नयाँ जीवन ६० वर्षमा त शुरु हुन्छ
बुढेसकालमा धेरै मानिस अस्वस्थ र दुः खी हुन्छन् । हामी त्यसलाई स्वाभाविक ठान्छौं । तर यदि हामी स्वस्थ र सुखी जीवनका आधारभूत सिद्धान्त बुझन चाहन्छौं र त्यसलाई अपनाउन तयार हुन्छौं भने कसैले पनि बूढो भएँ भनेर खिन्न हुनुपर्दैन । यहाँ ६० वर्ष अर्थात् अवकाशपछि को जीवनलाई सुखी तुल्याउने १० वटा उपाय सङ्कलित छन् ।
१ ‘बूढो भएँ’ कहिल्यै नभनौं
मानिसको उमेर तीन प्रकारको हुन्छ । पहिलो जन्ममितिमा आधारित, दोस्रो स्वास्थ्य स्थितिमा र तेस्रो मनस्थिति, अर्थात् हामी आफूलाई कति बूढो ठान्छौँ भन्ने कुरा मा । पहिलोमा कसैको पनि नियन्त्रण हुँदैन । तर, दोस्रो अर्थात् स्वास्थ्य स्थितिलाई भने उचित आहार, शारीरिक व्यायाम र प्रसन्न रहने अभ्यास का माध्यमबाट धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य राम्रो राख्ने प्रयास र सकारात्मक सोचाइबाट तेस्रो खाले उमेरलाई पनि वशमा राख्न सकिन्छ ।
२ निजी स्वार्थबाट माथि उठौं
आधारभूत रूपमा हामी सबै स्वार्थी छौं । हामी जे गर्छौं त्यसबाट हामी केही न केही आश गर्छौं । तर मानिसलाई साँचो सुख भने आफूबाट अरूले केही पाएका छन् भन्ने भावनाबाट प्राप्त हुन्छ । शिक्षकहरूलाई यो कुरा बुझन अझै सजिलो हुन्छ । आफ्नो कारणले अगाडि बढेका विद्यार्थीको सफलता देख्दा लाग्ने खुसी त्यस्तै हो । यो उमेरमा आएपछि अरूको भलाइ गरे बापत केही पाउने अपेक्षा गर्नु को साटो त्यसबाट आत्मसन्तुष्टि र आनन्दित हुने कुरा मा ध्यान दिनु राम्रो हुन्छ ।
३ पैसाको महत्व ठूलो छ
जीवनका आधारभूत आवश्यकता पूरा गर्न, परेका वेला औषधि उपचार गर्न तथा परिवारको सम्मान तथा सुरक्षाका लागि पैसा नभई हुँदैन । त्यसैले भएको सम्पत्तिलाई चाहिएका वेला चलाउन सकिने अवस्थामा राख्नुहोस् । नभई नहुने कुरा मा बाहेक छोराछोरीका निम्ति पनि पैसा खर्च न गर्नु होस् । किनभने यस उमेरसम्ममा तपाइँले छोराछोरीका निम्ति धेरै गरिसक्नुभएको छ । अब त जीवनसाथीसँग आत्मीय जीवन बिताउने वेला हो । यदि तपाइँका छोराछोरीगुणी छन् र तपाइँको रराम्रो हेरचाह गर्छन् भने तपाइँ साँच्चै भाग्यमानी हुनुहुन्छ । तर, पनि त्यसलाई कहिल्यै आफ्नो अधिकार नठान्नुहोस् ।
४ रमाइलो र आनन्द
स–साना कुरा मा रमाउन जान्ने आनन्दी मान्छे सुखी हुन्छ । तपाइँलाई जे गर्दा केही रराम्रो काम भयो भन्ने लाग्छ त्यो काम गर्नु होस् । आनन्द लिने बाटा सयौँ हुन्छन्– तीर्थ वा अन्त घुम्न जानु, आफ्नो विश्वास अनुसारको धार्मिक अनुष्ठान गर्नु , रहर लागेको लुगा लगाउनु वा मन लागेको खानेकुरा खानु र खुवाउनु यस्ता केही उपाय हुन् । हाँस्ने मान्छे सुखी हुन्छ । पूरा निद्रा सुत्नुहोस्,गीत/सङ्गीत सुन्नुहोस् र हास्यव्यङ्ग्यात्मक कार्यक्रम हेरेर भए पनि हाँस्नुहोस् ।
