यतीको रोदन र जलपरीको विलाप
सन्दर्भ जलवायु परिवर्तन
नेपालको औसत तापक्रम ०.०६ डिग्री सेल्सियस प्रतिवर्ष बढ्ने गरेकोमा सन् १९७५ देखि सन् २००६ सम्म यो वृद्धिदर १.८ डिग्री सेल्सियस पुगेको देखिन्छ । नेपालमा तापक्रम वृद्धिले प्रत्यक्ष प्रभाव पार्ने हिमाली क्षेत्रलाई नै हो । त्यसैले यो खतराप्रति विश्वको ध्यानाकर्षण हुनु परेको हो ।
आजभोलि वातावरणका कुरा गर्दा जलवायु परिवर्तनको प्रसङ्ग जोड्न सकिएन भने त्यो अधुरो र खल्लो लाग्छ ।गत वर्षको सेप्टेम्बरमा डेनमार्कको कोपनहेगन शहरमा विश्व जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय कुम्भमेला नै सम्पन्न भयो । त्यस अवसरमा नेपालले सगरमाथाको काख (५,५४२ मिटरको उचाइ) मा रहेको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक गरी दलबलका साथ प्रधानमन्त्री माधव कुमार नेपालसहित विश्वभरका हिमाल आरोहीहरू हिमालयको पीडा बोकेर कोपनहेगन पुगेका थिए । समुन्द्र सतहभन्दा १७३ मिटरको उचाइमा अवस्थित कोपनहेगनको एउटै मञ्चमा हिमालको उचाइ र समुन्द्रकोगहिराइबारे चर्चा–परिचर्चा भएको थियो ।
हिमालय ‘यती’को वासस्थान हो भने डेनमार्क जलपरीको । जलवायु परिवर्तनले गर्दा हिमालयका यती र कोपनहेगनका जलपरी एउटै व्यथाले थला पर्ने स्थिति देखि न आएको छ । हान्स क्रिश्चियन एण्डरसनले सन् १८३७ को स्वच्छ समुन्द्रमा पौडी खेल्दै गरे की एक सानी जलपरी (The Little Mermaid) को परिकल्पना गरेर विश्वविख्यात बालकथा निर्माण गरे । ती जलपरीको प्रतिमूर्ति कोपनहेगनवासीले कथा रचनाको ८६ वर्षपछि समुन्द्रकै छेउमा ठड्याए । यती चाहिँ हाम्रा हिमाली बासिन्दाका मन र मस्तिष्कभित्र जीवितै छ । मानव सभ्यताका कारण आज समुन्द्रको पानी बिटुलिएको छ, हिमालयको हिउँ विथोलिएको छ । त्यसैले यती र जलपरीको विषयमा एकै थलोमा बसेर चिन्ता जाहेर गर्नु पर्ने अवस्था आइपरयो । कठैवरी ती जलपरी, कठैवरा यी यती !
तात्दो पृथ्वी र बदलिँदो हावापानी अर्थात् जलवायु परिवर्तनले यतीको हिमाल र सानी जलपरीको समुन्द्रलाई प्रत्यक्ष र सबभन्दा पहिले प्रहार गरेको तथ्य अब कसैबाट लुकेको छैन । यसको प्रभाव यतीको रोदन र जलपरीको विलापमा मात्र सीमित नभई सम्पूर्ण मानव जातिको अस्तित्वसँग पनि गाँसिएको छ ।
एण्डरसनले जलपरीको कथा रच्दाखेरीको समुन्द्रको स्वच्छताको विवरण घतलाग्दो छ । नेपाली बालसाहित्यका वरिष्ठ स्रष्टा शान्तदास मान न्धरले एण्डरसनको जलपरीको कथा नेपालीमा अनुवाद गरेर हाम्रा बालिकाहरूलाई ठूलो गुन लगाउनुभएको छ । एण्डरसन र शान्तदासको वर्णनले समुन्द्रको पानीको नीर रङलाई एक नीलो फूल ‘कर्न फ्लावर’सँग तुलना गरेको छ । मकैबारीमा फुल्ने यो फूललाई ‘बैचलर्स वटन’ अर्थात् कुमार केटाका टाँक पनि भनिन्छ । जेहोस् यसको नीर रङका तरेलीले एण्डरसनको