प्रतिक्रिया र सुझाव

‘पढायो पाठ, सोह्र दुना आठ’

शिक्षक को १८औं अङ्क (असोज ०६६) मा प्रकाशित १० कक्षाको विज्ञान शिक्षण सम्बन्धी लेखमा विज्ञान शिक्षकमा सीप र जाँगर भए प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्न खासै अप्ठ्यारो पर्दैन भनिएको रहेछ । कक्षामा विद्यार्थीको चाप धेरै छ भने स–साना समूह बनाएर प्रयोगात्मक कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने पनि लेखकको ठहर रहेछ । तर, शिक्षकहरूमा जाँगर नभएको ले मात्र सार्वजनिक स्कूलमा विज्ञानको प्रयोगात्मक कक्षा सञ्चालन हुन नसकेको भन्ने कुरा पूर्णतः सत्य होइन । किनभने हरेक शिक्षक अल्छी हुन्छन् भन्न मिल्दैन । विद्यार्थीको चाप व्यवस्थापन गरे पनि सबैलाई एउटै शिक्षकको बुताले प्रयोगात्मक अभ्यास गराउन सम्भव हुँदैन । कक्षा सञ्चालनको समय पनि त हेर्नुपरयो नि ! विज्ञानको प्रयोगात्मक क्रियाकलाप गर्न धेरै समय लाग्छ, एक घण्टी (४५ मिनेट) मा यो काम सम्पन्न हुनसक्दैन । हतारमा अभ्यास गराउनु भनेको त ‘पढायो पाठ, सोह्र दुना आठ’ जस्तो मात्र हुन्छ । विद्यालयले विज्ञान विषयको लागि छुट्टै समयतालिका निर्धारण गरे कुरा अर्कै हो ।

‘कम तलब र सुविधाले शिक्षकहरूमा जाँगरको कमी आएको’ भन्ने कुरा चाहिँ सोह्रै आना सत्य हो । लेखमा साधन र सुविधा नभएको अवस्थामा पनि विज्ञानको प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्न भनी तयार पारिएको सूचीमा केही महङ्गा र सजिलै प्राप्त नहुने सामग्री समावेश गरिएको छ । त्यस्तै केही सामग्री शिक्षक–विद्यार्थीद्वारा बनाउन सकिने भनिए तापनि बनाउने प्रक्रिया लेखिएको छैन । जस्तोः म्ल्ब् र च्ल्ब् मोडेल बनाउने प्रक्रिया समावेश गरिएको भए धेरै रराम्रो हुनेथियो । तथापि उक्त लेख विज्ञान शिक्षकका लागि उपयोगी छ ।

अनिल कुमार थापा
‘हेम्स’ स्कूल, रातोपुल, काठमाडौं

सूर्यनाथलाई सुझाव

‘ननिख्रने भए नक्कली शिक्षक’ (भदौ २०६६) समाचार पढ्न पाउँदा खुशी र दुः ख दुवै लाग्यो ।

सूर्यनाथ उपाध्यायको ‘पुस्ता नै सखाप पार्ने अपराध’ शीर्षकको लेखमार्फत शिक्षकको नक्कली प्रमाणपत्र छानबिन हुन नसक्नुका दुई प्रमुख कारणमा; पहिलो , राजनीतिक असहयोग र दोस्रो, मातहातका निकाय प्रजिअको संयोजकत्वमा गठित नक्कली प्रमाणपत्र छानबिन समितिहरूको असहयोग । यहाँ एउटा विचार णीय कुरा के छ भने उपाध्यायलाई आफूभन्दा तल्ला निकायले टेरेनन् ! नटेरेबापत उहाँले ती माथि कुनै ‘एक्सन’ लिने प्रयास गर्नु भयो/भएन ? सार्वजनिक छैन । सबैलाई थाहा छ, आफूभन्दा माथिल्लो निकाय/प्रमुख वा हाकिमलाई नटेर्ने अनेकौं कारणहरूमध्ये प्रमुख कारण हो– उसको गल्ती वा कमजोरी थाहा पाउनु । एउटा शिक्षकको चुरोट खाने लतथाहा पाएको विद्यार्थीले ‘चुुरोट खानुहुदैन’ भन्ने शिक्षकको अर्ति कति मान्ला ? सहजै अनुमान गर्न सकिन्छ ।

