पुस्तकालय बनाउने र चलाउने सीप
पुस्तकालय सानो वा ठूलो जत्रो पनि हुनसक्छ । किताब धेरै वा थोरै जति पनि हुनसक्छन् । तर सबैभन्दा उत्तम पुस्तकालय त्यो हो जहाँ विद्यार्थीहरू आउन मन पराउँछन् र आफूले चाहेको पुस्तक पढ्न पाउँछन् ।
स्कूल उमेरका बालबालिकामा पढ्ने बानी बसाउन, पढाइप्रति रुचि जगाउन र ज्ञान बढाउन स्कूलमा पुस्तकालय हुनैपर्छ । स्कूलमा पुस्तकालय भएपछि बालबालिकाहरूले फुर्सदको समयमा पनि पुस्तक पढ्न पाउँछन् ।
पुस्तकालय शिक्षकका लागि पनि उत्तिकै उपयोगी हुन्छ । किनभने, ज्ञान–सूचना अत्यन्त द्रूतगतिमा विस्मित हुने गर्छ । स्कूल वा क्याम्पसमा पढेमध्येका पचास प्रतिशत कुरा हरू एक वर्षपछि बिर्सिइन्छ । दुई वर्षभित्रमा असी प्रतिशत कुरा हरू बिर्सिइन्छ । त्यसैले शिक्षकहरूलाई आफूले सिकेको ज्ञान कायम राख्न र ज्ञान अद्यावधिकगराइराख्नका लागि समेत पुस्तकालय प्रभावकारी हुन्छ । पुस्तकालय ज्ञानको स्रोत हो । यसले शिक्षकलाई अध्यापनमा पनि सहयोग पुर्याउँछ । विद्यार्थीहरूमा अनुसन्धान गर्ने क्षमता विकास गर्नका लागि त पुस्तकालय सहयोगी हुन्छ नै ।
प्राथमिक स्कूलको पुस्तकालय
बालगीत, बाल कथा, बाल कविता, बाल सन्दर्भ–सामग्रीहरू तथा श्रव्यदृश्य सामग्री राखेर प्राथमिक स्कूलको पुस्तकालय बनाउन सकिन्छ । यस्ता पुस्तकालयका पुुस्तक सरल, आकर्षक तथा रुचिकर हुनु जरुरी हुन्छ ।
माध्यमिक स्कूलको पुस्तकालय
प्राथमिक स्कूलमा हुँदा विद्यार्थीमा बसेको पुस्तक र पढाइप्रतिको रुचिलाई माध्यमिक स्कूलको पुस्तकालयले बढाउनुपर्छ । पुस्तकालयमा विद्यार्थीहरूको पठनपाठनमा मद्दत पुरयाउने र जीवनोपयोगी पढाइ तथा सीपलाई निरन्तरता दिने पुस्तक राख्नुपर्छ । यस्तो पुस्तकालयमा प्राथमिक तथा माध्यमिक दुवै तहका विद्यार्थीलाई काम लाग्ने पुस्तक राख्नुपर्छ । पुस्तक छनोट गर्दा विद्यार्थीको उमेरको ख्याल राख्नुपर्छ ।
प्रधानाध्यापक/शिक्षक कोठा पुस्तकालय
स्कूलमा पुस्तकालयका लागि बेग्लै कोठा नहुँदा प्रअ कक्षमा वा शिक्षक कक्षमा पुस्तक राखिएको हुन्छ । यस्ता पुस्तकालयमा स्वाभाविकरूपमै पुस्तक कम हुन्छन् । तैपनि फरक–फरक क्षमता भएका विद्यार्थीहरूलाई पढाउनका लागि शिक्षकहरूका लागि यस्तो पुस्तकालय पनि सहयोगी हुन्छ ।
पुस्तकालयको स्थापना
कुनै पनि काम पूर्ण सोचविचार का साथ गरिएको छ भने भविष्यमा आउने कठिनाइहरूको सामना गर्न सजिलो हुन्छ । जस्तो, पुस्तकालय चलाउने तरिका एकजना भन्दा धेरै मानिसलाई सिकाउनु पर्छ । त्यसै गरी वैज्ञानिक/व्यवस्थित तरिकाले पुस्तकालय सञ्चालन गरियो भने व्यक्ति फेरिएमा पनि केही फरक पर्दैन । पुस्तकालय निरन्तर रूपमा चल्छ । पुस्तकालयलाई पुस्तक राख्ने वा लैजाने ठाउँका रूपमा मात्र लिनुहुँदैन । यसलाई अध्ययन केन्द्र र सबै खालका सूचना पाइने मञ्चका रूपमा विकास गरिनुपर्छ ।