५ वर्तमान मात्र हाम्रो हो
समय घोडा जस्तै हो । जतिवेला घोडाको लगाम तपाइँको हातमा हुन्छ, त्यतिवेला मात्र घोडामा तपाइँको नियन्त्रण हुन्छ । तपाइँको नियन्त्रणमा रहेको समय वर्तमान मात्र हो, यसैलाई सदुपयोग गर्नुहोस् । अर्को उपमा दिऊँ, विगत भनेको रद्द गरिएको बैंक चेक जस्तै हो । अनि भविष्य चाहिँ तमसुक जस्तो हो । हातमा रहेको नगद जस्तो त वर्तमान मात्र हो । त्यसैले यसलाई रराम्रो ठाउँमा खर्च गर्नु होस् । अहिलेको क्षणलाई जीवन्त तुल्याउनुहोस् ।
६ परिवर्तन मात्रै स्थायी कुरा हो
हामीले परिवर्तनलाई स्वीकार गर्नु पर्छ, यो नकार्न नसकिने कुरा हो । संसारलाई यति रमाइलो र सुविधाजनक बनाएको नै परिवर्तनले हो । हाम्रा सन्तान बढ्छन् भने हामीमा पनि उमेरको असर पर्छ नै । परिवर्तनलाई स्वीकार गर्ने व्यक्ति समान्यतया दुः खी हुँदैन ।
७ स्वास्थ्य नै सम्पत्ति हो
यदि तपाइँ आफ्ना जहान–परिवारलाई साँचो माया गर्नु हुन्छ भने आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् । यसबाट तपाइँ परिवारका निम्ति कहिल्यै बोझ् बन्नु हुने छैन । वार्षिक रूपमा स्वास्थ्य परीक्षण गराई आवश्यकता अनुसार औषधि सेवन गर्नु होस् । सम्भव भए स्वास्थ्य बिमा पनि गराउनु होस् ।
८ नराम्रो बिर्सन र क्षमा दिन सिकौं
अरूले गरेको गल्तीमा आफूलाई धेरै खिन्न नतुल्याउनुहोस् । एउटागालामा थप्पड खाँदा अर्कोगालो थाप्न सकिँदैन तर आफ्नो स्वास्थ्य र खुसीका लागि थप्पड हान्नेलाई बिर्सन र क्षमा दिन सकिन्छ । क्षमा गर्न नसक्नु भनेको आफ्नै रक्तचाप बढाउनु मात्र हो ।
९ हरेक कुरा को उद्देश्य हुन्छ
जीवनलाई सहज रूपमा स्वीकार गर्नु होस् । तपाइँ जे हुनुहुन्छ त्यसलाई स्वीकार गर्नु होस् अनि अरूहरू जे छन् त्यसलाई पनि सहज रूपमा लिनुहोस् । हरेक मानिस मौलिक छन् र आफ्नो बाटोमा सही छन् ।
१० मृत्युको डरबाट मुक्ति
हामी सबैलाई थाहा छ– एक दिन हामी सबैले यो धर्तीबाट बिदा हुनुपर्छ । तर पनि हामी मृत्यु देखि डराइरहेका छौँ । हामी ठान्छौं– हाम्रा छोराछोरी र जीवनसाथी हामीविना बाँच्न सक्ने छैनन् । तर, सत्य के हो भने उनीहरूमध्ये कोही पनि तपाइँसँगै मर्नेवाला छैनन् । तपाइँको अवसानले उनीहरूलाई केही समय निराश तुल्याउन सक्छ, तर उनीहरू मरिहाल्दैनन्, मर्दैनन् । समयले तिनलाई निराशाबाट मुक्ति दिन्छ अन्ततः उनीहरू आफ्नो कर्तव्यपथमा अघि बढ्छन् ।
(अङ्ग्रेजी दैनिक द हिन्दू को १ अगष्ट २०१० को अङ्कमा छापिएको एस. रामचन्द्रनको लाइफ क्यान विगेन एट सिक्स्टी, इट इज अल इन योर ह्याण्डस् नामक लेखको भावानुवाद ।)
२०६७ भदौ अंकमा प्रकाशित ।