सामान्यतया संवैधानिक अङ्गको प्रमुख नियुक्त हुँदा पत्रकारसामु ‘म यस्तो गर्छु, मेरो निकायको भ्रष्टाचार नामेट पार्छु’ भन्ने अनि कार्यावधि समाप्तिपछि ‘मैले त गर्न खोजेको थिएँ, (उपाध्यायले जस्तै) विविध कारणहरूवश गर्न सकिनँ’ भन्ने परम्परा हामीकहाँ नयाँ होइन ।

नक्कली प्रमाणपत्र छानबिनको साइत जुराउन सहयोग गर्ने व्यक्ति हुन्– अख्तियारका पूर्व सचिव दानबहादुर शाही । शाहीले आफू सेवा निवृत्त भएपछि ‘निजामती सेवामा बढुवाका लागि प्रयोग भएका ७५ प्रतिशत प्रमाणपत्र नक्कली छन्’ भनी गरेको उद्घोषसँगै नक्कली प्रमाणपत्र छान्ने ‘गाईजात्रे मेला’ प्रारम्भ भएको हो । त्यसपछि अख्तियारबाट सबै कर्मचारी र शिक्षकलाई प्रमाणपत्र बुझाउन उर्दी जारी भयो । सबैले प्रमाणपत्रका सक्कल प्रति छानबिन गर्न पठाए । पछि गाइँगुइँ सुनियो– ‘छानबिन गर्ने जिम्मा पाएकै (प्रजिअ जिशिअ आदिको) प्रमाणपत्र नक्कली छ रे !’ जसको आफ्नै प्रमाणपत्र नक्कली छ उसले अरूको प्रमाणपत्र सक्कली/नक्कली भनेर कसरी प्रमाणीकरण गर्न सक्छ ? विभिन्न अधिकृत उप–सचिव, सह–सचिव, सचिवहरू जसको बढुवा प्रयोजनको प्रमाणपत्र नक्कली हुन् भनेर विभिन्न मिडियामार्फत सार्वजनिक भयो तर कारबाही भयो/भएन कुनै सार्वजनिक भएन ।

म शिक्षकको प्रमाणपत्र नक्कली हुनुपर्छ भन्ने कुरा को हिमायती होइन । नक्कली प्रमाणपत्रधारीलाई कुनै पनि सेवामा प्रवेश निषेध गरिनुपर्छ । तर, जो सक्कली/नक्कली प्रमाणीकरण गर्न बसेको छ, उसैको प्रमाणपत्र नक्कली हुनु चाहिँ झन् आपत्तिजनक कुरा हो । एकातिर राजनीतिक हस्तक्षेप र तल्लो निकायको असहयोगले काम गर्न सकिनँ भन्ने अर्कोतिर तत्कालीन कार्यकारी प्रमुख (प्रम) लाई समेत पुर्जी काट्ने ! यस्तो विरोधाभासबाट कसरी नक्कली प्रमाणपत्र निषेध गर्न सकिन्छ ? त्यसकारण, उपाध्यायज्यू, आफ्नो कार्यकालको चुरो कुरोलाई बङ्ग्याएर ‘पिलो’ पाल्नुभन्दा आफूले सामना गर्नु परेका वास्तविक समस्याहरू, त्यसलाई समाधान गर्न सक्ने उपायहरू र आफ्ना अनुभवहरूलाई सही तरिकाले सार्वजनिक गर्नु भए वर्तमान अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरू र भ्रष्टाचार निवारणका लागि काम गर्ने अन्य व्यक्तिहरूको लागि उपयोगी हुनेथियो कि ?

मोहनप्रसाद रेग्मी
बालविकास ने.रा.प्रा.वि. निजगढ, बारा

नक्कली शिक्षक उन्मूलन गर्नैपर्छ

भनिन्छ; एकजना डाक्टरको गल्तीले एउटा व्यक्तिको जिन्दगी बर्बाद हुन्छ भने एकजना शिक्षकको गल्तीले हजारौं व्यक्तिको जिन्दगी बर्बाद हुन्छ । त्यसैले जतिसक्दो चाँडो नक्कली शिक्षक उन्मूलन गरिनुपर्दछ । यसनिम्ति नक्कली कागजपत्र पेश गरेर हजारौं व्यक्तिको भविष्य माथि खेलवाड गरिरहेका त्यस्ता नक्कली शिक्षकको बारेमा जोसुकैले पनि विभिन्न संघसंस्थामा उजुरी दिनसक्ने व्यवस्था हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन, इमेल वा चिठीमार्फत उजुरी गर्न सकिने व्यवस्था भए पनि सबैसँग अदुअआको फोन, इमेल र ठेगाना नहुन पनि सक्छ । त्यसैले शिक्षक मासिकको आउँदो अङ्कमा अदुअआको फोन नम्बर, इमेल ठेगाना प्रकाशित गरिदिए मजस्ता हजारौं पाठकलाई फाइदा पुग्नेथियो । र, नक्कली शिक्षक विरुद्ध उजुरी दिन सजिलो हुनेथियो ।

