कक्षामा पहिलो दिन
अविस्मरणीय दिन !
शिक्षक मित्रहरू,
हामीले मूलतः तीनवटा उद्देश्य राखेर ‘कक्षामा पहिलो दिन’को अनुभव लेख्न अनुरोध गरेका थियौँ । पहिलो, मेची देखि महाकालीसम्मका शिक्षकहरू (जो जीवनमा एकअर्कासँग कहिल्यै भेट भएका छैनन्) का बीच आफ्नो शिक्षण जीवनको प्रारम्भका रोचक अनुभव शिक्षकको माध्यमबाट साटासाट हुन पाओस् । दोस्रो, एउटा शिक्षकको शिक्षण जीवनको पहिलो दिनको अनुभव अरू शिक्षकहरूलाई (खास गरी नयाँ र निकट भविष्यमा शिक्षक बन्न लागेकाहरूलाई ) उपयोगी हुनसकोस् । तेस्रो, हरेक शिक्षकको प्रारम्भिककालको शिक्षण र धेरै वर्षपछिको शिक्षणबीचको फरक अनुभव बाहिर आउन सकोस् । त्यसबाट शिक्षण जीवनलाई अझ् सार्थक र आनन्ददायी तुल्याउन मद्दत पुर्याउँछ भन्ने हराम्रो बुझाइ हो ।
छोटो अवधिमा जे–जति शिक्षक मित्रहरूले हामीलाई आफ्नो संस्मरण लेखी पठाउनुभयो, त्यसबाट हामी उत्साहित भएका छौं । हामीले अनुमान गरे अनुरुप नै विविधतायुक्त सामग्री आएका छन् । विभिन्न शिक्षकका अनुभव पढ्दा थाहा हुन्छ, पहिलो दिनको कक्षामा प्रायः शिक्षकहरूले विद्यार्थीलाई सिकाउने भन्दा उनीहरूबाट आफूले धेरै सिक्नु भएछ । शिक्षण पेशाको सुरुआतमै विद्यार्थी (आफूभन्दा साना)सित पनि सिक्न सकिन्छ, सिकेर कहिल्यै नपुग्दोरहेछ, हरेक नयाँ पलमा सिक्नु पर्दोरहेछ भन्ने महत्वपूर्ण ज्ञान प्राप्त गरेको पनि देखिन्छ । यो चानचुने ज्ञान/अनुभव होइन । सही अर्थमा शिक्षक बन्नका लागि त्यो ज्ञान/अनुभव धेरै महत्वपूर्ण हुन्छ । साथै, एउटा शिक्षकले विद्यार्थीलाई सिकाउनु पर्ने मुख्य ज्ञानै यही हो ताकि ऊ हरबखत जिज्ञासु बनोस् र नयाँ–नयाँ कुरा सिक्न अग्रसर होस् ।
शिक्षण जीवनमा होस् या हाम्रो दैनन्दिनमा, पहिलो दिन जसरी दोहोरिँदैन, त्यसै गरी अरू दिन पनि दोहोरिँदैनन् । जसरी हरेक दिन नयाँ हो, त्यसै गरी हरेक कक्षा पनि नयाँ हुन्छ । यो तथ्यलाई मनन् गरेर हरेक नयाँ दिन र नयाँ कक्षालाई महत्व दिँदा नै शिक्षण सार्थक हुन्छ । यसले शिक्षण कार्य सधैँ प्रभावकारी र उपलब्धिपूर्ण तुल्याउँछ ।
एक अनुभवी अमेरिकी शिक्षक इलेना अगुइलरको संस्मरणलाई पनि यहाँ स्थान दिइएको छ– जसले पहिलो दिनको कक्षा कसरी सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ भन्ने व्यावहारिक ‘टिप्स’ दिन्छ । सफल शिक्षक हुन कक्षामा कसरी प्रस्तुत हुनुपर्छ र के–के गर्नु पर्छ भन्ने मसिना उपायहरू पनि सुझाइएकाले इलेनाको संस्मरण पुराना शिक्षकहरूलाई समेत उपयोगी हुने हराम्रो विश्वास छ ।
स्थानाभावका कारण हामीलाई प्राप्त सबै छाप्नयोग्य संस्मरणलाई यस अङ्कमा समेट्न सकिएको छैन । तिनले आगामी अङ्कहरूमा स्थान पाउने छन् । सं.
‘ए नयाँ मिच ! भोलि पनि आउनु ल !’

म कक्षा ६ मा पढ्दा, हराम्रो घरमा प्रौढ कक्षा सञ्चालित थियो । त्यसमा मेरी दिदीले मेरी हजुरआमा र उहाँ जस्तै प्रौढहरूलाई पढाउनु हुन्थ्यो । मलाई स्कूलबाट घर फर्किएपछि कतिवेला स्कूलको होमवर्क सकेर त्यहाँ जानु जस्तो हुन्थ्यो । कक्षामा २० जना जति हुनुहुन्थ्यो । म त्यहाँ गएर हजुर आमाहरूले पढे–लेखेको हेर्थें र सोधेको कुरा सिकाइदिन्थेँ । उहाँहरू “सानी मिस हेरिदिनुहोस् त मैले लेखेको कस्तो भयो” भनेर सोध्नुहुन्थ्यो । आइपर्दा अगाडि गएर नधकाइकन ठूलो स्वरले पढाउँथेँ पनि । मेरी हजुरआमा हाँसेर भन्नुहुन्थ्यो, “मेरी नातिनीको पढाउने शैली साह्रै रराम्रो छ । भोलि–पर्सि यो मिस बन्छे ।” नभन्दै दिदीको बिहे भएको वेला दुई–तीन दिन म एक्लैले कक्षा लिएँ । कुनै दिन अप्ठ्यारो महसुस भएन । शायद अध्यापन प्रतिको मोह मलाई त्यसै वेला देखि जाग्यो ।
२०५९ सालमा एसएलसी पास भएलगत्तै स्कूल पढाउँदै कलेज पढ्ने सोच बनाएँ । त्यहीवेला घर नजिकैको निजी प्राथमिक स्कूलमा शिक्षक आवश्यकताको विज्ञापन खुल्न नपाई दरखास्त हालेँ । छनोट परीक्षामा आफू सफल पनि भएँ । भोलिपल्टै देखि आउन भनियो । म उत्साहित भएर १० बज्नुअगावै स्कूल पुगेँ । स्कूल पुग्नु अगाडि सम्म मनमा अनेक तर्कनाहरू खेलिरहन्थे । पहिलो दिनको कक्षा कस्तो हुने हो ? विद्यार्थी र प्रिन्सिपलको चित्तबुझने गरी पढाउन सक्ने हो कि होइन ? ‘तपाईंले पढाएको भएन’ भनिदिए भने घरमा के भन्दै फर्कने होला ? आदित्यादि प्रश्नहरू भित्रै मडारिइरहेका थिए ।
प्रधानाध्यापक तथा अन्य शिक्षक साथीहरूबाट स्वागत र निकै सौहार्दपूर्ण व्यवहार पाएँ । उहाँहरू एकदमै सहयोगी देखि नुभयो । मैले स्कूलमा के कस्तो कर्तव्य निर्वाह गर्नु पर्ने हो भनेर प्रस्ट गराउनु भयो । म स्कूलमा त्यतिवेला अरू शिक्षकहरूभन्दा निकै सानी पनि थिएँ । म आत्तिने हुँ कि भन्ने कुरा मा उहाँहरू सजग भएको मलाई महसुस भएको थियो । मलाई कताकता असजिलो नै लागिरहेको थियो; तैपनि आफू निर्धक्क भएको देखाउन घरीघरी कोशिश गर्थें ।
स्कूल भर्खर भर्खर खुलेको थियो । शैक्षिक सामग्रीहरू भए पनि कक्षाकोठाको अभाव थियो । शिक्षकहरू पनि पर्याप्त थिएनन् । स्कूल व्यवस्थापनमा कताकता के–के नमिले जस्तो महसुस हुन्थ्यो । एक जना शिक्षकले मैले लिनुपर्ने कक्षामा लगेर मेरो परिचयगराइदिनुभयो । मैले दिनभर त्यहीँ मात्र पढाउनु पर्दथ्यो । त्यहाँ नर्सरी र एलकेजी दुवै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखिएको थियो । ती साना–साना नानीहरू नयाँ मान्छे देखेर ट्वाँ परेर हेरिरहेका थिए । कोही “ए ! हाम्मो नयाँ मिच हो सर ?” भन्दै सोध्थे त कोही आफ्नो अभिभावकले छोडेर गएकाले सुँक्क सुँक्क गर्दै रुँदै थिए । ‘ल ! अब तपाईंको कक्षा यही हो’ भन्दै ती शिक्षक आफ्नो कक्षातिर लागे ।
प्रौढ कक्षामा पढ्ने हजुरआमाहरू पो बुझने हुनुहुन्थ्यो र मलाई कक्षाको व्यवस्थापन गर्न गाह्रो हुँदैनथ्यो । यहाँ त ओहो ! कोहीगफमा मस्त, कोही खेल्नमा व्यस्त, कोही रुँदै, कोही कराउँदै । सबै आ–आफ्नै तालमा भद्रगोल तबरले बसेका छन् । यस्तोमा कसरी पढाउने भनेर चिटचिट पसिना छुट्न थाल्यो । दुई जना बच्चाको याद मलाई आजपर्यन्त आउँछ । नेवार परिवारका ती बच्चाहरू नर्सरीमा भर्खर भर्ना भएका रहेछन् । उनीहरू नेवारी मात्र बोल्ने र बुझने रहेछन् । नेपाली बोल्ने अरू साथीहरूको भाषा नबुझदा उनीहरूसँग खेल्ने र रत्तिने स्थिति पनि थिएन । ती “बाजे वल हुङ्का” (बाजे त्यहाँ आउनुभएको छ) भन्दै बाजेकहाँ लगिदिन अनुनय गर्दै चिच्याई–चिच्याई रोइरहेका थिए । कसरी सम्हाल्ने यिनलाई ? के गरौँ, कसो गरौँ भएर मलाई त भाउन्न होला जस्तै भयो ।
