मनका कुरा
आजको शिक्षा नीति र पेशागत सुरक्षा
शान्ति जङ्गल, महल कहीँ पनि पाइँदैन । शान्ति त ज्ञानमा मात्र पाइन्छ । ज्ञान दिने शिक्षक र ज्ञान आर्जन गर्ने विद्यार्थी दुवैले शान्ति कहाँबाट पाउँछन् त ? उत्तर सजिलो छ, केवल शिक्षाबाट । हराम्रो नेपालको हालको शिक्षानीति एकदम ज्ञानविहीन जस्तो छ । महात्मागान्धीले भनेका छन्, “यदि पढेर पनि जीवनको आदर्श उच्च भएन भने पढ्नु व्यर्थ छ ।” यसरी हराम्रो शिक्षा व्यर्थको भइरहेछ । हराम्रो शिक्षानीति पुरातन, अव्यावहारिक, अवैज्ञानिक र अरूको नक्कल गरे जस्तो छ । शिक्षाले विद्यार्थीहरूमा शाश्वत ज्ञान दिन सकेन भन्ने राष्ट्रले शिक्षामा गरेको लगानी खेर जान्छ । आज शिक्षालाई धेरै धन कमाउन र हाकिम बन्नमा सीमित पार्न खोजिँदैछ । शिक्षार्थीले आफ्नो जीवन, समाज , राष्ट्र र विश्वको मूल्य बुझन र आफ्नो जिम्मेवारीबोध गर्न सकिरहेका छैनन् । त्यस्तो किन भइरहेको छ भन्ने विद्यार्थीमा असल ज्ञानको कमी छ ।
प्राविधिक र रोजगारमुखी शिक्षा आजको आवश्यकता नै हो । तर ठूला प्राविधिक र पदवाला पैदा गरेर मात्र विश्वले शान्ति पाउन सक्दैन । त्यसैले शिक्षा नीति प्राविधिक, वैज्ञानिक र रोजगारमूलक सँगै उच्च ज्ञानमुखी हुनु एकदम आवश्यक छ । उच्च ज्ञानले मानिसमा इमान दारी, स्वावलम्बी, अरूको सहयोग गर्ने बानी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी एवं असल भावनाको विकास गराउँछ । त्यस्ता व्यक्ति जहाँ गए पनि , जहाँ बसे पनि तिनले शान्तिलाई बल पुरयाउँछन् । हराम्रो देश अहिले अशान्त हुनुको मूल कारण जनतामा असल ज्ञानको कमी नै हो ।
नेपालमा शिक्षा प्रदान गर्ने शिक्षकहरूको पेशा कमजोर, उपेक्षित र अपहेलित छ । शिक्षण पेशा हीनभावनाको पर्याय बनेको छ । हुन पनि ; २०औं, २५औं वर्ष शिक्षण गरिसकेका कैयौँ निमुखा शिक्षकहरू अहिलेसम्म अस्थायी नै रहेका छन् । त्यस्ता शिक्षकहरू उपहासको पात्र बनेर जीवन बिताइरहेका छन् । जबकि तिनले पढाएका विद्यार्थीहरू विदेशमा नाम कमाएका छन् भने स्वदेशा पनि नेतृत्वदायी भूमिकामा पुगिसकेका छन् ।
