जिज्ञासा र जवाफ

मैले स्थायीसरहको सुविधा पाउँला त ?

म २०३६ साल देखि प्राथमिक र हाल मा.शि. तृतीय श्रेणीमा कार्यरत अस्थायी शिक्षक हुँ । सर्वोच्च अदालतले अस्थायीलाई पनि स्थायी शिक्षक­सरह सेवा–सुविधा दिने परमादेश दिए पनि यसको कार्यान्वयन भएको छैन । मैले फागुन, २०६७ मा अनिवार्य अवकाश पाउँदैछु । मैले स्थायीसरहको सुविधा पाउँला त ?

दुर्गादत्त कलौनी, नागर्जुन उमावि, बैतडी

सर्वोच्च अदालतको परमादेशलाई सरकारले कार्यान्वयन न गर्ने सवालै हुँदैन । तर, अदालतको फैसलाको पूर्ण पाठ शिक्षा मन्त्रालयमा आइसकेको छैन । फैसला प्राप्त भएपछि त्यसको प्रक्रिया अघि बढाइने छ ।

जनार्दन नेपाल, सहसचिव, शिक्षा मन्त्रालय

आयोगलाई प्रश्न

सरकार र शिक्षक युनियनबीचको सम्झौता अनुसार कार्यरत शिक्षकहरूलाई मौकास्वरुपगत फागुनको शिक्षण अनुमतिपत्रको परीक्षामा सामेलगराइएको छ । वर्तमान शिक्षा नियमावली अनुसार अनुमतिपत्रका लागि शिक्षाशास्त्र पढेको वा शिक्षा सम्बन्धी दसमहिने तालिम लिएकै हुनुपर्छ । कार्यरत शिक्षकहरूले अनुमतिपत्र लिएको तीन वर्षभित्रमा शिक्षाशास्त्र अध्ययन गरे कै हुनुपर्ने बताइन्छ । यदि न गरेको खण्डमा उसले पाएको अनुमतिपत्र के हुन्छ ? अनुमतिपत्रको परीक्षापछि तत्कालै कसैले शिक्षाशास्त्रको अध्ययन पूरा गरे मा स्थायी अनुमतिपत्र लिन पाइन्छ कि पाइँदैन ? अनि फागुनमा लिइएको अनुमतिपत्र परीक्षाको नतिजा कहिले प्रकाशित हन्छ ?

डी. केसी, उर्लाबारी, मोरङ

तीन वर्षभित्र शिक्षाशास्त्रको अध्ययन सकेमा अथवा तोकिएको तालिम पूरा गरेको खण्डमा अनुमतिपत्रले स्वतः स्थायी मान्यता पाउँछ ।गत फागुनमा लिइएको अनुमतिपत्र परीक्षाको नतिजा भदौ महिनाभित्रै प्रकाशित गर्ने गरी आयोगमा काम भइरहेको छ ।

वैकुण्ठप्रसाद काफ्ले, उपसचिव, शिक्षक सेवा आयोग

युनियनले बोलोस्

अस्थायी शिक्षकले २०५२ सालको परीक्षामा अनुत्तीर्ण भए पनि शिक्षक सेवा आयोगको २०६२ सालको आन्तरिक परीक्षामा सामेल हुने अवसर पाए । उक्त परीक्षामा पनि अनुत्तीर्ण हुनेहरू फेरि उमेरको हद नलाग्ने गरी अर्को परीक्षामा सहभागी हुँदैछन् । शिक्षक–सरकार सम्झौतामा २१ साउन २०६१ भन्दा अघि अस्थायी नियुक्ति पाएका शिक्षकलाई मात्रै उमेरको हद नलाग्ने गरी स्थायी प्रतिस्पर्धामा सम्मिलित हुने अवसर दिन लागिएको छ । तर, सो अवधि यता नियुक्त अस्थायी र २०५२ सालपछि निजी स्रोतमा कार्यरत शिक्षकहरू भने स्थायीको अवसरबाट बञ्चित हुँदैछन् । शिक्षकको हकहितका लागिगठन भएका भनिएका शिक्षक युनियन, संघ, सङ्गठन र मञ्च जस्ता संस्थाहरू राजनीतिक दलकागोटी मात्रै बन्ने हो कि अन्यायमा परेका शिक्षकका बारेमा बोलिदिने पनि हो ?

