सफलताको समता सूत्र
यो स्कूलको सफलताको पहिलो ‘सूत्र’ प्रेरणा र उत्प्रेरणा नै हो भत्रे देखिन्छ । दोस्रो हो, सुयोग्य शिक्षकहरू । राजधानीमा भएका कारण यहाँ राम्रो श्रेणीमा स्नातकोत्तर गरेका शिक्षकहरू समेत समतालाई सहजै उपलब्ध हुने गर्छन् ।
केही वर्षअघिसम्म नेपालका शहर–बजारका अभिभावकहरू आफ्ना छोराछोरीका लागि स्कूल छान्दा एसएलसीको रिजल्टमा ‘बोर्ड टप’ गर्ने स्कूलतिर आँखा ल गाउँथे । बोर्डमा पर्नु ठूलो प्रतिष्ठाको विषय हुन्थ्यो र सर्वोत्कृष्ट १० भित्र पर्न एकदमै थोरै र नामी स्कूलहरूबीच अघोषित प्रतिस्पर्धा हुन्थ्यो । केही वर्षअघि त्यो परिपाटी बन्द गरियो । अहिले कुन स्कूल कस्तो छ भत्रे ठम्याउन एसएलसीको समग्र परीक्षाफल हेर्न थालिएको छ । शतप्रतिशत उत्तीर्ण र धेरैभन्दा धेरै विशिष्ट श्रेणी (डिस्टिङशन) कुनै स्कूलको सफलताको परिचायक मात्र नभई विज्ञापनको माध्यम पनि बन्न पुगेको छ । तर मुलुकभरिका करिब सात हजारमा सरकारी/सामुदायिक विद्यालयहरूमा १ सय ४४ वटाले मात्र शतप्रतिशत उत्तीर्ण गराउने जस पाएका छन् । तिनबाट विशिष्ट श्रेणीमा उत्तीर्ण हुनेहरू पनि तुलनात्मक रूपमा कमै छन् ।
एसएलसीको उत्तीर्ण प्रतिशत र माथिल्ला श्रेणीको परीक्षाफल अब विस्तारै शिक्षकहरूको स्तर र प्रभावकारिताको मापदण्ड पनि मानिन थालेको छ । यो ‘फलामे ढोका’बाट धेरै विद्यार्थीलाई रराम्रो श्रेणीमा पार लगाउन सक्ने शिक्षकहरूको प्रतिष्ठा र माग स्वतः बढेको छ ।
शिक्षक को भदौ अङ्कमा शतप्रतिशत उत्तीर्ण गराउने सरकारी/सामुदायिक विद्यालयहरूका बारेमा चर्चा गरिएको थियो । यसपटक हामी एउटा यस्तो स्कूलको कुरा गर्दैछौँ; जो न ‘बोर्डिङ’ जस्तो छ, न त सरकारी विद्यालय जस्तो । विपत्र वर्गका विद्यार्थीले भरिएको देख्दा यो सरकारी जस्तो लाग्छ । पाठ्यक्रम, पढाइ, अनुशासन, छुट्टीहरूको सङ्ख्या जस्ता कुरा हरू हेर्दा चाहिँ कुनैगतिलो निजी स्कूल जस्तो पनि छ ।
यो समता स्कूल हो । अहिले मुलुकभर फैलिँदै गरेको ‘समता शिक्षा सदन’को काठमाडौँ जोरपाटीस्थित मूलजरो । ‘संस्थागत विद्यालय’का रूपमा दर्ता भएको भए तापनि ‘समता शिक्षा सदन’ अरू संस्थागत स्कूल जस्तो महँगो छैन, न त यसले गरीबमुखी र लोकप्रिय हुनका लागि निःशुल्क पढाउनु पर्छ भत्रे मूढाग्रह नै राखेको छ । समता स्कूलले विद्यार्थीबाट मासिक रु.१०० मात्र शुल्क लिन्छ । नौ वर्षअघि निर्धारण गरिएको यो शुल्क त्यसवेला देखि बढेको पनि छैन । यसका संस्थापक सञ्चालक उत्तम सञ्जेलका अनुसार त्यो शुल्क पनि सबैले तिर्नु सक्दैनन् । स्कूलको अपुग खर्च चन्दा/अनुदान आदिबाट बेहोरिन्छ ।
यस्तो स्कूलले एसएलसीको रिजल्टबाट नामी स्कूलहरूलाई पनि चित् खुवाइदिन थालेको छ । जोरपाटीस्थित समता स्कूल एसएलसीमा सहभागी भएको तेस्रो पटक हो । परार साल यसका नौ जना विद्यार्थी विशिष्ट श्रेणीमा र बाँकी दुई जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।गत वर्ष यसका सबै विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भए । यस वर्ष परीक्षा दिने २८ जनामा २६ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भए । बाँकी दुई जनाले पनि ७९ प्रतिशत नघाए । त्यो भन्दा पनि चाखलाग्दो कुरा , यो स्तरीय परीक्षाफल हासिल गर्नका लागि ९–१० कक्षाका एक जना पनि कमजोर विद्यार्थीलाई ‘छटनी’ गरिएको छैन । उत्तम भन्छन्, “हराम्रो उद्देश्य नै कमजोरलाई मद्दत गर्ने हो, कमजोरलाई फालेर बलियाको रराम्रो रिजल्ट निकाल्ने काम हराम्रो आदर्श र सिद्धान्तसित नै मेल खाँदैन ।”