कोही बच्चा चाहिँ “ए फर एप्पल पढाउनु न मिच” पनि भन्दैथिए । तर त्यो भद्रगोल अवस्थामा कहाँबाट पढाउन शुरु गर्ने ! यसो सोचेँ पहिला त कक्षाको वातावरण नै ठीक पार्नुपर्छ । त्यस्तो वेलामा सबैको ध्यान पहिला आफूपट्टि आकर्षित गर्नु पर्छ भन्ने लागेरगीत सुनाउने विचार गरें । सानो वेलामा खेल्दैगाउने गरेको ‘एउटा साथी जङ्गलमा रोई–रोई बसेछ, उठन साथी उठन आफ्नो आँसु पुछन’ भन्ने बोलकोगीत कण्ठै थियो । सबैलाई एकैठाउँमा फकाइफुल्याई जम्मा पारेँ । ३० जनामध्ये तीन जना चाहिँ ‘नखेल्ने म त’ भन्दै चुप लागेर बसे । अरूलाई हात समाउन लगाएरगोलो घेरा बनाएँ । अनिगीत गाउँदै सबैलाई नक्कल गर्न लगाएर खेलाएँ । साथीहरू रमाएको देखेर नखेल्ने भन्दै बसेका बच्चाहरू पनि त्यसपछि “मिच म पनि खेल्ने” भन्दै आए । कहिले उनीहरूलाई गीतगाउन लगाएर आफू नाचिदिएँ, कहिले आफूगीत गाउँदै उनीहरूलाई नचाएँ । त्यसपछि त सबै केटाकेटीहरू आफूतिर नै झुम्मिन थाले । पढ्ने वातावरण अलि बन्न थालेपछि नर्सरी र एलकेजीका बच्चाहरूलाई छुट्टाछुट्टै राखेर पढाउन थालेँ । नेपाली नबुझने बच्चालाई नेवारी भाषामै सिकाउने प्रयास गरें । उनीहरू पनि ध्यान दिएझैँ गरी पढाएको सुन्न थाले । ओहो ! बच्चाहरू त निकै मायालु पो हुँदा रहेछन् भन्ने लाग्यो । त्यस्तो भद्रगोल वातावरणलाई सम्हालेर पढाउन सकेँ भनी सन्तोषको सास फेर्दै कक्षाबाट बाहिर निस्केँ । कलिला केटाकेटीहरूले बाहिर निस्कने बेलामा “ए नयाँ मिच भोलि पनि आउनु ल !” भनेको कुराले ममा हौसला थप्यो ।
प्रिन्सिपल सर वेला–वेलामा झयालबाट चियाउनुभएको देखेकी थिएँ । उहाँ आउँदा अलि लाज लाग्थ्यो । म बच्चाहरूसँग बसेर बच्चै जस्तो भई उनीहरूलाई पढाइरहेकी हुन्थेँ । बाहिर आउँदा प्रिन्सिपल सरको प्रतिक्रिया के हुने हो भन्ने कौतुहल थियो । मैले पढाएको भएन पो भनिदिने हुन् कि भन्ने पनि कता–कता डर लागेको थियो । तर उहाँले त प्रशंसा पो गर्नु भयो ! बच्चाहरूलाई रमाइलो र मनोरञ्जनात्मक तरिकाले पढाउने मेरो शैलीबाट सबै जना प्रभावित हुनुभयो । म साह्रै खुसी भएँ ।
पढाउने भन्ने वित्तिकै सीधै कक्षामा गएर पाठ शुरु गर्ने भन्ने मात्र मैले जानेकी थिएँ । त्यस्तो भद्रगोल परिस्थितिको आकलन भइदिएको भए त्यही किसिमको तयारीसाथ जान सकिन्थ्यो र आत्तिनुपर्ने वातावरण हुँदैनथ्यो । त्यो दिनको कक्षाबाट यो कुरा ज्ञान भयो कि शिक्षकले बच्चाहरूलाई पाठ घोकाउन मात्र जानेर नहुने रहेछ । विभिन्न तरिकाबाट पढाइप्रति उनीहरूलाई उत्प्रेरित गर्न सक्नुपर्ने रहेछ ।
त्यसपछि पनि म कैयौँ रोमाञ्चित क्षणहरूसँग साक्षात्कार भएँ तैपनि त्यो दिनको सम्झना मेरो मान सपटलमा निकै ताजा भएर बसेको छ । मेरो शिक्षण जीवनको त्यो पहिलो खुट्किलो भएकाले पनि होला मलाई हरेकपल्ट कक्षामा पस्दा त्यही क्षणको सम्झना आउँछ । यद्यपि अहिले मैले नर्सरी र एलकेजीका बच्चाहरूलाई होइन सरकारी स्कूलका ९–१० कक्षाका किशोर किशोरीलाई पढाउनु पर्ने जिम्मेवारी पाएकी छु ।
अनुपा लामिछाने
बागेहिणी माध्यमिक विद्यालय, बागेश्वरी, भक्तपुर
सिकाउनेभन्दा सिक्न पो पाएँ !
आर्थिक अभावका कारण बीएस्सी भर्ना हुन सकिनँ । जागिर खोज्न घुम्दा–घुम्दा करिब तीन महिनापछि २०६६ मङ्सिर ५ गते गुरुकुल माविमा शिक्षक बन्ने अवसर पाएँ । त्यहाँ मैले कक्षा १० मा विज्ञान र गणित पढाउनु पर्ने थियो । १८ वर्षमा हिँडिरहेको ममा त्यसअघि कोहीसँग गफ गर्ने र हाँसखेल गर्ने बानी थिएन । सामाजिकीकरणको अभावले होला, केटीहरूको अगाडि बोल्दा त पसिना नै आउँथ्यो । तैपनि म विद्यालयमा पढाउन गएँ । त्यहाँ जानुभन्दा अगाडि कसैलाई चिनेको थिइनँ । त्यो मेरो लागि बिल्कुलै नयाँ ठाउँ थियो ।
म स्कूल पुगेँ । दुईजना शिक्षकले मलाई चिन्नुभएको रहेछ । उहाँहरूले अरू शिक्षकहरूसँग परिचय गराइ दिनुभयो । त्यसपछि मलाई कक्षामा गएर पढाउन भनियो । कुनै शिक्षक मित्रले कक्षामा लगेर परिचय गराइ दिन्छन् जस्तो लाग्थ्यो तर त्यसो भएन । अनि मैले प्रअलाई कक्षामा परिचय गराइ दिन आग्रह गरें । तर प्रअले “तपाईं परिचयसम्म गर्न नसक्ने भए के गर्नु हुन्छ ? कसरी पढाउनु हुन्छ ?” भनी उल्टै झ्पार्नुभयो । म एकछिन त अक्क न बक्क भएँ । त्यसपछि मुटु दह्रो बनाएँ र एक्लै कक्षामा जान तयार भएँ ।
मन अमिलो पार्दै चक र डस्टर बोकेर कक्षा १० मा प्रवेश गरें । सबै विद्यार्थी आफूभन्दा ठूला देखि ने उक्त कक्षामा प्रवेश गर्दा सबैबाट ‘गुड मर्निङ’को अपेक्षा गरेको थिएँ । तर विद्यार्थी बोलेनन् । मैले नै ‘गुड मर्निङ’ शब्दले सम्बोधन गरें । सबै विद्यार्थीहरू जोडले हाँसे । यसै पनि बोल्न डराउने समस्या भएको मानिस त्यस माथि सबैले हाँसिदिँदा मलाई साह्रै गाह्रो भयो । अरू केही बोल्नुभन्दा पहिले सबै कक्षालाई चारैतिर हेरेँ । विद्यार्थीहरूको टाउकोगन्न थालेँ । कक्षामा ५ जना केटी र १३ जना केटा थिए । मेरो मन भारी भइरहेको थियो । तैपनि मैले परिचयात्मक कार्यक्रम अगाडि बढाएँ । मैले आफ्नो नाम भन्न शुरु गरे कै वेलामा डरले बीचैमा आफ्नो ठेगाना बिर्सिएँ र अड्किएँ । विद्यार्थीहरू फेरि गलल्ल हाँसे । अगाडि पट्टि केटीहरू बसेका रहेछन् । उनीहरूकै अनुहारमा मेरो आँखा गयो । तिनीहरू झनै हाँस्न थाले । त्यसले ममा झनै बेचैनी बढायो । तर म रोकिने अवस्थामा थिइनँ । मलाई हरहालतमा कक्षा लिनु थियो ।
विद्यार्थीहरू हाँसेका हाँस्यै गरे पछि मेरो शङ्का अर्कैतर्फ गयो । यी किन हाँसिरहेका छन् ? कतै कपडा ल गाउँदा मिलेको छैन कि ? कतै अनुहारमा कालो दाग अथवा फोहोर लागेको पो छ कि ? कतै कपाल नमिलेको पो हो कि ? अघिल्लो दिन घर छोडे देखि ऐना पनि हेर्न पाएको थिइनँ । यस्ता कुरा मनमा खेलाउँदा खेलाउँदै मङ्सिरको कडा चिसोमा पनि मलाई पसिना आयो । अझै लाग्छ, कक्षामा केटीहरू नभइदिएको भए मलाई यस्तो हुँदैनथ्यो होला । (पछि थाहा भयो, ती केटीहरूमा धेरैजसो विवाहित रहेछन् ।) विद्यार्थी हाँसेको हाँस्यै देखेपछि म झन् सशङ्कित भएँ । कतै मेरो पाइन्टको चेन खुला त छैन ? कसैलाई थाहा नहुने गरी कान्छी औंलाले पाइन्टको चेन छामछुम पारेँ । सौभाग्यवश चेन त ठीकै रहेछ !
