साकार सपना

राजनीतिक खेलाडीहरूको यत्रो फेरबदल हुँदा पनि विश्वविद्यालयको व्यवस्थापन पर्वतझै स्थिर रहेको अनुभूति हुन्छ । त्यसको श्रेय निश्चय पनि उपकुलपति र उहाँको त्यही ‘सानो समूह’ र तिनको सङ्कल्पतिर उन्मुख हुनपुग्छ । त्यसका अतिरिक्त यो विश्वविद्यालयले साँचेर राखेको आफ्नो तटस्थ स्वभावको गुणलाई पनि बिर्सनु हुँदैन ।

नेपालको वर्तमान मा भविष्यको आशालाई साँचेर राख्ने स्थल कहाँ होला भनी खोज्न थाल्यौं भने काठमाडौंबाट २९ किलोमिटर पूर्वको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालय पुगिन्छ । क्षितिजभरि मनमोहक हिमाल र पहाड, डाँडाभरि चिटिक्क नयाँ भवनहरू, भवनभरि विद्या र शिक्षाका सामग्री र तिनका माझ् सल्बलाउने विद्यार्थी र प्राध्यापकहरू देखेपछि जोकोही पनि आशावादी नभइ रहन सक्दैन । त्यहाँको दृश्यले अन्तरिक्ष यात्री नितिस्की, वैज्ञानिक राजारमन्ना, डा. एपिजे अब्दुल कलाम देखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्म सबैको मनलाई मुग्ध गराए को प्रसङ्ग सुरेशराज शर्माद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालयः कठिन यात्राका पाइलाहरू’ नामक पुस्तकमा पढ्न पाउँछौं ।

डा. शर्माको पुस्तकभित्र प्रवेश गर्नु भन्दा पहिले उहाँले आजभन्दा २७ वर्ष पहिले ‘नेपालमा विज्ञान र प्रविधि शिक्षा’ शीर्षकमा लेख्नुभएको लेखको उपसंहार यहाँ जस्ताको तस्तै उतार्ने धृष्टता गर्द छु । किनभने, उहाँले त्यही दृष्टि (भिजन)लाई पछ्याउँदै यो यात्रा तय गरेको भान हुन्छ । तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजतजयन्ती–२०३९ को प्रकाशन माला नं. ७ ‘नेपालमा विज्ञानको विकास’  तयार गर्ने सिलसिलामा उहाँले त्यो लेख मेरा लागि तयार गरिदिनुभएको थियो । उक्त आलेखको उपसंहार खण्डका पंक्ति यस्ता थिए–


“विज्ञान र प्रविधि शिक्षाको नेपालमा रहेको अवस्थाबारे प्रस्तुत लेखमा विवेचना गरिएको छ तापनि केही कुरा स्पष्ट उल्लेख गर्नु समसामयिक देखिन्छः
(१) नेपालमा विज्ञान र प्रविधिलाई देश विकास को लागि प्रयोग गर्ने अठोटको अझै अभाव देखिन्छ ।

(२) विज्ञान तथा प्रविधि विकास को लागि फलको तुरुन्तै अपेक्षा गर्नु अघि समयको बलियो आधारशिला तयार गर्न नभई नहुने खर्च गर्न हिच्किचाउनु हुँदैन । साधनको पूरा व्यवस्था नभई विज्ञान र प्रविधिको आफैं विकास हुन सक्दैन । हो, आधारशिला तयार गरिसकेपछि पनि अपेक्षा गरे बमोजिम फल आयो आएन भनेर जान्न खोज्नु उचित छ । तर, न्यूनतम आवश्यकता नपुग्दैमा न कुनै फल आउन सक्छ न त भएको लगानीकै सदुपयोग हुनसक्ने सम्भावना हुन्छ । आधारशिला भन्नाले यति समयभित्र भौतिक विकास गरिने, यति उपकरण जडान गर्ने, यति पुस्तक जर्नल प्राप्त गर्ने, यति विशेषज्ञ तयार गर्ने र तिनीहरूलाई यसरी प्रयोग गर्ने भन्ने स्पष्ट दूरदर्शी नीतिबमोजिम सृजना गरिएका सुविधाहरूलाई सम्झनुपर्दछ ।