पुस्तकालय सञ्चालक समिति
पुस्तकालयको स्थापनाका लागि कामकाजी पुस्तकालय सञ्चालक समिति चाहिन्छ । यसमा प्रअ, शिक्षक तथा विद्यार्थीहरू सम्मिलित हुनुपर्छ । समितिमा धेरै सदस्य हुनुहुँदैन । पाँच वा सातजनासम्मको भए बेस हुन्छ । समितिमा छात्र तथा छात्रा दुवैको समान प्रतिनिधित्व हुनु जरुरी छ ।
पुस्तकालयप्रति अत्यधिक चासो भएका धेरै मानिसहरू पुस्तकालयसँग सम्बन्धित काममा सामेल हुन चाहन्छन् । ती सबैलाई पुस्तकालय समितिमा सामेल गर्न सकिँदैन । उनीहरूलाई समेट्नका लागि विद्यार्थीहरूमध्येबाट पुस्तकालय मनिटरको छनोट गर्न सकिन्छ । पुस्तकालय क्लबगठन गरी पुस्तकालय चलाउन चाहिने आवश्यक सहयोग पनि लिन सकिन्छ ।
समितिले पुस्तकालय खुल्ने र बन्द गर्ने दिन र समय, पुस्तक लैजाने र फिर्ता गर्ने नियम र समयावधि तथा जरिवाना सम्बन्धी नियम निर्धारण गर्छ । यसले पुस्तकहरूको छनोट र वर्गीकरणविधिको बारेमा समेत निर्णय लिन्छ ।

पुस्तकालय भवन-कोठा र फर्निचरको व्यवस्था
पुस्तकालय सानो वा ठूलो जत्रो पनि हुनसक्छ । किताब धेरै वा थोरै जति पनि हुनसक्छन् । तर सबै भन्दा उत्तम पुस्तकालय त्यो हो जहाँ विद्यार्थीहरू प्रायः जसो आउँछन् र उनीहरूले चाहेको पुस्तक पढ्न पाउँछन् । पुस्तकालयको कोठामा कम्तीमा पनि एउटा कक्षाका सबै विद्यार्थीहरू अट्नुपर्छ । कोठा सानो भएमा पढ्न अप्ठ्यारो हुन्छ । पुस्तकालयमा झयाल, ढोका, भेन्टिलेसन हुनुपर्छ । पुस्तकालय उज्यालो र शीतल हुनुपर्छ । टेबल, कुर्सी वा पीरा, गुन्द्री,गजेरा वा कार्पेट राख्नुपर्छ । पुस्तकालय सफा हुनुपर्छ ।
पुस्तक र अन्य सामग्री कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा पनि ध्यान दिनुपर्छ । लाइब्रेरियनको टेबुल ढोकाको छेउमा हुनुपर्छ । यसबाट उसले पुस्तकालयमा आउनेहरूले कुन पुस्तक लिएर बाहिरिएका छन् भन्ने देख्न सक्छ । झयालमा जाली ल गाउँदा लामखुट्टे आदि कीरा–फट्याङ्ग्राको समस्याबाट बँच्नुका साथै झयालबाट किताब बाहिर पठाउने सम्भावना पनि निराकरण गर्न सकिन्छ ।
पुस्तक राख्ने तथा प्रदर्शन गर्ने दराज
पुस्तक राख्ने रयाक विद्यार्थीहरूको पहुँचमा हुनुपर्दछ । यसका खण्डहरू किताब व्यवस्थित किसिमले राख्न मिल्ने हुनुपर्दछ । रयाक बेत/बाँस, काठ, स्टिल, ईंटा वा ढुङ्गाको बन्न सक्छ । प्राथमिक तहका विद्यार्थीहरूको किताब राख्ने रयाक चार फिट र माविका विद्यार्थीहरूका लागि ६ फिटभन्दा अग्लो हुनुहुँदैन । रयाकका खण्डहरू ज्यादै साना भएमा पुस्तकहरू ठड्याएर राख्न मिल्दैन भने ज्यादै ठूला भएमा ठाउँ खेर जान्छ ।
