सबैको तलब बराबर

गएको असारसम्म सुर्खेतको कोलडाँडास्थित प्रभात माविका शिक्षक पुष्कलदेव वनको मासिक तलब रु.१३,९५० थियो । सोही विद्यालयकी निजी स्रोत शिक्षक अमृता सुनार मासिक रु.५,२०० मात्रै बुझिथन् । तर, साउन देखि यी दुवैको तलब समान भएको छ रु.९,५०० । माध्यमिक तहका वन र प्राथमिक तहकी सुनारको मात्र होइन, त्यहाँ कार्यरत सबै १४ जना शिक्षकको तलब समान पारिएको छ । समान तलबमान शिक्षकहरू आफैँले कायम गरेका हुन् ।   

‘समान कामका लागि समान पारि श्रमिक’ भन्ने मान्यतालाई व्यावहारिकरूपमै उतार्न सबै शिक्षकले समान तलब खाने निर्णय गरिएको प्रधानाध्यापक ऋषिप्रसाद थानी बताउँछन् । उनी भन्छन्, “काम समान छ भने तलबमा किन तल माथि ? परम्परा देखि हुँदै आएको असमान ता चिर्न हामीले यस्तो निर्णय गरेका हौँ ।” उनका अनुसार, १२ असार २०६६ मा बसेको व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त बैठकले समान तलब खाने निर्णय गरेको हो ।

सरकारले १ साउन देखि लागू हुने गरी शिक्षकहरूको तलबमा केही वृद्धि गरेकोे छ । तर, प्रअ थानीका अनुसार यो वृद्धिले समान तलब खाने शिक्षकहरूको निर्णयमा कुनै असर पर्नेछैन । उनले शिक्षकहरूबीच बढेको तलबलाई समानुपातिक रूपमा बाँड्ने निर्णय भएको बताए ।

गत शैक्षिक सत्र देखि माध्यमिक तह सञ्चालन भएको सो विद्यालयमा १४ जना शिक्षक छन् । तीमध्ये प्रावि तहका ७ जना स्थायी दरबन्दीमा छन् भने निमावि तहका तीन र मावि तहका एक जना राहत कोटामा नियुक्त भएका छन् । त्यस्तै विद्यालयले मावि तहमा दुई जना र निमावि तहमा एक जना निजीस्रोतबाट राखेको छ ।

समान तलबको निर्णयले थोरै तलब बुझने निजीस्रोतका शिक्षकहरूलाई त उत्साहित बनाएको छ नै, सरकारी कोषबाट धेरै तलब खाने शिक्षकलाई पनि आत्मिक सन्तुष्टि दिलाएको छ । मासिक साढे १३ हजार खाने मावि राहत कोटाका पुष्कलदेव वन भन्छन्, “एउटै विद्यालयमा समान काम गर्ने हामी शिक्षकहरू तलबसुविधाका आधारमा तीन वर्गमा विभाजित थियौँ, अब हराम्रो स्कूलमा विभाजनको रेखा मेटिएको छ ।” सेवा र सुविधाको बाँडफाँड श्रमको आधारमा गरिनुपर्छ भन्ने मान्यताले आफू यो निर्णयमा सहमत भएको उनको कथन छ ।


वरिष्ठता र थप कार्यभारको आधारमा केही शिक्षकलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि सँगै गरिएको छ । तदनुरुप १२ वर्ष देखि कार्यरत मावि शिक्षक हरिलाल महतारा र निमावि शिक्षक ऋद्धिबहादुर चौधरीलाई मासिक रु.३०० भत्ताको व्यवस्था गरिएको छ । त्यस्तै, १० वर्ष देखि अङ्ग्रेजी पढाउँदै आएका पुष्कलदेव वनले प्रोत्साहन र कोचिङ शुल्कका रूपमा मासिक रु.१००० थप पाउने छन् ।

सरकारी कोषबाट प्राप्त हुने तलब र स्थानीय स्रोतबाट सङ्कलित रकम जोडेर दामासाही आधारमा बाँडफाँड गर्दा एकजनालाई सरदर साढे ९ हजार रुपैयाँ पर्ने प्रअ थानी बताउँछन् । यो निर्णयले निजीस्रोतकी निमावि शिक्षक अमृता सुनारको तलब झण्डै ५५ प्रतिशत बढेको छ । मासिक ७ हजार २०० देखि ८ हजारसम्म तलब बुझदै आएका निजीस्रोतका शिक्षकहरू ऋद्धिबहादुर चौधरी, टेकबहादुर बुढा र दीपेन्द्र जिसीको तलब पनि उल्लेख्य बढेको छ ।

सो विद्यालयका शिक्षकले दैनिक ६/६ पिरियड पढाउनु पर्ने नियम बनाइएको छ । शिक्षकहरूको यस्तो निर्णयले विद्यालय व्यवस्थापन समितिलाई समेत उत्साहित बनाएको छ । अध्यक्ष हीराबहादुर सुनार ‘शिक्षकहरूका कारण विद्यालयको शिर ठाडो भएको ’ ठान्छन् ।

समान तलबको निर्णयले विद्यालयको पठनपाठनमा रराम्रो प्रभाव परेको प्रअ थानीको अनुभव छ । पहिला कम तलब खाने निजीस्रोतका शिक्षकहरूमा काम छल्ने, विदामा बस्न खोज्ने प्रवृत्ति धेरै थियो, तर अहिले त्यो पूरै हटेको छ ।

२०३१ सालमा स्थापना भई २०६४ देखि माध्यमिक तह सञ्चालन भएको सो विद्यालयको आम्दानीको प्रमुख स्रोत अभिभावकले दिने ‘चन्दा’ हो । विद्यालयको अभिलेख अनुसार, अभिभावकहरूले वार्षिक प्रतिविद्यार्थी रु.१२० देखि रु.१३०० सम्म ‘चन्दा’ दिँदै आएका छन् । यसबाट वार्षिक करिब रु.३ लाख सङ्कलन हुने गरेको छ । यसका साथै गाउँ विकास समितिले यस वर्ष देखि वार्षिक रु.२ लाख दिने निर्णय गरेको छ ।

पहिलो पटक एसएलसीमा सहभागी सो विद्यालयबाट गत वर्ष १४ मध्ये ७ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रभात माविका शिक्षकहरूको निर्णय सम्बन्धमा जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकाल भन्छन्, “तलबकै कार ण विद्यालयका शिक्षकहरूबीच हानथाप भइरहेका बेला प्रभात माविमा भएको नमूना कामले सबैलाई सुखद् सन्देश दिएको छ ।” यसबाट अरू विद्यालयले पनि सिक्नुपर्ने उनको धारणा छ ।

commercial commercial commercial commercial