प्रश्न गुणस्तरको खाँचो कठोर कदमको
परीक्षामा हुने सबै किसिमका अनियमितता रोक्न राज्यले ठोस नीति बनाउनुपर्छ । सीमित अवधिका लागि राज्यको न्याय र सुरक्षा अङ्ग समेत परिचालन गर्नुपर्छ । दोषीलाई जरिवाना, थुन्ने र शिक्षकको हकमा दुवै सजायसहित तत्काल अवकाश दिने, बढुवा रोक्ने र घटुवा गर्ने लगायतका कठोर कदम चाल्न सक्नुपर्छ ।
२०६५ सालको एसएलसीमा यताका वर्षहरूमा सबैभन्दा बढी ६८.४७ प्रतिशत अर्थात् अढाइ लाखभन्दा बढी विद्यार्थीहरू उत्तीर्ण भए । यसले जताततै शून्यता, निराशा र तिक्तताका बीच बाँच्न बाध्य नेपाली जनतालाई केही दिनको लागि भने पनि केही खुसी र सन्तोष दिएको छ ।
परीक्षाको परिणामसँगै यसलाई विभिन्न कोणबाट हेर्ने र टिप्पणी गर्ने क्रम पनि शुरु भएको छ । यो स्वाभाविक पनि हो । शिक्षा क्षेत्रमा विद्यमान यतिविघ्न समस्या र अराजकताभित्र यति रराम्रो परिणाम सम्भव छ ? प्रश्न अत्यन्त सरल र कठिन पनि छ । विद्यालयहरूमा पढ्ने पढाउने वातावरण छैन तर २०६१ साल देखि निरन्तर परिणाम माथि उक्लिरहेकै छ ! लगानी अनुरुप परिणाम आएको, पाठ्यक्रम, शिक्षण–सिकाइमा सुधार भएको कारणलाई जस दिइरहँदा गुणात्मक हिसाबले परिणाम सकारात्मक नरहेको, परीक्षामा निर्वाध चोरी भएको , शैक्षिक स्तर मा भन्दा परिणाममा अङ्क थप्न सरकार लागिपरेको भन्नेजस्ता प्रतिक्रिया पनि आइरहेका छन् ।
वस्तुतः यस्ता टिप्पणीमा सत्यता छ । विद्यार्थी र शिक्षकले प्रतिकूलताहरूसँग जुध्दै मिहिनेत गरिरहेकै छन् । सरकारले आफ्नो बुता र सीमाभित्रबाट सुधारका लागि काम गरिरहेकै छ । अभिभावकहरूको लगानी पनि बढिरहेकै छ । अन्य सरोकार समूह पनि लागिपरेकै छन् । शैक्षिक अव्यवस्था र परीक्षामा अराजकता पनि बढिरहेकै छ । तर के कुरा चाहिँ ढुक्क भएर भन्न सकिन्छ भने सबै क्षेत्रबाट भएका सकारात्मक प्रयासका बाबजूद यो प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउन सक्ने शैक्षिक सामथ्र्य हामीले विकास गर्न सकेका छैनौं । अर्थात् हराम्रो पठन–पाठन र परीक्षा प्रशासन यो स्तर को परिणाम आर्जन गर्न सक्षम छैन ।
उपर्युक्त सन्दर्भमा, नेपालको विद्यालय तहको शिक्षा र परीक्षामा गर्नु पर्ने सुधारका क्षेत्रहरूबारे यहाँ छलफल गरिनेछ ।
गुणस्तरीय शिक्षा र गुणस्तरीय परीक्षा
परीक्षा प्रणालीको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता र मर्यादा शिक्षाको गुणस्तर को आत्मा हो । दुः खको कुरो के छ भने एक त हराम्रो परीक्षा प्रणाली अत्यन्त पारम्परिक र अव्यवस्थित छ; अर्को यसको स्वच्छता र मर्यादा माथि यति ठूलो प्रहार भइरहने गरेको छ कि हाम्रा परीक्षाहरू वास्तवमा परीक्षा नै हुनसकिरहेका छैनन् ।