(३) फल प्राप्तिको लागि आवश्यक समयसम्म पर्खने धैर्यका साथै मुलुकका वरिष्ठ मगजलाई प्रयोग गर्ने, विश्वास गर्ने र उनीहरू माथि लगानी गर्ने तत्परता आदिको अभाव पन्छाउन सकेमा र राष्ट्रिय उद्देश्यको लागि मरिमेट्ने यस क्षेत्रका व्यक्तिहरू र यसको विकास सित सम्बन्धित अन्य क्षेत्रका मानिसहरूको समेत दृढसङ्कल्प (Commitment) ले मात्र वैज्ञानिक उन्नति सम्भव छ, नत्र विज्ञान र प्रविधिको विकास कुण्ठित हुने कुरा निर्विवाद छ ।”

‘काठमाडौं विश्वविद्यालयः कठिन यात्राका पाइलाहरू’ को मूल पाठ १५० पृष्ठ र लेखकका आफ्ना भनाइ तथा वरिष्ठ साहित्यकार कमलमणि दीक्षित एवं लोकप्रिय साहित्यकार जगदीश घिमिरेका उद्गारहरू पढेपछि प्रसिद्धगायिका लता मंगेशकरले आफ्नोगीतियात्राको एक कार्यक्रममा प्रकट गरेको एक हरफ यसरी सम्झन्छु, “हम तो चल पडे थे अकेले ही सफरमे, लोग आते रहे; कारवाँ वन्तागया...”

डा. सुरेशराज शर्माले आफ्नो यात्रा शायद त्यसरी नै थाल्नुभयो र त्यसमा डा. सीताराम अधिकारी ले साथ दिए । लगत्तै डा. भद्रमान तुलाधर, रमेशनाथ ढुङ्गेल, प्रा. सरस्वतीप्रसाद रिमाल, प्रा. रामचन्द्रबहादुर सिंह र अनि फेरि पछि बाट रणबहादुर शाह र मोहनगोपाल खेतान पनि सम्मिलित हुँदै यो ‘कारवाँ’ (ताँती) मा २४० जना नेपाली र ९६ जना विदेशी व्यक्तित्वहरूका साथै ११९ वटा नेपाली संघसंस्था र १०० वटा विदेशी संघसंस्थाहरूले साथ दिएको कुरा पुस्तकको अनुक्रमणिकाबाट थाहा हुन्छ । समय र परिस्थितिले गर्दा उल्लेख गर्न सम्भव नभएका विद्यार्थी वर्ग, निर्माणकर्मीहरू, स्थानीय जनसमूह तथा सेना समेतको सहयोगको जनाधार निकै फराकिलो र फरासिलो पनि छ भन्ने कुरा पुस्तक पढ्दै जाँदा खुल्न आउँछ । पुस्तक पढेपछि हामी एउटा निष्कर्षमा पुग्छौं कि काठमाडौं विश्वविद्यालय भनेको सहयोगै सहयोगको यथार्थ हो । यथार्थको यज्ञमा होमिनुभन्दा पहिले डा. शर्मा र उहाँको ‘सानो समूह’ले लिएको सङ्कल्प सबैका लागि मननयोग्य छ । त्यो यसप्रकार छः
“(१)     गुणस्तर मा कहिल्यै सम्झौता गर्दैनौं
(२)    परिश्रम र इमान्दारीलाई सधैं पूजा गर्छौं
(३)    प्रकृति र पुर्खाले दिएका कुरा लाई वरदानका रूपमा लिन्छौं र,
(४)    आफ्नो क्षमतालाई प्रतिस्पर्धामुखी ढाँचामा राख्छौं”
लेखकले आफ्नो २३ वर्षको कर्मयात्रामा भोगेका तीतामीठा क्षणहरू समेटेर तयार पारेको पुस्तक भनिए तापनि तीता क्षणका तीखा धारहरू कतै प्रत्यक्ष छैनन् । भोगेका अवरोध र कठिनाइहरूका कारकतत्वलाई उहाँ ‘बिरालोले विष्टा लुकाएझै’ लुकाउन सफल हुनुभएको छ । त्यसलाई लेखकको विशाल हृदयको द्योतकका रूपमा लिन सकिन्छ ।