यस्तो रिजल्ट गर्ने स्कूल चाहिँ कस्तो छ त ? कसरी पढाउँछन् यहाँका शिक्षकले ? कौतुहल हुनु स्वाभाविक हो । केही पटकको अवलोकनमा समता स्कूलमा यस्ता विशेषता पाइयो–
– विद्यालयको जग्गा वा पक्की भवन छैन । वर्षको रु.४ लाख ५० हजार भाडा तिरेको ६ रोपनी जग्गामा रहेको यो स्कूलका भवन अस्थायी प्रकृतिका छन् । बाँसका टाटीमा लिउन लगाएर भवनका भित्ता बनाइएका छन् भने छानो जस्तापाताको छ । कक्षाकोठा सारै फराकिला छैनन् । उज्यालोको पनि उति वैज्ञानिक व्यवस्था भएको पाइँदैन ।
अर्थात्, समता स्कूलले रराम्रो परीक्षा परिणामका लागि फराकिलो स्कूल हाता र रराम्रो भवन नभए पनि हुँदोरहेछ भत्रे देखाएको छ ।
– समता, जोरपाटीमा एकजना पनि स्थायी शिक्षक छैनन् । स्थायी मात्र होइन, अस्थायी शिक्षक समेत छैनन् । यहाँ पढाए अनुसार पारिश्रमिक दिइन्छ र त्यो पनि सामान्यतया अन्यत्रको भन्दा कम । यहाँका कुनै पनि शिक्षकले बिदाको पैसा, दशैँ भत्ता वा अन्य कुनै पनि प्रकारका सुविधा पाउँदैनन् ।
करारमा आएर पढाउने र सामान्य मात्र पारिश्रमिक पाउने शिक्षकले आफ्ना अरू अवसर र प्राथमिकता छाडेर समता लाई लामो समयसम्म सेवा दिन सक्दैनन् । त्यसैले यहाँका सबभन्दा पुराना शिक्षक नै चार वर्ष मात्र पुराना छन् । करिब २५ सय जना विद्यार्थी पढ्ने यो स्कूलमा विद्यालय समयभरि बस्ने शिक्षक दुई जना मात्र छन् । तर तिनले पनि एसएलसी दिने विद्यार्थीहरूलाई भने पढाउँदैनन् ।
यहाँ ‘स्टाफरूम’को त कुरै परजाओस्, शिक्षकहरूलाई बस्नका लागि कुर्सीहरूको पनि व्यवस्था छैन । शिक्षकहरू वेला भएपछि सर्लक्क आउँछन्, चक–डस्टर बोकेर कक्षामा जान्छन् र कक्षा सकिएपछि बाहिरिन्छन् । यहाँ सामूहिक मिटिङ खाली भएको कक्षाकोठामा सञ्चालन गरिन्छ ।
अर्थात्, समता स्कूलले ‘विद्यार्थीहरूलाई रराम्रोसँग पढाएर रराम्रो परिणाम पाउने हो भने शिक्षकलाई स्थायी जागिर, भत्ता, बिदासहित पर्याप्त सुविधा दिनुपर्छ’ भत्रे मान्यतालाई पनि व्यवहारमा स्वीकार गरेको पाइँदैन ।
– यहाँ अनुभवी र तालिमप्राप्त प्रशासक छैनन् । स्कूलका इन्चार्ज बीबीए पहिलो वर्षमा अध्ययनरत २० वर्षका युवक छन् । सुशील अधिकारी नामक ती नवयुवक नै शिक्षकहरूको संयोजन लगायतका शैक्षिक प्रशासन सम्बन्धी काम हेर्छन् ।
अर्थात्, समता स्कूलले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको कुशल नेतृत्वको खाँचोलाई पनि खासै महत्व दिएको पाइँदैन ।
समता स्कूलको रराम्रो परीक्षा परिणामको सूत्र के रहेछ त भनेर खोज्ने क्रममा यी तथ्यहरू भेटिएका हुन् । विद्यालय सञ्चालनका लागि यी चाखलाग्दा जानकारी हुन् । तर मूल प्रश्न भने अनुत्तरित नै रहन्छ– यतिका अभावहरूका बीचमा रहेको स्कूललाई रराम्रो परिणाम ल्याउन मद्दत गर्ने कुरा चाहिँ के हो त ?