त्यसपछि सबैलाई चुप लाग्न आग्रह गरें । लामो श्वास फेर्दै गणित सम्बन्धी सामान्य पाठको व्याख्या शुरु गरें । त्यसपछि केही विद्यार्थीले मलाई सहयोग गर्ने वचन दिए । पढाउने अवसर पाए फेरि भेट्ने र मेहनत गरेर पढाउने वाचा गर्दै कक्षाबाट बाहिरिएँ ।
त्यो कक्षाबाट मैले मेरो जीवनका लागि धेरै महत्वपूर्ण कुरा सिक्न पाएँ । पहिलो , आफूसँग विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन, बोल्ने बानीको विकास पनि भएकै हुनुपर्छ । झन् रराम्रो शिक्षकमा दरिन त योगुण अपरिहार्य नै रहेछ । दोस्रो, जुनसुकै काम गर्न पनि आत्मविश्वास चाहिन्छ । जे गरिन्छ, आत्मविश्वासका साथ गर्नु पर्दोरहेछ । र, तेस्रो, शिक्षण होस् या अरू जे काममा हात हाले पनि सफल हुनलाई रराम्रो पूर्व तयारी आवश्यक पर्दोरहेछ ।
दीपकप्रसाद भण्डारी
षोडशादेवी उमावि, मङ्गलसेन, अछाम
पढ्न सजिलो, पढाउन गाह्रो
म सानो हुँदाको उद्देश्य नै शिक्षक बन्ने थियो । मलाई नेपाली विषय धेरै मनपर्ने भएकाले त्यसैमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पनि गरें । बाल्यावस्था देखि को लक्ष्य साकार पार्ने अवसर इनरुवा–३ को जनक स्मृति माध्यमिक विद्यालयले दियो । मैले ८, ९ लाई नेपाली पढाउनु पथ्र्यो ।
पढाउनका लागि पहिलो दिन भनेर स्कूल पुग्दा प्रध्यानाध्यापक र अन्य शिक्षकहरूको औपचारिक स्वागतपछि मलाई गणित विषय पढाउने शिक्षकले पूरा स्कूलको परिक्रमा गराए र मैले पढाउने पहिलो कक्षासम्म छाडिदिनुभयो । त्यो ९ कक्षा थियो ।
कक्षामा सबै विद्यार्थीले सफा सेतो सर्ट र कालो प्यान्ट लगाएका थिए । सबैले मलाई नमस्कार गरेर आफ्नो तर्फबाट आदरभाव प्रकट गरे । पाठ पढाइसकेपछि विद्यार्थीहरू प्रश्न सोध्न थाले । म पनि एक–एक गरेर प्रश्नको जवाफ दिँदै गएँ । तर केही प्रश्नको मैले सही उत्तर दिन सकिनँ । आफू जान्ने छु भन्ने भावना बोकेर कक्षामा गएको म अन्ततः लज्जित भएँ । जबकि मैले सोधेको प्रश्नको जवाफ विद्यार्थीहरूले बडो सजक भएर मभन्दा पनि राम्ररी दिएका थिए ।
पहिलो दिनको शिक्षण अनुभवले मलाई धेरै कुरा सिकायो । मसँग स्नातकोत्तर तहको प्रमाणपत्र भए तापनि मैले साना प्रश्नको पनि उत्तर दिन सकिनँ । विद्यार्थीका प्रश्नको अगाडि मेरो त्यत्रो वर्षको पढाइ काम लागेन । औपचारिक डिग्री भन्दा अनुभव र अध्ययन ठूलो हो भन्ने कुरा पहिलो दिनले सिकायो । साथै, आफूभन्दा सानाबाट पनि धेरै कुरा सिक्ने मौका पाइँदोरहेछ भन्ने कुरा जीवनमा पहिलो पल्ट थाहा पाएँ । पढ्न सजिलो हुन्छ, तर अरूलाई पढाउन निकै गाह्रो पर्दोरहेछ !
गेयनाथ न्यौपाने
जनक स्मृति मावि, इनरुवा
‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’
एकजना विद्यार्थीले प्रश्न गरयो– ‘सर ! चोर परे चौतारी साधु परे शूली’ को अर्थ के हो ? मेरो मान सपटलले चक्कर खायो । मैले धेरैबेर सोचेँ, बुझेँ, सम्झेँ तर कहीँ कतैबाट मेरो मस्तिष्कले यसको अर्थ पाएन । उत्तर दिन नसकेमा कक्षाबाट बाहिरिनुपर्ने अवस्थाबाट बच्न भोलि उत्तर दिन्छु भनेर टारेँ ।
स्नातक तहको अध्ययन पूरा गरेर म काठमाडौंबाट गाउँ फर्किएँ । आफूले नै अध्ययन गरेको जनता मावि, बिर्घा, स्याङ्जामा निमाविस्तर मा रही मावि तहसम्म नेपाली विषयको अध्यापन गर्ने शिक्षक आवश्यक भएको सूचना पाएँ । तत्कालीन प्रअ नारायणप्रसाद पाण्डेयलाई भेटेर जिशिका स्याङ्जामागई २०५० साल माघतिर नियुक्ति पत्र लिई जनता माविका लागि शिक्षक भई आएँ ।
म हेडसरसँगै कक्षा १० मा प्रवेश गरें । उहाँले कक्षामा मेरो परिचयसँगै सङ्क्षेपमा मेरो प्रतिभा र क्षमताको बारेमा पनि प्रकाश पारिदिनुभयो । मलाई लाग्छ, यसले कक्षालाई अलि सहज पारयो । विद्यार्थीको उज्यालो अनुहारले उनीहरू मप्रति सकारात्मक छन् भन्ने ठानेँ र कक्षा शुरु गरें । पाठ थियो– भैरव अर्यालद्वारा लिखित जयभोलि निबन्धको व्याकरण अभ्यास । त्यहाँ दिइएका उखान टुक्काको परिचय, भाषामा यसको महत्व बताउँदै कक्षा अगाडि बढाएँ । पाठमा प्रयोग भएका उखान टुक्काको अर्थ बताइदिने र अर्थ मात्र बताइदिँदा नबुझेमा त्यसलाई वाक्यमा प्रयोग गरी बुझाउँदै थिएँ । अभ्यास सकिएपछि विद्यार्थीहरू पाठभन्दा बाहिरका उखान टुक्काहरूको अर्थ सोध्न थाले र म तिनको जवाफ दिँदै गएँ ।
अनायासै एकजना विद्यार्थीले प्रश्न गरयो– ‘सर ! चोर परे चौतारी साधु परे शूली’ को अर्थ के हो ? मेरो मान सपटलले चक्कर खायो । मैले धेरैबेर सोचेँ, बुझेँ, सम्झेँ तर कहीँ कतैबाट मेरो मस्तिष्कले यसको अर्थ पाएन । उत्तर दिन नसकेमा कक्षाबाट बाहिरिनुपर्ने अवस्था पनि आउँछ कि जस्तो भयो । जीउ असिनपसिन भयो । कक्षामा केहीक्षण सन्नाटा छायो । केही नलागेपछि “यसको उत्तर भोलि दिन्छु” भनेँ । संयोग वा सौभाग्य; त्यहीवेला घण्टी लाग्यो । कक्षाबाट बाहिरिँदा, मलाई एउटा बन्दी गृह बाट बाहिर निस्के जस्तो स्वच्छन्दताको अनुभूति भयो ।
भोलिपल्ट सो प्रश्नको जवाफ विद्यार्थीलाई चित्त बुझने गरी दिएँ । त्यसपछि विद्यार्थीहरू मप्रति नकारात्मक भएनन् । मेरो पहिलो कक्षाको अनुभवले सिकाएको पाठ हो– जो कोही शिक्षक पनि पूर्ण तयारीका साथ कक्षाकोठामा प्रवेश गर्नु पर्छ । विद्यार्थीहरूसँग पनि शिक्षकसँग नभएको ज्ञान हुन्छ भन्ने स्वीकार्नुपर्छ ।
मेरो हालसम्मको शिक्षण पेशाको अनुभवले भन्छः पहिलो पटक कक्षा लिने साथीहरूले विषयवस्तुको तयारीसँगै आफूभन्दा विज्ञ शिक्षकहरूलाई सोधेर विद्यार्थीको सिकाइको स्तर , पूर्व ज्ञान थाहा पाएर उत्साह र खुसीका साथ आवश्यक सम्पू्र्ण सामग्री आफूसँगै लिएर कक्षाकोठामा प्रवेश गर्नु पर्छ । प्रअ/प्राचार्यहरूले नयाँ शिक्षकलाई कक्षामा परिचयगराउँदा सकेसम्म शिक्षकको प्रतिभा र अतिरिक्त ज्ञान/सीपबारे समेत छोटो परिचय दिनुपर्छ । भनिन्छ, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ । मेरो यही अनुभवले कक्षाकोठामा प्रवेश गर्नु पूर्व विषयवस्तु, सामग्री, क्रियाकलाप र मूल्याङ्कनबारे एकपटक चिन्तन गर्न पनि बाध्य पारिरहेछ ।
रामप्रसाद पाण्डेय (नेपाली)
