उदारताको मूल
एकजना प्रौढ महिला हिमाली क्षेत्रका तीर्थ र अरू रमाइला ठाउँको यात्रामा थिइन् । एकदिन कलकल बग्दै गरेको सानो खोलामा उनले एउटा मूल्यवान् पत्थर भेटिन् । त्यो पत्थर झोलामा राखेर यात्रा जारी राखिन् ।
त्यसको भोलिपल्ट एकजना एकदमै भोकाएको र एक्लो बटुवासँग उनको भेट भयो । उनले बटुवालाई आफूसित भएको अलिकति खानेकुरा दिने विचार गरेर झोला खोलिन् । खानेकुरा दिने क्रममा बटुवाको नजर उनको झोलामा रहेको झल्झलाउँदो पत्थरमा पर्यो । खाना खाइसकेपछि बटुवाले उनीसित त्यो पत्थर पनि माग्यो ।
महिलाले विनाहिच्किचाहट त्यो पत्थर बटुवालाई सुम्पिइदिइन् । बल्ल–बल्ल पाएको खानाले दिएको अलिकति तागतमा त्यो अनपेक्षित प्राप्तिले अझ स्फूर्ति थप्यो र दङ्ग पर्दै बटुवा बाटो लाग्यो । पत्थर बेचेको पैसाले आफूलाई जीवनभर खान पुग्छ भन्ने कल्पना मात्र पनि उसलाई मक्ख पार्न पर्याप्त थियो ।
तर केही दिनपछि त्यो बटुवा ती महिलालाई पछ्याउँँदै आइपुग्यो । उसले लगेको पत्थर महिलालाई फिर्ता दिँदै भन्यो, “यो पत्थर अत्यन्त बहुमूल्य मणि हो भन्ने कुरा मैले थाहा पाएँ । तर, तपाईंले यत्रो मूल्यवान् वस्तु त्यति सजिलै मलाई अवश्य पनि त्यसै दिनुभएको होइन । फेरि यस्तो बहुमूल्य वस्तु त्यसै दिनसक्ने व्यक्तिसित यति मात्र त हुँदैहुँदैन ! तपाईंसित अझ धेरै हुनुपर्छ र मलाई यसभन्दा पनि मूल्यवान् कुरा दिन सक्नुहुन्छ भन्ने आशाले म फर्केको हुँ ।” असीमित लोभको यो छोटो कथाले सम्पन्नता र सम्पत्तिका बारेमा तलका उद्धरणको मर्म बुझन सजिलो पार्छ ।
- मानिस कति सम्पन्न छ भन्ने कुरा उससित के–के छ भन्ने कुरा ले होइन ऊ कस्तो छ भन्ने कुरा बाट थाहा हुन्छ । – हेनरी वार्ड बीचर (१८१३–१८८७;प्रसिद्ध अमेरिकी समाज सुधारक)
- तपाईं कति सम्पन्न हुनुहुन्छ भन्ने कुरा तपाईंसित कति पैसा छ भन्नेबाट होइन, तपाईंसित पैसाले किन्न नसकिने के–के कुरा छन् भन्नेबाट थाहा हुन्छ । – ग्राथ ब्रुक्स (१९६२; अमेरिकी लोक सङ्गीतकर्मी)
- हाम्रो गुजारा हामीले कमाएको कुराबाट चल्छ तर जीवनले सार्थकता भने हामीले दिएका कुराबाट पाउँछ । – विस्टन चर्चिल (१८७४–१९६५; बेलायती प्रधानमन्त्री तथा साहित्यकार)
- सम्पत्ति खर्च हुने तीनवटा मात्र बाटा छन्– भोग, दान र नाश । आफूले उपयोग र दान गर्न नसकेको सम्पत्ति नाश मात्र हुनसक्छ, यसका लागि चौथो बाटो उपलब्ध छैन । – श्रीमद्भागवत (इन्स्पिरेशनल वर्डस् अफ विजडम (www.wow4u.com) बाट रुपान्तरित)
शिक्षक मासिक, २०६६ साउन अंकमा प्रकाशित ।