परिणाममुखी
समताले रराम्रो शैक्षिक उपलब्धि हासिल गर्नु को कारण अरूलाई थाहा नभए पनि शिक्षकहरूलाई अवश्य थाहा हुनुपर्छ । विशिष्ट श्रेणीमा वातावरण विज्ञानमा स्नातकोत्तर गरेका विपिन घिमिरे यहाँ माथिल्ला कक्षाहरूलाई वातावरण शिक्षा नै पढाउँछन् । उनी भन्छन्, “यो स्कूलले रिजल्ट खोज्छ र एउटा ‘प्रोफेशनल’का नाताले म रराम्रो रिजल्ट दिन चाहन्छु । विपत्र परिवारका विद्यार्थीहरू पढ्ने यस्तो स्कूलमा केही दिन सक्दा मलाई बेग्लै सन्तुष्टि पनि हुन्छ ।” उच्च शिक्षाका लागि विदेश जाने प्रयत्नमा रहेका घिमिरे थप्छन्, “जहिलेसम्म पढाउँछु यसरी नै पढाउँछु ।”
यहाँ ‘स्टाफरूम’को त कुरै परजाओस्, शिक्षकहरूलाई बस्नका लागि कुर्सीहरूको पनि व्यवस्था छैन । शिक्षकहरू बेला भएपछि सर्लक्क आउँछन्, चक डस्टर बोकेर कक्षामा जान्छन् र कक्षा सकिएपछि बाहिरिन्छन् ।
जीवविज्ञानमा स्नातकोत्तर गरेका राजन कार्की पनि घिमिरेकै कुरा मा सही थाप्छन् । तीन वर्ष देखि समतामा पढाइरहेका कार्की समताका विद्यार्थीको अनुशासनलाई पनि उत्तिकै श्रेय दिन्छन्, “विद्यार्थी मेहनत गरेर पढ्छन्, दिएको काम पूरा गर्छन्, अनि शिक्षकले त राम्ररी नपढाई धरै पाउँदैन ।”
‘समता स्कूलले रिजल्ट खोज्छ’ भत्रे कुरा ले पनि हराम्रो मूल चासो वा प्रश्नको आंशिक मात्र जवाफ दिन्छ । रिजल्ट त कसले खोज्दैन र ? यही प्रश्नको उत्तर खोज्दा अरू भेटिएका शिक्षकमध्ये एकजना हुन् रीता टण्डन । “कतिपय स्कूलमा ठूलै भइसकेका विद्यार्थीहरूलाई पनि फकाएर पढाउनु पर्छ । यहाँका विद्यार्थी शिक्षकका लागि वा बाबुआमाका लागि पढिदिएजस्तो गर्दैनन् । यति अनुशासित र ‘इन्टेलिजेन्ट’ विद्यार्थी मैले अन्यत्र भेटेकै छैन ।”
सकारात्मक वातावरण
समाज शास्त्री टण्डन यसको कारण पर्गेल्ने कोशिश गर्छिन्, “यहाँका अधिकांश विद्यार्थी विपत्र परिवारका छन् । सम्भवतः उनीहरूको घरको दुः खले उनीहरूलाई यति मिजासिलो हुन सिकाएको हो कि ?” तर विपत्रताले मानिसलाई त्यति धेरै प्रेरणा दिन्छ भने नेपालका अरू विकट ठाउँका, अरू विपत्र विद्यार्थीमा त्यो कुरा किन आएन त ? यो प्रश्नलाई समाज शास्त्री टण्डन ‘महत्वपूर्ण प्रश्न’ ठान्छिन् जसको जवाफ भने उनीसित पनि छैन ।
रीता टण्डन जस्तै अर्थशास्त्रमा स्नातकोत्तर गरेका रामकृष्ण डङ्गोल पनि समता स्कूलको वातावरण नै सकारात्मक पाउँछन् । उनलाई यहाँ पढाउँदा हुने आत्मसन्तुष्टि अन्यत्र प्राप्त हुँदैन । के त्यही ‘सकारात्मक वातावरण’ यो सफलताको सूत्र हो त ?
