‘सबैको नेपाली’ ...खाऊँ भने कान्छा बाबुको अनुहार

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को अनिवार्य नेपाली विषयको आधिकारिक पाठ्यपुस्तकका रूपमा हालसालै प्रस्तुत गरेको ‘सबैको नेपाली’ ले यो पुस्तक पढाउनु पर्ने गुरुहरूबाट चौतर्फी कटु प्रतिक्रिया पाएको छ । भनौं, पहिलो गाँसमै ढुङ्गा लागेको छ । परिषद् अन्तर्गत नेपाली विषय समितिका ११ जना विद्वान्हरूले मिहिनेतसाथ तयार पारेको पहिलो पाठ्यपुस्तकको हार्दिक स्वागतको सट्टा नेपालीका गुरुहरूबाटै ‘अराजक शैलीमा वाक्यगठन, वर्णविन्यास गरिएको’, ‘व्याकरण बिगारेको’, ‘परिवर्तनका नाममा अराजकता मात्र सिर्जना गरिएको’ र यसलाई पढाएमा नेपाली भाषाको ‘विकास होइन विनाश मात्र हुने’ सार्वजनिक प्रतिक्रिया निम्त्याउनु वास्तवमै गम्भीर तथा चिन्ताजनक विषय हो ।

उन्नाइस पाठमा विभाजित ‘सबैको नेपाली’का उन्नाइसवटै रचना उक्त ११ जनाका नभएर अरू नै लेखक–साहित्यकारका हुन् । ११ विद्वान्ले चाहिँ पाठैपिच्छे सङ्क्षिप्त लेखक परिचयका साथै व्याकरण, बोध तथा अभिव्यक्तिसँग सम्बन्धित नियम, अनुच्छेद एवम् अभ्यास हरू लेख्ने, संयोजन–सम्पादन र परिमार्जन गर्ने काम गरेका छन् । यी तमाम पक्षहरूमध्ये पुस्तक पढाउनु पर्ने गुरुहरूको प्रतिक्रिया भने व्याकरण, त्यसमा पनि वर्णविन्यास र पदयोग–वियोगसँग सम्बन्धित कुरा मा मात्र केन्द्रित देखि एको छ । यी त्यस्ता कुरा हुन् जसलाई अस्वाभाविक र कथित नियमहरूको नत्थी लगाएर जबर्जस्ती एकातिर घिच्याउने अभियान झण्डै साढे तीन दशक देखि ‘राज्यको सम्पूर्ण शक्ति’ सहित सञ्चालन भइरहेको छ । तर न ती ‘नियम’ नेपाली भाषाका सचेत प्रयोगकर्ताहरूमाझ् सर्वस्वीकार्य हुनसकेका छन् न त नेपालीका गुरुहरूबीच नै निर्विवाद । त्यसैको बाछिटा यस पुस्तकमा पनि परेको छ र यसैलाई जीवन–मरणको प्रश्न ठानेर गुरुहरूबीच शुरु भएको क्रिया–प्रतिक्रियाले नेपाली भाषाको मर्म भनेकै हिज्जे र डिको जोड्नु–छुट्याउनु मात्र हो भने ‘आम बुझइ’लाई अझ् बलियो बनाउने स्पष्ट छ ।

वर्णविन्यास सम्बन्धी लुतोकन्याइ र पदयोग–वियोगको किचलो गुरुहरूलाई नै ‘मुबारक’ होस् ! चुस्स एउटा कुरा के मात्र उप्काऊँ भने यो पुस्तकले नेपाली साहित्यका धरहराहरूको नाम समेत ‘शुद्ध’ पार्ने उदेकलाग्दो दुस्साहस गरेको छ । आफ्नो नाम कसरी लेख्ने भन्ने सम्बन्धित व्यक्तिको रोजाइको विषय हो र त्यसमा हस्तक्षेप गर्ने अधिकार दुनियाँमा अरू कसैलाई , कहिल्यै पनि हुँदैन । यति कुरा जान्न विद्यावारिधि गरिराख्नुपर्दैन, न त ‘प्राडा’ नै हुनुपर्छ । तर यसमा लक्ष्मीप्रसाद देवकोटा टुक्र्याइएर ‘लक्ष्मी प्रसाद’ बनाइएका छन्, विश्वेश्वरप्रसाद कोइराला विभाजित गरेर ‘विश्वेश्वर प्रसाद’ पारिएका छन्, गुरुप्रसाद मैनाली छुट्याइएर ‘ गुरु प्रसाद’ तुल्याइएका छन् । अनि हृदयचन्द्रसिंह प्रधान खण्डित भएर ‘हृदय चन्द्रसिंह’ मा परिणत गरिएका छन् । ‘विद्वान्’ हरूका दृष्टिमा यी स्रष्टाहरूले जिन्दगीभर आफ्नो नाम शुद्ध लेख्न नजानेर अक्षम्य गल्ती गरेका र त्यसलाई मरणोपरान्त नै भए पनि नसच्याइदिए नेपाली साहित्यको बिजोक हुने ठहरिएकैले यसो गरिएको होला । तथापि, दिवङ्गत आत्माहरूप्रति सहानुभूति राख्दै तिनको ‘महाभूल’लाई क्षमा गरेर तिनका व्यक्तिवाचक नामलाई यथावत् छाडिदिएको भए उहाँहरूको उदारताले निन्दा होइन प्रशंसा नै पाउनेथियो ।