पत्रपत्रिका प्रदर्शनीका लागि रयाक बनाउन सकिन्छ । यस्तो रयाकमा चार वा पाँच खण्डसम्म राख्न सकिन्छ । रयाकको प्रत्येक खण्डलाई ३० डिग्रीको कोणमा छड्के पारी राख्नुपर्छ । माथिल्लो भागमा नयाँ पत्रपत्रिका र तल्लो भागमा पुराना पत्रपत्रिका राख्नुपर्छ । शब्दकोश वा इन्साइक्लोपेडिया अरू पुस्तकभन्दा ठूला हुन्छन् । यिनका लागि छुट्टै रयाक बनाउनुपर्छ ।
आजभोलि पुस्तकालयमा सूचना तथा सूचनाप्रविधि (आईटी) कक्ष राख्ने चलन बढ्दै गएको छ । पुस्तकालयकै एक भागमा यसको व्यवस्था गर्नसके पुस्तकालयको आकर्षण अरू बढ्छ । अहिले धेरै इ–किताबहरू इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छन् । इन्साइक्लोपेडिया तथा शैक्षिक , सङ्गीत तथा भाषा सीडीहरू पनि पाइन थालेका छन् । पुस्तकालयलाई प्राप्त नगदी सहयोग, किताबहरू तथा जरिवाना आदिबाट उठेको रकमलाई आम्दानीमा जनाउनुपर्छ ।
पुस्तकालयमा सङ् गृहीत सामग्री छनोट
पुस्तकालयमा धेरै थरीका पुस्तकहरू हुन्छन् । ती सबै पुस्तकहरूलाई तीन खण्डमा बाँड्न सकिन्छ ।
- सन्दर्भ पुस्तक/सामग्री
- सूचनामूलक पुस्तक/सामग्री
- साहित्यिक पुस्तक/सामग्री
विश्वकोश (Encyclopedia), शब्दकोश, एटलस आदि सन्दर्भ सामग्री हुन् । यी महँगा, ठूला र पाउन पनि कठिन हुने हुँदा सन्दर्भ सामग्रीका रूपमा राख्नुपर्छ । यस्ता सामग्री घर लैजान दिइँदैन । फेरि यस्ता सामग्री सबै पाठकलाई सधैँभरि चाहिँदैन पनि । यसलाई पाठकले पुस्तकालयमै बसेर अध्ययन गर्न सक्छन् ।
मानिस, ठाउँ र वस्तुहरूका बारेमा लेखिएका पुस्तकहरूलाई सूचनामूलक सामग्री ९क्ष्लायचmबतष्यलः बतभचष्ब०ि का रूपमा लिइन्छ । कथा, कविता तथा उपन्यास आख्यान ९ँष्अतष्यल० श्रेणीमा पर्दछन् । भाषा रराम्रो पार्न, आनन्द लिन र रचनात्मक कल्पना शक्ति बढाउन यस्ता पुस्तक पढिन्छन् । विद्यार्थीहरूको स्तर , रुचि आदि कुरा मा ध्यान दिई यस्ता पुस्तकहरू किन्ने गर्नु पर्छ । अहिले विश्वप्रसिद्ध र उम्दा लेखकका पुस्तकहरूलाई पनि विद्यार्थीहरूको उमेर/क्षमता अनुसारका भाषामा तयार पारिएका छन् । त्यस्तै यी पुस्तकहरू सस्तो तथा महँगो दुवैथरिका हुन्छन् । तसर्थ पुस्तक खरिद गर्नु अघि यसबारेमा पनि ध्यान दिन जरुरी छ । त्यस्ता सामग्री पुस्तक, पुस्तिका, समाचारपत्र, फोटोअल्बम, नक्सा, भिडिओ तथा श्रव्यदृश्यका रूपमा पाइन सक्छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण भने पुस्तक नै हुन् ।