‘सकारात्मक वातावरण’ धेरै कुरा को संयोगबाट प्राप्त हुने प्रतिफल हो ।गुटबन्दी, राजनीतिक मत–मतान्तर र शक्तिको खिचातानी जस्ता कुरा ले शैक्षिक वातावरण खल्बल्याउन शुरु गर्ने हो । हाम्रा सार्वजनिक विद्यालयहरूमा योग्यता नपुगेका शिक्षकहरूको नियुक्ति, काम न गरे पनि थमौती हुने र जागिर पाकिराख्ने जस्ता विकृतिहरू राजनीतिक हस्तक्षेपकै कारण पैदा हुने हुन् । तर समतामा सम्बन्धित विषयमा उच्च शिक्षा हासिल गरेका शिक्षकले मात्र पढाउँछन् । स्कूलमा शिक्षक विद्यार्थीहरूको कुनै युनियन छैन । स्कूल आफैँ पनि कुनै ‘छाता सङ्गठन’ मा आबद्ध छैन ।
समता स्कूलको अर्को विशेषता छ, यहाँ विद्यार्थीलाई मनपरेका शिक्षकले मात्र पढाउन पाउँछन् । नियुक्ति पाउनुअघि शिक्षकले नमुना कक्षा पढाउनु पर्छ र विद्यार्थीलाई उनले पढाएको चित्त बुझेपछि मात्र उनको नियुक्ति हुन्छ । समताबाट यसै वर्ष एसएलसी गरेका सुनील लामा भन्छन्, “विद्यार्थीले नै रोजेको शिक्षक पाएपछि हराम्रो हौसला यसै बढिहाल्छ नि !” यसबाट विद्यार्थीहरूमा शिक्षकप्रति सकारात्मक भाव आउने र उनीहरू उक्त शिक्षकले पढाउने विषयमा अरू जिम्मेवार हुने अनुभव स्कूल इन्चार्ज सुशील अधिकारी को पनि छ ।
स्कूलका संस्थापक प्राचार्य र सञ्चालक उत्तम सञ्जेल बारम्बार भन्ने गर्छन्– “जोरपाटी क्षेत्रका विपत्र वर्गका बालबालिकालाई खराब सङ्गत र कामबाट जोगाउनका लागि यो स्कूलको स्थापना भएको हो ।” त्यस्तो जोखिमपूर्ण परिस्थितिमा रहेका बालबालिका शिक्षकहरू छक्क पर्ने गरी अनुशासित कसरी भए त ? उत्तम भन्छन्, “कसैलाई पनि तिम्रो भविष्य उज्यालो छ भनेर विश्वास दिलायो भने उसलाई आफूले भनेको बाटोमा हिँडाउन सकिन्छ । रराम्रो स्वास्थ्यकोग्यारेन्टी लिइदिने साधुका पछाडि त मानिसहरू आफ्नो खानपान र आचार–व्यवहार परिवर्तन गरेर लागेका छन् भने बालबालिकालाई परिवर्तन गर्न कति गाह्रो कुरा भयो र ?”
