नपढाई जागिर खाने शिक्षकको मारमा सरकारी स्कूल
प्रश्नः जागिरे हुन्, कार्यालय जाँदैनन् । तलब खान्छन्, काम गर्दैनन् । को हुन् ?
उत्तरः सरकारी स्कूलका केही ‘ठालु’ र ‘कामचोर’ स्थायी शिक्षक ।
शिक्षा नियमावली २०५९ ले असाधारण बिदा बसेका, जिशिकाले काज खटाएका वा स्रोतव्यक्तिको जिम्मेवारी दिइएका शिक्षकको ठाउँ (लियन पद)मा विद्यालय व्यवस्थापन समितिले सम्बन्धित शिक्षक नफर्केसम्मका निम्ति वैकल्पिक शिक्षकको व्यवस्था गर्न (चल्तीको भाषामा सट्टा शिक्षक राख्न) सक्ने व्यवस्था गरेको छ । असाधारण बिदा बस्ने वा जिशिकाले खटाएको जिम्मेवारी वहन गर्न स्कूलबाट बाहिरिएका शिक्षकले आफूखुसी कुनै व्यक्तिलाई सट्टा राख्न पाउँदैनन् । नियमावलीले आफ्नो अनुपस्थितिमा कसैलाई शिक्षक राख्ने, आफूले राखेको व्यक्तिसँग मिलेर तलब भागबण्डा गर्ने अनि स्कूल न गएको दिनको हाजिर बजाएर तलब खाने छुट सरकारी स्कूलका कुनै पनि शिक्षकलाई दिँदैन । तर, देशका थुप्रै सार्वजनिक स्कूलहरूमा एक–दुई देखि तीन–चार जनासम्म त्यस्ता स्थायी शिक्षक भेटिन्छन्, जो आफू ठेक्कापट्टा, राजनीति, एनजीओ सञ्चालन, व्यापार–व्यवसाय तथा जग्गा दलाली जस्ता काम गर्छन्; स्कूलमा पढाउनको निम्ति आफ्नो वारेसलाई पठाउँछन् । यस्ता चालू र चलाख शिक्षकले प्रअ र व्यवस्थापन समितिलाई प्रभावमा पारेका हुन्छन् । तिनले वारेस वा खेताला राखेका शिक्षकलाई अत्यन्त न्यून पारिश्रमिक दिएका हुन्छन् ।

शिक्षा नियमावलीमा स्कूल व्यवस्थापन समितिलाई दिइएको शिक्षक नियुक्तिको अधिकार र प्रअलाई दिइएको शिक्षकलाई काम लगाउने र उसले काम गरे /न गरेको अनुगमन गर्ने अधिकारको दुरुपयोग गरी सार्वजनिक स्कूलमा काम न गरी तलब खाने प्रवृत्ति निम्त्याइएको देखिन्छ । फलतः स्कूलमा वारेस राखेका ‘ठालु’ तथा हाजिर मात्र गरेर तबल खाने ‘कामचोर’ शिक्षकलाई प्रअ र व्यवस्थापन समितिले संरक्षण गरेको भेटिन्छ । त्यस्ता शिक्षकहरूको रक्षाकवच बनेका प्रअ र व्यवस्थापन समितिलाई प्रत्यक्ष/परोक्ष रूपमा विनि, स्रोतव्यक्ति र शिक्षा अधिकारी हरूले पनि जोगाइरहेको पाइन्छ ।
सरकारी स्कूलको शैक्षिक गुणस्तर कोग्राफ उकालो नलाग्नुमा प्रअ, स्कूल व्यवस्थापन समिति, शिक्षा अधिकारी र राजनीतिकर्मी सबैले शिक्षक अभावलाई एउटा महत्वपूर्ण कारक मान्ने गरेका छन् । तर, सरकारी कोषबाट तलब खाइरहेका शिक्षकहरूले निजी लाभका निम्ति पेशागत दायित्व भुलेर ‘गोरख धन्दा’ गरिरहेको प्रति भने शिक्षा अधिकारी , प्रअ र व्यवस्थापन समितिले आँखा चिम्लिएको पाइन्छ । जसका कारण सार्वजनिक विद्यालयमा ‘कामचोर’, ‘ठालु’ र ‘भ्रष्ट’ प्रवृत्तिले संस्थागत रूपमा मौलाउन पाएको छ ।