पाठ्यपुस्तक भनेपछि सर्वप्रथम पाठ्यवस्तुको कुरा आउँछ । यो पुस्तकमा एक–दुईलाई छोडेर प्रतिष्ठित लेखक–साहित्यकारका रचना समावेश गरिएका छन् । तिनको स्तर र क्षमता निर्विवाद छ । साहित्यकार आफ्नो दुनियाँको राजा हुने भएकाले जुनसुकै मनस्थिति, कोण र सन्दर्भलाई अँगालेर जस्तोसुकै शैलीमा सृजना गर्न ऊ स्वतन्त्र हुन्छ । त्यसलाई कसैले चुनौती दिन सक्दैन । पाठ्यपुस्तकमा हेर्नुपर्ने चाहिँ समाविष्ट रचना कत्तिको उपयुक्त वा सान्दर्भिक छन् भन्ने हो । यस मेसोमा, कसौंडीको भात पाके–नपाकेको जाँचेजस्तो गरी, शुरु का दुई पाठकै चर्चागरौं ।

पहिलो पाठ माधव घिमिरेको कविता छ जसका प्रारम्भिक हरफ छन्– ‘नेपाली हामी रहांैला कहाँ नेपालै नरहे, उचाइ हराम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।’ कविता साँच्चै मार्मिक छ । तर पाठ्यपुस्तकको पहिलो पाठका रूपमा समावेश गर्न यो कत्तिको उपयुक्त वा सान्दर्भिक छ ? उच्च माध्यमिक तहको नेपाली अध्ययन नकारात्मक भाव भएको कविताबाट श्रीगणेशगराइदिनु कति उचित हो ? त्यस माथि, नेपालको अस्तित्व मेटिनै लागेजस्तो भान पार्ने कविताले विद्यार्थीलाई कस्तो मनस्थिति र मनोवैज्ञानिक असरतर्फ डो¥याउला ? सकारात्मक भावको कविता कतै नभेटेर यसो गरिएको हो कि नेपाल नरहने परिस्थिति चाँडै आउँदैछ भन्ने सन्देश दिनु जरुरी भएको ठानेर सुविचार ित–सुनियोजितरूपमै यो कविता राखिएको हो ? कल्पना गर्नोस्, विद्यालयको प्रार्थना यस्ता हरफहरूबाट शुरु हुन थाल्यो भने कसो होलाः क. पढौंला हामी कसरी विद्यालय नै नरहे, भुइँचालोगई पैरोले पुरी भवन भासिए । अथवा, ख. मानव जाति रहौंला कहाँ संसारै नरहे, पढ्नु र लेख्नुको के अर्थ साथी यो ज्यान नै नरहे ।

