नेपालको सगरमाथा विश्वको सम्पदा
पृथ्वी सबै जीवात्माहरूको साझा घर हो । हामी सबै यहीँ बाँच्नुपर्छ, यहीँ नै मर्नुपर्छ, पृथ्वी छोडेर अन्यत्र जाने ठाउँ छैन । तैपनि हामी पृथ्वीको सह–उपयोग वा साझेदारीमा विश्वास गर्दैनौं । आ–आफ्नै सीमा तोक्छौं र सीमाबद्ध राष्ट्रहरूमा बाँच्न चाहन्छौं । सीमाभित्रै बाँध्न चाहन्छौं विश्वका विलक्षण सम्पदाहरूलाई पनि । त्यसैले प्रकृतिका महाश्चर्यजनक सिर्जनाहरू पनि राष्ट्रिय सम्पदाका रूपमा दाबी गरिन्छन् ।
ग्राण्ड क्यानियोन (Grand Canyon) संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निकुञ्ज बन्यो भने सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको । अष्टेलियाकोग्रेट बैरियर रीफ (Great Barrier Reef), चीनको दक्षिण चाइना क्राष्ट (South China Krast), भारतको नन्दादेवी पर्वत तथा पुष्प उपत्यका आदि सबै राष्ट्रिय निकुञ्जका रूपमा स्थापित छन् । यी सम्पदाहरू मानव –कृत नभई प्रकृत हुन्, प्राकृतिक विस्मयहरू हुन् ।
मानव सभ्यताको उत्कर्षसँगै यस्ता विलक्षण प्राकृतिक सम्पदाहरू कति सुरक्षित र संरक्षित रहने हुन् भन्ने चिन्ता सन् १९७२ मा स्टकहोममा सम्पन्न संयुक्त राष्ट्रसंघको मानव तथा वातावरण विषयक सम्मेलनमा पहिलो पटक सशक्तरूपले प्रकट भयो । सोही अवसरमा मानव सभ्यताका विशेष धरोहरका रूपमा चर्चित मानवीय कृतिहरू जस्तै; भारतको ताजमहल, चीनको विशाल पर्खाल, मिश्रका पिरामिड, पेरुको माचुपिच्चु, अमेरिकाको स्ट्याचु अफ लिवर्टी आदि/इत्यादिको भविष्य पनि सुरक्षित राख्नुपर्ने चर्चाले विशेष महत्व पायो । फलस्वरुप सन् १९७२ को १६ नोभेम्बरमा सम्पन्न युनेस्को (संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान र संस्कृति विषयक सङ्गठन) को साधारणसभाले विश्व सम्पदाहरूको पहिचान र सूचीकृत गर्ने निधो गर्यो ।
त्यसको केही वर्षभित्रै; सन् १९७९ मा काठमाडौं उपत्यका विश्व सम्पदामा सूचीकृत भयो । त्यसमा तीन शहरका दरबार क्षेत्रहरू, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र चाँ गुनारायण सांस्कृतिक धरोहरको रूपमा समाविष्ट भए । सन् १९७९ मै सगरमाथा राष्ट्रिय निकुञ्जलाई प्राकृतिक विश्व सम्पदाको रूपमा मान्यता दिइयो । त्यसकोे लगत्तै सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज अर्को प्राकृतिक धरोहरको रूपमा विश्व सम्पदामा सूचीकृत भयो । यसै गरी सन् १९९७ मा आएर बुद्धको जन्मस्थल लुम्बिनी पनि विश्व सांस्कृतिक सम्पदाभित्र सूचीकृत भयो । यसप्रकार नेपालका यी विशिष्ट सम्पदाहरू विश्वको नजरमा टड्कारो हुन पुगे । यसबाट पर्यटन विकास मा ठूलो टेवा मिलेको छ । साथै; संरक्षणको अनुगमनमा अन्तर्राष्ट्रिय चासोले पनि विशेष महत्व पाउन थालेको छ । राष्ट्रिय दायित्वसँग अन्तर्राष्ट्रिय चासोगाँसिन पुगेको हुन्छ विश्व सम्पदा क्षेत्रमा ।