भगवती नमुना उमावि, मिर्मी ढाव, स्याङ्जा
भाषण मात्र दिएँ
मध्य साउनको वेला थियो । स्कूल पुग्दा दिनको करिब एक बजेको हुँदो हो । तत्कालीन प्रअ साथमा हुनुहुन्थ्यो । उच्च मावि उद्घाटनको दिन भएकाले शिक्षक साथीहरू ध्वजापताकाले विद्यालय सिगार्नमा व्यस्त थिए । काठमाडौँबाट आएको ‘नयाँ शिक्षक’ भनेर कामका बीचमा नै सबै साथीहरू मसँग परिचय गर्न आइपुग्नुभयो । लगत्तै औपचारिक कार्यक्रम पनि शुरु भयो । गाउँकै एक जग्गादाता प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले पर्दा उघारेर उमाविको बोर्ड खोलेपछि उमावि उद्घाटन भयो ।
कार्यक्रममा ‘नयाँ शिक्षक’ भनेर उपस्थित विद्यार्थी र अभिभावक सबैमा मप्रति उत्सुकता देखि न्थ्यो । त्यसैले होला, अतिथिका रूपमा आसनग्रहण गराए र केही बोलिदिन आग्रह गरिएको थियो । तर मैले बोल्न चाहिनँ । बाँकी वक्ताहरूले आफ्नो भनाइ राखेपछि कार्यक्रम सकिन्छ होला भन्ने मैले सोचेको थिएँ । तर अचानक उद्घोषकले मलाई कक्षा ११ को कक्षा शुरु गरेर उमाविको उद्घाटनलाई सार्थक बनाइदिन सार्वजनिक रूपमा नै आग्रह गरे ।
लौ, बित्यास परयो ! मैले त सोचेकै थिइनँ, त्यसरी अचानक कक्षा लिनुपर्ला भनेर । भर्खर विद्यार्थी जीवन पूरा गरिएको छ, शिक्षणको कुनै अनुभव छैन । मान सिक रूपमा पनि तयार हुने अवसर मिलेन । तर यो कुरा कसैसँग राख्ने अवस्था पनि थिएन, किनभने त्यो नयाँ ठाउँ त थियो नै त्यस माथि सार्वजनिकरूपमै कक्षा सञ्चालन गर्ने कुरा घोषणा पनि भइसकेको थियो । म कसै गरी उम्कने ठाउँ बाँकी थिएन । अन्ततः कार्यक्रम सकेर अरूहरू घर फर्कंदा मचाहिँ चक–डस्टर बोकेर कक्षातिर लागेँ । कक्षामा १६/१७ जना विद्यार्थी थिए । मलाई कक्षामा छिरिसकेपछि पनि आफू शिक्षक हुँ भन्ने विश्वास नै भएन । अचानक म यही कुरा ले टोलाउन पो पुगेछु ! विद्यार्थीहरू चल्मलाएपछि म झल्याँस्स भएँ ।
म शिक्षाशास्त्रको नभई समाज शास्त्रको विद्यार्थी थिएँ त्यसैले शिक्षकको रूपमा कहिल्यै पनि कक्षामा पसेको थिइनँ । विद्यार्थी जीवनमा कहिलेकाहीँ भाषण भने गरेको थिएँ । त्यसदिन त्यही भाषणले मलाई साथ दियो ।
औपचारिक स्वागत र परिचयपछि मैले भाषण शुरु गरें । मेरो भाषणको मूल आशय थियो ‘म यहाँ घर बनाउन आएको हुँ, शैक्षिक घर । त्यो घर निर्माण गर्न तपाईंहरूले सहयोग गर्नु पर्छ । जीवन सिकाइ हो । कहिले म तपाईंहरूबाट सिक्छु, कहिले म तपाईंहरूलाई सिकाउँछु ।’ यस्तै भनाइहरू एकोहोरो राख्दै माइक्रोसफ्ट कम्पनीको नारा ‘कि जोशका साथ कामगर, होइन भने घर जाऊ’, माधव घिमिरेको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ र श्रीमदभागवतगीताको ‘काम गर फलको अधिकार तिमीमा छैन’ जस्ता उक्तिहरू जोड्दै गएँ । मेरो भाषणले विद्यार्थीहरू निकै प्रभावित भएछन् । पढ्नका लागि शहरतिर जान तयार भएका कतिपय विद्यार्थीहरू पछि त्यहीँ भर्ना हुन तयार भएछन् ।
स्कूलमा राजधानीबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाहरू पुर्याउने व्यवस्था मिलाएँ । प्रत्येक शुक्रबार विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा बाहिरका विषयमा छलफल गराउन थालेँ । कविता, कथा,गद्यलेखन जसले जे सक्छ त्यो लेख्न लगाएँ ।
तर चाहे जस्तो वातावरण नभएपछि म त्यो स्कूलबाट ६ महिनामै बिदा हुन पुगेँ । तर मैले त्यो कक्षामा पहिलो दिन भाषण गर्दा ज्ञान र चेतनाको बीउ रोपी शैक्षिक घर निर्माण गर्ने जुन चेतना पाएँ, आज पनि म त्यसमा उत्तिकै प्रतिबद्ध छु । सभ्य समाज र असल नागरिक भएको घर निर्माण शिक्षकले मात्रै गर्न सक्छन् भन्ने कुरा मा म विश्वस्त छु । यसका लागि हामी शिक्षकहरूमा कामप्रतिको लगाव र प्रतिबद्धता जरुरी हुन्छ । शिक्षकहरूका समस्या धेरै छन्, तर तिनलाई चिर्दै विद्यार्थीमा चेतनाको बीउ रोप्ने कर्तव्यमा पछाडि पर्ने काम हामीबाट हुनु हुदैन ।
शिवशरण ज्ञवाली
महेन्द्र बहुमुखी क्याम्पस, बाग्लुङ
पाठ पढाइनँ, पाठ पढेँ
२०४४ साल चैत २ गते चन्द्रज्योति प्र.मा.वि., घिरिङ्ग, सुन्धारा, तनहुँको कक्षा ८ मा पहिलो पटक म शिक्षक बनेर प्रवेश गरें । प्रस्तावित मावि भएकाले विद्यार्थी सङ्ख्या पुर्याउनको लागि पनि होला, त्यहाँ धेरै उमेर छिप्पिएका विद्यार्थी पनि देखिन्थे । कसै कसैको त मेरोभन्दा पनि बढी उमेर भए जस्तो लाग्थ्यो । प्रअले मलाई परिचय गराउन कक्षामा लैजानुभयो । ‘ल तिमीहरूको नयाँ सर आउनुभएको छ । अनुशासित भई पढ्नू’ भनेर उहाँ बाहिरिनुभयो । नयाँ शिक्षक पहिलो दिन कक्षामा पस्दा विद्यार्थीहरू स्वाभाविकरूपमै बढी जिज्ञासु हुन्छन् । तर मैले त्यहाँ त्यस्तो पाइनँ । आपसमा खासखुस चलिरह्यो र मतिर भन्दा कक्षाको ध्यान अन्यत्रै गएको महसुस भयो ।
मगर जातिका विद्यार्थीको बाहुल्य भएकाले उनीहरूको भाषा बुझन मलाई कठिनाई भइरहेको थियो । कतै यिनीहरूले भित्रभित्रै मलाई नै त जिस्काइरहेका छैनन् भन्ने पनि लाग्यो ।
नयाँ कक्षामा सर्वप्रथम परिचय गर्नु पर्ने सामान्य तरिका त मलाई थाहा थियो तर विद्यार्थीहरूको अवस्था हेर्दा त्यो त्यति प्रभावकारी होला जस्तो लागेन । त्यसैवेला मेरो आफू विद्यार्थी हुँदाको एउटा कुरा याद आयो । हामी कक्षामा अलि अनियन्त्रित हुँदा गुरुहरू हामीलाई कथा सुनाउन थाल्नुहुन्थ्यो । मैले पनि यहाँ त्यही तरिका अपनाउने विचार गरें । ‘ल तिमीहरूको पहिलो कक्षा म कथाबाट शुरु गर्छु हुन्छ ?’ भनी विद्यार्थीसँग प्रश्न गरें । सबैले ‘हुन्छ’ भनी सहमति जनाए । त्यसपछि भैरव अर्यालको ‘चन्द्रलोकको यात्रा’ नामको कथा सुनाएपछि विद्यार्थीहरू केही शान्त भए । त्यसपछि परिचयको क्रम चल्यो । सबैभन्दा अन्त्यमा आफ्नो परिचय दिएँ ।
अब आयो विषय शिक्षण गर्ने पालो । आजको पाठ रहेछ– विज्ञान विषयको ‘वानस्पतिक प्रजनन्’ । भयो अब ! शिक्षणको पहिलो दिन, नौला विद्यार्थी, पाठ पनि नौलो ! कक्षामा के पढाउनु पर्छ भनेर न त मैले हेडसरसँग सोधेको थिएँ न त उहाँले नै केही भन्नुभएको थियो । मेरो आफ्नो विषय थियो नेपाली र सामाजिक । पढाउनु पर्ने भो विज्ञान !!
