जहाँ प्रकृतिको लीला देख्न–बुझन पाइन्छ

कालीगण्डकी क्षेत्रमा पाइने शालिग्राम, पूर्वी नेपालको रातो खोलामा पाइएको प्राचीन हात्तीको टाउकोको अवशेष, बुटवलको तिनाउ खोलातिर भेट्टाइएको ‘रामा पिथाकस’ मानव बङ्गाराको अवशेष आदिको सङ्ग्रहका कारण नेपालको प्राकृतिक विज्ञान सङ्ग्रहालय पनि वैज्ञानिक खोज–अनुसन्धानका निम्ति महत्वपूर्ण स्थल बन्न पुगेको छ ।

प्राचीन ग्रीसमा कला, ज्ञान र विज्ञानकी देवीलाई म्युसेज (Muses) भनिन्थ्यो । त्यही आधारमा ज्ञान–विज्ञान र अनुसन्धानका लागि पुस्तक र अन्य सामग्रीको सङ्ग्रहालयलाई ‘म्युजियम’ भन्ने चलन बस्यो । म्युजियमलाई हामी सङ्ग्रहालय भन्दछौं । आज संसारमा थरी–थरीका म्युजियम (सङ्ग्रहालय) छन्– कुनै कलाकृतिका सङ्ग्रहालय, कुनै विज्ञान–प्रविधिका सङ्ग्रहालय, कुनै इतिहास र परम्पराका सङ्ग्रहालय । कुनै सङ्ग्रहालय मानव इतिहासमा केन्द्रित छन्, कुनै आफ्नै राष्ट्रको इतिहासमा समर्पित छन् । यस्ता विभिन्न प्रकारका सङ्ग्रहालयमध्ये प्राकृतिक विज्ञान सङ्ग्रहालय अर्थात् ‘नेचुरल हिस्ट्री म्युजियम’लाई यहाँ चर्चाको विषय बनाइएको छ ।

वस्तुतः प्राकृतिक विज्ञान सङ्ग्रहालयले हराम्रो पृथ्वी कसरी बन्यो, यसमा जीवात्माहरू कसरी विकास भए; हराम्रो प्रकृतिमा के कस्ता रहस्यहरू छन्; जीवात्मा र वनस्पतिको संसार कस्तो छ; प्रकृतिको अध्ययनबाट पत्ता लागेका रहस्यमय वस्तुहरू के–के छन् भन्ने कुरा बुझन र बुझाउन मद्दत गर्छ ।

सम्पन्न राष्ट्रका प्राकृतिक विज्ञान सङ्ग्रहालयहरूमा ठूल्ठूला डायनोसर्सका अस्थिपञ्जर एवं तिनका मूर्ति रोमाञ्चकारी ढङ्गले सजाइएका हुन्छन् । यो प्राणी ६ करोड तीस लाख वर्ष पहिले नै पृथ्वीबाट लोप भइसकेको हो । तर पनि त्यसका हाडखोड र अण्डाका अवशेषहरू विश्वका विभिन्न ठाउँमा भेटिएका छन् । अनुसन्धाताहरू यस्ता अवशेष खोज्ने र पृथ्वीको जीव–इतिहास खोतल्ने काममा अझै सक्रिय छन् । डायनोसर्सको अवशेष सबभन्दा पहिले सन् १८२२ मा भेट्टाइएको थियो । त्यसपछि का दिनहरूमा उत्तरी अमेरिका, युरोप, एसिया र अफ्रिकामा भेटिएका विभिन्न हाडखोडका अवशेषहरूको गहनतम अध्ययनले पृथ्वीको इतिहास यकिन गर्न निकै सजिलो बनाइदिएको छ । नेपालमा भेटिएका केही प्राणीका अवशेषले प्राकृतिक इतिहासलाई पछ्याउन निकै सहयोग पुर्याएका छन् । उत्तरी कालीगण्डकी क्षेत्रमा पाइने शालिग्राम, पूर्वी नेपालको रातो खोलामा पाइएको प्राचीन हात्तीको टाउकोको अवशेष, बुटवलको तिनाउ खोलातिर भेट्टाइएको ‘रामो पिथाकस’ मानव बङ्गाराको अवशेष आदिको सङ्ग्रहका कारण नेपालको प्राकृतिक विज्ञान सङ्ग्रहालय पनि वैज्ञानिक खोज–अनुसन्धानका निम्ति महत्वपूर्ण स्थल बन्न पुगेको छ ।