तिलक थापा, रुपन्देही
(टिप्पणीः अदुअआको फोन नं. ४४४०१५१, ४४२९६८८, ४४३२७०८ र इमेल ठेगाना akhtiyar@ntc.net.np, ciaa@ciaa.gov.np हो । –सं.)

नक्कलीलाई कसले नियुक्ति गरयो ?

नक्कली प्रमाणपत्रधारी शिक्षकबारेको आवरण लेख पढ्दा मलाई दुईवटा लोकोक्तिको सम्झना भयो– ‘रोग लागेर उपचार गर्नु भन्दा रोगकै बाटो छेक्नु जाति’, ‘आफ्नो सातुको थैलो बलियो बाँध्नु, साथीलाई चोर नलाउनु ।’

नक्कली शिक्षकहरूलाई कसले नियुक्ति दियो ? स्थायी कसले बनायो ? अनि बढुवा कसलेगरायो ? दोष ती शिक्षकहरूलाई भन्दा बढी तिनै निकायहरूलाई दिनुपर्छ जसले प्रमाणपत्रसमेत सक्कली/नक्कली छुट्याउन नसकी भर्ना गर्दै स्थायी र बढुवागराइदिए । अब अहिले आएर नक्कली शिक्षकहरूलाई कहिले र कसरी छानबिन गरिसक्नु ! फितलो कानून र जिम्मेवार निकायको कमजोरीका कारण यो देशमा टाठाबाठाहरूले अवसर पाउँदै आएका छन् । अर्को कुरा , विकृत परीक्षा प्रणालीका कारण स्वदेशमै उत्पादित प्रमाणपत्रहरू पनि नक्कलीसरह भइरहेका छन् । यसतर्फ पनि बेलैमा यथोचित ध्यान दिनु आवश्यक छ । नत्र यो समस्याले समाज लाई झन्झन्गाँज्दै लैजानेछ ।

इन्द्र कुमार श्रेष्ठ
सरस्वती उमावि खानीभन्ञ्याङ, ओखलढुङ्गा

‘के–के’ नै गर्नु पर्दैन

शिक्षामन्त्री रामचन्द्र कुशवाहाले आफ्नो अन्तर्वार्ता (भदौ २०६६) मा ‘हेर्दै जानुस् म के–के गर्छु’ भन्नुभएको रहेछ । उहाँले यस्तो विघ्न ‘के–के’ नै गरिरहनै पर्दैन । शिक्षकहरूले ढुक्क भएर पढाउन पाउने, एसएलसी परीक्षामा चिटिङ हुन नदिने तथा शिक्षकहरूलाई एकैचोटि स्थायी नियुक्ति दिने समेत जम्मा तीनवटा कुरा मात्रै लागू गराउन उहाँले सक्नुभयो भने नेपालको शैक्षिक क्षेत्रले काँचुली फेर्नेछ । के मन्त्रीज्यू यति कुरा गराउन सक्नुहुन्छ ?

अनिमेष पाठक
सिद्धिचरण मार्ग, ओखलढुङ्गा

‘सहयोगी’को शोषण !

शिक्षा ऐनमा ‘पूर्व प्राथमिक तह’ उल्लेख भए पनि विद्यालयको तहगत संरचनामा यो समावेश छैन । तथापि हरेक सरकारी स्कूलमा ‘बालविकास केन्द्र’ हुनुपर्ने प्रावधानका कारण प्राथमिक तहमा भर्ना हुने उमेर नपुगेका साना–साना बालबालिकाहरूको पठन–पाठन र विकास का लागि वैकल्पिक उपाय भने अवलम्बन गरिएकै छ । बालविकास कक्षाका लागि भनेर सहयोगी शिक्षकको कोटा दिने गरिएको छ । तर बालविकास केन्द्रका शिक्षकलाई जम्मा रु.१८०० दिएर सरकारले उनीहरूको श्रमको शोषण गरेको छ । बजार भाउले नेटो काटेको बेला रु.१,८०० मासिक बेतनमा बालविकास (इसीडी) कक्षाका शिक्षकहरू कसरी आफ्नो काममा दत्तचित्त भएर लाग्न सक्छन् ? उक्त रकमले महिनामारी चिया, नास्ता, खाजा खर्च चाहिँ पुग्ला । जागिर खाने आमा; बुबु खोई ? पापा खोई ? कस्तो पीडादायी र विडम्बनाको कुरा ? तर, सम्बन्धित पक्षले उनीहरूको समस्यालाई नियाल्न भ्याएको देखिँदैन । यस सन्दर्भमा म सम्बद्ध निकाय/पदाधिकारीहरूसँग निम्न प्रश्न सोध्न चाहन्छुः

  • मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २३ को मर्म र भावनाअनुरुप बालविकास (ईसीडी) कक्षाका शिक्षक (स.का.) हरूको तलबमान , सरुवा, बढुवा, वृत्ति–विकास र स्थायीकरण तथा अन्य सुविधा निर्धारण हुने गरी ऐननियम बनाउनेतिर सम्बन्धित पक्षको ध्यान न गएको किन ?
  • उल्लिखित ऐन–नियम बन्न/बनाउन समय लाग्ने भए हालको तलबमान बढाएर भरण–पोषण हुनपुग्ने तलबमान निर्धारण गर्न सम्बन्धित पक्ष मौन रहेको किन ?
  • शतप्रतिशत महिलाका निम्ति आरक्षित यस्ता संरचनाहरूमा काम गर्ने महिलाहरू माथि हुने गरेको श्रमको शोषण र अन्य हक, हित तथा अधिकारका कुरा हरूमा महिला अधिकारवादी संघ, संस्था र सङ्गठनहरूले आवाज उठाउन नसकेको किन ?
  • मानव अधिकारको विश्वव्यापी घोषणापत्रका सबै धाराहरू सक्रिय गराई सो घोषणाप्रति सरकारको प्रतिबद्धता कार्यान्वयन गराउन मानव अधिकारवादी संघसंस्थाहरूको ध्यान न गएको किन ?
  • शिक्षक हकहितका लागि खोलिएका संघ, संस्थाहरूले एउटै विद्यालयभित्र एकैसाथ उत्तिकै समय काम गर्ने बालकक्षा शिक्षक र कर्मचारीहरू माथि भएको श्रमशोषणका विरुद्ध प्रभावकारी आवाज उठाउन नसकेको किन ?
  • सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन, नियम, विनियमको पालना गर्न नसकेको किन ?
  • उल्लिखित कुरा हरू मनन् गरी बालकक्षा शिक्षकहरूको न्यूनतम पनि मुखियासरह तलब सुविधा निर्धारण गर्ने तिर सम्बन्धित पक्षको ध्यान जाओस् भन्ने मेरो आग्रह छ ।

कृष्णमाया निरौला
सिजुवा, मोरङ

..................
नेपालका सरकारी विद्यालयमा स्थायी, अस्थायी, राहत, बालविकास र निजी स्रोत जस्ता अनेकथरी शिक्षक व्यवस्था गरिएकोले शिक्षकहरूमागुटबन्दी, विचलन र हीनताबोधको स्थिति सृजना भएको छ । बालविकास केन्द्रमा काम गर्ने ‘सहयोगी कार्यकर्ता’लाई रु.१,८०० मात्र दिइने गरेको छ । जबकि ‘सहयोगी कार्यकर्ता’लाई स्थायी कोटा भनिसकेपछि उनीहरूलाई पनि अरू शिक्षकसरह तलब दिइनुपर्ने हो । साना नानीहरूलाई पढाउनेहरूको काम अझ् जटिल छ ।

स्कूलहरूले ‘बालविकास शिक्षक’लाई धेरै काम लगाएर अति नै श्रमशोषण गरेका छन् । तिनले कक्षालाई पनि समय दिनुपर्छ । उस्तै परे विद्यालय नै बालविकास शिक्षकले चलाउनुपर्छ । पठन–पाठन र विकास का लागि वैकल्पिक उपाय भने अवलम्बन गरिएकै छैन । राज्यले अरूसरह तलब दिन सक्दैन भने बालविकास कोटाको औचित्य छैन । महङ्गीको बेलामा बाल कोटाको सेवा सुविधा त्यतिमा मात्र सीमित राखिराख्ने हो भने यसलाई बाल कोटा नभने हुन्छ ।

गीता उप्रेती
चण्डीदेवी प्रावि नौबिसे–८ थली, धादिङ

हामी बूढालाई गाह्रो भयो !

