कक्षामा पहिलो दिन
अयोग्य तर सक्षम भएँ
पहिलो दिन मलाई न कसैले ‘स्कूल भिजिट’गरायो न कसैले विद्यालयको शैक्षिक नीति–नियम र सञ्चालन प्रक्रियाका बारेमा खुलस्त जानकारीगरायो । शिक्षण विधि र योजनाका बारेमा ‘क्लास अब्जर्भेसन’ र परीक्षा त आवश्यक नै ठानिएन किनकि म अण्डर एसएलसी योग्य शिक्षक त्यतिवेला । मेरो रुटिन पाएँ । कक्षामा गएँ सोधीखोजी । पढाएँ । मलाई याद छ, केही पुस्तक देखाएर पढाउन सकिन्छ कि सकिन्न ? भनेर सोधेको । मलाई त जागिर नउम्काउनु थियो । त्यसैले सक्तिनँ भन्ने त कुरै थिएन । यद्यपि तयारी गरेर पढाउन सक्छु भन्ने मनमा विश्वास थियो ।
तयारीको त के कुरा गर्नु । शिक्षण गर्ने क्रममा ‘ब्राण्डेड टिचर’ भइसकेपछि एकपटक पाठयोजनाको कुरा तत्कालीन भाइस प्रिन्सिपलले छुट्टै बोलाएर सिकाएको र मैले फिटिक्कै नबुझेको कुरा सम्झन्छु । त्यतिवेला मैले बनाएको पाठयोजना सम्झन्छु काम न काजको थियो तर मेरो ‘ड्युटी’ चैँ मैले पूरा गरें । अचेल पनि ‘ड्युटी’ पूरा गर्ने शिक्षक अनगिन्ती छन् । म निर्धक्कै बोलिदिन्छु । पहिलो दिनमा कक्षामा जाँदा म खाली दिमाग गएँ भन्दा हुन्छ । खाली दिमागको एउटा कुनामा दश वर्ष पढेका कुरा को ‘फस्ट डिभिजन’ बाँकी थियो, बस त्यत्ति । आजभोलि पनि सधैँ खाली दिमाग कक्षामा प्रवेश गर्ने को सूची लामै बन्छ, यो सत्य वाक्य हो । त्यो पहिलो दिनमा मसँग योजना थिएन, सामग्री चाहिन्छ भन्ने न भेउ थियो न निर्माण गर्ने सीप नै, न कुनै क्रियाकलाप सेट थियो, पूर्वतयारी केही थिएन, थियो त ठिङ्ग चक र डस्टर बोकेर सशरीर उपस्थिति । विद्यार्थीले उठेर सत्कार गरिहाले । ‘सिट डाउन’गर्व ले भनेँ र पुस्तक निकाल्न लगाई, कालोपाटीमा शीर्षक लेखेर, सरासर पढाउन शुरु गरें । परिचय गर्ने / गराउने त मेरो चलन थियो नै । विद्यार्थी खुसी पार्न नारायणगोपालकागीतहरूगाइदिन म पछि पर्दिनथेँ ।
रित्तो चार भित्ताले पहरा दिएर थुनिए प्रायः स्थितिमा सानो कक्षाकोठामा राखिएका बेन्चमा खाँदिए झैँ बस्नुपरेका बालकका लागि मेरो उपस्थिति शायद नयाँ आशा र आकर्षण थियो । मित्रवत् व्यवहार, हँसिलो प्रस्तुति रगीत, कथा सुनाउने मेरो बानीले बालबालिकालाई टपक्कै आकर्षित गरे छ । त्यस्तो लाग्छ । कारण, उनीहरूबाट पाएको सकारात्मक व्यवहार, निजत्वको भावना र खुला उठबस, विद्यार्थीसँग सम्बन्ध नजिक्याउन मलाई त्यति धेरै अप्ठेरो परेन । कक्षामा भन्नका लागि केही समय अगाडि