दोस्रो पाठका रूपमा गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथा छ जसले तत्कालीन सामाजिक यथार्थलाई एकदमै जीवन्त र मर्मस्पर्शी तवरमा प्रस्तुत गर्द छ । तर आजभोलिको परिस्थिति बेग्लै छ । समाज को यथार्थ भनेर के गर्नु , त्यसलाई प्रस्तुत गर्दा ‘फलानो जातिको अपमान भयो, हेपियो, शोषक–सामन्ती मान सिकतागन्हायो, रचना माथि प्रतिबन्ध लगाऊ’ भनेर मारमुङ्ग्रीवादी आन्दोलन चलाउने र राज्यले त्यसका सामु घुँडा टेक्ने संस्कृतिको विकास भइसकेको छ । यस्तो वेला ‘माथ्लो’ जातको पात्रलाई ‘धर्मान न्द’ भनेर आदरार्थी क्रियापद लगाइएको अनि ‘तल्लो’ जातका पात्रहरूको नाममा एकार जोडेर ‘आदरहीन’ क्रियापद प्रयोग गरिएको यो कथालाई कति सान्दर्भिक मान्न सकिएला ? अझ् ‘आशामरु साहु’को मुखबाट बोलाइएको ‘डुवै डिनलाई सहर जाइडिन्ठिस् कि ? .... अस्टि चौटारामा झन्डैले मारेठ्यो, ठा पाउलास्’ र ‘धनजिते भोटे’को मुखबाट भनाइएको ‘मो मार्छ कि कान्जा, तों कोइले आइस्’ जस्ता संवादलाई आज कति सुपाच्य ठहर्याउन सकिएला ? कक्षाकोठाहरूमा र त्यस बाहिरको समाज –समुदायमा यिनलाई कसरीग्रहण गरिएला ? राज्यले स्वीकारेको नीति, मान्यता र त्यही राज्यको एउटा अङ्गले निर्धारण गरेको पाठ्यवस्तुमा तादात्म्य हुनुपर्छ कि पर्दैन ?

एउटा अर्को कुरा ; राजनीतिबाट शुरु भएको भागबन्डाकोगँगटे संस्कृतिले मुलुकलाई नै प्रहसनशाला बनाउँदै लगेको छ । त्यसैबाट आक्रान्त भएको देखिन्छ यो पाठ्यपुस्तक पनि । लाग्छ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, भवानी भिक्षु र माधव घिमिरेजस्ता मूर्धन्य साहित्यकारलाई पनि पार्टीगत भागबन्डाको दृष्टिले हेरिएको छ यसमा, र त्यसैको अनुक्रममा ‘सबैभन्दा ठूलो पार्टी’ माओवादीको भाग पुर्याउन पार्टीको झ्ण्डा बोकेका एकजनाको कविता पाठ्यसामग्रीका रूपमा थोपरिएको छ । घृणाको मनोविज्ञान र नारावादी आग्रहले भरिएको ‘कान्छी, भट्टी र देश’ शीर्षकको उक्त कविताको साहित्यिक स्तर त ‘कर्नाली’लाई ‘घरी–घरी ठालुका आँखाले डामिएकी’ भनेर भट्टीवाली कान्छीसँग तुलना गरिएकोबाटै छर्लङ्ग हुन्छ ।

पुस्तक–प्रस्तोता उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष प्राडा उपेन्द्र कोइरालाले आफ्नो ‘सम्मति’मा ‘युग सुहाउँदो पाठ्यक्रम तयार गर्न’ र चालु पाठ्यक्रममा ‘समय सुहाउँदो परिमार्जन गर्न’ परिषद् क्रियाशील रहेको र यस पुस्तकले पहिलो चोटि ‘एउटा कोल्टे फेर्ने काम’ गरेको दाबी गरेका छन् । के त, युग सुहाउँदो पाठ्यक्रम र समय सुहाउँदो परिवर्तनका नमुना यिनै हुन् ? अनि कस्तो कोल्टेफेराइ हो यो ?