असार अङ्कको शिक्षक मा छापिएको ‘पहिला पढिएन, अब नपढी भएन’ शीर्षकको रिपोर्ट अति रराम्रो लाग्यो । तर रामेछापमा १० महिने पूरा तालिम गरेका प्राविका शिक्षकहरूका लागि विशेष कक्षाको व्यवस्था भएको छैन । अर्को; हामी जस्ता बूढा शिक्षक विद्यालय भ्याएर विशेष कक्षामा जान पनि कठिन छ । नजिकमा विशेष कक्षा पनि छैन । यसका लागि जिल्ला शिक्षा कार्यालयहरूले अध्ययन बिदाको व्यवस्था मिलाइदिनुपर्छ । कि त १० जोड २ चलेका शिक्षा विषयको पढाइ हुने जुनसुकै उमाविमा विशेष कक्षाको व्यवस्था हुनुपर्छ ।

ओलकबहादुर खत्री
कालीदेवी प्रा.वि., प्रीति–७, रामेछाप

‘पेन्सन’ र ‘उपदान’ एउटै होइन

शिक्षक के हो भन्ने बुझन शिक्षक मासिक हेर्नैपर्ने हुन्छ । शिक्षककागुण, दोषलगायत धेरै कुरा हरू बुझन यस पत्रिकाले मद्दत पुर्याएको छ । शिक्षकलाई सही मार्गमा हिँड्न खबरदारी गर्नु भएको मा धन्यवाद । स्तरीय कुरा हरू धेरै हुँदाहुँदै पनि केही कमजोरीहरू दोहोरिरहेका छन् । केही उदाहरणः
२०६६ जेठ अङ्कमा ‘मन्त्रीलाई विरोध पत्र’ शीर्षकको गतिविधिमा ‘जनार्दन कार्यदलले २०६६ फागुन १८ मा बुझएको सुझाव तुरुन्त कार्यान्वयन गर्न माग गरिएको छ’ छापिएको पाइयो । ‘शिक्षकका समस्या र निकासको बाटो’ शीर्षकमा चाहिँ ‘जनार्दन कार्यदलले शिक्षामन्त्री रेणु यादवलाई १८ फागुन २०६५ मा आफ्नो प्रतिवेदन बुझएको थियो’ लेखिएको छ । यति सामान्य कुरा मा किन ध्यान न गएको होला ।

त्यस्तै २०६६ असार अङ्कमा ‘अस्थायी शिक्षकका स्थायी समस्या’ भन्ने रिपोर्टमा ‘स्थायी शिक्षकले लगातार २० वर्ष सेवा गरे मा पेन्सन (उपदान) पाउँछन् । तर, २० वर्षसम्मै शिक्षण गरे पनि चौधरीले उपदान पाउने सम्भावना छैन’ भनेर लेखिएको छ । २०६६ जेठ अङ्कमा ‘शिक्षक थरीथरीका’ शीर्षकमा ‘स्थायी शिक्षकले तलब, बीमा, सञ्चयकोष,ग्रेड, पेन्सन पाउँछन् । तर, अस्थायीले तलब मात्र पाउँछन्’ भनिएको छ । यसको अर्थ शिक्षक मासिकलाई पेन्सन र उपदान शब्दको अर्थ थाहा नभएको हो कि जस्तो लाग्छ । नत्र यस्तो त्रुटि किन दोहोरिरहन्थ्यो होला र ? पेन्सनको अर्थ निवृत्तिभरण हो जुन २० वर्ष सेवा गरे पछि स्थायी शिक्षकले पाउँछ । उपदान चाहिँ स्थायी शिक्षकले २० वर्ष सेवा नपुगी सेवाबाट हटेमा पाउने कुरा हो ।

अन्ताक्षरी, शब्द खेल, सामान्य ज्ञान र सुडोकु प्रतियोगितामा सही जवाफ पठाउने पाठक सङ्ख्या साह्रै कम पाइन्छ । उनीहरूको नाम पनि पत्रिकामा हेर्न पाए चित्त बुझथ्यो, पुरस्कार एकजनाले मात्र पाए पनि । नाम नहुँदा मिलाएर पठाउने व्यक्तिले पनि आफ्नो नमिलेको हो कि भन्ने शङ्कामा रुमल्लिनुपर्छ । के यसरी पाठकलाई रुमल्याउनु ठीक हो त ?