पढेका लोककथाहरू काममा आए । त्यसबाट हामी वर्तमान मा ‘अपडेट’ हुँदा हुने सहजता प्रस्ट पार्छ । म फ्रेस केटो । आफूले भर्खरै पढेका कुरा दोहोर्याउनु सजिलो थियो । विषयवस्तुको ‘लिमिटेड’ ज्ञानले स्पष्ट थिएँ । पहिलो दिनमा आफ्नो कक्षामा पालना गर्नु पर्ने कुरा हरू कडाइका साथ भनिदिन्थेँ, अलिक बलियो बन्न अङ्ग्रेजी पटट बोल्यो, मिले पनि , नमिले पनि । विद्यार्थी सचेत हुन्थे । भए पनि । परम्परागत शैलीका कक्षाकोठा व्यवस्थापनमा अप्ठेरो अनुभूति भए पनि ‘आइडिया’ थिएन । मलाई याद छ, कथा ३ का ‘फस्ट’ र ‘सेकेण्ड’ हुने केटाहरू परीक्षा हलमा नै क्वाँ–क्वाँ रोए । मैले बनाएका प्रश्नहरू अति कठिन हुनु त्यसको कारण थियो । त्यो त्यस्तै भयो, त्यसपछि पनि न कसैले मलाई विधि नै सिकायो, न समीक्षा नै भयो, न मैले नै उपाय खोजेँ । केवल पढ्ने–पढाउने निरन्तरता !
भनिन्छ, पढ्नु, जान्ने हुनु र पढाउनु नितान्त फरक कुरा हुन् । पढाउनु एक ‘टेक्निक’ हो । हो पनि । तर न्यूनतम आधारहरू बारे जानकार हुनु जरुरी हुन्छ । मैले पहिलो पटक शिक्षण गर्दा रुचिपूर्ण कुरा बाट शुरु गर्ने न्भततष्लन कतबचतभम धष्तज ष्लतभचभकतष्लन तजष्लन अपनाएँ । विद्यार्थीहरूलाई रुचिपूर्ण बनाउने प्रयत्न गरें । औपचारिक अध्ययनमा ‘सपोर्ट’ हुने गरी अनुभव बटुलेँ । मूल्याङ्कन गर्न जानिनँ । योजना बनाउन जानिनँ । सामग्री निर्माण, क्रियाकलाप हरूको प्रयोग, शिक्षण रणनीति, कक्षाकोठा व्यवस्थापन आदिबारे ज्ञान राखिनँ । के पढाएँ भन्ने पक्ष नै सतही भयो । सीमित पाठ्यपुस्तकमा केन्द्रित रहेर सो पाठ्यपुस्तकको पनि सीमित विषयवस्तुबारे छलफल गराउनु , बुझाउनु र जान्ने बनाउनु शिक्षणको केन्द्र बन्यो ।
पहिलो दिनमा पनि मैले जे जति सिकेको थिएँ, सोही कुरा मध्ये केही कुरा मात्र ओकलेँ । भाषण गरें । रेडियो झैँ बजेँ । न अन्तरक्रिया गराएँ, न समूह कार्य गराएँ । न मस्तिष्क मन्थन गराएँ, न अरू कुनै विधि र रणनीति नै उपयोग गरें । शिक्षण जीवनको प्रारम्भिक घनचक्करमा मैले बालबालिकाहरूलाई जे कुरा सिकाएँ सो जीवनोपयोगी थिए भन्ने लाग्थ्यो । आजको शिक्षण कस्तो रह्यो ? के कस्ता कमी–कमजोरी रहे ? अप्ठेराहरू के आइपरे ? भोलिका निमित्त कसरी योजना बनाउने ? जस्ता प्रश्नमा आधारित कुनै पनि पाठ पहिलो कक्षामा सिकिएन । कक्षा रमाइलो रह्यो । शिक्षण सन्तोषजनक रह्यो ।गौरव बोध अघि नै बोलिसकेँ । खुसीको कुरै न गरौँ । बस त्यत्ति !
