सर्वोत्कृष्ट सृष्टि
चिकित्सकको लापरवाहीले सानैमा दुवै आँखाको ज्योतिगुमाएकी भक्तपुरकी सृष्टि के.सी.ले मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहमा छात्रातर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेर सबैलाई चकित पारेकी छन् ।
भक्तपुर सिरुटारकी परमेश्वरी के.सी.ले २३ भदौ बिहान चारै बजे दृष्टिविहीन छोरी सृष्टिलाई निद्राबाट ब्यूँझइन् । ६८.१ प्रतिशत अङ्क हासिल गरी मानविकी सङ्कायमा छात्रातर्फ प्रवीणता प्रमाणपत्र तहमा सर्वोत्कृष्ट भएकी सृष्टिले राष्ट्रपति डा. रामवरण यादवको हातबाट नेपाल छात्रा विद्यापदक पाउने कार्यक्रय तय भएको थियो । साढे पाँच बजे सृष्टि उनकी आमाको सहयोगमा आधा घण्टा हिँडेर कौशलटार आइन् । पदक पाउने रहरले कौशलटारबाट बस चढेर कोटेश्वरहुँदै राष्ट्रपति भवन पुगेको उनलाई थाहै भएन । राष्ट्रपतिको हातबाट पदक प्राप्त गरे पछि सृष्टिको प्रतिक्रिया थियो, “राष्ट्रप्रमुखबाट पदक पाउँदा ज्यादै खुशी लागेको छ । राष्ट्रपतिले धाप मार्दै बधाई छ, रराम्रो गर्दै जानु भन्नुभएको ले चुनौती थपिएको महसूस भएको छ ।” उनी अहिले डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसमा समाज शास्त्रमा स्नातक गर्दैछिन् ।
१८ वर्षअघि जन्मेकी सृष्टि जन्मजात दृष्टिविहीन होइनन् । भक्तपुरकोगठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठमा कक्षा ७ मा पढ्दा उनी अक्षर देख्न र मान्छे ठम्याउन सक्थिन् । तर, कक्षा ८ मा छँदा चिकित्सकको लापरवाहीले उनका दुवै आँखा जलविन्दुको शिकार भए । त्यसपछि सृष्टिका लागि संसारै अँध्यारो भयो । तैपनि सृष्टिको अध्ययनप्रतिको लगाव र रुचिमा कमी आएन । निरन्तरको मेहनत र जाँगरका कारण आँखा नदेखे पनि सृष्टिले आँखा देख्ने धेरै छात्रालाई उछिनेर इतिहास रच्न सफल भएकी छन् । सिद्धार्थ विद्यापीठबाट २०६२ सालमा एसएलसी दिँदा पनि सृष्टिले प्रथम श्रेणी हासिल गरे की थिइन् ।
त्यसो त, उनी अतिरिक्त क्रियाकलाप मा प्रतिभाशाली सावित भइसकेकी छन् । यसकै उदाहरण हो– भर्खरै दक्षिण कोरियाको राजधानी सोलमा आयोजित दशौँ एशिया–प्यासिफिक वाटाव्यासी म्युजिक फेस्टिवलमा १५ राष्ट्रका दृष्टिविहीनहरूमध्ये उनले नृत्यमा वेस्ट पर्फर्मेन्स गर्न सफल हुनु । सृष्टिको प्रतिभाले उनका शिक्षक, बाबुआमा तथा परिवारका अरू सदस्यहरू खुशी देखिन्छन् । उनका दाजु प्रवेश भन्छन्, “उनको मेहनत देख्दागौरव लाग्छ ।”
सानै उमेरमा आँखाको ‘एलर्जी’ भएका कारण सृष्टिका बाबु–आमाले उनलाई उपचारका लागि राजधानीका धेरै अस्पताल पुर्याए । तर, चिकित्सकको लापरबाहीले उनको आँखाको ज्योतिगुम्यो । उनले भनिन्, “डाक्टरले नजाँचिकन स्टेरोइड सम्बन्धी झेल औषधि दिएकोले मेरो आँखाको ज्योति गएको हो ।” प्रदूषणमुक्त स्थानमा रहँदा सृष्टिका आँखाले राहत महसूस गर्ने तथागतिलो उपचार पाए ज्योति फर्किने आशामा परिवारले उनको उपचार जारी राखेको छ ।
अपाङ्ग भएको पीडाकै कारण स्नातक सकेपछि अपाङ्गता भएकाहरूका लागि विशेष शिक्षा सम्बन्धी तालिम लिएर उनीहरूको सेवामा लाग्ने सृष्टिको चाहना छ । नेपालमा अपाङ्गता भएकाहरूको सङ्ख्या धेरै भएको ले तिनको हितका निम्ति काम गर्न आवश्यक रहेको उनी बताउँछिन् । सृष्टि भन्छिन्, “हामी जस्ता दृष्टिविहीनहरूलाई किताबमा के छ भन्ने थाहा हुन्न । शिक्षकले ब्ल्याकबोर्डमा लेखेको देख्न पनि सकिन्न । शिक्षकले पढाउँदा देब्रे, दाहिने र तल माथि यस्तो छ मात्र भनिदिए धेरै सजिलो हुनेथियो ।” सरकारले अपाङ्ग छात्रछात्रालाई छात्रवृत्ति र शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने सृष्टिको माग छ ।
प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षमा अध्ययन गर्दा सृष्टि आन्तरिक परीक्षा दिँदा होस् वा गृह कार्य गर्दा, कापीको पानालाई दोब्य्राएर त्यही डामलाई छामेर लेख्थिन् । तर, आफैंले बनाएको ए फोर साइजको फलामको उपकरणमा पाना राखेर लेख्न थालेपछि उनले छामेर लेख्नुपर्ने पुरानो झ्मेलाबाट मुक्ति पाएकी छन् । उनले प्रयोग गरे जस्तो सामग्री अरू दृष्टिविहीनले पनि प्रयोग गर्न सक्छन् । परीक्षामा चाहिँ अपाङ्गता भएकाले आफूभन्दा तल्लो कक्षामा अध्ययनरतको सहयोग लिन पाउने व्यवस्था गरिएको छ । सृष्टिले प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षमा सुनिता श्रेष्ठ र द्वितीय वर्षमा जुनु श्रेष्ठको सहयोगमा परीक्षा दिएकी थिइन् ।
सृष्टिलाई साहित्यमा पनि गहिरो रुचि छ । सृष्टिलाई सबैभन्दा मनपरेको पुस्तक हो– कृष्ण धरावासीको कथा झेला । उनका बाबु राजेशमान , आमा परमेश्वरी र दाजुहरू प्रवेश र प्रणयको सहयोगमा उनले साहित्य सम्बन्धी पुस्तकहरू पढ्ने गरे की छन् । आफूले भर्खरै पढेका दुई कृति राधा र पल्पसा क्याफे को सार खिच्दै उनले भनिन्, “राधा मा पौराणिक कथालाई आधुनिक जलप दिइएको छ भने पल्पसा क्याफे मा द्वन्द्वकालको राजनीतिक विषय उठाइएको छ । त्यसैले दुवै कृतिका आ–आफ्नै महत्व छन् ।” आँखाको ज्योतिगुमे पनि शिक्षाको ज्योतिबाट चम्किएकी मेधावी छात्रा सृष्टिको सबैलाई आग्रह छ “हिजोको सृष्टि र आजको सृष्टि एउटै हुँ । हिजो देख्थेँ आज देख्दिनँ तर मेरो भावना र क्षमता उही हो, त्यसैले मलाई समाज ले हेला नगरोस् ।”