भाषा सिक्ने–सिकाउने सिलसिलामा बोध र अभिव्यक्ति अत्यन्त महत्वपूर्ण कुरा हुन् । तर सिकाउने गुरु आफैं रनभुल्ल छ, सामान्य व्याकरणको पनि हेक्का राख्न सक्दैन, उल्टो बुझछ र आफैं ठीकसँग कुरा अभिव्यक्त गर्न सक्दैन भने विद्यार्थीले के सिक्ला ? बोध र अभ्यास का निम्ति विद्वद्गणले स्वयं तयार पारेका अनुच्छेदहरूबाट केही उदाहरणः
१.    ‘नेपाल सरकारले आश्चर्यचकित रूपमा काम गर्न सके पाँच–दस वर्षभित्रमा नै कर्नालीको नयाँ अनुहार दृष्टिगोचर हुने पक्का छ ।’ (पृष्ठ ६६)
–    ‘आश्चर्यचकित रूपमा काम गर्न सके’को आशय के हो ? सरकारले आफैं ‘जिल्ल’ पर्ने गरी काम गर्नु पर्ने ?
२.    ‘इच्छा अनुसारको खानपिन, सरकारी वचन अनुसारको प्रतिबद्धता भएमा कर्नालीका जनताले पेटभर खान बाहिर जानुपर्दैन ।’ (पृष्ठ ६६)
–    ‘वचन अनुसारको प्रतिबद्धता भएमा’ को अर्थ के हो ? वचन अनुसार काम/कार्यान्वयन हुनुपर्ने कि कार्यान्वयनशून्य प्रतिबद्धता मात्र भए पुग्ने ? अनि, ‘वचन’ र ‘प्रतिबद्धता’को आशयमा यहाँ कति फरक छ ?
–    ‘इच्छा अनुसारको खानपिन’ भएमा ‘पेटभर खान बाहिर जानुपर्दैन’ भनेको के हो ? कस्तो अर्थ निस्कन्छ यसबाट ? चिन्ता भरपेट खान पाएनन् भन्ने हो कि ‘इच्छा अनुसारको खानपिन’ पाएनन् भन्ने हो ? ‘इच्छा अनुसारको खानपिन’ गर्न पाएमा त कर्नालीका मात्र होइन काठमाडौं, पेरिस र न्युयोर्कका जनता पनि ‘पेटभर खान’ बाहिर निस्कँदैनन् क्यार, होइन ?
३.    ‘ठूलो वा सानो नोक्सानी वा हानिलाई आपसी सहयोग र सम्झौताका आधारमा आर्थिक रूपमा क्षतिपूर्ति प्रदान गरिने व्यवस्थालाई नै बिमा भनिन्छ । (पृष्ठ ८७)
–    हानिलाई क्षतिपूर्ति प्रदान गरिने कि हानिका लागि, हानिका निम्ति वा हानि बापत ? हानि (निर्जीव) लाई क्षतिपूर्ति दिन्छु भन्नु त मृतकलाई सहायता र शहीदलाई राहत दिन्छु भन्नुजस्तै भएन ?
–    ‘आपसी सम्झौताका आधारमा’ क्षतिपूर्ति दिने कुरा त ठीक छ, तर ‘आपसी सहयोग’को कुरा कहाँबाट आयो ? हानि–नोक्सानीमा परेको पीडितले बिमा कम्पनीलाई उल्टै सहयोग गर्नु पर्ने ?
४.    ‘उदाहरणका लागि कास्की जिल्लाका फेवा तथा बेगनास तालहरूलाई लिन सकिन्छ जसले पोखराको मनोरमतालाई प्रसिद्धिको शिखरमा पुर्याइदिएको छ ।’ (पृष्ठ ४६)
–    ‘पुर्याइदिएको छ’ हुनुपर्ने कि ‘पुर्याइदिएका छन्’ ?
५.    ‘झपाका राजवंशी समाज को धर्म र देवीदेवता सम्बन्धी धारणा आफ्नै पाराको पाइन्छ । उनीहरू प्राकृतिक अलौकिक अदृश्य शक्तिका रूपमा धर्ममा विश्वास गर्छन् ।’ (पृष्ठ २१३)
–    ‘उनीहरू’ भनेको को ? ‘राजवंशी समाज ’ अर्थात् एकवचनका लागि बहुवचनको सर्वनाम प्रयोग गर्न पाइन्छ ?
–    ‘प्राकृतिक अलौकिक शक्तिका रूपमा धर्ममा विश्वास गर्छन्’ भनेको के ? यसबाट त ‘प्राकृतिक अलौकिक शक्तिलाई नै धर्म ठान्छन्’ भन्ने अर्थ लाग्छ । कुरो त्यसो हो कि ‘प्राकृतिक अलौकिक शक्ति माथिको विश्वास’लाई नै तिनले धर्म भनेको/ठानेको हो ?
६. पृष्ठ ६५ को एउटा अनुच्छेदमा ‘आफ्नो बोधोपन र सुस्तपनप्रति चिन्ता गर्ने ’ विशुद्ध गाउँले बुधे राजवंशीले नजिकैको गाउँमा आगलागी भएर तीन घर जलेको देख्नासाथ उनलाई ‘होसियार नहुँदा आगलागीले रसियाली, अफ्रिकाली र अमेरिकालीलाई पनि छोड्दैन’ भन्ने ज्ञान भएको बताइएको छ । कुन अवस्थाको मानिसमा, कस्तो घटनाबाट , कुन खालको ज्ञानोदय भएको कल्पना हो यो ?
७.    पृष्ठ १६९ मा आठ वाक्यमा बालकृष्ण समको परिचय दिइएको छ । त्यसको पहिलो वाक्य ‘महान नाटककारका रूपमा प्रसिद्ध छन्’ मा टुङ्गिएको छ भने चौथो वाक्य ‘महान नाटककारका रूपमा विख्यात छन्’ मा । कस्तो लेखाइ हो यो ? (अझ्, दोस्रो वाक्यका अन्तिम शब्द पनि ‘प्रसिद्ध छन्’ नै रहेका छन् !)
८.    ‘तिम्रो नासोरुपी जिन्दगी काठमाडौंको ढुंग्यान छातीमा खिइँदै गएको’ बुँदा प्रस्तुत गरिएको छ, पृष्ठ ७९ मा । यो अलङ्कारको आधारभूत नियमसम्म पनि अत्तोपत्तो नभएको अभिव्यक्ति हो । भन्नुपथ्र्यो ‘जिन्दगीरुपी नासो’, भनिएको छ ‘नासोरुपी जिन्दगी’ । ठीक उल्टो । ‘न्यायाधीशरुपी जनताले देशको भविष्य निर्धारण गर्ने छन्’ वा ‘चरोरुपी कागज उड्दै मनेर आयो’ भनेजस्तो ।
९.    अङ्क सम्बन्धी ‘बोध’ त झन् पूरै बिम्ल्याँटो देखिन्छ । जस्तै, पृष्ठ ४५ का यी दुई वाक्यः ‘यो (नेपाल) भारतभन्दा आकृतिमा २२गुणा र जनसङ्ख्यामा ५०गुणा सानो छ । त्यसै गरी चीनभन्दा आकारमा ७५गुणा र जनसङ्ख्यामा ७०गुणा सानो छ ।’
यसो पर्गेलिहेरौं त, ‘भारतभन्दा २२गुणा सानो’ बाट के अर्थ निस्कन्छ ? भारतको क्षेत्रफल ३३ लाख वर्ग कि.मि. छ । त्यसको २२गुणा हुन्छ ७ करोड २६ लाख वर्ग कि.मि. । भारतभन्दा ‘२२गुणा सानो’ हुनलाई उसको क्षेत्रफल ३३ लाख वर्ग कि.मि. मा ७ करोड २६ लाख वर्ग कि.मि. घटाउनुपर्ने हुन्छ । यो कसरी सम्भव छ ?