आफ्नो अयोग्यता छोप्न परीक्षा प्रणाली माथि अनैतिक र अस्वस्थ हस्तक्षेप गर्ने प्र.अ. तथा शिक्षक, आफ्ना छोराछोरीलाई जीवनमा होइन परीक्षामा मात्र उत्तीर्ण गराउन मरिमेट्ने अभिभावक, परीक्षाको मर्यादा माथि अनुचित प्रहार गरेर साङ्गठनिक र राजनीतिक पूँजी, प्रभाव र शक्ति जोहो गर्न अभ्यस्त विद्यार्थी सङ्गठन र राजनीतिक कार्यकर्ताहरू तथा जसोतसो प्रश्नपत्र र उत्तरपुस्तिका मुठा पार्ने, फुकाउने र परिणाम घोषणा गरे पुग्यो भन्ने ठान्ने अकर्मण्य शैक्षिक र परीक्षा प्रशासनले गुणस्तरीय शिक्षाको हराम्रो चाहना र आवश्यकता बुझन र सुनिश्चित गराउन सक्दैन ।
असह्य राजनीतिक भार बोकिरहेका विद्यालय व्यवस्थापन र जिल्ला शिक्षा समितिहरू, राजनीतिक दबाब र भागवण्डामा नियुक्त शिक्षक, प्रअ, शिक्षा अधिकारी , परीक्षा प्रशासक, केन्द्राध्यक्ष, निरीक्षक, सुपरीवेक्षकहरू तथा राजनीतिक दबाब र भागबण्डाकै आधारमा निर्धारित परीक्षा केन्द्रहरू अनि रराम्रो परीक्षाको अपेक्षा गर्ने सीमाभित्र एउटा स्वच्छ परीक्षा प्रणाली विकास हुनसक्दैन ।
साथै गाउँ गाउँमा पुर्याएका परीक्षा केन्द्रहरूको सुरक्षा र मर्यादा व्यवस्थापन अहिलेको शहरकेन्द्रित सुरक्षा प्रणालीले धान्न सकिरहेको छैन र असुरक्षित एवं अमर्यादित परीक्षाले दुर्गम गाउँमा शैक्षिक विकृति हुलेको छ । एक किसिमले विकृतिलाई राष्ट्रव्यापी रूपमा विकेन्द्रित गरिएको छ । उच्च माध्यमिक र विश्वविद्यालयस्तर का यसै गरी विस्तारित तर अव्यवस्थित परीक्षाकेन्द्रहरूले स्थितिलाई झन् जटिल बनाएको छ ।
विद्यार्थीहरूले मानेको–पत्याएको, योग्य शिक्षकले मात्र विद्यार्थीहरूलाई भविष्यका लागि राष्ट्रिय जीवनका हर क्षेत्रमा जिम्मेवार र योग्य नागरिक बनाउन सक्छन् । विद्यार्थीको आँखामा श्रेष्ठ र सम्मानित शिक्षक समाज को आँखामा पनि श्रेष्ठ र सम्मानित हुन्छन् । उनीहरूले नै परीक्षालाई रराम्रो ढङ्गमा व्यवस्थापन गर्ने कुरा को नेतृत्व लिन सक्छन् ।
शुरु मा हराम्रो सीमापारिबाट तराईका जिल्लाहरूमा परीक्षामा व्यापक विकार र विकृतिहरू हामीले भिœयायौं । हामीले त्यसलाई ठूलो उत्साहका साथ पहाडका कुनाकुनामा पु¥यायौं । तर त्यसपछि हराम्रो सीमापारि परीक्षाको मर्यादा र गुणस्तर मा व्यापक सुधार भइसकेको छ । त्यो सुधारको प्रभाव हामीकहाँ आइपुगेको छैन । तसर्थ परीक्षा प्रशासनमा व्यापक सुधार गर्ने , क्षमता भर्ने र कुशलता थप्ने देखि लिएर तोकिएको मापदण्ड पूरा गर्ने विद्यालयहरूलाई