शिक्षक मासिकले राजधानी, सुदूरपश्चिम र सिन्धुपाल्चोकका केही सरकारी विद्यालयमा आकस्मिक अध्ययन (¥याण्डम केस स्टडी) गर्दा गैर कानुनी रूपमा वारेस शिक्षक राखी आफू अरू नै ‘धन्दा’मा लागेका धेरै दृष्टान्त फेला परेका छन् ।
रघुवीर साउद, प्रावि शिक्षक हुन् । तर, उनले पढाउने कञ्चनपुरको दोधारा–चाँदनीको लक्ष्मी उमाविका विद्यार्थीले साउदलाई चिन्दैनन्; किनभने उनी कक्षाकोठाभित्र नछिरेको सात वर्ष भइसकेको छ । तर विद्यालयको उपस्थिति पुस्तिकामा उनीगयल छैनन् । उनले जिशिकाबाट तलब पनि थापिरहेकै छन् । साउदलाई स्थानीयहरू शिक्षक होइन, ‘ठेकेदार’को रूपमा चिन्छन् । हाजिर आफैँले गर्ने गरी साउदले दोधाराकै पप्पु गुरुङलाई आफ्नो ठाउँमा खेताला राखेका छन् । स्कूलमा पढाएको वेलाको तलब गुरुङले पाउँछन् भने बिदाको तलब लगायत बाँकी सुविधा साउदकै खल्तीमा जान्छ । गुरुङ स्वीकार्छन्, “मलाई बिदाको तलब दिइँदैन ।” साउदले यसअघि राखेका खेताला शिक्षक रामु थापाले पूरै तलब मागेपछि उनलाई हटाएका थिए ।

बैतडीको दशरथ माविका गणित शिक्षक चतुरबहादुर चन्दले स्कूलमा गणितको कक्षा लिएको कहिल्यै भेटिँदैन, उनी स्कूल हाजिर गर्न र तलब बुझन मात्र जाने गरेका छन् । आफ्नो सट्टामा पढाउनका लागि कृष्ण ठ गुन्नालाई वारेस राखेका चन्द शिक्षक संघ बैतडीका अध्यक्ष र नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष हुन् । भर्खरै नेपाली काङ्ग्रेसको १२ औं महाधिवेशनका प्रतिनिधि चुनिएका चन्द २०६० सालयता कक्षामा छिरेका छैनन् । बैतडीको कालिका मावि थालीगाडामा दरबन्दी रहेका चन्दले ‘सामाजिक काम’ गर्न सदरमुकामको दशरथ माविमा काज मिलाएका हुन् ।
दोहोरो हाजिर, सुरक्षित जागिर
कञ्चनपुरको जेसिस माविका प्रअ खेमलाल घिमिरे जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । उनी एउटै समयमा स्कूल र क्याम्पसमा हाजिर गर्छन् र दुवैतिर बाट तलब लिन्छन् । स्कूलमा उनले आफ्नो ठाउँमा तारा शर्मालाई शिक्षक राखेका थिए । तर, अभिभावकहरूले विरोध गरे पछि शर्मालाई हटाइएको छ । कञ्चनपुरका विनि पदमराज भट्ट र स्रोतव्यक्ति भवानीप्रसाद पन्तले गरेको छानबिन प्रतिवेदनमा घिमिरेले एउटै समयमा स्कूल र क्याम्पसमा हाजिर गरेको उल्लेख छ ।