रामप्रसाद अधिकारी , किराञ्चोक कार्कीडाँडा मावि, धादिङ

सरकारसँग सम्झौता गर्ने क्रममा एउटा निश्चित समय–सीमा तोक्नुपर्ने अवस्था थियो, त्यसैले २१ साउन २०६१ लाई आधार बनाइएको हो । त्यसमा छुट्ने शिक्षकलाई भविष्यमा यस्तै अवसर दिनुपर्नेतर्फ युनियनले आवाज उठाउने छ । राहत र निजीस्रोतका शिक्षकलाई पनि स्थायी गर्नु पर्ने माग युनियनले गर्दै आएको छ । शिक्षक युनियनले कुनै राजनीतिक दलप्रति आस्था राख्दैन । यो शिक्षककै हकहितका लागि क्रियाशील छ ।  

पूर्णा जोशी, उपाध्यक्ष, नेपाल शिक्षक युनियन

विशेष कक्षा किन हटाइयो ?

दुई वर्षअघि देखि एसएलसी पास गरी दसमहिने तालिम लिएका शिक्षकलाई एक वर्षको अध्ययन गर्न विशेष कक्षा दिँदै आएकोमा यस वर्ष त्यो अवसर किन नदिएको हो ? २०६६ असोजमा दसमहिने तालिम सकेका शिक्षकलाई किन विशेष कक्षाबाट बञ्चित गरिएको हो ?

लेखनाथ सुवेदी, मार्गादेवी प्रावि, बेलहरा, धनकुटा

तपाइँले उच्चमाध्यमिक शिक्षा परिषद्ले ‘विशेष कक्षा’ सञ्चालन न गर्ने निर्णय गरिएको सूचना पत्रपत्रिकामा देखेर यो जिज्ञासा राख्नुभएको हुनसक्छ । शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट लागू गरेको कार्यक्रम अन्य कुनै निकायबाट रोकिन सक्दैन । हामीले परिषद्सँग सहकार्य गरेर उक्त विशेष कक्षा सञ्चालन गरेकाले यसलाई सुचारु गर्ने विषयमा छलफल भइरहेको छ ।

शिव कुमार सापकोटा, उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

यो कुरा मिल्ला ?

स्नातकोत्तर पास गरेर तल्लो तहको स्थायी वा अस्थायी दरबन्दीमा कार्यरत शिक्षकले आफ्नो स्कूलमा उच्च माध्यमिक तहको कक्षा सञ्चालन भई उक्त तहको राहत दरबन्दी आएमा तल्लो तहमा राजिनामा नदिइकन उच्च माध्यमिक तहको दरबन्दीमा नियुक्त हुन मिल्छ कि मिल्दैन ?

भक्तबहादुर खड्का, आदर्श उमावि, छिन्ताङ, धनकुटा

हराम्रो सेवाको मूल्यांकन होला ?

हामीहरू विगत दुई वर्ष देखि स्कूलको आन्तरिक स्रोतको तलबमा उच्चमाध्यमिक तहमा अध्यापन गराउँदै आएका छौं । सरकारले उच्च माध्यमिक तहको शिक्षकको दरबन्दी सिर्जना गर्न प्रक्रिया थालेको पनि धेरै भइसक्यो । तर, यसको कार्यान्वयन भएको छैन । ४० वर्ष उमेर नाघेको अवस्थामा दरबन्दीको विज्ञापन भयो भने हामी जस्ता शिक्षकले सेवाको मूल्याङ्कनस्वरुप दरबन्दीमा नियुक्ति पाउँछौं कि पाउँदैनौं ?