समुन्द्र भनौं वा जलपरीको वासस्थानलाई पूरै रङ्गाएको छ । समुन्द्र पनि नाप्नै नसक्ने गरी गहिरो थियो । अग्ला अग्लागिर्जाघरहरू एक माथि अर्को गरी डुबाए पनि पिँध फेला नपर्ने त्यस समुन्द्रको पिँधमा जलपरीको दरबार हुन्छ । समुन्द्रको त्यो संसारमा जलपरीका राजा र तिनका प्रजा हुन्छन् । हराम्रो आकाशमा थरीथरीका चरा उडे झै त्यहाँ थरीथरीका माछाहरू पौडिन्छन् र विभिन्न प्रकारका वनस्पति र तिनका हाँगाबिँगा पानीसँगै सलबलाउँदा जीवित प्राणीहरूको चाल प्रत्यक्ष हुन्छ । गहिरोमा गहिरो र सबैभन्दा गहिरो स्थानमा राजदरबार हुन्छ । दरबारका पर्खालहरू मुगाले बनेका रगोथे शैलीकागिर्जाघरमा झै ठूल्ठूला झयालहरू हल्का पहेँलो रङको काँचमा सजिएका हुन्थे । दरबारको छत सिपीहरूले बनेको थियो । प्रत्येक सिपीभित्र माझ्मा चम्किला मोती हुन्थ्यो । ती सिपी पानीको चालसँगै ह्वाङ्ग खुल्ने र च्याप्प बन्द हुने गर्दथे ।
समुन्द्रको त्यो संसारमा एक राज कुमारी जलपरीको प्रेमकथालाई लिएर एण्डरसनले विश्व प्रख्यात बालकथा ‘द लिटिल मरमेड’ रचेका थिए । त्यस कथाको लोकप्रियता चुलिँदै गएपछि ती सानी जलपरीको प्रतिमा निर्माण गर्ने सोच डेनमार्कका एक धनाढ्य व्यक्तिको मनमा पलाउन पुग्यो । फलस्वरुप काँसको ढलौटमा एक सुन्दर मूर्तिको अनावरण भयो सन् १९२३ को अगष्ट २३ का दिन । त्यो मूर्तिमा एक वस्त्रहीन नारीको सुन्दर आकृति एउटा पत्थर माथि खुट्टा दोब्राएर हातले भुइँमा टेकेर बसेको देखिन्छ । खुट्टा र पाइतालातिर बाट माछाको पुच्छर जस्तै जलचरका अवयव देखिन्छन् । मूर्ति झण्डै ५ फिट (१.२५ मिटर) अग्लो छ । कोपनहेगन पुग्ने प्रायः सबै पर्यटक एवं अतिथिहरू त्यस सानी जलपरीको छेउमा बसेर फोटो खिचाउँछन् । विश्वमा सर्वाधिक चित्राङ्कन गरिएका मूर्तिमध्ये त्यस जलपरीको स्थान निकै उच्चकोटिमा पर्दछ । भनिन्छ, कलाकार एडवार्ड इरिक्सनले मूर्तिको नग्न भाग तयार गर्न आफ्नै पत्नीलाई मोडलको रूपमा प्रयोग गरेका र अनुहार चाहिँ तत्कालीन प्रसिद्ध नर्तकी इमेल प्राइसको मोडलबाट प्राप्त गरेका थिए । जलवायु परिवर्तन र समुन्द्र प्रदूषणका कारण पीडित ती जलपरीको विलौनाले कोपनहेगन सम्मेलनको बेला विश्वका नेतृत्व वर्गमा कत्तिको प्रभाव पारयो; त्यो अझै हेर्न बाँकी छ ।
विश्व सम्मेलनका बेला जलपरीको देशमा ‘यती’का आँसु बगाउन नेपालबाट पनि थुप्रै नेता, अभिनेता, हिमालप्रेमी व्यक्ति र वातावरणविद्हरू गएका थिए । विदेशमा नेपालीलाई अक्सर यतीको सत्व र अस्तित्वबारे धेरै कुरा सोधिन्छ । विश्वास, अविश्वास र अन्धविश्वासका थुप्रै कुरा हरूमा छलफल हुन्छ । यती छ वा छैन त्यो प्रश्न आफ्नै ठाउँमा छ, तर यतीको वासस्थान भने निश्चय नै हराम्रो हिमाल हो भन्नेगौरव गरिन्छ । यता आएर पृथ्वीको तापमान वृद्धिसँगै यतीको वासस्थान सङ्कटमा पर्न थालेको