डडेल्धुराको सिराड निमाविकी शिक्षक चित्रा पनेरु चौमासिक तलब बुझन र हाजिर गर्न स्कूल जान्छिन् । मानव अधिकार एलायन्स सुदूरपश्चिमकी क्षेत्रीय संयोजक पनेरुले ‘एनजीओ–शिक्षिका’ उपाधि पाएकी छन् । पनेरु ८ वर्ष देखि धनगढीमा मानव अधिकार परियोजना चलाइरहेकी छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित त्रिवेणी प्राविका शिक्षक मीरा भाट काठमाडौंमा बस्छिन् । भाटको स्थानमा राखिएका कृष्णबहादुर चन्दले दिनभरि चक र डस्टर घोट्दा मासिक रु.३५०० पाउँछन् भने बाँकी तलब काठमाडौं बसेर स्थायी जागिर सुरक्षित गरिरहेकी भाटको खातामा जान्छ । २०६६ चैतमा काठमाडौंबाट महेन्द्रनगर पुगेकी भाटले त्यसैबेला वर्षभरिको हाजिर गरेको स्कूल स्रोतको दाबी छ ।
सिन्धुपाल्चोकको बराम्चीस्थित भूमेश्वरी प्राविकी स्थायी शिक्षक अम्बिका नेपालले उक्त स्कूलमा नपढाएको पाँच वर्ष भएको छ । उनी माओवादी कार्यकर्ता बनेर २०६२ असारमा भूमिगत भए देखि स्कूल फर्केकी छैनन् । उनको सट्टामा स्कूलले २०६३ साउन देखि एक वर्षका लागि रेवती घिमिरेलाई शिक्षक राखेको थियो । तर, गएको जेठ देखि अम्बिकाले आफ्नै देउरानी दुर्गा पराजुलीलाई वारेस राखेकी छन् । यसअघि उनले सुभद्रा सुवेदी र बोधनाथ पौडेललाई राखेकी थिइन् । माओवादीनिकट अखिल नेपाल शिक्षक सङ्गठन, सिन्धुपाल्चोककी अध्यक्ष अम्बिका अचेल स्कूलमा होइन, सदरमुकामका राजनीतिक कार्यक्रममा भेटिन्छिन् ।
जिल्ला शिक्षा समितिकी सदस्य समेत रहेकी अम्बिकाले दुर्गालाई कति रकम दिन्छिन् स्वयं दुर्गालाई पनि थाहा छैन । “चाहिएको वेला दिन्छु भन्नुभएको छ, कति दिनुहुन्छ थाहा छैन”, दुर्गाले भनिन् । हाजिर रजिष्टरमा अरूले नै अम्बिकाको हाजिरी जनाइदिने गरेका छन् भने सोही आधारमा स्रोतव्यक्तिले तलबका लागि सिफारिस गर्ने गरेका छन् । जिशिकाको रेकर्ड अनुसार, आर्थिक वर्ष २०६६/६७ मा उनको नाममा रु.१,६२,८०० तलब निकासा भएको छ ।
सिन्धुपाल्चोककै स्याउले– १ स्थित मङ्गलाभैरव प्राविका प्रअ मोहनप्रसाद ढुङ्गेललाई स्रोतव्यक्ति डम्बर श्रेष्ठले धेरै पटक स्कूलमा अनुपस्थित रहेको भेट्टाएका छन् । श्रेष्ठले स्कूलको निरीक्षण गर्दा ढुङ्गेलले स्कूलको हाजिरी रजिष्टर चार–पाँचदिनसम्म घरमा राखेको पाएका थिए । १४ भदौ २०६७ मा शिक्षक प्रतिनिधि मङ्गलाभैरव स्कूल पुग्दा उनी त्यहाँ थिएनन् । स्कूलको रजिष्टरमा उनी १० भदौ देखि अनुपस्थित देखिन्छन् । प्रअ ढुङ्गेलको हाजिरी रजिष्टरमा हस्ताक्षर फरक–फरक देखि एकाले उनको नाममा अरू नै शिक्षकले हाजिर गर्ने गरेको अनुमान गर्न गाह्रो पर्दैन । स्कूलमा भन्दा अरू नै धन्दामा समय बिताउन थालेपछि छात्रछात्राले ढुङ्गेललाई र ढुङ्गेलले आफ्ना छात्रछात्रालाई चिन्न छाडेका छन् ।