खड्गबहादुर श्रेष्ठ
जनकल्याण प्रावि देसार गाउँ
खनियापानी–२, रामेछाप

(टिप्पणीः त्रुटि औंल्याइदिनुभएको मा श्रेष्ठजीलाई धन्यवाद । २०६६ को फागुन आउनै बाँकी रहेकोले २०६५’ नै सही हो । –सं.)

गाली होइन, तालीबाट बाँडौं

हामी जे–जति पाठ्यपुस्तकमा विद्यार्थीहरूलाई घोकाइरहेका छौं; शायद पाठ्यक्रमले त्यति चाहेको छैन । हामी चाहेभन्दा बढी मेहनत गर्दैछौं र विद्यार्थीहरूलाई गराइरहेका पनि छौं तर प्रश्न देशैभरि उठेको छ । सिकाइ व्यावहारिक छैन, सिकाइ अर्थपूर्ण छैन । सिकाइले जनअपेक्षा समेट्न सकेन । यही प्रक्रियालाई सघाउन र व्यवस्थित विकास गर्न शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र आदि जस्ता सरकारका अङ्गहरू र अन्य थुप्रै संघसंस्थाहरू क्रियाशील छन् । तिनले कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् र तथ्याङ्क केलाएर छलफल पछि भावी योजनाको बहस चलाइरहेका छन् ।

सिकाइमा हामीले नयाँ बाटो रोज्नैपर्छ । फेरि जसले पनि सजिलै भनिदिन्छ, सिकाइ वैज्ञानिक हुनुपर्छ; हराम्रो सिकाइ वैज्ञानिक छैन । तर, यथार्थमा कुन सिकाइ वैज्ञानिक हो ? किन र कसरी ? यसलाई जसले दोष ल गाउँदैन उसैलाई पनि कसैले प्रश्न गरे मा सजिलो उत्तर उसैसँग छैन । मेरो बुझइमा पूर्ण वैज्ञानिक सिकाइ यही हो भनी किटानी विश्वमा शायद छैन । शिक्षाविद्हरू र मनोवैज्ञानिकहरूलाई कसैले यही प्रश्नको ठाडोघोचो देखायो भने किटानी बाटो देखाउन मुस्किलै होला ।

भविष्य चम्काउने अभिभावकको सपनासहित भोलि देशै काँध हाल्नसक्ने जिम्मेवारी लिएर आएको दुधेबालक आमाको काखबाट शिक्षकको पोल्टामा पर्दछ, त्यतिबेला उसले आफ्नै बालमस्तिष्कमा विद्यालय प्रवेश गर्दा जुन उत्साह, इच्छा र आकाङ्क्षा लिएर आएको हुन्छ, त्यसलाई प्रायः विद्यालयहरूले निराश तुल्याइदिएको पाइन्छ । यस कुरा को न त्यो बालक विरोध गर्न सक्छ न समर्थन । न ऊ कुरा बुझन सक्छ न तर्क दिन । ऊ त घोक्न सक्छ, कपी गर्न सक्छ, यदाकदा आफ्ना विचार झ्निो–मसिनो विषयमा राख्नसक्छ । अब साइनबोर्डमा लेखिएको मनोवैज्ञानिक शिक्षा र वातावरण भयो त ? नभएको भए जिम्मेवारी कसको त ? विद्यालयहरूको ? शिक्षकहरूको ? अभिभावकहरूको ? शैक्षिक संघसंस्थाहरूको ? सरकारको ? भाषा मिलाउनेहरू उम्केलान् तर समयको हामीलाई चुनौती दिइँदैन सिकाइको वातावरण परिवर्तन चाहिन्छ नै । परिवर्तन आजसम्मको विकास को उत्प्रेरक पनि हो । त्यसलाई निरन्तरता दिन तपाईं हामी सबैको साझ जिम्मेवारी हो ।
सिकाइ बाल मनोभावना अनुसार हुनुपर्छ र मनोरञ्जनपूर्ण हुनुपर्छ । सिकाइ प्रयोगात्मक र दैनिक व्यवहारमा सकारात्मक परिवर्तन गराउने हुनुपर्छ । सिकाइले जीवनमा जोश र सिर्जना खोतल्नुपर्छ अथवा सिकाइ दमनात्मक होइन स्वीकारात्मक हुनुपर्छ । तर, त्यस्तो सिकाइ गर्न हामीले कसरी बाटो खुल्ला गर्न सक्छौं ? जिम्मेवार भएर सोच्नुपर्ने भएको छ ।