आम रूपमा आजको शिक्षणको आधारमा भविष्यको लागि योजना बनाउने प्रचलन बिरलै भेटिन्छ । त्यस्ता प्रवृत्ति भएका शिक्षक कति होलान् र ? मैले पनि न आत्ममूल्याङ्कन नै गरें, गरें भन्ने हो भने ‘म सक्छु’ भन्ने शक्ति प्राप्त गरें । त्यसलाई नै तक्मा सम्झैँ । जागृत अन्ध आत्मविश्वासले मलाई त्यसवेला सक्षम शिक्षक बनायो । यी पङ्क्तिहरूका अक्षरहरू कोरिरहँदा मैले स्मरण गरेका विगतले मलाई धेरै शिक्षा दिइरहेछ । यसप्रकार आफ्नो विगत नियाल्ने, आत्मसमीक्षा गर्ने , आत्ममूल्याङ्कन गर्ने क्रमले नजानेर भएका कमजोरी सच्याउने अवसर मिल्छ, भोलिका लागि तयार हुन मार्गप्रशस्त हुन्छ । आम शिक्षकले यसै गर्नु पर्छ भन्ने मेरो मत छ ।
शिक्षण सिकाइलाई फलीभूत बनाउने सबैको लक्ष्य चाहिन्छ । फरक–फरक क्षमता भएका विद्यार्थीलाई पहिचान गरी पढाउन सक्नु, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, समूह कार्य, प्रस्तुति कार्य जस्ता विभिन्न क्रियाकलाप गराउनु आजको आवश्यकता हो । विषयवस्तुको स्पष्ट ज्ञान हुनु, शिक्षण टेक्निकहरू प्रयोग गर्न जान्नु, नयाँ ज्ञानसँग अपडेट भइरहनु जस्ता कुरा हरू पनि भुल्नुहुँदैन । म अयोग्य तर सक्षम शिक्षक थिएँ त म भन्दिनँ तर कुनै डिग्री हासिल गर्दैमा कोही पनि पोख्त, सक्षम शिक्षक भइहाल्दैन । शैक्षिक योग्यताका अलावा अनुभव, तालिम, निरन्तर शिक्षण सिकाइप्रतिको प्रतिबद्धता अनिवार्य शर्त हुन् । म शिक्षक हुँदा मेरो भागमा कैयौँ कलिला बालबालिकाको सिङ्गो भविष्य निर्माण गर्ने महान् जिम्मेवारी छ भन्ने कुरा को ख्याल रहनु नै उत्तरदायी हुनु हो । सो उत्तरदायिŒव पूरा गर्न सक्नु नै हराम्रो धर्म र कर्म दुवै हो । जय शिक्षक !