सिन्धुपाल्चोकको स्याउले– ७ स्थित बाङ्बा भैरवी प्राविका शिक्षक कुमार थापालेगत वैशाख देखि सोही स्कूलका प्रअगोविन्द श्रेष्ठकी बहिनी सुमित्रालाई मासिक रु.२५०० दिएर आफ्नो ठाउँमा राखेका छन् । सुमित्रा आफूले शिक्षक थापाको सट्टामा पढाइरहेको स्वीकार्छिन् । स्थानीय अभिभावक शुक्रिम तामाङ भन्छन्, “मैले यसरी सरलाई सट्टा शिक्षक राख्न पाइन्छ र भनेर सोध्दा कुमार सरले ‘मैले आफ्नो तलबबाट दिने हो । तपाईंले सोध्न आवश्यक छैन’ भन्ने जवाफ दिनुभयो ।”
अनौठो विकृति
शिक्षा नियमावलीको परिच्छेद १९ मा शिक्षकले वर्षभरिमा भैपरी ६, पर्व ६, बिरामी १२, सुत्केरी ६० (दुई सन्तानका निम्ति मात्र) र किरिया बिदा १५ दिन पाउने व्यवस्था छ । पाँच वर्ष सेवा अवधि पुगेका शिक्षकले एक पटकमा एक वर्षमा नबढाइ सेवा अवधिमा तीन वर्ष असाधारण बिदा र पाँच वर्ष सेवा अवधि पुगेका शिक्षकले उच्चशिक्षा हासिल गर्नका निम्ति बढीमा तीन वर्ष बिदा पाउँछन् । नियम अनुसार असाधारण बिदामा बस्ने शिक्षकले तलब पाउँदैनन् । तर, नियमपूर्वक पाइने बिदा लिनुको सट्टा सरकारी कोषबाट काम न गरी तलब खाने ‘ठालु’ शिक्षकले सार्वजनिक स्कूल बर्बाद पारेका छन् । प्रहरी, सेना, निजामती कर्मचारी, चिकित्सक, पत्रकार कसैले पनि आफ्नो जागिर सुरक्षित गर्न अरूलाई सट्टा/खेताला/वारेस राखेर आफू चाहिँ ‘ठालु’ बनेको पाइँदैन ।
शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ मा कुनै शिक्षकले आफ्नो पदीय दायित्व पूरा न गरे मा, विना सूचना १५ दिनभन्दा बढी स्कूलमा अनुपस्थित रहेमा मादक पदार्थ सेवन गरी स्कूल गएको प्रमाणित भएमा वा नैतिक पतन देखि ने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा त्यस्तो शिक्षकलाई सेवाबाटै बर्खास्त गर्ने प्रावधान छ । शिक्षा नियमावली, २०५९ को नियम १३७ अनुसार, अनुशासनहीन काम गर्ने , बराबर स्कूलको समय पालना न गर्ने , आचरण सम्बन्धी नियम उल्लङ्घन गर्ने र खटाइएको तालिममा भाग नलिने शिक्षकलाई पाँच वर्षसम्म तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्न सकिन्छ । तर, प्रअ, व्यवस्थापन समिति र शिक्षा अधिकारी को अकर्मण्यता अथवा मिलेमतोका कारण उक्त प्रावधानलाई निकम्मा तुल्याइएको छ ।
शिक्षकका पेशागत संस्थाका प्रमुख पदाधिकारी समेतले आफ्नो ठाउँमा अरूलाई वारेस राखेर ठालु बन्ने संस्कृतिलाई मलजल गरेका छन् । तलबाट प्रअ, व्यवस्थापन समिति, विनि/स्रोतव्यक्ति अनि माथिबाट शिक्षक संस्था, राजनीतिक दल र शिक्षा अधिकारी हरूको संरक्षणका कारण ‘ठालु’ र ‘कामचोर’ शिक्षकहरूको मनोबलगिर्नुको सट्टा अरू बढ्दै गएको पाइन्छ । यस्तो विकृतिले कक्षाकोठाको पठनपाठन मात्र ध्वस्त पारेको छैन, स्कूलमा निरन्तर खटिरहने मेहनती शिक्षकहरूको मनोबल समेत कमजोर तुल्याएको छ । आफूसरहको