स्कूलका बारेमा बोल्ने सबभन्दा आधिकारिक व्यक्ति विद्यार्थी हो र हराम्रो मूल प्रश्नको जवाफ उनीहरूबाट आउन सक्छ भनेर केही विद्यार्थीहरूसित पनि समता को सफलताका बारेमा प्रश्न राखियो । उनीहरूको उत्तरमा दोहोरिएको साझ शब्द पनि ‘स्कूलको वातावरण’ नै रह्यो ।
यसै वर्ष एसएलसीअघि कमल सिङतान आफ्नो स्कूलको एकदम कम मात्र छुट्टी दिने र सकभर धेरै अतिरिक्त कक्षा गराउने प्रचलनलाई जस दिन्छन् । सिङतानलाई स्कूलमा पढुन्जेल जहिले पनि “सरहरू पढाउन नै आएका हुन्” भत्रे अनुभूति भयो, “यहाँ जागिरे सोचाइ छैन” उनी थप्छन् ।
शिक्षक रीता टण्डनले सङ्केत गरे झैँ के विद्यार्थीहरूको पारिवारिक विपत्रताको पनि यो सफलतामा कुनै भूमिका रहेको छ ? भर्खरै एसएलसी उत्तीर्ण गरेका सविन आचार्य भन्छन्, “उत्तम सरले हामीलाई सधैँ सम्झउनुभयो– तिमीहरूका बा–आमासित पैसा छैन । आफैँ पढेरगतिला भएनौ भने संसारमा टिकिखान सक्दैनौ ।” सधैँ सुन्दा–सुन्दा विद्यार्थीहरू त्यो कुरा आत्मसात् गर्न थाले, जुनवेला विद्यार्थी पढ्नलाई तयार भए त्यसवेला उनीहरूलाई पढाउन ‘उनीहरूले नै छानेका’ सुयोग्य (प्रायः स्नातकोत्तर गरेका) शिक्षकहरू तयार थिए, छुट्टी नभनी प्रायः सधैं खुल्ने स्कूल थियो र थियो ‘उत्तम सरको अनवरत प्रेरणा ।’
समता सूत्र
यसरी हेर्दा यो स्कूलको सफलताको पहिलो ‘सूत्र’ प्रेरणा र उत्प्रेरणा नै हो भत्रे देखिन्छ । त्यो उत्तम सञ्जेलको व्यक्तिगत विशेषता पनि हो । दोस्रो हो, सुयोग्य शिक्षकहरू । समता जोरपाटी राजधानीमा भएका कारण यहाँ रराम्रो श्रेणीमा स्नातकोत्तर गरेका शिक्षकहरू उपलब्ध छन् । अन्य काम गरेर र अवसरहरूको सदुपयोग गरेका शिक्षकहरूले यहाँ सेवामुखी र परिणाममुखी भएर पढाइरहेका छन् । थपमा विद्यार्थीहरूलाई नै शिक्षक छात्र दिएकाले विद्यार्थीहरूमा अपनत्व र जिम्मेवारीबोध दुवै थपिएको छ ।
अहिले १४ ठाउँमा सञ्चालित समता स्कूलमा १८ हजार विद्यार्थी अध्ययनरत छन् र थप ९ ठाउँमा स्कूलको तयारी हुँदैछ । यसले उच्च मावि पनि सञ्चालन गर्न थालेको छ ।
समता स्कूलले अभिभावक मानेका कलाकार तथा सामाजिक कार्यका अभियन्ता जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य परिमाण (सङ्ख्या) बढ्दै जाँदा परिणाम ( गुणस्तर ) खस्किन नदिनु नै समता स्कूलका सामु रहेको सबभन्दा ठूलो चुनौती मान्छन् । मदनकृष्ण थप्छन्, “सुयोग्य शिक्षकहरूको टीम बनाएर काम गरयो भने मात्र यो स्तर कायम हुनसक्छ ।” त्यसैमा थप्दै हरिवंश आचार्य भन्छन्, “यो एउटा व्यक्तिबाट शुरु भएको अभियानलाई बलियो र व्यापक बनाउन यसको संस्थागत विकास गर्नु पर्दछ । अनि मात्र सबैतिर को परिणाम रराम्रो आउन सक्छ ।” हरिवंश त्यसभन्दा पनि महत्वपूर्ण टिप्पणी गर्छन्, “खासमा हामीले हाम्रा विद्यार्थीले यतिउति डिस्टिङ्सन ल्याए भनेर धेरै फुर्किनु पनि हुँदैन । भोलि सयौं विद्यार्थीले जाँच दिँदा यस्तो नरहन सक्छ, कोही फेल पनि हुन सक्छन् । त्यसका लागि पनि तयार रहनु पर्छ ।”
उत्तम सञ्जेल भने समता स्कूल सबैतिर एउटै भावनाबाट सञ्चालित भएकाले अन्त पनि यसरी नै उम्दा परिणाम आउनेमा विश्वस्त छन् ।