म विज्ञानमा शून्य नै त थिइनँ, तर त्यस दिनका लागि सजिलो उपाय रोजेँ । नयाँ पाठ शुरु गर्नु को सट्टा अघिल्ला पाठहरूको पुनरावलोकन गर्नतिर लागेँ । विद्यार्थीहरूलाई अघिल्ला पाठका प्रश्नहरू सोध्दै गएँ । सोधेका प्रश्न कालोपाटीमा लेख्दै पनि गएँ । चार वटा प्रश्न सोधिसकेपछि सही उत्तर नआएका प्रश्नको उत्तर कक्षा सातबाट प्रथम भएर आउने विद्यार्थीलाई दिन लगाएँ । अनि पूरा कक्षालाई त्यो उत्तर सही हो ? भनी सोधेँ । केहीले हो सर, भनी उत्तर दिए । यत्तिकैमा अर्को घण्टी लाग्यो । म कक्षाबाट बाहिरिएँ ।
शिक्षण जीवनको त्यो पहिलो कक्षा म कहिल्यै पनि भुल्न सक्दिनँ किनभने शिक्षक हुनका लागि चाहिने सबैभन्दा महत्वपूर्ण पाठ मैले त्यही कक्षामा सिकेँ । र पाठ थियो– ‘पूरा तयारी गरेर मात्र कक्षामा जानुपर्छ !’
रामप्रसाद देवकोटा
मित्रता उमावि, आँबुखैरेनी–१, तनहुँ
फेरि शिक्षक हुन पाऊँ !
सफल शिक्षक बन्ने पहिलो शर्त विषयवस्तुको गहन ज्ञान र शिक्षण कलामा प्रवीणता हो । पाठ्यक्रम, पाठ्यपुस्तक बाहेकको ज्ञान–विज्ञानको सागरलाई पनि शिक्षकले उत्तिकै पिएको हुनुपर्छ ।
निर्दलीय पञ्चायती व्यवस्था ढलेर भर्खरै बहुदलीय व्यवस्था पुनस्र्थापना भएको थियो । मै पढेको सदरमुकामको स्कूलले खुल्ला प्रतिस्पर्धाबाट प्रावि तहमा दुई जना शिक्षक नियुक्ति गर्न विज्ञापन गरयो । मैले बडो उत्साहका साथ आवेदन गरेँ । पचास जना प्रतिस्पर्धीले परीक्षा दियौं । पाँच–छ जना प्रतिस्पर्धी बी.ए. पास गरेका थिए भने म भर्खर एसएलसी गरेर क्याम्पस पढ्न शुरु गरेको थिएँ । तैपनि , उच्च मनोबल र आत्मविश्वासका साथ परीक्षामा सामेल थिएँ । नभन्दै अरू प्रतिस्पर्धीलाई उछिनेर मैले एक नम्बरमा नाम निकालँे । मौखिकमा पनि पहिलो नम्बरमै उत्तीर्ण भएपछि किशोर वयको उत्कर्षमा म नानीहरूलाई पढाउने मास्टर बनेँ ।
हिजोसम्म म त्यही स्कूलको विद्यार्थी आज त्यही स्कूलमा मास्टर हुन पुगेको थिएँँ । मेरासामु दुइटा भूमिका थिएँ । गुरुहरूको लागि म एकातिर चेलो र अर्कातिर सहकर्मी शिक्षक पनि हुन पुगेको थिएँ । यी दुइटाको बीचमा सामञ्जस्य कायम गर्न मलाई कताकता अप्ठ्यारो भएको थियो ।
मैले विकट गाउँका विद्यालयमा एक न एक दिन शिक्षक बन्ने कुरा सोचे पनि सदरमुकामको प्रतिष्ठित र पुरानो विद्यालयमा यति छिटै शिक्षक बन्छु होला भन्ने सोचेको थिइनँ । फेरिगाईघाट जस्तो ठाउँमा सोर्सफोर्स नभएका सर्वसाधारणले जागिर खाने कुरा चिताउनु पनि हुँदैन भन्ने धारणा व्याप्त थियो । म पनि त्यसबाट मुक्त थिइनँ । तर शिक्षक समितिको निष्पक्ष मूल्याङ्कन प्रणालीको कारण म यस ठाउँमा शिक्षक हुन पुगेको थिएँ ।
स्कूल प्रवेश गर्दा विद्यार्थीहरूलाई पढाउन नसकूँला भन्ने डर त मलाई रत्तिभर थिएन । किनकि सरदरमा म राम्रै खालको विद्यार्थी भएकाले मावि तहसम्मकै अङ्ग्रेजी– गणितका समस्या राम्रैसित हल गर्न सक्थेँ । तैपनि मनमा विद्यार्थीहरूलाई चित्तबुझदो गरी पाठ प्रस्तुत गर्न नसकूँला कि ? कोठामा उभिएपछि असन्तुलित या हीनताबोधलेगाँज्ला कि, प्रस्तुति बिग्रने पो हो कि भन्ने शङ्का र त्रास चाहिँ जीवित थियो । त्यसैले पनि मैले राम्रै तयारी गरेको थिएँ । शिक्षणको पहिलो दिन मलाई कक्षा–५ मा अङ्ग्रेजी र त्योमुनिका कक्षामा नेपाली पढाउन लगाइयो ।
मैले पहिलो कक्षामा पाठसित सम्बन्धित सूत्र–कथा र चुट्किला सुनाएर शिक्षण कार्य अगाडि बढाएको थिएँ । अरूभन्दा पृथक् शैलीमा पढाएको जस्तो लागेछ विद्यार्थीहरूलाई , सिक्नको लागि सबै प्रेरित बने । कक्षाकोठामा अनौठो सन्नाटा छायो । म अरू उत्साहित भएर पढाउन थालेँ । विषयवस्तुको गहनता र जटिलतामा विद्यार्थीहरूलाई सजिलोसित प्रवेश गराउनका लागि पाठसित सम्बन्धित किस्सा–कहानी, सूत्र–कथा, बोधकथा, लोककथा, रोचक सन्दर्भ, चुट्किला,गीत, कविता आदिका टुक्रा सुनाउँदै अगाडि बढाउने कुरा को ज्ञान म विद्यार्थी हुँदै मेरा गुरु रामचन्द्र बस्नेतबाट पाएको थिएँ । बस्नेत सरले नेपाली पढाउन थालेपछि समय बितेको थाहा हुन्नथ्यो ।
उत्साहका साथ पढाइरहेको थिएँ । बाहिर भित्ताको आडमा छलिएर मैले पढाएको दृश्यलाई झयालको सानो कापबाट कसैले चियाइरहेको देखेँ । चस्माको छेउ देख्नेवित्तिकै ती मान्छे प्रअ वीरेन्द्र बस्नेत हुन् भन्ने थाहा पाउन बेर लागेन । म एकैचोटि खœयाक्खुत्रुकगलेँ । मनमा सङ्कोचको भाव उर्लियो । तर पनि काँतर मनलाई साहसी मनले निर्देश गरयो– “नहड्बडाइ पढा । तेरो अग्निपरीक्षा हुँदैछ । होश र धैर्य नगुमाई पढा ।” मनले मनलाई सान्त्वना दिए पनि पहिलेको जस्तो निष्फिक्र भएर पढाउन सकिनँ ।
मलाई भोलिपल्ट नयाँ ‘रुटिन’ दिइयो । त्यस अनुसार मैले प्राविका केही कक्षा बाहेक ६ देखि ८ सम्मका विषयहरू पढाउनु पर्ने भयो । दोस्रो दिनबाट शिक्षण कार्य अरू सहजतातिर अगाडि बढ्यो ।
पहिलो दिनको शिक्षणकार्यले मलाई म भित्रको सबल र दुर्बल पक्ष एकैचोटि चिनाइदियो । सबल पक्षमा मैले सोचेभन्दा बढी नै रराम्रोसित पढाउन सक्नेरहेछु भन्ने कुरा ज्ञान भयो । दुर्बल पक्ष चाहिँ आफूभन्दा माथिको व्यक्तिसामु म सङ्कोचशील बन्दोरहेछु । मभित्र भयका भावना पनि त्यत्तिकै बलशाली रहेछन् भन्ने बुझें । त्यसैले आज पनि म आफ्नो ज्ञान र क्षमता बढाउन, आफूसँग रहेको सबल पक्षलाई अरू मजबुत पार्न अनि दुर्बल पक्षलाई दुरुत्साहित गर्न निसङ्कोच, बहिर्मुखी र आत्मविश्वासी बन्न कठोर साधना र श्रम गरिरहेको छु ।