शिक्षकले वारेस राखेर वा हाजिर गरेर तलब खाइरहेको देख्दा बाँकी शिक्षकमा उत्साहका साथ पढाउने जाँगर स्वाभाविकरूपमै कम हुन्छ । वारेस राखेर नपढाई तलब भागबण्डा गर्ने अनि हाजिर गरेर मात्र तलब बुझने दुवैथरी शिक्षक र तिनका संरक्षकलाई कारबाही न गर्दासम्म त्यस्ता शिक्षकका कारण बर्बाद भएका स्कूलको अनुहार फेरिन सम्भव देखिँदैन । त्यस्तै; नपढाई सरकारी कोषबाट तलब खाइरहेका अनैतिक शिक्षकहरूलाई तह नल गाउँदासम्म शिक्षकको दरबन्दी पुगेन अथवा सबै शिक्षकलाई स्थायी गरिनुपर्छ भन्नुको पनि कुनै औचित्य देखिँदैन; किनभने यस्तो बदमासी प्रायः स्थायी र दरबन्दीमा रहेका अस्थायी शिक्षकहरूले नै गर्ने गरेका छन् ।
बच्चु विश्वकर्मा, कञ्चनपुर

ध्याउन्न बोर्डिङ र व्यापारतिर
सिन्धुपाल्चोकका केही सरकारी स्कूलका शिक्षकले बोर्डिङ स्कूल खोलेका छन् भने केहीले व्यापार चलाएका छन् । स्याउले– २, भाद गाउँस्थित कालिकादेवी प्राविका प्रअ हेममान श्रेष्ठले जिल्लाकै साँगाचोकमा सनराइज इङ्गलिस बोर्डिङ स्कूल चलाएका छन् । कक्षा एक देखि तीनसम्म पढाइहुने कालिकादेवीमा श्रेष्ठसहित दुईजना शिक्षक छन् । निजी स्कूलमा लागेर कालिकादेवीमा पढाउन छाडेपछि स्रोतव्यक्ति डम्बर श्रेष्ठलेगत वर्ष उनलाई स्पष्टीकरण सोधेका थिए । तर, उनले त्यसको जवाफ दिएनन् । उनले हप्ता/पन्ध्र दिनमा स्कूल पुगेर न गएका दिनको समेत हाजिर गर्ने गरेको स्थानीयको कथन छ । प्रअले नपढाई तलब खाइरहेको देखेर पनि स्कूल व्यवस्थापन समितिले केही गरेको छैन ।
सिन्धुपाल्चोककै प्राविका स्थायी शिक्षक रामचन्द्र बस्नेत करिब सात वर्ष देखि स्कूलमा हाजिर छैनन् । द्वन्द्वको कारण देखाएर २०६० सालमा एकवर्षे बेतलबी बिदामा बसेका बस्नेत बिदा सकिएपछि पनि पढाउन गएनन् । उनलाई जिशिकाले २०६३ सालमा घरपायक पर्ने गरी साँगाचोकको भीमसेन माविमा सरुवा गरिदियो । तर, उनी त्यहाँ पनि न गएपछि उनको दरबन्दी सातकन्या प्रावि,गोल्चेमा सारियो । जिशिकाले गएको २ भदौमा उनको पदाधिकार तेम्बाथाङ प्रावि, गुम्बामा कायम गरेको छ । स्कूल जानुको सट्टा उनी चौताराको टुँडिखेलमा किराना पसल चलाएर बसेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष रहेका बस्नेत नेकपा एमालेका कार्यकर्ता हुन् । जिशिकाले दुर्गम ठाउँमा पठाएकाले आफू त्यहाँ हाजिर हुन न गएको बस्नेतको भनाइ छ ।
‘खेताला’ पनि गैर कानुनी
