बाँसको ताजमहल
ताजमहल कसले बनाएका हुन् ? सबैलाई थाहा भएको नाम हो– शाहजहाँ । हो, स्थापत्य कलाको अत्यन्त उत्कृष्ट नमुना मानिएको ताजमहल बनाउने मुगल सम्राट मोहम्मद शाहजहाँ हुन् ।
ताजमहलको निर्माणमा दुई दशकभन्दा बढी समय (सन् १६३२ देखि सन् १६५३) र त्यसबेलाको तीन करोड बीस लाख रुपैयाँ लागेको थियो । निर्माण कार्यमा बीस हजार नियमित कामदार खटाइएका थिए । १००० वटा हात्ती त सरसामान ओसार्ने काममा मात्र जोतिएका थिए । राजस्थान, पञ्जाब देखि अफगानिस्तान, तिब्बत र श्रीलङ्कासम्मबाट ल्याइएका बहुमूल्य पत्थरहरूमा पसिना र सीपको सिञ्चन गर्न मध्यपूर्र्वो मुलुक सिरियाबाट समेत कालिगढहरू ल्याइएका थिए ।
त्यसो त ताजमहलको निर्माण एउटा सम्राटको ‘विधुर बैराग’ बाट भएको हो । ३८ वर्षको उमेरमा चौधौँ सन्तान जन्मिने क्रममा रानी मुमताजमहलको निधन भयो । सम्राटलाई अत्यन्त ठूलो चोट परयो । अनि, चालीस पनि नकाटेका सम्राटलाई साम्राज्ञीका नाममा केही गर्न मन लाग्यो र ताजमहल जन्मियो ।
अर्थात्, एउटा अत्यन्त व्यक्तिगत कारणबाट समाज ले , देशले र मानव संस्कृतिले नै शानदार उपहार पायो । अरू पनि कैयन् महान् कामहरू यसरी नै शुरु भएका प्रमाणहरू उपलब्ध छन् ।कतिलाई त्यसका लागि शाहजहाँलाई जसरी एउटा सम्राटको पुगिसरी थियो र कतिले उत्तम सञ्जेलले जसरी अनेक गरेर पुगिसरी जुटाएका हुन् ।
यहाँ उत्तम सञ्जेलको नाम अचानक आयो । कहाँ आग्राको ताजमहल, कहाँगोठाटारका उत्तम ! तर, यहाँ एउटा समान ता छ, उत्तमले बाँसको ताजमहल बनाएका छन् । (हे. पृष्ठ २८–३९)
बाँसका घरहरू नौला र असामान्य कुरा होइनन् । पूर्वाञ्चलमा बाँसका घरहरू धेरै प्रचलित छन् । तर एउटा चर्चित टेलिभजन कार्यक्रम (मेरो जीवन मेरो विश्वास) मा ‘समता शिक्षा निकेतन’ हेर्दा र त्यसका प्रणेता उत्तम सञ्जेलका कुरा सुन्दै जाँदा मलाई बाँसका घरहरू असामान्य लागे । ती घरहरू र तिनको महत्वका बारेमा थाहा पाउँदै जाँदा मलाई रोमाञ्च भयो, आँखा रसाउन खोजे र मेरा मुखबाट शब्द निस्क्यो– ताजमहल, बाँसको ताजमहल ।
ती घरहरू बाँसबाट बनेका साधारण आश्रय मात्र हुन् । वास्तुकलाको हिसाबले सकेसम्म व्यापक अर्थ दिन खोजिएका ती घर–टहरा भाडामा लिइएको जमिनमा बनाइएका अस्थायी संरचना मात्र हुन् । तिनको भौतिक आयु आठ–दश वर्ष हुँदो हो । तर ती घरहरू आजको नेपाली समाज का लागि अत्यन्त गहिरो अर्थ राख्ने अभियानका अङ्ग हुन् भन्ने कुरा मा कसैले शङ्का गर्ला जस्तो मलाई लाग्दैन । ती बाँसका घरहरू आफ्ना सन्तानलाई आफूभन्दागतिला बनाउने प्राकृत मानवीय चाहनाले मन भरिएका तर त्यसका लागि आफूसित उपाय नभएका अभिभावकहरूका आशाका केन्द्र हुन् । गरिबीको भारीले थिचिएर व्यवहारका दौडमा साह्रै पछि परेका र आफू र आफ्ना सपनाहरूको दूरी प्रतिदिन बढिरहेको अनुभव गरिरहेका व्यक्तिहरूमा ‘म एक्लै छैन, मेरो समाज ले मेरा सपनाहरूलाई सम्मान गरेको छ’ भन्ने भावना जगाउन सक्नु सामाजिक हिसाबले मात्र होइन, राजनीतिक हिसाबले पनि साह्रै महत्वपूर्ण कुरा हो । त्यहाँ त्यही काम भइरहेको छ ।
कसले बनायो धरहरा ? कसले ठड्यायो सिंहदरबार ? कसले उचाल्यो आइफल टावरको फलामे संरचना ? चीनको विशाल पर्खाल बनाएको जस कुन कुन सम्राटका नाममा दर्ता भएको छ ?