पुस्तकको मूलपाठ ९ शीर्षकमा बाँडिएको छ र विश्वविद्यालयको पूर्ण स्वरुप भने अन्तिम परिच्छेद पुगेपछि मात्र उजागर हुन्छ । शुरु का दिनमा भूमिहीनताको पीडामा भौंतारिएका डा. शर्मा अहिलेको भौतिक सम्पत्तिको हैसियत १ अर्ब ५० करोड रुपैयाँ आँक्दै धुलिखेल र चौकोटको ४४.५ हेक्टर (८९० रोपनी) जग्गा र काठमाडौंको ०.५ हेक्टर (१० रोपनी)को स्वामित्वमा सन्तोषको गहिरो सास लिन पुग्दछन् । यो विश्वविद्यालय २६२ शिक्षक र लगभग २०० कर्मचारीले चलाइआएका छन् । त्यसको शीर्षस्थ जिम्मेवारी लिँदै प्राध्यापक डा. सुरेशराज शर्मा उपकुलपतिको पदमा स्थापनाकाल देखि नै आसीन छन् । नेपालका प्रधानमन्त्री कुलपति रहने कानूनी व्यवस्था भएअनुरुप वर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल लगायत जम्मा ७ जना शीर्षस्थ नेताहरू कुलपतिका रूपमा अवतरण भइसकेका छन् । सहकुलपतिमा शिक्षामन्त्रीहरूको झन् लामो ताँती हुनुपर्छ । तर, राजनीतिक खेलाडीहरूको यत्रो फेरबदल हुँदा पनि विश्वविद्यालयको व्यवस्थापन पर्वतझै स्थिर रहेको अनुभूति हुन्छ । त्यसको श्रेय निश्चय पनि उपकुलपति र उहाँको त्यही ‘सानो समूह’ र तिनको सङ्कल्पतिर उन्मुख हुनपुग्छ । त्यसका अतिरिक्त यो विश्वविद्यालयले साँचेर राखेको आफ्नो तटस्थ स्वभावकोगुणलाई पनि बिर्सनु हुँदैन । स्थापित पूँजी हडप्ने माफियातन्त्र र राजनीतिक चलखेलका लागि विद्यार्थी र शिक्षकहरूलाई शस्त्र बनाउने हुल्लडतन्त्रबाट काठमाडौं विश्वविद्यालय आजसम्म अछुतो देखिन्छ । पुस्तकको अध्ययनले पाठकवर्गमा यस्तै छाप छोड्दछ । तर, डा. शर्माले आफ्नो अन्तिम पानामा ‘अबको कार्यदिशा’ शीर्षकमा सतर्कताका केही वाक्यहरू कोर्नुभएको छ । “...सानातिना असन्तुष्टि बोकेर राजनीतिक नेताहरूसम्मगलत सूचना पुर्याउनु र त्यस्ता कुरा हरूलाई राम्ररी नबुझी पत्याउनु मुलुकको भविष्य निर्माण गर्न उन्मुख कसैलाई पनि शोभा दिने कार्य हुनसक्दैन... ।”

राजनीतिक समावेशीकरण अर्थात् राजनीतिक अंशबण्डामा आधारित सङ्गठनात्मक संरचना होइन स्वायत्तता बढी भएको सङ्गठनात्मक संरचनाको आवश्यकतामा डा. शर्मा दृढ देखि नुहुन्छ । त्यस्तो सङ्गठनका निम्ति उहाँले एउटा अधिकार र जिम्मेवारीसम्पन्न संरक्षण समितिको खाँचो औंल्याउनुभएको छ । ‘काठमाडौं विश्वविद्यालय ऐन २०४८’ अनुसार संरक्षण समितिको व्यवस्था रहेको प्रसङ्गहरू सातौं परिच्छेद ‘निरन्तर विशेष अभिरुचि राख्ने केही व्यक्तित्वहरू’ शीर्षकभित्र खुलासा गरिएको छ ।

लेखनको शिष्टता यस पुस्तकको विशेषता नै हो भन्न कर लाग्छ । सुरेशजीलाई धेरै वर्ष देखि चिनेको छु, धेरै वर्ष देखि जानेको छु । उहाँको व्यक्तित्वमा झल्कने सरलता उहाँको कृतित्वमा यसरी प्रतिबिम्वित हुनु निश्चय नै भवितव्य होइन । यसलाई कडा परिश्रमको परिणाम मान्नुपर्दछ ।