चार्टर विद्यालयको रूपमा आफैं परीक्षा लिने र प्रमाणपत्र दिने अधिकार प्रदान गरेर परीक्षा प्रणालीलाई छरितो, सहज र स्वच्छ शैक्षिक अभ्यास को रूपमा व्यवस्थित गर्ने तिर गम्भीर भएर सोच्ने बेला आएको छ । परीक्षामा विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक–सामाजिक कार्यकर्ता र परीक्षा व्यवस्थापनबाट हुने सबै किसिमका अनियमितता रोक्न एउटा विशेष राज्य अठोट र इच्छाशक्ति अभिव्यक्त हुने ठोस नीति र अभियान सञ्चालन गरिनुपर्दछ । यसको लागि सीमित अवधिको लागि राज्यको न्याय र सुरक्षा अङ्ग पनि परिचालन गर्ने र अनियमितता गर्ने व्यक्तिलाई तत्काल जरिवाना गर्ने , थुनामा राख्ने र शिक्षक तथा कर्मचारीहरूका हकमा जरिवाना र थुनासहित तत्काल अवकाश दिने, बढुवा रोक्ने र घटुवा गर्ने लगायतका कठोर कदम चाल्न सकिन्छ । यसबाट केही वर्षभित्रै एउटा उन्नत र मर्यादित परीक्षा प्रणालीमार्फत गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न सकिन्छ ।
गुणस्तरीय शिक्षा, परीक्षा र गुणस्तरीय शिक्षक
एउटा निश्चितस्तर को गुणस्तरीय शिक्षाले मात्र परीक्षालाई पनि स्तरीय बनाउने हो । शिक्षामा न्यूनतम स्तर नै छैन भने परीक्षा मात्र स्तरीय हुन सक्दैन; जसरी बाग्मतीको पानीलाई हराम्रो घरेलु फिल्टरमा हालेर पिउनयोग्य बनाउन सकिँदैन ।
गुणस्तरीय परीक्षा भनेको पनि गुणस्तरीय शिक्षकहरूलाई नियुक्त गर्ने , त्यस्ता शिक्षकलाई निरन्तर गुणस्तरीय पठन–पाठनमा अभिपे्ररितगराइरहने, उनीहरूलाई निरन्तर पेशागत मर्यादा र सन्तुष्टि प्राप्त भइरहने स्वचालितपद्धतिमार्फत सम्पूर्ण रूपमा विद्यार्थीहरूको उपलब्धिका लागि प्रतिबद्ध बनाउने पद्धति हो । उनीहरू आफैंलाई परीक्षाको लागि उत्तरदायी बनाउने हो । परीक्षाको गुणस्तर र कक्षाकोठाको गुणस्तर लाई सँगै लैजाने हो ।
गुणस्तरीय परीक्षा भनेको शिक्षकहरूले गुणस्तर र कक्षा व्यवस्थापन गर्न प्राप्त गर्ने अभिप्रेरणा र त्यस्तो अभिप्रेरणा विद्यार्थीको उपलव्धि र सफलतामा स्वतः रुपान्तरण हुने प्रणाली हो । शिक्षकहरूलाई प्राप्त हुने सबै सुविधा र अवसरहरू विद्यार्थीहरूको उपलव्धिसँग जोडिनै पर्दछ ।
गुणस्तरीय शिक्षा, परीक्षा र गुणस्तरीय प्रअ तथा विद्यालय व्यवस्थापन