विद्यार्थी तथा शिक्षकका लागि उपयोगी विविध पुस्तकहरू छान्नुपर्छ । एकै पटकमा एकजना भन्दा बढी विद्यार्थीहरूले पढ्न सकून् भनेर यस्ता किताब एकभन्दा बढी प्रति किन्नुपर्छ । विद्यार्थीहरूको परियोजना कार्यलाई सहयोग पुग्ने खालका सामग्री पनि किन्नुपर्छ । विश्व ज्ञानकोश, शब्दकोश, एटलस, म्याप आदि जस्ता सन्दर्भ सामग्रीहरू आजभोलि सीडीमा पनि पाइन थालेका छन् । कथा/उपन्यास तथा अन्य विषयगत पुस्तकहरू पनि राख्नुपर्छ । ज्ञान प्राप्त गर्न सकिने, विद्यार्थीहरूको रुचि तथा जिज्ञासा पूरा गर्ने , कला, साहित्य, सङ्गीत, नृत्य, हस्तकला तथा संस्कृतिका बारे जानकारी दिने सबै किसिमका सामग्री छनोट गर्नु पर्छ ।
असान्दर्भिक, अश्लील, जातीय द्वेष फैलाउने, अरुचिकर तथा उपयोगहीन सामग्री पुस्तकालयमा राख्नु हुँदैन । समाचारपत्र, नक्सा, फ्लिपचार्ट, पोष्टर, श्रव्यदृश्य सामग्रीहरू, विद्यार्थीहरूको मातृभाषामा लेखिएका पुस्तक, स्थानीय व्यक्तिले लेखेका पुस्तक तथा चाखलाग्दा विषयको फोटोकपी तथा जर्नलहरू उपयोगी हुन्छन् । कस्ता पुस्तकलाई पुस्तकालयबाट हटाउने भन्ने कुरा को निर्णय गर्न निकै कठिन हुन्छ । कहिलेकाहीं पुराना पुस्तक हटाउँदा अप्राप्य पुस्तकहरू पनि पुस्तकालयबाट हट्न सक्छन् । नक्सा, पोष्टर आदिले पुस्तकालयको भित्ता आकर्षक ढङ्गले सजाउन सकिन्छ ।

पुस्तक तथा सामग्रीहरूको विवरण
हरेक पुस्तक दर्ता गर्नु पर्छ । यसका लागि दर्ता किताब चाहिन्छ । रजिष्टरको दर्ता नम्बरलाई नै पुस्तककोगातापछि को पानामा लेख्नुपर्छ ।
दर्ता किताबमा दर्ता नम्बर, पुस्तकको नाम, लेखकको नाम र प्रकाशकको नाम उल्लेख गर्नु पर्छ । एउटै विषयका थुप्रै प्रति पुस्तक खरीद गरिएका छन् भने तिनीहरू सबैलाई बेग्लाबेग्लै दर्ता नम्बर दिनुपर्छ । यही दर्ता नम्बर पुस्तककोगाताको भित्रको पेजमा पनि लेख्नुपर्छ । यसले गर्दा पछि किताब फिर्ता सम्बन्धी विवाद भएमा त्यसको समाधान गर्न सहयोग पुग्छ । सबै पुस्तकको निश्चित पानामा स्कूलको छाप लगाउनुपर्छ ।
पुस्तकको शुरु को भित्री पानामा वा अन्तिम पानामा स्कूलको नाम, ठेगाना र पुस्तक फिर्ता गर्ने मिति लेख्ने कार्ड राख्नुपर्छ । सो कार्ड राख्नका लागिगोजी तयार पार्नुपर्छ । यो आफैंले तयार गर्न वा बजारबाट खरिद गर्न सकिन्छ ।

पुस्तकको वर्गीकरण
वर्गीकरण पुस्तकलाई व्यवस्थित गर्ने महत्वपूर्ण माध्यम हो । वर्गीकरण गरे पछि एउटै विषयका पुस्तकहरूलाई रयाकको एक ठाउँमा राख्न सकिन्छ । विभिन्न विषयवस्तु तथा क्षेत्रका आधारमा पुस्तकहरूलाई वर्गीकरण गर्ने गरिन्छ । पुस्तकको वर्गीकरण गर्दा सन्दर्भ (Reference) पुस्तक, विषयगत (जस्तै, भूगोल, दर्शन, गृह विज्ञान, राजनीतिशास्त्र आदि) पुस्तक तथा साहित्य गरी तीन भागमा बाँड्नुपर्छ । सूचनामूलक वा विषयगत पुस्तकलाई अक्षर, रंग वा अङ्कद्वारा सङ्केत प्रदान गर्नु पर्छ । साहित्यलाई विषयगत रूपमा वर्गीकरण गरिदैन । तसर्थ तिनीहरूलाई वर्णानुक्रममा राख्नुपर्दछ ।