नरेन्द्र कुमार नगरकोटी
रयाले–३, काभ्रे
हाल एबीएम स्कूल बननेपा
पहिलो कक्षा पछि नै सरुवा
दोस्रो श्रेणीमा एसएलसी पास गरेर बसेको थिएँ । सीधै जागिर पाउन चिने–जानेका ठूला मान्छे थिएनन् । संयोगवश जिशिकाले त्यतिवेलै विज्ञापन निकाल्यो । लिखित र मौखिक परीक्षामा सहजै उत्तीर्ण पनि भएँ । लगत्तै श्री वीरभक्ति हाईस्कूल तार्कुघाटको प्राथमिक तहको अस्थायी शिक्षक पदको नियुक्ति पाएँ, जुन स्कूलमा मैले पढेको थिएँ । २०३२ साल पुस १६ गते बिहान १० बजे स्कूलमा उपस्थित भएँ । हेडसरलाई पत्र बुझएँ । आफूले पढेको विद्यालय, आफैँलाई पढाउने शिक्षकहरू कोही पनि अपरिचित थिएनन् । तर पनि केही डर र धकका कारण मलाई असजिलो अनुभव भएको थियो ।
पहिलो पिरियड लाग्यो । नेपाली विषय पढाउन विद्यार्थीको हाजिरीकापी, चक र डस्टर बोकेर कक्षातिर लागेँ । कक्षामा विद्यार्थी टनाटन थिए । पाठ ‘ईश स्तुति’ मा पुगेको जानकारी विद्यार्थीबाट पाएँ । मैले सस्वर वाचन गरेर विद्यार्थीहरूलाई पाठ सुनाएँ । विद्यार्थीहरूलाई पनि त्यसै गरी वाचन गर्न लगाएँ । मठमन्दिर र मूर्तिमा मात्र होइन; सारा जीव–जीवात्मा र जगतमा ईश्वरको बास हुन्छ भन्ने पाठको सन्देश थियो ।
दोस्रो पिरियडको रुटिङ तयार नभएकाले म अफिसमा नै बसिरहेको थिएँ । ‘शिक्षा कार्यालयबाट आएको तपाईंको पत्र’ भन्दै एक जना सरले मलाई बन्दी खाम दिनुभयो । खोलेर हेर्दा लेखिएको थियो, “जिल्ला शिक्षा कार्यालयको पुस १६ गतेको नियुक्तिपत्रमा तपाईंलाई भैरव प्रावि, मोहोरिया हुनुपर्नेमा वीरभक्ति हाईस्कूल भएकाले भूलसुधार गरिएको छ । भैरव प्राविमा हाजिर हुन जानुहोला ।” म किंकर्तव्यविमूढ भएँ । साह्रै नरमाइलो लाग्यो । केही सुनुवाई हुन्छ कि भनेर हेडसरलाई पत्र देखाएँ । तर उहाँले त रमानापत्र पो बनाइसक्नुभएको रहेछ । भोलिपल्ट पुस १७ गते म भैरव प्रावि, मोहोरियामा हाजिर हुन पुगेँ । आफू खेलाडीले हानेको फूटबल जस्तै भएको अनुभूति भयो; तर कसैलाई पनि केही भनिनँ । पछि रहस्यको पर्दा उघ्रियो । जुन सरले मलाई पत्र दिएका थिए; उनी नै मोहोरिया सरुवा भएका र बीचमै आफ्नो स्थान सुरक्षित गर्न सफल भएका रहेछन् ।
शुरु को दिन खुसीको हाँसो र दुः खको आँसु सँग सँगै भने जस्तै भयो । तर विचलित नभइकन मैले भैरव प्राथमिक विद्यालयमा बाह्र वर्ष सेवा गरें र पछि वीरभक्ति उच्च माध्यमिक विद्यालयमा फकिएँ । एघार वर्षपछि रुद्र माध्यमिक विद्यालय सरुवा भएँ । तर आज पनि मैले पहिलो दिनको कक्षा भुलेको छैन । पहिलो दिन देखि आजसम्मका अनुभवले सिकाएको सार हो, समय र आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनुपर्छ । डर, त्रास र दण्डबाट भन्दा शिक्षा, भरोसा र अभिप्रेरणाबाट विद्यार्थीहरूको सिकाइ दिगो हुने मेरो ठम्याइ छ । अनि शिक्षित र दीक्षित बनेर मात्र शिक्षक बन्नु उचित हुन्छ । त्यसले नै हामी शिक्षकलाई मान सम्मान , आत्मगौरव र सन्तुष्टि दिलाउनेछ ।