यदि ती अस्थायी शिक्षकहरू कमजोर नै थिए भने त्यतिवेलै उनीहरूलाई शिक्षण पेशाबाट बिदा गरिदिनुपर्दथ्यो । त्यसो गरिदिएको भए एउटा न एउटा पेशा अँगालेर आफ्नो जीवन अगाडि बढाउने अवसर पाउँथे । त्यसैले वर्षौंसम्म अस्थायी राखेर उमेरगुज्रिसकेपछि पनि स्थायी न गर्नु लाई बेइमानी नभने अरू के भन्ने ? हाम्रा विद्यालयहरूमा १७ थरीका शिक्षकहरू कार्यरत छन् । समान योग्यता र समान समय काम गर्ने शिक्षकहरूबीच तलबको अन्तर भने आकाश–जमिनकै फरक छ । जसले गर्दा न्याय, समान ता, नैतिकता र शोषणरहित समाज को शिक्षा दिने शिक्षकहरू नै आफैँ कार्यरत विद्यालयमा शोषण, अन्याय र असमान ता भोग्न विवश छन् । सरकारको यस्तै रवैयाका कारण तलब थाप्ने दिनमा हामी शिक्षकहरूलाई ठूलो हीनताबोध हुने गर्द छ । शिक्षाको प्रथम लगानी विद्यार्थी हो भने दोस्रो लगानीको रूपमा शिक्षकलाई नै लिइन्छ । यदि सरकारले शिक्षकमा लगानी गर्न कन्जुस्याइँ गरयो भने शिक्षाको सम्पूर्ण लगानी खेर जान्छ, गइरहेको पनि छ । कारण स्पष्टै छ थुप्रै शिक्षकहरू आफ्नै पेशाप्रतिको उदासीनताले गर्दा उच्च मनोबल र उत्साहका साथ शिक्षण क्रियाकलाप मा सरिक हुन सकिरहेका छैनन् । त्यसैले विद्यालयमा थरी–थरीका शिक्षकहरूको भर्ना तत्काल बन्द गरिनुपर्छ । शिक्षक सेवा आयोगबाट स्थायी भएर आएका शिक्षकहरूको व्यवस्थाले मात्र यो पेशा सुरक्षित, मर्यादित रगौरवान्वित हुनसक्छ र शिक्षण कार्य पनि फलदायी हुन्छ ।
अरविन्द कुमार यादव
सचिव, मधेशी शिक्षक फोरम, नेपाल
साथी खोजिदिनेलाई धन्यवाद !
सर्वप्रथम शिक्षक मासिकप्रति अभार प्रकट गर्द छु । शिष्ट, क्षम्य र कर्तव्यनिष्ठ रूपमा लगनशील भएर क्रियाशील हुनुपर्ने पेशा अपनाउँदै आएको व्यक्ति हुँ म । शिक्षण पेशामा लागेका हामी जस्ता तमाम साथीहरूको ढुकढुकी रहेछ शिक्षक भन्ने कुरा वैशाख महिनामा प्रकाशित ‘हराएको साथी’ विषयमा लिखित साथी रमेशहरि शर्माको चिठ्ठी पढेर अनुभव गरें । साथीको खोजी गरेकोमा साथीलाई र खोज्न सघाएकोमा शिक्षक लाई मुरीमुरी धन्यवाद दिन्छु । शिक्षक मा छापिएको पत्रको व्यहोरा ठ्याक्कै मिलेकामा ले विश्वस्त भई मेरो मोबाइल नं. दिएर साथी–साथीबीच भेटघाट सहज तुल्याइदिने भतिजा हरिप्रसाद पोखरेललाई पनि धेरै–धेरै धन्यवाद दिन्छु ।
धेरै समयपछि को सञ्चारको भेटले मात्र हाम्रा जिज्ञासा र कौतुहलले पूर्णता पाउन सकेन । त्यसैले अतीतको सम्बन्धलाई २३ वर्षअघिको जस्तै घनिष्ठ र पारिवारिक रूपमा समेत कायम राख्ने उद्देश्यका साथ रमेश दम्पती पोखरा आए । उनीहरूको पोखरा बसाइँ छोटो भए पनि लामो अन्तरालमा अनौठो तरिकाबाट भएको पुनर्मिलनले हामीबीचको सम्बन्ध सुदीर्घ रहने कुरा मा विश्वस्त भएका छौं ।
सबैलाई धन्यवाद !