सम्पूर्ण शिक्षासँग सरोकारवाला महानुभावमा अनुरोध गर्न चाहन्छु; सिकाउने होडमा बालकको बाल्यकाल हामीले खर्चने होइन, स्वीकारात्मक सिकाइमा जोड दिएर उसलाई आफू चिन्न दिनुपर्छ । हामी असल पथप्रदर्शक मात्र बनौं । हामीले दिएका हरेक क्रियाकलाप मा उसले मनोरञ्जन लिँदालिँदै केही सिक्ने अवसर पाओस् । यसका लागि व्याख्यान विधि र नोट होइन क्रियाकलाप मुखी जिम्मेवारी दिएर ठोस, अर्धठोस र सङ्केत तहबाट विस्तारै सिकाउने प्रयत्नगरौं ।गाली होइन, ताली बाडौं । ‘तँ त्योगर’ होइन ‘तिमी के गर्न सक्छौ ?गर’ बाट थालनीगरौं । के भयो, कस्तो भयो ? उसैको अनुभूति सुनौं, रमाऔं र उसैको विचार कदर गर्दै केही आधार भएमा सिकाइ क्रियाकलाप मा थपगराऔं र अन्त्यमा होनहार सिर्जनात्मक र मेहनती मानव जोशको विकास गरौं ।

विश्व देवकोटा
स्रोतव्यक्ति, जिशिका, लमजुङ

तीर्थ जाँदैछु

बूढीआमैको कम्मर दुख्दा
पटुकी किन्दिन नसक्ने निम्छरो
मास्टर म
बाबाको अस्कोट फाट्दा
लाटाले पापा हेरेझैं हेर्ने मूकदर्शक
मास्टर म
पीडैपीडाले सधैं आँसु बगाउने श्रीमतीलाई
आँसु पुछ्ने रुमाल किन्दिन नसक्ने विचरो मास्टर म
मैले कसै गरी
न बाबाआमाका दुः ख बिर्साउन सकें
न श्रीमती र छोराछोरीका आवश्यकता पूरा गर्न सकें
खर्च र खाँचोको डिलमा उभिएर
हाँस्न नसक्ने रुञ्चे
मास्टर म
खोई ! आज आफंैले आफंैलाई प्रश्न गरिरहेछु
म किन र कसका लागि बाँचिरहेछु ?
बूढाबूढी बा–आमाले चारधामका तस्बिर देखाउँदा
आँखा चिम्म गरेको छु मैले
छोराछोरी खरायोका बच्चासरी उफ्रिँदै
नाना–चाचाभन्दा कान बन्द गरेको छु मैले
श्रीमतीले दुः खको पोको फुकाउन नभ्याउँदै
सक्दो प्रयास गरे कैछु भनेर टक्टकिएको छु म
अब मैले मुख फोरेर भन्नैपर्छ–
आमा, तपाइँले बाध्यताको पटुकीले कम्मर कस्ने बानी पार्नुस्
विवशताको आस्कोटले आङ ढाक्ने कोशिश गर्नु स् बाबा
जीवनसंगिनी, आँसुको मुहान तिमी आफंै थुन्ने प्रयासगर
खोई ! के लाग्दोरहेछ र ?
भरियाभन्दा भारी ठूलो भएपछि
डुङ्गाभन्दा यात्री धेरै भएपछि
त्यसैले आज,
अन्यथा कसैमा नहोस्
पीरैपीरको पखेरोमा अक्षरको पोको बोकेर
शब्द र वाक्यको तीर्थ जाँदैछु ।

दलबहादुर गुरुङ
शिक्षक, दोभान उच्च मावि, पाल्पा

गतिविधि निरन्तर आओस्

दुर्गममै भए पनि शिक्षक पत्रिका नियमित रूपमा अध्ययन गर्द छौं । सबै अङ्क पठनीय, रोचक र ज्ञानबद्र्धक छन् । विश्वका शिक्षाविद्हरूको शिक्षण विधि साथै सिकाइ क्रियाकलाप का सजिला खेलविधि र अङ्ग्रेजी शिक्षण सिकाइ क्रियाकलाप तथा गतिविधि प्रत्येक अङ्कमा राखिदिएमा हामी जस्ता दुर्गम विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई ठूलो राहत मिल्नेथियो । विज्ञ, कलाकार, राजनीतिक नेता अनि वैज्ञानिक निर्माण गर्ने खम्बा हुन् शिक्षक । शिक्षकको पीडा र आत्मा असन्तुष्टिलाई मलमपट्टी गर्ने काम यस पत्रिकाले गरेको छ । पत्रिका निरन्तर प्रकाशन होस् र हामी जस्ता दुर्गम ठाउँमा रहेका शिक्षकहरूले व्यावहारिक शिक्षाका कुरा सिक्न र सिकाउन पाइयोस् ।