ऋषिराम लामिछाने
रुद्र माध्यमिक विद्यालय
तार्कुघाट–३, हर्राबोट, लमजुङ
तयारी र समर्पण महत्वपूर्ण रहेछ
मैले शनिश्चरे मावि, शनिश्चरे बजार, झपाबाट २०३६ सालमा एसएलसी पास गरे की थिएँ । त्यसवेला माघमा एसएलसी परीक्षा र असारमा नतिजा प्रकाशित हुन्थ्यो । मेरा बाबाआमा आसाम प्रवासी हुनुहुन्थ्यो र श्री ५ को सरकारले पुनर्वास भनी जग्गा नहुनेलाई बसोबासगराउँदा सुदूरपश्चिमको कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. १२ मा बसोबास गर्न आदेश दिएबमोजिम हामी जिल्ला कैलाली, धनगढी नगरपालिका वडा नं. १२ मा बसोबास गर्न पुग्यौं । यसै सिलसिलाबाट म धनगढी नगरपालिका वडा नं. ११ मा पर्ने जनकल्याण निमावि (हालको जनकल्याण मावि) मा अध्यापन गर्ने सौभाग्य पाएँ । त्यसवेला शिक्षा कार्यालयबाट नियुक्ति दिने गरिन्थ्यो । मैले एसएलसी पास मात्र गरेको भए पनि निमाविस्तर मा नियुक्ति पाएँ । जब म नियुक्ति पाएर विद्यालयमा प्रवेश गरें, त्यसवेला म आफैं यतिगौरवान्वित भएँ कि यहाँ म त्यसलाई शब्दमा अभिव्यक्त गर्न सक्दिनँ ।
मलाई कति–कति कक्षामा के–के विषय पढाउन लगाइन्छ, त्यहाँ गएर विद्यार्थीलाई कसरी सिकाउने, पढाउँदा–पढाउँदै नआउने पो हो कि, बोल्दा बोली काम्ने पो हो कि वा बोल्ने शब्द नै पो नआउने हो कि भन्ने कुरा ले मनमा ढ्याङ्ग्रो नठोकेको होइन; तापनि आज मेरो पहिलो दिन विद्यार्थीलाई कथा, चुट्किला, बालगीत, लोकगीत सुनाउँछु, खेल खेलाउँछु अनि भोलि देखि जुनसुकै विषय पनि पूर्व तयारी गरेर पढाउँछु भन्ने योजना बनाई दह्रो मुटु बनाएर विद्यालयमा प्रवेश गरें ।
म पहिलो दिन ठूला कक्षामा कथा, कविता र साना कक्षामा पाठ पढाउँदै बीचबीचमागीत गाउँदै विद्यार्थीमा उत्प्रेरणा ज गाउँछु भन्ने तयारीका साथ विद्यालयमा प्रवेश गरे की थिएँ । तर मलाई पहिलो घण्टीमा सात कक्षामा नेपाली विषय पढाउन लगाइयो । कक्षाकोठामा पस्दा विद्यार्थीले उठेर सम्मान गरे । परिचय गरे पछि पहिलो दिन मैले बालक ध्रुवको कक्षा सुनाएँ । जस्तोसुकै विघ्न आए पनि नडराई सामना गर्यौ भने अवश्य सफल हुन्छौं भन्ने प्रेरणा यस कथाले दिन्छ भन्ने कुरा सम्झएँ ।
जब म कक्षा ७ मा प्रवेश गरें । त्यहाँ आफूभन्दा ठूल्ठूला विद्यार्थी देखेँ । कक्षा ७ मा केटा ३५ र केटी २ जना मात्र थिए । ठूला विद्यार्थी भए पनि मैले बोलेको कुरा चुपचाप ध्यान दिएर सुनेका थिए । त्यसवेलाका विद्यार्थी साहै्र सोझ र सज्जन थिए । बीच–बीचमा प्रश्न गर्दा उठेर जवाफ दिन्थे । यसर्थ विद्यार्थीको प्रतिक्रिया र व्यवहार एकदमै रराम्रो थियो ।