काठमाडौंको स्वयम्भू नजिक मञ्जुश्री बजारमा अवस्थित यो सङ्ग्रहालय त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित छ । यहाँको एउटा एकतले भवनभित्र लगभग ६० हजार जीवजन्तु, पशुपन्छी, कीटपतङ्ग र वनस्पतिका नमुनाहरू खचाखच छन्, कोचाकोच छन् । एक पटकमा १०/१५ विद्यार्थीले मात्रै सविस्तार अवलोकन गर्न सक्छन् । ढोकाबाट पस्नासाथगोही र कछुवाका मूर्ति स्वागतरत भेटिन्छन् र भित्ताभरी सयौं आखेटोपहारको सजावट उत्साहपूर्ण देखिन्छ । शासक वर्गहरूको सोखमा मारिएका बाघ, भालु, चितुवा, हरिण,गौरीगाई, चित्तल लगायतका टाउको एवं सिङहरू काठको फ्रेममा जडेर सजाइएका छन् । तत्कालीन अधिराज कुमार हिमालय वीरविक्रम शाहका तर्फबाट उपहारस्वरुप प्राप्त यी सामग्रीले नेपालको सिकार इतिहासलाई समेत इङ्गित गर्द छ । वन्यजन्तुका आखेटोपहार नसजाइएका कुनै पनि राणाका दरबार वा शाहका बैठक फेला पार्न कठिन हुन्छ । सिकारका सौखिन शासकहरू प्रशस्त खर्च गरेर वन्यजन्तु एवं पशुपन्छीको आकृति दुरुस्त बनाउने चर्मस्वरुप विशेषज्ञहरूको सेवा प्राप्त गर्दथे । वरिष्ठ चरा विशेषज्ञ हरिशरण नेपालीका अनुसार जुद्धशमशेर जबराका पालामा भारत; लखनऊबाट झ्किाइएका विशेषज्ञ उस्रफ मियाँले त्यस कार्यमा निकै उत्कृष्ट सेवा प्रदान गरेका थिए । त्यसपछि सूर्यलाल श्रेष्ठ तथागोविन्दबहादुर गुरुङले यस कलामा ख्याति कमाए । वर्तमान मा प्राकृतिक विज्ञान सङ्ग्रहालयका देवचन्द्र शाक्य शायद एक मात्र त्यस विषयका विशेषज्ञ हुन् । नेपालमा पशुपन्छीका दुर्लभतासँगै तिनको मृत शरीरलाई दुरुस्त जीवित जस्तै देखि ने गरी सजाउन र संरक्षण गर्न जान्ने विशेषज्ञको दुर्लभता पनि बढ्दै भएको छ ।

नेपालको प्राकृतिक विज्ञान सङ्ग्रहालयका अमूल्य निधिमध्ये त्यहाँ सुरक्षित करिब १२ सय चराका दुरुस्त नमुना पर्न आउँछन् । ती नमुनाहरू उक्त सङ्ग्रहालय प्रारम्भ गर्ने क्रममा चरा विशेषज्ञ हरिशरण काजीबाट उपलब्ध गराइएका हुन् । नेपालमा पाइने करिब ८६० प्रजातिका चरामध्ये ८०० भन्दा बढी चरा प्रजातिका नमुनाहरू त्यहाँ सुरक्षित छन् । यो सङ्ख्याले विश्वकै पन्छी प्रजातिको तथ्याङ्क (९,०४० प्रजाति) को ९ प्रतिशत भेट्दछ । सङ्ग्रहालयका लागि पन्छीका नमुनाहरू तयार पार्न तिनको छाला, प्वाँख, टाउको र खुट्टा जोगाएर मासु, कलेजो, फोक्सो, आन्द्रा भुँडी, आँखा,गिदी आदि फ्याँकिन्छ । त्यसपछि विशेष रसायन (‘वोरेक्स’) को धूलो छर्किइन्छ र चराको आकार अनुसार त्यसभित्र कपास भरिन्छ । प्रदर्शनीका निम्ति राखिने चरामा भने नक्कली आँखा समेत जडेर प्राकृतिक स्वरुप प्रदान गरिन्छ । हाल प्रदर्शन कक्षमा राखिएका चरामध्ये राजधनेश, सिमकुखुरा र सेतो काग तथा केही राजहाँस दर्शनीय छन् । २०४२ सालताका काठमाडौंको कुलेश्वरमा भेटिएको सेतो काग एक प्राकृतिक अपवाद थियो ।