रोहित बुढा, विक्रम मल्ल, कृष्ण पुन र दीपक घर्ती
जनसेवा उमावि, राङ्सी, रोल्पा

उमाविको दरबन्दी व्यवस्थापनको खाका नै बन्न बाँकी छ । त्यसको टुङ्गो लागेपछि मात्रै विज्ञापन, दरखास्त र नियुक्तिको मापदण्डबारे केही भन्न सकिनेछ ।

विदुरराजगिरी, उपसचिव, शिक्षा मन्त्रालय

मलाई मर्का परयो

म ३२ जेठ २०६१ मा प्राशि तृतीय श्रेणीमा नियुक्ति पाई अध्यापनरत छु । २३ असोज २०६६ को गोरखापत्र मा प्रकाशित आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापनबमोजिम प्राशि द्वितीय श्रेणीको लागि आवेदन दिई लिखित परीक्षामा उत्तीर्ण भई मौखिक परीक्षा समेत दिएको थिएँ । तर, परीक्षाफल प्रकाशित हुँदा मलाई पाँच शैक्षिक सत्र नपुगेको कारण देखाई योग्यता क्रम सूचीबाट हटाइयो । मेरो नोकरी अवधि पाँच शैक्षिक सत्र नपुगेको भए किन आवेदन दर्ता गरियो ? लिखित परीक्षा लिएर त्यसको परीक्षाफल प्रकाशित गर्दा मेरो नाम किन समावेश गरियो र अन्तर्वार्ता लिइसकेपछि किन योग्यता क्रमबाट हटाइयो ?
महेश्वर राय,गौरीशङ्कर उमावि, निजगढ, बारा

विज्ञापनमै २०६० चैत मसान्तभित्र पाँच शैक्षिक सत्र पूरा गरेका शिक्षकले बढुवाको लागि आवेदन दिनसक्ने उल्लेख गरिएको थियो । अन्तर्वार्ताका क्रममा आयोगमा नामावली रुजुगराउँदा तपाइँको सेवा अवधि नपुगेकाले योग्यताक्रमबाट नाम हटेको हुनसक्छ । बढुवाको आवेदन दर्ता गर्ने अधिकार सम्बन्धित जिशिकालाई नै दिइएको छ । मापदण्ड नपुगेको आवेदन दर्ता गर्ने / गराउने सबैको त्रुटि हो ।

पदमप्रसाद खरेल, उपसचिव, शिक्षक सेवा आयोग

के यो साँचो हो ?

अब प्रावि, निमावि र माविका राहत शिक्षकहरूलाई क्रमशः १२, ११ र १० महिनाको मात्रै तलब दिने गरी जिशिकामा परिपत्र आएको सुनिन्छ । के यो सत्य हो ?
सञ्जय कुमार तिवारी, नेरा मावि, फेटा, बारा

तपाइँले सुन्नुभएको कुरा गलत र निराधार हो । यस्ता हल्लाको पछि नलाग्नुहोला ।  

कृष्णप्रसाद ढुङ्गाना, उपसचिव, शिक्षा विभाग

हाम्रा समस्या सुनियोस्

मैले १५ वर्ष विद्यालय सहयोगी (पियन)को रूपमा बिताइसकेको छु । जम्मा रु.२ हजार तलब पाउँछु । शिक्षक–सरकार सहमति अनुसार विद्यालय कर्मचारीहरूका लागि बढेर आएको रकमबारे जिज्ञाशा राख्दा विद्यालय प्रशासकले उक्त रकम कर्मचारीको तलब मात्रै होइन चक, डस्टर, रजिष्टर जस्ता व्यवस्थापनलाई पनि आएको हो भन्ने जवाफ दिन्छन् । वास्तवमा म जस्ता पियनको तलब/भत्ता र सुविधा के कति हो ? हामीले शिक्षकसरह सञ्चित बिदाको सुविधा पाउछौं कि पाउँदैनौं ?
अम्बरबहादुर राउत, महारानीगञ्ज निमावि, शनिश्चरे, झपा