भनिसकियो गुणस्तरीय परीक्षा भनेको गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय विद्यालय व्यवस्थापन हो । विद्यालय तहको परीक्षाको स्तरीयता एसएलसी परीक्षाको स्तरीयतामा रुपान्तरण हुने हो । यसको लागि गुणस्तरीय विद्यालय व्यवस्थापन पहिलो शर्त हो । यो भनेको विद्यालय व्यवस्थापनको केन्द्रमा प्रधानाध्यापक रहने, परीक्षा र उनलाई आफ्नो दायित्व निर्वाहमा सहयोग र समर्थन गर्ने सशक्त व्यवस्थापन समितिको उपस्थिति हो । तर यो हराम्रो एउटा प्रमुख शैक्षिक अभाव र चुनौती रहिरहेको छ । यसको लागि, कुनै पनि राजनीतिक आग्रह र दबाबबाट मुक्त व्यवस्थापन समितिगठन हुने र प्रधानाध्यापक नियुक्त हुने पद्धति जरुरी हुन्छ । वास्तविक अभिभावकहरूबाट गठन हुने, निर्वाचित स्थानीय निकायहरूको नेतृत्वदायी भूमिका रहने र विद्यालयमा विशिष्ट योगदान गरेका र सहयोग पुर्याएका शिक्षासेवीहरू निरन्तर क्रियाशील रहने विद्यालय व्यवस्थापन समितिले मात्र हराम्रो आवश्यकता र अपेक्षाअनुरुपको स्तरीय शिक्षा र परीक्षालाई हरेक विद्यालयमा प्रत्याभूत गराउन सक्छ ।
अपवादको स्थितिमा बाहेक हाम्रा विद्यालयहरूमा योग्य प्रधानाध्यापकहरू नियुक्त हुने न्यूनतम वातावरण पनि हामीले निर्माण गर्न सकेका छैनौं । परिणामस्वरुप हाम्रा प्रधानाध्यापकहरूले प्रभावकारी शैक्षिक र प्रशासनिक नेतृत्व दिन सकिरहेका छैनन् । अत्यन्त योग्य, सक्षम, उत्तरदायी र नेतृत्वकुशल व्यक्तिलाई मात्र प्रधानाध्यापकमा नियुक्त गर्ने आग्रहविहीन र सक्षम प्रणाली मात्र विकास गर्न सकियो भने पनि कतिपय अन्य अभावहरू रहँदारहँदै पनि हाम्रा विद्यालयहरूले विशिष्ट शैक्षिक उपलब्धिहरू देखाउन सक्छन् । कतिपय विद्यालयहरूले त्यस्तो सफलता प्राप्त पनि गरिरहेका छन् । यसको लागि साविकका प्रअहरूले आफ्नो योग्यता र क्षमतालाई अद्यावधिक रूपमा प्रमाणित गरिरहनु पर्ने र अझ् रराम्रो शैक्षिक र प्रशासनिक नेतृत्व दिन सक्छु भन्ने योग्य र उत्साही शिक्षकले पनि नियमित अन्तरालमा प्रतिस्पर्धी हुन पाउने व्यवस्था निर्माण गरेर हामी हाम्रा विद्यालयहरूमा योग्य र सक्षम नेतृत्व विकास गर्न सक्छौं ।
गुणस्तरीय परीक्षा, गुणस्तरीय शिक्षा र गुणस्तरीय कक्षा व्यवस्थापन
गुणस्तरीय परीक्षा भनेको मूलतः विद्यार्थीमा सिकाइप्रति उत्सुकता र अभिप्रेरणा दिने कक्षा–वातावरणको परीक्षा हो । पढाइलाई जीवन सान्दर्भिक बनाए नबनाएको समग्र मूल्याङ्कन हो । यसको लागि भाषा, विज्ञान, गणित, सामाजिक शिक्षा र सूचनाप्रविधि लगायतका सबै विषयहरूको पठन–पाठनको विधि र शैलीमा व्यापक सुधार ल्याउनु आवश्यक छ । परीक्षा भनेको शिक्षणसिकाइको अन्तरक्रियात्मक चरित्रमार्फत विद्यार्थीको उत्सुकता र अभिप्रेरणा सुनिश्चित गर्नमा प्राप्त उपलव्धिको मूल्याङ्कन हो । बाल–बालिकामा पाइने असाधारण उत्सुकता र जिज्ञासालाई शान्त गर्नु र त्यसलाई अझ् प्रोत्साहन गर्ने कक्षा–वातावरण र शिक्षक–व्यवहारको नियमित मूल्याङ्कन स्वयंमा गुणस्तरीय परीक्षाको केन्द्रीय तत्व हो ।