सामान्यज्ञानले नै भ्याउने कुरो के हो भने कुनै पनि वस्तु एकगुणा अर्थात् जति छ त्यति अर्थात् शतप्रतिशत मात्र घट्न सक्छ । त्योभन्दा बढी अर्थात् शतप्रतिशत भन्दा ज्यादा घट्न सक्दैन । बढ्नुको चाहिँ कुनै सीमा हुँदैन, त्यो जतिगुणा पनि बढ्न सक्छ । त्यसैले भारतलाई ‘नेपालभन्दा २२गुणा ठूलो’ त भन्न सकिन्छ, नेपाललाई ‘भारतभन्दा २२गुणा सानो’ भन्न सकिँदैन । मिल्दैन । बाँकी वाक्यांशहरूको सन्दर्भमा पनि कुरो यही हो । (यिनमा रहेका तथ्याङ्कगत त्रुटिहरू चाहिँ तपाइँ आफैं पत्ता लगाउनुहोस् !)

साजसज्जाको दृष्टिले हेर्दा ‘सबैको नेपाली’लाई लेटर प्रेसमा छापिने पञ्चायतकालीन ‘महेन्द्रमाला’को अफसेटमा मुद्रित प्रतिर ुप भन्दा फरक पर्दैन । पुरानो टाइपिस्टले कम्प्युटरलाई टाइपका निम्ति मात्र प्रयोग गरे जस्तो, अफसेटलाई मूलतः सफा अक्षरका निम्ति मात्र उपयोग गरिएको छ । ‘स्केच, हाइलाइट्स, स्पेस’ आदिद्वारा पृष्ठ उज्यालो पार्न सकिने सम्भावनालाई बेवास्ता गरिएको छ । अधिकांश सामग्री पट्यारलाग्दो गरी खाँदेर राखिएका छन्, अन्तिमतिर का करिब ४० पृष्ठमा त अक्षर समेत साना पारेर । शब्दहरूमै छुवाएर लाइन तानिएका ‘टेबुल’ (जस्तै पृठ ९९) आकर्षक लाग्ने कुरै भएन । पाठको शुरु मा राखिएका ‘बक्स’का ‘स्क्रीन’मा एकरुपता छैन, कहीँ ज्यादै हलुका छ त कहीँ अक्षर पढ्नै गाह्रो पर्नेगाढा । आवरण पृष्ठमा ‘डिजाइन’ छ तर आकर्षण छैन । र, शायद यस्तो नाथे ‘लेआउट–डिजाइन’ गर्ने लाई किन वास्ता गर्नु भन्ठानेर उसको/तिनको नामसम्म पनि कतै उल्लेख गरिएको छैन, धन्यवाद दिनु त परै जाओस् ।