मेरो बीसवर्षे शिक्षण अनुभवले सिकाएको पाठ हो– सफल शिक्षक बन्ने पहिलो शर्त विषयवस्तुको गहन ज्ञान र शिक्षण कलामा प्रवीणता हो । पाठ्यक्रम, पाठ्यपुस्तक बाहेकको ज्ञान–विज्ञानको सागरलाई पनि शिक्षकले उत्तिकै पिएको हुनुपर्छ । आज म आफ्नो शिक्षण जीवनको स्वर्णिम कालमा छु । आफ्नो उज्ज्वल भविष्यको निम्ति ज्ञान कमाउन आएका शिक्षार्थीको बीचमा बिते मेरा २० वर्ष । शिक्षण जीवनको यो सुन्दर यात्रालाई मैले जीवनको सार्थक र उत्पादनशील काम ठानेको छु । अरूले शिक्षण पेशालाई हेय दृष्टिले हेरेको बखतमा मलाई भने अर्को जुनी छ भने त्यसमा पनि ‘मास्टर’ नै भएर जन्मिने रहर छ । ७
पुण्य कार्की, प्राचार्य
जनज्योति उमावि चुहाडे, उदयपुर
पहिलो कक्षाबाटै धेरै सिकेँ

वि.सं. २०३० पुस ४ गते सर्लाही जिल्लाको श्री पञ्चायत आदर्श निम्नमाध्यमिक विद्यालय धनगढाको शिक्षक भई काम शुरु गरी सामुदायिक माध्यमिक विद्यालय; सीतापुरको प्रधानाध्यापकबाट सेवा निवृत्त भइसकेँ । तर पनि विद्यालय–कक्षामा गएको पहिलो दिनको सम्झना गर्दा मन रोमाञ्चित हुन्छ ।
कक्षामा जानका लागि कुनै तयारी गर्न पाएको थिइनँ । विषयवस्तु त कठिन थिएन तर नियुक्तिका क्रममा खेप्नुपरेको राजनीतिक पूर्वाग्रहको प्रसङ्गले पैदा गरेको तिक्तताका साथै शिक्षक भएर कक्षामा कसरी प्रस्तुत हुने भन्ने कुरा हरू मनमा खेलिरहेका थिए । त्यसले मलाई केही कमजोर पनि बनाएको थियो । तर मेरा गुरु तथा तत्कालीन शिक्षक उपेन्द्र दत्तले मलाई कक्षा ६ मा लगेर विद्यार्थीसामु लामो भाषण दिनुभयो । त्यसले मेरो आत्मबल बढायो ।
बेन्च, डेस्क व्यवस्थित थिए र कक्षाकोठा सफा थियो । पछि थाह भयो, विद्यार्थीले सधैँ आफैँ कोठा सफा गर्ने गरेका रहेछन् । यो कुरा पनि मेरो शिक्षण पेशाको जीवनकालका लागि प्रेरणादायक सावित भयो । शिक्षण पेशाबाट निवृत्त हुने वेलासम्म पनि विद्यालयलाई कसरी सफासुग्घर राख्ने र कसरी सजाउने भन्ने कुरा लाई व्यवहारमा ल्याउन त्यसैबाट मलाई धेरै सजिलो भएको थियो ।
मेरो पहिलो कक्षाको सुरुआत परम्परागत ढाँचाको परिचयबाटै भएको थियो । विद्यार्थी आकर्षित गर्ने कुरा कति महत्वपूर्ण रहेछ भन्ने त पछि तालिम र अनुभवले नै सिकायो ।
फर्केर हेर्दा, पहिलो दिनको कक्षाबाट मैले भोलिपल्ट वा भविष्यका लागि निम्न कुरा हरू सिकेको थिएँः
१. शिक्षक रराम्रो, सफा र मिलेको लुगा लगाएर कक्षामा जानुपर्छ ।
२. अनुहार हँसिलो बनाउनुपर्छ ।
३. पढाउने पाठको पूर्व तयारीसहित कक्षामा जानुपर्छ ।
४. विद्यार्थीलाई आफूतिर आकर्षित गर्ने विभिन्न उपायहरू अवलम्बन गर्नु पर्छ ।
५. अध्यापन गर्दा विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउनुपर्छ ।
६. पाठ पढाइसकेपछि बुझे नबुझेका कुरा हरूको नियमित मूल्याङ्कन गर्नु पर्छ ।
७. सकारात्मक सोच राख्नुपर्छ ।
करिब तीन दशक लामो सहभागितापछि मैले शिक्षण पेशाबाट अवकाश लिइसकेको छु । मेरो लामो शिक्षण अनुभवले सिकाएका केही व्यावहारिक कुरा हरू आजका शिक्षक साथीहरूलाई केही हदसम्म उपयोगी हुनसक्लान् कि भन्ने आशासहित
बुँदागत रूपमा उल्लेख गर्नु सान्दर्भिक ठान्दछुः
१. अभिभावक र प्रअबाट सकारात्मक सहयोग लिन जान्नुपर्दछ ।
२. शिक्षकहरूबीच सधैँ पारस्परिक सकारात्मक विचार को आदानप्रदान गर्नु पर्दछ ।
३. विद्यार्थीमा नयाँ–नयाँ कुरा सिक्ने बानीको विकास गराउनु पर्छ । उनीहरूमा सकारात्मक सोचको विकास गराउन विशेष ध्यान दिनुपर्दछ ।
४. पढाउने पाठको पूर्व तयारीका साथै विद्यार्थीलाई आफूतिर आकर्षित गर्ने विभिन्न क्रियाकलाप गर्नु पर्दछ ।
५. पाठ्यवस्तुलाई सघाउने थप विषयवस्तु र क्रियाकलाप आदि आवश्यक पर्दछन् ।
६. प्रअकोे हकमा विद्यालयमा नियमित उपस्थिति, आर्थिक कारोबारको पारदर्शिताका साथै शिक्षक, विद्यार्थी एवम् अभिभावकमा समान व्यवहार अपरिहार्य छ ।
७. शिक्षकको सम्बन्धमा विद्यार्थी र अभिभावकसँग को समान व्यवहारका साथै प्रअ एवम् शिक्षक, कर्मचारीबीच पारस्परिक सहयोगात्मक विचार को आदान–प्रदान भइरहनु पर्छ ।
८. शिक्षक, कर्मचारी र व्यवस्थापन समितिबीच रराम्रो र सहयोगात्मक सम्बन्ध हुनुपर्दछ । त्यसनिम्ति प्रअको सकारात्मक भूमिका रहनु पर्दछ ।
९. विद्यालय विकास को लागि व्यवस्थापन समिति, अभिभावक प्रअ एवम् शिक्षकहरूबीच निरन्तर संवाद र अन्तरक्रिया हुनुपर्दछ ।
यति हुनसक्यो भने हाम्रा सार्वजनिक स्कूलहरूको स्तर मा केही वर्षमै उल्लेखनीय सुधार आउँछ भन्नेमा मलाई पूरा विश्वास छ ।
शिवेश्वर लाल
सेवा निवृत्त शिक्षक
सहोडवा, सर्लाही

मैले आजभन्दा पन्ध्र वर्षअघि क्यालिफोर्नियाको ओकल्याण्ड विद्यालयबाट शिक्षण पेशा शुरु गरे की हुँ । मैले कक्षा २ को कक्षा–शिक्षकका रूपमा अध्यापन शुरु गरें । कक्षा बहुभाषी थियो । विद्यालयको पहिलो दिन म निकै नै खुसी थिएँ । साथसाथै मलाई डर पनि लागिरहेको थियो । बेलुकासम्ममा म ज्यादै थाकिसकेकी थिएँ । कक्षामा जानुभन्दा पहिला निकै धेरै तयारी गर्नु पर्ने रहेछ भन्ने मैले त्यसै दिन थाहा पाएँ । तर पनि त्यस दिन खासै ठूलो समस्या भने परेन । विद्यालयका शुरु का दिनहरूले त्यसपछि का वर्षहरूमा मलाई निकै सहयोग पुर्याएका रहेछन् भन्ने चाहिँ पछि मात्र महसुस गरें ।