त्यसवेला अहिलेको जस्तो व्यवस्थित कक्षाकोठाहरू थिएनन् । कुनै कक्षाहरू खरले छाएको टहरामा पढाइन्थ्यो । कुनै कक्षाहरूरूखको छायाँमा पढाइन्थ्यो । विद्यालयमा पर्याप्त कक्षाकोठाहरू थिएनन् । जहाँ, जस्तोसुकै स्थितिमा कक्षा सञ्चालन गरे पनि विद्यार्थीहरू शान्त मुद्रामा बसेर शिक्षकले पढाएको ध्यान दिएर सुन्थे । वेलावेलामा प्रश्नगर्थे । केही कुरा सिक्न उत्सुक देखिन्थे ।
पहिलो दिनको कक्षाबाट मैले महत्वपूर्ण कुरा हरू सिकेँ । भोलिपल्टका लागि तोकिएको विषयको जुन पाठ पढाउनु पर्ने हो त्यसको पूर्व तयारी गर्नु पर्छ भन्ने बोध भयो । त्यस्तै जुनसुकै तरिकाले विद्यार्थीले गरेको सही प्रश्नको सही जवाफ त शिक्षकले दिन सक्नु नै पर्छ । आफ्नो स्तर अनुसार शिक्षक दक्ष, पोख्त हुनुपर्छ । विद्यार्थीको सङ्ख्यात्मक भन्दा गुणात्मक स्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने कुरा मा सधैं तम्तयार रहनु पर्छ । पढाइका साथै अतिरिक्त क्रियाकलाप गराई हर क्षेत्रमा क्रियाशील बन्दै अगाडि बढ्नुपर्छ भन्ने भावनाको जागरण गराउनु एक शिक्षकको रूपमा मेरो दायित्व रहेछ भन्ने कुरा शिक्षण गर्दा गर्दै थाहा भयो ।
मेरो आजसम्मको शिक्षण जीवनको निष्कर्ष हो, आजका विद्यार्थी नै भोलिका राष्ट्रका खम्बा हुन् । यसर्थ हामीले आफ्नो स्वार्थभन्दा पर बसेर आफ्नो कर्मशील र देशभक्त जनशक्ति तयार गर्नमा आफूलाई समर्पित गर्नु पर्दछ । हामीले पढाएका विद्यार्थी न्यायको पक्षपाती, साहसी, सृजनशील, स्वावलम्बी होऊन् । त्यसको जग त प्रावि नै हो । पढेर र सिकेर कहिल्यै सकिँदोरहेनछ । यसर्थ हामीले जीवनभर रराम्रो कुरा सिक्ने र रराम्रो कुरा सिकाउने उद्देश्य बोकेर भविष्यमा अगाडि बढ्नु पर्दछ । अनि मात्र शिक्षण जीवनलाई सार्थक बनाउन सकिन्छ ।
फाल् गुना दाहाल
नवदुर्गा प्रावि, धनगढी
नगरपालिका–१२, कैलाली
मुखभरी चकको धूलो !
ठीक १०ः ३० बजे पहिलो घण्टी लाग्यो । अरू सरहरूसँगै हाजिरी रजिष्टर लिई म कक्षातिर लागेँ । अभिवादनको आदानप्रदानपछि हाजिरी गरे र आफ्नो परिचय दिँदै भनेँ– “आज म विज्ञान शिक्षकको रूपमा तपाईंहरूलाई पढाउन आएको छु । आज तपाईंहरूलाई ‘बल’ पाठ पढाउँछु । सबै जना किताब र कापी साथै कलम पनि खोलेर राख्नुस् ।” कक्षाकोठाको वातावरण शान्त थियो । ब्ल्याकबोर्डमा पाठको नाम (बल) लेखेर पढाउन थालेँ ।
घडीले समय सकिएको जनाउ दिएपछि ब्ल्याकबोर्ड सफा गरेर अफिसकोठा फर्किएँ । त्यहाँ पुग्नेबित्तिकै सरहरूले हँसिलो पारामा प्रश्न गर्नु भयोः
– “कक्षाकोठामा हल्ला त भएन ?”
– “भएन ।”
– “पसिनै पसिना हुनुभएछ नि !”