शिक्षक–सरकार सहमति अनुसार, कर्मचारी व्यवस्थापनका लागि आर्थिक वर्ष २०६६/६७ मा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक स्कूलका लागि क्रमशः रु.२२०००, रु.२७००० र रु.३१००० पठाइएको थियो । यो रकम कर्मचारी व्यवस्थापनका लागि मात्रै हो । मसलन्द खर्चबापत विद्यार्थी सङ्ख्याका आधारमा छुट्टै रकम स्कूलमा पठाउने गरिएको छ । विद्यालयका कर्मचारीको व्यवस्था सरकारले गर्ने नभई सम्बन्धित स्कूलबाट हुने गरेको छ । त्यसैले त्यस्ता कर्मचारीको तलब/भत्ता सरकारले निर्धारण गरेको छैन । स्कूलमा कर्मचारीले शिक्षकले जस्तो अन्य सुविधा पाउँदैनन् ।

कृष्णप्रसाद ढुङ्गाना, उपसचिव, शिक्षा विभाग

मैले दुईग्रेड पाउँला ?

मैले ‘बी’ श्रेणीको तालिम लिई २०५० सालमा प्रावि महिला कोटामा नियुक्ति पाएँ । २०५७ सालमा साधारण कोटामा परिणत भई २०६० देखि सोही पदमा स्थायी भएँ । यो अवस्थामा मैले दुईग्रेड प्राविधिक भत्ता पाउँछु कि पाउँदिनँ ?
विष्णुमाया आचार्य, दराईसाँटी उमावि, रामपुर, पाल्पा

शिक्षकलाई तालिमबापतको छुट्टै प्राविधिक भत्ता दिने व्यवस्था हालसम्म गरिएको छैन ।

कृष्णप्रसाद ढुङ्गाना, उपसचिव, शिक्षा विभाग

लियनले पनि भत्ता पाउँछन् ?

म २०५७ साल देखि निमावि तहको लियन पदमा कार्यरत शिक्षक हुँ । मैले दुर्गम र महङ्गी भत्ता पाउँछु कि पाउँदिनँ ?
चन्द्रा बुढाथोकी, सिम्मार निमावि, धाप्ला, दार्चुला

लियन शिक्षकले पनि अरूसरह महङ्गी भत्ता पाउँछन् । दुर्गम भत्ताका लागि भने शिक्षा मन्त्रालयमार्पmत अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ । यसमा कुनै निर्णय भएको छैन ।

कृष्णप्रसाद ढुङ्गाना, उपसचिव, शिक्षा विभाग

अतिरिक्त सुविधा पाइन्छ ?

मैले २९ फागुन २०३७ मा प्राथमिक (तत्कालीन चतुर्थ श्रेणी)को अस्थायी शिक्षकका रूपमा सेवा थालेको हुँ । १ साउन २०४० मा सोही श्रेणीको स्थायी नियुक्ति पाई अटुट सेवा गर्दै आएको छु । १४ असार २०६८ मा मेरो उमेर ६० वर्ष पुग्दैछ । यस हिसाबले अवकाश पाउँदा मेरो सेवा अवधि ठ्याक्कै ३० वर्ष पुग्ने देखिन्छ । ३० वर्षे सेवा अवधिमा मैले अन्य विशेष सुविधा पनि केही हुन्छ कि ?

वासुदेव शर्मा, जनकल्याण प्रावि, दर्माकोट, सल्यान

कम्तीमा २० वर्ष स्थायी सेवा अवधि पूरा भएका शिक्षकले पेन्सन पाउँछन् । तर, त्योभन्दा बढी अवधि सेवा गरे बापत शिक्षकले विशेष सुविधा पाउने व्यवस्था छैन । शिक्षा नियमावली, २०५९ अनुसार, तपाइँले अवकाश पाएपछि निम्न लिखित ढाँचामा पेन्सन पाउनुहुनेछ ।

मधुसूदन अधिकारी , उपसचिव, विद्यालय शिक्षक किताबखाना

(नोटः साउन अंकको ‘जिज्ञासा र जवाफ’ स्तम्भमा ‘मैले सञ्चित रकम पाउँछु ?’ भन्ने शीर्षकमा पर्वत, क्याङस्थित सलिजा माविका शिक्षक शिवराम पौडेलको जिज्ञासाको जवाफ शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारी बाट प्राप्त भएको थियो । भुलवश अधिकारी को नाम छुट्न गएकाले त्यसलाई सच्चाइएको छ । – सं.)

commercial commercial commercial commercial