मैले अहिले त्यसबखत तयार गरेका रुटिनहरूमा निकै सुधार गरे की छु । शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन त्यतिवेला मैले आफ्ना क्रियाकलाप हरूलाई तलको ढाँचामा समेटेकी थिएँः
क) विद्यार्थी र अभिभावक समुदायको निर्माण ।
ख) कक्षाकोठा व्यवस्थापन, रुटिन तथा कक्षा सञ्चालन प्रक्रिया ।
ग) शिक्षण–सिकाइ ।
यी कुरा हरूका बारेमा विस्तृत रूपमा जानुअघि १५ वर्षे शिक्षण अनुभवले सिकाएका केही कुरा उल्लेख गर्न चाहन्छु । कक्षामा जानुभन्दा अघि शिक्षकले तयारी गर्नै पर्छ । पूर्वतयारी गरे मा शिक्षकको ७५ प्रतिशत कार्यबोझ् कक्षाकोठामा पस्नुअघि नै सकिइसकेको हुन्छ । कक्षा प्रवेशअघि विद्यालय परिसर, विद्यालयका अन्य शिक्षक तथा कर्मचारीहरूसँग परिचित हुनुपर्छ । शिक्षकले कक्षाकोठाको बनोटको आधारमा विद्यार्थीको बसाइ, सूचनापाटी र फर्निचरको रखाइलाई शुरु मै ध्यान दिनुपर्छ । अर्थात् आफू सबै विद्यार्थीहरूको नजिक पुग्न सक्ने गरी कक्षाकोठा मिलाउनुपर्छ ।
प्रभावकारी शिक्षणको ‘गोप्यमन्त्र’ हो– नयाँ शैक्षिक सत्र शुरु हुँदा मात्र होइन, हरेक घण्टी शुरु हुनुअघि कक्षाकोठा र शिक्षणका लागि आवश्यक तयारी गरी सक्नुपर्छ तथा शिक्षक स्वयम् पनि तयार भएर बस्नुपर्छ । बाँकी काम त्यति कठिन छैनन् ।
समुदायको निर्माण
शिक्षकको पहिलो काम विद्यार्थी तथा अभिभावकको कौतुहल शान्त गराउनु हो । विद्यालयको पहिलो दिन अधिकांश बालबालिकाहरू असजिलो मानिरहेका हुन्छन् । असजिलोपनलाई उनीहरू फरक–फरक तरिकाले व्यक्त गर्छन् । साना केटाकेटी रोएर व्यक्त गर्छन् भने अरू कतिपयले यसलाई बाहिर प्रकट हुन नदिई दबाएर राखेका हुन्छन् । हरेक केटाकेटीमा आफूलाई पढाउने शिक्षक र उसको स्वभावबारे कौतुहल हुन्छ । अभिभावकहरूमा पनि आफ्नो बच्चाको शिक्षक कस्तो पर्ला भन्ने बारेमा उत्सुकता रहेको हुन्छ । शिक्षक सधैँ हँसिलो, नम्र र दयालु हुनै पर्छ । यसले अभिभावकसँग को सम्बन्धलाई समेत आत्मीय र जीवन्त बनाउँछ ।
अभिभावकहरूमा आफ्ना बालबच्चाको पढाइबारे जान्ने चाहना अत्यधिक हुन्छ । शिक्षकले त्यस्तो भावनाको सम्मान गर्नु पर्छ । कक्षामा अभिभावकहरूलाई कहाँ बसाउने, एक पटकमा कति जनासम्म बस्न दिने तथा कति अवधिसम्म बस्न दिने भन्ने कुरा मा शिक्षक पहिल्यै स्पष्ट भइसकेको हुनुपर्छ । विद्यार्थीहरू राम्ररी बसिसकेपछि उनीहरूसँग को अन्तरक्रिया र सम्बन्ध विस्तारको क्रम शुरु गर्नु पर्छ । त्यसका लागि केही तरिकाहरू यस्ता हुन सक्छन्ः
१. शिक्षकले हरेक विद्यार्थीको नाम थाहा पाउनुपर्छ र बोलाउँदा सही उच्चारण गरेर बोलाउनुपर्छ । हरेक विद्यार्थीलाई एकअर्काको नाम थाहा पाउन सजिलो पारिदिनका लागि उनीहरूलाई नामसहितको परिचयपत्र झुण्ड्याउन लगाउनुपर्छ । घुलमिल वातावरण बनाउनुपर्छ । त्यसनिम्ति विभिन्न खेलहरू खेलाउनु एउटा उपाय हुन्छ ।

२. विद्यार्थीहरूको फोटो खिचेर अर्को दिन उनीहरूको नामसहित भित्तामा टाँसिदिनुपर्छ । आफ्नो फोटो र नाम कक्षाकोठामा टाँसिएको पाउँदा उनीहरूलाई आफू कक्षासँग सम्बन्धित भएको र आफ्नो इज्जत गरिएको लाग्न थाल्छ ।
३. शिक्षकले आफ्नो, आफ्नो परिवार, रुचि तथा आफू किन शिक्षक भएँ भन्ने बारेमा विद्यार्थीलाई बताउनुपर्छ । यसो गर्दा विद्यार्थीले शिक्षकको बारेमा जान्न पाउँछन् र सम्बन्ध विस्तार गर्न सहज हुन्छ । विद्यार्थीलाई उनीहरूको रुचि तथा विद्यालयमा उनीहरूले सिक्न चाहेको कुरा तथा परिवारका बारेमा पालैपालो भन्न लगाउनुपर्छ । उनीहरूलाई आफ्नो परिवारको तस्बिर वा यस्तै विशेष चीज प्रदर्शन गर्न पनि लगाउन सकिन्छ ।
४. हरेक बालबालिकासँग कुनै न कुनै सीप, रुचि वा क्षमता हुन्छ । उनीहरूका यस्ता रुचि, क्षमता तथा सीपहरूको पहिचान गर्नु पर्छ र त्यसलाई कक्षामा रराम्रोसित प्रदर्शन गर्ने व्यवस्था मिलाउनुपर्छ ।
५. सम्पर्क ठेगाना/नम्बरसहित पहिलो दिन नै शिक्षकले आफ्नो तर्फबाट अभिभावकहरूलाई चिठी पठाउनुपर्छ ताकि आवश्यक परेका बखत उनीहरूले सम्पर्क गर्न सकून् । निकट भविष्यमा हुने अभिभावकहरूसँग को भेटघाटको जानकारी पनि सोही चिठीबाट गराउन सकिन्छ ।
६. पहिलो हप्ताभित्रै विद्यार्थीका आमाबाबु वा अभिभावकसँग भेटेर बच्चाको बारेमा सोध्नुपर्छ । जस्तै– तपाईंको बच्चाको रुचि के छ ? घरमा ऊ के के गर्न मनपराउँछ ? उसको के कुरा तपाईंलाई एकदमै मन पर्छ ? तपाईंको चासोका कुरा हरू के के हुन् ? आदि । तपाईंले हरेक अभिभावकलाई के कुरा सञ्चार गर्नु पर्छ भने तपाईं उनीहरूका बच्चाको हेरचाह गर्नु हुन्छ, बच्चालाई अझ् रराम्रोसित चिन्न चाहनुहुन्छ र उसित सँगै काम गर्ने योजना छ ।
७. अभिभावकहरूसँग बसेर चियाखाँदै विद्यार्थीका बारेमा कुरा कानी गर्दा एकअर्कासँग परिचित हुन र सम्बन्ध सुधार्न निकै मद्दत पुग्छ ।
विद्यालय, विद्यार्थी र अभिभावकबीच सुसम्बन्ध स्थापित गर्न यी बुँदाहरू मात्र पर्याप्त हुँदैनन्, तर यसरी सुरुआत चाहिँ गर्न सकिन्छ ।
‘रुटिन’ निर्माण
कक्षा शुरु भएको पहिलो हप्ता विद्यार्थीहरूलाई विद्यालयको ‘रुटिन’ तथा प्रक्रियाहरूका बारेमा सिकाउनु पर्दछ । कक्षा सुचारु रूपमा सञ्चालन गर्नका लागि यो कार्य जरुरी हुन्छ । कक्षाको रुटिनमा कतिखेर शौचालय जाने, कतिखेर पानी पिउन जाने, कहिले पेन्सिल तिखार्ने, गृह कार्य कसलाई र कहाँ बुझाउने, झेला कहाँ राख्ने, टिफिन कहाँ राख्ने, खाजा कतिखेर खाने जस्ता कुरा हरू पर्दछन् । सबै नियम विद्यार्थीले एकैपटक याद गर्न सक्दैनन् तसर्थ ती प्राथमिकताका आधारमा पालैपालो बताउनुपर्छ । कतिपय नियमहरू उनीहरूले बिर्सन पनि सक्छन् । तसर्थ उनीहरू अभ्यस्त नभएसम्म यस्ता रुटिनहरूका बारेमा अभ्यास गराइरहनु पर्छ ।