म हडबडाएँ र मुख छाम्न पुगें । मुखभरी चक पो दलिएछ । सरहरू झन् हाँस्नुभयो । तर अरू कुरा मा सरहरूले धेरै माया गर्नु भयो । कक्षा लिनुअघि र पछि को व्यवहार फरक र अझ् मिलनसार पाएँ ।
यदि शिक्षक हुनुछ भने विषयवस्तुको उच्च ज्ञान राख्नै पर्छ र पाठ्यपुस्तक बाहेक पत्रपत्रिका, रेडियो, टिभी हेर्नै पर्छ जस्तो मलाई अनुभव भयो ।
शिक्षण पेशामा लागेको आज २४ वर्ष बित्न लाग्यो । यस कालमा तीतामीठा अनुभव धेरै सँगालियो ।
यस अवधिमा मैले सिकेको कुरा लाई सुझावका रूपमा राख्न चाहन्छुः
प्रअलाई सल्लाह
– विद्यालय प्रशासन प्रजातान्त्रिक ढङ्गबाट सञ्चालन गर्नु पर्छ ।
– सम्पूर्ण कारोबार पारदर्शी हुनुपर्छ ।
– विद्यालयको भौतिक संरचनामा ध्यान दिनुपर्दछ । सबैभन्दा बढी ध्यान कक्षाकोठाको व्यवस्थापनमा दिनुपर्दछ ।
– गुणस्तरीय शिक्षाको लागि प्रअ नै बढी इमान दार र प्रतिबद्ध हुनुपर्दछ ।
– शिक्षक, विद्यार्थी र अभिभावकबीच रराम्रो सम्बन्ध विकास गर्नु पर्छ ।
शिक्षकलाई सल्लाह
– पाठयोजना बनाउने र सोही अनुसार पढाउने गर्नु पर्छ ।
– किताबमा भएको विषयवस्तु मात्र होइन विद्यार्थीलाई उपयोगी हुने नयाँ–नयाँ ज्ञान, सीपका बारेमा पनि पढाउने बानी बसाल्नुपर्छ ।
– सकेसम्म बढी स्वाध्यायन गर्ने बानी बसाल्नुपर्छ ।
– आफ्नो विषयमा देश–दुनियाँमा भइरहेका नयाँ–नयाँ आविष्कार र प्रयोगहरूबारे अद्यावधिक हुनुपर्दछ ।
– मैत्रीपूर्ण व्यवहार र विद्यार्थीकेन्द्रित शिक्षण विधि प्रयोग गर्नु पर्छ ।
शिक्षकले विद्यार्थीलाई
दिनुपर्ने सल्लाह
– कक्षामा शान्त र अनुशासित भई पढाएको कुरा सुन्नुपर्छ ।
– नजानेका/नबुझेका र मनमा लागेका कुरा हरू शिक्षकसित सोध्नुपर्दछ ।
– गृह कार्यहरू गर्नै पर्छ ।
– बिहान दुई घण्टा र साँझ् दुई घण्टा अध्ययन गर्नैपर्छ ।
– जुनवेला पनि सरहरूसँग नजानेका कुरा सोध्नुपर्छ ।
अभिभावकलाई सल्लाह
– बच्चाको पढाइ–लेखाइको अवस्थाबारे विद्यालयमागई सरहरूसँग र प्रअसँग जानकारी लिनुपर्छ । थप प्रगतिको बारेमा सरसल्लाह गर्नु पर्छ ।
– बच्चालाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरू समय समयमा उपलब्धगराइदिनुपर्छ ।
– अभिभावक भेलामा उपस्थित भई आफ्नो मनमा लागेका कुरा भन्नुपर्छ ।
– विद्यालयको स्तर रराम्रो बनाउन शिक्षक र व्यवस्थापन समितिलाई घचघच्याइरहनु पर्दछ ।
नवप्रवेशी शिक्षकलाई सल्लाह
– रराम्रो र असल शिक्षक बन्छु भन्ने कुरा मा भित्रै देखि प्रतिबद्ध हुनुहोस् ।