विभिन्न प्राणीमा वंशाणुगत विसङ्गतिबाट शरीरमा अस्वाभाविक रूपमा पाण्डुपन विकास हुने गर्छ । यस अर्थमा; उक्त सङ्ग्रहालयमा रहेको त्यो सेतो कागको नमुना निकै दुर्लभ जिनिस हो । विद्यार्थीका लागि यस्तो नमुना चाखलाग्दो हुन्छ । अर्को चाखलाग्दो नमुना जनावरका हाडखोडको पूर्ण अस्थिपञ्जर हो ।गैंडाको वा हात्तीको टाउको, सर्पको जीउ, बाघको शरीर वा चराको पूर्ण अस्थिपञ्जर देखेपछि हरेक मानिसमा एउटा नयाँ कौतुहल पैदा हुन्छ ।

यस सङ्ग्रहालयको बहुमूल्य निधिमा पुतलीको सङ्ग्रहको पनि पर्छ । पुतलीलाई दुई वर्गमा छुट्याउन सकिन्छ; एकथरी दिउँसो उड्ने र अर्काथरी रातमा मात्र बाहिरिने । दिउँसो फूल बिरुवामा विचरण गर्ने पुतलीहरू नउडेको अवस्थामा दुवै पखेँटा जोडेर नमस्ते आकारमा बस्दछन् भने रातिका निशाचर पुतलीहरू दुवै पखेँटा फिँजारेर बस्दछन् । दिवाचर पुतलीका जुँगामा झुस हुँदैन । यिनलाई अङ्ग्रेजीमा वटरफ्लाइ ९द्यगततभचाथि० भनिन्छ भने निशाचरलाई मथ ९ः यतज० भनिन्छ । हामी यी दुवैलाई पुतली भन्दछौं । यस्ता पुतलीको लगभग १५ हजार नमुना यो सङ्ग्रहालयमा मौजुद छन् । यी स–साना प्राणीको ज्यान लिन पुतली विशेषज्ञहरू संसारकै सबभन्दा कडा विष ‘सायनाइड’ प्रयोग गर्द छन् । छिटोभन्दा छिटो प्राण त्यागेपछि यिनले छटपटाउन पाउँदैनन् र यिनका सुन्दर पखेँटा सग्लो रूपमा सुरक्षित हुन्छन् । हुनत आजभोलि अरू प्रविधि र विषादी पनि छन् तर उत्तम उपाय ‘सायनाइड’ लाई नै मानिन्छ । नेपालमा दिवाचर पुतलीका ६४० प्रजाति र निशाचरका २,२५३ प्रजाति रहेको तथ्याङ्क छ । प्रकृतिको यस सुन्दर विविधतालाई एकै स्थलमा हेर्न, देख्न वा अध्ययन गर्नु परेमा सङ्ग्रहालयका विशेषज्ञसँग सहायता लिन सकिन्छ । सङ्ग्रहालयमा रहेको पुतलीको संसार नहेरी फर्कनु अधुरो यात्रा हुन्छ ।

हिमाली भेकमा पाइने एक प्रकारका पुतलीको लाभ्रे कीरामा च्याउ जस्तो ढुसी प्रजातिको वनस्पतिले अतिक्रमण गरे पछि बहुमूल्य जडिबुटी ‘यार्सा गुम्बा’ निर्माण हुन्छ । सङ्ग्रहालय गएका बेला यार्सा गुम्बा कस्तो हुँदोरहेछ भनी हेरेर आउनु बुद्धिमानी हुन्छ किनभने हाम्रा हिमाली भेकमा वैशाख–जेठ लागेपछि विद्यालयहरू नै बन्द गरेर शिक्षक र बालबालिकाहरू यार्सा गुम्बा टिप्न लेकतिर लाग्ने क्रम बढ्दो छ । एक किलो टिप्न सके दश हजार रुपैयाँ कमाउँछन् । हिमपातको दुः खकष्ट सहन्छन् । तिनले पढ्ने पाठ्यक्रममा त्यही अमूल्य सम्पदाबारे चाहिँ केही पनि पढ्न पाउने गरेका छैनन् । हराम्रो यस्तै प्रादेशिक प्राकृतिक सम्पदाबारे ज्ञान प्राप्त गर्न प्राकृतिक सङ्ग्रहालयको सदुपयोग गर्न सकिन्छ । पुस्तक र पाठ्यपुस्तकका लेखकहरूले पनि यस्ता सङ्ग्रहालयबाट अनेकौं रोचक खुराक प्राप्त गर्न सक्दछन् ।