विश्व–सम्पदा पहिचानका आधार
प्राकृतिक सम्पदाहरू विश्व सूचीभित्र पर्नको लागि सामान्यतया चारवटा आधार तय भएका छन् । तीमध्ये कुनै एउटा आधारका भरमा पनि विश्व सम्पदाको मान्यता प्राप्त गर्न सकिन्छ । त्यसनिम्ति त्यो सम्पदा विश्वव्यापी मूल्य र मान्यताको आधारमा विलक्षणको हो भन्ने प्रमाणित हुनु जरुरी हुन्छ । युनेस्कोले तय गरेका चार आधार हुन्ः
१. प्राकृतिक प्रक्रियाका सर्वोत्कृष्ट उदाहरणहरू विद्यमान रहको क्षेत्र वा प्राकृतिक सौन्दर्यले अद्वितीय रमणीय प्रमाणित भएको स्थान ।
२. पृथ्वीको इतिहास इङ्गित गर्ने सर्वोत्कृष्ट उदाहरणहरू भएको ठाउँ– जहाँ प्राणी जीवनका विभिन्न अभिलेख तथा भूस्वरुपको विकास मा देखि ने भौगर्भिक प्रक्रियाहरूको संरचनात्मक उदाहरणहरू पाइन्छन् ।
३. जल, स्थल, समुन्द्र किनार वा सामुन्द्रिक प्रणाली एवं जैविक प्रक्रियाका उत्कृष्ट नमुना भएको तथा प्राणी र वनस्पति समुदायका विलक्षण उदाहरणहरू भएको ठाउँ ।
४. वैज्ञानिक वा संरक्षणको दृष्टिले उच्चतम विश्वव्यापी महत्व बोकेको थलो वा सङ्कटापन्न जीव प्रजातिको उपस्थिति लगायत जैविक विविधता संरक्षणको निम्ति उच्च महत्व राख्ने प्राकृतिक क्षेत्र ।
उपर्युक्त आधारहरू पुष्टि गरेर युनेस्कोले सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ मा विश्व–सम्पदामा सूचीकृत गरयो । त्यसका लागि नेपालले प्रस्तुत गरेको मूल आधारपत्रमा भनिएको थियोः
पटलमा नाटकीय तवरले अद्भुत प्रभाव पार्ने पर्वत, त्यहाँका हिमनदी रगहिरा उपत्यकाहरूका साथमा विश्वको सर्वोच्च शिखरको प्रभुत्वले गर्दा संसारभरिकै अद्वितीय क्षेत्रको रूपमा विद्यमान रहेको; हिमचितुवा र हाब्रे (रेड पान्डा) लगायत अनेकौं दुर्लभ प्राणीको उपस्थिति रहेको र; साथै शेर्पा जातिको विशेष संस्कृति पनि विद्यमान रहेको हुनाले विश्व सम्पदामा प्रस्ताव गरिएको छ ।”

ऐतिहासिक पक्ष