विगतका केही दशक देखि नेपालीमा पलाएको उदासीनता र हीनताबोधका बीच उब्जिएका प्रश्नहरूको सँगालोलाई लेखकले ‘विश्वविद्यालय बनाउने सोच’ नामक पहिलो परिच्छेदमा नै प्रस्ट्याउनुभएको छ । तिनै प्रश्नलाई चुनौतीको रूपमा स्वीकारेर गैर सरकारी क्षेत्रमा गैर मुनाफामुखी स्वायत्त संस्था ‘काठमाडौं विश्वविद्यालय’ स्थापना गरेर सबैलाई चित्तबुझदो जवाफको रूपमा पुस्तक निर्माण भएको छ । पुस्तक पढ्दै जाँदा ‘...सानो दुः खले आज्र्याको...’ हैन भन्ने छर्लङ्ग हुन्छ । यो पुस्तक पढ्दा मनमा दुः ख गरयो भने विदेशीको काँध नचढेरै विश्व प्रतिस्पर्धामा पुग्न सकिन्छ, गुणस्तर को शिक्षा प्रदान गर्ने गुण नेपालीमाझ् नै छ, वैज्ञानिक एवं प्राविधिक शिक्षामा नेपालीहरू पनि आत्मनिर्भर बन्न सक्छन्; गैर सरकारीस्तर को सक्रियतामा पनि विश्वविद्यालय जस्तो उच्च शैक्षिक संस्था खोल्न र आत्मनिर्भरताका साथ सञ्चालन गर्न सकिन्छ भन्ने भाव मात्र पैदा हुँदैन, सन्तोषका साथै आफंैमा उत्साह र जाँगरसमेत पलाएर आउँछ । यो कुनै कर्मयोगीको सुखदुः खका आत्मवृत्तान्त होइन । वास्तवमा आँट र अठोटलाई  गन्तव्यसम्म पुर्याउनका लागि आवश्यक क्रियाकलाप को क्रमानुगत नालीबेली मञ्चन भई एक मार्गदर्शनको रूपमा पुस्तक प्रस्तुत छ ।

पुस्तकको दोस्रो परिच्छेद ‘सधैं सम्झनुपर्ने दाताहरू’ पढिसकेपछि शिक्षा क्षेत्रमा दाताहरू आफैं अग्रसर हुन्छन् तर तिनलाई यथायोग्य क्षेत्रमा प्रवेश गराउन चनाखो हुनुपर्ने र रकम सदुपयोगबारे आश्वस्त पार्न आँखाले देख्ने र मनले अनुभूत गर्ने दृश्यपरक दृष्टान्तहरू उजागर हुनुपर्ने यथार्थ खुलस्त हुन्छ । तर, विश्वविद्यालयको मूल सिद्धान्त र सत्यसँग सम्झौता न गर्ने कुरा लाई लेखकले ‘स्वीकार्न नसकिएको दान’ शीर्षकमा स्पष्ट पार्नुभएको छ । त्यस्तै स्मरणीय कार्यमध्ये यूएमएनको सहयोगमा धर्म प्रचारको पक्ष माथि बन्देज लगाएको प्रसङ्ग पनि मननयोग्य छ । सरसर्ती पढ्दै जाँदा विश्वविद्यालय निर्माण र सञ्चालनमा अनुदान होइन दानको सदुपयोग चाहिं महत्वपूर्ण हुने अनुभूत हुन्छ ।

धुलिखेललाई शिक्षा, स्वास्थ्य र पर्यटन तथा वातावरणको एउटा उत्कृष्ट केन्द्र बनाउने सोच र त्यसको सफलतामा धुलिखेलबासी स्वयंको अटुट निष्ठा, सक्रिय सहयोग र सहभागितालाई पुस्तकले निकै प्रशंसा गरेको छ । धुलिखेलका तत्कालीन नगरपिता वेलप्रसाद श्रेष्ठको भूमिका र योगदानको प्रसङ्गले एउटा पुरानो उक्ति सम्झउँछ– ‘कु कुसँगै मिल्छ जस्तो भाङ्गसँग धतुरो, त्यस्तै सु सुसँगै मिल्छ जस्तो श्रीखण्डसँग कपुर !’ त्यस्तै श्रीखण्ड र कपुरको वासनाले आज धुलिखेल सुवासिलो छ । विश्वविद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूमध्ये ‘भाग्यवश पाइएका राम्रा सहयोगीहरू’को सविस्तार बयानमा यी कुरा हरू खुल्दछन् ।