विद्यार्थीको ध्यान शिक्षकतर्फ आकर्षित गर्ने निश्चित विधिहरू हुन्छन् । त्यस्ता विधिको प्रयोग कक्षाको पहिलो दिन देखि नै गर्न थाल्नुपर्छ । कसैले ताली पड्काएर, कसैले हात उठाएर त कसैले छोटागीतहरू (राइम)गाएर पनि ध्यानाकर्षण गर्ने गर्छन् ।
कक्षामा पालन गर्ने नियमहरू शिक्षक तथा विद्यार्थी दुवैले संयुक्त रूपमा तयार पार्नुपर्छ । तर त्यस्ता नियम विद्यार्थीहरूलाई अधिकतम सिकाइ हासिल गर्न सहयोग पुग्ने खालका हुनुपर्छ । नियम तयार गर्दा कुनै महत्वपूर्ण बुँदा छुट्न गए त्यसलाई समावेश गर्नु पर्छ या पर्दैन भनी कक्षामै छलफल गराउनु पर्छ । नियम तयार भइसकेपछि सबैले देख्ने ठाउँमा विद्यार्थी तथा शिक्षकको हस्ताक्षरसहित टाँस्नुपर्छ । यसो गर्दा नियमप्रति विद्यार्थीको अपनत्वको भावना विकास हुन्छ । साथै नियमहरूको पालना नभएमा के गर्ने भन्ने कुरा पनि पहिल्यै तय गर्नु पर्छ ।
विद्यार्थीले आफूसँग के कस्ता चाहना तथा अपेक्षा राखेका छन् भन्ने कुरा को जानकारी शिक्षकले लिनुपर्छ । उनीहरूले अपेक्षा गरेका कुरा हरूलाई ध्यानमा राखेर शिक्षकले विद्यार्थीसँग सोही अनुसार व्यवहार गर्नु पर्छ ।
रराम्रो गर्ने लाई के–कसरी पुरस्कृत गर्ने भन्ने कुरा को निर्णय पनि शिक्षक–विद्यार्थी दुवै बसेर गर्नु पर्छ । यसो गर्दा विद्यार्थी अरू बढी जिम्मेवार हुन्छन् र आफ्नो सहभागितामा पुरस्कार को नियम बनेकाले रराम्रो गर्न अभिप्रेरित हुन्छन् । यदि सबैले नियमहरूको पालना गरे मा उनीहरूले धेरै कुरा हरू सिक्न सक्छन् भन्ने कुरा बुझाउनुपर्छ । विद्यार्थीले समयमै सिकेमा उनीहरूलाई खेल्नका लागि बढी समय दिने तथा उनीहरूको रुचि अनुसारका थप क्रियाकलाप गर्ने मौका समेत प्रदान गर्न सकिन्छ ।
सिकाइ क्रियाकलाप
पहिलो दिन देखि नै पढ्ने, लेख्ने, चित्र कोर्ने तथा हिसाब गर्ने जस्ता क्रियाकलाप हरू गराउनु पर्छ । यसले विद्यालय सिक्ने–सिकाउने ठाउँ हो भन्ने कुरा को सन्देश मात्र दिँदैन, सिक्ने समुदायको पनि निर्माण हुन्छ । अर्को कुरा घर फर्केपछि उनीहरूले आज विद्यालयमा के के सिकेँ भन्ने कुरा को जानकारी अभिभावकहरूलाई पनि दिन पाउँछन् ।
केही कक्षा क्रियाकलाप ः
१. कुनै पनि कक्षाका लागि विद्यार्थीहरूकोग्राफ वा जन्मदिनको चार्ट गणित सिकाउने रराम्रो माध्यम हुनसक्छ ।
२. बालसाहित्यहरू वाचन गरेर उनीहरूसँग आत्मीय सम्बन्ध बढाउन सकिन्छ । केटाकेटीहरूलाई एउटा लघुकथा वा कविता भन्न लगाउन सकिन्छ ।
३. सामाजिक शिक्षा तथा विज्ञानका पाठहरूलाई रोचक ढङ्गले प्रस्तुत गर्न सके यस्ता विषयमा उनीहरू सधैँ नै जिज्ञासु र उत्सुक हुन्छन् । उनीहरूको दिमागमा सिक्ने–जान्ने भोक जगाइदिनुपर्छ ताकि उनीहरू हरबखत नयाँ–नयाँ कुरा सिक्न तत्पर होउन् ।
४. कक्षा शुरु भएको दुई हप्तासम्म कुनै पनि परीक्षा नलिनु रराम्रो हुन्छ । तर उनीहरूको पढाइप्रतिको अभिवृत्ति के छ र कस्ता–कस्ता किताबहरू मन पराउँछन् भन्ने कुरा को जानकारी लिन भने भुल्नुहुँदैन । यसो गर्दा उनीहरूसँग सम्बन्ध विस्तार हुनपुग्छ । साथै उनीहरूलाई लेखपढका लागि तयार समेत बनाउन सकिन्छ ।
५. वर्षभरिमा उनीहरू के के सिक्न चाहन्छन् भनी सोध्नुपर्छ र त्यसलाई ठूलो पानामा लेखेर कक्षाकोठामा टाँस्नुपर्छ ।
शुरु को दिन देखि नै यी तीनवटै उद्देश्य– सम्बन्ध, संरचना र सिकाइ– लाई सँग सँगै तथा सन्तुलित रूपमा अघि बढाउन सकियो भने मात्र सफल शिक्षक बन्न सकिन्छ । यो सबै कुरा योजनामा भर पर्दछ । यस्ता योजनाहरू तयार पार्दा ज्यादै महाŒवाकाङ्क्षी र जटिल भने बनाउनुहुँदैन । त्यस्ता सामान्य योजनाहरू बनाउनुपर्छ जुन केटाकेटीहरूले स्वतन्त्र रूपमा गर्न सकून् । यस्ता योजना बनाउँदा अन्य शिक्षकहरूबाट राय सुझाव लिन पनि भुल्नुहुँदैन । जतिसुकै रराम्रो योजना बनाए पनि त्यसमा सुधार गर्नु पर्ने ठाउँ प्रशस्त रहन्छ । यो कुरा मा शिक्षक जहिले पनि खुला रहनु पर्छ ।
कक्षामा हाँसोठट्टा पनि गरिरहनु पर्छ । कुनै क्षण यस्तो हुन्छ जसले यो पेशालाई अमूल्य बनाउँछ । त्यस्ता क्षण हरेक दिन आउँछन् तर हामी आफ्नै मूख्र्याइँलेगुमाइराखेका हुन्छौं ।
म मेरो शिक्षण जीवनको पहिलो दिनको कक्षा कहिल्यै भुल्न सक्दिनँ । त्यो दिन मैले विद्यार्थीलाई यो सोधेकी थिएँ, “तिमीहरू त्यो वर्षभरि के के कुरा सिक्न चाहन्छौं ?” दुई कक्षाको एक विद्यार्थी– जो भर्खर मात्र आफूलाई मनपर्ने खानेकुरा को नाम भन्दैथियो– ले मेरो प्रश्नको उत्तरमा भन्यो, “म किन जन्में र मेरो जीवनको उद्देश्य के हो भन्ने सिक्न चाहन्छु ।”
मैले उसलाई सन्तुष्ट हुने उत्तर दिन सकेँ भन्ने मलाई अहिले पनि लाग्दैन । तर म ढुक्कले के चाहिँ भन्न सक्छु भने, मैले उसको जिज्ञासुपना र सोचमग्न उपस्थिति चाहिँ लामो समयसम्म बँचाइराख्न सकेँ ।
(प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तीनवटै तहको शिक्षण अनुभव हासिल गरे की अगुइलर क्यालिफोर्निया, अमेरिकाकी स्कूल सुधार प्रशिक्षक हुन् । प्रस्तुत आलेख धधध।भमगतयउष्ब।यचन बाट लिइएको हो ।)
प्रस्तुतिः गुरु मैनाली