भेषराज शर्मा
सेन्टमेरिज उमावि, नयाँ गाउँ, पोखरा
पैसा हैन, पुस्तक दिऊँ
कक्षा आठभन्दा माथिलाई अलि बढी साहित्यिक पुस्तकहरू दिँदा रराम्रो हुन्छ । सामान्यज्ञानका पुस्तक कक्षा ५ भन्दा माथिका सबैलाई उपयोगी हुन्छन् ।
हरेक मानिस आफ्नो स्तर उकास्न चाहन्छ । अझ् भनौं; ऊ आर्थिक रूपमा सम्पन्न हुन चाहन्छ । हुन्छ पनि । तर आर्थिक स्तर उकालो लाग्दैमा उसको ‘स्तर ’ माथि उठेको मान्न सकिन्न । स्तर माथि उठेको त त्यतिखेर मानिन्छ जब उसको सामाजिक, शैक्षिक , प्राज्ञिक, राजनीतिक, आर्थिक आदि समग्र पक्ष सबल भएको हुन्छ । सबैभन्दा बढी त मानिसको चेतना र संस्कारको स्तर उकासिनुपर्छ ।
हाम्रा ठूला चाड दशैँ–तिहार नजिक आएका छन् । तर चाडपर्व कसरी मनाउने ? कति खर्च गर्ने ? यी चाडपर्वहरूको संस्कारगत मूल्य–मान्यता के हो ? केलाई जोगाउने, केलाई त्याग्ने ? यसतर्फ हामी शिक्षकहरूले एउटा प्रगतिशील दृष्टिकोण बनाउनु जरुरी छ । हामी शिक्षकहरू समाज मा अगुवा, पथप्रदर्शक मानिन्छौं । त्यसैले हामीले चाडपर्व मनाउँदा के ठीक, के बेठीक भनी छुट्याउन थोरै भए पनि वैज्ञानिक विश्लेषण गर्नु जरुरी छ ।
मैले विगत दश वर्ष देखि बिहे–बटुल, पास्नी, भोज, ब्रतबन्ध आदिमा पुस्तक उपहार दिने गरेको छु । शुरु मा धेरै मानिसले मलाई खिसीको पात्र बनाए तर मैले त्यसो गर्न छाडिनँ । अहिले तिनै मानिसहरू ‘ठीकै गरेको रहेछ’ भन्ने सम्ममा पुगेका छन् । त्यसै अनुरुप यसपालिको दशैं–तिहार अलि भिन्न तरिकाले मनाउने निर्णय गरेको छु ।
हामी सबै शिक्षकहरूले पुस्तक उपहार दिएर नयाँ कार्यको थालनी किन न गर्ने ? त्यसैले समस्त शिक्षक मित्रहरूमा आग्रह छः यसपालिको दशैं–तिहारबाटै दक्षिणा पैसा होइन पुस्तक दिन थालौं ।
कस्ता पुस्तक उपहार दिने ?
व्यक्तिको उमेर, शिक्षा, रुचि, क्षमताका आधारमा पुस्तक उपहार दिँदा हाम्रा उपहारहरू ठीक ठाउँमा पर्छन् । साना केटाकेटीहरूलाई बालचित्रका पुस्तक (कथा, जीवनी आदि) कक्षा ५ भन्दा माथिकालाई बालकथा, बाल–उपन्यास, बाल–कविता, चर्चित व्यक्तिका जीवनी जस्ता पुस्तकहरू दिनु उपयुक्त हुन्छ । कक्षा आठभन्दा माथिलाई अलि बढी साहित्यिक पुस्तकहरू दिँदा रराम्रो हुन्छ । सामान्यज्ञानका पुस्तक कक्षा ५ भन्दा माथिका सबैलाई उपयोगी हुन्छन् ।
निकै ठूला (उमेरले), पढे–लेखेकाहरूलाई उपहार दिँदा राम्रा–राम्रा कथासङ्ग्रह, उपन्यास, निबन्धसङ्ग्रह, समालोचना, आत्मकथा/संस्मरण, सिद्धान्त, दर्शनका पुस्तक दिन सकिन्छ । पढ्न मात्र सक्ने पाकालाई टीका लगाउनुछ भने धार्मिक पुस्तकहरू दिँदा उपयुक्त हुन्छ । भूतप्रेत, धामी–झँक्रीप्रति विश्वास बढाउने पुस्तक दिनुहुँदैन ।
पुस्तक उपहार किन ?