शिक्षा ऐनमा ‘ठालु’ शिक्षकलाई कारबाही गर्ने प्रावधान छ । शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ मा कुनै शिक्षकले आफ्नो पदीय दायित्व पूरा न गरे मा, विना सूचना १५ दिनभन्दा बढी स्कूलमा अनुपस्थित रहेमा, मादकपदार्थ सेवन गरी स्कूल गएको प्रमाणित भएमा वा नैतिक पतन देखि ने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा त्यस्तो शिक्षकलाई सेवाबाटै बर्खास्त गर्ने प्रावधान छ । शिक्षा मन्त्रालयमा कानुन शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका सहसचिव चिरञ्जीवी खनालको विचार मा ऐनको यही प्रावधानबमोजिम यस्ता शिक्षकलाई कारबाही गर्न सकिन्छ । शिक्षा नियमावली, २०५९ को नियम १३७ अनुसार, अनुशासनहीन काम गर्ने , बराबर स्कूलको समय पालन न गर्ने , आचरण सम्बन्धी नियम उल्लङ्घन गर्ने र खटाइएको तालिममा भाग नलिने शिक्षकलाई पाँच वर्षसम्म तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्न समेत सकिन्छ । “जिल्ला शिक्षा कार्यालय प्रतिबद्ध र इमान दार हुने हो भने पदीय अनुशासन पालना न गरे कै आधारमा यस्ता शिक्षकलाई कारबाही गरेर पदबाटै बर्खास्त गर्न सकिन्छ”, खनालले भने ।
शिक्षा नियमावलीले विद्यालय निरीक्षकलाई हरेक महिना एकपटक आफ्नो कार्यक्षेत्रको विद्यालयको निरीक्षण गर्ने जिम्मेवारी तोकेको छ । नियमावलीको नियम १७ मा विनिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ, जसको बुँदा (त) मा उल्लेख छ, “शिक्षकहरूको हाजिरी अभिलेख दुरुस्त भए/नभएको छड्के जाँच वा निरीक्षण गरी अनुपस्थित शिक्षकको हकमा हाजिरीपुस्तिकागयल जनाई सोको जनाउ सम्बन्धित विद्यालय व्यवस्थापन समिति, गाउँ शिक्षा समिति र जिल्ला शिक्षा अधिकारी लाई दिने ।” यसले स्कूलमा कुनै शिक्षक अनुपस्थित भएमा वा उसको ठाउँमा गैर कानुनी तवरले अरूलाई कामकाजमा लगाए वा नलगाएको हेर्ने/निरीक्षण गर्ने र पत्ता लागेमा जानकारी दिने दायित्व विनिकै भएको स्पष्ट पार्छ । नियमावलीले तोकेको दायित्व पूरा न गर्ने विनि पनि कारबाहीको भागिदार हुने खनालको जिकिर छ । उनी भन्छन्, “कानुनले तिनलाई पनि छाड्दैन । तिनले पनि कसुर अनुसार दण्ड भोग्नै पर्छ ।”
अधिवक्ता अरुण पौडेलका अनुसार वारेसका नाममा हुँदै नभएको शिक्षक हुँ भनेर नक्कली शिक्षक बनी कक्षामा ‘खेताला’ भएर काम गर्ने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ । “यस्ता व्यक्तिलाई मुलुक ऐनको ठगीको महलबमोजिम फौजदारीको अभियोगमा कारबाही गर्नु पर्छ”, उनी भन्छन् ।

तरुण माविका शिक्षकको मेहनत र लगनशीलताको परिणाम
१० वर्षमा तेस्रो पटक राष्ट्रिय पुरस्कार