पुस्तकहरूलाई वर्गीकरण गर्दा निश्चित मापदण्ड अपनाइन्छ । पुस्तक वर्गीकरण गर्दा समयतालिका विधि (Timetable Classification System), डिवे डेसिमल विधि (Dewey Decimal Classification System), जुनियर रंगसङ्केत विधि (Junior Colour Code System) को उपयोग गर्ने गरिन्छ । स्कूलको पुस्तकालयमा रंगसङ्केत तथा समयतालिका विधि उपयोग गर्नु रराम्रो हुन्छ । समयतालिका विधिमा सबै विषयहरूलाई विद्यालयको समयतालिकाका आधारमा वर्गीकरण गरिन्छ भने डिवे डेसिमल विधिमा सबै विषयहरूलाई दश विषय खण्डमा बाँडिन्छ । विषयभित्र सहायक विषयहरू पर्न सक्छन् । तिनीहरूलाई तिनै कोडलाई विभाजन गरिन्छ ।
रंगसङ्केत विधिमा डिवे डेसिमल विधिकै प्रयोग गरिन्छ तर यसमा लेवलको रंग विषयपिच्छे फरक फरक पारिन्छ । यस्ता डाँडीपट्टी (Spine label) बजारबाट खरिद गर्न सकिन्छ । आफैँले तयार गर्न पनि सकिन्छ ।
समयतालिका वर्गीकरण विधि प्राथमिक तहका स्कूलमा स्थापना गरिने पुस्तकालयका लागि उपयोगी हुन्छ । जुन माध्यमिक स्कूलको पुस्तकालयमा ५०० भन्दा कम पुस्तक हुन्छन् त्यहाँ रंगसङ्केत विधि उपयोग गर्नु रराम्रो हुन्छ । सोभन्दा बढी पुस्तक भएको पुस्तकालयका लागि भने डिवे डेसिमल वर्गीकरण उपयुक्त मानिन्छ । तर यो विधि अलिक जटिल किसिमको हुन्छ । नेपाल राष्ट्रिय पुस्तकालय र नेपाल पुस्तकालय संघले यस बारेमा बेलाबेलामा तालिम दिने गरेका छन् । तिनीहरूसँग सम्पर्क गरी तालिम लिएमा यस्तो वर्गीकरण गर्न सजिलो पर्न जान्छ ।
डाँडीपट्टी (Spine label) बनाउने विधि
१.२५ वर्गइञ्चको कागजका टुक्रा लिने । त्यसमा वर्गीकरण अनुसारको सङ्केत लेख्ने । त्यसलाई पुस्तकको डाँडीमा तलबाट एकइञ्च छोडेर टाँस्नुपर्छ । यो लेवलको माथि सेलोटेप लगाइदिने ।
सूचीकरण
पुस्तकालयमा कुन–कुन पुस्तक छन् र कहाँ राखिएका छन् भन्ने कुरा को सूचना वा जानकारी दिने प्रक्रियालाई सूचीकरण भनिन्छ । सूचीकरणमा शीर्षक सूचीपत्र, लेखक सूचीपत्र र विषय सूचीपत्र प्रमुख छन् । ठूल्ठूला पुस्तकालयमा थुप्रैथरिका सूचीपत्र बनाइएका हुन्छन् । तर स्कूलको पुस्तकालयका लागि शीर्षक सूचीपत्र भए पुग्छ । पुस्तकालयलाई बढाउँदै लैजाने हो भने कार्ड सूचीपत्र पद्धति ज्यादा उपयुक्त हुन्छ । यहाँ दुवै पद्धतिका नमुना दिइएका छन् ।
कार्ड सूचीपत्र
हरेक पुस्तकका लागि छुट्टाछुट्टै कार्डको व्यवस्था गरिएको हुन्छ । कार्ड सूचीपत्रको लम्बाइ ५ इञ्च र चौडाइ ३ इञ्चको हुन्छ । यस शीर्षक सूची कार्डलाई वर्णानुक्रम अनुसार राखिएको शीर्षक सूची बाकसमा राख्नुपर्छ । यसमा सबैभन्दा माथि बायाँतर्फ रंगसङ्केत र सोभन्दा मुनि कार्डको बीचको भागमा पुस्तकको नाम लेखिएको हुन्छ । त्योभन्दा मुनि लेखकको थर, नाम र कार्डको तल बायाँपट्टि दर्ता नम्बर र त्योभन्दा तल पुस्तकको विषयको पहिला तीन वा चार अक्षरलाई ठूलो वर्णमा लेखिन्छ । व्याकरणलाई अंग्रेजीमा Grammer र यसलाई सङ्केतमा लेख्दा GRAM लेख्न सकिन्छ ।