विश्वको सर्वोच्च शिखर भनेर ठम्मिनुभन्दा पहिले देखि नै स्थानीय जनजिब्रोले यस शिखरलाई झेमोलङ्मा भनी आएको थियो । सन् १८५२ अर्थात् आजभन्दा १५८ वर्ष पहिले राधाकृष्णा सिक्दार नामक बङ्गालका एक सर्वेक्षण विज्ञले यस शिखरको उचाइ समुद्र सतहबाट २९,००२ फिट छ भन्ने प्रमाणित गरेका थिए । त्यतिवेलासम्म भूगोलमा सगरमाथा १५ नम्बरको शिखर भनेर चिनिन्थ्यो । त्यसको १३ वर्षपछि ; सन् १८६५ मा यो शिखरलाई माउन्ट एभरेष्ट भन्ने नामकरण गरियो । जर्ज एभरेष्ट बेलायतका एक प्रख्यात पूर्व सर्भेयर जनरल थिए । झेमोलङ्मा विश्व भूगोलमा उनकै नाममा माउन्ट एभरेष्ट बन्यो । त्यसको धेरै पछि आएर इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथा भन्ने नाम जुराइदिए र नेपाली जनजिब्रो र नेपाली वाङ्मयमा यही नाम प्रख्यात भयो । यसको आधिकारिक उचाइ पत्ता लगाएको ९९ वर्षपछि ; सन् १९५३ मा मात्र मानिस यो शिखरमा पुग्न सफल भए । तेन्जिङ शेर्पा र एडमण्ड हिलारीको त्यस कीर्तिमान लाई माउण्ट एभरेष्ट माथि मानव को विजय भन्ने दम्भ स्थापित भयो ।
सन् १९५४ मा यो सर्वोच्च शिखरको उचाइ २९,००२ फिटको साटो २९०२८ फिट (८,८४८ मिटर) हो भन्ने वैज्ञानिक मान्यता स्थापित भयो । हालै आएर चीन सरकारले यसको उचाइ ८,८४४.४३ मिटर हुनुपर्ने नयाँ जिकिर प्रस्ताव गरेको छ । भनिन्छ; सगरमाथाको थाप्लोबाट हिउँ निकालिदियो भने त्यसमुनि भेटिने पत्थरले यो नयाँ उचाइ कायम गर्द छ । हिमशिखरका थाप्लोबाट हिउँको पत्रलाई कटाएर उचाइ स्थापना गर्ने हो भने सम्पूर्ण शिखरको उचाइ पुनरावलोकन गर्नु पर्ने हुन्छ । सबै शिखरको उचाइमा फेरबदल हुन्छ । तर विना हिउँको हिमाल परिकल्पना गर्ने दिन अझै आइसकेको छैन । त्यसैले चीनको त्यो जिकिरलाई थाती नै राख्नु उपयुक्त हुन्छ ।

सम्पदाका विभिन्न पक्ष
सगरमाथा भन्नु विश्वको सर्वोच्च शिखर मात्र होइन । त्यो पृथ्वीको सर्वोच्च भूूस्वरुप पनि हो । विश्वको सर्वोच्च पर्यावरण र पारिस्थितिकीय प्रणालीको यथार्थ पनि हो । सगरमाथालाई सम्झ्ँदा यहाँका अरू विशिष्ट उच्च हिमशिखरहरू विशेष गरेर ल्होत्से (८,५०१ मि.), चोउ (८,१५३ मि.),ग्याचुङ्ग (७,९२२ मि.), नुप्से (७,८७९ मि.), पुमोरी (७,१४५ मि.) तथा आमादाब्लाङ्ग (६,८५६ मि.) र तामसेर्कु (६६०८ मि.) लाई पनि बिर्सनुहुँदैन । त्यस्तै आजसम्म पनि नाम हाल्न बाँकी दर्जनौं अनाम चुचुराहरू त्यहाँ मौजुद छन् । तिनीहरू पनि छायाँमा बिलाउनुहुँदैन । पृथ्वीको बदलिँदो इतिहास र तिनका घटनाक्रमहरू यहाँका ढुङ्गा, पत्थर र हिमनदीहरूमा खोज्न सकिन्छ । नुप्से र ल्होत्से हिमालका पत्थरहरूमा पत्रे चट्टानका तŒवहरू टड्कारै देखिन्छन् । त्यसबाट कुनैवेला विश्वको सर्वोच्च भू–भाग समुन्द्रको पिँधमा थियो भन्ने भूगर्भको इतिहास कोट्याउन सकिन्छ । यसमा अनन्त प्राकृतिक प्रक्रियाहरूमध्ये बादल, वर्षा, हिमनदी, हिमताल, हिमपहिरो लगायत नदीनाला, उपत्यका अनि बुकीपाटन आदिका बारेमा अझै खोजी गर्नु पर्ने विषय, अझै पत्ता लगाउन बाँकी कुरा हरू चुनौतीको रूपमा रहेका छन् । कतिपय कुरा हरू अझै लुप्त छन् ।