पैसा मासिन्छ । साना केटाकेटीले अनावश्यक कुरा किन्न खर्च गर्छन् । पुस्तक दियो भने लामो समय रहिरहन्छ । उनीहरूमा पढ्ने संस्कार बस्छ । त्यसबाट त हामी शिक्षकहरूलाई फाइदै हुन्छ ! तिहारमा दिदीबहिनीहरूलाई पनि ‘कुन पुस्तक पढेको छैन’ वा ‘कुन पढ्न मन छ’ सोधेर पुस्तक दिँदा के फरक पर्छ र ! दिदीबहिनीहरूले पनि राम्रै मान्नुहुन्छ होला ।
पुस्तक उपहारका फाइदा
प्रकाशित एउटा पुस्तकले धेरै व्यक्ति वा संस्थासँग सरोकार राखेको हुन्छ । त्यसबाट धेरैले रोजगारी वा अंश–अंश लाभांश प्राप्त गरिरहेका हुन्छन् । हामी पढेलेखेका शिक्षकहरूको थोरै रकम अक्षरकर्मीहरूको हातमा पर्दा हामीलाई के घाटा हुन्छ र ! एउटा लेखक बाँच्छ । हराम्रो थोरै पैसाले प्रतिभावान् मानिसहरू उँभो लाग्छन् भने हामीले कन्जुस्याइँ गर्ने ठाउँ नै रहँदैन ।
अर्को कुरा ; हाम्रा प्रायः जसो प्रकाशन संस्थाहरू निर्वाहमुखी छन् । हामीले पुस्तक उपहार दिन थाल्यौं भने ती व्यवसायमुखी बन्छन् । उद्योगी बन्छन् । यसबाट राज्यलाई पनि फाइदा हुन्छ । प्रतिभाको कदर हुन्छ । प्रतिभाको कदर हुनसक्यो भने उसबाट अझ् राम्रा–राम्रा पुस्तकहरू हामीले पढ्न पाउँछौं । हामीलाई ज्ञानदान गर्नेहरूको मनोबल बढ्यो भने उनीहरू लेखनकार्यबाट विचलित हुँदैनन् ।
कस्ता पुस्तक छनोट गर्ने ?
उपहार दिनका लागि पुस्तक छनोट गर्दा कुण्ठा, निरासा, पलायन, अश्लील, पश्चगमन प्रकृतिका छान्नुहुँदैन । सरल वाक्यगठन, बोधगम्य, प्रगतिउन्मुख पुस्तकहरू मात्र छान्नुपर्छ । अझ् लेखक, प्रकाशक/सम्पादक हेरेर पुस्तक खरिद गर्न सके रराम्रो हुन्छ । मुख्य कुरा पुस्तकको विषयवस्तुको उपयोगिता हेरेर पुस्तक खरिद गर्न सकियो भने उपहार पाउनेले त्यसलाई रराम्रोसित पढ्छ । जतन गर्छ ।
अन्त्यमा, यो भौतिक जगतभन्दा आनन्दको जगत कतै छ भने त्यो पुस्तकको संसार हो । पुस्तक पढ्दाको आनन्द अन्यत्रबाट अनुभूत हुनै सक्दैन । पुस्तक पढ्ने लत बसेपछि जोकोही पुस्तक नपढी बस्नै सक्दैन । त्यसैले दशैं–तिहारमा मासु, कपडा, फलफूल आदिमा गरिने खर्चबाट थोरै रकम उबारेर पुस्तक किनौं ! टीका थाप्न आउनेलाई पैसाको सट्टा पुस्तक दिन थालौं । यसबाट हामी शिक्षकहरूको सामाजिक प्रतिष्ठामा कमी आउँदैन बरु बढेर जान्छ । हाम्रा रुढी, संस्कारहरू घट्दै जान्छन् । कालान्तरमा यसको श्रेय हामीलाई प्राप्त हुन्छ ।
माधव सयपत्री
रामेछाप
जौ दिनेका जुँगा नउखेलौं !