हेमबहादुर बुढामगर
गोरक्षा प्राथमिक विद्यालय, औलाखर्क–७, म्याग्दी

नाम छापियोस्

शिक्षक मासिकको शब्दखेल, सुडोकु, अन्ताक्षरी र सामान्यज्ञान जस्ता प्रतियोगिताहरूमागोलाप्रथाबाट एकजनालाई मात्र छनोट न गरी प्रथम, द्वितीय र तृतीय छनोट गरी रु.५००, रु.३०० र रु.२०० दिने व्यवस्था गरियोस् र सही उत्तर पठाउने तरगोलाप्रथाद्वारा नछानिएका प्रतियोगीहरूको नाम पत्रिकामा छापिने व्यवस्था गरियोस् ।

मिठु कुमारी डल्लाकोटी
श्री निमावि बजरहट्टी, वीरेन्द्रनगर–४, चितवन

फुर्सदको ‘डिजाइन’मा ध्यान पुगेन

म शिक्षक पत्रिका नियमित अध्ययन गर्द छु । यसमा प्रकाशित सामग्रीहरू पठनीय र उपयोगी छन् । अझै हुनेछन् भन्ने आशा र विश्वास छ । शब्दखेल, अन्ताक्षरी, सुडोकुमा सहभागी हुँदा पठनीय लेखहरू काटिने समस्या धेरै समाधान भएको छ । तर, सुडोकु काट्दा अन्ताक्षरी पनि काटिने समस्या अझै हटेको छैन । यो समस्या पनि हटाउन सके अझै रराम्रो हुनेथियो ।

ओमबहादुर भण्डारी
रमाइलो डाँडा, बथौडा–९, चितवन

अलि अपूर्ण भयो

एउटा शिक्षक भएको नाताले शिक्षक मा छापिएका हरेक खुराकहरू मेरा लागि उत्तिकै नौला र प्रेरणादायी हुने गर्छन् । यस पत्रिकालाई अझ् विविधतामय बनाउन शिक्षा क्षेत्रका रोचक प्रसङ्गहरू कथा, कविता र शिक्षकका शिक्षाजगतका प्रेरणादायी तथा अविस्मरणीय क्षणहरू पनि समावेश गराउन सके पत्रिका अझै उत्कृष्ट बन्नेथियो । किनेको एकैछिनमा सबै खुराकहरू पढिसकिँदा पत्रिका अलि अपूर्ण भएको हो कि भन्ने लागेको छ । यसतर्फ सम्पादन मण्डलको ध्यान जाओस् भन्दै पत्रिकाको उज्ज्वल भविष्यको कामना पनि गर्द छु ।

प्रभा बराल
विजेश्वरी ज्ञान मन्दिर मा.वि., स्वयम्भू, काठमाडौं

म शिक्षक

काम मेरो शिक्षा दिने
भन्छन् मलाई शिक्षक
नानीहरूलाई पढाउँछु
बाबुहरूको रक्षक

क खग घ सिकाउँछु
गीत गाउँछु कहिले
ए बी सी डी पढाउँछु
माया गर्छु पहिले

किताबको ज्ञान लिऊँ
साना साना नानी
सानै देखि बसाल
तिमी असल बानी

वान टु थ्री फोर
फाइभ सिक्स भन
एक दुइ तीन चार
पाँच छगन
रराम्रोसँग पढ तिमी
मेहनत गरिकन
समस्यालाई हलगर
नहडबडाइकन

रामसुन्दर देउजा
पनौती न.पा.–१

नेताले पनि पढुन्

शिक्षक पत्रिका शिक्षकले मात्र होइन विद्यार्थी, अभिभावक, शिक्षक, नेता, सभासद्, मन्त्री सबैले पढ्नुपर्छ । किनभने शिक्षक पत्रिकामा गतिविधि, शिक्षाका समस्या र समाधानका उपायहरू पनि उल्लेख हुने गरेका छन् ।

कृष्णबहादुर पुन
वागेश्वरी प्रस्तावित मावि, लिवन हवामा, रोल्पा

commercial commercial commercial commercial