पाठ्यपुस्तक भनेको विद्यार्थीका निम्ति स्वयंमा एउटा मान क, एउटा आदर्श हो । यो त्रुटिहीन, आकर्षक र अभिप्रेरक हुनुपर्छ । गल्ती–कमजोरीकोगुजुल्टो त कदापि बन्नै हुँदैन । तर ‘सबैको नेपाली’ त्यस्तो छैन । यसले विद्यार्थी र शिक्षक दुवैलाई रनभुल्ल पार्छ । खुला दृष्टि र रचनात्मकतामा भन्दा सीमित फ्रेम भित्रको ठिंगु¥याइमा जोड दिन्छ । यसले अधिकांश विद्यार्थीमा नेपाली भाषा–व्याकरणप्रति आकर्षणको सट्टा विकर्षण पैदा गरयो भने अचम्म नमाने हुन्छ । स्वयम् हास्यव्यङ्ग्यको विषय बन्यो भने अन्यथा नठाने हुन्छ ।

तर पनि , यत्रा विद्वान्हरूको यत्रो मिहिनेतलाई त्यो भासमा भासिन दिनुहुँदैन । त्यसका निम्ति सबैभन्दा रराम्रो उपाय हुनेछ— बिक्री भइसकेका समेत सम्पूर्ण प्रति फिर्ता लिएर परिमार्जित संस्करण तयार भएपछि मात्र पाठ्यपुस्तकका रूपमा लागू गर्नु । त्यसो गर्न सकिँदैन भने ‘परिमार्जनपत्र’ छपाएर सबै विद्यार्थीलाई निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनु उचित हुनेछ । त्यति पनि सकिँदैन भने, कम्तीमा त्यस्तो परिमार्जनपत्र सबै नेपाली शिक्षकलाई यथाशीघ्र उपलब्ध गराए र सोही अनुसार विद्यार्थीका प्रतिहरूमा संशोधन/परिमार्जन गर्न त लगाउनैपर्ला । नत्र ‘सबैको नेपाली’ कसैको पनि श्रद्धा–आस्थाको वस्तु नहुन सक्छ । ‘सबैको काम कसैको काम हुँदैन’ भन्ने अङ्ग्रेजी उखान सम्झउँदै !

अन्त्यमाः पुस्तकका बारेमा यति कुरा गरिसकेपछि आफ्नो अल्छ्याइँ पनि म किन लुकाऊँ ? क) यो पुस्तक मैले आद्योपान्त पढेर समीक्षा गरेको होइन । बीचबीचमा पल्टाउँदै जाँदा जे–जे देखि यो त्यसैबारे मात्र टिप्पणी गरेको हुँ । सबै छिचोल्न थाल्दा लेख होइन पुस्तिका तयार होला भन्ने डर लाग्यो । ख) त्यसरी हेर्दा भेटिएका भाषिक कमजोरी र अक्षमताका जुन उदाहरण प्रस्तुत गरेको छु तिनमा मेरो ‘शून्य मिहिनेत’ परेको छ । यहाँ त मैले चार वर्षअघि प्रकाशित मेरो पुस्तक ‘हराम्रो भाषा’मा समावेश गरिएका, समकालीन नेपाली भाषामा यत्रतत्र बारम्बार देखि ने कमी–कमजोरीका झण्डै सात सय उदाहरणमध्ये १०–१२ वटामा भनिएका कुरा मात्रै दोहोर्याएको हुँ । यति कमजोरी त त्यो पुस्तक राम्ररी पढेको प्लस टु वा स्नातक तहको विद्यार्थीले पनि सहजै पहिल्याउन सक्छ । यो दोहोरो अल्छ्याइँका निम्ति म पाठकवर्गसँग विनम्रतापूर्वक क्षमा याचना गर्द छु ।

commercial commercial commercial commercial