गगनचुम्बी परिवेशसँग आत्मसात् गर्दै जीव–विकास को क्रमलाई अघि बढाउँदै लैजाने पशुपन्छी, कीराफट्याङ्ग्रा, वन, वनस्पति र मानव ोपयोगी जडिबुटी, बालीनाली र पशुपालनका प्रविधि पनि हाम्रा अथाह सम्पदाका रूपमा विद्यमान छन् ।
राष्ट्रिय निकुञ्ज बनेपछि सगरमाथा क्षेत्रमा वन्यजन्तु र पशुपन्छीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आलुबारीमा नाँच्दै गरेको नौरङ्गी डाँफेको जोडी वा परको भीरबाट टोलाएर चियाइरहेको थारको बगाल वा नजिकैबाट उफ्रेर भागेको कस्तूरी मृग अथवा घोरलका जोडी यहाँ त्यति दुर्लभ लाग्दैनन् । त्यस्तै; हिमपरेवा, हिमकुखुरा वा लेकाली कागका बथान यो पाखाबाट ऊ पाखा उडेर गएको रमाइलो दृश्य साधारण लागे पनि अन्यत्र वा निकुञ्ज बाहिर विरलै देखिन्छ । उच्च क्षेत्रमा पाइने हिमचितुवा र तल काँठतिर पाइने हाब्रे देख्नलाई भने विशेषरूपले खोजी नै गर्नु पर्ने हुन्छ । सगरमाथा निकुञ्जको अभिलेखमा २०८ प्रजातिका पन्छी, ३३ प्रजातिका स्तनधारी वन्यजन्तु, ३० प्रजातिका पुतली तथा एक प्रजातिको माछा (असला) लगायत अनेकौं जडिबुटी र वनस्पतिहरू दर्ता भएको पाइन्छ । विभिन्न बुकीपाटन, भीरपाखा, हिमखार परेका पत्थरी भागमा घुमफिर गर्न सके वनस्पति सम्पदाको राम्रै भण्डार भेटिन्छ । यहाँका केही विशेष बिरुवामध्ये कुट्की, पाँचऔंले, हिमाली अफिम (पप्पी), पाषाणभेद (पाखनभेद) जटामसी, सुगन्धवाल तथा विभिन्न प्रजातिका प्रिमुला र जेन्सियाना उल्लेखनीय छन् । निकुञ्जको १,१४८ वर्ग किलोमिटर क्षेत्रको सम्पूर्ण भाग ३००० मिटरभन्दा उच्च क्षेत्रमा पर्ने हुनाले यहाँगुराँस प्रजातिभित्र पर्ने चिमाल र सुनपातीका बिरुवाको बाहुल्य भेटिन्छ । वन विशेषका दृष्टिमा धूपी, तालिसपत्र, ढ्याङ्ग्रेसल्ला र भोजपत्रहरू सामान्य रूपमा भेटिन्छन् । यी वनस्पतिका प्रजातिहरू पनि उचाइको कीर्तिमान जोड्ने क्रममा सगरमाथालाई नै होडबाजीको क्षेत्र बनाउँछन् । यहाँ ८३०८ मिटरको उचाइमा पनि जीव पदार्थ आफ्नो वासस्थान भेट्टाउन सफल भएको छ । एउटा सूक्ष्म जीवाणु ‘जियोडरमाटोफिलस अन्सक्योरस इभरेष्टाइ’ ले त्यो कीर्तिमान राखेको छ ।
उच्च हिमाली प्रकृति र प्रकृतिप्रदत्त सम्पदाका माझ्मा नेपाली संस्कृतिको एक विशेष पहिचानको रूपमा शेर्पा संस्कृतिले विश्व सम्पदामा स्थान पाएको छ । ङिग्ङापा बौद्ध परम्परामा आधारित यो संस्कृतिको प्रस्फुटन विभिन्न चाडपर्वमा हेर्न, देख्न र सुन्न पाइन्छ । तीमध्ये नयाँ वर्षको लोसार अनि दुम्जी सबै गाउँ गाउँमा मनाइन्छ भने बडेमाका मुकुण्डो लगाई विशेषगाजाबाजामा नाचिने धार्मिक नृत्य ‘मानी रिम्दु’ त्याङबोचे र थामेका गुम्बाहरूमा प्रदर्शन हुन्छ ।