विद्यालयमा पढाउन थाल्दा मेरो जुँगाको रेखी समेत बसेको थिएन । शिक्षक हुन आज जस्तो लाइसेन्स पनि चाहिँदैनथ्यो । लिखित र अन्तर्वार्तामा पास भएपछि मास्टर भइयो । तालिम अनिवार्य थिएन । आफू व्यवस्थापनको विद्यार्थी ! पढाउने विधि/तौरतरिका र पाठयोजना कुन चराको नाम हो केही थाहा थिएन । साथीहरूसँग कसरी पढाउने भनेर सोध्दा भन्नेगर्थे, “किताब हेर्ने खुरुखुरु पढाउने ।” विद्यालयमा कसले कस्तो पढायो, के पढाउँछ भन्नेमा कुनै निरीक्षण/अनुगमन न विद्यालय व्यवस्थापन समिति न त शिक्षा कार्यालयबाट नै हुने गर्द थ्यो । त्यसो भएपछि पढाउन सजिलै भयो । केही नयाँ कुरो सिकौंला भन्ने कुरो त मेरा लागि एकादेशको कथा जस्तै थियो । पढाउनका लागि पढ्नुपर्छ भन्ने ज्ञान समेत थिएन ।
पछि शिक्षा विषयको विद्यार्थी भएपछि शिक्षक हुनुको अर्थ अलिअलि बुझन थालेँ । आज पढाउँदै आएको पनि १७ वर्ष बितिसकेछ । शिक्षामा अनेकौं प्रयोग भए पनि ताŒिवक परिवर्तन देखि एन जस्तो लाग्छ । हाम्रा सामुदायिक विद्यालयको एसएलसीको नतिजा आज पनि माथि उठ्न सकेको छैन । शिक्षामा सरकारी बजेट बालुवामा पानी सावित हुँदैछ । यसमा हामी शिक्षकहरू नै धेरै दोषी छौं । हामी शिक्षकहरू सामाजिक संघ/संस्थाका पदाधिकारी हुनुपर्ने, पार्टीको कार्यकर्ता बन्नु पर्ने, आफ्ना पेशागत संघ/सङ्गठन हामीले नै धान्नुपर्ने, हामी आफैं कृषक हुनुपर्ने, व्यापारी हुनुपर्ने, सल्लाहकार हुनुपर्ने, समन्वयकर्ता बन्नु पर्ने, जजमानी पनि गर्नै पर्ने, मलामी र जन्ती जानै पर्ने भएपछि विद्यालयमा कसले पढाइदेओस् र विद्यार्थीहरू योग्य र सफल बनून् ! हामी सबै शिक्षकहरूले यो कुरा अब चाहिँ मनन् गर्नै पर्छ । हामी आफू सर्वप्रथम शिक्षक हुँ भन्ने कुरोलाई नभुलौं ।
विद्यालयको निर्धारित समय विद्यालयकै लागि हो भन्ने कुरा लाई हामीले भुलेकै कारण आज हराम्रो स्कूल शिक्षा कमजोर भएको हो । यसमा दोषी अन्य पक्ष पनि होलान् तर प्रत्यक्ष दोषको भागीदार हामी हौं ।
दिनको ६ घण्टाको समय पनि विद्यालय र विद्यार्थीहरूका लागि दिन सकिँदैन भने हामीले खाएको तलबले हामीलाई पखाला लाग्छ र हामी शिथिल हुनेछौं । समाज ले हामीलाई दिएको जिम्मेवारी हामीले लिनुहुँदैन भन्ने मेरो मान्यता होइन तर विद्यालय समयभन्दा बाँकी समयलाई सामाजिक सेवामा लगाउनु रराम्रो हुन्छ । म आफू विद्यालयको समयलाई मिचेर सामाजिक कार्य र संघ/संस्थालाई समय दिन्नँ किनकि पहिलो कुरो म शिक्षक हुँ । पढाउनु मेरो मुख्य काम हो । मैले पढाउँदा तलब लिएको छु । तलब अनुसारको काम मैले गर्नै पर्छ । त्यो मेरो नैतिक/मान सिक कर्तव्य र धर्म पनि हो । जसको जौ खाइन्छ उसको जुँगा उखेल्ने काम कमसेकम हामी शिक्षकले गर्नु हुँदैन । विद्यालय मेरो घर हो, शिक्षक हामी परिवार हौं; विद्यार्थी हाम्रा सन्तान हुन् भन्ने संस्कार हामीबीच हुर्किन सकेमा विद्यालयमा नै हामीले धेरै समय दिन सक्नेछौं र हामीले रोजेको र खोजेको विद्यालय बनाउन सक्छौं ।
दलबहादुर गुरुङ
दोभान उमावि, दोभान पाल्पा