पुस्तकको नामका आधारमा वा लेखकको थरको आधारमा वर्णानुक्रम अनुसार कार्ड फाइल गरेर कागज अथवा काठको बाकसमा राख्न सकिन्छ । यो कार्ड यताउता नपरोस् भनी फित्ता वा डोरीले बाँधेर राख्नुपर्छ । विषयसूचीलाई पुस्तकालयको देखि ने ठाउँमा राख्नुपर्छ ।
पुस्तकलाई वर्णानुक्रममा राख्ने
साहित्यिक रचनाहरूलाई हरियो रंगको सङ्केत चिन्ह दिइन्छ । तर, रंगका आधारमा पुस्तक भेट्न बढी समय लाग्न सक्छ । यस्तो अवस्थामा रंगसङ्केत डाँडीपट्टीमा सबैभन्दा माथि पुस्तकको विषयको पहिला तीन अक्षर र मुनि लेखकको थरको शुरु का तीन अक्षर ठूलो वर्णमा लेख्न सकिन्छ । पुस्तकहरूलाई रयाकमा मिलाउँदा भने लेखकको थरको वर्णानुक्रम अनुसार मिलाउनुपर्छ ।
पुस्तक उपयोगको सुविधा
विद्यार्थीहरूलाई पुस्तक घर लैजानका लागि किताबको खल्ती, पुस्तक पत्ती, मिति पत्तीको जरुरत पर्दछ । विद्यार्थीहरूलाई पुस्तकालय कार्ड पनि दिइएको हुनुपर्दछ । पुस्तकालय कार्डमा बायाँपट्टिको भागमा विद्यार्थी विवरण र दायाँपट्टिको भागमा पुस्तक कार्ड राख्नका लागि झण्डै एकचौथाइ इञ्च जति मोडिएको भाग हुनुपर्दछ ।
पुस्तक कार्ड
यसमा माथिल्लो भागमा पुस्तक दर्ता नम्बर, लेखकको नाम थर र पुस्तकको शीर्षक लेखिएको हुन्छ । तल्लो भाग र पछाडिपट्टिको भागमा फिर्ता गर्ने अन्तिम मिति, पुस्तक लैजाने व्यक्तिको नाम तथा फर्काएको मिति उल्लेख गरिएको हुन्छ ।
पुस्तककोगोजी
यो ४ इन्च लम्बाइ र ३.५ इञ्च चौडाइको कागजको खाम हो । यसलाई आजभोलि किताबको अघिल्लो आवरण पृष्ठको भित्र वा अन्तिम आवरण पृष्ठको भित्र टाँसिएको हुन्छ । यसमा पुस्तक कार्ड राख्ने गरिन्छ । पाठकले किताब लैजाँदा यसलाई विद्यार्थीहरूको पुस्तकालय परिचयपत्रसँगै यहाँबाट झ्किेर राखिन्छ र पुस्तक फिर्ता आएपछि यसलाई पुनः यही खल्तीमा राखिन्छ र विद्यार्थीको परिचय पत्र फिर्ता दिइन्छ । यो खाममा पुस्तक दर्ता नं. र पुस्तकालयका नियमहरू लेखिएका हुन्छन् ।
पुस्तकको लेनदेन
पुस्तकको लेनदेनका लागि हरेक विद्यार्थीहरूको पुस्तकालय परिचयपत्र बनाउनुपर्छ । विद्यार्थीहरूले आफ्नो परिचयपत्र पुस्तकालयमा राखेर आफूले चाहेको पुस्तक लैजान पाउँछन् । पुस्तक दिँदा पुस्तक कहिलेसम्ममा फिर्ता गर्नु पर्छ, ढिलो फिर्ता गरे मा कति जरिवाना तिर्नुपर्छ, पुस्तक हराएमा वा च्याते/बिगारेमा के कस्तो सजाय हुन्छ सोका बारेमा विद्यार्थीहरूलाई बताउनुपर्छ । यति भएपछि विद्यार्थीहरूलाई पुस्तक घर लैजान दिन शुरु गर्नु पर्छ । कम्तीमा वर्षमा एकपटक सबै किताब फिर्ता गर्न लगाउनुपर्छ । च्यातिएका किताब पुस्तकालयबाट हटाई हराएका र त्यसरी च्यातिएका किताबहरूको लगत कट्टा गर्नु पर्छ ।