यी प्रश्नको जवाफमा आउने नामहरू स्वप्नद्रष्टाहरूका नाम हुन् । भौतिक काम तिनले गरेका होइनन् । तर, तिनले सपना नदेखेका भए ती संरचनाहरू ठडिने थिएनन्, ती संस्थाहरू बन्ने थिएनन् । तर, त्यत्तिकै महत्वपूर्ण त ती व्यक्तिहरू छन्, जसले अनाम र अज्ञात नै रहन स्वीकार गरेर अर्काको सपनालाई आत्मसात गरेका छन् । आफ्नो नाम बिर्सेर मूलहरू खोलामा मिसिएका छन् र नदी बनेका छन् । स्पष्ट पारौँ, समता शिक्षा निकेतनको सपना उत्तम सञ्जेलले देखे, उनैले थालनी गरे त्यो महायज्ञको तर सम्पूर्ण रूपमा स्वार्थहीन रहेर चरु हवन गर्ने व्यक्तिहरू नभएका भए उनको सपना साकार हुने थिएन । ‘नाम जसको सुकै चलोस् काम भए पुग्छ’ भन्ने सोचाइ राख्ने उदारमना नेपाली र विदेशी कालिगढहरूले कुँदेका हुन् । यो बाँसको ताजमहलका खाँबा र भित्ताहरू ।
‘नेपाल खत्तम छ’, मानिसहरूको थेगो भएको छ । उनीहरु भन्छन्, यो चीनको पर्खाल, ताजमहल र आइफल टावर जस्ता संरचनाहरूको सपना देख्ने ठाउँ होइन । धरहरा, सिंहदरबारको कुरा गर्ने समय पनि होइन । धेरै मानिसहरू एकस्वरमा भन्छन्, “नेपालमा केही हुँदैन ।”
समता शिक्षा निकेतन ‘काम गर्न खोज्नेलाई केहीले पनि छेक्दैन’ भन्ने कुरा को ठूलो उदाहरण हो । हामीलाई सपना देख्नबाट कसैले पनि रोक्न सक्दैन । लोभ न गर्ने हराम्रो व्यक्तिगत इच्छाको कुरा हो, कसैले पनि लोभी बन भनेर कर लगाउन सक्दैन । विनम्र हुन हामीलाई केहीले छेक्दैन । आफूसित भएको कुरा बाँड्न कसैले रोक्न सक्दैन । नेपालमा जे पनि गर्न ठाउँ छ, केही गर्न खोज्नेलाई भड्काउन कसैले सक्दैन ।
सलाम, बाँसको ताजमहलका स्वप्नद्रष्टालाई र अनाम अज्ञात रहेर त्यसमा योगदान गर्ने सबैलाई ।
जसै म मेरो नबनेर ज्यूँछु
सबै सबैको म बनेर ज्यूँछु
नदी बनेझैँ अनि मूल खोला
आनन्द कल्लोल विचित्र होला ।
– माधव घिमिरे
(हराम्रो असावधानीका कारण अघिल्लो (असार) अङ्कको विषय–सन्दर्भमा पुरानै (जेठ) अङ्कको सामग्री दोहोरिन गएकोमा हामी लज्जित छौं । यसबाट पाठकहरूमा पर्न गएको असुविधाका निम्ति क्षमा माग्छौं । –सम्पादक)



