पढाउने अवसर पाएकाले सरुवा हुन खोजेको हुँ । व्यवस्थापन समितिले यसरी रोक्न मिल्छ ?
एकाराम सिलवाल
वरदेवी प्रावि, बेल्कोट– १, नुवाकोट
हराम्रो मर्म
२०५२ साल देखि मुलुकमा खुल्ला विज्ञापनबाट शिक्षकको पदपूर्ति भएको छैन । परिणामतः शिक्षकहरू अस्थायी, राहत, निजीस्रोत जस्ता विभिन्नथरीका नियुक्तिमा झुण्डिनुपरेको छ । जीवनको अधिकांश समय शिक्षणमा बिताएका यस्ता शिक्षकको हकमा खुल्ला प्रतिस्पर्धा हुँदा उमेरको हद कति हुन्छ ? साथै, खुल्ला प्रतिस्पर्धाको विज्ञापन कहिले खुल्छ ?
राघवप्रसाद अवस्थी, कालिका मावि, पिपलाडी, कञ्चनपुर
शिक्षण सेवाका लागि उमेरको हद ४० वर्ष तोकिएको छ । खुल्ला प्रतिस्पर्धाको लागि शिक्षक सेवा आयोग तयार नै छ । तर, नियमावली संशोधन नभएका कारण विज्ञापन गर्न सकिएको छैन ।
वैकुण्ठप्रसाद काफ्ले, उपसचिव, शिक्षक सेवा आयोग
कति शिक्षक मागिएला ?
शिक्षक सेवा आयोगले खुल्ला प्रतियोगिताको नयाँ विज्ञापन खोल्ने चर्चा छ । यदि हो भने कुन–कुन तहमा कतिजना शिक्षकको लागि विज्ञापन हुन्छ ? प्रत्येक तहका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ? अस्थायी लाइसेन्स लिएका शिक्षकले उक्त प्रतियोगितामा उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् ?
लक्ष्मणप्रसाद भट्टराई
जनता उमावि, डैनहवा, नवलपरासी
तिलविक्रम राई, श्री प्रावि, मोरङ
करिब २४ हजार पदमा विज्ञापन गर्नु पर्ने प्रारम्भिक अनुमान छ । हामीले सबै जिल्लाबाट रिक्त पदको विवरण मागिरहेका छौं । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि क्रमशः एसएलसी, प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यता आवश्यक पर्छ । शिक्षण अनुभवका आधारमा अस्थायी लाइसेन्स लिएका व्यक्तिले खुला प्रतियोगितामा उम्मेदवार हुन पाउँछन् । तर, उनीहरूले लाइसेन्स लिएको तीन वर्षभित्र शिक्षाशास्त्रको अध्ययन पूरा गरेको अथवा तोकिएको तालिम लिनैपर्छ ।
वैकुण्ठप्रसाद काफ्ले, उपसचिव, शिक्षक सेवा आयोग
शिक्षकको सरुवाका लागि ‘लिने’ र ‘दिने’ दुवै विद्यालयको सहमति अनिवार्य हुन्छ । त्यस्तो सहमति नपाएसम्म तपाईंको सरुवा हुन सक्दैन ।
हरिगौतम, उपनि र्देशक, शिक्षा विभाग, भक्तपुर
खै हराम्रो पुरस्कार ?
राष्ट्रिय शिक्षा दिवस– २०६४ को अवसरमा यस जिल्लाका चार जना शिक्षकलाई शिक्षा मन्त्रालयले पुरस्कृत गरेको घोषणा गरी गोरखापत्र मा नाम प्रकाशित गरयो । तर, हाल (२०६७/०५/१५)सम्म हामीले केही पनि पाएका छैनौं । मन्त्रालयमा सम्पर्क गर्दा क्षे.शि.नि., ‘धनकुटामा सोध्नू’ भन्ने जवाफ पाइन्छ । क्षे.शि.नि.ले चाहिँ जिल्ला शिक्षा कार्यालयमा सोध्नू भनेर पन्छाउँछ । तर, जिशिकाबाट केही पनि पाइएन । शिक्षा पुरस्कार पाउनु भनेको गोरखापत्र मा नाम प्रकाशन मात्रै हो कि, अरू पनि पाइन्छ ?
खड्गराज कार्की, नानीकाजी खड्का,
कमला राई रगणेश शर्मा, सोलुखुम्बु
पुरस्कृत शिक्षक तथा कर्मचारीलाई पदक र प्रमाणपत्र दिने व्यवस्था छ । राष्ट्रिय शिक्षा दिवस, २०६४ का अवसरमा सोलुखुम्बु जिल्लामा पुरस्कृत भएका ६ जना शिक्षकको पदक र प्रमाणपत्र ८ भदौ २०६५ मै जिशिकामा पठाइसकिएको छ ।
कृष्णगोपाल श्रेष्ठ, शाखा अधिकृत, शिक्षा मन्त्रालय
स्थायीमै बस्नुहोस्
२०४९ अघि म यही स्कूलमा नि.मा. तृतीय श्रेणी (स्थायी) पदमा थिएँ । २०४९ सालमा स्कूलले माध्यमिक तहको दरबन्दी पाएपछि मा.शि. तृतीय (अस्थायी) नियुक्ति पाएँ । आफ्नो तल्लो दरबन्दी लियनमा राखी माथिल्लो दरबन्दीमा कार्यरत रहेकै वेला २०६२ मा मैले नि.मा. द्वितीय श्रेणीमा बढुवा पाएँ । त्यही साल तत्कालीन जिशिअ बाबुराम पौडेलले समान पदमा बढुवा भएकाले ‘तपाईंको मावि दरबन्दी रहँदैन’ भनी उक्त पदमा अर्को शिक्षक नियुक्ति गरिदिनुभयो । मैले आफू माथि अन्याय भयो भनी निवेदन गरें । तर, त्यसको सुनुवाई भएन । म अब पुनः माध्यमिक तहमा बहाल हुन पाउँछु कि पाउँदिनँ ?
हरिप्रसाद सङ्ग्रौला
प्रअ, जनजागृति उमावि,गोल्धाप– ४, झपा
यसमा तपाईंलाई अन्याय परेको भन्ने देखिँदैन । निम्नमाध्यमिक द्वितीय श्रेणीमा स्थायी बढुवा हुँदाको शुरु तलब स्केल र माध्यमिक तृतीय श्रेणीको तलब स्केल समान हुन्छ । स्थायी हुँदा वार्षिक रूपमाग्रेड थपिँदै जान्छ । तर, अस्थायी पदमा रहँदाग्रेड रकम पाइँदैन । त्यसैले तपाइँको लागि अहिलेको स्थायी पद नै उचित हुने देखिन्छ ।
विदुरराजगिरी, उपसचिव, शिक्षा मन्त्रालय