– पाठयोजना बनाउन अल्छी न गर्नु होस् ।
– विषयवस्तुको ज्ञान रराम्रोसँग हासिल गर्नु होस् ।
– बालमैत्रीपूर्ण र व्यावहारिक शिक्षणकला अपनाउनुहोस् ।
भरत सिंह
मावि निगौल–५, महोत्तरी
परिचयमै सकियो
२०४८ मङ्सिर ९ गते जिल्ला शिक्षा कार्यालय काभ्रे (तत्कालीन जि.शि.अ. दिलराज उपाध्याय)बाट श्री भद्रकाली प्रावि चुरीथुम्काका लागि मैले नियुक्ति पाएँ । अस्थायी भए पनि १९ वर्षकै उमेरमा सरकारी शिक्षकमा नियुक्ति पाउँदा हर्षको सीमा रहेन । यति चाँडै ठूलै जिम्मेवारी पाएको थिएँ मैले ।
भोलिपल्ट विद्यालय पुग्नुअघि मनमा अनेकौं तर्कका तरङ्गहरू चलिरहेका थिए । एककिसिमले डर र चिन्ता पनि लागिरहेको थियो भने अर्कोतिर स्कूले जीवनमा १०० पूर्णाङ्कको शिक्षा–शिक्षण विषय अध्ययन गरेकाले शिक्षकमा हुनुपर्नेगुण लगायत प्राथमिक तहको केही शैक्षिक ज्ञान ताजै रहेकाले आत्मविश्वास पनि थियो ।
नौलो मान्छे विद्यालयमा आएको देखेर प्रअले मलाई सोधपुछ गर्नु भयो र मैले जिशिकाबाट आएको जानकारी दिएपछि अफिस कोठामा लैजानुभयो । मैले नियुक्तिपत्र र दरबन्दी थप गरेको दुई वटा चिठ्ठी दिएँ । उहाँले चिठ्ठी खोलेर हेर्नुभयो र मलाई धन्यवाद दिनुभयो ।
त्यस विद्यालयमा अस्थायी व्यवस्थापन समिति पनि रहेछ । प्रअले भोलि बैठक राखेर हाजिर गराउँछु तपाईं ढुक्क हुनुहोस् भन्नुभयो । अनि कक्षाहरूमा नयाँ शिक्षक आउनुभएको रहेछ भनी पहिले जानकारी दिएर मलाई कक्षामा पठाइदिनुभयो ।
कक्षा प्रवेश गर्ने क्रममा कक्षा १ बाट शुरु गरे । त्यहाँ परिचय दिने–लिने काम सकेर कक्षा–२ मा गएँ । ठूलो कक्षा भनिएको कक्षा–३ मा करिब १४ जना केटाकेटीहरू रहेछन् । त्यहाँ प्रवेश गर्दा उठेर स्वागत गरे । मैले शुरु मा आफ्नो परिचय दिएपछि उनीहरूको नाम थर मौखिक रूपमा सोधपुछ गरे, त्यसपछि आ–आफ्ना कापीमा नाम, थर र ठेगाना लेख्न लगाएँ । अक्षर लेखाइबाट पनि पढाइको मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा मलाई थाहा थियो । त्यसपछि नेपाली, अङ्ग्रेजी, गणित लगायतका विषयहरू र पाठ के कस्तो छ भनी सबैलाई पढाइ सम्बन्धी कोर्षको बारेमा सोधपुछ गरे ।
अलि ठूला–ठूला केटाकेटीहरूले सबै विषयको कोर्ष पूरै भइसकेको र वार्षिक परीक्षाको तयारी बिदा हुन लागेको पो जानकारी दिए । कक्षामा पहिलो पटक प्रवेश गरेको दिन आपसी परिचयमै सकियो ।
राम सिं घिसिङ
बालुवा मावि, बालुवापाटी,
नाल्दुम, काभ्रेपलाञ्चोक