आफ्नो अयोग्यता ढाकछोप गर्न परीक्षा प्रणाली माथि अनैतिक हस्तक्षेप गर्ने प्र.अ. तथा शिक्षक, छोराछोरीलाई परीक्षामा मात्र उत्तीर्ण गराउन मरिमेट्ने अभिभावक र परीक्षाको मर्यादा माथि अनुचित प्रहार गर्न अभ्यस्त विद्यार्थी सङ्गठनहरूबाट गुणस्तरीय शिक्षाको चाहना र सुनिश्चित गर्न सकिँदैन पनि ।
सिकाइको स्वरुप आन्तरिक र बाह्य दुवै हुन्छ । उपयुक्त वातावरण प्राप्त भएमा विद्यार्थी आफैंले पनि धेरै सिक्छ । त्यसैले सिकाउनु सँगै आफैं सिक्ने, सिकाइलाई आत्मसात गर्ने , सिकेको कुरा लाई आफैं जीवनमा परीक्षण गर्ने र स्वतन्त्र तथा आलोचनात्मक चिन्तनलाई अभ्यास गर्न विद्यार्थीलाई प्रोत्साहन तथा सहयोग गर्ने शिक्षण सिकाइ कार्यक्रमलाई पाठ्यक्रमले समग्र रूपमा समेटेको हुनुपर्दछ । विद्यार्थीहरूलाई आफैं कक्षाकोठा व्यवस्थापन गर्ने , शिक्षण तालिका निर्माणमा सहयोग गर्ने र परीक्षालाई पनि आपसी परामर्शमा नै कसरी मर्यादित र स्वच्छ बनाउने सोको जिम्मेवारी प्रदान गर्ने जस्ता कार्यहरूले कक्षा कार्यहरू र परीक्षालाई धेरै अर्थपूर्ण र उपलव्धिपूर्ण बनाउन सकिन्छ ।
विद्यार्थीका आँखामा श्रेष्ठ शिक्षक–परीक्षा र शैक्षिक गुणस्तर
हरेक बालबालिकाले आफ्नो विद्यालय र समुदायको गतिविधि र व्यवहारहरूलाई सूक्ष्म ढङ्गले अध्ययन र अवलोकन गरिरहेका हुन्छन् । उनीहरू आफ्ना प्रअ र शिक्षकहरूमा संसारका श्रेष्ठ व्यक्तिहरूमा हुने सबैगुणहरू देख्न र पाउन चाहन्छन् । शिक्षकहरूमा उनीहरूले खोजेकोगुण र विशिष्टता पाएनन् भने उनीहरूमा अध्ययनप्रति लगाव नहुने मात्र होइन उनीहरू विद्यालय र कक्षा अनुशासनको समस्याको पहाड नै बनिदिन्छन् । परीक्षामा त्यो समस्या अझ् विकराल बन्न पुग्दछ ।
विद्यार्थीहरूले मानेको–पत्याएको, योग्य शिक्षकले मात्र विद्यार्थीहरूलाई भविष्यका लागि राष्ट्रिय जीवनका हर क्षेत्रमा जिम्मेवार र योग्य नागरिक बनाउन सक्छन् । विद्यार्थीको आँखामा श्रेष्ठ र सम्मानित शिक्षक समाज को आँखामा पनि श्रेष्ठ र सम्मानित हुन्छन् । उनीहरूले नै परीक्षालाई रराम्रो ढङ्गमा व्यवस्थापन गर्ने कुरा को नेतृत्व लिन सक्छन् । तर यो अत्यन्त कठिन र महान दायित्व हो । राष्ट्र समाज को सानो लगानी र स्वयं शिक्षकहरूको सानो त्याग, साहस र सङ्कल्पबाट यो सम्भव छैन । तर राष्ट्रको सुन्दर र सुरक्षित भविष्यको लागि यसको विकल्प पनि छैन ।
लेखक नेपाल शिक्षक संघ र नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष हुन् ।