काठमाडौंको बालाजुस्थित तरुण माविबाट २०६६ सालको एसएलसीमा सहभागी ११९ जना छात्रछात्रामध्ये २२ जना विशिष्ट, ९४ जना प्रथम र तीन जना दोस्रो श्रेणीमा उत्तीर्ण भए । यही नतिजाका कारण तरुण स्कूल यो वर्षको राष्ट्रिय शिक्षा पुरस्कार जित्न सफल भयो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले २३ भदौ २०६७ मा आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री माधव कुमार नेपालले तरुण माविलाई रु.२ लाख नगद, ‘माध्यमिक विद्यालय राष्ट्रिय शिल्ड’, ध्वजा तथा प्रमाणपत्र प्रदान गरे । आफ्नो स्कूलको सफलताको कारण बताउँदै सहायक प्रअ ओमकृष्ण श्रेष्ठ भन्छन्, “हराम्रो स्कूलले हासिल गरेको सफलतामा कुनै एक जनाको नभई विद्यालयका हरेक शिक्षकको मेहनत र पसिना परेको छ ।”
तरुण माविका शिक्षकबीचको ‘टिम वर्क’ र सामूहिक भावना पुरस्कार वितरण समारोहमा पनि अनुभव गर्न सकिन्थ्यो । पुरस्कार ग्रहण गर्न सहायक प्रअ श्रेष्ठ र सहकर्मी शिक्षक तथा छात्रछात्राको समूह समारोहस्थल पुगेका थिए । तरुण माविले यसअघि २०६३ र २०५८ सालमा पनि यो पुरस्कार प्राप्त गरिसकेको छ ।
कतिपय सार्वजनिक स्कूलका शिक्षकहरूले वारेस राख्ने र आफू नपढाई जागिर खाने विकृति मौलाइरहेका वेला तरुण माविका शिक्षकहरूको मेहनत तारिफयोग्य छ । तरुण माविले २०४४ साल देखि अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार रराम्रो भएका कारण छात्रछात्राको चाप पनि अरू सरकारी विद्यालयको तुलनामा यसमा बढी छ । गणित शिक्षक कमलप्रसाद पन्त भन्छन्, “विद्यालयको भौतिक पूर्वाधार र कक्षाकोठाको क्षमता अनुसार छात्रछात्राको चाप थेगिनसक्नु हुन्छ, धेरैलाई भर्ना गर्न नसकेर फर्काउनु परेको छ ।” यसमा अहिले १९०४ जना अध्ययनरत छन् ।
१ फागुन २०२८ मा नवप्रकाश प्राइमरी स्कूलको नाममा स्थापना भएको अहिलेको तरुण माविमा ३९ वर्षअघि सेवा प्रारम्भ गरेका ओमकृष्ण श्रेष्ठ तीन महिना देखि निमित्त प्रअको जिम्मेवारी सम्हालिरहेका छन् । भूगोल र अङ्ग्रेजीमा बिएड गरेका श्रेष्ठ मावि द्वितीय श्रेणीका शिक्षक हुन् । उनी भूगोल र सामाजिक विषय अध्यापन गर्छन् । स्कूल र छात्रछात्राको उन्नतिमा योगदान गरेका कारण २०५१ सालमा उनलाई राष्ट्रिय र २०४६ मा जिल्लास्तरीय शिक्षा पुरस्कार प्राप्त भएको थियो ।
वैशाखीको सहारामा विद्यालय जाने/आउने श्रेष्ठलाई तरुणका छात्रछात्रा तथा शिक्षकहरू ‘इमान दार र मेहनती शिक्षक’को संज्ञा दिन्छन् । उनी भन्छन्, “४० वर्ष शिक्षणमा बिताउँदा बाहिरी संसार अनौठो लाग्छ, मेरो धर्म र कर्म नै शिक्षण भएको छ ।” उनका अनुसार, तरुण माविका शिक्षकहरूबीचको सामूहिक भावना, अनुशासित र पढाइप्रति जागरुक छात्रछात्रा र सक्रिय अभिभावकका कारण एसएलसी नतिजामा उक्त स्कूलले सबै सामुदायिक विद्यालयलाई पछि पारेको हो ।