ताहरूमा रणबहादुर शाहको सहयोगको निरन्तरता अपत्यारिलो खालको छ । शाहको दान र योगदानको त्यो वास्तविकता एक अचम्म लाग्दो कथाको रूपमा हामी पढ्न पाउँछौं । यसै गरी मोहनगोपाल खेतान,गोपालराज राजभण्डारी र जुद्धबहादुर श्रेष्ठको उदार आर्थिक सहयोगप्रतिको कृतज्ञता श्रद्धाञ्जलीका रूपमा प्रस्तुत छन् । व्यक्तिविशेषका सहयोगलाई यसरी उच्च स्थान दिन खोज्नु सफल सङ्कलकको सबल पक्ष पनि हो । धनले होइन तन र मनले सहयोग गर्नेहरू पनि थुप्रै छन् । तिनमा केशरबहादुर विष्टको छवि निकै रराम्रो खुलेको छ यो पुस्तकमा ।

काठमाडौं विश्वविद्यालयको विकास क्रमलाई हेर्दा यसलाई राष्ट्रको खाँचोमा समय र परिस्थितिले डो¥याएको भान हुन्छ । अरू शिक्षण संस्थाभन्दा बेग्लै र अरू संस्थाले प्रतिस्पर्धा गर्न नसक्ने क्षेत्रलाई प्राथमिकताका साथ उकास्दै लगेको स्पष्ट हुन्छ । सबैभन्दा पहिले विज्ञान र त्यसको व्यावहारिक पक्षलाई समेटेर स्कूल अफ साइन्स सन् १९९२ मा स्थापना भयो, त्यसपछि स्कूल अफ म्यानेजमेण्ट सन् १९९३ मा, स्कूल अफ इञ्जिनियरिङ र स्कूल अफ मेडिकल साइन्स सन् १९९४, त्यसपछि मात्र स्कूल अफ आर्टस् सन् १९९६ र स्कूल अफ एजुकेशन सन् १९९७ मा स्थापना भयो । यी सबै विधामा शिक्षाको गुणस्तर निकै उच्च छ भन्नेमा विवादै छैन । विश्वविद्यालयमा हुनैपर्ने सबभन्दा बलियो पक्ष त्यही हो । ‘उच्च गुणस्तर का फ्याकल्टी र पदाधिकारीहरूको खोजी र चयन’ नामक परिच्छेदले केही यस्ता उदाहरणहरू अगाडि सारेका छन् जसको सूत्रले मात्र नेपालको भविष्य सुनिश्चित गर्छ । लेखक भन्छन्, “नेपालका युवा फ्याकल्टीहरूले इन्जिनियरिङमा मास्टर्स डिग्री लिई फर्केर पूर्ण जोश र प्रतिबद्धताका साथ काम गरे पछि यस विधाको स्वरुप नै बलियो हुनपुगेको छ ।” प्राध्यापकहरूको योग्यता र व्यावहारिक ज्ञान वृद्धि गर्न चालेका विभिन्न कदममध्ये आफ्नै जनशक्ति तयार गर्ने पूर्व योजनाको सराहना गर्नैैपर्छ । ट्युसन पढाउने शिक्षकहरूलाई हतोत्साह गरेर पूरा समय दिनसक्ने शिक्षकहरूलाई प्रोत्साहन दिने नीतिले पनि विश्वविद्यालयको शिक्षास्तर लाई उच्च राख्न बल दिएको देखिन्छ ।

अन्त्यमा,
काठमाडौं विश्वविद्यालय गैर सरकारी भइकन पनि सार्वजनिक संस्थाको रूपमा खडा छ । मुनाफा कमाउने यसको लक्ष्य होइन । एक स्वायत्त एवं स्वावलम्बी संस्थाको रूपमा यसको विकास हुँदैछ । लेखकले विश्वविद्यालयको नालीबेली मात्र पाठकसमक्ष प्रस्तुत गर्नु भएको छ, व्यक्तिगतगाथा कतै पनि गुथ्नुभएको छैन । आत्मसन्तुष्टि रगौरव भावहरू यत्रतत्र प्रकट भएका छन्, तर घमण्डीपनलेस मात्र पनि भेट्न सकिन्नँ । शीर्षकमा लेखिएका कठिन यात्राका पाइलाहरू काठमाडौं विश्वविद्यालयका पाइलाहरू हुन्, सुरेशराज शर्माका हैनन् भन्ने मनोभाव सिर्जना गर्नमा पुस्तक सफल छ । कर्मठ व्यक्तिको कलमबाट यस्तै मसी बहिरहोस् भन्ने शुभकामना छ ! नेपाली वृत्तान्त वाङ्मयमा एउटा नौलो आयाम थप्न सफल हुनुभएको मा प्रा.डा. सुरेशराज शर्मालाई धेरै बधाई छ ।

commercial commercial commercial commercial