सगरमाथा क्षेत्रले खुम्बुवानको रूपमा विशेष पहिचान राख्दछ । यहाँको सबभन्दा ठूलो धार्मिक आस्था बोक्ने पर्वत खुम्बिला हो । यहाँको धार्मिक आस्थाका स्पन्दनहरू छरपस्ट रूपमा फरफराएका तोरण, पत्थर–पत्थरमा कुदिएका ‘ॐ मणि पद्मे हुँ’, हात–हातमा फनफनाइ रहने मानी, बाटा–बाटामा भेटिने च्छोर्तन गाउँ गाउँका गुम्बाहरूमा प्रशस्त भेटिन्छन् । धेरैको नजरमा पर्ने गुम्बामध्ये तेङवोचे (३,८६७ मिटर) गुम्बा र त्यहाँका अवतारी लामा ङावाङ तेन्जिङ जाङ्वोको आतिथ्यले अविस्मरणीय क्षण प्रदान गर्ने गरेको छ । अन्य प्रसिद्ध गुम्बाहरूमध्ये ३०० वर्ष पुरानो नाम्चेको गुम्बा, ३५० वर्ष पुरानो थामेको गुम्बा, ३०० वर्ष पुरानो केरोक गुम्बा, १२० वर्ष पुरानो खुन्देको छाम्काङ गुम्बा र पाङवोचेको गुम्बा यस क्षेत्रको सांस्कृतिक धरोहर हुन् । पर्यटकहरूको चहलपहल हुने ठाउँ; विशेष गरेर लुक्ला हवाई मैदान र नाम्चेको आसपास नयाँ–नयाँ गुम्बा बन्ने क्रम पनि चालु नै छ ।
पर्यटन विकास
नेपालको पर्यटन उद्योगको सगरमाथा पनि खुम्बु क्षेत्रमा नै चुलिन पुगेको छ भन्दा अत्युक्ति नहोला । सन् १९६३ ताका वर्षमा २०–२५ जना मात्र पर्यटकहरूले पाइला टेक्ने गरेको ठाउँमा आजभोलि २०–२५ हजार पर्यटकहरूको घुइँचो लाग्दछ । साँघुरो बाटो र फड्के पुलहरू तर्न यात्रीहरू धेरैबेर पर्खनु पनि पर्ने हुन्छ । होटल र अन्य बास बस्ने ‘लज’ को सङ्ख्या दिन पर दिन बढ्दैछ । राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रमा ४५० भन्दा बढी होटल–लजहरू बनिसकेका छन् । त्यस्तै पाल टाँगेर बस्ने क्याम्पमा पनि अति घुइँचो हुने घटनाहरू सामान्य भइसके । सगरमाथाको चुचुरो पुग्दा पनि घुइँचोको कारण बाटो पर्खनुपर्ने अवस्था आउन थालेको छ । विश्वसम्पदा क्षेत्रमा पर्यटन व्यवस्थापनले रराम्रो बाटो लिन सकेन भने वातावरण सन्तुलनगोलमाल हुन सक्छ । युनेस्कोको विश्वसम्पदा अनुगमन प्रतिवेदनले यो सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिन पनि थालिसकेकोे छ ।