यार्सा गुम्बाले जस्तै हाम्रा केही खपटे कीराले पनि केही वर्षयता तहल्का मच्चाउँदै छ । खपटे कीरालाई ‘विटल’ भनिन्छ । यिनका उड्ने पखेँटाका माथि खप्टिएका दुईवटा खपटा हुन्छन् । ती खपटाको रङविरङ्गको वर्णन गरेर साध्य हुँदैन । रातो सुन्तले खपटामा काला काला टीका भएका खपटालाई ‘लेडी विटल’ भनिन्छ । बारी/बगैंचामा लाग्ने कीराहरूलाई सखाप पारेर खाइदिने भएकाले टिके खपटेहरू किसानका हितैषी मित्र हुन् । बारीमा विषादी छरेर यिनलाई मार्नुहुँदैन । खपटे कीराहरूमध्ये केही झगडिया खपटेका टाउको अगाडि बाट लामा–लामा दाह्रा निक्लिएका हुन्छन् । तिनलाई ‘स्टाग विटल’ भनिन्छ । यस्ता खपटेको जुधाई हेरेर आनन्द लिने सौखिनहरू जापानमा छन् । खपटेको जुधाईमा अति रोमाञ्चकारी दाउपेच देख्न पाइने हुनाले जापानीहरू प्रशस्त रुपैयाँ खर्च गरेर खपटे कीरा किन्छन् । एक जोडीको हजारौं रुपैयाँ तिर्छन् । नेपाली खपटे कीराको तस्करी आरोपमा कतिपय जापानी समातिएर थुनामा पनि परेका थिए । जैविक विविधताको यो देशमा खपटेको विविधता पनि प्राकृतिक सङ्ग्रहालयमा राम्रै हेर्न पाउँछौं । त्यहाँ ४१४२ वटा विभिन्न खपटेका नमुना छन् । सम्बन्धित विशेषज्ञ कर्मचारीको सहयोगमा तिनको अवलोकन वा अध्ययन गर्न सकिन्छ ।

सर्पहरूको सङ्कलनमा पनि प्राकृतिक सङ्ग्रहालयको प्रतिष्ठा रराम्रो छ । विषालु सर्पमध्येको संसारकै सबभन्दा लामो सर्प राजगोमनको एउटा नमुना यहाँ राखिएको छ । यो राजगोमन स्वयम्भूकै पश्चिममा पर्ने इचङ् गुनारायणको आसपास समातिएर सङ्ग्रहालयसम्म आइपुगेको हो । तरगोमन वा राजगोमन प्राकृतिक रूपमा काठमाडौं उपत्यकाभित्र पाइने जीव होइन । यसै गरी विश्वका सर्पमध्ये सबैभन्दा ठूलो सर्प प्रजातिमा पर्ने अजिङ्गरको विशाल काँचुली भित्ताभरी ढाक्ने गरी राखिएको छ । २० फुट ४ इञ्च लामो त्यो काँचुली बर्दियाबाट प्राप्त भएको उल्लेख छ । सर्पहरूमध्ये कुनको विष लाग्ने र कुनको विष नलाग्ने भन्ने जानकारी पनि त्यहाँ सहजै पाउन सकिन्छ ।

वनस्पतितर्फको सङ्कलनमा च्याउका विभिन्न प्रजाति, जडिबुटी, रुद्राक्षलगायत अन्य थुप्रै वनस्पतिका विभिन्न रुप देख्न सक्दछौं । पत्थरको रुप धारण गरिसकेका वनस्पतिका अवशेषहरू पनि यहाँ सुरक्षित छन् । सङ्ग्रहालयमा कारोबार गर्न अन्तर्राष्ट्रिय रूपमै अवैध ठहरिएका विभिन्न वन्यजन्तुका अवयवहरू पनि प्रदर्शित छन् । विश्व व्यापारमा दुर्लभ वन्यजन्तु, पशुपन्छी वा वनस्पतिलाई रोकथाम गर्न बनेको महासन्धि (साइटिस) सम्बन्धी जानकारी यहाँ उपलब्ध छ ।

विश्वका ठूल्ठूला प्राकृतिक विज्ञान सङ्ग्रहालयले विभिन्न वन्यजन्तुका प्रतिरुप तयार गरेर तिनको वासस्थान र वातावरण समेत जाहेर गर्ने / गराउने ‘डायोरमा’ (Diorama) प्रदर्शनमा राख्ने कारणले गर्दा त्यहाँ दर्शकहरूको घुइँचो लाग्ने गर्द छ । यसका लागि ठाउँ धेरै चाहिन्छ र त्यो काम निकै खर्चालु पनि हुन्छ । त्रिभुवन विश्वविद्यालयको सामान्य बजेट र स्वयम्भूस्थित एक सानो भवनमा त्यस्तो प्राकृतिक विज्ञान सङ्ग्रहालयको परिकल्पना गर्न गाह्रो पर्छ । निश्चय नै राष्ट्रले उचित प्राथमिकता दिएर एक उच्चस्तरीय प्राकृतिक विज्ञान सङ्ग्रहालयको परिकल्पना गर्ने बेला भने आइसकेको छ ।

commercial commercial commercial commercial