तथ्य उजागर हुँदैछ । सगरमाथा क्षेत्रमा विभिन्न हिमनदीहरू प्रति वर्ष १० मिटर देखि ५९ मिटरसम्म पग्लेर हिमतालको जलाशय बढ्ने र हिमरेखा माथि– माथि सर्ने क्रम प्रत्यक्ष अनुभव गर्न थालिएको छ । आप्पा शेर्पा जस्ता २०औं पटक सगरमाथा आरोहण गरिसकेका व्यक्तिहरू हिउँको अभावले पर्वतारोहण नै सङ्कटमा पर्न थालेको चिन्ता जाहेर गर्द छन् । विगतमा नेपालको औसत तापक्रम ०.०६ डिग्री सेल्सियस प्रतिवर्ष बढ्ने गरेकोमा सन् १९७५ देखि सन् २००६ सम्म यो वृद्धिदर १.८ डिग्री सेल्सियस पुगेको देखाउँछ । तापक्रमको वृद्धिले प्रत्यक्ष प्रभाव पर्ने क्षेत्र हिमक्षेत्र हो । त्यसैले हिमालप्रति विश्वको ध्यानाकर्षण गर्नु परेको हो ।
कोपनहेगनमा जलपरीको जस्तो प्रतिमूर्ति हिमाली क्षेत्रमा यतीको बन्न सकेको छैन । यतीको पाइताला र खप्परका बारे धेरै चर्चा–परिचर्चा भइसकेका छन् । यतीको पाइतालाका पदचिन्हहरू हिउँमा भेटिएको धेरै उदाहरण छन् । ती पदचिन्हहरू पार्थिव प्राणीकै हुन् भन्नेमा शङ्का छैन तर त्यो प्राणी खैरो भालु पो हो कि भन्ने धेरैको अड्कल छ । सगरमाथा आरोहणमा लागेका हिलारी, तेन्जिङ तथा त्यसभन्दा पहिले इरिक शिप्टनले पनि यस्ता पदचिन्हहरू देखेको पुष्टि गरेका छन् । तर, ती पदचिन्हको रहस्य अझै खुल्न सकेको छैन ।
यसैबीच पाङ्बोचे गुम्बामा सुरक्षित राखिएको एउटा सानो खप्पर आकारको अवयव यतीकै हो भन्ने स्थानीय जिकिरले पनि विश्वभरि निकै ठूलो प्रचार पायो । एडमण्ड हिलारीले त्यस खप्परको रौंको वैज्ञानिक परीक्षण गर्न विभिन्न प्रयोगशालामा समेत पुर्याएका थिए । पहिले त्यसलाई हिमाली थारको अङ्ग भन्ने पहिचान भयो । कालान्तरमा अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानले त्यस्तै रौंको परीक्षण गरेर थार होइन घोरल हो भन्ने निक्र्योल निकाल्यो । अक्सफोर्डको परीक्षण नेपालको नमुनामा नभईगारो पर्वत (भारत)बाट सङ्कलित नमुनामा भएको थियो । हालसम्मको खोजीनितीबाट यतीको भनिएको पदचिन्ह भालुको र खप्परको रौं घोरल वा थारको भन्ने शङ्कामा यतीको अस्तित्व अड्केको छ । शङ्का गर्नै नपर्ने कुरा भने यतीको वासस्थान हो । यतीको वासस्थान हिमालय हो र त्यस वासस्थानको संरक्षणमा विश्वको ध्यानाकर्षण मात्र होइन प्रभावकारी कदम नै आवश्यक भइसकेको छ ।
तात्दो पृथ्वी र बदलिँदो हावापानी अर्थात् जलवायु परिवर्तनले यतीको हिमाल र सानी जलपरीको समुन्द्रलाई प्रत्यक्ष र सबभन्दा पहिले प्रहार गरेको तथ्य अब कसैबाट लुकेको छैन । यसको प्रभाव यतीको रोदन र जलपरीको विलापमा मात्र सीमित नभई सम्पूर्ण मानव जातिको अस्तित्वसँग पनि गाँसिएको छ । तसर्थ जलवायु परिवर्तनबारे सबै राष्ट्रले चासो र चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ । प्रभावकारी कदमहरू चाल्न अब ढिला गर्नु हुँदैन ।