सगरमाथ आरोहण टोलीका सदस्यहरूको सङ्ख्याको आधारमा सरकारले २५ हजार देखि ५० हजार अमेरिकी डलर सलामी उठाउने गरेको छ । २०६७ सालको वसन्त ऋतुमा मात्र सरकारले २२ करोड रुपैयाँ सलामी दस्तुर उठाएको थियो । त्यसका अतिरिक्त निकुञ्ज प्रवेशबाट पनि प्रतिव्यक्ति ( गैर –नेपाली) शुल्क एक हजार रुपैयाँ उठ्दछ । यसबाट पनि लगभग प्रति–वर्ष दुई करोड आम्दानी हुन्छ । यस्तो आम्दानीको पचास प्रतिशत मध्यवर्ती क्षेत्र (२७५ वर्ग किलोमिटर) का स्थानीय समुदाय (जनसङ्ख्या ५,८६९)मा जाने गरेको छ । सलामीको आम्दानी भने पूरै सरकारी राजस्वमा दाखिला हुन्छ ।
कीर्तिमान राख्न चाहनेहरूका लागि सगरमाथा लोकप्रियगन्तव्य हो । हालसम्म ३,१२८ आरोहीले सगरमाथा आरोहण गरिसके । एक नेपाली जोडीले त्यसको शिखरमा बिहेसम्म गर्न भ्याए भने समावेशी महिला टोली अर्को कीर्तिमान थप्न सफल भयो । आफ्नो कीर्तिमान आफैँ तोड्दै आप्पा शेर्पा २०औं पटक शिखरमा पुगिसके । छेवाङ निमा उनलाई पछ्याउँदैछन् । मीनबहादुर शेरचन ७६ वर्ष ११ महिना र ६ दिनको उमेरमा शिखरमा पुगेर सबभन्दा जेठो आरोही बन्न सफल भए ।गिनिज बुक अफ वल्र्ड रेकर्डमा १२ जना नेपालीले सगरमाथा चढ्दाको कीर्तिमान दर्ता गराए का छन् ।
अन्त्यमा,
संसारमा जान्नुपर्ने कुरा धेरै हुन्छन् । थाहा पाउनुपर्ने वस्तु अझ् अधिक हुन्छन् तर पुग्नैपर्ने ठाउँ भने प्रायः सीमित नै हुन्छन् । यसै पृथ्वीमा बसेर हामीले कैयौं देशको नाम मात्र पनि सुनेका हुँदैनौं । हामी विदेश जाँदा पनि नेपाल कुन देश हो र कहाँ छ भन्ने ज्ञान नभएका कैयौं व्यक्ति भेटिन्छन् । तर माउण्ट एभरेष्ट भएको देश भन्यांै भने त्यो विश्वको सर्वोच्च शिखर भन्ने सबैले बुझछन् । अनि नेपाल चिनिन्छ ।
विदेशमा रहँदा कतिपय नेपालीलाई ‘तिमी एभरेष्ट पुग्यौं ?’ भन्ने प्रश्न सोधिन्छ । देखेकै छैन भन्नुपर्दा लाजमर्दो पनि हुन्छ । विदेशमा पढ्न बसेका विद्यार्थी वा कमाइखाने प्रवासी नेपालीहरू नेपालमा आउनासाथ लुक्लाको टिकट काटेर नाम्चे र तेङवोचेसम्मको यात्रा गरेर फिरेका धेरै उदाहरण छन् । त्यसबाट उनीहरू आफ्नो शिर ठाडो भएको अनुभूत गर्द छन् । यी सबै कारणले गर्दा हामी नेपालीलाई सगरमाथा पुग्नैपर्ने नैतिक दबाब सिर्जना हुने गरेको छ । शिक्षक वर्गलाई त्यो दबाब अझ् चर्को पर्छ तर सगरमाथाको यात्रा आजभोलि ज्यादै खर्चिलो हुनथालेको छ । तैपनि नेपालमा नै बसेर एकपटक सगरमाथा नपुग्नु अधुरो जीवनको द्योतक पो हो कि भन्ने लाग्नु अस्वाभाविक हुँदैन; किनभने त्यो आफ्नै देशमा छ र त्यो विश्वसम्पदा पनि हो ।
विश्वसम्पदा सूचीमा परेका ९११ सम्पदा क्षेत्रमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हरेक अतिथिका लागि आफ्नै कीर्तिमान कायम गर्ने थलो पनि हो । जो जहिले गए पनि , उसले आफ्नो पाइतालाले सर्वोच्च भूमिमा टेकेर आफ्नो नयाँ कीर्तिमान सजिलै कायम गर्न सकिहाल्छ ।