विद्यार्थी र शिक्षकले ज्यादाभन्दा ज्यादा पुस्तक पढे भने पुस्तकमा कीरा लाग्न पाउँदैन । मट्टीतेल छर्किएमा धमिरा मर्छन् । स्थानीयस्तर मा पाइने प्राकृतिक औषधि छर्केर पनि पुस्तकलाई कीराबाट जोगाउन सकिन्छ ।
पुस्तकहरूको सुरक्षा
पुस्तकहरू कागजमा छापिएका हुन्छन् र कागजहरू सजिलैसँग च्यातिन सक्छन् । सीडी, डीभीडी पनि सजिलैसँग नासिन सक्छन् । तसर्थ यिनको सुरक्षा गर्नु जरुरी छ । पुस्तकालयमा वर्षाको पानी पसेमा ढुसी परी किताब बिग्रन सक्छन् । त्यस्तै साङ्लो, धमिरो, माउ आदिजस्ता कीराहरू पुस्तकका लागि ज्यादै हानिकारक हुन्छन् । धमिराले दुई महिनाभित्र निकैगतिलो पुस्तकालयलाई माटोमा मिलाइदिनसक्छ । त्यस्तै मुसाले पनि किताब र तखती काटेर हैरान पार्न सक्छन् । कीराबाट बच्न कहिलेकाहीं धातुका दराज तथा रयाक राख्न सकिन्छ । तर यिनमा लाग्ने खिया पनि किताबका लागि त्यत्तिकै हानिकारक हुन्छन् ।
तसर्थ पुस्तकालयमा पानी छिर्न दिनुहुँदैन । वर्षामा ढुसी पर्न सक्छ त्यसैले, पुस्तकालयमा प्रशस्त मात्रामा हावा खेल्न र घाम लाग्न दिनुपर्छ । पुस्तकालयमा खानेकुरा खान दिनुहुँदैन । नियमित रूपमा सरसफाई गर्नु पर्छ । ढुसीबाट बच्नका लागि सिलिका जेलको प्रयोग गर्न सकिन्छ जुन औषधि पसलमा पाउन सकिन्छ । कीराबाट पुस्तकलाई जोगाउन समय समयमा विषादी छर्कनुपर्छ । विषादी पुस्तकालय बन्द गर्ने बेलामा छर्नु रराम्रो हुन्छ ।
विद्यार्थी र शिक्षकले ज्यादाभन्दा ज्यादा पुस्तक पढे भने पुस्तकमा कीरा लाग्न पाउँदैन । मट्टीतेल छर्किएमा धमिरा मर्छन । स्थानीयस्तर मा पाइने प्राकृतिक औषधि छर्केर पनि पुस्तकलाई कीराबाट जोगाउन सकिन्छ ।
पाठकहरूले पढ्दा पुस्तकको स्टीच वा सिलाइ चुँडिएर किताबका पाना हराउने हुनसक्छ । किताबकोगाता च्यातिन सक्छ । ठूलाठूला पुस्तकालयहरूमा बुक बाइण्डर राख्ने गरिन्छ । तर स्कूलको पुस्तकालयमा त्यो सम्भव छैन । ठूलो स्टेपलरले स्टीच गरेर वा सियोले सिएर पुस्तकलाई सुरक्षित बनाउन सकिन्छ । किताबका पानामा फोहोर लागेको भए होसियारीपूर्वक पुछ्नु पर्छ । पाना हराएका पुस्तकलाई अलग्गै राख्नुपर्छ ।
पुस्तकालय विद्यार्थी तथा शिक्षकहरूका लागि हो । यसको उपयोग जति बढी र सिर्जनात्मक किसिमले गरिन्छ पठनपाठनमा विद्यार्थीलाई त्यति नै बढी मद्दत पुग्छ । आफूले पढेका पुस्तकको समीक्षा गर्न लगाएर, कथालाई संक्षेपीकरण गर्न लगाएर, कथावाचन प्रतियोगिताको आयोजना गरेर पुस्तकालयलाई अझ् बढी मात्रामा उपयोगी बनाउन सकिन्छ ।
(भीएसओद्वारा प्रकाशित र निकोल बेयडद्वारा लिखित सेटिङ अप एण्ड रनिङ अ स्कूल लाइब्रेरी पुस्तकबाट )
नेपाली रुपान्तरः गुरु मैनाली



